के गर्छन् नेपालमा बर्सेनि उत्पादित दुई हजार चिकित्सक ?
काठमाडौँ, १७ असार । नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका विद्यार्थी हरेक वर्ष औसतरुपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले हरेक वर्ष चिकित्सकको बढ्दो उपस्थितिले यो सङ्ख्या बढ्दै जाने बताइन । तर माथि उल्लिखित चिकित्सकले काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने कहिले ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ । प्रशासकीय अधिकृत लामा भन्छिन,“यति धेरै सङ्ख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो होइन । अझ देशभित्र पढेकाभन्दा बाहिर पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको छ । हामीले यसरी धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजी गर्दैछौँ ।” उनले परीक्षा दिने विद्यार्थीमा कति त ३३ पटकभन्दा बढी पटक अनुत्तीर्ण भएकाले नक्कली विद्यार्थी भेटिएको उल्लेख गरिन । त्यसैबेलादेखि नक्कली प्रमाणपत्रधारी चिकित्सकको पनि कुरा छानबिनको दायरामा आएको उनले स्पष्ट पारिन । काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले अहिले भइरहेको नक्कली प्रमाणपत्रधारी चिकित्सक छानबिनबाट नक्कली परीक्षार्थी पनि कम हुने विश्वास व्यक्त गरे । काउन्सिलले वर्षमा चारपटक एमबिबिएस अध्ययन गरेका विद्यार्थीका लागि चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिँदै आएको छ भने वर्षको दुईपटक विशेषज्ञताका लागि अध्ययन गरेका विशेषज्ञ परीक्षा लिँदै आएको छ । स्थापना भएको २०२० सालदेखि हालसम्म काउन्सिलमा एमबिबिएस स्नातक गरेका १७ हजार २६५ चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र लिएका छन् । तीमध्ये ११ हजार २४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक दर्ता भएका छन् । नेपालमा विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका चार हजार ४८६ विशेषज्ञ चिकित्सक दर्ता भएका छन् जसमा तीन हजार ३०४ पुरुष र एक हजार १८२ महिला विशेषज्ञ छन् । यो सन् २०१५ सम्मको तथ्याङ्क हो । सन् २०१५ मा एमबिबिएस ९स्नातक० र एमडी, एमएस, र एमडिएस ९स्नातकोत्तर० अध्ययनका लागि एक हजार २६६ विद्यार्थी विभिन्न देश गएको प्रशासकीय अधिकृत लामाले जानकारी दिइन । विदेशमा गई एमबिबिएस अध्ययन गर्न जानेमध्ये बङ्गलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८, पाकिस्तानमा १३, किर्गिज्स्तान र गुयानामा एकएकजना विद्यार्थी छन् । त्यसैगरी, एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० पढ्न गएकामध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बङ्गलादेशमा ३४, थाइल्यान्डमा दुई, अस्टे«ेलियामा दुई, जापानमा पाँच, युकेमा एक, युएसएमा आठ, भारतमा ४४, किर्गिज्स्तानमा चार, पाकिस्तानमा चार, इजिप्टमा १३, कोरियामा एक, इरानमा एक र बेल्जियममा एकजना गरी ३७३ जना चिकित्सक स्नातकोत्तरका लागि विभिन्न देशमा छन् । नेपालमा विभिन्न मेडिकल कलेजमा एक हजार ९०५ जना विद्यार्थीले एमबिबिएस अध्ययन गरिरहेका छन् । हालसम्म नेपालबाट सात हजार १९९ जना विद्यार्थीले बाहिरी देश गई एमबिबिएस अध्ययन गरेका छन् भने एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० दुई हजार २६६ जनाले विदेशमा गई अध्ययन गरिसकेका छन् । रासस
एभरेष्ट बैंकद्धारा निःशुल्क पिउने पानी सुविधा
काठमाडौं, १६ असार । एभरेष्ट बैंकले काठमाडौंको पूरानो बानेश्वरमा अवस्थित रत्न राज्य उच्च माध्यामिक विद्यालयमा निःशुल्क पिउने पानी सुविधा स्थापना गरेको छ । एभरेष्ट बैंक संस्थागत सामाजिक उत्तरदायित्व प्रति सदैव सजग रहेको बैंकले बताएको छ । बैंकले समाजका आवश्यक क्षेत्रहरुमा सहयोग उपलब्ध गराउँदै आएको र साथै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रहरुमा सामाजिक कार्यहरु पनि सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
मलेसियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउन माग
