वित्तीय क्षेत्रका मुख्य ६ सुधार: २१ अर्ब सेयर पुँजी थपियो, ६४ वटा बैंक तथा फाइनान्स विलय
काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन् । आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भने–निक्षेप परिचालन, वित्तीय प्रगाढता, पहुँच, सचेतना लगायतका वित्तीय सूचकहरु सुधारोन्मुख रहेका छन् । वित्तीय क्षेत्रको स्थायित्व एवम्सुदृढीकरणका लागि अगाडि बढाइएको कानूनी सुधार, बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि एवम्बासेल–३ जस्ता नियमनकारी व्यवस्थाहरु कार्यान्वयनको क्रममा रहेको उनले बताए । साथै, तेस्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रमको तयारी भईरहेको उनले जानकारी दिए । २०७३ जेठ मसान्तसम्ममा ९६ वटा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर ३५ वटा संस्था कायम भएका छन् । त्यसैगरी, हालसम्म १ वाणिज्य बैंकले २ वित्त कम्पनी र १ विकास बैंकले अर्को १ विकास बैंकलाई प्राप्ति गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७३ जेठमा रु. १६२ अर्ब २६ करोड पुगेको छ । २०७२ असार मसान्तमा यी संस्थाहरुको चुक्ता पुँजी रु. १४१ अर्ब ६० करोड रहेको थियो । २०७३ जेठ मसान्तमा वाणिज्य बैंकहरुको शाखा संख्या १८५१, विकास बैंकहरुको ८४८, वित्त कम्पनीहरुको १९० र लघुवित्त संस्थाहरुको १३३० गरी कुल शाखा संख्या ४२१९ पुगेको छ । तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको व्यवस्था अन्र्तगत २०७२ चैत मसान्तसम्ममा २३४२ जना किसानहरूलाई रु. १ अर्ब ९९ करोड कर्जा प्रवाह भएको जानकारी दिए यसलाई वित्तीय क्षेत्रको सुधार भनेका छन् । उत्पादनमूलक क्षेत्रहरु कृषि, ऊर्जा, पर्यटन क्षेत्र र घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जा लगानीको १६.८ प्रतिशत कर्जा लगानी गरेको विषयलाई राम्रो उपलब्धिको रुपमा अथ्र्याएका छन् । प्रवाहित कुल कर्जाको न्यूनतम २० प्रतिशत यस क्षेत्रमा प्रवाह गर्नु पर्ने राष्ट्र बैंकको नियम भएपनि उल्लेखित लगानीलाई सुधारको संकेत भनेको छन् । २०७३ जेठ मसान्तसम्ममा रु. ६ अर्ब २२ करोडको साधारण पुनरकर्जा तथा रु. १ अर्ब ३० करोडको निर्यात पुनरकर्जा उपयोग हुनुलाई पनि उनले राम्रो भनेको छन् । २ लाखसम्मको बैंक निक्षेपलाई सुरक्षण गर्ने व्यवस्था अनुरुप २०७३ जेठ मसान्तसम्ममा १५० बैंक तथा वित्तीय संस्थाहरुको जम्मा रु. ३१८ अर्ब ३६ करोड निक्षेपको सुरक्षण गरिएको छ । कर्जा सुरक्षण व्यवस्था अन्र्तगत कुल रु. २ अर्ब ९३ करोड कर्जा सुरक्षण भएको छ ।
आर्थिक वृद्धि ९० प्रतिशत कम, मुद्रास्फिति १७ प्रतिशतले बढी
गर्भनर नेपालका साथ राष्ट्र बैंक सञ्चालक रामहरि अर्याल काठमाडौं, ३० असार । आर्थिक वर्ष २०७२/७३ मा आर्थिक वृद्धि सरकारको लक्ष्यभन्दा ९० प्रतिशत कम भएको छ । तर मूल्यवृद्धि नियन्त्रण लक्ष्य सीमा भन्दा करिव १७ प्रतिशतले बढी भएको छ । आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ०.६ प्रतिशत मात्र हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारको आर्थिक सर्वेक्षणले ०.७७ प्रतिशत आर्थिक वृद्धिदर रहने जनाएको थियो । ‘आर्थिक वर्ष २०७२/७३मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर लक्षित ६ प्रतिशतभन्दा अत्यन्त न्यून ०.