विकासन्युज

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन, प्रिमियम टायल्स अब काभ्रेपलान्चोकमै उपलब्ध

काठमाडौ । कजारिया टायल्सले अब काभ्रेपलान्चोकमा पनि विस्तार गरेको छ । बनेपा नगरपालिका–८ उग्रचण्डी पेट्रोल पम्प पछाडि मार्भल प्यालेसद्वारा सञ्चालित अत्याधुनिक शोरूमको उद्घाटन एक समारोहबीच सम्पन्न भयो । शोरूमको उद्घाटन प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य तथा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो । कार्यक्रममा स्थानीय व्यापारी, व्यवसायी र समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शाक्यले भने, 'कजारिया जस्तो अन्तर्राष्ट्रियस्तरको ब्रान्ड बनेपामा सञ्चालनमा आउनु हाम्रो नगरको लागि अवसर र गौरव दुवै हो । यो शोरूमले न केवल उच्चस्तरीय टाइल्स उपलब्ध गराउनेछ, बरु निर्माण क्षेत्रमै नवीनतम डिजाइन र प्रविधि भित्र्याएर स्थानीय बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ।' कजारियाको यो नयाँ शोरूमले प्रिमियम टायल्सको विस्तृत संग्रह प्रदान गर्नेछ, जसमा ३ हजार भन्दा बढी आकर्षक डिजाइन विकल्पहरू उपलब्ध छन् । अत्याधुनिक प्रविधिबाट निर्मित यी टायल्स नेपालमै उत्पादन भएका हुन्, जसले उपभोक्तालाई गुणस्तरमा विश्वस्तरीय अनुभव दिने लक्ष्य लिएको छ । नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर कजारिया रमेश टाइल्स लिमिटेडले घरेलु उत्पादनमै नवप्रवर्तनको नयाँ इतिहास बनाएको छ । कम्पनीले आधुनिक डिजाइन्, दिगोपन, र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै निर्माण सामग्री उद्योगमा आफ्नो नेतृत्व बलियो बनाइरहेको छ । शोरूम उद्घाटनसँगै कजारियाले नेपालभर प्रिमियम टायल्स सहज रूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यमा थप एक महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।

