कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि …
भोजपुर, साउन ३ । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् । यहाँ कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारवाहीको माग गरिएको उनको भनाइ छ । यहाँ गत असार महिनामा सडक कालोपत्र गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए । 'सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ' वडाध्यक्ष नेपालले भने, 'सडक निर्माणको काममा अत्यान्तै लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहिन काम भएको प्रष्ट देख्न सकिन्छ ।' सडक डिभिजन कार्यालय तुम्लिङटारअन्तर्गत आर एन आर आर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताए । टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहिन काम भएपछि स्थानीय आक्राकोसित बनेको उनको भनाइ छ । कालोपत्र गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए । गैर जिम्मेवारढङ्गले सडक कालोपत्र गर्ने निकायलाई राज्यले कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ । 'यो सडक निर्माणमा अत्यान्तै गुणस्तरहिन काम भएको अवस्था छ' वडाध्यक्ष खड्काले भने, 'कालोपत्र सडक भत्किएको छ । अरु त के कालोपत्र गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहिन काम गर्नेलाई कारवाहीको माग गरेका छौँ ।' सडक कालोपत्रको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयबासी शरण राईले बताए । सडक कालोपत्र सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निरास बनेको उनको भनाइ छ । 'सडक निर्माणको अवस्था बेहाल छ” उनले भने, “कालोपत्र गरिएको सडक भत्किएको अवस्था छ । दुई वटा जिल्लालाई जोड्ने सडक कालोपत्रशको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।' ठेकेदार कम्पनीले निर्माणस्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उनको भनाइ छ । रासस
लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्। प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने स्पष्ट गरे। ‘हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ। हाम्रा कोही शत्रुु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ। हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ’, प्रधानमन्त्री ओलीले भने। उनले जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समधानका लागि लाग्ने भन्दै गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन नसक्ने समेत बताए। उनले भने, ‘हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समाधानार्थ लाग्नेछौँ। गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन सक्दैन। त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ।’ उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरुलाई सरकारले ग्रहण गर्ने विश्वास समेत दिलाए।
वैदेशिक रोजगारीमा तीव्र वृद्धि: एक वर्षमै ८ लाख ३९ हजारले लिए श्रम स्वीकृति, पुरुषको संख्या हाबी
काठमाडौं । गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए । उनले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उनका अनुसार वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उनले जानकारी दिए । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताए । उनले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिए । अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उनले बताए । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उनले बताए। उनले वैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिए । यस्तै वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ। यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।
ललितपुरमा जग्गाको मूल्य २५ हजारदेखि ३९ लाखसम्म, कुन ठाउँमा कतिमा पाइन्छ ?
काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरले चालु आव २०८२/८३ को लागि जग्गाको न्यूनतम् मूल्यांकन तोकेको छ । ललितपुरमा मुख्य सहर बजारदेखि ग्रामीण क्षेत्रहरू छन् । त्यसैले ललितपुरमा जग्गाको मूल्य प्रति आना २५ हजार रूपैयाँदेखि प्रति आना ३९ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुरको मुख्य बजार मानिने कुपण्डोलदेखि लगनखेल, सातदोबाटोसम्मको जग्गाका मूल्य ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कुपण्डोल सानेपा हुँदै पुरानो शान्त भवनसम्मको पिच सडकसम्म जोडिएको जग्गाको मूल्य प्रति आना १७ लाख रुपैयाँ निर्धारण गरेको छ । बागमती फाँट जग्गा एकीकरण आयोजनाको घडेरीको जग्गाहरूको मूल्यांकन प्रति आना १४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुर महानगर चक्रपथ भित्र र बाहिरको जग्गाहरूको मूल्य तीन लाख रूपैयाँदेखि १९ लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । च्यासलबाट बालकुमारी मन्दिर हुँदै चक्रपथ बाहिर कर्मनासा पुलसम्मको मुल पिच सडकसम्म जोडिएका दायाँबायाँको जग्गाको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कृष्ण मन्दिरबाट शंखमुल जाने पिच मोटरसँग जोडिएका जग्गा प्रति आना ११ लाख ५० हजार मूल्यांकन गरिएको छ । चक्रपथ तारबारसँग जोडिएको जग्गाको मूल्य प्रति आना २६ लाख रुपैयाँ तोकिएको छ भने गोरेटो बाटोसँग जोडिएका जग्गाहरु प्रति आना ५ लाख १० हजार रुपैयाँ नै उपलब्ध रहेका छन् । बाटो नभएका जग्गाहरू भने प्रति आना ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ । चक्रपथ बाहिरका जग्गाहरूमा पिच सडकसँग जोडिएका छन् भने त्यसको मूल्य प्रति आना १२ लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कच्चा सडकसँग जोडिएको जग्गाहरूको मूल्यांकन प्रति आना ७ लाख ९० हजार तोकिएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बुङ्गमतीमा प्रति आना एक लाख पाँच हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । बुङ्गमतीमा मुख्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ८ लाख रुपैयाँ, अन्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ५ लाख १० हजार रुपैयाँ, कच्ची सडक ४ लाख रुपैयाँ, गोरेटो बाटो २ लाख ४० हजार र बाटो नभएको एक लाख ५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । खोकना क्षेत्रतिर जग्गाको मूल्य प्रति आना १ लाख २५ हजार रूपैयाँदेखि ८ लाख ९० हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । जहाँ बाटो नभएको ठाउँका जग्गाहरू १ लाख २५ हजार रुपैयाँमा उपलब्ध छन् भने गोरेटो बाटो भएको ठाउँको जग्गाको मूल्य प्रति आना २ लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँमा १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । हरिसिद्धिमा जग्गाको मूल्यांकन प्रति आना १ लाख ८० हजार रूपैयाँदेखि १२ लाख २० हजार रूपैयाँसम्म गरिएको छ । मुल पिच सडकसँग जोडिएका जग्गाको मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको छ । बाटो नभएको ठाउँको जग्गा भने १ लाख ८० हजार रुपैयाँमा उपलब्ध रहेका छन् । सुनाकोठीमा चापागाउँ जाने मूल पिच जोडिएका जग्गाको मूल्य प्रति आना १४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कच्ची सडक जोडिएका जग्गाहरू ६ लाख ५० हजार, गोरेटो बाटो जोडिएका जग्गा ३ लाख २५ हजार र बाटो नभएका जग्गाहरू १ लाख ७० हजार रुपैयाँमा उपलब्ध छन् । महालक्ष्मी नगरपालिकामा जग्गाको मूल्य महालक्ष्मी नगरपालिका इमाडोलमा प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि ९० हजार रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । इमाडोल क्षेत्रमा मुल पिच सडक जोडिएको जग्गा प्रति वर्गमिटर ७० हजारदेखि ८० हजार रूपैयाँसम्म, सहायक सडक जोडिएको जग्गाको मूल्य प्रति वर्गमिटर ५० हजारदेखि ६५ हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । कच्ची सडकतिर भएको जग्गाको मूल्य ४० हजारदेखि ४५ हजार रूपैयाँसम्म, गोरेटो बाटो भएको जग्गाको मूल्य २० हजारदेखि २५ हजार रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म तोकिएको छ । महालक्ष्मी नगरपालिका टिकाथलीमा मुल पिच सडक जोडिएको जग्गाको मूल्यांकन ५० हजार रूपैयाँदेखि ६५ हजार रूपैयाँसम्म निर्धारण गरेको छ । सहायक