काठमाडौं, १६ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाए। उनले ती संस्था अवैध ढङ्गले सञ्चालनमा आएको जनाउँदै बन्द गर्न प्रधानमन्त्री, परराष्ट्रन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै निकायलाई अनुरोध समेत गरे। यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको सङ्घको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको सङ्घले आरोप लगाएको छ । सङ्घले मलेसिया गएका कामदारको प्रवेशाज्ञा रोजगारदाता कम्पनीले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था विपरीत प्रवेशाज्ञा नवीकरण नगर्ने कम्पनीलाई कारबाही नगरी उल्टै कामदारलाई कारागार चलान गर्ने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । कामदारमाथिको शारीरिक तथा मानसिक यातना दिने कार्य तत्काल बन्द गरी नेपाली कामदारको हकहितको सुनिश्चिततासहित तीन महिनाभित्र मलेसियासँग श्रम सम्झौता गर्नुपर्ने सङ्घको भनाइ छ । मलेसियाका रोजगारदाता कम्पनीले समयमा प्रवेशाज्ञा नवीकरण नगर्ने र करार समाप्त भएपछि समयमा नेपाल फिर्ता नगर्ने कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्नुपर्ने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । रासस
काठमाडौं उपत्यकामा ५३ किमी सडक विस्तार सुरु
काठमाडौं, १६ असार । उपत्यकामा ५३ किमी सडक विस्तारका लागि बोलपत्र आह्वान गरी काम सुरु गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकामा ३६ किमी सडक विस्तार सम्पन्न भइसकेको जनाएको छ । उपत्यकाका व्यस्त सडकमध्ये ८९ किमी सडक विस्तार गर्ने कार्यक्रम रहेकामा ३६ किमी सम्पन्न गरी ५३ किमी सडक विस्तारको काम अघि बढाइएको आयोजना प्रमुख मनोज श्रेष्ठले राससलाई जानकारी दिए । “त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२.४८ किमी, चाबहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो ८०० मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारको प्रक्रिया सुरु भएको छ”– उनले भने । विगत वर्षबाटै काम सुरु भएको त्रिभुवन विश्वविद्यालय मूलद्वार–नयाँबाटो कीर्तिपुर ५०० मिटर र बूढानीलकण्ठ–विष्णुमतीपुल ८०० मिटर सडकको काम केही बाँकी रहेको आयोजनाले जनाएको छ । काठमाडौंउपत्यका विकास प्राधिकरणले विभिन्न समयमा सरकारले तोकेको मापदण्डका आधारमा सडक सीमाको चिह्न लगाएपछि त्यस क्षेत्रको महानगरपालिका वा नगरपालिकाले मापदण्ड विपरीत बनेको संरचना भत्काउँछ । सरकारले तोकेको मापदण्डको जग्गा खाली भएपछि आयोजनाले सडक विस्तार गर्छ । विसं २०३३ मै तोकेको मापदण्डको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खम्बा गाड्ने र सडक विस्तारका बेला निकाल्न आयोजनाले नै पैसा तिर्नुपर्दा ढिला हुने समस्या रहेको आयोजना प्रमुख श्रेष्ठको गुनासो छ । रासस
पाँच लाख पुरस्कार राशीको फोटो प्रतियोगीतामा फोटो दर्ता सुरु
काठमाडौं, १६ असार । काठमाडौं, असार १६ । ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशीको ग्लोबल आइएमई फोटो प्रतियोगीताको फोटो दर्ता प्रक्रिया सुरु भएको छ । ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणका रुपमा आयोजना हुन लागेको प्रतियोगीताको आयोजना फोटो पत्रकार क्लब नेपालले गर्दै आएको छ । वर्ष भने भूकम्पका कारण प्रतियोगीता रोकिएको थियो । प्रतियोगीता सहभागीता जनाउन चाहने फोटो पत्रकारहरुले साउन मसान्तसम्म फोटो दर्ता गराउन सक्नेछन् । प्रतियोगिताको मुख्य विधा आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा हुने प्रतियोगितामा हालसम्म आइएमएस, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अर्घाखाची सिमेन्ट र आरजे स्पोर्टसले विधागत प्रायोजकका रुपमा सघाउने पक्का भइसकेको छ । प्रतियोगीता सात विधामा सञ्चालन हुनेछ । विजयी फोटो ग्राफरहरुलाई भदौ १५ गते पुरस्कृति गरिनेछ । सोही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ । प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढि फोटोग्राफरका १३ हजारभन्दा बढि फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा १ हजारभन्दा बढि फोटोग्राफरका ९ हजार फोटो सहभागि थिए । मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीलाई प्रायोजन निरन्तरता दिइने वचन दिए । ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्व विशेष छ । यो वर्ष हाम्रो पुरानो सम्झौताको अन्तिम वर्ष हो । तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिनेछौं,’ ढकालले भने, ‘नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई सुभकामना दिन चाहन्छौं ।’ आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहदै आएको विचार राखे ।