६ प्रतिशत रहने अनुमान छ’ मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले भने । उत्पादन मूल्यको आधारमा कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत र गैर–कृषि क्षेत्रको वृद्धिदर ०.६ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७१÷७२ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर २.७ प्रतिशत रहेको थियो । तर आर्थिक वृद्धि लक्ष्यभन्दा लक्ष्यभन्दा ९० प्रतिशत कम हुँदा मुद्रास्फिति दर लक्ष्यभन्दा करिव १७ प्रतिशतले बढी भएको छ । ‘आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत मुद्रास्फीति दर ८.५ प्रतिशत रहने प्रक्षेपण थियो । सीमा नाका सृजित आपूर्ति व्यवधानका कारण चालु आर्थिक वर्षको एघार महिनामा औसत उपभोक्ता मुद्रास्फीति दर ९.९ प्रतिशत रहेको छ’ गभर्नर नेपालले भने ।
बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच एकीकृत कारोबार शुरु
काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक आपसमा गाभिएर असार ३० गते मङगलबारदेखि एकीकृत कारोबार शुरु गरेको छ । दुबै कम्पनीको सहमतिमा बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नामबाट सो कारोबार गर्ने भएका छन् । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एक समारोहकाबीच गरेका हुन् । मर्जरको माध्यमबाट एकिकृत हुने यी दुबै बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त“क”वर्गका वाणिज्य बैंक हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ सम्ममा न्युनतम पूँजी ८ अर्ब रुपैयाँ पु¥याउनु पर्ने निर्देशनको अनु पालना गर्ने सम्बन्धमा दुबै बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरे बमोजिम यस मर्जरको पहल गरिएको हो । यस मर्जरबाट एकिकृत संस्था बैंक अफ काठमाण्डू लुम्बिनीको कूल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुग्न गएको बैंकले जनाएको छ । साथै, गाभ्ने बैंक बैंक अफ काठमाण्डू तथा गाभिने बैंक लुम्बिनी बैंकको शेयर सट्टा अनुपात १ बराबर ०.८३ कायम गरिएबाट एकिकृत संस्थामा ३९ करोड ५५ लाख ३४ हजार ६ सय ८० रुपैयाँको पूँजी गत जगेडा कोष समेत कायम भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अन्त सम्म बैंक अफ काठमाण्डूको कूल निक्षेप ४० अर्ब ७२ करोड रुपैयाँ तथा कर्जा ३४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । त्यस्तै सोहि अवधिमा लुम्बिनी बैंकको कूल निक्षेप २२ अर्ब ९४ करोड रुपैयाँ तथा कर्जा २० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । त्यसैगरी उक्त अवधि सम्म बैंक अफ काठमाण्डूले खुद मुनाफा ४८ करोड ३५ लाख बढी रुपैयाँ आर्जन गरेको थियो भने लुम्बिनी बैंकले रु. २७ करोड ७९ लाख बढी रुपैयाँ आर्जन गरेको छ । साथै यस संचालक समितिको आज बसेको बैठकले बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडको अध्यक्षपदमा सत्य नारायण मानन्धरलाई निर्वाचित गरेको छ साथै प्रमुखकार्यकारी अधिकृतको पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । एकिकृत संस्था बैंक अफ काठमाण्डूको रजिष्टार्ड तथा मूख्य कार्यालय कमलपोखरी, काठमाण्डौंमा कायम गरिएको छ । दुई बैंकको एकिकरण पश्चात ग्राहकहरुले देश भरीका ७४ शाखा, ६३ एटीएम , ७ काउन्टर र ३३ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालसम्मकै उत्कृष्ठ मौद्रिक नीतिः लामिछाने
