विकासन्युज

मेगा बैंक लिमिटेड सातौँ वर्षमा प्रवेश

काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड शुक्रबारबाट सातौँ बर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सवका अवसरमा बैंकले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ नामक संस्थालाई ९० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संस्थाका संस्थापक सदस्य हौसला थापालाई सहयोग रकम हस्तान्तरण गरेका छन् । मेगा बैंकले हरेक बर्ष बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गर्दै आएको छ । शुक्रबार आयोजित छैटौं बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकलाई अब संघीय संरचना अनुसार लैजाने घोषणा गरेका छन् । बैंकले बुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेको जानकारी दिँदै उनले संघियताको कार्यान्वयनसँगै मेगा बैंकलाई संघिय संरचनामा लैजाने गरि गृहकार्य भइरहेको बताए । उक्त बैंकको गत आर्थिक बर्षमा निक्षेप संकलन १० अर्ब बढेर ३१ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब १० अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह १८ अर्बबाट बढेर २८ अर्ब पुगेको हो । कर्जाको औसत आकार २५ लाख ५० हजार र निक्षेपको १ लाख ४४ हजार रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म मेगा बैंकको ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल र एउटा एक्सटेन्शन काउन्टर छ । देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवाका साथै करिब १४ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

एनएमबी माइक्रो फाइनान्सको सीईओ कोनाजो, ७% स्प्रेडदर काम गर्न सकिने

काठमाडौं, ७ साउन । एनएमबी माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् । माइक्रो फाइनान्सको सञ्चालक समितिले साउन १९ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि उनलाई नियुक्त गरेको हो । यसअघि उनी रुरल माईक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । आरएमडीसीमा करिव १७ वर्ष काम गरेका कोनाजो माईक्रो फाइनान्सबारे गहिरो अनुभव हासिल गरेका छन् । त्यसअघि उनले नेपाल बैंकमा करिव १४ वर्ष र हिमालयन बैंकमा करिव ४ वर्ष काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । नयाँ मौद्रिक नीतिले माईक्रो फाइनान्सको स्प्रेडदर ७ प्रतिशत तोकेकोले आगामी दिन माईक्रो फाइनान्स सञ्चालन कार्य चुनौतिपूर्ण भएको तर असम्भव नभएको बताए । गरिब वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्तहरुले आफ्ना सेयरधनीलाई ६०/७० प्रतिशत लाभांश वितरण गर्न थालेपछि सबैको आँखा यस क्षेत्रमा परेको र राष्ट्र बैंकले स्प्रेडदर तोकेको उनले बताए । ‘लघुवित्त कम्पनीहरुले यसअघि नाफाको केही हिस्सा विपन्न वर्षको सामाजिक, सांस्कृतिक विकासको क्षेत्रमा लगानी गरेको भए अहिलेको अबस्था आउने थिएन’ विकासन्युजसँग कुरा गर्दै कोनाजोले भने–‘७ प्रतिशत स्प्रेडदरमा नयाँ लघुवित्तलाई गाह्रो हुन्छ तर ३ वर्षभन्दा पुराना संस्थाहरु चल्न सक्छन्, पहिला जस्तो धेरै नाफा वितरण गर्न सक्दैनन् ।’ ‘वाणिज्य बैंकहरुले मुद्दती खातामा पनि ६ प्रतिशतभन्दा बढी व्याज तिरेका छैनन् । ५ प्रतिशत स्प्रेडदरमा चलिरहेका छन् । लघुवित्त पनि ६ प्रतिशतमा रकम लिएर १३ प्रतिशतमा कर्जा लगानी गर्न सक्छन् । असम्भव भन्ने छैन’–उनले भने ।

