विकासन्युज

अनलाइन ठगी बढेपछि नेपालमा टेलिग्राम बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई तत्कालै टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  प्राधिकरणका अनुसार, पछिल्लो समय टेलिग्राम एपको प्रयोग गरी अनलाइन ठगी, गैरकानुनी कारोबार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आपराधिक गतिविधि बढेकाले यसलाई बन्द गर्नुपरेको हो ।  निर्देशनमा के छ ? प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरुलाई निर्देशन गरिएको छ ।’

कामना सेवा विकास बैंकले कमायो ९८ करोड ७० लाख सञ्चालन मुनाफा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ । बैंकले असार मसान्तसम्ममा ९८ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ भने ६० करोड ७४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ । चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले कुल ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा सापट प्रवाह गरेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) रु. १८.१० रहेको छ भने आधार दर ७.०७ प्रतिशतमा सीमित छ । बैंकको वित्तीय स्वास्थ्यलाई दर्शाउने अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन्। बैंकको पुँजीकोष अनुपात १३.२० प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा बढी हो । यस्तै, निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको छ । बैंकका वित्तीय सूचकहरूमा कुल चुक्ता पुँजी ३.५१ अर्ब रुपैयाँ, कुल निक्षेप ६३.५० अर्बरुपैयाँ, कुल कर्जा तथा सापट  ५२.५५ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सञ्चालन मुनाफा ९८.७० करोड रुपैयाँ तथावितरणयोग्य मुनाफा ६०.७४ करोड रुपैयाँ रहेको जनाइएको छ ।  प्रतिशेयर आम्दानी १८.१० आधार दर ७.०७ प्रतिशत तथा निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको बताइएको छ ।  यसैबीच, बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर (Non-Redeemable Non-Cumulative Preference Shares) जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको जनाएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी शेयर निष्कासन गरिने बैंकले जानकारी दिएको छ । देशभर १३० वटा शाखा सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसीमाभन्दा अगावै वित्तीय विवरण प्रकाशन गरी अनुकरणीय कार्य गरेको छ । 

भिभो र दराजको साझेदारीमा ‘महाबचत बजार’ को धमाका सुरु

काठमाडौं ।  विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालको प्रमुख ई-कमर्स प्लेटफर्म, दराजसँगको सहकार्यमा ‘महाबचत बजार’ अभियानमा आफ्नो सहभागिता जनाएको छ । यो अभियान साउन २ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । यस सहकार्यमार्फत भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउँदै नेपालभरका ग्राहकमाझ आफ्ना नवीन प्रविधिहरूमा सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत भिभोले विभिन्न रोमाञ्चक अफरहरू ल्याएको छ । अभियानको मेगा उपहारस्वरूप, एक भाग्यशाली विजेताले दराजको डेलिभरी ब्यागमा रहेको भिभोको ब्रान्डिङ देखेर त्यसलाई सामाजिक सञ्जालमा ट्याग गर्दा ‘भिभो V50 Lite’ जित्ने मौका पाउनेछन् ।  साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र रु. ८४८ मा उपलब्ध हुनेछ भने भिभो स्मार्टफोनहरूको खरिदमा  १० हजार रुपैयाँ सम्मको छुट कुपनसमेत प्राप्त गर्न सकिनेछ । यो अफर, आफ्नो फोन अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि एक उत्तम अवसर हो ।  भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, ‘दराजसँगको यो साझेदारीले ग्राहकहरूलाई उत्तम मूल्य र सुविधा प्रदान गर्ने हाम्रो साझा लक्ष्यलाई पूरा गर्छ । यसले हामीलाई फराकिलो दर्शकमाझ पुग्न र डिजिटल उपभोक्ताहरूसँग अझ अर्थपूर्ण रूपमा जोडिन सक्षम बनाएको छ ।’ यो सहकार्यले ग्राहकहरूलाई असाधारण मूल्य मात्र प्रदान गरेको छैन, नेपालमा भिभोको डिजिटल वृद्धि यात्रामा एक महत्त्वपूर्ण कोसेढुङ्गासमेत सावित भएको छ । आकर्षक अफरहरूलाई अन्तरक्रियात्मक सहभागितासँग जोडेर भिभोले आफूलाई एक ग्राहक-केन्द्रित ब्रान्डको रूपमा स्थापित गर्दैछ ।  साथै, दराजजस्तो नेपालको अग्रणी अनलाइन प्लेटफर्ममार्फत आफ्ना नवीनतम प्रविधिहरू देशको हरेक कुनासम्म पुर्‍याउन प्रतिबद्ध रहेको देखाएको छ ।  

डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न,  उपाधि सीजी कम्युनिकेसनलाई

