काठमाडौंमै बजारीकरणको समस्या, वडाबाट उत्पादित सामग्री अलपत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या देखिएको छ । उक्त कार्यक्रम अन्तर्गत वडाहरूबाट उत्पादन भएका वस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरे पनि उक्त स्थानले मात्र अपुग भएको भन्दै अन्यत्र पनि बजारीकरणका लागि स्थान पहिचानको आवश्यकता माग गरिएको छ । कामपा वडा नम्बर ११ का महिला वडा सदस्य आशा श्रेष्ठले वडाले वडाहरूमा सामग्री उत्पादन राम्रोसँग भइरहेको भन्दै उत्पादित सामग्री बेच्नका लागि पर्याप्त स्थान नहुँदा थन्क्याएर राख्नुपरेको बताइन् । विभिन्न किसिमका सामग्री उत्पादन गर्नका लागि तालिम प्रशस्त भए पनि उत्पादन भएका सामग्रीलाई सहज बजारीकरणको व्यवस्था नभएको वडा २७ का दलित महिला सदस्य प्रभा परियारको भनाइ छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । हाल कामपाको वडा नं १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा हो । वडा नं २ को मस्यौरा र तितौरा, वडा नं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रूपमा छनोट भएको छ । वडा नं ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं ९ को रुद्राक्षको माला र धूप बनाउने, वडा नं १० को मस्यौरा र विभिन्न अचार बनाउने, वडा नं १२ को सुकुल बनाउने, वडा नं १६ को काष्ठकला, वडा नं २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं २२ को जुत्ता बनाउने, वडा नं २४ को ब्याग बनाउने र वडा नं ३२ को अचार बनाउने उद्यमलाई नमूनाका रूपमा छानिएको छ । गत आर्थिक वर्षमा थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मिठाइका परिकार उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरीसहित खाद्यवस्तु उत्पादन उद्यम सञ्चालन गरिएको छ ।
सिञ्जा गाउँपालिकामा १ हजार ५ सय घरको बीमा, क्षतिग्रस्त भएपछि बीमाले भुक्तानी दिने
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब १ हजार ५४५ घरको घर बीमा गरेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममार्फत सिञ्जाका १ हजार ५४५ घरको बीमा गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनका अनुसार पालिकाका ६ वटै वडामा २ जना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी घर बीमाको सङ्ख्या निर्धारण गरिएको हो । प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ मन्त्रिपरिषदबाट फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ । उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्याङ्कन गरी यही असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिंजाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको गाउँपालिका अध्यक्ष धितालले बताए । कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २३ लाख रुपैयाँको बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमा शुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हुरीबतासलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले ११ अर्ब ५० करोड रुपैयाँ बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बीमा गरेको प्रदेशको कानुन मन्त्रालयले जनाएको छ । चालु आव २०८२/८३ मा घर बीमा कार्यक्रममा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, जलस्रोत विधेयकमाथि दफावार छलफल
