नेपाल लाइफ ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डबाट पुरष्कृत
काठमाडौं, ६ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार तेस्रो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ अवधिमा कुल बीमा शुल्क आम्दानी १० अर्ब २५ करोड रुपैयाँ हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । जीवन बीमा व्यवसायको क्षेत्रमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटी अग्रणी कम्पनीको रुपमा आफ्नो पहिचान कायम राखेको छ । साथै, यस कम्पनीले आफ्नो बिमितहरुलाई प्रतिवर्ष प्रति हजार बिमाङ्कमा बोनस ६५ देखि ८२ रुपैयाँसम्म प्रदान गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुमति विना सञ्चालित ४४ गाडी नियन्त्रणमा
चितवन, ६ भदौ । चितवनमा ‘रुट परमिट’विनै र एकठाउँको ‘परमिट’ लिएर अर्को ठाउँमा गाडी सञ्चालन भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार परमिट विना नै गाडी चलाइएको पाइएपछि कारबाही थालिएको छ । पर्यटक बोक्ने भनेर अनुमति लिएका गाडीले समेत अन्य यात्रुलाई चढाउने गरेको भेटिएपछि प्रहरीले यस्ता गाडीको समेत निगरानी थालेको प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय चितवनले रुट परमिट विना नै यातायात सञ्चालन गरेको पाइएपछि यस्ता गाडी सञ्चालनमा रोक लगाएको हो । जिल्लामा अभियान नै चलाएर अनुमति नलिएका गाडी सञ्चालनमा रोक लगाइएको र कारबाहीसमेत थालिएको भेटवालले जानकारी दिए । उनका अनुसार दक्षिण चितवनको माडी क्षेत्र भएर चल्ने माडी ठोरी हुलाकी सडकका गाडी कार्वाहीबाट बढी प्रभावित भएका छन् । जिल्लामा अहिलेसम्म ४४ वटा गाडीलाई अहिले कारबाही गरिसकिएको छ र अभियान अझै जारी छ । भेटवालका अनुसार अनुमति नभएकालाई मात्र होइन, विदेशी पर्यटक बोक्ने भनेर स्वदेशी बोकेका तथा एउटा क्षेत्रमा परमिट लिएर अर्को क्षेत्रमा चलाइएका गाडीलाई समेत कारबाही थालिएको छ । सरकारले पर्यटक बस भनेर विदेशी बोक्नका लागि भन्सारदर नै घटाएको हुन्छ । यसरी छुटमा गाडी ल्याएर अन्य सर्वसाधारण मान्छे बोक्न नपाइने भेटवाल बताउछन् । चितवनका ग्रामीण क्षेत्र माडीसँगै जगतपुर, मेघौली, शक्तिखोर, देवघाटलगायत क्षेत्रमा यातायात सेवा अनुमति विना नै सञ्चालन हुँदै आएको छ । मुख्य राजमार्गमा चल्ने गाडीको मात्रै ‘परमिट’ छ । यातायात व्यवसायी हितमान गुरुङ आफूहरुले पटक पटक अनुमति माग गरेको भए पनि सरकारले उपलब्ध गराउन ढिलाइ गरेको बताए । दक्षिण माडीमा वीरगन्जको अनुमति पाएका गाडी सञ्चालन हुँदै आएका छन् । कारबाही थालिएपछि अहिले ग्रामीण क्षेत्रमा गाडी सञ्चालन भएका छैनन् । रासस
२० वटा बैंकले बढाए प्रति सेयर आम्दानी, किन घट्यो विदेशी लगानीका ठुला बैंकको इपिएस ?
काठमाडौं, ६ भदौ । आर्थिक वर्ष २०७२/७३ मा अधिकांश बाणिज्य बैंकको प्रति सेयर आम्दानी(इपिएस) उल्लेख्य मात्रामा वृद्धि भएको छ । भूकम्प र भारतीय नाका बन्दीका कारण आर्थिक वृद्धिदर शुन्य दशमलब ७७ प्रतिशतमा खुम्चिँदा समेत बैंकहरुको प्रति सेयर आम्दानी ठुलै मात्रामा वृद्धि भएको हो । विदेशी लगानीमा सञ्चालित ठुला बैंकका रुपमा रहेका स्ट्याण्डर्ड चाटर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । नविल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एमएमबी, नेपाल बंगलादेश बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुको प्रति सेयर आम्दानी उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ । प्रति सेयर आम्दानीलाई कुनै पनि वित्तिय संस्थाको मुल्यांकनको प्रमुख आधार मानिँदै आएको छ । नविल बैंकको प्रति सेयर आम्दानी ५७ रुपैंयाँ ५२ पैसाबाट बढेर ५९ रुपैंयाँ ४१ पैसा पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ३० रुपैंयाँ ९२ पैसाबाट वृद्धि भएर ३५ रुपैंयाँ ८२ पैसा पुगेको छ । हिमालयन बैंकले पनि ३२ रुपैंयाँ ८७ पैसा रहेको प्रति सेयर आम्दानीलाई ४२ रुपैंयाँ ५८ रुपैंयाँ पुर्याएको छ । एमएमबी बैंकले पनि आफ्नो प्रति सेयर आम्दानीलाई २१ रुपैंयाँबाट बढाएर २८ रुपैंयाँ ६६ पैसा पुर्याएको छ । जनता बैंकले पनि आफ्नो प्रति सेयर आम्दानीलाई करिब दुई गुणाले वृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष २०७१/७२ मा जम्मा ७ रुपैंयाँ ३४ पैसा प्रति सेयर आम्दानी रहेको जनता बैंकले आर्थिक वर्ष २०७२/७३ मा आइपुग्दा १७ रुपैंयाँ ७९ रुपैंयाँ बनाएको हो । कुमारी बैंकले पनि प्रति सेयर आम्दानी करिब दुई गुणाले नै वृद्धि गर्दै १४ रुपैंयाँ ५१ पैसाबाट २७ रुपैंयाँ ४२ पैसा पुर्याउन सफल भएको हो । यस्तो छ २४ वटा बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी
मर्जरमा रहेका तीन संस्थाले दिए कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम
काठमाडौं, ६ भदौ । महालक्ष्मी फाईनान्स लिमिटेड, सिद्धार्थ फाईनान्स लिमिटेड तथा मालिका विकास बैंक लिमिटेडले स्ट्राटेजिक प्लानिङ फर द सस्टिनेबल ग्रोथ अफ अपकमिङ महालक्ष्मी डेभलपमेन्ट बैंक विषयक तालिमको आयोजना गरेका थिए । बैंकले कर्मचारीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको हो । बिजनेस एण्ड इन्भेष्टमेन्ट म्यानेजमेन्ट (बिआइएम) ले आयोजना गरेको सो कार्यक्रममा उक्त संस्थाहरुका २१ जना अधिकृत स्तरका कर्मचारीहरुले भाग लिएका थिए । यी संस्थाहरु एक आपसमा गाभिई महालक्ष्मी विकास बैंक लिमिटेड नामको राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संयुक्त कारोवार गर्ने तयारीमा रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तीन वायुसेवाको उडान बन्द, ६ वटा जहाज ग्राउण्डेड