सरकारले ल्यायो एक वर्षमा ७० अलपत्र शव, १२ सय बढी परिवारलाई आर्थिक सहयोग

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअर्न्तगत वैदेशिक रोजगार बोर्डले एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै मृत्यु भएका १ हजार १८० शवलाई मृतकको घर ठेगानासम्मै पुर्‍याएको छ । त्यस्तै, बोर्डले आर्थिक वर्ष २०८१/८२ मा विदेशमा अलपत्र परेका ७० वटा शव नेपाल ल्याएको छ ।  बोर्डले बिहीबार सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा मृत्यु भएका नेपालीहरूको अलपत्र परेका शव नेपाल ल्याएको हो ।  त्यस्तै, बोर्डले एक वर्षमा एक हजार एक सय जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता गर्ने लक्ष्य राखिए पनि एक हजार २५० जनालाई सहायता प्रदान गरेको जनाएको छ ।  वैदेशिक रोजगारीको क्रममा अंगभंग/ विरामी भएका ६९८ कामदारलाई आर्थिक सहायता प्रदान गरेको बोर्डको तथ्यांक छ । यस्तै, एक वर्षमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ हजार ९९० जना वैदेशिक रोजगारीमा रहेकाहरूको सन्ततिले छात्रवृत्ति सहायता प्राप्त गरेका छन् । १४ हजारभन्दा बढी युवालाई निःशुल्क सीप विकास तालिम बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आव २०८१/८२ मा वैदेशिक रोजगारमा जान चाहने १४ हजार ४५८ जना युवालाई निःशुल्क सीप विकास तथा उद्यमशीलता तालिम प्रदान गरेको छ । बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषअर्न्तगत तालिम प्रदान गरेको हो । बोर्डले वार्षिक १५ हजार युवालाई तालिम प्रदान गर्ने लक्ष्य राखेको थियो । बोर्डले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवार र वैदेशिक रोजगारबाट फर्केका कामदारको लागि सीप विकास तालिम पनि सञ्चालन गर्दै आएको छ ।  बोर्डका अनुसार आव २०८१/८२ मा बोर्डले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवार र वैदेशिक रोजगारबाट फर्केका ४ हजार ५६१ जनालाई सीप विकास तालिम दिएको जनाएको छ । त्यस्तै, बोर्डले वैदेशिक रोजगारीमा जान चाहने ८७८ जना महिला कामदारलाई आवासीय तालिम प्रदान गरेको छ । बोर्डका अनुसार उक्त आर्थिक वर्षमा बोर्डले २ सय जना महिला कामदारलाई आवासीय तालिम दिने लक्ष्य लिएको थियो । बोर्डको पुँजीगत खर्च ९१ प्रतिशत  बोर्डले आव २०८१/८२ मा २ अर्ब ३१ करोड ३४ लाख २५ हजार रुपैयाँ कुल बजेट खर्च गरेको छ । जसमध्ये पुँजीगततर्फ ९१.६० अर्थात ३६ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ । बोर्डले आव २०८१/८२ मा ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै, चालुतर्फ २ अर्ब ३० करोड ९७ लाल ६१ हजार रुपैयाँ खर्च गरेको छ । यो विनियोजन बजेटको ९१.८५ प्रतिशत प्रगति हो । आव २०९८/८२ को लागि बोर्डले २ अर्ब ५१ करोड ४६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  आव २०८२/८३ का लागि २ अर्ब ११ करोड स्वीकृत  वैदशिक रोजगार बोर्डले विभिन्न कार्यक्रमको लागि २ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । बोर्डले कल्याण, पुनःस्थापना, राहत तथा आर्थिक सहायता वितरणसम्बन्धी कार्य गर्नको लागि १ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।  बोर्डले अलपत्र कामदारको कल्याण, उद्धार तथा राहतको लागि ६ करोड ५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । त्यस्तै, प्रशिक्षण, अध्ययन अनुसन्धान तथा सीप विकास तालिमको लागि ३१ करोड ५० लाख रुपैयाँ, वैदेशिक रोजगारीमा गएका परिवारको हीतमा गरिने कार्यक्रमको लागि २ करोड ८६ लाख रुपैयाँ स्वीकृत गरेको छ ।  त्यस्तै, सूचना तथा सञ्चार, समन्वय, सहजीकरण, र सहयोग प्रशासनिक तथा व्यवस्थापकीय अनुगमनसम्बन्धी कार्यक्रमको लागि बोर्डले ९ करोड ४७ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । यस्तै, बोर्डले कन्सुलर सेवा सहयोग कार्यक्रमको लागि ८ करोड ७८ लाख रुपैयाँ, कार्यालय सञ्चालन र व्यवस्थापकीय खर्चको लागि ३ करोड ५१ लाख रुपैयाँ बजेट स्वीकृत गरेको बोर्डले जनाएको छ । बोर्डका आगामी नयाँ कार्यक्रम  वैदेशिक रोजगार बोर्डले चालु आव २०८२/८३ मा संघीय तथा प्रदेश सांसद्सँग बोर्डले प्रदान गर्ने सेवाहरूको विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम राखेको छ । यस्तै, बोर्डले चालु आवमा शव बहान खरिद गर्ने कार्यक्रम राखेको छ ।  यसबाहेक बोर्डले रिर्टनी उद्यमी आईडल कार्यक्रम गर्ने नयाँ कार्यक्रम राखेको छ । यसबाहेक बोर्डले वैदेशिक रोजगारी कल्याणकारी कार्यसम्बन्धमा लेखरचना, तथा प्रसारित भिडियो सामग्रीको मूल्यांकन गरी पुरस्कृत गर्ने कार्यक्रमसमेत राखेको छ ।