पिच सडकसँग जोडिएको जग्गा प्रति वर्गमिटर ४५ हजार रूपैयाँसम्म, कच्ची सडकमा रहेको जग्गाको ३० हजार, गोरेटो बाटो भएको १५ हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको ७ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । सानागाउँमा जग्गाको मूल्यांकन प्रति आना साढे १ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु जाने पिच सडक जोडिएका जग्गाको मूल्य प्रति आना ९ लाखदेखि साढे १० लाख रूपैयाँसम्म निर्धारण गरिएको छ । त्यस्तै अन्य पिच सडक जोडिएको जग्गा प्रति आना ७ लाख २० हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म तोकिएको छ । गोरेटा बाटो भएका जग्गाको मूल्य प्रति आना साढे तीन लाखदेखि चार लाख रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य साढे एक लाख रुपैयाँ निर्धारण गरिएको छ । लुभुतिरको जग्गाको मूल्य १ लाख ९० हजार रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु नगर विकास आयोजनाका विकसित घडेरीको मूल्य १० लाख रूपैयाँसम्म तोकिएको छ । त्यस्तै मूल पिच सडक जोडिएको जग्गाको मूल्य प्रति आना ६ लाख ७५ हजार रुपैयाँ, कच्ची सडक भएको तिर प्रति आना ५ लाख २० हजार, गोरेटो बाटो भएको ठाउँमा तीन लाख ५० हजार रुपैयाँ र बाटो नभएको जग्गाको १ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । महालक्ष्मी नगरपालिकाको लामाटारमा पनि २५ हजार रूपैयाँदेखि जग्गा उपलब्ध छन् । लामाटारमा मूल पिच सडकसँग जोडिएको जग्गा प्रति आना ७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । सहायक पिच सडक जोडिएको जग्गाको मूल्य ५ लाख ६० हजार, कच्ची सडक जोडिएको जग्गाको मूल्य चार लाख, गोरेटो बाटो जोडिएको जग्गाको मूल्य ३ लाख ५० हजार रुपैयाँ र बाटो नभएको १ लाख २५ हजार रुपैयाँ रहेको छ । लामाटारकै लाकुरी भञ्ज्याङभन्दा बाहिर पर्ने जग्गाको मूल्य कच्ची सडक भएको ठाउँमा भएकोलाई प्रति आना एक लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको मूल्य २५ हजार निर्धारण गरिएको छ ।
दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकलको मात्रै साढे ३ अर्ब ऋण, विवादमा तानिएपछि खस्कियो व्यापार
काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले एक वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकलले सन् २०२४ मा ९२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । प्रसाईको मेडिकलले सन् २०२३ मा ८१ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ५३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट साढे ३ अर्ब रुपैयाँ ऋण लिएका छन् । बी एण्ड सी मेडिकलले दीर्घकालिन ऋण ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ र अल्पकालिन ऋण १० करोड रुपैयाँ गरी कुल ३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ ऋण लिएका छन् । कम्पनीले सुरुमा २ अर्ब ७९ करोड १२ लाख रुपैयाँ ऋण लिएका थिए । केयर रेटिङ्ग नेपालले कम्पनीलाई दीर्घकालिन ऋणका लागि सिङ्गल बी प्लस र अल्पकालिन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । विवादित व्यवसायी प्रसाईलाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य नाइके भएको आरोपमा प्रहरीले प्रक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रसाईंकै उक्साहटमा चैत १५ गते तीनकुने घटनामा परेर दुई जनाको निधन भएको थियो भने दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए । विभिन्न निजी तथा सरकारी सम्पत्तिमा आगजनीसँगै लुटपाट पनि भएको थियो । तिनकुने घटना हुनुअघि प्रसाईंले अराजक किसिमका अभिव्यक्ति दिँदै आएका थिए । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि नतिर्न उर्दी जारी गर्दै आएका थिए । साथै, बैंकरलाई जहाँ भेट्यो त्यहीँ कालो मोसो दल्ने अभिव्यक्ति दिँदै आएका थिए ।