गोदार घटनाका दोषीलाई अविलम्ब कारबाही गर्न आयोगको आग्रह

काठमाडौं, ७ साउन । धनुषा जिल्लाको गोदारस्थित भएको घटनाका सम्बन्धमा दोषीलाई कारबाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीद्वारा पक्राउ परेका सोही जिल्लाका ५ जना युवाहरु सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्रकुमार यादव हुन् । उक्त घटनाका सम्बन्धमा आयोगको पहलमा नेपाल प्रहरीबाट धनुषा जिल्लाको गोदारस्थित कमला नदीको किनारबाट ५ वटै मानव अवशेषहरु शवोत्खनन् गरी त्यसको वैज्ञानिक परीक्षण पश्चात मानव अवशेषहरु पीडितका आफन्तहरुलाई हस्तान्तरण गरिएको छ । आयोगले उक्त घटनालाई गम्भीर मानव अधिकार उल्लंघन भएको ठहर गरी धनुषा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्ले, क्षेत्रीय प्रहरी इकाई कार्यालय धनुषाका तत्कालीन प्रहरी उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी नायब उपरीक्षक कुवेर सिंह राना र नेपाली सेना धारापानी ब्यारेक धनुषाका तत्कालीन मेजर अनुप अधिकारीलाई कानुनबमोजिम कारबाही गर्न आयोगले नेपाल सरकारलाई यस अघि नै सिफारिश गरेको छ । शवोत्खनन् पश्चात् वैज्ञानिक रुपबाट समेत पुष्टि भइसकेको घटनाका दोषीमाथि कानुनी कारवाही प्रक्रिया अझै अघि नबढाउनुले पीडितको न्यायप्राप्तिको अधिकार पूर्णतः कुण्ठित भएको देखिन्छ । यसबाट दण्डहीनताको स्थितिले प्रोत्साहन पाउनुको साथै नेपाल सरकार मानव अधिकारको सम्मान र संरक्षण गर्ने दायित्वप्रति उदासीन भएको देखिन्छ । नेपालको संविधान तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन एवं सम्मानित सर्वाेच्च अदालतको फैसला बमोजिम आयोगको सिफारिस कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी हो । यस्ता यस्ता गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका दोषीलाई कारवाही गर्नु संक्रमणकालीन न्यायको एउटा महत्वपूर्ण पक्ष पनि हो । मानव अधिकारको गम्भीरतम उल्लघंनका घटनाहरुको कानूनी कारबाहीको प्रकृया लामो समयसम्म अघि नबढाइनुले मानव अधिकारको सम्मान र संरक्षणप्रति सरकारको गम्भीर उदासीनता देखिन्छ । आयोग समयमै सम्पूर्ण मानव अधिकार पीडितहरुको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

उद्योग वाणिज्य सङ्घमा ४६२ व्यवसाय दर्ता

पाल्पा, ७ साउन । रामपुर उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७२/७३ मा ४६२ जनाले आफ्नो उद्योग व्यवसाय दर्ता गराएका छन् । पाँच सय ५७ व्यवसायीले रामपुर नगरपालिकामा नवीकरण गरेका छन् । नगरपालिका र उद्योग वाणिज्य सङ्घमा दर्ता गरेर मात्र व्यवसाय चलाउनुपर्ने गरी समन्वय भएको छ । उद्योग वाणिज्य सङ्घले सिफारिस गरेपछि नगरपालिकामा दर्ता गर्ने नियम रहेको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए। यहाँका व्यवसायी, व्यापारीलाई सहज सेवा दिने उद्देश्यले वाणिज्य सङ्घले नगरपालिकासँग समन्वय गरेर नगरका विभिन्न सात स्थानमा सञ्चालित घुम्ती शिविरमा १३३ जनाले आफ्नो व्यवसाय दर्ता गराएका थिए । यस्तैगरी सङ्घले रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग, करदाता सेवा कार्यालय, कर कार्यालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराको सहयोगमा कर, पान भ्याट तथा व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न सचेतना कार्यक्रम, उद्यमशीलता तालिम सञ्चालन गरेको छ । गत असोजमा रामपुर उद्योग वाणिज्य सङ्घका रुपमा जिल्ला प्रशासनमा दर्ता भई सञ्चालनमा आएको हो । उद्योग वाणिज्य सङ्घ यहाँ स्थापना भएपछि विभिन्न व्यवसाय, व्यापार, पसल, उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले बताए । रासस