हिमालयन बैंकको एटिएम सेवा अब स्वयम्भूमा
काठमाडौं, १६ असार । हिमालयन बैंक लिमिटेडले स्वयम्भूमा भगवान पाउमा आफ्नो एटिएम स्थापना गरेको छ । उक्त एटिएमको स्थापना पश्चात बैंकको देशभर ८३ वटा एटिएम भएका छन् । बैंकका अनुसार उक्त एटिएमबाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जे.सि.बि., युनियन पे तथा एस. सि. टी. ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्नेछन् । यस एटिएमको स्थापनाले स्थानीय व्यक्तिहरु, यस क्षेत्रका विभिन्न संस्थाहरु, तथा विदेशी पर्यटकहरुले नगद निकाल्ने सुविधा पाउने बैंकले जनाएको छ ।
उपल्लो मुस्ताङमा फेला पर्यो ठुलो युरेनियम खानी(अन्वेषणको फोटो फिचरसहित)
मुस्ताङ, १६ असार । उपल्लो मुस्ताङमा बहुमुल्य धातु युरेनियमको ठुलो खानी रहेको पुष्टि भएको छ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा उपल्लो मुस्ताङ पुगेको प्राबिधिक टोलीले सो क्षेत्रमा उच्च गुणस्तरयुक्त युरोनियमको ठुलो खानी रहेका तथ्यलाई थप पुष्टि गरेको हो । ‘युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन, यसले हामीलाई थप उत्साहित बनाएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।’ खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद धर्मराज खड्काले भने । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा यरेनियमन धातुको अध्ययनका लागि असार १२ गते उद्योग मन्त्री सोम प्रसाद पाण्डेसहितको प्राबिधिक टोली पुगेको थियो । सो टोलीको अध्ययनले लोमान्थाङ क्षेत्रमा यरेनियमन रहेको भन्ने पुरानो आधारलाई थप पुष्टि गर्ने प्रमाणहरु फेला पारेको हो । संसारमै बहुमुल्य मानिने युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । १० किलोमिटर क्षेत्रमा युरेनियमन खानी तथा भूगर्भ विभागले वि.सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । २० वर्षअघि नै मकवानपुर, वैतडी र बझाङ जिल्लामा युरेनियमको खानी भेटिएको थियो । ऐनको अभाव खड्कियो ? यसरी पत्ता लगाइएको युरेनियम उत्खननका लागि भने ऐन आवश्यक पर्छ तर हालसम्म नेपालले त्यस प्रकारको कुनै पनि ऐन बनाएको छैन् । ‘यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ’,खड्काले भने । थप अनुसन्धान र ऐन निर्माणको काम अघि बढ्छः उद्योग मन्त्री पाण्डे लोमान्थाङमै पुगेर यरेनियमन खानीको स्थलगत अवलोकन गरेर फर्किएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले थप अध्ययन र ऐन निर्माणको अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘लोमान्थाङमा युरेनियम थातुको खानी रहेको तथ्य पुष्टि भएको छ, थप अनुसन्धानसँगै ऐन निर्माणको काम समेत अघि बढ्छ’, मन्त्री पाण्डेले विकासन्युजसँग भने । उनले नेपाल र मित्र राष्ट्रहरुको आपसी सहकार्यमा युरेनियमन उत्खननको काम अघि बढाउने समेत जानकारी दिए ।
सनराइज बैंकको सेफ डिपोजिट लकर सुविधा बिर्तामोड शाखामा
काठमाडौं, १६ आसार । सनराइज बैंक लिमिटेडले आफ्नो सेफ डिपोजिट लकर सुविधा बिर्तामोड शाखामा बिस्तार गरेको छ । बैंकले यस शाखाबाट अत्याधुनिक बैंकिङ्ग सेवाहरुका साथै अब लकर सुविधा पनि प्रदान गर्नेछ । बैंकले मुलुकभर रहेको आफ्ना ५३ वटा शाखाहरु मध्ये २४ वटा शाखाहरुबाट सेफ डिपोजिट लकर सुविधा प्रदान गर्दै आएको छ । हाल बैंकले ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एंव सर्वसुलभ सेवाहरु प्रदान गरि रहेको छ । साथै बैंकका सातवटा शाखारहित बैंकिङ्ख सेवाहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ ।