मुस्ताङमा युरेनियम अन्वेषणमा नयाँ तथ्य, पेट्रोल र नुनखानी भेटियो
मुस्ताङ, १६ असार । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि।सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ । त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि।सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । “युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ”, खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने, “समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।” युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए। “यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ”, उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ । खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए। “नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो”, प्रमुख पौडेलले भने । लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । “कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन, आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ”, उनले भने। सोमबार मुस्ताङ पुगेको टोली बुधबार राजधानी फर्किएको छ । रासस
शिक्षाले जीवनयापनको शिप र दक्षता दिनु पर्छ-भवानी प्रसाद पौडेल
भवानी प्रसाद पौडेल, क्याम्पस प्रमुख–जया मल्टिपल क्याम्पस, जोरपाटी//// एसएलसीपछि अब के पढ्ने र कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई के भन्नु हुन्छ ? शिक्षा ऐनको आठौं संसोधनले यसलाई अन्तिम एसएलसी बनाएको छ । कोहि पनि अनुतिर्ण हुँदैनन भन्ने थियो तर केहि सिमा तोकि दिएको छ । अनिवार्य बिषयहरुमा डि प्लस ल्याउनै पर्ने मान्यता राखियो । एक लाख २० हजार जति विद्यार्थीले डि र ई ल्याएका छन् । उनीहरुलाई सिटिईभीटीबाट सञ्चालित कार्यक्रममा मात्रै सहभागी हुन पाउने भनिएको । यति ठुलो संख्यामा रहेका विद्यार्थीलाई तत्काल अध्ययन गराउने अवस्थामा सिटिईभीटी पनि छैन् । भवानी प्रसाद पौडेल, क्याम्पस प्रमुख–जया मल्टिपल क्याम्पस, जोरपाटी त्यसो त उच्च माध्यमिक शिक्षा परिषदमा अध्ययन गर्न पाउने विद्यार्थीहरु पनि केहि अन्यौलमै छन् । कहाँ पढ्ने ? के पढ्ने ? जस्ता प्रश्नहरुले विद्यार्थीलाई सताईरहेको हुन्छ । अविभावक पनि आफ्ना सन्तानको रुची र आफ्नो इच्छाकाबिचमा घेरिएका हुन्छन् । शैक्षिक संस्थाको छनौटमा पनि दुबिधा देखिन्छ । राम्रो अंक ल्याउनेले विज्ञान पढ्नु पर्छ, कम अंक ल्याउनेले मानविकी, शिक्षा वा व्यवस्थापन पढ्नु पर्छ भन्ने गलत मान्यता हावी भएको छ । विद्यार्थीको रुचि र सम्भावना के हो ? भन्ने सवाललाई केन्द्रमा राखेर अध्ययनको विषय छनौट गर्नु पर्छ । त्यसपछि शैक्षिक संस्थाको छनौटको सवाल आउँछ । शैक्षिक संस्था छनौट गर्दा शैक्षिक वातावरण, पुर्वाधार, शुल्क, संस्था सञ्चालकहरुको पृष्ठभूमि, परिक्षा नतिजा लगायत बुझ्नु आवश्यक हुन्छ । कस्तो स्वभावका विद्यार्थीले के पढ्ने ? सानैदेखि विज्ञान प्रबिधीमा रुची राख्ने विद्यार्थीलाई विज्ञान पढाउनु पर्छ । सानैबाट लेखा, व्यापारका गतिबिधीमा रुची राख्ने विद्यार्थीलाई कमर्श पढाउनु पर्छ । सरकारी जागिर, कानुनविद, शिक्षक, प्राध्यापक बन्ने लक्षण देखाउनेहरुलाई मानवीकी वा शिक्षा