जाँदा जाँदै ओली सरकारका दुरगामी निर्णय, क्लिन फिडदेखि भक्तपुर अस्पताल सार्नेसम्म

काठमाडौं, ७ साउन । केपी ओली नेतृत्वको सरकारले बिर अस्पताललाई भक्तपुरमा सार्नेदेखि बर्षाैदेखि उठ्दै आएको क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले बिर अस्पताललाई भक्तपुरको दुवाकोटमा सारेर अन्तराष्ट्रियस्तरको बनाउने निर्णय गरेको हो । दुवाकोटमा ६ सय रोपनी क्षेत्रफल जमिनबाट सञ्चालन हुनेछ । नेपाली विज्ञापन क्षेत्रले बर्षाैदेखि उठाउँदै आएको क्लिन फिडको मुद्धा पनि मन्त्री परिषद सम्बोधन गरेको छ । सरकारले क्लिन फिड लागु गर्दै विदेशी च्यानलबाट प्रसारण हुने विज्ञापन बन्द गराएको हो । अब विदेशी च्यानलहरुबाट विज्ञापन बज्ने छैन् । त्यस्नै बहुराष्ट्रिय कम्पनीहरुले समेत नेपाली श्रोत साधनको उपयोग गरिएको विज्ञापन मात्र नेपालमा बजाउने पाउनेछन् । सरकारको यस्तो निर्णयले नेपाली विज्ञापन क्षेत्रले अरर्बाैको व्यापार प्राप्त गर्ने नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । त्यसैगरि सरकारले मुस्ताङको युरेनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनलाई दिने निर्णय गरेको छ । उद्योग मन्त्रालयले अन्वेषण तथा उत्खनन गर्ने गरि सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिईएको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताए । त्यसैगरि सरकारले नयाँ सञ्चार नीति समेत लागु गरेको छ ।

ओटिसि बजारको कारोबार शुल्क ९० प्रतिशत कटौती

काठमाडौं, ७ साउन । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटिसि बजार)को कारोबार शुल्क ९० प्रतिशतसम्म कटौती गरेको छ । ओटीसी बजार संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम सो बजारमा कारोबार हुन नसकिरहेको अवस्थामा बोर्डले २०७२ पुस ६ मा कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखी ओटिसि बजारमा कारोबार हुन सक्ने कम्पनी सम्बन्धी जानकारी गराउँदै  सूचीकरण नभएका पब्लिक लिमिटेडका कम्पनीका धितोपत्रहरुको कारोबार हुने व्यवस्थाका लागि पत्राचार गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा हाल ओटिसि बजार अगाडि बढिरहेको छ । ओटीसी बजारमा कारोबार शुल्क उच्च भएको गुनासो आएपछि कारोबार शुल्क प्रोत्साहनमुलक कटौती गरी पुनरावलोकनका लागि पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइएको थियो । नेप्सेले दिएको प्रतिवेदनका आधारमा धितोपत्र बोर्डले शुल्क घटाउने निर्णय गरेको हो । बोर्डले आफुलाई बुझाउनु पर्ने शुल्क यथावत राख्दै अन्य शुल्क ८५ प्रतिशत देखि ९० प्रतिशतसम्म घटाएको हो ।

प्रभु बैंकको नयाँ शाखा धापासीमा

काठमाडौं, ७ साउन । प्रभु बैंकले शुक्रबारदेखि काठमाडौको धापासी टोखा रोडमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिव राज श्रेष्ठले एक समारोहकाबीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये गंगबु शाखा कार्यालयलाई धापासीमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सेञ्चुरी बैंकलाई ३० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति

काठमाडौं, ७ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३० हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२६.०१ अर्व र कर्जा रकम रु. २२.८३ अर्व परिचालन गरी रु. ३४.५० करोड सञ्चालन मुनाफा र रु. २३.२४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ९ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।