काठमाडौं । सङ्घीय संसद् मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा सङ्घ तथा प्रदेश स्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । दिनको २ः३० बजे समितिको कार्यकक्षमा नै बैठक बस्दैछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपरान्ह १ बजे समितिको बैठक कक्षमा बस्दैछ । समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल हुनेछ । समितिको कार्यकक्षमा बिहान ११ बजे बैठक बस्नेछ ।
आज राष्ट्रिय कोदो दिवस मनाउँदै, करोडौंको कोदा विदेशबाट आयात
काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए । कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ । दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सको 'बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५' सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको 'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले 'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीले अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा नेपालमै निर्मित आँखीझ्याल शैलीको विशेष अवार्डमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरिएको थियो । समारोहका प्रमुख वक्ता तथा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीको सफलता अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको उल्लेख गरे । उनले आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमितमुखी तथा अभिकर्ताकेन्द्रित सेवा प्रदायक संस्थाको रूपमा अघि बढाइने स्पष्ट पार्दै समारोहको समापन गरे । कार्यक्रमले कम्पनी र अभिकर्ता समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको बताइएको छ ।
क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले गरेको निर्णय बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधि पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन्। त्यसैगरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब रु १८ अर्ब ९२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६.७ मिलियन अमेरिकी डलर बराबरको ‘सर्टर म्याचुरिटी लोन’ तथा ३३.३ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण गरी जम्मा १२० मिलियन अमेरिकी डलर अर्थात करिब रु १६ अर्ब ७४ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । पावर डिस्ट्रब्युसन स्ट्रेन्थनिङ प्रोग्राम (पिओएसआइएसपी) का लागि जर्मन सरकारले प्रदान गर्ने २० मिलियन युरो बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । साथै मन्त्री गुरुङले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न रामुप्रसाद डोटेल (पर्वत) को संयोजकत्वमा रमेशप्रसाद सिवाकोटी (दोलखा) र चण्डीप्रसाद घिमिरे (ललितपुर) सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको बताए । त्यसैगरी, नेपाल–भारत पारवहन सन्धि, २०२३ को प्रोटोकलमा संशोधन गर्नेसम्बन्धी लेटर अफ एक्सचेन्ज स्वीकृत गर्ने र उक्त एलओईमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । आगामी भदौ २३ देखि २५ गतेसम्म पेरिसमा आयोजना हुने नेस्नल फोरम अन पम्पड स्टोरेज हाइट्रोपावर कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । आगामी भदौ २ देखि १३ गतेसम्म संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा आयोजना हुने मेरिन बायोडाइभरसिटी अफ एरियाज वियोन्ड नेस्नल जुरिस्डिक्सन (विविएनजे) प्रिपरेटरी कमिसनको दोस्रो सत्रको बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालाई स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार मानबहादुर कार्कीलाई न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्त गरी सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने, न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा बढुवा नियुक्त गर्ने निर्णय सरकारले गरेको उल्लेख छ । साथै यही साउन १३ देखि १५ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना केयर फर साउथ एसिया प्रोजेक्ट कम्प्लेसन एन्ड डिसिमिनेसन वर्कसपमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रह‍ेका मन्त्री गुरुङले जानकारी गराए । त्यसैगरी साउन १८ देखि २३ गतेसम्म ‘थर्ड युनाइटेड नेसन्स कन्फ्रेन्स अन ल्यान्डलक डेभलपिङ कन्ट्रिज’ (एलएलडिसिथर्ड) मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा श्री ध्रुवराज भट्टराई, (तनहुँ) लाई नियुक्त गर्ने, राष्ट्रिय युवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीको सरुवा गर्ने सरकारले निर्णय गरेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका ९७ वटा हिमालमा लाग्ने सलामी रकम आर्थिक वर्ष २०८२/८३ र आव २०८३/८४ दुई आर्थिक वर्षका लागि पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम पूर्णरूपमा छुट दिने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय सरकारले गरेको छ । भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ को दफा ९ को उपदफा ९२० बमोजिम डा उज्ज्वल चालिसे, कास्कीलाई भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । न्याय सेवा आयोगको सिफारिसबमोजिम सहन्यायाधिवक्ता सूर्यराज दाहालको नायब महान्यायाधिवक्ता पदमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीको महान्यायाधिवक्ताको कार्यालयको नायब महान्यायाधिवक्ता पदमा सरुवा गर्ने निर्णय सरकारले गरेको मन्त्री गुरुङले जानकारी दिए ।
नवनिर्वाचित सीएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको भन्दै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप समिति गठन गरेको बताए । अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरूसँग समझदारी गरेको जानकारीसमेत गराए । सो अवसरमा शिक्षा मन्त्री पन्तले उत्पादनसँग तालमेल हुने गरी शिक्षालाई जोड्न आवश्यक रहेको भन्दै सो कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै यसलाई उत्पादनसँग समेत जोड्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । छलफलमा परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
‘नाइमा मोबिलिटी एक्स्पो अहिलेसम्मकै ‘लार्जेस्ट’ प्रदर्शनी हो, अरू शोसँग तुलना हुँदैन’ {अन्तर्वार्ता}
काठमाडौं । नेपालमा अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक ‘नाइमा मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ । उक्त एक्स्पो आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । यो एक्स्पोले नेपाली अटो बजारको विकासमा नयाँ गति थप्ने र भविष्यको दिशानिर्देशन प्रदान गर्ने अपेक्षा नाइमाको छ । मोबिलिटी एक्स्पोको तयारी र योजनाबारे नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँग विकासन्युजका लागि नरेन्द्र विष्टले कुराकानी गरेका छन् । पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो आयोजना हुँदैछ, तयारी कस्तो छ ? हामीले हाम्रोतर्फबाट उत्कृष्ट ढंगले तयारी गरिरहेका छौं । तयारी अन्तिम चरणमा छ । स्टल निर्माण बिहीबारदेखि खुल्दैछ । त्योभन्दा अगाडिका जति पनि कामहरू हुनुपर्ने हो, त्यो सबै