संकाय अध्ययन गराउनु पर्छ । छोटो समय अध्ययन गरेर आर्थिक उपार्जन गर्न चाहने विद्यार्थीलाई सिटिईभीटीका प्राबिधिक कोर्ष अध्ययन गराउनु पर्छ । त्यसका अलवा अन्तराष्ट्रिय कोर्षका रुपमा ए लेभल पनि भित्रिएको छ । त्यो पनि अध्ययनका लागि एउटा उपयुक्त बिषय बन्न सक्छ । के पढ्ने र कहाँ पढ्ने भन्ने बिषयले अविभावक र विद्यार्थीका बिचमा विवाद उत्पन्न गराउँछ, त्यसको निराकरण कसरी गर्ने ? जो कोही अविभावकलाई आफ्नो सन्तान डाक्टर, पाइटल वा इन्जिनियर बनिदिउन भन्ने लाग्नु स्वभाविक हो । तर सबै विद्यार्थी डाक्टर, पाइलट वा इञ्जिनियर बन्न सक्दैनन् । विद्यार्थीको क्षमता र भावनालाई बुझेर अध्ययनको बिषय छनौट गर्नु पर्छ । सामान्यतया विद्यार्थीहरु भावनामा बग्छन् । लहैलहैमा हिड्छन् । साथी कहाँ गयो र के पढ्दैछ भनेर आफु पनि त्यहि पढ्ने भन्छन् । अविभावकहरुले राम्रो वातावरण भएको शैक्षिक संस्था खोज्नु पर्छ । संस्था सञ्चालक, पुर्वाधार, परिक्षाको नतिजा, शैक्षिक वातावरण र आफ्ना सन्तानको अध्ययनको बिषयका बारेमा गहन विचार गर्नु पर्छ । कलेजहरु खुल्ला ठाउँमा हुनु पर्छ भन्ने कुरा अघिल्लो बर्षको भूकम्पले पनि पाठ सिकाएको छ । ठुला र गगनचुम्बी भवनले मात्रै हुँदैन भन्ने कुरा पनि महत्वपुर्ण सवाल भएको छ । सन्तानहरुको इच्छालाई मध्यनजगर गर्दै अध्ययनका बिषय र शैक्षिक संस्था छनौट गरिदिनु पर्छ । कुनै पनि बिषयमा आफैंमा राम्रो र नराम्रो भन्ने हुँदैन । सबै बिषय आ आफ्ना ठाउँमा राम्रा हुन्छन । बिषयलाई राम्रो वा नराम्रो बनाउने भन्ने विद्यार्थीमा भर पर्छ । एउटा अविभावकले आफ्नो सन्तानका लागि जया मल्टिपल क्याम्पस किन रोज्ने ? जया मल्टिपल क्याम्पस शैक्षिक क्षेत्रको एउटा सफल धरोहरका रुपमा स्थापित भैसकेको छ । ३८ वर्षदेखि शैक्षिक जगतमै समर्पित जनशक्तिले सञ्चालन गरेको क्याम्पस हो यो । यहाँ अध्ययनका लागि उपयुक्त वातावरण छ । एकातिर गोकर्ण वन छ भने अर्काे तर्फ बागमति बगिरहेको छ । शान्त वातावरणसहित कम्प्युटर ल्याब, पुस्तकालय, होटल म्यानेजमेन्टको किचेन, ठुलो खेल मैदानसहितको शैक्षिक संस्था सञ्चालनकै लागि निर्माण गरिएको पुर्वाधार छ । हाम्रो क्याम्पसको परिक्षाको नतिजा पनि राम्रो छ । अनुसाशित वातावरणमा शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्छाै । अतिरिक्त क्रियाकलापका लागि पनि हामी कटिवद्ध छौं । एउटा विद्यार्थीको सर्वागिण विकासका लागि समर्पित छौं । त्यसकारण जया मल्टिपल क्याम्पस प्लस टु वा सो भन्दा उच्च शिक्षा अध्ययनका लागि एउटा उपयुक्त शैक्षिक गन्तव्य बन्न सक्छ भन्ने हाम्रो मान्यता हो । नेपालको शैक्षिक प्रणाली माटो सुहाउने भएन र अन्तराष्ट्रिय स्तरको भएन भन्ने दुई खाले विचार छन, शैक्षिक प्रणाली कस्तो छ ? मेरो व्यक्तिगत विचार भन्ने हो भने अहिलेको परिवेशमा कम्तिमा पनि एउटा शिक्षित व्यक्तिले स्वतन्त्र रुपमा जिवन यापन गर्न सक्ने शिप वा दक्षता प्राप्त गर्नु पर्छ । शिक्षाको नीति निर्माताहरुले पनि यो कुरालाई बिशेष ध्यान दिनु पर्छ । छिमेकी मुलुकका शिक्षा नीतिहरुको पनि अध्ययन गर्नु पर्छ । मलाई पनि अहिले हामीले लिईरहेको र दिईरहेको शिक्षा अपेक्षाकृत रुपमा व्यवाहारिक छैन् भन्ने लाग्छ । यसलाई समय सापेक्ष परिमार्जन गरिनु पर्छ । आफुले