विकासन्युज

एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मेइन' मा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब कोरियन स्किन हस्पिटल 'लेट मेइन' मा विभिन्न सेवा तथा उत्पादनमा छुट सुविधा पाउने भएका छन् । बैंक र लेट मेइनबीच काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगामा सञ्चालित स्किन हस्पिटलका लागि सहकार्य सम्झौता भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यसबाहेक, लेट मेइनमा उपलब्ध कोरियन सौन्दर्य उत्पादनहरूमा ग्राहकहरूले ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको जनाएको छ । यस विशेष छुट योजनाबाट सौन्दर्य तथा छाला सम्बन्धी सेवा लिने ग्राहकहरू लाभान्वित हुने बैंकको अपेक्षा छ ।

नेपालमा पहिलो पटक इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी 'एमजी आईएम ६' सार्वजनिक, मूल्य ७५ लाख

काठमाडौं ।  एमजी आईएम ६ ईभी बुधबार सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा एमजी आईएम ६  सार्वजनिक गरिएको हो । एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सार्वजनिक गरेको हो । एमजी आईएम ६ नेपालमा सार्वजनिक भएको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक एसयूभी हो ।  लक्जरियस, नवप्रवर्तन र लामो रेन्ज क्षमताले आईएम ६ लाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी श्रृंखलाको प्रमुख मोडेल बनाएको छ । पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यो गाडीले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने बताए । उनले आईएम ६ ले बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने पनि दाबी गरे ।  क्षेत्रीले भने, ‘यो प्रिमियम एसयूभी हो, यसले बजारमा सजिलै प्रतिस्पर्धा गर्नसक्छ । यो गाडी किनेर कोही पनि पछुताउनु पर्ला जस्तो मलाई लाग्दैन ।’ उनले गाडी किनेर कोही पनि पछुताउन नपर्ने पनि बताए । सार्वजनिक गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडी विभिन्न ६ कलरमा उपलब्ध छ ।  आईएम ६ मा डिजिटल चेसिस रहेको छ जुन उद्योगकै अग्रणी कम्पोनेन्टहरू प्रयोग गरी बनाइएको हो । यसले  विलासी गुणस्तरको यात्रा अनुभव दिन्छ ।  आईएम ६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ । जसले  एकपटक चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ । गाडीमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसैगरी गाडीमा ४५० एनएम टर्क रहेको छ । गाडीमा अत्याधुनिक एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम रहेको छ । यसैगरी ३६० डिग्री क्यामेरासमेत जडान गरिएको छ ।  गाडीमा पाँच सिट क्षमता रहेको छ । आईएम ६ मा अत्याधुनिक ब्याट्री सुरक्षा प्रणाली छ, जसले थर्मल समस्याबाट गाडीलाई जोगाउँछ । गाडीमा रेइनी नाइट मोड र अन टच आईएड जस्ता स्मार्ट फिचरहरू रहेका छन् । पारामाउन्ट मोटर्सका अनुसार यो गाडी अहिले देशभरका सबै अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध छ । गाडी अर्को सातादेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा पनि राखिने जनाइएकाे छ ।

२९१५ बिन्दुमा झर्‍यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २९१५ बिन्दुमा झरेको छ ।  आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९० करोड रुपेयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टिलरीको ६८ करोड, शिवभ् सिमेन्टको ६५ करोड र लुम्बिनी विकास बैंकको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक, ट्रेड टावर र नेपाल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।   'हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ', प्रधानमन्त्री ओलीले भने, 'हामी सबै लागेमा ‘वी क्यान डू’... नेपाल बन्छ ।'  

गाउँपालिकाका अध्यक्षले सबै विद्यालयको भित्तामा आफ्नो फोटो राख्न निर्देशन दिएपछि...

