पहरोमा खोपेर आकृति दिँदै अगाडि पार्क बनाइने
खोटाङ, ३१ असार । पर्यटन प्रवद्र्धनका लागि खोटाङको दोर्पाचिउरीडाँडा गाविस–६ छहरेमा ढुङ्गे पहरालाई कलात्मक स्वरुप दिने काम सुरु गरिएको छ । दायाँबायाँ र माथिदेखि तलसम्म समतल सतह रहेको विशाल ढुङ्गे भिरलाई खोपेर ‘किरात स्मृति पार्क’को नाममा कलात्मक आकृति दिने काम सुरु गरिएको हो । परापूर्वकालमा महादेवले टेकेको किंवदन्ती रहेको तथा किरात राईको ऐतिहासिक थलोका रुपमा रहेको चट्टानी पहरोलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न ढुङ्गा खोप्ने र कुँद्ने काम भइरहेको किरात स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश राईले बताए । “पहराको दायाँतर्फ सांस्कृतिक सामग्री र बायाँतर्फ राईको पाछाको नाम कुँद्ने काम भइरहेको छ,” अध्यक्ष राईले भने, “पहराको अगाडि ठूलो आकारमा किरात स्मृति पार्क बनाउने तयारी गरेका छौँ ।” किरात समुदायको ऐतिहासिक ठाउँको संरक्षण गर्दै पर्यटकीयस्थलको रुपमा विकासका लागि आव २०७२/०७३ मा गाविसको रु ५० हजार बजेटबाट पार्क निर्माणको काम थालिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अवधारणा र सीप भए ढुङ्गालाई पनि आकर्षक आकृति दिन सकिन्छ । त्यही आकृतिलाई देखाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ । तर, गाउँघरमा यस्तो सम्भावनाको खोजी कमै भइरहेका छन् । यही अवधारणाअनुसार छहरेमा पहरा खोपेर पार्क निर्माणको काम थालिएको स्थानीय बताउँछन् । दुम्ली–दोवेला सडकखण्डमा पर्ने ढुङ्गे भित्ताको बायाँतर्फ दोर्पाचिउरीडाँडामा बसोबास गर्दैआएका किरात राईको पाछाको नामावली तथा दायाँतर्फ ढोल, झ्याम्टा, धनुषवाण, तिर, चुलो, चिन्डो, बुछालु, बिनायोलगायतका किरात संस्कार/संस्कृतिसम्बन्धी सामग्रीको आकृति कुँदिने अध्यक्ष राईले जानकारी दिए । बाँसको पाँच तले खट उभ्याएर गत फागुन २१ गतेदेखि पहरा खोप्ने काम भइरहेको छ । पहरोमा चाम्लिङको १९ पाछा, वान्तवाको तीन पाछा, साम्पाङको तीन पाछा र नाछिरिङको एक पाछाको नाम खोप्ने काम भइरहेको छ । विदेशमा काम गरेर फर्किएका युवाले उभ्याएको खटमा चढेर स्थानीय भारतीय सेनाका पूर्वसुवेदार पर्खनबहादुर राईले ढुङ्गामा आकृति र अक्षर कुँद्ने काम गरिरहेका छन् । क्रमानुगत योजनाकारुपमा रहेको पहरे पार्कमा अक्षर र चित्र कुँदेपछि रङ्गरोगन गरेर आकर्षक स्वरुप दिइनेछ । पहराको पुछारमा रहेको सानो ओढारको ढोकामा महादेव र पारुहाङको मूर्ति राखिने जनाइएको छ । पहरालाई पार्कको रुपमा विकास गर्न थालनी भएपछि हाल हङ्कङमा बसोबास गर्दैआएका स्थानीय आर्थिक सहयोग गर्न उत्सुक रहेको अध्यक्ष राईले जानकारी दिए । रासस
यी हुन लघुवित्त खोल्न पाइने ९ जिल्ला
काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले अबदेखि लघुवित्त संस्थाको लाइसेन्स बन्द गर्ने बताएपनि तोकिएका ९ जिल्लामा यस्तो संस्था संचालन गर्न दिने भएको छ । वित्तीय पहुच नभएका ९ जिल्लामा नै केन्द्रीय कार्यालय रहने र त्यस्तै जिल्ला मात्रै कार्यक्षेत्र हुने गरी स्थापना हुने लघुवित्त संस्था खोल्न दिने भनिएको छ । ‘संघीय संरचना तथा इ–म्यापिङ्गको अध्ययन प्रतिवेदन समेतलाई दृष्टिगत गरी लघुवित्त संस्थाहरुको वित्तीय पहुँचको अवस्था, स्तर वृद्धि, मर्जर÷प्राप्ति तथा संचालन सम्बन्धमा अध्ययन गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ । यस्तो व्यवस्था नभएसम्मका लागि लघुवित्त संस्था स्थापना एवम् वित्तीय कारोबार गर्न इजाजतपत्रको लागि आवेदन लिने कार्य स्थगन गरिएको छ,’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ । नीति सार्वजनिक हुनुभन्दा अगाडि नै निवेदन दर्ता गरेका संस्थालाई भने इजाजत दिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले जानकारी दिए । अहिले यस्तो संस्थाको लाइसेन्स माग्दै सयभन्दा बढी निवदेन दर्ता भएका छन् । वित्तीय सेवाको पहुँच कम रहेका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला जिल्लामा प्रधान कार्यालय स्थापना गरी उक्त ९ जिल्ला कार्यक्षेत्र रहने लघुवित्त संस्था स्थापनाको लागि विद्यमान इजाजत नीतिलाई यथावत् राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
लघुवित्तको कर्जा सीमा कति बढ्यो ?
काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षदेखि लागू हुने गरी लघुवित्त संस्थाले प्रवाह गर्ने कर्जाको सीमा बढेको छ । आगामी आर्थिक बर्षदेखि लागू हुने गरी ल्याइएको मौद्रिक नीति मार्फत लघुवित्त कर्जाको सीमा बढाइएको हो । नयाँ ब्यवस्था अनुसार विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य १ लाख रुपैयाँबाट बृद्धि गरी ३ लाख रुपैयाँ र विगत दुई वर्षदेखि कर्जा उपयोग गरी असल वर्गमा परेका समूह सदस्यले ३ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ कर्जा दिन पाउने ब्यवस्था गरिएको छ । नवीकरणीय ऊर्जा प्रविधि अन्तर्गत सोलार सिस्टम र/वा बायोग्यास प्रयोजनको लागि प्रतिपरिवार ६० हजारबाट २ लाख रुपैयाँसम्म कर्जा दिन सकिने भएको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई धितो लिई लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिसमूह सदस्यले ३ लाख रुपैयाँ कर्जा पाउदै आएकामा अव भने ५ लाख रुपैयाँसम्म र विगत दुई वर्षदेखि कर्जा उपयोग गरी असल वर्गमा परेका समूह सदस्यले पाउदै आएको ५ लाख रुपैयाँबाट बृद्धगरी ७ लाख रुपैयाँसम्म दिन सकिने ब्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्था नभएका गाविसहरुमा लघुवित्त संस्थाहरुबाट स्वीकारयोग्य धितो लिई समूहमा आबद्ध भएका तथा नभएका व्यक्तिहरुलाई लघुउद्यम सञ्चालन गर्न प्रदान गरिने ७ लाख रुपैयाँसम्मको कर्जा सीमा बढाएर १० लाख रुपैयाँ कायम गरिएको । समूहमा आवद्ध नभएका विपन्न तथा न्यून आय भएका व्यक्तिलाई धितो लिई दिइने ६० हजार रुपैयाँ कर्जा सीमालाई बढाएर ३ लाख रुपैयाँ कायम गरिएको छ ।