हामीले गरिसकेका छौं । हामी पूर्ण विश्वस्त छौं, यहाँहरू सबैको सहयोगले एक्स्पो सफल हुनेछ । एक्स्पोमा सहभागीहरूले नयाँ अनुभव के पाउँछन् त ? नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो । जहाँ ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी हुँदैछन् । स्टलहरूको साइजदेखि ग्राहक तथा अवलोकनकर्ताहरूको सेवा सुविधाहरूको हिसाबले यो उत्कृष्ट र ठूलो अटो एक्स्पोको रूपमा हामीले लिएका छौं । यसमा सहभागीहरूले आफ्नो इच्छा अनुसारका ब्रान्डहरूलाई अवलोकन गर्न पाउनुहुनेछ भने सहज ढंगले बस्न सक्ने व्यवस्था तथा फुड स्टलहरू राखेका छौं । एक्स्पोमा कनेक्टिभिटी पार्टनर वर्ल्डलिङ्कले इन्टरनेट सेवा प्रदान गर्नेछ । यस्तै, टेलिकम्युनिकेसन पार्टनर एनसेलले टेलिकम्युनिकेसनको सुविधा दिनेछ । एक्स्पोमा ग्राहक तथा अवलोकनकर्ताहरूका लागि नेपाल पुलिस क्लबमा प्यारालल सेसन्स, लर्निङ सेसन सञ्चालन गरिरहेका छौं, जहाँ प्रवेश गर्नलाई पैसा लाग्ने छैन । त्यो पनि उनीहरूले अनुभव गर्न पाउनुहुनेछ र पाँचौं दिनसम्म यी सत्रहरू सञ्चालन हुनेछन् । भृकुटीमण्डपसम्म आउने र त्यहाँबाट जाने ग्राहकहरूलाई राइड पार्टनर पठाओले २० देखि ३० प्रतिशतसम्म छुट दिएको छ । यी अनुभवहरूले अवलोकनकर्ताहरूलाई आनन्द र प्रिमियम महसुस गर्ने अपेक्षा नाइमाको छ । एक्स्पोका मुख्य चुनौतीहरू के-के देख्नु भएको छ, त्यसलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ? नाइमाले पहिलो पटक एक्स्पो आयोजना गर्न लागेको हो । यसमा हामी सबै उत्साहित छौं । यो मोबिलिटी एक्स्पोलाई हामीले अवसरकै रूपमा लिएका छौं । समग्र मोबिलिटी क्षेत्रमा इन्फर्म डिसिजन लिन अथवा सबैले सुसूचित भएर निर्णय गर्न सक्नेका लागि उपभोक्ता केन्द्रित मोडल अपनाएका छौं । जहाँ उपभोक्ताले एउटै छानामुनि धेरै ब्रान्डहरूको अवलोकन गर्न पाउने छन् । एक्स्पोमा ३५ भन्दा बढी नयाँ ब्रान्डहरू लन्च हुँदैछन् । त्यसमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन रहनेछन् । यो एकदम ठूलो अवसर हो । यसका साथै प्यारालल सेसनहरूमार्फत मोबिलिटी सेक्टरको समग्र चित्रण गर्ने व्यवस्था मिलाएका छौं । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले बोल्नेछन् । एक्स्पोको पहिलो दिन हरिवंश आचार्य र अनिल केशरी शाह आउने छन् । शाहले करिब ६०० जना व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नेछन् । अटोमोबाइल सेक्टरमा विद्यमान चुनौतीहरू छन् । यसका लागि नाइमाले सधैं बहस पैरवी गरिरहेको छ । एक्सपोभित्र हुने सानातिना चुनौतीहरूलाई सबैको सहकार्यले समाधान गर्ने तयारीमा नाइमा छ । हामीले यसलाई प्रिमियम र लार्जेस्ट अटो एक्स्पो अफ नेपाल भनेका छौं । भृकुटीमण्डपजस्तो सानो ठाउँमा यति ठूलो एक्स्पो हुँदैछ, अवलोकनकर्ताको सवारी पार्किङको व्यवस्था के छ ? हामीले यसपालि गरेको सबैभन्दा राम्रो व्यवस्थापन पार्किङ हो । नेपाल पुलिस क्लबभित्र भएको ब्लु प्याभिलियन हलको अन्डरग्राउन्ड दुई तला र भृकुटीमण्डपको उत्तर क्षेत्रमा भएको क्षेत्र पार्किङको लागि लिएका छौं । जहाँ २०० भन्दा बढी चारपाङ्ग्रे र अझ त्योभन्दा बढी दुईपाङ्ग्रे सवारी साधनका लागि पार्किङको व्यवस्था छ । पठाओको राइडिङ पार्टनरको एग्रिमेन्टले पनि पार्किङलाई व्यवस्थापन गर्नेछ । यदि कसैले म सवारीसाधन नलिइकन जान्छु भन्ने अवस्थामा पनि पठाओले सुविधा दिनेछ । हामी ढुक्क छौं । विगतका नाडा अटो शोमा पार्किङले दिने दुःख यसपालि हुँदैन । स्टलहरू उत्कृष्ट ढंगले निर्माण