विकासन्युज

फेसबुक मार्फत करिब २३ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं, ७ साउन । फेसबुकबाट सम्पर्क बढाई अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै करिब २३ लाख रुपैयाँ ठगी गर्ने एक युवालाई प्रहरीले बधुबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सिन्धुपाल्चोक माङ्खा गाविस–७ घर भई हाल भक्तपुर बस्दै आएका तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको थियो । तामाङले जेभी नाममा फेसबुक खोली आफू अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त व्यक्ति भएको , आफ्नी आमा क्यानडाको डाक्टर भएको भनी लेबनानमा रहेकी सिर्जना दोङ, सिर्जनाका भाइ सञ्जय दोङ र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख रुपैयाँ तथा साइप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई क्यानडामा आफ्नो आमा डाक्टर रहेकाले क्यानडा सँगै जाऔं भनी नेपाल बोलाई नौ लाख रुपैयाँ लिइ फरार भएका थिए । पीडितको उजुरीका आधारमा तामाङलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान एवम् कारबाहीका लागि महाशाखाले बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ । रासस

मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा

काठमाडौं, ७ साउन । मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबारे बुधबार वार्ता गरी समस्या समाधान गरेको छ । उक्त कम्पनीले हालै वृद्धि भएको तलब तत्कालै लागू गर्ने, अतिरिक्त समय मलेसियाली नियमानुसार लागू गर्ने तथा श्रमिकको स्वास्थ्य र सुरक्षामा ध्यान दिने लगायत प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौतापछि आजदेखि श्रमिकहरु नियमित काममा फर्केका छन् । उक्त कम्पनीमा हाल एक हजार पाँच सय ५७ नेपाली कार्यरत छन् । यसैगरी मलेसियाको जोहोर राज्यको के फोर्स कम्पनीमा कार्यरत नेपाली सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएकाले राजदूतावासले कम्पनीका उच्च प्रतिनिधिलाई फोन सम्पर्क गरी घाइतेको शीघ्र उपचारमा ध्यान दिन दबाब दिएपछि कम्पनीले सबैको उपचार गरेको र गम्भीर घाइते सागर श्रेष्ठको बुधबार शल्यक्रिया भएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस

सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या

भोजपुर, ७ साउन । वर्षात्का कारण सडक अवरुद्ध भएपछि भोजपुरको पूर्वी चम्पे गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामग्री ढुवानीमा समस्या भएको छ । प्याउलीदेखि चम्पे हुँदै हिलेभन्ज्याङ जोड्ने करिब सात किमी सडक पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् । त्यसैगरी, प्याउली, याङपाङ हुँदै बोक्ताम जोड्ने सडक पनि वर्षात्को कारण भत्केको छ । चम्पे गाविसको वडा नंं ४ र ५ का मानिस करिब तीन घन्टाभन्दा बढी समय लगाएर दैनिक उपभोग्य सामग्री पिँठ्युमा बोक्न बाध्य बनेको स्थानीय सरस्वती फुँयालले बताए । गाविसको टोल–टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेकाले लाभभन्दा बढी हानी व्यहोर्नुपरेको स्थानीयवासीको गुनासो छ । विभिन्न सडक विस्तार तथा स्तरोन्नतीका लागि बजेट विनियोजन भएपनि सार्वजनिक सुनुवाइ नगर्ने तथा ठेकेदारले आफुखुसी काम गरेकाले स्थानीयवासी अझ मारमा परेको अर्का स्थानीय रामचन्द्र्र दाहालले गुनासो गरे । रासस

