रुपन्देही-३ मा निर्वाचन लड्न दल दर्ता गर्नुपर्ने, साउन २७ गतेसम्म समय
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घट्दा डिजल र मट्टितेलको मूल्य भने बढेको छ । डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५९, डिजल र मट्टितेल प्रतिलिटर १ सय ५०, हवाई इन्धन प्रतिलिटर १ सय २८ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको छ ।
खानीखोला हाइड्रोले भदौ ३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २७ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर बिक्री प्रयोजनका लागि सिटि होटलले तोक्यो बुकक्लोज मिति
काठमाडौं । सिटि होटलले हकप्रद सेयर बिक्री प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्ण गरेको छ । साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
५.७५ प्रतिशत लाभांश बाँड्ने सानिमाको घोषणा
काठमाडौं । हाइड्रोपावर कम्पनी सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित खुद नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ७५.७४ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश पारित गर्न कम्पनीले भदौ ४ गते बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
इस्लिंग्टन कलेजले २६१ विद्यार्थीलाई दियो ७ करोडको त्रीपल ए छात्रवृत्ति
काठमाडौं । इस्लिंग्टन कलेजले त्रीपल ए छात्रवृत्ति समारोह २०२५ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । प्रगिकता, उपस्थिति र हाजिर र आचरणलाई एकै सुत्रमा बाध्ने त्रीपल ए छात्रवृतिको उद्देश्य शैक्षिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्र भर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ । छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साह पूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतीपूर्ण साबित भएको बताइएको छ । ७ करोड रुपैयाँ पुरस्कार राशीको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा २६१ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेको थियो । छनोट भएका विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए । यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सक्ने सफल भएको उनले बताए । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको हो ।
आज देशभर साधारणतया बदली हुने, राति बागमतीमा भारी वर्षा
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।rt
काठमाडौंमै बजारीकरणको समस्या, वडाबाट उत्पादित सामग्री अलपत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या देखिएको छ । उक्त कार्यक्रम अन्तर्गत वडाहरूबाट उत्पादन भएका वस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरे पनि उक्त स्थानले मात्र अपुग भएको भन्दै अन्यत्र पनि बजारीकरणका लागि स्थान पहिचानको आवश्यकता माग गरिएको छ । कामपा वडा नम्बर ११ का महिला वडा सदस्य आशा श्रेष्ठले वडाले वडाहरूमा सामग्री उत्पादन राम्रोसँग भइरहेको भन्दै उत्पादित सामग्री बेच्नका लागि पर्याप्त स्थान नहुँदा थन्क्याएर राख्नुपरेको बताइन् । विभिन्न किसिमका सामग्री उत्पादन गर्नका लागि तालिम प्रशस्त भए पनि उत्पादन भएका सामग्रीलाई सहज बजारीकरणको व्यवस्था नभएको वडा २७ का दलित महिला सदस्य प्रभा परियारको भनाइ छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । हाल कामपाको वडा नं १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा हो । वडा नं २ को मस्यौरा र तितौरा, वडा नं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रूपमा छनोट भएको छ । वडा नं ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं ९ को रुद्राक्षको माला र धूप बनाउने, वडा नं १० को मस्यौरा र विभिन्न अचार बनाउने, वडा नं १२ को सुकुल बनाउने, वडा नं १६ को काष्ठकला, वडा नं २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं २२ को जुत्ता बनाउने, वडा नं २४ को ब्याग बनाउने र वडा नं ३२ को अचार बनाउने उद्यमलाई नमूनाका रूपमा छानिएको छ । गत आर्थिक वर्षमा थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मिठाइका परिकार उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरीसहित खाद्यवस्तु उत्पादन उद्यम सञ्चालन गरिएको छ ।