गरेका छौं । पानी पर्दा हिलो हुने छैन । अर्को कुरा अपाङ्गता भएका व्यक्तिका लागि हिँड्ने बाटोदेखि स्टलहरूसम्म अपाङ्गतामैत्री बनाएका छौं । यसमा हाम्रा भोलेन्टियरहरुले पनि पूर्णरूपमा सहयोग सहयोग गर्नेछन् । यस्ता किसिमका प्रदर्शनीहरू बिक्रीकेन्द्रित हुने गरेका छन्, यो एक्स्पोको उद्देश्य पनि त्यही हो ? यसपालिको एक्स्पोमा अहिलेसम्म जति विस्तृतमा यहाँलाई भने अब हामी बिक्रीकेन्द्रित मात्रै छौं भन्न मिल्दैन । यो उपभोक्ताको अधिकार हो । यसमा अवलोकनकर्ताले धेरै सवारीसाधनहरू हेरेर आफूलाई उपयुक्त छान्न पाउने अवसर एकदम ठूलो हो । यदि हामी बिक्रीकेन्द्रित हुने भएको भए हामीले ब्लु प्याभिलियन हलमा पाँचौं दिनसम्म सत्रहरू गर्ने थिएनौं । लर्निङ सेसनको लागि टिकट राखेका छैनौं । एक्स्पोमा जानका लागि समेत थोरै पैसा मात्रै राखेका छौं । जुन विद्यार्थीको लागि १०० रुपैयाँ तथा अन्य सर्वसाधारणको लागि २०० रुपैयाँ टिकट रहेको छ । त्यसकारण बिक्री गर्ने प्रदर्शनी गर्ने एक ठाउँमा छ । त्यो पनि उपभोक्ता केन्द्रित छ । जसमा लर्निङ सेसन गरेर इन्डस्ट्रीलाई योगदान दिन कोसिस हामीले गरेका छौं । एक्सपोमा सहभागीहरूको संख्या ८० हजारभन्दा बढी हुने अपेक्षा नाइमाको छ, यो सम्भव छ ? सम्भव छ, किनभने सकेसम्म धेरैभन्दा धेरै उपभोक्ताहरूमाझ यो सूचना पुर्याउनेगरी काम गरिरहेका छौं । एक्स्पोमा जाँदा गाडीहरू हेर्ने, किन्ने, बुक गर्ने अवसर सँगसँगै सिक्ने अवसर पाइनेछ । आशा छ धेरै उपभोक्ता तथा भ्रमणकर्ताहरू आउनेछन् । यो एक्स्पोमा कारोबार कति हुन्छ होला ? हामीले यति कारोबार हुन्छ भनेर तोकेर लक्ष्य राखेका छैनौं । एकातिर सिकाइका सत्रहरू छन् जसमार्फत एउटा सन्देश दिन खोजिरहेका छौं । सवारीसाधन अब विलासिताको वस्तु होइन, यो एउटा आवश्यकताको वस्तु हो । यसलाई कुनै बेला लायबिलिटिजको रूपमा लिइन्थ्यो भने हाल एसेटको रूपमा लिन खोजिरहेको म्यासेज दिइरहेका छौं । त्यसकारणले कारोबारको टार्गेट हामीले राखेका छैनौं । एक्स्पोमा गुणस्तरीय सवारीसाधनहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू राखेका छौं जुन अवलोकनकर्ताले सजिलै किन्न, बुक गर्न तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । अटो सेक्टरले देशको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ । जसलाई हामीले महत्त्व दिएका छौं । यति नै कारोबार हुन्छ भनेर टार्गेट राखेका छैनौं । तर कारोबार ठूलै मात्रामा हुनेछ भन्ने आशा छ । यति ठूलो एक्स्पो आयोजना गर्न लगानी त धेरै चाहियो होला नि ? एक्स्पोको टिकट बिक्रीबाट आउने पैसा र स्टल वितरणबाट आउने पैसा पूर्ण रूपमा त्यहीं खर्च गर्ने भनेका छौं । ताकि त्यहाँ हिँड्ने ठाउँमा हिलो जमेको, पानी पर्दा भिज्ने, भित्र राम्रो खाने ठाउँ नहुने, बस्ने ठाउँ नहुने भन्ने नहोस् भन्ने हिसाबले हामीले तयारी गरिरहेका छौं । टिकट बिक्रीबाट आएको ५ प्रतिशत पैसा हाम्रो सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्ने व्यक्तिहरूलाई या कुनै संस्थाहरूलाई योगदान गर्नेछौं । जसका लागि शिक्षा मन्त्रालय र सीटीईभीटीसँग सहकार्य गरेर उनीहरूलाई सहयोग गर्ने भनेका छौं । लगानी कति हुन्छ भन्ने भन्नुभन्दा पनि जति आम्दानी छ त्योभन्दा बढी त्यहाँ आउने महानुभावहरूलाई एकदमै उत्कृष्टताको महसुस गराउने कोसिस छ । एक्स्पोमा छुट र अफरहरू के-कस्ता हुन्छन् ? हामीले दशैंको सुरुवात नाइमाबाट भनेका छौं । यसले के संकेत गर्छ भने हाम्रा ब्रान्डहरूले उपभोक्ताहरूलाई दिने उत्कृष्ट सुविधाहरू