पाएको शिक्षाले आफ्नो जीवनलाई स्वतन्त्र ढंगले अघि बढाउन सक्ने शिप र दक्षता हासिल हुनुपछए तर अहिले त्यस्तो भैरहेको छैन् । अन्त्यमा, उच्च शिक्षाको अध्ययनको तयारीमा रहेका सबै विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको यो प्रहरमा स्वागत छ । करिअरको सुरुवात भएको छ, अब कलेज छान्दा वा बिषयको छनौट गर्दा धेरै सोच विचार पुर्याउनुस् । शिक्षक, अविभावक, शुभचिन्तक र सुभेच्छुकसँग आवश्यक सल्लाह गर्नुस् । जया मल्टिपल क्याम्पस पनि तपाईहरुका लागि एउटा उपयुक्त शैक्षिक गन्तव्य बन्न सक्छ ।
डडेल्धुरामा २६ वटा सडक निर्माण हुँदै
डडेल्धुरा, १६ असार । डडेल्धुरा जिल्लामा यो आर्थिक वर्षमा २६ वटा ग्रामीण र आर्थिक केन्द्र जोड्ने सडक निर्माण भइरहेका छन् । जिल्लामा निर्माण भइरहेका सडकमध्ये स्थानीय यातायात क्रमागत योजनाअन्तर्गतका १२ सडक र आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने १४ वटा सडक केन्द्रीय बजेट वा सडक विभागको योजनाअन्तर्गतका सडक यो आर्थिक वर्षमा निर्माण भइरहेका जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ । करोडौँको लगानीमा निर्माणाधीन अवस्थामा रहेका सडकले जिल्लाको सम्पूर्ण गाविस सदरमुकामसम्म सुविधा पुग्ने जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ । केही गाउँबाहेक अधिकांश गाविसका र नगरपालिकाका गाउँमा समेत सडकले छुने कार्यालयका प्राविधिक दीपक ओझाले बताए । स्थानीय स्तरमानै सडक पुगेपछि ग्रामीण क्षेत्रका सर्वसाधारण जिल्ला सदरमुकामसँग जोडिएको र विभिन्न कुरामा पहुँच बढेको भन्दै हर्षित बनेका छन् । ग्रामीण भेगको उत्पादन दाल, तरकारी, साग र अन्य दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न पनि सहज हुने जिल्ला सदरमुकामभन्दा टाढा रहेको रुपाल गाविसका स्थानीयवासी करन ठकुराठीले बताए । आफूहरु पनि सजिलैसँग गाडीको यात्रा गरेर सहज तरिकाले जिल्ला पुग्ने बेलापुर वान्नीका समाजसेवी धनबहादुर साउदले बताए। जिल्लामा निर्माण गरिएका कतिपय सडक वातावरण प्रभाव मूल्याङ्कननै नगरी निर्माण भइरहेको समेत स्थानीय बताउँछन् । राजनीतिक दलको दबाबका कारण डडेल्धुरा जिल्लाका अधिकांश ग्रामीण सडक वातावरण प्रभाव मूल्याङ्कन नगरिकनै निर्माण भइरहेका छन् भने केही सडक वनजङ्गल भएर नै निर्माण गरिँदा वनविनास समेत भइरहेका छन् । यति मात्रै नभई जिल्लाका ग्रामीण क्षेत्रमा योजनाबिना ग्रामीण सडक निर्माण हुने गरेका छन् । योजनाबिना सडक निर्माण गर्दा सडक दिगो नहुने र दुर्घटना बढ्ने खतरा हुने प्राविधिकको भनाइ रहेको छ भने बिना योजनाका सडकले वन जङ्गल पनि सखाप पारिरहेको स्थानीयले बताएका छन् । एउटै सडकलाई पूर्णरुपमा निर्माण नगरिकनै अरु सडक निर्माण गरेका कारण पनि ग्रामीण क्षेत्रका अधिकांश सडक प्रयोगविहीन अवस्थामा रहेका छन् । डडेल्धुराको समैजी गाविसको सबैभन्दा पुरानो बैडा, मुद्राड, कोलासमैजी हरियाली सडक अन्य नयाँ सडकका कारण बजेट नै आउन छोडेको स्थानीय गजबहादुर भण्डारीको भनाइ रहेको छ । रासस
नेपाल लाइफको एफपिओको तत्काल नआउने संकेत, एफपिओ मूल्य फरक हुन सक्ने, सेयर कारोवार भने खुल्ला