काठमाडौं । केही सताअघि अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले आफ्नो पालिकाभित्र पर्ने सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गाउँपालिकामा बोलाए । अध्यक्षले निमन्त्रणा पठाएपछि ४३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक बैठकमा सहभागी भए । बैठकमा उपस्थित हुन नसक्नेले प्रतिनिधि पठाए ।  निकै महत्वपूर्ण भनिएको बैठकमा अध्यक्ष साउँदले एउटा निर्देशन दिएपछि सबै आश्चर्यमा परे । ४३ वटै सामुदायिक विद्यालयलाई साउँदको निर्देशन थियो, ‘सबै विद्यालयको अफिसको भित्तामा गाउँपालिकाका अध्यक्षको तस्बिर राख्नु पर्ने ।’ केही विद्यालयले उनको त्यो निर्देशन सहजै स्वीकार गरे । केही बैठकमै आलोचना गरे । तर, उनी पछि हटेनन् । आफू जननिर्वाचित अध्यक्ष भएकोले सबैले आफूलाई मान्नुपर्ने र शिक्षक तथा विद्यार्थीले पनि चिन्न आवश्यक रहेकोले आफ्नो तस्बिर विद्यालयको भित्तामा राख्नैपर्ने निर्देशन उनले बैठकमा सुनाए । उनले बैठकमा सामुदायिक विद्यालयलाई आफ्नो तस्बिर बाँडे । चाहना हुनेले फोटो लगेर हिँडे । केहीले आलोचना गर्दै तस्बिर नलिएरै घर फर्किए । अहिले मेल्लेख गाउँपालिकाकाभित्र पर्ने अधिकांश सामुदायिक विद्यालयको कार्यालयको भित्तामा उनको तस्बिर झुण्डिएको छ ।  केहीले भने उनको आलोचना गरिनै रहेका छन् । सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । उनलाई आलोचना गर्नेहरुले उत्तर कोरियाका नेता किमजोङको संज्ञा दिइरहेका छन् । किमजोङको mmोटो त्यहाँका हरेक नागरिकको घरमा छ । उत्तर कोरियाका नागरिक हरेक दिन बिहान उठेर उनको फोटो ढोग्छन् र कामको सुरुवात गर्छन् । आलोचना गर्नेहरुले अध्यक्ष साउँदलाई यसरी आलोचना गरिरहेका छन् ।  अध्यक्ष साउँदले ४३ वटा विद्यालयका लागि १ लाख ५० हजार पाँच सय रुपैयाँ खर्च गरेर तस्बिर बनाएको बुझिएको छ । प्रतिफोटो ३ हजार ५ सयका दरले १ लाख ५० हजार पाँच सय रुपैयाँ फोटो बनाउनमा खर्च भएको गाउँपालिका स्रोतले बतायो ।  त्यहाँका स्थानीय र शिक्षकले पनि अध्यक्ष आफ्नो प्रचारको मोह देखाएको धारणा राखिरहेका छन् । एक सामुदायिक विद्यालयका शिक्षकले उनको आलोचना गर्दै भने, ‘सरकार प्रमुख छिटो–छिटो फेरिन्छन् । सरकार प्रमुखको समेत फोटो राख्न समेत नसकिएको बेला अब पालिका अध्यक्षको फोटो पो राख्न निर्देशन दिइयो, हामीले उनको फोटो नराखेर चार सहिदको फोटो भित्तामा राखेका छौं ।’ यस विषयमा अध्यक्ष साउँदसँग बुझ्न खोज्दा उनले जवाफ दिन चाहेनन् । तर, यस विषयमा उनले एक स्थानीयसँग गरेको कुराकानी भने बाहिरिएको छ । उनले ती स्थानीयसँग भनेका छन्, ‘नयाँ अभ्यास बसाल्न यस्तो निर्णय गरेका हौं, यसलाई अनौठो मान्नु पर्दैन ।’ स्थानीय सरकार पनि कार्यकारी सरकार भएकाले नयाँ थिति बसाल्न यस्तो निर्णय गरेको उनको तर्क छ । ‘सरकारी कार्यालयमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न मिल्छ, स्थानीय तह पनि सरकार हो, उनले भनेका छन्, हामीलाई पनि जनताले मत दिएर निर्वाचित भएका हौं, हाम्रो पनि रेकर्ड रहन्छ भन्ने लागेर नयाँ अभ्यास गरेका हौं ।’ अध्यक्ष साउँदले आफ्नो कार्यकाल अब थोरै बाँकी रहेकोले इतिहास रहन्छ भनेर यस्तो निर्देशन दिएको पनि अडियोमा सुन्न सकिन्छ । उनको यो निर्णयप्रति पालिकाभित्रकै कर्मचारी समेत असन्तुष्ट रहेको बुझिएको छ ।  शिक्षकलाई तलब पाउन सकस  फोटोको लागि डेढ लाख  बढी खर्च गर्ने मेल्लेख गाउँपालिकाले अनुदानमा राखेका शिक्षकलाई भने तलब खुवाउन सकेको छैन । दुई महिनादेखि तलब नपाउँदा शिक्षकलाई समस्या भएको गुनासो गरेका छन् ।  पालिकाले ४३ वटा सामुदायिक विद्यालयमा ८८ जना शिक्षक अनुदान कोटामा राखेको छ । उनीहरूले दुई महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।  पालिकाले प्रावि शिक्षकलाई १८ हजार, ८ कक्षासम्मका शिक्षकलाई २० हजार र माविका शिक्षकहरूलाई २२ हजार रुपैयाँका दरले तलब दिएर राखेको छ । सोही पालिकामा पर्ने एक सामुदायिक विद्यालयका शिक्षक भन्छन्, ‘सामुदायिक विद्यालयमा समस्या कति छन कति, सुधारमा ध्यान दिन सकेको छैन, कतिपय विद्यालयमा शिक्षक छैनन्, अनुदानमा राखेका शिक्षकलाई तलब पनि पर्याप्त छैन, समस्या एकातिर अध्यक्षको ध्यान चर्चित हुनेतर्फ भयो ।’  