काठमाडौं, ६ भदौ । नेपालका चल्तीका तीन वटा वायुसेवाको उडान बन्द भएको छ । दुईवटा वायुसेवाको उडान संचालन अनुमति (एओसी) खारेज भएको छ भने एउटा वायुसेवाको एओसी भएर पनि जहाज नहुँदा उडान हुन सकेको छैन ।| नियमति उडानको आन्तरिक वायुसेवा सिम्रिक एयरलाइन्ससँग उडानयोग्य चारवटा जहाज भएपनि एओसी नवीकरण नभएको कारण एक सातादेखि उडान बन्द छ । सिंगल इन्जिनका अन्य दुईवटा वायुसेवा मकालु एयर र एयर काष्टमण्डपको पनि उडान संचालन हुन सकेको छैन । यी दुई सिंगल इन्जिनका दुबै वायुसेवाको एकएक जहाज दुर्घटना भएपछि बाँकी जहाज ग्राउण्डेड भएका हुन् । नियमति उडानको सिम्रिक एयरलाइन्सले १५ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान इजाजतपत्र (लाइसेन्स) नवीकरण नगराएका कारण गत साउन ३१ गते आइतबारदेखि उडान बन्द छ । यो वायुसेवाको १५ महिनासम्म अनुमति नवीकरण नभएपछि चलिरहेकै वायुसेवा भएपनि अनुमति खारेजीमा पुगेको हो । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालयले दिएको चार वर्षको अनुमतिपत्रलाई सिम्रिकले १५ महिनाको समय दिदाँसम्म नवीकरण गरेन । चार वर्षे इजाजतको म्याद सकिएको एक वर्षसम्म नवीकरण नभए स्वतः खारेजीमा जाने नियम रहेको उनले बताए । सिम्रिकलाई पछिल्लो पटक तीन महिनाको समय दिइसकेको र सो समयमा पनि अनुमति नवीकरण नगरेका कारण स्वतः खारेजमा गएको तर्क राईले संचार माध्यमार्फत दिएका छन् । सिम्रिकले भने भूकम्प र नाकाबन्दीका कारण समयमा नै नवीकरण गर्न नभ्याएको र मानवीय त्रुटिका कारण नवीकरण फेल हुँदा उडान नै बन्द गर्नुपरेको बताएको छ । यो वायुसेवाले पर्यटन सचिव स्तरबाट आवश्यक पहल नभएका कारण एक पटककालागि भन्दै मन्त्रिपरिषद्सम्म नै आफ्नो इजाजत नवीकरणको फाइल अगाडि बढाउन लगाएको छ । एयरलाइन्सको अनुमति खारेजी प्रकृयामा गएकोले र पर्यटन मन्त्री नियुक्त नभएकोले पनि सिम्रिकको काम पर्यटन मन्त्रालयबाट हुन नसकेको मन्त्रालय स्रोतको भनाइ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रीपरिषद्ले मात्रै लाइसेन्स नविकरण गर्न सक्छ, अन्यथा सिम्रिक एयरले नयाँ वायुसेवाकै प्रकृयामा नयाँ अनुमति लिनुपर्छ । नयाँ वायुसेवाको लाइसेन्स लिनु पर्दा २० करोड रुपैयाँको चुक्ता पूँजी, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क, हरेक उडान रुटको लागि ३० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने पनि मन्त्रालयको भनाई छ । समस्यामै परेको वायुसेवालाई उद्धार गरेर सिम्रिक सुरु सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घरजग्गाबाट डुब्न लागेको राजेद्र शाक्यको गुण एयरलाइन्सलाई किनेर सिम्रिक एयरलाइन्स बनाएका हुन । चार वर्ष अगाडि घरजग्गा कारोबारबाट आर्थिक समस्यामा परेपछि शाक्यको ऋण स्वाप गरेर (सकारेर) थापाले गुण एयरलाइन्स लिएका हुन । गुणमा त्यतिबेला दुई वटा वायुसेवा थियो । गुणले घरजग्गा समस्याकै कारण एउटा जहाज बेचेर दुईवटा बाँकी बनाएपछि सिम्रिकले किनेको हो । गुणको ७५ प्रतिशत शेयर लिएर संचालन सुरु गरेको सिम्रिकले तीन वर्ष अगाडि मात्रै अग्नि एयरका जहाज पनि संचालन गर्न थालेका हुन । घरजग्गा कारोबारबाटै समस्यामा परेको सुधिर बस्नेतको वायुसेवा अग्नि बन्द भएपछि सिम्रिकले संचालन गरेको हो । अग्निका पाँचवटा जहाज भएपनि सिम्रिकले दुईवटा मात्रै आवश्यक मर्मत गरेर उडाएको थियो । हाल दुईवटै सिम्रिकले आफ्नो बनाइसकेको छ । सिम्रिक एयरलाइन्स संचालन