चिनियाँ वैज्ञानिकहरूले बनाए पृथ्वीको हीराभन्दा कडा हीरा

काठमाडौं । चिनियाँ अनुसन्धानकर्ताहरूले सय- माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न सफल भएका छन् । यो मुख्यतः उल्कापिण्डहरूमा पाइने सामग्री हो र पृथ्वीमा पाइने सामान्य हीराभन्दा कडा छ । अनुसन्धानकर्ताहरूका अनुसार बुधबार नेचर जर्नलमा प्रकाशित यो अध्ययनले सुपरहार्ड सामग्रीको सीमालाई पुनःपरिभाषित गर्ने वाचा गरेको छ । वैज्ञानिकहरूले बनाएको यो हीरा निश्चित बल लगाउँदा सजिलै चिप्लन र सर्न सक्छ, जसले गर्दा यसको शक्ति सीमित हुन्छ ।  परिणामस्वरूप वैज्ञानिकहरूले अर्को प्रकारको सुपर हीरामा आफ्नो ध्यान केन्द्रित गरेका छन् । प्रकाशित अध्ययनमा संलग्न चिनियाँ शोधकर्ताहरूले ग्रेफाइटलाई षट्कोणीय हीरामा रूपान्तरण गर्ने नयाँ विधि प्रस्ताव गरे ।  नियन्त्रणयोग्य उच्च–तापक्रम, उच्च–दबाब र अर्ध–हाइड्रोस्टेटिक अवस्थाहरूमा तिनीहरूले ग्रेफाइट एकल क्रिस्टलहरूलाई सङ्कुचित र तताएर अन्ततः उच्च–शुद्धताको षट्कोणीय हीरा प्राप्त गरेका हुन् । षट्कोणीय हीरा संश्लेषण गर्ने पहिलेका प्रयासहरू अत्यन्त कडा गठन आवश्यकताहरूका कारण धेरै हदसम्म असफल भएका थिए ।  उच्च–तापक्रम र उच्च–दबाबको अवस्थामा अन्तिम परिणाम षट्कोणीय हीराको नभई घनाकार हीराको गठन हुने गर्छ । चिनियाँ अनुसन्धान टोलीले उच्च शुद्धता षट्कोणीय हीराको सफल संश्लेषणलाई उनीहरूको उच्च शुद्धता प्राकृतिक ग्रेफाइट एकल क्रिस्टलहरूको छनोटका साथै नमूनाहरूमा परिवर्तनहरू निगरानी गर्न उच्च–दबाव इन–सिटु एक्स–रे अवलोकनको प्रयोगलाई श्रेय दिइएको पेपरका लेखकहरूमध्ये एक र बेइजिङस्थित सेन्टर फर हाइ–प्रेसर साइन्स एन्ड टेक्नोलोजी एडभान्स रिसर्चका अनुसन्धानकर्ता याङ लिक्सियाङले बताए ।  यो अध्ययनले हीराजस्तै सामग्रीहरूमा भविष्यको अनुसन्धानका लागि पद्धतिगत आधार राख्छ ।   यो संश्लेषित षट्कोणीय हीराले सुपरहार्ड सामग्री र उच्च–अन्तका इलेक्ट्रोनिक उपकरणहरूको विकासका लागि नयाँ मार्गहरू प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनको असर उड्डयन क्षेत्रमा देखिँदा नेपालको चिन्ता, क्षेत्रीय पहलको आह्वान