काठमाडौं, १६ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोवार विहिवारदेखि खुल्ने भएको छ । सर्वसाधारणलाई निष्काशन गर्न लागेको फर्दर पव्लिक इस्यु (एफपिओ) को मूल्य निर्धारण सम्बन्धमा बजारमा सार्वजनिक रुपमा प्रवाहित भएको सूचनाले सर्वसाधारण लगानीकर्ताहरुमा अन्यौल रहेको र यसबाट नेपाल लाइफको सेयरको दोस्रो बजारमा हुने कारोबारमा नकारात्मक असर पर्न सक्ने भन्दै धितोपत्र वोर्डले सेयर कारोवार रोक्का गरेको थियो । बोर्डले सो कम्पनीको शेयर कारोबार रोक्का गरी एफपिओ सम्बन्धमा जानकारी एवं विवरण माग गरेको थियो । कम्पनीको माग अनुसार एफपिओको मूल्य निर्धारण गर्न समय लाग्ने भन्दै बोर्डले विहिवारदेखि सेयर कारोवार फुकुवा गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । ‘धितोपत्र सम्बन्धी कानुनी व्यवस्था अनुसार फर्दर पव्लिक इस्यु प्रिमियममा जारी गर्दा सो प्रयोजनका लागि विवरणपत्र तयार गरी बोर्डबाट स्वीकृत गराई सार्वजनिक निष्काशन कार्य अगाडि बढाउनुपर्नेमा उक्त निष्काशनका सम्बन्धमा बोर्डमा स्वीकृतिका लागि विवरणपत्र पेश नगर्दै बजारको संवेदनशीलतालाई ध्यान नदिई मूल्य सम्बन्धी सूचना सार्वजनिक गराएकोले धितोपत्र बजारको स्वच्छता तथा लगानीकर्ताको हितलाई दृष्टिगत गरी अब आइन्दा त्यस किसिमको कार्य नगर्नका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई बोर्डबाट सचेत गराईएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीले एफपिओ जारी गर्नको लागि तयार गरेको विवरणपत्र स्वीकृतिका लागि बोर्डमा पेश गरिसकेको छ । एफपिओको मूल्य निर्धारणको लागि एकरुपता ल्याउन स्पष्ट नीगितगत आधार तयार पार्न लागेको बताइएको छ । यस्तो आधार तयार पार्न समय लाग्ने भएकोले अहिलेलाई कारोवार गर्न दिइएको बोर्डको भनाइ छ । ‘बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धी कार्यछिटैसम्पन्न गर्ने गरी अगाडि बढाईएको भए तापनि सोका लागि केही समय लाग्न सक्ने हुँदा लगानीकर्ताहरुको हितलाई दृष्टिगत गरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को शेयर कारोबार १६ असारदेखि फुकुवा गरिएको छ,’ बोर्डले भनेको छ । बोर्डको यस्तो विज्ञप्तिले नेपाल लाइफले तत्काल एफपिओ जारी गर्न नपाउने अवस्था सिर्जना भएको छ । यस्तै बोर्डले विहिवार विहान अर्काे विज्ञप्ति जारी गर्दै कम्पनीले तोकेको प्रिमियम मूल्य फरक पर्न सक्ने बताएको छ । ‘बोर्डवाट प्रिमियम मूल्य निर्धाण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धि कार्य छिट्टै सम्पन्न गर्ने गरी अगाडि बढाइएकोले संगठित संस्थाहरुले बोर्डवाट निर्धाण भए अनुरुपको नीतिगत आधारमा रही प्रिमियम मूल्य निर्धारण गर्नुपर्ने हुनाले नेपाल लाइफे हाल बोर्डमा पेश गरेको प्रिमियम मूल्यमा हेरफेर हुन सक्ने तथ्यप्रति सजग हुनका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई जानकारी गराइन्छ,’ विहिवार विहान बोर्डले जारी गरेको अर्काे विज्ञप्तिमा भनिएको छ ।
बीमा कम्पनीका एजेन्टको कमिसनमा भारी कटौति