गर्नु पहिले थापाको सिम्रिक एयर नामको हेलिकोप्टर कम्पनी रहेको थियो । यो अहिले पनि संचालनमै छ । डेढ दशकदेखि हेलिकोप्टर संचलान गरिररहेका थापाले यो हेलिकोप्टर संचालनको सुरुवात पनि तत्कालिन कर्णाली एयरको हेलिकोप्टर किनेर उड्डयन क्षेत्रको व्यवसाय सुरु गरेका हुन । कर्णाली एयर आर्थिक समस्यामा परेपछि थापाले नै उद्दार गरेका हुन । हेलिकोप्टर र एयरलाइन्सको सुरुवात नै अरुलाई अप्ठारो पर्दा उद्दार गरेर भएको भएपनि अहिले मानवीय त्रुटि र हेलचेक्राइका कारण थापाको वायुसेवा सिम्रिकको उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए । मकालुसँग जहाज अभाव र काष्टमण्डपको अनुमति रद्द सिंगल इन्जिनको वायुसेवा मकालुको एउटा जहाज गत साउन २० गते दुर्घटना भएपनि यो वायुसेवासँग एउटा मात्रै जहाज रहेको छ । यो एउटा जहाज पनि प्राविधिक समस्याका कारण बिग्रिएर थन्किएकोले एक महिनादेखि नै उडानमा छैन । काष्टमण्डप एयरको पनि गत फागुनमा एउटा जहाज दुर्घटना परेपछि अर्को एउटा बिग्रिएर थन्किएको थियो । काष्टमण्डपको फागुनमा भएको जहाज दुर्घटनाको नेपला नागरिक उड्डयन प्राधिकरणल आवश्यक जाँच गर्दा उडान मापदण्ड पूरा नगरेको पाइएकोले भएको अर्को एउटालाई पनि उड्न निदएको छैन । प्राधिकरणका अनुसार प्राधिकरणले यो वायुसेवाको सुरक्षाकै लागि उडान अनुमति रद्द गरेको हो । आवश्यक मापदण्ड पूरा गरेर आएको अवस्थामा उडान अनुमति नवीकरण हुनसक्ने प्राधिकरण स्रोतको भनाइ छ ।
सडक दुर्घटनाप्रति प्रधानमन्त्रीको चासो, सुधार गर्न दिए चारबुँदे निर्देशन
काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्ने लगायत चारबुँदे निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई सोमबार बिहान निवासमा बोलाई प्रधानमन्त्रीले यथाशीघ्र उपत्यकामा तीनवटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले “उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन भक्तपुरमा एक र काठमाडौंमा दुई गरी तीन यातायात व्यवस्था कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्नुहोस्” – उनको निर्देशन उद्धृत गर्दै स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले राससलाई जानकारी दिए । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि विद्यालय, क्याम्पसको भवन भाडामा लिएर छ महिनामा एकैचोटी चार, पाँच हजारको सङ्ख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारामको व्यवस्था गर्न, नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, क्याम्पसका स्वयम्सेवा गर्न चाहने विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिए । सो अवसरमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए स्वकीय उपसचिव तिमल्सिनाले बताए । रासस
शिखर शुको दशैं–तिहार योजना, जेन्स शुको खरिदमा लेडिज स्यान्डल उपहार
