विकासन्युज

नेपाल एसबिआई बैंकको ऋणपत्रमा लगानीकर्ताको ओइरो, ४ गुणा बढी आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको  ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको छ । बैंकले माग गरेको भन्दा चार गुणा बढी आवेदन परेपछि ऋणपत्रको निष्काशन सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता अर्थात् कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । तर, निष्काशन अवधिभित्र १ करोड २० लाख कित्ताभन्दा बढी अर्थात् १२ अर्ब रुपैयाँभन्दा बढीको लागि आवेदन परेको हो । कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणका लागि जारी गरिएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरूका लागि आरक्षित थियो । १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशतको आकर्षक ब्याजदर पाउनेछन् । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति पाएको थियो ।  निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले सफलतापूर्वक निर्वाह गरेको छ । असार ३० गतेदेखि श्रावण १ गतेसम्म खुला रहेको यस निष्काशनमा परेको अत्यधिक आवेदनले नेपाल एसबिआई बैंकको वित्तीय स्वास्थ्य र बजारमा रहेको प्रतिष्ठाप्रति लगानीकर्ताको गहिरो विश्वासलाई पुनः पुष्टि गरेको छ ।

सानिमा बैंकको इ-कम डलर कार्डमा अनलाइनबाटै तत्काल टप-अप सुविधा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि इ-कम भिसा कार्डमा अनलाइनबाटै तत्काल ब्यालेन्स टप-अप गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । यस नयाँ सुविधासँगै अब ग्राहकहरूले घर वा कार्यालयबाटै जुनसुकै बेला आफ्नो अमेरिकी डलर (USD) इ-कम कार्डमा सजिलै ब्यालेन्स थप गर्न सक्नेछन् । बैंकका अनुसार, यो सुविधा बैंकको ‘सानिमा सजिलो ई-बैंकिङ’ एप वा बैंकको वेबसाइटमा रहेको अनलाइन सेवा अन्तर्गतको ‘eCom (Online Payment) Request’ आइकनमार्फत उपलब्ध छ । टप-अप गर्नका लागि ग्राहकले बैंकमा दर्ता भएको आफ्नो मोबाइल नम्बर वा इमेल ठेगाना, बचत खाता नम्बर र क्याप्चा (captcha) भरेर प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।  त्यसपछि, ग्राहकको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने एक पटकको पासवर्ड (OTP) प्रविष्ट गरेपछि तुरुन्तै कार्डमा ब्यालेन्स टप-अप हुने बैंकले जनाएको छ । यो सुविधाले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीका लागि डलर कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई ठूलो राहत मिल्ने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशबाट १३४ शाखा कार्यालय र १२७ एटीएम नेटवर्कमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य: डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एप प्रयोग गरी भुक्तानी गरेमा यो छुट सुविधा प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया बैंकका अनुसार, यस सहकार्यमार्फत ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले प्राप्त गर्नुका साथै, डिजिटल भुक्तानी प्रणालीप्रति जनचासो र प्रयोग बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । बैंकले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने अभियान सञ्चालन गरिरहेको छ । ओम हस्पिटलसँगको यो सहकार्य पनि त्यसै अभियानको एक महत्वपूर्ण हिस्सा भएको बैंकले जनाएको छ ।

डिशहोमका ग्राहकलाई हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्मको छुट, ल्यानिज हबसँग गर्‍यो सहकार्य