काठमाडौं, ३० असार । डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति हालसम्मकै उत्कृष्ठ भएको बताएका छन् । मौद्रिक नीतिबारे विकासन्युजसँग कुरा उनले भने–यो हालसम्मकै उत्कृष्ठ मौद्रिक नीति हो, विकास बैंकहरु यो मौद्रिक नीतिको खुलेरै स्वागत गर्छाै । डेभलपमेन्ट बैंकर्सहरुले दिएका अधिकांश सुझावहरु समेटिएको बताउँदै उनले मौद्रिक नीतिले वित्तिय सुशासन र स्थायीत्वका लागि समेत महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । १० लाखसम्मको कृषि कर्जालाई विपन्न वर्ग कर्जामा गणना, विकास बैंकको जोखिममा आधारित रिपोर्टिङ(बसेल–२ को कार्यान्वयन), मार्जिन ल्याण्डिङलाई ६० बाट घटाएर ५० बनाउनु, घरजग्गा कर्जालाई ६० बाट घटाएर ५० बनाउनु लगायतका कारणले मौद्रिक नीति उत्कृष्ठ ठहरिएको उनले बताए । बाणिज्य बैंक र लघुवित्तलाई अप्ठेरो लामिछानेले मौद्रिक नीतिले बाणिज्य बैंक तथा लघुवित्त कम्पनीलाई भने अप्ठेरो पार्न सक्ने बताए । मौद्रिक नीतिले अघि सारेको दुई प्रतिशत अनिवार्य प्रत्यक्ष ग्रामिण कर्जा र लघुवित्तका लागि तोकिएको ७ प्रतिशतको स्प्रेड दरले समस्या ल्याउन सक्ने उनले बताएका हुन् ।
अल्पमतको सरकारले रेडियो फ्रिक्वेन्सी नीति संशोधन गर्दै, स्वार्थ समूहको लविङ तिब्र
काठमाडौं, ३० असार । अल्पमतमा परेको सरकारले हतार हतारमा दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाड तथा मूल्य सम्वन्धी) नीति २०६९ संसोधनको तयारी गरिएको छ । मोवाईल सेवा प्रदायक निजी कम्पनीलाई बढी लाभ मिल्ने गरी र नेपाल टेलिकमलाई दीर्घकालिन रुपमा नोक्सान पुग्ने गरि उक्त नीति संसोधन हुने खतरा रहेको मन्त्रालय स्रोतले बतायो । सञ्चारमन्त्री शेरधन राई नीति संसोधनका क्रममा प्रविधि तटस्थतालाई स्विकृत गर्न खोजिएको छ । यो नीति अपनाएमा भविष्यमा सरकारी स्वामित्वको दुरसञ्चार कम्पनीले सार्वजनिक खरिद ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता विभिन्न निकायको हस्तक्षेपले सो प्रविधि अपनाउन ढिलाई हुने र सो को प्रत्यक्ष फाईदा एनसेल लगायत निजी क्षेत्रका मोवाईल सेवा प्रदायक कम्पनीलाई हुने स्रोतले बतायो । नेपाल टेलिकम अधिकारीहरुले प्रविधि तटस्थता नीतिप्रति असहमति जनाउदै आएका छन् । यस नीतिमा आफू अनुकुल हुने गरि संसोधन गराउन सम्वन्धित पक्षहरु जोडतोडका साथ लागेका छन् । एनसेलको नेपालतर्फको साझेदार भावना सिंह र मन्त्रालयका उच्च अधिकारीहरुबीच पछिल्लो समयमा भेटघाट निकै बाक्लिएको स्रोतले बतायो । सरकार परिवर्तनको अन्तिम समयमा सिंह र उनका पति सतिस आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री शेरधन राईलाई पटक पटक भेटेको स्रोतले बतायो । नीति संसोधन भएमा हाल युनिफाईड लाईसेन्स पाएका टेलिकम अपरेटरले न्युनतम पनि ९।