काठमाडौं, १६ असार । बीमा समितिले एजेन्ट कमिसनमा कडाइ गरेको छ । केही अगाडि मात्रै तेस्रो पक्ष बीमामा एजेन्ट कमिसन हटाएको समितिले यही साता मात्रै बैदेशिक रोजगार बीमामा एजेन्ट कमिसन हटाएको थियो । अब भने जीबन बीमा ब्यवसायमा एजेन्टले पाउँदै आएको कमिसन पनि उल्लेख मात्रामा घटाइएको छ । बीमा समितिले जीबन बीमा कम्पनीको एजेन्ट कमिसन तोकेको छ । नयाँ सीमा अनुसार बीमा कम्पनीहरुले बीमा शुल्कको ६ प्रतिशत रकम मात्रै ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनको लागि खर्च गर्न पाउने भएका छन् । बीमा एजेन्टको कमिसन यिनै दुई शिर्षकबाट दिइँदै आइएको थियो । यसअघि यस्तो खर्चको सीमा तोक्ने गरिएको थिएन । बीमा समितिले बुधवार सवै जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिदै ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धन खर्च ६ प्रतिशतमा सिमित गर्न भनेको छ । ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनका नाममा अत्याधिक रकम खर्च हुन थालेपछि यसरी सीमा तोक्नु परेको समितिका एक अधिकारीले जानकारी दिए । ‘बीमा शुल्कको ३० प्रतिशतसम्म रकम एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धनका नाममा खर्च हुने गरेको पाइयो, यो निकै धेरै हो, यसमा नियन्त्रण गर्नैपर्ने देखिएकोले सीमा तोकिएको हो,’ समितिका एक अधिकारीले भने । समितिका अनुसार ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनका नाममा अहिले जीबन बीमा कम्पनीहरुले कुल बीमा शुल्कको २० प्रतिशत जति रकम औसतमा खर्च गर्ने गरेको पाइएको छ । खर्च बढी भएको भन्दै समितिले औसत खर्चलाई एक तिहाइमा सिमित गर्ने प्रयास गरेको हो । एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धन खर्चमा कडाइ भएपछि आफूहरुको ब्यापार नै खुम्चने चिन्ता बीमा कम्पनीका अधिकारीहरुले गरेका छन् । जीबन बीमा कम्पनीहरुको ब्यवसायको ९९ प्रतिशत नै स्रोत एजेन्टबाट आउने ब्यापार भएकोले यस्तो खर्च कटौतिले आफ्नो ब्यवसाय नै धरापमा पर्ने चिन्ता कम्पनीहरुको छ । ‘हाम्रो ब्यवसाय ९९ प्रतिशत नै एजेन्सी (एजेन्ट मार्फत आउने) मा आधारित छ, यस्तो खर्च यति धेरै कटौति गरेपछि ब्यवसाय नै संकटमा पर्ने अवस्था आउछ,’ एक जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । समितिले एजेन्ट कमिसन भारी मात्रामा कटौति गरेपछि अब कसरी अगाडि बढ्ने भनेर एजेन्ट एसोसिएसन र जीबन बीमा कम्पनीका पदाधिकारीले बुधबार नै आकस्मिक छलफल गरेका छन् । कम्पनीहरुले एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धनका नाममा सर्वसाधारणले तिरेको बीमा शुल्क रकममा मनपरी खर्च गर्ने गरेको आरोप समितिको छ । कम्पनीका संचालक र ब्यवस्थापन तहका उच्च अधिकारीले एजेन्टका नाममा आफू नजिकका ब्यक्तिको नाममा रकम खर्च देखाएर लिने गरेको पाइएको समितिको आरोप छ । यस्तै केही कम्पनीका अधिकारीले नक्कली एजेन्ट देखाएर आफूहरुले नै यस्तो रकम लिने गरेको पनि समितिको आरोप छ । ‘नक्कली एजेन्ट देखाउने र आफ्ना मान्छेलाई एजेन्ट बनाएर मोटो रकम आफैले खाने गरेको पनि पाइयो, यस्तो प्रबृत्ति निरुत्साहित गर्न पनि सीमा तोक्नुको विकल्प रहेन,’ समितिका एक अधिकारीले भने । बीमा एजेन्ट बिना ब्यवसाय नै आउदैन भन्नु र बीमा शुल्कको ३० प्रतिशतसम्म रकम एजेन्ट कमिसन र ब्यापार प्रबद्र्धनका नाममा खर्च गर्नुले आर्थिक अनुसारहिनता बढाएको आरोप समितिको छ । कम्पनीले भने इन्सेन्टिभ र ब्यापार प्रवर्दनका नाममा रकम खर्च गर्नु आफूहरुको बाध्यता भएको उल्लेख गरेका छन् । ‘बैंकमा पैसा राख्ने भन्दै सर्वसाधारण बैंकसम्म आफै जान्छन्, तर बीमा गराउनको लागि स्वतस्फूर्त रुपमा कोही पनि आउदैन, कर गर्नै पर्छ, यस्तो अवस्थामा एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धन खर्च कटौतिले समस्या पार्ने प्रष्ट देखिन्छ,’ बीमा कम्पनीका अधिकारीहरुको भनाइ छ ।