अर्थतन्त्रको यथार्थ मूल्याङ्कन गर्न आधार वर्ष परिवर्तन गर्दै तथ्याङ्क विभाग

काठमाडौं, ७ असार । केन्द्रीय तथ्याङ्क विभागले नयाँ आधार वर्षको आधारमा राष्ट्रिय आयमापक परिसूचकहरूको गणना गर्ने भएको छ । धेरै पुरानो आधार वर्षको मूल्यमा राष्ट्रिय आयको गणना गरिरहँदा अर्थतन्त्रको यथार्थ मूल्याङ्कन गर्न नसकिने भएकाले विभागले आधार वर्ष परिवर्तन गर्न लागेको हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा समावेश गरिएका औद्योगिक वर्गीकरणलाई परिवर्तन गर्न केही हेरफेर गर्न लागिएको विभाग जीडीपी शाखाका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए । आधार वर्ष ५ वा १० वर्षमा परिवर्तन गरिरहनुपर्ने अन्तरराष्ट्रिय मान्यता भए पनि नेपालमा भने १५ वर्षअघिको आधार वर्ष (२०००/०१)को मूल्यका आधारमा उत्पादित वस्तु तथा सेवाहरूको मूल्य गणना गरिँदै आएको छ । ‘धेरै अगाडिको मूल्यमा गणना गर्दा सही तथ्याङ्क आउन सक्दैन,’ उनले भने, ‘चालू आवदेखि जीडीपीमा समावेश गर्ने नयाँ क्षेत्रलाई समेत समावेश गरि नयाँ आधार वर्ष सन् २०१०/११ लाई आधार मानेर जीडीपीमा समावेश भएका वस्तु तथा सेवाको गणना गरिने छ ।’ ‘आधार वर्ष परिवर्तन नगरी राष्ट्रिय आय लेखाङ्न प्रणाली २००८ मा परिवर्तन गर्न नसकिने भएकाले यसको परिवर्तन आवश्यक भएको हो,’ उनले थपे । विभागले आर्थिक वर्ष सन् २०१०/११ देखि २०१५/१६ मा गरिएका विभिन्न अध्ययन, सर्वेक्षण तथा गणनाहरुका निष्कर्षलाई आधार मानेर आर्थिक वर्ष सन् २०१०÷११ लाई नयाँ आधार वर्ष तय गर्न लागेको हो । देशको राष्ट्रिय आय गणनालाई समयानुकूल परिवर्तन गर्दै अर्थतन्त्रको वास्तविक वस्तुस्थिति अनुमान गर्न सहयोग पु¥याउने उद्देश्यले आन्तरिक रुपमा विभागले यसअघि विभिन्न ८ औद्यौगिक क्षेत्रहरुको आधार वर्ष परिवर्तन कार्य लगभग सम्पन्न गरिसकेको छ । ती औद्योगिक क्षेत्रहरुको आधार वर्षमा मूल्याङ्कन गर्दा ती सबै सर्वेक्षणहरुका आधारबर्ष र त्यसपछिको तथ्याङ्कहरु पनि निकाल्ने कार्य सम्पन्न भईसकेका छन् । नयाँ आर्थिक क्रियाकलापहरु अन्तराष्ट्रिय औद्योगिक वर्गिकरण चौथो संशोधनको आधारलाई लिइएको छ । नयाँ आर्थिक क्रियाकलापहरुलाई पनि समावेश गरी चालू आवदेखि नयाँ आधार वर्षअनुसार राष्ट्रिय आय गणना गर्ने विभागको तयारी छ । छोटो समयमा आधार वर्ष परिवर्तन गर्दा परिमाण र मूल्यको यथार्थ हिसाब आउने विभागको भनाइ छ । नेपालले पनि समयानुकूल आधार वर्ष परिवर्तन गरेको भए नेपाली अर्थतन्त्रको आकार अहिलेको रू. २२ खर्ब ४८ अर्बभन्दा बढी हुने विज्ञहरुको अनुमान छ । अर्थशास्त्रीहरुका अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि अहिलेको रू. ८० हजार ९ सय २१ भन्दा माथि पुग्ने थियो । नेपालले अहिले ‘अन्तरराष्ट्रिय औद्योगिक वर्गीकरण तेस्रो संशोधनले विकास गरेको संरचनाअनुसार राष्ट्रिय आयको गणना गर्दै आएको छ । त्यसमा नेपाली अर्थतन्त्रलाई प्राथमिक, द्वितीय