कालीमाटीमा भेटियो अत्यधिक विषादीयुक्त रायो साग, उपभोग अयोग्य घोषित
काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। दोलखाबाट बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत 'अर्गानोफस्फेट' विषादीको मात्रा पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बुधबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १७ वटा पसलबाट संकलित तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा अत्यधिक विषादी भेटिएको हो । सरकारी मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी उपभोग गर्न अयोग्य मानिन्छ, जसअनुसार उक्त रायो साग स्वास्थ्यका दृष्टिकोणले खतरनाक र प्रतिबन्धित मानिएको छ । यसअघि पनि, २४ असारमा भक्तपुर र २६ असारमा काभ्रेबाट ल्याइएको तरकारीमा विषादीको अत्यधिक मात्रा भेटिएको थियो । विशेषज्ञहरूले पटक–पटक यस्तो विषादी प्रयोगको कारण स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चेतावनी दिँदै आएका छन् । उपभोक्ताहरूले सतर्कता अपनाउनुपर्ने आवश्यकता झनै बढेको छ ।
अमेरिका-जापानबीच ‘सबैभन्दा ठूलो व्यापार सम्झौता’, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरेका छन् । जसअनुसार जापानी निर्यातमा अमेरिका प्रवेश गर्दा १५ प्रतिशत ‘पारस्परिक’ भन्सार दर लाग्नेछ । रिपोर्टअनुसार जापानी सवारीसाधनमा लाग्ने भन्सार पनि १५ प्रतिशतमा झारिनेछ । ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले यस सम्झौतालाई ‘सायद अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता’ भनी व्याख्या गरे । उनले भने, ‘जापानले अमेरिकाभित्र ५५० अर्ब डलर लगानी गर्नेछ र अमेरिका त्यसबाट ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।’ ट्रम्पका अनुसार जापानले ‘आफ्नो बजार सवारीसाधन, ट्रक, चामल, कृषि वस्तुहरू र अन्य सामग्रीका लागि खुला गर्नेछ ।’ उनले थपे, ‘यस सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ ।’ जापानले भन्सार दर घटायो रोयटर्सका अनुसार जापानी प्रधानमन्त्री शिगेरु इसिबाले टोकियोबाट अमेरिका निर्यात हुने सवारीसाधनमा लाग्ने भन्सार दर हालको २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने बताएका छन् । सन् २०२४ मा जापानको कुल निर्यातमध्ये २८।३ प्रतिशत सवारीसाधन अमेरिका पठाइएको थियो । एननेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री ब्रायन ज्याकबसेनले सीएनबीसीसँग भने, ‘एक वर्षअघि १५ प्रतिशत भन्सार दर अचम्मको कुरा हुन्थ्यो। तर आज राहतको सास फेर्न सकिन्छ ।’ जापानको अमेरिका निर्यातमा आधारित अटोमोबाइल कारोबार २०२४ को जुन महिनामा २६.७ प्रतिशतले घटेको थियो, जबकि मे महिनामा यो गिरावट २४.७ प्रतिशत थियो । जनवरीदेखि जुनसम्म अमेरिका पठाइएको कुल जापानी सामानको मूल्य १०.३ ट्रिलियन येन (७०.३४ अर्ब डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशत कम हो । घोषणापछि जापानका मुख्य व्यापार वार्ताकार रियोसेई अकाजावाले एक्स (पुरानो ट्वीटर) मा ‘मिसन अकम्प्लिश्ड’ लेख्दै सम्झौतामा संलग्न सबैलाई धन्यवाद दिए । ट्रम्पले ट्रुथ सोशलमा पोस्टपछि दिएको सम्बोधनमा भनेका छन्, ‘हामी जापानसँग तरल प्राकृतिक ग्याससम्बन्धी छुट्टै सम्झौता पनि टुंग्याउँदैछौं ।’ ‘हामीसँग युरोप सम्झौता पनि भोलि आउँदैछ, उनले थपे । तर उनले थप विवरण भने खुलाएनन् । राजनीतिक संकटको बीचमा सम्झौता यो सम्झौता जापानको सत्तारूढ गठबन्धनले माथिल्लो सदनको बहुमत गुमाएपछि आएको हो, जसले प्रधानमन्त्री इसिबाको नेतृत्वलाई सुदृढ पार्न सक्ने विश्लेषण गरिएको छ । हालै इसिबाले भनेका थिए कि उनी प्रधानमन्त्रीको रूपमा रहने छन्, तर जापानको माइनिची समाचारपत्रका अनुसार उनले अगस्टभित्र राजीनामा दिने तयारी गरिरहेका छन् । यामियोरी पत्रिकाका अनुसार इसिबा भन्सार वार्ताको प्रगति मूल्यांकन गरेपछि मात्र आफू बस्ने वा नबस्ने निर्णय गर्नेछन् । एचएसबीसी बैंकले दिएको टिप्पणीमा भनिएको छ, ‘प्रधानमन्त्री इसिबाका लागि यो अनुकूल अमेरिकी व्यापार सम्झौताले अविश्वास प्रस्ताव वा पार्टीभित्रको चुनौतिबाट जोगिन मद्दत गर्न सक्छ ।’ सम्झौतापछि जापानी सेयर बजार उकालो लाग्यो । निक्केई २२५ सूचकांक २ प्रतिशतभन्दा बढीले बढ्यो भने प्रमुख अटो कम्पनीहरूको सेयरमा तीव्र वृद्धि आयो । टोयोटामा ११ प्रतिशत, होन्डामा ८ प्रतिशत, निसानमा ८ प्रतिशत, माज्डाका मोटर्स १७ प्रतिशत र मित्सुबिसी मोटर्समा १३ प्रतिशतले वृद्धि भएको छ । ट्रम्पले यसअघि जापानलाई पठाएको पत्रमा अगस्ट १ बाट जापानी निर्यातमा २५ प्रतिशत भन्सार दर लगाउने चेतावनी दिएका थिए । विसडमट्रीका ग्लोबल मुख्य लगानी अधिकृत जर्मी श्वार्ट्जका अनुसार बजारमा देखिएको तीव्र प्रतिक्रिया यसको संकेत हो कि पहिले बजार अत्यधिक निराशावादी थियो ।
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ । मंगलबार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रुपमा रहेको तथा राष्ट्रिय गौरवको व्यक्तित्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा यसले गणतन्त्र, स्थापित प्रणाली र संविधानमा असर पर्ने एमालेको निष्कर्ष रहेको सुनाए । पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतिकका रुपमा सबैले सम्मान गरेको स्पष्ट पार्दै उनले त्यो सम्मान कायम राख्न आग्रह पनि गरे । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा ६१ बारे पनि स्मरण गराएको छ । प्रचार विभाग प्रमुख गौतमले भने, ‘आज बहुचर्चित भएको, तपाईंहरूको पनि जिज्ञासा भएको, पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने उहाँले जो अभिव्यक्ति दिनुभएको छ, त्यसको सन्दर्भमा त्यसका धेरै आयामहरूमा हामीले छलफल गर्यौँ । संविधानको भाग २८ को धारा २६७ को २ मा नेपाली सेनाको परमाधिपति हुने व्यवस्था गरेको छ । यसको आधारमा पार्टी के निष्कर्षमा पुग्यो भने एउटा, देशको सर्वोच्च राष्ट्राध्यक्ष पदमा पुगेको व्यक्ति, एउटा राष्ट्रिय एकताको सिम्बोल भएको व्यक्ति, संविधानको संरक्षण र पालनकर्ता भएको व्यक्तित्व, नेपाली सेनाको परमाधिपति भएको व्यक्तित्व, साझा व्यक्तित्व, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व राजनीतिक दलको नेता या कार्यकर्ता हुने कुरा हाम्रा स्थापित मूल्य, मान्यताले यो राम्रो हुँदैन ।’ प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले मात्रै नभएर सबै दलले एकताको प्रतिकका रुपमा सम्मान गरेको कुरा पनि स्मरण गराए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईले पनि उनलाई सम्मान गरिसकेको स्पष्ट पार्दै राष्ट्रिय एकताको प्रतिक एउटा दलमा आवद्ध हुनेकुरा अमान्य रहेको गौतमको भनाई थियो । उनले भने, ‘त्यसकारण हामीले उहाँलाई दिएको सम्मानमा कुनै पनि कमी गर्न हुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नुपर्छ । उहाँ एउटा राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय गौरवको व्यक्तित्व, हाम्रो पनि गौरवको व्यक्तित्व, हामीले उहाँलाई गौरवको सिम्बोलको रुपमा सम्मान पनि गरिसकेका छौँ । यसले हाम्रो व्यवस्थामा, जनतामा, प्रणालीमा, संविधानको मर्म र भावनामा पनि यसले असर पार्छ । यसले गलत नजिर र अभ्यास हुन्छ । त्यसकारण पार्टीले सम्पूर्ण रुपमा उहाँलाई दिएको सम्मानका रुपमा अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।’ प्रचार विभाग प्रमुख गौतमले यो निष्कर्षमा तीनजना नेताहरू उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति व्यक्त गरेको जानकारी पनि दिए । केन्द्रिय कमिटीले ‘सर्वसम्मत’ निर्णय गरिसकेपछि उहाँहरूले उठेर यसमा ‘नोट अफ डिसेन्ट’ राखेको प्रचार विभाग प्रमुख गौतमले बताए ।
झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ । साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
वातावरणमैत्री बगैँचा रिसोर्ट जसले एकल महिला र राउटे समुदायलाई सक्षम बनाउँदै
काठमाडौं । पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे रहेका छन् । पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ । अझ भनौ पोखरा पुग्ने हरकोही एकपटक लेकसाइड पुग्ने र फेवातालमा डुंगा सयर गर्छन् । अब भने लेकसाइडमै पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले फरक अनुभूती गर्न पाउँने छन् । जोकोहीलाई तालले मात्र आकर्षण गर्दैन । सहर भित्र बनेका भौतिक संरचनालेसमेत लोभ्याउने गर्छ । वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको छ । साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सुचारु हुनेछ । पोखराको प्रकृति, वरिपरि रहेको डाँडाकाँडा तथा हरियालीको आभास रिसोर्टले समेत दिने भएको छ । बगैँचा रिसोर्ट वातावरणमैत्रीको आभास दिलाउने र प्लाष्टिकरहित तथा प्रदुषणमुक्त वातावरण बनाइ जैविकमैत्री अभियानसहित सञ्चालन हुँदैछ । एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुंगा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुन: प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापा बताउँछन् । ‘सहर भित्र पनि मानिसलाई प्रकृतिसँग नजिक राख्न सकिने उद्देश्य र वातावरणलाई जीवित तुल्याउन पनि बगैँचाले ठूलो योगदान पुर्याउने छ,' उनले भने,’ बाहिरको कोलाहलबाट मुक्ति दिलाउन सक्नु र शान्त वातावरण तथा वातावरणको दीर्घकालीन विकासलाई लामो समयसम्म राख्नु बगैँचाको उद्देश्य हो ।' नेपाली माटो सुहाउँदो नाम हुँदा बगैँचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैँचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए । मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले खुलाए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ । कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ । बगैँचाले प्राकृतिक अनुकुलतालाई पहिलो प्राथमिकतामा राखेको छ । प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ । ‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्त्व हो भनेर सन्देश दिएका छौ,’ उनी भन्छन्,’ यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्‍याउँनेछौ ।‘ महिला सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेर लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । लैङ्गिक समानता तथा आर्थिक सबलीकरणलाई बढी ध्यान दिएको उनले प्रस्ट पारे । महिलाहरूले निर्माण गरेका सामग्रीहरू राखिएको छ । महिलाद्वारा निर्मित सामग्रीहरू विभिन्न जिल्लाबाट मगाएर रिसोर्टमा राखिएको छ । एकल महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उहाँहरूको सामग्री रिसोर्टमा प्रयोग गरिएको उनले बताए ।' हातले बनाएका सामग्री राखेका छौ, थापाले सुनाए, 'नेपालमा स्थानीय वस्तुहरू प्रयोगमा ल्याएका छौ । लोपोन्मुख राउटे समुदायले प्रयोग गर्ने