विकासन्युज

सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  उनले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख गर्दै आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने स्पष्ट पारे । उनले केही मान्छेले प्रधानमन्त्रीको आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा छानविन नहुने पनि टिप्पणी गरे । उनले भने, ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी हामी सबै दृढ र प्रतिबद्ध छौं । यद्यपि केही मान्छेहरुको फेसन हुने गर्छ  प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाइ नहुने । तिनीहरु कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन् । अहिले पनि छानविन होस् भनेर कराउँछन् । तीनै तहको सरकारमा रहेका कुनैपनि व्यक्तिहरु कानूनको दायराभन्दा बाहिर छैनन् । कँही कतै आर्थिक बिचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ ।’ उनले भ्रष्टाचारमा संलग्नहरुमाथि सरकार असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विसं २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि स्पष्ट गरे । नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको जवाफ थियो । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रुपमा पुनःसंरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए । 'वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेस प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन भईरहेका छन्', उनले भने । प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने आफ्नो अठोटमा आफूू स्पष्ट रहेको बताउँदै उनले तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए ।  

सेयर बजारमा साढे १९ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । पछिल्लो समय सकारात्मक माहोल बनेपछि सेयर बजार निरन्तर उकालो लागिरहेको छ । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २९ सय ७८ बिन्दुमा पुगेको छ ।  आज ९८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३१९ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, शिवम् सिमेन्टको ७५ करोड, निफ्राको ६२ करोड, बुटवल पावर कम्पनीको ६२ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड रुपैयाँको कारोबार भएको छ ।  आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, ग्रीन भेन्चर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

नाइमा मोबिलिटी शोमा लक्जरियस म्याक्सस मिफा सेभेन लञ्च हुने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शो २०२५ मा चीनको प्रतिष्ठित एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको अत्याधुनिक विद्युतीय एमपीभी म्याक्सस मिफा सेभेन सार्वजनिक भएको छ । सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई हिमालयन मोट्रक्सले सार्वजनिक गर्न लागेको हो । हिमालयन मोट्रक्स, हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो, जसले विगत ३० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय सवारी साधनहरू नेपालमा आयात गर्दै आएको छ । ‘नेपालमा प्रिमियम कारको माग तीव्र छ,’ हिमालयन मोट्रक्सका प्रबन्ध निर्देशक सौरभ थापा भन्छन्, ‘मिफा सेभेनले प्रिमियम सवारी साधन खोज्ने ग्राहकका लागि लक्जरी र प्रविधिको अद्वितीय संयोजन प्रदान गर्नेछ ।’ यो गाडीमा ९० किलोवाट क्षमताको उच्च प्रदर्शन ब्याट्री जडान गरिएको छ, जसले ६३५ किमी दूरी पार गर्नसक्ने दाबी गरिएको छ । साथै यो कारले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ, जसबाट ३० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। गाडीमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी (स्वचालित आपतकालीन ब्रेक), ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचरहरू उपलब्ध छन् । यसले यूरो एनक्याप, सी–एनक्याप र ए–एनक्यापमा पाँचतारे सुरक्षा मान्यता पाएको छ । गाडीमा १८० किलोवाटको हाई–परफर्मेन्स इलेक्ट्रिक मोटर (३५० एनएम टर्क) जडान गरिएको छ । डुअल १२.३ इन्चको डिजिटल डिस्प्ले, एड्भान्स्ड मल्टिमिडिया सिस्टम, विशाल प्यानोरामिक सनरूफ र मसाज फिचर सहितका सिटहरू रहेका छन् । ८ वर्ष वा २ लाख किमीमा ब्याट्री वारेन्टी र ५ वर्ष वा १ लाख किमीमा मोटर वारेन्टी दिइने हिमालयन मोट्रक्सले जनाएको छ । 