अनलाइन ठगी बढेपछि नेपालमा टेलिग्राम बन्द गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई तत्कालै टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । प्राधिकरणका अनुसार, पछिल्लो समय टेलिग्राम एपको प्रयोग गरी अनलाइन ठगी, गैरकानुनी कारोबार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आपराधिक गतिविधि बढेकाले यसलाई बन्द गर्नुपरेको हो । निर्देशनमा के छ ? प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरुलाई निर्देशन गरिएको छ ।’
कामना सेवा विकास बैंकले कमायो ९८ करोड ७० लाख सञ्चालन मुनाफा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ । बैंकले असार मसान्तसम्ममा ९८ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ भने ६० करोड ७४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ । चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले कुल ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा सापट प्रवाह गरेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) रु. १८.१० रहेको छ भने आधार दर ७.०७ प्रतिशतमा सीमित छ । बैंकको वित्तीय स्वास्थ्यलाई दर्शाउने अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन्। बैंकको पुँजीकोष अनुपात १३.२० प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा बढी हो । यस्तै, निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको छ । बैंकका वित्तीय सूचकहरूमा कुल चुक्ता पुँजी ३.५१ अर्ब रुपैयाँ, कुल निक्षेप ६३.५० अर्बरुपैयाँ, कुल कर्जा तथा सापट ५२.५५ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सञ्चालन मुनाफा ९८.७० करोड रुपैयाँ तथावितरणयोग्य मुनाफा ६०.७४ करोड रुपैयाँ रहेको जनाइएको छ । प्रतिशेयर आम्दानी १८.१० आधार दर ७.०७ प्रतिशत तथा निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको बताइएको छ । यसैबीच, बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर (Non-Redeemable Non-Cumulative Preference Shares) जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको जनाएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी शेयर निष्कासन गरिने बैंकले जानकारी दिएको छ । देशभर १३० वटा शाखा सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसीमाभन्दा अगावै वित्तीय विवरण प्रकाशन गरी अनुकरणीय कार्य गरेको छ ।
भिभो र दराजको साझेदारीमा ‘महाबचत बजार’ को धमाका सुरु
काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालको प्रमुख ई-कमर्स प्लेटफर्म, दराजसँगको सहकार्यमा ‘महाबचत बजार’ अभियानमा आफ्नो सहभागिता जनाएको छ । यो अभियान साउन २ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । यस सहकार्यमार्फत भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउँदै नेपालभरका ग्राहकमाझ आफ्ना नवीन प्रविधिहरूमा सहज पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत भिभोले विभिन्न रोमाञ्चक अफरहरू ल्याएको छ । अभियानको मेगा उपहारस्वरूप, एक भाग्यशाली विजेताले दराजको डेलिभरी ब्यागमा रहेको भिभोको ब्रान्डिङ देखेर त्यसलाई सामाजिक सञ्जालमा ट्याग गर्दा ‘भिभो V50 Lite’ जित्ने मौका पाउनेछन् । साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र रु. ८४८ मा उपलब्ध हुनेछ भने भिभो स्मार्टफोनहरूको खरिदमा १० हजार रुपैयाँ सम्मको छुट कुपनसमेत प्राप्त गर्न सकिनेछ । यो अफर, आफ्नो फोन अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि एक उत्तम अवसर हो । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, ‘दराजसँगको यो साझेदारीले ग्राहकहरूलाई उत्तम मूल्य र सुविधा प्रदान गर्ने हाम्रो साझा लक्ष्यलाई पूरा गर्छ । यसले हामीलाई फराकिलो दर्शकमाझ पुग्न र डिजिटल उपभोक्ताहरूसँग अझ अर्थपूर्ण रूपमा जोडिन सक्षम बनाएको छ ।’ यो सहकार्यले ग्राहकहरूलाई असाधारण मूल्य मात्र प्रदान गरेको छैन, नेपालमा भिभोको डिजिटल वृद्धि यात्रामा एक महत्त्वपूर्ण कोसेढुङ्गासमेत सावित भएको छ । आकर्षक अफरहरूलाई अन्तरक्रियात्मक सहभागितासँग जोडेर भिभोले आफूलाई एक ग्राहक-केन्द्रित ब्रान्डको रूपमा स्थापित गर्दैछ । साथै, दराजजस्तो नेपालको अग्रणी अनलाइन प्लेटफर्ममार्फत आफ्ना नवीनतम प्रविधिहरू देशको हरेक कुनासम्म पुर्याउन प्रतिबद्ध रहेको देखाएको छ ।