भाडाकुँडा छन् ।' पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वभर देखा पर्दै गएको छ । यसको असर नेपाल लगायत पोखरामा पनि देखा पर्न थालिसकेको छ । समयमा पानी नपर्ने तथा पानीको अभाव हुने जस्ता संकेत देखा पर्न थालिसकेका छन् । प्रकृतिको केही भर हुन्न भने जस्तै बगैँचाले अहिलेदेखि वर्षाको पानी संकलन गर्न थालिसकेको थापाले जानकारी दिए । उनी प्राकृतिक रूपमा सिर्जित पानीको प्रयोगलाई पहिलो प्राथमिकतामा राखिएको बताउँछन् । रिसोर्टलाई प्रदूषणमुक्त बनाउन इलेक्ट्रिक सवारीसाधन प्रयोग गरिएको छ । निर्देशक थापाले यातायातको रूपमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाइएको बताए । स्थानीय जैविक विविधतालाई संरक्षण गरेर वरिपरिको वातावरणलाई जगेर्ना गर्नु यस रिसोर्टको मुख्य उद्देश्य रहेको उनले बताए । थापाले रिसोर्टकै नाम अनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले अगाडि थपे,’ नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार ९ साउन्ड हेलिङ् र सिङ्गिङ बाउल थेरापी० बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाईन बगैंचाका विशेषता रहेका छन् ।‘ यहाँको अर्को विशेषता भनेको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए । अन्त कतै उपलब्ध नहुने यस बगैंचामा रिसोर्टमा मात्र चिया उपलब्ध हुन थापाले उल्लेख गरे । पोखरालाई तालै तालको सहर भनेर पनि चिनिन्छ । तर पर्यटन क्षेत्रमा बगैँचाले पोखराको परिचय बदल्ने उनको विश्वास छ । तालहरूमा शान्त बोटिङ र बगैंचामा रुखका छहारी तथा यसका हाँगाले पाहुनालाई आनन्द र शितलता प्रदान गर्ने धारणा थापाले सुनाए । बगैंचाको शान्त वातावरणले पाहुनालाई पुनः पोखराका लागि निम्ता दिइरहने उनको विश्वास छ । रिसोर्टको बनोट र संरचना फरक किसिमले बनाइएकाले पनि अझ बढी आकर्षण बढ्ने थापा बताउँछन् । बगैँचा पारिवारिकमैत्री रहेको उनले जानकारी दिए । 'यहाँ परिवारसहित मजाले घुमेर आनन्द लिन सक्न गरे हामीले यहाँ भित्र संरचना तयार गरेका छौ,’ उनले सुनाए,’ यहाँको विशेष सेवा परिवारमैत्री रहेको छ । जसले गर्दा पाहुनालाई आफ्नो घरमा बसेर आनन्द लिइरहेको जस्तो होस ।' बगैँचामा दुई रेष्टुरेण्ट रहेको छ । मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उद्यमी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए । बगैँचामा 'टारो' पूलसाइड बार रहेकाले बगैँचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । यहाँ पाइने खानाका परिकारका सामग्रीहरू बगैंचाको आफ्नै अर्गानिक फार्मबाट ल्याइने निर्देशक थापाले जानकारी दिए । मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे । ‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरि अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने,’ ३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।‘ रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ । ‘यो एउटा उद्यम नभइ मुलुकका लागि बगैंचा दर्शन रहेको छ । जहाँ मानिसलाई शान्त बनाएर योग मार्फत स्वस्थ्य तथा मजबुत बनाउने नयाँ योजनासहित आएका छौ,' उनी दार्शनिक सुनिए,’ साँचो लक्जरी भनेको विचारशीलता हो, विचारले पनि मानिसलाई स्वस्थ्य बनाउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हो । जहाँ विश्राम, पुनर्जागरण र सम्बन्धको समिश्रण हुन्छ । बगैंचा अभिव्यक्ति, भावनात्मक र अनुभवको स्वतन्त्रता पनि हो । यसलाई नेपालभित्रको भविष्यसूचकको संकेतका रूपमा लिन सकिन्छ ।‘ त्यसैगरी, ३१ एभिन्यु बाराही चोकमा ३१ पार्क पनि केही महिनापश्चात सञ्चालनमा आउने अंशुवाराका निर्देशक अविरल थापाले जानकारी दिए ।
नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ‘जेको जे-५’ इभी सार्वजनिक हुने
काठमाडौं । ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे-५’ सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ यो प्रिमियम एसयुभी ल्याउन लागेको हो । कम्पनीका अनुसार जे-५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध हुनेछन् । यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। जे-५ को लम्बाई ४३८० मिमी, चौडाई १८६० मिमी, उचाई १६५० मिमी छ र यसमा १८ इन्चको एलोय ह्विल प्रयोग गरिएको छ । एसयुभीको भित्री भागमा भेन्टिलेटेड सिट, डिजिटल इन्सट्रुमन्ट क्लस्टर, र २५६-कलर एम्बिएन्ट लाइटिङ जस्ता प्रविधि समावेश छन् । यसमा १३२० मिमी चौडा दोस्रो पङ्क्तिको सिट रहेको कम्पनीले जनाएको छ । सामान राख्नका लागि ४८० लिटरको बुट स्पेस र ३६ वटा स्टोरेज कम्पार्टमेन्टहरू उपलब्ध छन् । सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको बताइएको छ । जेको जे-५ को सार्वजनिकसँगै एसपिजि अटोमोबाइल्सले नेपालमा आफ्नो इभी लाइनअपलाई थप बलियो बनाउनेछ । कम्पनीले यसअघि नै ओमोडा इ-५ र जेइको जे-६ इभी पनि बजारमा ल्याउने घोषणा गरिसकेको छ। पर्फर्मेन्स, प्रविधि र लक्जरी सुविधासहितको जे-५ ले नेपाली बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । यो ईभी नेपाल आइपुगेको छ । नेपाल आएको जेको जे-फाइभको मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ ।
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
काठमाडौं । नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल-चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो । चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले पपराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गरेका थिए । भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल-चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा. राणाको ध्यानाकर्षण गराएकी थिइन् । उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो । चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौंसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिए । बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उनले बताए ।
होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
काठमाडौं । चितवनको भरतपुरमा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले धितोपत्र बोर्डको नियमावली र निर्देशिकाअनुसार आवश्यक स्वीकृति प्राप्त गरेपछि शेयर निष्कासन प्रक्रिया अघि बढाउने बताएको छ । सो कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । आयोजित औपचारिक सम्झौता कार्यक्रममा होटल सिराइचुली तर्फबाट अध्यक्ष चुडामणी खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको पनि उपस्थिति रहेको थियो । भरतपुर–१० मा अवस्थित सिराइचुली होटल एक आधुनिक र सुविधासम्पन्न चारतारे होटल हो । होटलमा समकालीन आवास, मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वेट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पूल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका सेवा उपलब्ध छन् । होटलको विशेषता भनेको हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न मिल्ने सिटी सेन्टर लोकेशनमा रहेको शानदार सुविधा हो, जसले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने कम्पनीको विश्वास छ ।