गाजामा ’ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी

काठमाडौं । सम्भावित युद्धविराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष दूतको युरोप भ्रमणअघि गाजामा ‘ठूलो सङ्ख्यामा भोकमरी’ फैलिएको एकसय भन्दा बढी सहायता संस्थाहरूले बुधबार चेतावनी दिएका छन् । इजरायलले प्यालेस्टिनी क्षेत्रको मानवीय अवस्थालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । इजरायलमा हमासको आक्रमणबाट सुरु भएको लामो द्वन्द्वमा २० लाख भन्दा बढी मानिसहरूले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् ।  संयुक्त राष्ट्रसङ्घले मे महिनाको अन्त्यमा अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनले काम सुरु गरेदेखि खाद्यान्न सहायता खोज्ने एक हजारभन्दा बढी प्यालेस्टिनीहरूको इजरायली सेनाले हत्या गरेको छ । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) सेभ द चिल्ड्रेन र अक्सफाम लगायत १११ हस्ताक्षरकर्ताहरूले जारी गरेकोे सयुक्त विज्ञप्तिमा सहकर्मीहरू र सेवामा चुनौती खेपिरहेको जनाएका छन् । विज्ञप्तिमा तत्काल वार्ता युद्धविराम, सबै सिमा नाकाहरु खोल्न र राष्ट्रसङ्घको नेतृत्वको संयन्त्रमार्फत सहायताको स्वतन्त्र प्रवाहको लागि आह्वान गरेका छन् ।  संयुक्त राज्य अमेरिकाले आफ्ना दूत स्टिभ विटकोफ यस हप्ता गाजासम्बन्धमा वार्ताका लागि युरोप जाने र त्यसपछि मध्य पूर्वको भ्रमण गर्नसक्ने बताएको एक दिन पछि यस्तो चेतावनी आएको हो । विदेश विभागका प्रवक्ता टेमी ब्रुसले अर्को युद्धविरामका साथै सहायताको प्रवाहका लागि मानवीय कोरिडोरका साथ अगाडि आउने बलियो आशा लिएर आएको बताएका छन् ।   मे महिनाको अन्त्यमा इजरायलले दुई महिनाभन्दा बढीको नाकाबन्दी खोली सिमित सहायता  प्रवाह गर्न थालेपछि पनि गाजावासीहरू अझै पनि चरम अभावको सामना गरिरहेका छन् ।  इजरायलले गाजामा मानवीय सहायताको अनुमति दिइरहेको बताएको छ भने हमासले बढ्दो मूल्यमा बेच्नका लागि खाद्यान्न चोरी गरेर वा सहायताको प्रतीक्षामा रहेकाहरूलाई गोली हानेर नागरिकको शोषण गरेको आरोप लगाएको छ । रासस

प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटललाई लाग्ने शुल्क ५० प्रतिशत घटाइँदै, लकइन समय दुई वर्ष कायम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलहरूको स्वामित्वमा रहेको धितोपत्रको लकइन अवधि सार्वजनिक निष्काशन गरी बाँडफाँट भएको मितिले हालको एक वर्षबाट दुई वर्ष बनाउने व्यवस्था गर्न लागेको छ । बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो व्यवस्था गर्न लागेको हो ।  बोर्डले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलको विद्यमान कोष व्यवस्थापन शुल्क, दर्ता तथा निष्काशन शुल्क ५० प्रतिशतले घटाउने व्यवस्था पनि अगाडि सारेको छ । प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरुलाई लगानीको समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजान सक्ने व्यवस्था गर्ने कार्यक्रम पनि बोर्डले अगाडि सारेको छ ।  बोर्डले नियमन व्यवस्था तथा सुधार, कानुन तर्जुमा, कानुन प्रबलीकरण तथा कारवाी बजार निरीक्षण तथा सुपरीवेक्षण, लगानीकर्ता शिक्षा र अध्ययन तथा अनुसन्धानमा उल्लेख्य काम गरेको दाबी गरेको छ ।  यस्तै, बोर्डले आगामी आर्थिक वर्षका लागि पनि विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले पुँजी बजारसम्बन्धी जनचेतना जगाई पुँजी बजारबाट वित्तीय साधन परिचालन गरी देशमा लगानी प्रर्वद्धन गर्ने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने, धितोपत्र बोर्डको पुन:संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय निकायको प्रतिनिधित्व हटाउने योजना अघि सारेको छ ।  यस्तै, धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, जलविद्युत क्षेत्रका कम्पनीहरुलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्काशन गर्न सक्ने व्यवस्था गर्ने, सरकारी संस्थानहरुमा सरकाले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने र निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनः संरचना गर्ने नीति अघि सारेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अतिरिक्त अन्य संस्थाको पनि सेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सिडिएस एण्ड क्लियरिंग लिमिटेडको पुनः संरचना गर्ने, निजी क्षेत्रका उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहजता पुर्याउने गरी सेयर तथा बण्ड जारी गर्ने लागत घटाउने र प्रकृया सरलीकरण गर्ने, प्रिमियम र बुक बिल्डिङ प्रकृयाबाट सेयर निष्काशनको लागि पारदर्शी विधि अवलम्बन गर्ने र प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरूमा विदेशी लगानी थप आउने गरी विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावली संशोधन गर्ने कार्यक्रमहरू पनि बोर्डले अगाडि सारेको छ ।  यस्तै, धितोपत्र ऐनमा इक्विटी क्राउड फण्डिङको अनुमति दिन सक्ने गरी कानुनी व्यवस्था गर्ने, डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउने, रपब्लिक कम्पनीको रुपमा स्थापना भई नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रियपुँजी बजारमा पहुँच विस्तार गर्न नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने कार्यविधि तर्जुमा गरी लागू गर्ने योजना पनि अगाडि सारेको छ ।  बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गत आर्थिक वर्षमा उल्लेख्य काम गरेको ठर गरेको हो । धितोपत्र बजारको दीगो विकास तथा सुधारका लागि र वस्तु विनिमय बजार नियमन व्यवस्थाका लागि बोर्डबाट विकासात्मक कार्य गर्नुका साथै बजारसँग सम्बन्धित नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यसम्पादन गरिएको बताएको छ । 