र तृतीय क्षेत्रअन्तर्गतका १५ ओटा अन्तरराष्ट्रिय औद्योगिक वर्गिकरण चौथो सशोधन अनुसार उत्पादन तथा आर्थिक गतिविधि समावेश गरेर जीडीपीको समष्टिगत आर्थिक परिसूचकहरू गणना हुँदै आएको छ । आधार वर्ष परिवर्तनपछि उपक्षेत्रहरूको सङख््या करिब २१ ओटा पुग्ने भट्टराईले बताए । नेपालले अहिले ‘राष्ट्रिय लेखा तथ्याङ्क प्रणाली १९९३ अनुसरण गर्दै राष्ट्रिय आयको गणना गर्दै आइएकोमा आधार वर्ष परिवर्तन पछि ‘राष्ट्रिय लेखा तथ्याङ्क प्रणाली २००८ ले प्रतिस्थापन गर्ने छ , उनले भने । संयुक्त राष्ट्रसंघले सबै राष्ट्रलाई सबभन्दा पछिल्लो संशोधन राष्ट्रिय लेखा तथ्यांक प्रणाली २००८ प्रयोग गर्न सल्लाह दिएको उनले जानकारी गराए । यसबाट हाम्रा आर्थिक तथ्याङ्क विकसित राष्ट्रहरुसँग अझ तुलनागर्न योग्य हुनेछन् साथै नेपाल अरु विकासशिल राष्ट्रहरुलाई अन्तरराष्ट्रिय परामर्श दिन सक्षम हुनेछ भन्ने विश्वास व्यक्त गरे । आधार वर्ष परिवर्तनले जीडीपीमा केकस्ता नयाँ वस्तु तथा सेवाले प्रवेश पाए वा कति पुराना वस्तु तथा सेवा हराए भन्ने लेखाजोखा गर्छ । यी वस्तुहरूले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानका आधारमा प्रचलनमा रहेका तथा परिवर्तन गरिएका वस्तुकोे भार तय गरिने उनको भनाइ छ । ‘पुराना बस्तु तथा सेवाहरु बजारबाट हराउँदै गएका भए नयाँ आधार बर्षमा राष्ट्रिय आय गणना गर्दा हटाइन्छ वा उत्पादन थोरै भए कम भार दिइन्छ,’ भट्टराईले भने जसले गर्दा मुलुकलाई यथार्थ समष्टिगत परिसूचकहरु प्राप्त हुनेछ । अद्यावधिक आधार वर्षमा कृषि तथा वनलाई एक उपक्षेत्र मानिएको थियो भने नयाँमा मत्स्यपालनलार्ई समेत यसै उपक्षेत्रभित्र समावेश गरिने भएको छ । विद्युत, ग्यास तथा पानी उपक्षेत्रलाई छुट्ट्याएर पानी, ढल तथा फोहोर व्यवस्थापन र विद्युत् तथा ग्यासलाई अर्को उपक्षेत्रका रूपमा स्थापित गराउन लागिएको छ । यातायात, भण्डारण तथा सञ्चारलाई दुई उपक्षेत्रमा विभाजन गरी सञ्चार तथा प्रविधि छुट्टै उपक्षेत्र निर्माण गरी राष्ट्रिय लेखामा छुट्टै भार तोकिने भएको छ ।यसैगरी नयाँ राष्ट्रिय लेखामा सेवाक्षेत्रअन्तर्गतको रियल इस्टेट तथा व्यावसायिक सेवाहरूलाई तीन क्षेत्रमा टुक्र्याएर ‘रियल इस्टेट क्रियाकलाप’, ‘पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप’ र ‘प्रशासनिक तथा सहयोग सेवा क्रियाकलाप’ उपक्षेत्र तयार पािरएको छ । सूचना तथा सञ्चारको छुट्टै भार तोकिनेछ । वित्तीय व्यवस्थाको सट्टामा वित्तीय तथा बीमा क्रियाकलाप राख्ने योजना विभागको छ । अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाहरूलाई परिवर्तन गरी कला संवद्र्धन तथा मनोरञ्जन क्रियाकलाप र अन्य सेवा क्रियाकलापको समेत जीडीपीमा गणना हुने भएको छ । यसअन्तर्गत कानूनी सेवा, लेखा परीक्षण, इञ्जिनीयरिङ तथा वैज्ञानिक अनुसन्धान तथा विकास विज्ञापन तथा बजार अनुसन्धान, भेटनरी क्रियाकलाप पर्छन् ।