अहिलेदेखि नै उनीहरुले दिन सुरु गर्नेछन् । त्यो सन्देश हामीले उनीहरुबाट पनि पाइरहेका छौं । विशेष अफरहरू हुनेछन् । उपभोक्ताहरूले समग्र मोबिलिटी सेक्टर र आफूलाई मन परेको ब्रान्डको बारेमा विस्तृतमा बुझ्न पाउनेछन् । उपभोक्ताहरुलाई फराकिलो स्टलमा घुमीघुमी हेरेर आफूलाई मन परेको गाडीहरू लिन सक्नेछन् । हामीले उपभोक्ताहरूको अधिकार केन्द्रित ढंगले यो एक्स्पोलाई हेरेका छौं । अफरहरू तपाईंले हाम्रो सोसल मिडियामा हेर्नुभयो भने त्यहाँ पाउनुहुनेछ । जुन ब्रान्डपिच्छे फरक-फरक छ । एक्स्पोमा दशैंमा दिइने अफरभन्दा कम हुने छैनन् । विगतका नाडा अटो शोभन्दा मोबिलिटी एक्स्पो कति फरक हुन्छ ? नाइमा मोबिलिटी एक्स्पो अथवा लार्जेस्ट अटो एक्स्पो अफ नेपाल भनेर भन्दै गर्दा जति कुराहरू यहाँलाई भनें, त्यो अहिलेसम्म नेपालमा भएका एक्स्पोहरूभन्दा उत्कृष्ट छ भन्ने धेरै आधारहरू छन् । स्टलहरूमा टु ह्विलर, थ्री ह्विलर र फोर ह्विलर मात्रै हुने भएकाले उपभोक्ताहरूले आफ्नो चाहेअनुसारको बढीभन्दा बढी ब्रान्डहरू हेरेर आफ्नो रोजाइ अनुसारको ब्रान्ड छान्न सक्नेछन् । समग्रतामा हाम्रो लार्जेस्ट अटो एक्स्पो हो, जुन उत्कृष्ट एक्स्पो हुनेछ । जो एक्स्पोमा आउँछन्, उनीहरूले उत्कृष्ट अनुभव गर्नेछन् । नाडा अटो शोमा सहभागी हुने व्यवसायीहरू नाइमामा आउछन् कि आउँदैनन् ? एक्सपोमा सहभागी हुने ब्रान्डहरूको बारेमा हामीले सुरुमै एकदमै क्लियर गाइडलाइन, एकदम स्पष्टसँगले दिइसकेपछि टाइमलाइन तोकेका थियौं । त्यो अनुसारले जो-जो हामीसँग आउनुभएको छ, उहाँहरूलाई हामीले स्टल उपलब्ध गराएका छौं । कतिपयले चाहेर पनि हाम्रोमा स्टल पाउन सक्नु भएन । हामीले ४४ वटा स्टलको योजना गरेका थियौं तर हामीसँग असाध्यै धेरै अनुरोध आएको हुनाले हामीले ४८ वटा स्टल बनायौं । नाइमालाई यति धेरै मन पराइदिनुभएको छ । जुन नाइमामा स्टल चाहियो भनेर धेरै ब्रान्डहरू आइरहेका छन् । अर्को साल योभन्दा धेरै ब्रान्डहरूको लागि स्पेस कसरी बन्दोबस्त गर्ने होला ? बरु एउटा छलफलको विषय नेपाल सरकारसँग र सम्बन्धित सरोकारवालाहरूसँग यो हुन सक्छ कि एउटै छानाभित्र अहिले हामीले ५० वटा ब्रान्ड राख्दैछौं भने त्योभन्दा बढी ब्रान्ड राख्नुपर्ने आवश्यकता देखियो । किनकि नाइमाले निरन्तर त्यो अनुरोध पाइरहेको छ । एक्स्पोमा आईसी सवारीको आयात अब घट्दो क्रममा छ । नेपालमा आईसीई (डिजेल/पेट्रोलबाट चल्ने) गाडीहरूको भविष्य छैन भन्ने संकेत हो ? नाइमाको कार्यकारी निर्देशकको हिसाबले समग्र मोबिलिटी सेक्टरलाई कसरी एउटा सहज वातावरण बनाउन सकिन्छ, मोबिलिटी सेक्टरमा कसरी अझै धेरै बहस पैरवीहरू गर्न सकिन्छ ताकि दिगो र स्मार्ट मोबिलिटी सबैले अनुभूत गर्न पाऊन् भन्नेबारेमा हामी सतर्क छाैं । नाइमाले इम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी भिजनसँगै मोबिलिटी फर अल भन्ने मिसन राखेको छ । यो हासिल गर्नका लागि नेपालमा चाहिने कुरा के हो ? नेपालमा कसरी सुरक्षित र दिगो मोबिलिटी हुन सक्छ भन्ने बारेमा नाइमाका पाँचवटा पिलरमा रहेर हामीले काम गरिरहेका छौं । ती पाँचवटा पिलर के हुन् ? पाँचवटा पिलर्समा सर्वप्रथम नीति नियमहरू जुन छन्, त्यसमा चाहिँ अलिकति छलफल र केही परिमार्जनको आवश्यकता महसुस गरेका छौं । पहिलो कुरा त लाग्ने करदेखि मौद्रिक नीतिमा समावेशीकरण गर्ने विषयहरूमा अटोमोबाइल सेक्टरलाई अलिकति मैत्रीवत भएनन् कि भनेर हामीले त्यो काम गरिरहेका छौं । दोस्रो- उपभोक्तालाई सचेतना फैलाउने विषय । जुन हामीले अझै पनि गाउँ–गाउँसम्म