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक डिशहोमले आफ्ना ग्राहकहरूका लागि एक आकर्षक योजना सार्वजनिक गरेको छ । ल्यानिज हबसँगको सहकार्यमा कम्पनीले विश्वप्रसिद्ध ‘हाई फ्युचर’ ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट दिने घोषणा गरेको हो । यो सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा प्रोत्साहित गर्नु रहेको कम्पनीले जनाएको छ । यो विशेष छुट प्राप्त गर्न ग्राहकहरूले डिशहोमको इन्टरनेट वा टिभी सेवा न्यूनतम ३, ६, १२ वा २४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ । यो प्रक्रिया पूरा गरेपछि ग्राहकहरूले आधा मूल्यमा हाई फ्युचरका स्मार्ट ग्याजेटहरू खरिद गर्न पाउनेछन्। कुन ग्याजेटमा कति छुट ? सोनिक एयर एयरबडको बजार मूल्य ३ हजार ४ सय ९९ रहेकोमा अब १ हजार ७ सय ४९ रुपैयाँमै पाउन सकिने छ  । यस्तै, जोन २ स्मार्टवाचको बजार मूल्य ५ हजार ४ सय ९९ रहेकोमा अब २ हजार ७ सय ४९ रुपैयाँ तथा भोकल स्पिकरको बजार मूल्य ८ हजार ९ सय ९९ रहेकोमा अब ४ हजार ४ सय ९९ रुपैयाँमै खरिद गर्न पाउनेछन्। डिशहोमले भनेको छ, ‘ल्यानिज हबसँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो ।’  कम्पनीका अनुसार यो योजना डिशहोमका नयाँ तथा पुराना दुवै ग्राहकका लागि लागू हुनेछ। यसका साथै, खरिदमा थप १५ प्रतिशत छुट पाउनका लागि प्रोमो कोड ‘CHILLFI15’  प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ । यो अफर आजैदेखि लागू भएको र इच्छुक ग्राहकहरूले डिशहोमको आधिकारिक वेबसाइटमार्फत सिधै अर्डर गर्न सक्नेछन् । यस सहकार्यले ग्राहकको दैनिक जीवनलाई थप स्मार्ट बनाउन मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

२९ वर्षको सफल यात्रापछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३०औं वर्षमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स “सलिको” कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले विविध कार्यक्रमहरू आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर ) अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको थियो ।  त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका कार्यालयहरूले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन्, भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । २९औं वार्षिकोत्सवको यस सुखद अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षितसहित अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यवसायिक प्रतिबद्धतासँगै सामाजिक उत्तरदायित्वलाई पनि सधैं प्राथमिकतामा राख्दै आएको उल्लेखनीय यात्रा निरन्तर अघि बढाइरहेको छ ।

राष्ट्र बैंकका पूर्वईडी ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।  ढकालले गत मंसिरमा ५८ वर्षे उमेर हदका कारण नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी)बाट अवकाश पाएका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । विभिन्न विभागीय प्रमुखका साथै ढकालले प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।  बैंकको सञ्चालक समितिमा महेश भट्टराई, लक्ष्मण घिमिरे, डा. राम प्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती र डा. सुर्य बहादुर राणा रहेका छन् ।  बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने देवेन्द्र रमण खनाल कार्यरत छन् । 

एमाले पोलिटब्युरो बैठक सुरु, कर्ण थापा कसरी प्रस्तुत होलान्

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने दोश्रो विधान महाधिवेशनको तयारीका लागि पोलिटब्युरो बैठक आयोजना गरिएको हो ।  बैठकमा बिहीवार बसेको सचिवालयलय बैठकले तय गरेका एजेण्डामा छलफल हुने प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए । एमालेको  पोलिटब्युरो ९९ जनाको रहेको छ । च्यासलमा सुरु भएको बैैठकमा उपाध्यक्ष विष्णु पौडेलद्धारा प्रस्तुत विधान संशोधन प्रस्तावमा छलफल हुनेछ ।  पार्टी नेतृत्वसँग फरक मत राख्दै आएका नेता स्थायी कमिटी सदस्य कर्ण थापा सुन्न लायक हुने एमाले श्रोतले बताएको छ । बिहीवारको सचिवालय बैठकका एजेण्डाबारे थापाले व्यापक असन्तुष्टी व्यक्त गरिरहेका छन् । 

सेवाको स्तर बढाउने प्रभु हेलिकप्टरको प्रतिबद्धता, आईपीओ जारी गर्दै

काठमाडौं ।  प्रभु हेलिकप्टरले आफ्नो उडान सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।  आफ्नो स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सुरक्षित र यात्रुमैत्री सेवा प्रवाहलाई बलियो बनाउने जनाएको छ ।  वार्षिकोत्सवको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे।  एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो ।  ‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही किसिमको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  प्रभु हेलिकप्टरले विशेष गरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुई एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ । कम्पनीले हाल पोखरा, काठमाडौं र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ । साथै सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।  सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीसँग पोखरामा आफ्नै ह्याङर सुविधा उपलब्ध छ ।  आईपीओ जारी गर्दै प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीका अनुसार आईपीओ जारी गर्नका लागि आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।