सांसद साहको टिप्पणी: देवता भेट्न बरु सहज होला तर परराष्ट्रमन्त्री भेटिनु भएन

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देवता भेट्न बरु सहज रहेको तर परराष्ट्रमन्त्री भेट्न गाह्रो भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  उनले रौतहटका जयप्रकाश साह करिव एक वर्षदेखि युक्रेनमा फसेको तर उद्धारमा कसैले चासो नदेखाएको बताए । पीडित परिवार उद्धारका लागि भन्दै सरकारी कार्यालयहरु धाइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको बताए ।  सांसद साहले भने, ‘रौतहटको जयप्रकाश साह झन्डै एक वर्षदेखि युक्रेनमा फसेको छ । जयप्रकाश जस्तै सयौँ मानिसहरु युक्रेनमा फसेका छन् । त्यसलाई उद्धार गर्न कसैको वास्ता छैन । पीडितहरु सरकारी निकाय घुमिरहेका छन् । म्यानेजमेण्टकै भुमिका हो भने किन बत्ति गइरहेको छ । बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्नुस् ।’ सांसद साहले बत्ती झ्याप झ्याप गइरहेको भन्दै बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्न आग्रह गरे ।   

सेयर किन्न बैंक खातामा पैसा अनिवार्य हुनुपर्ने

काठमाडौं । सेयर खरिद गर्न चाहने व्यक्तिको बैंक खातामा रकम अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ‘नीति तथा कार्यक्रम’ मा यस्तो व्यवस्था अघि बढाउने घोषणा गरेको हो । बोर्डको नीतिमा उल्लेख गरिएको छ, ‘’ दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ ।’  त्यस्तै, आईपीओ (प्राथमिक निष्काशन) मा आवेदन दिने क्रममा बैंक खाताको रकम रोक्का हुने व्यवस्था पनि अघि सारिएको छ । यसका लागि आस्वा सदस्य बैंकरवित्तीय संस्थाले सिडिएस मार्फत ‘एपीआई’ प्रणाली प्रयोग गरी आवेदन भेरिफिकेसनको साथै रकम रोक्का गर्ने प्रणाली लागू गरिनेछ । बोर्डका अनुसार, धितोपत्र बजारको प्रणालीगत जोखिम कम गर्न, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न र बजारमा जनविश्वास बढाउन यी सुधारहरू आवश्यक छन् । साथै, बोर्डले इक्विटी डेरिभेटिभ बजारको पूर्वाधार निर्माण, मर्चेण्ट बैंकर, दलाल व्यवसायी, सामूहिक लगानी कोष लगायतका संस्थाहरूले पेश गर्नुपर्ने विवरणहरूको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरीवेक्षण प्रणाली ल्याउने, र सूचीकृत कम्पनी वर्गीकरणलाई सुधार गर्ने नीति पनि सार्वजनिक गरेको छ । त्यस्तै, आईपीओबाट उठाइएका रकम वास्तवमै तोकिएको उद्देश्यअनुसार प्रयोग भएको छ कि छैन भन्ने अनुगमन सुरु गर्ने निर्णय पनि बोर्डले गरेको छ । दलाल व्यवसायीले लगानीकर्ताको आदेश अनुसार सेवा दिन आवश्यक प्राविधिक पूर्वाधारहरू प्रभावकारी छन् वा छैनन् भन्ने मूल्यांकनको अनुगमन व्यवस्था पनि गरिनेछ ।