६ मेगाहर्ज फ्रिक्वेन्सि प्राप्त गर्ने हुदा युनिफाइड लाईसेन्स लिन बाँकी रहेका अपरेटरहरुले चाहेर पनि ९०० ब्याण्डमा फ्रिक्वेन्सि पाउने सम्भावना रहदैन । जसका कारण टेलिकम प्रतिस्प्रर्धामा धेरै अगाडि बढिरहेको एनसेलको एकाधिकार बढ्ने तथा नेपाल टेलिकमलाई नकारात्मक असर पर्ने जोखिम रहेको स्रोतले बतायो । संशोधन गर्न लागिएको प्रविधि तटस्थता अन्र्तगत फ्रिक्वेन्सी दस्तुर निर्धारण पनि वैज्ञानिक नभएको स्रोतले बतायो । ‘९०० ब्याण्डमा दुई करोड ४० लाख रुपैयाँ कायम गरिएको छ, यो शुल्क अत्यन्तै कम हो’ स्रोतले भन्यो । यसबाट विगतमा रहेको ९०० ब्याण्डको फ्रिक्वेन्सि मात्र उपभोग गर्ने परिपाटी कायमै रहने देखिन्छ । जसका कारण विगतमा झै माथिल्ला फ्रिक्वेन्सि उपयोग विहीन अवस्थामा रहने निश्चित प्राय छ । सरकारको नीति टेलिकम कम्पनीहरुबीच स्वच्छ प्रतिस्पर्धा गराउने र उपभोक्तालाई नयाँ सूचना प्रविधिको उपयोग गर्ने अवसर प्रधान गर्ने भन्दा खास खास कम्पनीको नाफा बढाउने गरि नीति संशोधन गर्न लागिएको मन्त्रालयमा असन्तुष्टि बढ्दै गएको स्रोतले बतायो ।
सनराइज बैंक र नारायणी नेशनल फाइनान्सबीच एकीकृत कारोबार शुरु
काठमाडौं, ३० असार । सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त (एक्विजिसन) गरि असार ३० गते बिहीबारदेखि एकीकृत वित्तीय कारोवार शुरु गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एक समारोहकाबीच गरेका हुन् । कार्यक्रममा नारायणी नेशनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गरेका छन् । नारायणी नेशनल फाइनान्सका १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त अवसरमा गभर्नर डा. नेपालले यस एकीकरणबाट सनराइज बैंक थप सशक्त भई आफ्ना ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा जोड दिएका छन् । साथै डा. नेपालले यो एकीकरण बाट संस्थाहरु केवल पूँजीको लागि मात्र नभएर संस्था सबल बनाउनका लागि पनि हुने बताए । कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले नारायणी नेशनललाई एकीकरण गरि मेची देखि महाकाली सम्म विस्तारित ६७ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न सक्ने बताएका छन् । साथै उनले सन्राइज बैंकको चुक्ता पूँजी करिब ४ अर्व रुपैयाँ पुगेको तथा नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्व रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने जानकारी दिए । उनले नेपाल राष्ट्र बैंकले एक्विजिसनमा पनि मर्जर बराबरकै सुविधा प्रदान गर्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरि फाइनान्सका अध्यक्ष मानन्धरले सनराइज बैंक जस्तो “क” वर्गको संस्थासंग समाहित भइ ठूलाठूला परियोजनामा लगानी विस्तार गर्न सक्ने बैंकको रुपमा स्थापित हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी करिव ४ अर्व रुपैयाँ, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप ५० अर्व, तथा कूल कर्जा ४३ अर्व रुपैयाँ पुगेको बैंकले जनाएको छ । उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।
सडकका कारण पर्यटन व्यवसाय प्रभावित