प्रभु बैंकको नयाँ शाखा काठमाडौंको हात्तीगौंडामा
काठमाडौं, ३१ असार । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको हात्तीगौंडामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समारोहकाबीच सम्पन्न गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
सेयर बजारमा अबैध सम्पत्ति लगानी भएको शंका, बोर्डले बनायो छानविन समिति
काठमाडौं, ३१ असार । सेयर बजारमा स्रोत नखुलेको र अबैध सम्पत्ति लगानी भएको शंका गर्दै धितोपत्र वोर्डले छानविन समिति नै बनाएको छ । सम्पत्ति शुद्धीकरण हुनवाट रोक्नलाई बोर्डले विहिवार एक छानविन समिति गठन गरेको हो । ‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययनतथा छानविन गर्न समिति गठन गरिएको छ,’ बोर्ड विज्ञप्ति जारी गर्दै भनेको छ । यस्तो समिति बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागका प्रमुखकार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको हो । समितिमा बोर्डको कानुन तथा प्रबलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशकहरु सदस्यको रुपमा रहने छन् । अध्ययन तथा छानविनलाई प्रभावकारी बनाउन उक्त समितिमा आवश्यक्ता अनुसार अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धाग विभाग र अन्य विज्ञहरु समेतलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ । समितिले एक महिना भित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ । तत्पश्चात सो समितिले धितोपत्रको कारोबार, सम्पत्ति शुद्धीकरण तथा बोर्डमा प्राप्त हुने उजुरीको निरन्तर रुपमा सशक्त सुपरिवेक्षण तथा छानविन कार्य गरी बजारको स्वच्छता र पारदर्शीताका लागि निरन्तर रुपमा कार्य गर्ने व्यवस्था पनि गरिएको छ । धितो पत्रबजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढ्न गएको तथा बजारको दायरा समेत फराकिलो भएको छ । यसैकारण बजारको सुपरिवेक्षण गर्ने कार्य थप चुनौतीपूर्ण हुदै गएको बोर्डले उल्लेख गरेको छ । पछिल्लो समयमा धितोपत्र बजारमा विभिन्न किसिमका उजुरी, समस्या तथा गुनासाहरु बोर्डमा प्राप्त हुने क्रममा तीव्रता आएको बताइएको छ । विगत केही समय देखि धितोपत्र दोस्रो बजारमा हुने कारोबारको संख्या तथा रकममा समेत बृद्धि भएको र हाल दैनिक रुपमा एक अर्ब भन्दा बढीको कारोबार भैरहेको छ ।
विशाल ग्रुपले ह्यायात होटलको सेयरमा साढे १५ करोड लगानी गर्यो, नेपाल बैंकले १७ करोड कमायो