सिँचाइ अभाव हुँदा आकासे पानीको भरमा इलामका किसान

इलाम ।  जिल्लाको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि एक महिनाअघिदेखि खनजोत गरी खेत तयार पारेका थिए । आकासे पानी आवश्यकता अनुसार नपरेपछि उहाँले अहिलेसम्म एक गाँभो पनि धान रोप्न सकेका  छैनन्  । खेतमा पानी पुग्ने मुहानमा मूल नफुटेकाले रोपाइँ सम्भव नभएको बताउँदै आकासे पानीको भरमा बसेकाले करिब १९ रोपनी खेत अहिलेसम्म बाँझै रहेको सुरविरले जानकारी दिए । ‘खेत जोते पनि सिँचाइ अभावले रोपाइँ गर्न नसकेपछि आकासतिर हेर्दै बस्नुपर्ने बाध्यता छ । खेत जोतेर बीउ पनि तयार पारेको हुँ । अब एक साताभित्र पनि पानी परेन भने यो वर्षको रोपाइँ हुँदैन’, उनले भने । किसान आइतराज लिम्बूको पीडा पनि उस्तै छ । खनजोत गरेर रोपाइँका लागि तयार पारिएको १६ रोपनी खेत आकासे पानीको पर्खाइमा बाँझै छ । 'पहिलापहिला असारको सुरुमा पानी पथ्र्यो, तर यो साल साउन दोस्रो साता बितिसक्दा समेत पानी परेन', उनले भने, 'सिँचाइ अभाव हुँदा खेत बाँझो रहने भयो, खेती नभए के खाने चिन्ता बढ्न थालेको छ ।' समयमा पानी नपर्दा इलामका सुरविर र आइतराजजस्ता सयौँ किसान रोपाइँ गर्न नपाएपछि चिन्तित छन् । यसैबीच साउनको दोस्रो सातासम्म इलाममा ७४ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख कुलबहादुर राईले साउन दोस्रो सातासम्म ११ हजार ६३ हेक्टरमध्ये आठ हजार १८६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जनाउँदै यो कूल क्षेत्रको ७४ प्रतिशत हुने बताए । ‘गतवर्ष यही समयमा ९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको थियो । गत वर्ष १४ हजार ८१५ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । यस वर्ष आवश्यक वर्षा नभएकाले किसानले समयमा धान रोप्न पाएका छैनन्’, राईले भने । यस वर्ष मनसुन पर्याप्त नभएको, पानीका मूल नफुटेका, जमिनमा पानीको तह घट्नुका साथै सिँचाइ अभावले कम रोपाइँ भएको उनको भनाइ छ । कूलो र नहरको सुविधा भएका, खोला र खोल्सा क्षेत्र छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको बताउँदै आकासे पानीको भर परेर रोपिने ठाउँ बाँझै रहेका प्रमुख राईले बताए। रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गह्राहरू चर्किन थालेका किसानले बताएका छन् । साउन दोस्रो सातासम्म पनि रोपाइँ गर्न नपाउँदा यस वर्ष धान उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् । इलामको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँको माई नगरपालिका र रोङ गाउँपालिकाका किसानले उन्नत जातका रावित्री र रञ्जित खेती गर्दै आएका छन् । अन्य क्षेत्रका किसानले बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत स्थानीय जातका धानखेती गर्ने केन्द्रका प्रमुख राईले जानकारी दिए । उनका अनुसार यहाँको माई नगरपालिका, चुलाचुली गाउँपालिका र इलाम नगरपालिकामा सबैभन्दा बढी धानखेती हुँदै आएको छ । रासस

देशभरका सात राजमार्ग वर्षाका कारण अवरुद्ध

काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही रुकुम सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्णरूपमा अवरोध भएका प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, नवलपरासी पूर्वको गैँँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । सत्तारूढ गठबन्धनभित्रको समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा एमाले र कांग्रेस दुवै पक्षका शीर्ष नेताहरू सहभागी छन् । बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री ओलीसँगै एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् । कांग्रेस पक्षबाट सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् ।छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, बागमती प्रदेश सरकारको संरचना, र पछिल्लो राजनीतिक अवस्था सम्बन्धी विषयमा कुराकानी भइरहेको छ । सत्तारूढ गठबन्धनभित्र देखिएको असमझदारी समाधान गर्ने प्रयासस्वरूप शीर्ष नेताहरूबीच आजको भेटवार्ता महत्त्वपूर्ण मानिएको छ ।