काठमाडौं, ६ भदौ । नेपालको फुटवेयर ब्राण्ड शिखर शुले ‘शिखर धमाक्का, हरेक जेन्स शुजको खरिदमा, आकर्षक लेडिज स्यान्डल उपहार पक्का’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित सो योजना ल्याएको हो । उक्त योजना अन्तगर्त शुले ‘शिखर धमाक्का, हरेक जेन्स शुजको खरिदमा, आकर्षक लेडिज स्यान्डल उपहार पक्का‘ सार्वजनिक गरेको छ । जस अन्तर्गत शिखर ब्राण्डका हरेक १५ सय रुपैयाँ(एमआरपी) वा सो भन्दा बढीको जुत्ता खरिदमा ग्राहकहरुले शिखरको एक जोर आकर्षक ‘लेडिज सेण्डल’ पक्का उपहार पाउनेछन् । यस योजनाबाट ग्राहकले तत्काल लाभ उठाउन सक्ने भएकाले यसको बिक्रीमा थप उत्साह थपिने कम्पनीले विश्वास लिएको छ । कम्पनीका अनुसार ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । शिखर सु अब कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब छ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।
५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न, भदौ दोर्सो साताबाट सञ्चालनमा
काठमाडौं, ६ भदौ । ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना भदौ दोर्सो साताबाट सञ्चालनमा आउने भएको छ । आयोजना निर्माणको अधिकांश कार्य अन्तिम चरणमा पुगेकोले भदौ दोस्रो साताबाट विद्युत् उत्पादन गर्न थाल्ने प्रवद्र्धक कम्पनी सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीले जानकारी दिएको छ । ‘रन अफ रिभर’ प्रविधिमा निर्माणधिन उक्त आयोजना निर्धारित समय अगष्ट ३० देखि विद्युत् उत्पादन थाल्ने लक्ष्य सहित तिव्र गतिमा अघि बढाइएको पावर कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए । चीनको चर्चित तथा बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको सुरुङ, विद्युतगृह, बाँध क्षेत्र र प्रशारण लाइनको काम तीव्र रुपमा अघि बढेको बताइएको छ । करिब १२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरि निर्माण कार्य शुरु गरिएको उक्त आयोजनामा २५/२५ मेगावाटको दुई ओटा टर्वाइन रहनेछन् । आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेकोले अब विद्युत उत्पादन गर्न कुनै व्यवधान नआउने अधिकारीले बताए । आयोजनामा चिनियाँ सिनो हाइड्रो पावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । आयोजनामा विद्युतगृह सिभिलतर्फको ९५ प्रतिशत, मेकानिकलतर्फको ८५ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फको तीन चौथाइ भन्दाबढी काम सम्पन्न भइसकेको छ । बाँधको सिभिलतर्फको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रवद्र्धक कम्पनीका अनुसार अहिले बाँध परीक्षणको कार्य भइरहेको छ । लमजुङको भुलभुलेमा निर्माणाधिन उक्त आयोजनाको बाँधको ढोका र जलाशय परीक्षण शुरु गरिएको हो । बाँधका तीन ओटा मूल ढोका रहेका छन् । बाँधको दुई ओटा ढोका बन्द गरी परीक्षण कार्य शुरु गरिएको अधिकारीले जानकारी दिएका छन् । ‘दुई ढोका बन्द गर्दा अर्थात बाँधमा पानीको सहत बढ्दा के कस्तो प्रभाव पर्छ एवम् कति पानीको सहत बढ्छ भनी पहिचान गर्न लागिएको हो,’ उनले भने ‘ढोकालगाउँदा १ हजार २ सय मिटर पानीको सहत बढेको छ ।’ अहिले वर्षाको समय भएकाले पनि पानीको सहत बढेको हो । कम्पनीले आयोजना निर्माणका साथै प्रशारण लाइन निर्माण कार्यलाई पनि सगँसगै अघि बढाएको छ । विद्युत प्रशारणका लागि ५४ ओटा टावर निर्माण गर्नु पर्नेमा सबै निर्माण कार्य सम्मन्न हुन लागेको बताइएको छ ।