चितवन, ३० असार । भूकम्प र नाकाबन्दीले प्रभावित यहाँको पर्यटन व्यवसाय नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने सवारी जाम र अवरोधका कारण थप प्रभावित भएको छ । भूकम्पबाट नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन नसक्दा अहिले पनि विदेशी पर्यटक पूर्ववत् अवस्थामा आउन सकेका छैनन् । नेपाल भित्रिएका पर्यटक नारायणगढ–मुग्लिन सडकखण्डको अवरोधका कारण चितवन आउन कठिनाइ हुने गरेको छ । चितवन, काठमाडौं र पोखरापछिको पर्यटकीय गन्तव्य हो । सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडी सडकका कारण वैशाखयता अधिकांश गोष्ठी, सभासम्मेलनको बुकिङ रद्द हुनुका साथै यहाँ आउने पर्यटक पोखरातर्फ लागेका बताए । सरकारी, गैरसरकारी र निजी क्षेत्रले आफ्नो वार्षिक कार्यक्रम, गोष्ठी र तालिम जिल्लामा गर्दै आएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेका अनुसार भूकम्प अघि यस मौसममा २५ देखि ३० प्रतिशत पर्यटक सौराहा आउने गरेका थिए । “यस वर्ष १५ प्रतिशतको हाराहारीमा पर्यटक आएका छन्,” उनले भने । भूकम्पको डरले पर्यटकको सङ्ख्यामा कमी आएको घिमिरे बताए । अहिले नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति गरिँदै छ । दिउँसो अधिकांश समय यातायात अवरुद्ध हुने गरेको छ । सामान्य वर्षात्सँगै पहिरो खस्ने गर्छ । यस्तो अवस्थामा ट्राभल एजेन्सीले पर्यटकलाई पोखरातर्फ पठाउँछन् । सौराहाको बुकिङ रद्द हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ । विसं २०७१ मा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । तर यस आवमा एक लाख हाराहारीमा मात्रै पर्यटक प्रवेश गरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताएका छन्। चितवन र आसपासका क्षेत्रमा पर्यटकलाई लक्षित गरी १५० वटा होटल निर्माण भएका छन् भने हात्ती, डुङ्गा, जिप, पर्यटक बसमा ठूलो लगानी गरिएको छ । होटलमा रु २५ अर्बभन्दा बढी लगानी गरिएको छ । आधाभन्दा बढीले बैंकबाट ऋण झिकेका छन् । रासस
नेप्से परिसूचक दोहोरो अंकले उकालो, सबै समूहमा देखियो हरियो रङ
काठमाडौं, ३० असार । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । परिसूचक २७ दशमलब ७२ अंकले बढेर १७१८ दशमलब १५ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २५ लाख ४० हजार कित्ता सेयर करिब एक अर्ब ४६ करोड ७८ लाख रुपैयाँको किनबेच भएको छ । बिहीबार सेयर बजारमा सबै समूहमा हरियो रङ देखिएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ६३ अंकले उकालो लागेको छ । बीमा, अन्य समूह, उत्पादनमूलक लगायत विकास बैंक र बैंकिङ् समूकहको परिसूचक क्रमशः ३७, ३२, ३०, २८ र २६ अंकले बढेको छ । त्यस्तै, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः १० र ८ अंकले वृद्धि भएको छ । सो दिन ६ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । पुर्णिमा विकास बैंक, ओरिएन्टल होटल लि. र सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, जलविद्युत लगानी तथा विकास कम्पनी, माछापुच्छ्रे बैंक र नेरुडे लघुवित्तका सेयरधनीले हाराहारी १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी पोखरा फाइनान्स कम्पनी लि. प्रमोटर सेयरका लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी जलविद्युत् लगानी तथा विकास कम्पनीको करिब १६ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको करिब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको करिब ५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।