जापान । हवाई उड्डयन क्षेत्रमा जलवायु परिवर्तनको असर स्पष्ट रूपमा देखिन थालेकोप्रति नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एसिया–प्रशान्त क्षेत्रीय ६० औं महानिर्देशकस्तरीय सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जलवायु र उड्डयनबीचको सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराएका हुन् । ‘उड्डयन र वातावरण’ शीर्षकको सत्र सञ्चालन गर्दै अधिकारीले हिमाल पग्लनु, बाढी, हिमताल विस्फोट र अनिश्चित मौसमका कारण नेपालको उड्डयन क्षेत्रमा देखिएका समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै भने, 'नेपालले विश्वको कार्बन उत्सर्जनमा झिनो भूमिका निभाउँछ, तर असर सर्वाधिक हामीजस्तै मुलुकले भोग्नुपरेको छ ।' उनले उड्डयनलाई आर्थिक इञ्जिनका रूपमा चिनाए पनि यसले जलवायुमा पार्ने प्रभाव नकार्न नसकिने भन्दै अब वस्तुपरक, समन्यायिक र समावेशी समाधान खोज्नुपर्नेमा जोड दिए । नेपालजस्ता मुलुकका अनुभवलाई अन्तर्राष्ट्रिय नीतिमा स्थान दिनुपर्ने उनको आग्रह थियो । सत्रमा उनले नेपालले आफ्ना विमानस्थलहरूमा नवीकरणीय जलविद्युत प्रयोग गर्दै ‘हरित विमानस्थल’ को अवधारणा अगाडि सारेको जानकारी गराउँदै अन्य देशहरूलाई पनि समान न्यायोचित रूपान्तरण र नवप्रवर्तनमा जोड दिन आग्रह गरे । सम्मेलनमा भारत, इन्डोनेसिया लगायतका देशका प्रतिनिधिहरूले पनि उड्डयन क्षेत्रको दिगोपनाका लागि हरित नीति, वैकल्पिक इन्धन र क्षेत्रीय क्षमतावृद्धिमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । महानिर्देशक अधिकारीले सत्रको समापन गर्दै भने, 'हाम्रो उड्डयन गतिविधि सानो होला, तर हामीले भोगेका असरहरू साना छैनन् । समानता, नवप्रवर्तन, र साझा प्रतिबद्धता नै अगाडि बढ्ने मार्ग हुन् ।'

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड भएको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई असार १३ गते देखि २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो । उक्त निष्कासनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बिहीबार बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाण्डौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ ।  

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने

काठमाडौं । निर्वाचन आयोगले दलहरूको स्वमूल्यांकन गर्ने भएको छ । त्यसका लागि आयोगले राजनीतिक दल स्वमूल्यांकनसम्बन्धि कार्यविधिको मस्यौदा तयार गरेको छ । मस्यौदाअनुसार दलहरुको स्वमूल्यांकनका लागि अंकभार प्रस्ताव गरिएको छ ।  आयोगले संगठनात्मक संरचनामा ६ वटा सूचकहरु राखेको छ । जसमा ८ अंकको अंकभार राखेको छ भने दलहरुले गरेको आन्तरिक व्यवस्थापनतर्फ १४ ओटा सूचकहरु राखेको छ । ती सूचकको अंकभार २२ राखिएको छ । दलको जिम्मेबारी अन्तर्गत ८ ओटा सूचकहरु राखिएको छ जसअन्तर्गत अंकभार १५ राखिएको छ । लैगिक तथा समावेशी व्यवस्थातर्फ ७ ओटा सूचकहरु राखिएको छ, जसको अंकभार १० तोकिएको छ ।  दलको कोष व्यवस्थापन र लेखा परीक्षण अन्र्तगत १५ ओटा सूचकहरु राखिएका छन् । जसको अंकभार आयोगले २० तोक्ने प्रस्ताव गरेको छ भने निर्वाचनामा सहभागिता र प्रतिनिधित्व सम्बन्धमा आयोगले १२५ ओटा सूचकहरु तोकेको छ । अंकभार १५ नै राखिएको छ । राजनीतिक दलसँग सम्बन्धित अन्य व्यवस्थातर्फ १० ओटा सूचक तोकिएको जसमा १० अंकभार राखिएको छ ।  स्वमूल्यंकन सूचकमा दलको संगठनात्मक संरचना तथा पदाधिकरी सम्बन्धि व्यवस्थामा विधानमा उल्लेख गरेको हुनुपर्ने, दलका केन्द्रिय तहका समितिहरु रहेको हुनुपर्ने, दलको प्रदेश÷स्थानीय तहका समितिहरु रहेको हुनुपर्ने, दलको संचीय र प्रदेश तहका समितिका पदाधिकारीको निर्वाचन प्रत्येक पाँच वर्षमा भएको हुनुपर्ने, संघीय सांसद् वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गरेको हुनुपर्ने सुचकहरु आयोगले निर्धारण गरेको छ । यी सूचकहरु पालना गरे, नगरेकोबारे आयोगले स्वमूल्यांकनका क्रममा हेर्नेछ । त्यस्तै, आन्तरिक व्यवस्थापनको सूचकमा दलले वितरण गरेको सदस्यको विवरण अद्यावधिक गरी राखे नराखेकोदेखि दलको नियमित बैठक भए/नभएसम्मको आयोगले हर्नेछ । दलको जिम्मबारी सूचकतर्फ दलको केन्द्रीय र प्रदेश समितिको पदाधिकारी हुनका लागि योग्यता तोकिएकोमा त्यो पूरा गरे ÷नगरेकोदेखि दलले वेवसाईटमार्फत दलका विवरण सार्वजनिक गरे/नगरेकोसम्म आयोगले हेर्नेछ ।  यस्तै  दलको एक छुट्टै कोष रहे/नरहेको,  दलको बैंक खाता सञ्चालन भए/नभएको, राजनीतिक दलले पच्चीस हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंकिङ चेक वा बैंकिङ ट्रान्सफरमार्फत मात्र गर्ने गरिएको छ वा छैन त्यसबारे पनि आयोगले स्वमूल्यांकनका क्रममा हेर्नेछ । यस्तै, दलले एक लाख रुपैयाँ भन्दाबढी सहयोग लिँदा सहयोग गर्ने व्यक्ति वा संगठनबाट त्यसको स्रोत खुलाउन लगाएको वा नलगाएकोबारे समेत हेर्नेछ । राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै कामकारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउनका लागि दल आफैंले आफ्नो मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्न संस्थागत प्रबन्धको लागि निर्वाचन आयोगले मस्यौदा तयार गरेको र सबैको सुझावलाई समेटेर कार्यविधिलाई अन्तिम रुपमा दिइने आयोगका अधिकारीहरुको भनाइ रहेको छ । 