पुगेर अथवा सहरकै पनि विविध ठाउँमा चेतनाका कुरा फैलाइरहेका छौं । तेस्रो- मोबिलिटी सेक्टरमा दिइने क्षमता अभिवृद्धि तालिमहरू, विशेषगरी सीपसँग सम्बन्धित तालिमहरू दिने रहेको छ । चौथो- सडक सुरक्षा र पूर्वाधारसँग सम्बन्धित छ । पाँचौं- मिडिया त्यसपछि अध्ययन अनुसन्धान गरेर अन्तर्राष्ट्रिय असल अभ्यासहरू के छन् र यसलाई कसरी दिगो र इनोभेटिभ ढंगले काम गर्न सकिन्छ भन्ने छ । यी सेक्टरहरूले अटोमोबाइल सेक्टरको समग्रलाई समेट्न कोसिस गरेको छ । यो एक्स्पो ईभीमय बन्छ भन्ने धेरैको बुझाइ छ, यो बुझाइ ठीक हो ? नाइमाको संरचना, समग्र संरचना हेर्नुहुन्छ भने हामीले जे गाइडलाइन बनाएका छौं । त्यहीअनुसार अगाडि बढ्छौं । जुन बेला हामीले स्टल खुला गर्यौं, त्यसमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे आए । ती सवारीसाधनलाई लोकेसन गरेका छौं । मूलतः तीनपाङ्ग्रे हाम्रो एउटा मात्रै ब्रान्ड छ भने चारपाङ्ग्रे र दुईपाङ्ग्रेको वर्चस्व बढी छ । सबै क्याटेगोरीजका गाडीहरू एक्स्पोमा हुनेछन् । हाम्रा ब्रान्डहरूको आफ्नो मार्केटिङ रणनीति हुन्छ । प्रत्येक टेक्नोलोजीका आफ्नै विशेषता छन् । जुन उपभोक्ताले कसरी प्रयोग गर्ने भन्ने कुराहरू आफैले निर्धारण गर्नेछन् । नेपालको अटोमोबाइल बजारको अवस्था कस्तो देख्नुभएको छ ? सुरुसुरुमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनहरूलाई लक्जरी अथवा विलासिताको वस्तुको रूपमा हेरिन्थ्यो । तर, अहिले मोबिलिटीको सेक्टरले देशमा धेरै रोजगारीहरू सिर्जना गरेको छ । देशभरिका ७५३ वटै स्थानीय तहमा सडक सञ्जाल पुगिसकेको छ भने देशको अर्थतन्त्रलाई चलायमान बनाएको छ । देशमा सचेतना बढेको छ । सवारीसाधन आवश्यकताको वस्तु हुँदै गएकाे छ । हिजो विदेशमा एउटा कार हुनु सामान्य हो भन्ने हामी अहिले हाम्रै देशमा पनि त्यो सामान्य अवस्थामा पुगेको देखिन्छ । यदि तपाईंसँग थोरै पैसा छ भने थोरै पैसाको सवारी साधन किन्ने विकल्प छ । धेरै पैसा छ भने धेरै पैसाको सवारीसाधन किन्ने विकल्प छ । यो सचेतना नाइमा जस्तो संस्थाले दिन्छ । यसकारण बढीभन्दा बढी व्यक्तिहरूले मोबिलिटी सेक्टरको बारेमा बुझ्नु जरुरी छ। यो एक्सपोले नेपाली अटोमोबाइल उद्योगमा प्रविधि, लगानी र रोजगारीको क्षेत्रमा कस्तो योगदान पुर्याउने अपेक्षा गर्नुभएको छ ? अटोमोबाइल सेक्टरले धेरै ठूलो मात्रामा रोजगारी दिएको छ । यसले जीडीपीमा पनि राम्रै योगदान गरेको छ । जति रोजगारी दिनुपर्ने हो त्यति रोजगारी अझै सकिरहेका छैनौं । तर, पनि हामीले प्यारालल लर्निङ सेसनहरूमार्फत एउटा सेसन, डेडिकेटेड सेसन वर्कफोर्स डेभलपमेन्टमा राखेका छौं । किनभने एउटा सवारीसाधनको इन्जिन मर्मत गर्नु पर्यो भने युवाहरू सफल र सक्षम हुनसक्छन् । हालसम्म यो सीप हामीले हाम्रा युवाहरूलाई दिन सकेका छैनाैं । युवाहरू कतिपय विदेशमा गएर गरिरहेको गइरहेका छन् । समग्रमा रोजगारी दिएको कुरा लुकेको छैन तर एक्स्पो आफैले त्यो माहोल बनाउने हो । सामान्य एउटा फुड स्टलदेखि प्याराललसेसनसम्म तथा अन्य जति पनि गतिविधिहरू हुन्छन् । त्यसमा रोजगारी जोडिएकै छ । जुन सर्ट टाइम होस् कि लङ टाइम । मोबिलिटी क्षेत्रले दिएको रोजगारी देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ । यस्तै, नाइमाले नेपाल सरकारले ल्याएका नीतिहरूमा पनि समन्वय र छलफल पनि गरिरहेको छ । सरकारले गरेका राम्रा कामलाई स्वागत गछौं । कतिपय नीतिगत परिवर्तनहरू अथवा नीति लागू गर्दै गर्दा व्यवसायीमैत्री छ कि छैन भनेर पनि काम गर्छौं ।