विकासन्युज

‘फरथिङ फ्राइडे’ नेपालमा सार्वजनिक हुने, मूल्य ५६ लाख ९६ हजारदेखि सुरु

काठमाडौं । नेपालको विद्युतीय गाडी (ईभी) बजारमा अर्को एक प्रिमियम एसयूभी थपिने भएको छ । नेपालका लागि डोङफेङ फरथिङको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले ‘फरथिङ फ्राइडे’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीका अनुसार यो गाडी यही साउन २१ गतेदेखि काठमाडौंमा आयोजना हुने ‘नाडा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मार्फत औपचारिक रूपमा सार्वजनिक गरी बिक्री-वितरण सुरु गरिनेछ । मूल्य र भेरियन्ट कम्पनीले फरथिङ फ्राइडेलाई दुई भेरियन्टमा बजारमा ल्याउनेछ । जसअनुसार लग्जरी भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ र एक्जुकेटिभ भेरियन्टको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । ब्याट्री, पर्फर्मेन्स र चार्जिङ फरथिङ फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसलाई ११ किलोवाटको एसी चार्जरले पूर्ण चार्ज गर्न ५.५ घण्टा लाग्ने कम्पनीको दाबी छ । त्यस्तै, १२० किलोवाटको डीसी फास्ट चार्जरले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केवल ३५ मिनेट लाग्नेछ, जसले लामो दूरीको यात्रालाई सहज बनाउनेछ । आकर्षक डिजाइन र फिचरहरू आकर्षक डिजाइनमा उपलब्ध यो एसयूभीको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ भने यसमा २७१५ एमएमको लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा पानारोमिक सनरुफ, १९ इन्चको स्पोर्टस् टायर, १०.२५ इन्चका दुईवटा स्क्रिन, ३६० डिग्री क्यामेरा, लेदर सिट र क्रिस्टल गियरनब जस्ता प्रिमियम फिचरहरू समावेश छन् । यसका साथै मेमोरीसहितको इलेक्ट्रीक सिट, इलेक्ट्रीक टेलगेट, हिटिङ र भेन्टिलेटेड फ्रन्ट सिट, तथा सिट मसाज जस्ता आरामदायी सुविधा पनि छन् । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक पार्किङ जस्ता एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम  फिचरहरू दिइएको छ । लक्ष्मी ग्रुप नेपालको अटोमोबाइल क्षेत्रमा एक स्थापित नाम हो, जसले हुन्डाई, बीएमडब्लू जस्ता विश्वप्रसिद्ध ब्राण्डहरूको आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ । हालै ग्रुपले नेपालकै पहिलो फोरह्वीलर गाडी एसेम्ब्ली प्लान्ट, लक्ष्मी मोटर कर्पोरेसन, समेत सञ्चालनमा ल्याइसकेको छ । 

ढोरपाटन पुगे एकै वर्षमा २३ हजार पर्यटक

बागलुङ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ ।  ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ । जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् ।  ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमा समेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।  गत आवमा मात्रै २० लाखभन्दा बढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट सङ्कलन भएको छ ।  ‘प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्,’  सुवेदीले भने ।   ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् ।  ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीले जानकारी दिए ।  समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् । 

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेजबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापछि एनआईसी एशिया बैंकका ग्राहकहरूले देशभर रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिएर डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । छुट सुविधा उपभोग गर्न सकिने सैलुन शाखाहरूमा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगञ्जस्थित रुङ्टा मल रहेका छन् । बैंकले लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नुका साथै मुलुकको डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको छ ।

सुनको सिक्री लुटपाट गर्ने गिरोह माछापोखरीबाट पक्राउ

काठमाडौं । गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले माछापोखरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन् । उनीहरूले माछापोखरी क्षेत्रमा एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए । प्रहरीका अनुसार शनिबार साँझ साढे ५ बजे ती महिलाको २ तोला २५ लामा सुनको सिक्री लुटिएको थियो । उक्त सिक्रीको मूल्य हालको बजार अनुसार झन्डै ४ लाख ३८ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। घटनापछि खोजीमा खटिएको प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले राति साढे १२ बजे नै माछापोखरीबाटै दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट एक थान सिक्री र दुई थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रह : ठूलो परियोजनामा लगानी गर्नुहोस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । आइतबार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् ।  करिब तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताए । उनले लगभग सतप्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताए । २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे । त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उनले सुझाव पनि दिए ।   ‘यदि साँच्चै हामी ऐक्यवद्धता जनाएर महासंघ बनाएका हौँ भने त्यो लक्ष्य भेट्टाउने गरी काम गर्नुपर्ने आवश्यकता छ । एउटा शक्ति पनि हो, झन्डै तीन सय हाराहारी संस्थाहरू आवद्ध छाैँ भन्नुभाछ, त्यसलाई शक्तिमा परिणत गर्नुपर्छ । थुप्रै सामुदायिक उपभोक्ता साथीहरू के भन्नुहुन्छ भने हामी चल्न नसक्ने भयौँ, पहिले ९०ः१० हुँदा हुँदै अहिले ८०ः२० को हाराहारीमा लगानी छ क्यारे । रोजगारीको सिर्जना पनि भएकै छ । उपभोक्ताले सुविधा पनि पाएकै छ,’ उनले भने । मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिए । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उनको आग्रह थियो । सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताए ।   

हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड परी ६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भएको भागदौडमा परी ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मिडिया रिपोर्टहरूका अनुसार उक्त घटनामा धेरैजना घाइते भएका छन् । यसैबीच उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री धामीले लेखेका छन्, ‘हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड भएको अत्यन्तै दुःखद समाचार प्राप्त भएको छ । उत्तराखण्ड एसडीआरएफ, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् । म स्वयं निरन्तर स्थानीय प्रशासनसँग सम्पर्कमा छु र स्थिति माथि निगरानी गरिरहेको छु ।’ घटनाको विस्तृत विवरण आउन अझ बाँकी छ ।

मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति ल्याउनुभएको दुई साता बित्दा पनि बजारमा लगानी बढ्न सकेको छैन । बैंकहरुमा अधिक तरलता भएपछि  राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ ८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । मौद्रिक नीतिपछि बजारमा लगानी ब्यापक बढ्ने अपेक्षा गरिएपनि त्यसो हुन सकिरहेको छैन । जसकारण अधिक तरलतापछि निक्षेप खिच्न बाध्य भइरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । उनीहरुकाअनुसार राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएपनि सरकारको वित्त नीति कार्यान्वयन प्रभावकारी हुन नसक्दा लगानीको वातावरण बन्न सकिरहेको छैन ।  

खोटाङका मेयरले काठमाडौंमा सुरु गरे सत्यागह

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । मेयर भट्टराईले बाँसलगायत स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने नीतिको माग राखेर सत्याग्रह सुरु गरेका हुन् ।  उनले साथमा विभिन्न प्लेकार्ड राखेका छन् । 'प्रकृतिको विनाश हैन, संरक्षण गरौं,’  'आफ्नो हैन प्राणी जगतकाे  चिन्ता गरौं',  ‘पैसा छैन नीति देऊ', 'आत्मनिर्भर समाज बनाऔं,’ ‘जलवायु परिवर्तनको असर, खोलाखोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड राखिएका छन् ।  उनको अभियानमा नगरपालिकाका कर्मचारीहरूको समेत साथ रहेको छ ।