अनुज अग्रवाल, प्रबन्ध निर्देशक, विशाल ग्रुप काठमाडौं, ३१ असार । विशाल ग्रुपले तारागाउँ रिजेन्सी होटल लिमिटेडको सवा ६ लाख कित्ता सेयर किनेको छ । ग्रुपले प्रतिकित्ता औषत २४६ रुपैयाँमा ६ लाख २७ हजार ५०० कित्ता सेयर किनेको हो । उक्त सेयर किन्न विशाल ग्रुपले १५ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ । विशाल ग्र्रुप अन्तरगत रहेका विभिन्न कम्पनीहरुको नाममा उक्त सेयर खरिद भएको छ । यूनाईटेड डिष्ट्रिव्यूटर्स नेपाल प्रालिले ३ लाख ५० हजार कित्ता सेयर किनेको छ । त्यस्तै सोहि ग्रुप अन्तरगत रहेका लाईफ केयर डिष्ट्रिव्यूटर कम्पनीले १ लाख ५० हजार कित्ता सेयर किनेको छ । विशाल ग्रूप अन्तरगत एशियन डिष्ट्रिव्यूटरले २५ हजार कित्ता, ग्लोवल ट्रेडिङले २५ हजार कित्ता, भिजी ओटोमोवाईल्सले १५ हजार कित्ता, पूजा इन्टरनेशनलले १५ हजार कित्ता सेयर लिएको छ । त्यस्तै गणेश प्रपर्टीज एण्ड इन्भेष्टमेन्ट कम्पनीले ४७ हजार ५०० कित्ता सेयर लिएको छ । नेपाल बैंक लिमिटेडले तारागाउँ रिजेन्सी होटल लिमिटेडको ७ लाख कित्ता सेयर बिक्री गर्ने क्रममा विशाल ग्रुपले उक्त सेयर टेण्डर प्रक्रियाबाट लिएको हो । नेपाल बैंकले बिक्री गरेको ७ लाख कित्ता सेयर मध्ये ७२ हजार ५०० कित्ता मात्र अरुले हात बारेका छन् । बैंकका एक सञ्चालकले दिएको जानकारी अनुसार राजु केसीले अधिकतम मूल्यमा टेण्डर हालेका थिए । प्रतिकित्ता २६० कबोल गरी १०० कित्ता मागेका थिए । सूर्या लाईफ इन्स्योरेन्सले २५ हजार कित्ता र नेपाल रिइन्स्योरेन्स कम्पनीले ४७ हजार ४०० कित्ता सेयर पाएको छ । तारागाउँ रिजेन्सी होटलको सेयर बिक्रीबाट बैंकले १७ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त सेयर बिक्री गर्दा बैंकले प्रतिकित्ता औषतमा २४६ रुपैयाँमा हात पारेको छ । पुँजीगत लाभ कर तिरपछि बैंकलाई करिव १५ करोड रुपैयाँ बचत हुने ती सञ्चालकले बतायो । उक्त रकम बैंकको चालु आर्थिक वर्षको नाफामा जोडिने भएको छ । नेपाल बैंकले तारागाउँको सेयरको प्रतिकित्ता न्यूनतम २१६ रुपैयाँ मूल्य राखेर बढाबढमा लिलामी गरेको थियो । बिक्री गरिएको सेयरमा सबैभन्दा बढी विशाल ग्रुपले किन्न सफल भएको छ ।
प्रविधिमा नेपालीको पहुँच विकसित मुलुक सरह
काठमाडौं, ३१ असार। नेपाल सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि सूचना प्रविधिले एउटा इटा थप गरेको छ। हालै सार्वजनिक गरिएको ‘विश्व सूचना प्रविधि प्रतिवेदन २०१६’ ले विश्वका १३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको अवस्थाको सूचकमा नेपाल ११८ औं स्थानमा रहेको देखाएको छ । नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ । तर, खरिद क्षमता सूचकमा भने नेपालको स्थान मात्र ३० औंमा छ । विकसित मुलुकहरूकै स्थान नेपालभन्दा तल देखिन्छ । खरिद क्षमता सूचकमा जापान ४९, नर्वे २८, क्यानडा ६१, स्वीट्जरल्यानड ७०, अस्ट्रेलिया ५७, स्वीडेन २५, सिंगापुर ७२, जर्मनी ५५ स्थानमा देखिन्छन् । फोरमले बर्सेनि यस्तो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । पछिल्ला वर्षका प्रतिवेदनहरूमा पनि नेपालको स्थान अन्य सूचकमा स्थान पछाडि भए पनि खरिद क्षमता सूचकमा निकै अगाडि छ । विश्वका मुलुकहरूका सूचना प्रविधिको अवस्थालाई चित्रण