माइक्रोम्याक्सको २३६५० रुपैंयाँ पर्ने क्यानभास मोबाइल ६ बजारमा
काठमाडौं, १५ असार । प्रसिद्ध भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले इ४८५ क्यानभास ६ मोबाइल नेपाली बजारमा भित्र्याएको छ । बजार मुल्य २३ हजार ६ सय ५० रुपैंयाँ पर्ने ई४८५ क्यानभास ६ मा १ दशमलब ३ गिगाहर्जको अेक्टाकोर प्रोसेसर, ३२ जिबीको रोम, ५ दशमलब ५ इञ्चको एचडी डिस्प्ले र ३००० एमएएचको ब्याट्री रहेको छ । यसमा १३ एमपीको हाईरिजोलुसन क्यामेरा, वाइड एंगल लेन्स भएको ८ मेगापिक्सेलको अघिल्लो भागको क्यामेरा रहेको छ । यो स्मार्टफोन एन्ड्रोइडको ललीपप ५ दशमलब १ अपरेटिंग सिस्टममा आधारित रहेको छ । यसमा हाइब्रिड भएको डबल सिमको सुबिधा साथमा थ्रीजी र फोर नेटवर्कको सुबिधा पनि थपिएको छ ।
डिसहोमको १४ औं सेवा केन्द्र बागलुङ्गमा
काठमाडौं, १५ असार । डिसहोमले बागलुङमा १४ औं सेवा केन्द्र थप गरेको छ । डिसहोमका नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले सेवा केन्द्रद्धारा सो सेवाको उद्धघाटन गरेका हुन् । हाल सम्म डिसहोमले काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ्ग, लाहान, जनकपुर, चरिकोट, महेन्द्रनगर र बागलुङ्गमा सेवा केन्द्र स्थापना गरिसकेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार सेवा केन्द्रमा हार्डवयर तथा सेवा सम्बन्धी समस्याको समाधान दिने गर्छ । त्यसैगरी सेवा केन्द्रबाट घरमै पुगेर दिने प्राविधिक सहायोग तथा रिचार्ज र सिग्नल सम्वन्धी समस्या पनि समाधान गरिने कम्पनीले जानकारी दिएको छ । डिस होमले ५ बर्षदेखि नेपाल भर सेवा दिंदै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने र सिधै स्याटेलाइटमा आवद्ध हुने हुँदा ध्वनी र दृश्य दुबै गुणस्तरीय हुने कम्पनीद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।
नेपाल छाला जुत्ता उत्पादक संघमा नेपाली
काठमाडौं, १५ असार । नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघको अध्यक्षमा जीवन नेपाली निर्वाचित भएका छन् । संघको ७ औं वार्षिक साधारण सभाले नेपालीको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । उनी एसके सुजका सञ्चालक समेत हुन् । बासु नेपाली बरिष्ठ उपाध्यक्ष बनेका छन भने प्रकास रोक्कालाई उपाध्यक्षको जिम्मेवारी दिईएको छ । हरेराम बोगटीले महासचिवको जिम्मेवारी प्राप्त गर्दा राजेश बिसंखे कोषाध्यक्ष बनेका छन । सचिवको जिम्मेवारी भने दिलकुमार बिसंखेले हात पारेका छन् । त्यसै गरि कार्य समिति सदस्यहरुमा सान्नबाबु बोगटी, कुमार मग्राती, रमेश रोक्का, प्रलाद बोगटी र विकास पुर्कुटी चयन भएका छन् । अन्य दुई जना संघले पछि मनोनित गरिने जनाएको छ । सम्पन्न गरेको छ । संघको सातौँ औं वार्षिक साधारण सभामा व्यापार तथा निकासि प्रवर्दन केन्द्रका कार्यकारि निर्देशक ईश्वरी प्रसाद घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महा संघका अध्यक्ष श्याम गिरि, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।