काठमाडौं । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक साझेदार कम्पनीहरूबीच असार १४ र २१ गते आयोजित फुटसल प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्व गर्दै १७ टिम सहभागी भएका थिए । सहभागी टिमलाई ४ वटा समूहबीच विभाजन गरी समूह चरणको खेल खेलाइएको थियो । प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।   तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई कर्पोरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको नेपाल डिजिटल सर्भिस, र तेस्रो स्थान प्राप्त गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट सोलुसन) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी कम्युनिकसेन) बाट चयन भए । समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए ।

‘टेक अफ’को बेला स्पिड कायम नगर्दा सौर्य एयर दुर्घटना, प्रमाण मेटाउने काम भएको निश्कर्ष

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । सो आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष प्रतिवेदन पेस गरेको हो ।  आयोगले यो दुर्घटनाको सबैभन्दा सम्भावित कारण टेकअफमा स्पिड कायम नगर्दा भएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘उडानको सुरुवातमै टेक अफ विमानलाई आवश्यकता भन्दा ढिलो गति (कम स्पिड) मा अत्यधिक तीव्र गतिमा अगाडि तान्दा( पिच गर्दा) भएको गहिरो स्टल हो । यसले गर्दा विमानको प्वाँखमा पर्याप्त उथान (लिफ्ट  बन्न सकेन र विमान खस्ने अवस्थामा पुग्यो ।’ प्रतिवेदनले घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाएर प्रमाण मेटाएको दाबी गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘ घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाई एयरलाइन्सको कार्यालय पु¥याइनु प्रमाण मिटाउने कार्य मानिन्छ, यसले विमानस्थल प्रशासनको लापरवाही देखाउँछ ।’आयोगले प्रतिवेदनमा विभिन्न २९ बुँदामा दुर्घटनाको ‘फाइन्डिङ’ उल्लेख गरेको छ ।  आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र र वरपरका संवेदनशील क्षेत्रहरूलाई न त वर्गीकृत गरिएको थियो न त आपतकालीन अभ्यासमा समावेश गरिएको भन्दै दुर्घटनास्थल नजिकको आपतकालीन गेट पनि अबरुद्ध रहेको उल्लेख गरेको छ ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सेवा म्यानुअल अनुसार आवश्यक उपकरण र जनशक्तिको टाक्स रिसोर्स एनालाइशिस नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ । जसले उद्धार कार्य प्रभावित बनेको प्रतिवदेनमा उल्लेख छ ।  गैर–निर्धारित उडानहरूको अनुमति र सञ्चालनका लागि पर्याप्त एसओपी र प्रावधानहरू नभएको, रेगुलेटेड टेक अफ वेटको अनुमोदन वा स्वीकृतिको लागि कुनै विशिष्ट चेकलिस्ट विकास नगरिउको विषय पनि प्रतिवेदनमा छ ।  नागरिक उडड्यन प्राधिकरणद्वारा नियमित र्याम्प निरीक्षणहरू प्रभावकारी रूपमा नगरिएको यदि नियमित गरिएको भए झोला वा कार्गो लोडिङमा भएका त्रुटिहरू पहिले नै पहिचान गर्न सकिने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।  यस्तै, उडानको समयमा मौसम राम्रो रहेको, ८ किलोमिटर दृश्यता रहेको र हावा पनि शान्त रहेको उल्लेख छ । अपरेटरले सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको प्रावधानहरू पालना गर्न नसकेको पनि दाबी गरिएको छ ।  प्रतिवेदनमा भनिएको छ, ‘सामग्रीहरू न त गोदामबाट बाहिर निकाल्दा न त विमानमा राख्दा तौलिएको थियो, मर्मतसम्बन्धी उपकरणहरू पनि यात्रु क्याबिनमै राखिएको थियो, सामानहरूलाई कुनै पट्टी, बाँध्ने डोरी वा जालद्वारा सुरक्षित गरिएको थिएन, लोडिङको निगरानी पर्याप्त र जिम्मेवारपूर्वक गरिएको थिएन,  भारको वितरणको आधारमा केन्द्रगुरुत्वको स्थानगणना गरिएको थिएन, विमानमा एयरलाइन्ससँग सम्बन्ध नभएका व्यक्ति र आवश्यक नभएका क्रू सदस्यहरू पनि सवार थिए ।’  

क्वालिटी आयलको कारोबार ५४.३१ प्रतिशत घट्यो, साढे ६ अर्बको व्यापार २ अर्बमा झर्याे

काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिको आम्दानीमा भारि गिरावट आएको छ । कम्पनीले गत वर्ष (सन् २०२४) मा २ अर्ब ३३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ५४.३१ प्रतिशत अर्थात् २ अर्ब ७७ करोड ५० लाख रुपैयाँ घटेको हो ।  अघिल्लो वर्ष (सन् २०२३)मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कच्चा पदार्थको मूल्य अस्थिरता र विदेशी मुद्रामा उतारचढाव हुँदा आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । कम्पनीको आम्दानी निरन्तर घटिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा कम्पनीले ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००४ मार्चमा स्थापना भएको कम्पनीमा कब्राजी समूहको लगानी रहेको छ । कटहरी इटहरीमा प्लान्ट रहेको यस कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसिया लगायत विभिन्न देशहरूबाट लेटर अफ क्रेडिट मार्फत कच्चा पदार्थ आयात गर्दै आएको छ ।  साथै, विदेशबाट कच्चा पदार्थ आयात गरी वनस्पती घ्यू, भटमासको तेल, सन्फ्लावर तेल, पामोलिन, पाल्म, तोरीको दाना लगायत विभिन्न प्रकारका तेलको प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।  दैनिक ३२० मेट्रिक टन उत्पादन क्षमता रहेतापनि कम्पनीको आम्दानीमा भने प्रत्येक वर्ष घटिरहेको देखिन्छ । तेल तथा वनस्पति घिउ उत्पादक कम्पनीहरुको संख्या बढ्दा प्रतिस्पर्धा बढेकाले व्यवसायमा गिरावट आएको कम्पनीले जनाएको छ ।  कम्पनीका प्रबन्ध निर्देशक घनश्याम काब्रा रहेका छन् भने बिपिन काब्राले कम्पनीमा निर्देशकको भुमिका निर्वाह गर्दै आएका छन् । काब्रासँग खाद्य प्रशोधन र व्यापार क्षेत्रमा लगभग दुई दशकको अनुभव छ ।  कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडबाट २ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ए–४ प्लस रेटिङ गरेको छ । 

टोकन प्रणालीमार्फत मुख्यमन्त्रीले लिए सेवा

काठमाडौं ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणालीमार्फत सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय राजविराजबाट उनले नागरिकताको प्रतिलिपि लिएका हुन् । नागरिकताको प्रतिलिपि लिएपछि आजै आमजनता जस्तै लाइनमा बसेर राष्ट्रिय परिचयपत्रसमेत लिएको  मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए । उनले भने, ‘आमजनताले दैनिक रुपमा यहाँका जिप्रकामा टोकन प्रणाली प्रयोग गरेर लिँदै आएको सेवा जस्तै मुख्यमन्त्रीले पनि आफ्नो सेवा लिनुभएको छ ।’  जिल्ला प्रशासन कार्यालयको सेवाबारे जानकारी लिँदै मुख्यमन्त्रीले आम जनतालाई सहुलियत हुनेगरी सेवा दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफलसमेत गरे ।      जिल्ला प्रशासन कार्यालयबाट दैनिक रुपमा दिने सेवा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य कामकाजहरु चुस्त तरिकाले दिन निर्देशनसमेत दिए । 

एनआरएनए क्यानडाको युवा संयोजक पदमा इन्जिनियर विवेक धिमालको उम्मेदवारी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल (२०२५-२७) का लागि हुने निर्वाचनमा क्यानडाबाट इन्जिनियर विवेक धिमालले युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । क्यानडामा सम्पूर्ण युवाहरूलाई प्रतिनिधित्व गरेर आफ्नो उम्मेदवारी दिएको उनले बताए । उनले पारदर्शी, समावेशी र नतिजा मूलक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘क्यानडामा रहेका सम्पूर्ण युवाको प्रतिनिधित्व गर्ने दृढ इच्छा शक्ति राख्छु, उनले भने, ‘यहाँ रहनुभएका सम्पूर्ण युवाहरूलाई एक आपसमा जोड्ने, सिक्ने, नेतृत्व गर्न प्रेरित गर्ने मेरो प्रतिबद्धता रहने छ ।’ नेपालमा हुँदा देखि नै समाजसेवीमा सक्रिय भएर लागेका धिमालले इन्जिनियरिङ पेशामा छाएको नकारात्मक राजनीतिकरणलाई हटाउनको लागि विशेष भूमिका खेलेका थिए । क्यानडामा पनि इन्जिनियर धिमालले सडक दुर्घटनामा परेका  नेपालीहरुलाई उद्धार तथा सहयोग गर्दै आएका छन् । त्यस्तै उनकै नेतृत्वमा त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीले कर फाइल छुट पाएका छन् ।  क्यानडामा सबै दाजुभाइ दिदीबहिनी मिलेर नेटवर्किङ कार्यक्रम सेमिनारलगायत सामाजिक गतिविधि विकास गर्नको लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका छन् । साथै उनले यो भोट भोट मात्रै नभएर नयाँ पुस्ताको लागि नयाँ बाटो खोल्ने अवसर पनि रहेको बताए । एनआरएनए क्यानडाको युवा संयोजक पदमा जितेर सम्पूर्ण नेपालीहरुको मुहार फेर्न रुचाउने धिमालले आफुलाई भोट दिएर जिताउन अनुरोध गरेका छन् ।