गर्न विभिन्न चार सहसूचक र तीभित्रका दश उपसूचकमा वर्गीकरण गरेर अध्ययन गरिएको थियो । जसमध्ये पहिलो वातावरणको सूचकमा नेपाल विश्वका मुलुकमध्ये ११० स्थानमा छ । वातावरणभित्रको राजनीतिक तथा नियमनको वातावरण उपसूचकमा ११४ र व्यवसाय तथा आविश्कार वातावरणमा नेपालको स्थान ९९ औं छ। अध्ययनको तेस्रो सहसूचक प्रयोगको छ, जसमा नेपालको स्थान १२९ औं देखिएको छ । सो सहसूचकको व्यक्तिगत प्रयोग, व्यावसायिक प्रयोग र सरकारी प्रयोग गरी तीन उपसूचकमा क्रमशः ११७, १२८ र १२९ औं स्थानमा नेपाल छ । यसको अर्थ नेपालमा व्यक्तिगत प्रयोग नै बढी भइरहेको भन्ने नै हो । सूचना प्रविधिको व्यावसायिक र सरकारी निकायको प्रयोग भने करिब करिब एउटै स्तरमा देखिन्छ । चौथो र अन्तिम सूचक प्रभावको छ जसमा नेपालको स्थान १२८ औं छ । अमेरिकामा सार्वजनिक भएका ग्याजेट साताभरमै नेपालीका हातमा आइपुग्छन् । महँगो ब्रान्ड एप्पलदेखि अन्य चलेका ब्राण्डका महँगा स्मार्ट फोन बोक्ने नेपालीको संख्या पनि बढ्दो छ । यी व्यवहारहरूका सूचना प्रविधिमा चासो र खरिद गर्ने तत्परता पनि बढी भएको पुष्टि वल्र्ड इकोनोमिक फोरमको पछिल्लो प्रतिवेदनले गरेको छ । बढ्दो रेमिट्यान्स र सूचना प्रविधिप्रति नेपालीको मोह बढ्नाले पनि नेपालीहरू महंगा ग्याजेट खरिद गर्नमा अगाडि रहेको विज्ञहरूको तर्क छ ।
बायुसेवा निगमले १ अर्ब ५८ करोड ऋण तिर्यो, चार बर्षपछि दोहा उडान भर्दै
काठमाडौँ, ३० असार : नेपाल वायुसेवा निगमले दुईवटा जहाज खरिदबापत डेढ अर्ब रुपैयाँ ऋण चुक्ता गरको छ। निगमले दुईवटा एयरवसको १५६ सीट क्षमताका जहाज खरिद गर्न कर्मचारी संचय कोषबाट लिएको १० अर्ब ऋण मध्ये एक अर्ब ५८ करोड ६२ लाख रुपैयाँ बुझाएको हो। वायुसेवा निगमले दुई वटा एयर बस किन्न कर्मचारी संचय कोषबाट लिएको ऋणको सावाँ र व्याजबापतको यो रकम नियमले चुक्ता गरेको हो। निगमले आगामी १५ वर्षसम्मम हरेक तीनतीन महिनामा संचयकोषलाई ३२ करोड ३६ लाख १७ हजार चार सय २१ रुपैयाँ बुझाउने भएको छ। संचायकोषबाट लिएको ऋणको सावाँ र ब्याजमार्फतको रकम तोकिएकै समयमा नियमति रुपमा भुक्तानी गर्दै आएको पनि निगमले जानकारी दिएको छ। निगमले जहाज ल्याएर उडान गर्न थालेपिछ पहिलो तीन महिनामा २९ करोड १८ लाख रुपैयाँको पहिलो किस्ता तिरेको थियो। त्यसपछि भने हरके महिना तिर्ने शुल्क ३२ करोड ३६ लाख रहेको छ। वायुसेवा निगमले चार वर्षपछि संयुक्त अरब इमिरेट्स (युएई) को दुवई उडान भर्ने भएको छ। निगमले २०६९ साउनदेखि बन्द गरेको दुवाईको उडान आगामी भदौ २ गतेबाट पुनः सुचारु गर्ने भएको छ। निगमले हरेक मंगलबार, बिहीबार र आइतबार गरी सातामा तीन उडान गर्ने भएको छ। वायुसेवा निगमको जहाज अभाव भएर खुम्चिएको अन्तर्राष्ट्रिय उडान यात्रा एयरबसको दुई जहाज थपसँगै विस्तारै बढ्न थालेको छ। निगमले एयरबसबाटै दुवाई उडान गर्ने भएको छ। निगमले चीनमा पनि उडान गर्ने तयारी गरिरहेको छ।