आईपे र माछापुच्छ्रेबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ७ साउन । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र माछापुच्छ्रे बैकबीच रेमिट्यान्स सम्झौता भएको छ ।  विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले आफुलाई पायक पर्ने माछापुच्छ्रे बैकको शाखा बाट भुक्तानी  लिन सक्ने कम्पनीले जानकारी दिएको छ । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।  आई पे रिलायबल रेमिट्यान्स को नेपाल भर ३ हजार ५ सय भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी  लिन सक्ने छन् ।

आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा १० अर्ब बढी राजस्व

काठमाडौं, ७ साउन । गत आर्थिक बर्षमा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरुको राजस्वको संकलनको लक्ष्य भन्दा १० अर्ब बढी राजस्व उठाएका छन् । विभाग र अन्तरगत कार्यालयहरुको लागि १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार असुली भएको  छ । विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्षको लागि आयकर तर्फ १ खर्व ९ अर्व ७ करोड ४७ लाख ४३ हजार, मू.अ.कर तर्फ ४८ अर्व १८ करोड १ लाख ४२ हजार, अन्तःशुल्क तर्फ ३५ अर्ब ९४ करोड ५७ लाख ९२ हजार, शिक्षा सेवा शुल्क तर्फ रु.६४ करोड ६८ लाख ४८ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ८२ करोड ८७ लाख ७४ हजार गरी जम्मा १ खर्ब ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो । तर गत असार मसान्तसम्ममा आयकर तर्फ १ खर्व १७ अर्व १३ करोड ११ लाख ७४ हजार, मू.अ.कर तर्फ ४९ अर्व ८२ करोड ३५ लाख हजार, अन्तःशुल्क तर्फ ३६ अर्व १९ करोड ३१ लाख ४०  हजार, शिक्षा सेवा शुल्क तर्फ ७२ करोड ७ लाख २४ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ५६ करोड ६८ लाख १८ हजार समेत गरी २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार रुपैयाँ असुली भएको  छ । २०७२ वैशाखको शुरुमै देशले भोग्नु परेको विनाशकारी भूकम्प, २०७२÷७३ को प्रारम्भदेखि नै तराई स्थित नाकामा भएको आपूर्ति अवरोध, विकास निर्माणमा देखिएको सुस्तता, पूँजीगत खर्चमा भएको कमी, आर्थिक वर्षको आधा समय २०७२ फागुन महिनासम्म तराईमा भएको बजार वन्द आदि कारणहरुले २०७२ फागुन महिनासम्म १० अर्व २२ करोड १० लाख राजस्व घटी असुली भएको अवस्था रहेको थियो । उक्त अवधिमा राजस्व लक्ष्यको तुलनामा असुली घटी हुनका कारणहरुको समीक्षा गर्दै ती कारणहरुबाट सृजित समस्या समाधानका लागि राजस्व संकलन ‘व्याक अप प्लान’लाई कार्यान्वयन गर्न राजस्व संकलन रणनीति तयार गरी फागुन महिनासम्मको घटी राजस्व समेत पूरा भई वार्षिक लक्ष्य १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रहेकोमा उक्त लक्ष्यभन्दा ९ अर्व ७५ करोड ९० लाख ९३ हजार वढी राजस्व संकलन गर्न विभाग सक्षम भएको छ । उल्लेखित कठिनाइहरुका वावजुद आर्थिक वर्ष २०७२÷०७३ का लागि तोकिएको राजस्व लक्ष्य गत वर्षको असुलीको तुलनामा १२८ प्रतिशतले बढी हो ।

महालक्ष्मी फाइनान्सको पनि १७ प्रतिशत वृद्धि, १६ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ७ साउन । महालक्ष्मी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले १७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट करिब १६ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । फाइनान्सको चुक्ता पुँजी ४८ करोड ३० लाख रुपैयाँ मात्र छ । यस फइनान्सले निक्षेप ५ अर्ब ४३ करोड रुपैयाँ र कर्जा तथा लगानी ४ अर्ब ७७ करोड रुपैयाँ परिचालन गरेको छ । फाइनान्सको खराब कर्जा ०.२७ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७३ प्रतिशत रहेको छ ।

मञ्जुश्री फाइनान्सियलको नाफा ११८%ले बढ्यो, १०% बोनस सेयर दिन सक्ने

काठमाडौं, ७ साउन । मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले ११८ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट करिब १० प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । फाइनान्सको चुक्ता पुँजी २५ करोड ६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस फइनान्सले निक्षेप २ अर्ब ४८ करोड रुपैयाँ र कर्जा तथा लगानी २ अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । फाइनान्सको खराब कर्जा ३.५७ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत रहेको छ ।