पानी उमालेर मात्र पिउन उपभोक्तालाई महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो ।   कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्नका लागि कामपाले पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको जनाउँदै उपभोक्ताले पनि पानी उमालेर मात्र पिउनुपर्नेमा जोड दिए ।  कामपाले गत असारमा मात्रै गरेको अनुगमनका क्रममा १५९ मापदण्डविपरीत पिउने पानी बोकेका जार नष्ट गरेको उनले जानकारी दिए । अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरबासीको आवश्यकता पूरा गराउन पानीको प्रशोधित सेवा दिने व्यवसायीका सवारीसाधन तथा जारको नियमित अनुगमन गरिरहेको जनाएको छ ।   अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई कामपाले अनुगमनकै क्रममा नष्ट गरेको विभागका प्रमुख न्यौपानेले उल्लेख गरे । कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार प्रयोग नगर्न पनि कामपाले सबैलाई आग्रह गरेको छ ।   कमजोरी पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित जार बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबीजक गाडीमा लिएर हिँड्न निर्देशन दिइएको न्यौपानेले जानकारी दिए ।  त्यसैगरी, कामपाले हैजा नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ । पानीको नमूना परीक्षणसँगै कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने तयारी भइरहेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि ‘फोकल पर्सन’ ऋषि भुसालले जानकारी दिए ।  उनका अनुसार विगतको वर्षमा भन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमितजस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्नसक्ने अनुमान गर्दै कामपाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो । यसअघिका वर्षहरूमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मेइन' मा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब कोरियन स्किन हस्पिटल 'लेट मेइन' मा विभिन्न सेवा तथा उत्पादनमा छुट सुविधा पाउने भएका छन् । बैंक र लेट मेइनबीच काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगामा सञ्चालित स्किन हस्पिटलका लागि सहकार्य सम्झौता भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यसबाहेक, लेट मेइनमा उपलब्ध कोरियन सौन्दर्य उत्पादनहरूमा ग्राहकहरूले ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको जनाएको छ । यस विशेष छुट योजनाबाट सौन्दर्य तथा छाला सम्बन्धी सेवा लिने ग्राहकहरू लाभान्वित हुने बैंकको अपेक्षा छ ।