विकासन्युज

वैकल्पिक वित्त परिचालन गरेर विमानस्थल, रेलमार्ग र ठूला पूर्वाधार निर्माण गरिने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताए ।  यस्तै सडक निर्माण, सुरुङ मार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वाधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिए । शहरी विकास पूर्वाधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ ।     अर्थमन्त्री पौडेलले स्वदेश तथा विदेशी लगानीबाट उच्च प्रतिफल दिने ठूला आयोजनाहरुमा लगानी हुँदा पूर्वाधार निर्माणमा स्रोतको कठिनाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।  राष्ट्रिय प्राथमिकताका आयोजनाहरुमा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनाहरुको वित्तीय अन्तर पूर्ति गर्ने उद्देश्यले सरकारले संसदमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक पेश गरेको छ । सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा पूर्वाधार क्षेत्रमा निजी पूँजी आकर्षण गरी सार्वजनिक ऋणमा परेको चाप कम गर्ने, रोजगारी प्रवर्द्धन, दिगो विकास, पूर्वाधार आयोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्ने लगायतका उद्देश्य  छन् ।

सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् । एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए । रिक्त स्थानमा प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो । ‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन् । आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाषिल गर्दै ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हाषिल गरि अपट्रेन्डली पीकका रुपमा रु १ लाखको ब्रान्ड डिल जितेका थिए । गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।  'देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलता पूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरुलाई कन्टेन्ट क्रिएशनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुराममा म पूर्णरुपमा विश्वस्त छु,' एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने । 'साथै यस प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पु¥याउनु हुने सबै मेन्टरहरूप्रति हामी हार्दिक आभारी छौं ।' प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरुलाई पाँच जना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरुलाई १०/१० जनाको समुहमा ५ जना मेन्टरहरुमार्फत विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो । सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।   प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ संजोग कोइराला टिमका थिए । त्यसैगरी तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए ।  उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरहरु मध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटरहरु छानेका हुन् ।  निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।  

भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको अडियो प्रकरणको गम्भीर छानबिनका लागि मन्त्री गुप्तालाई पक्राउ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भ्रष्टाचारजस्तो गम्भीर विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृहमन्त्रालयका निकायहरू मौन बस्नु आपत्तिजनक भएको टिप्पणी गरे । सांसद शाहीले विगतमा प्रचलनमा रहेको भनाइलाई व्यंग्यात्मक शैलीमा उद्धृत गर्दै वर्तमान सरकारको भ्रष्टाचारप्रति उदासीनतालाई आलोचना गरे । उनले भने, 'पहिले पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, अब चाहिँ भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा जानू !' उनका अनुसार एक मन्त्रीको अडियो सार्वजनिक भइसकेको अवस्थामा सिर्फ राजीनामाले समस्या समाधान नहुने स्पष्ट छ । उनले भने, 'मन्त्रीले पैसा बुझाएको अडियो सार्वजनिक भएको छ। राजीनामा दिएर मात्रै हुँदैन, उनलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ ।' शाहीले अख्तियारले आफ्नो भूमिका निर्वाह नगरेको भन्दै प्रश्न उठाए, 'हामीले अख्तियार किन बनायौं ? गृहमन्त्रालयअन्तर्गतका युनिटहरू के गर्दै छन् ?' उनले अन्य मन्त्रीहरूमाथि समेत अनुसन्धानको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । सांसद शाहीले न्याय र सुशासन सुनिश्चित गर्न राजनीतिक आडमा हुने भ्रष्टाचारप्रति कडा कदम चालिनुपर्ने धारणा राखे ।

सम्पदा लघुवित्त नवौं वर्ष प्रवेशमा देशभर दर्जनौं सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेवाको आठौं वर्ष पूरा गरी नवौं वर्ष प्रवेशको अवसरमा देशभर विभिन्न शाखाहरूबाट सामाजिक उत्तरदायित्वअन्तर्गत दर्जनौं कार्यक्रम सम्पन्न गरेको छ । साउन १ गते स्थापना दिवसका अवसरमा सम्पदाले केन्द्रिय कार्यालय बन्दिपुर–१, डुम्रेमा रक्तदान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले सभापतित्व गरेका थिए भने बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । कार्यक्रममा ४० पोका रगत संकलन गरिएको थियो । त्यसैगरी, बरियारपुर शाखा (बारा) मा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ८० जनाको सहभागिता रहेको कार्यक्रममा ४१ पोका रगत संकलन भयो । बुधबारे शाखा (झापा) ले बौद्धशान्ति–१, इलामेली टोलका समूहलाई पञ्चेबाजा सहयोग हस्तान्तरण गरी संस्कृतिक संरक्षणमा योगदान पुर्‍यायो । लोहारपट्टी (महोत्तरी), सन्तपुर र राजपुर (रौतहट), बहुअरी (पर्सा) लगायतका शाखाहरूले स्थानीय मन्दिर, मस्जिद र प्रहरी चौकीहरूमा पंखा वितरण गरे । खोलाकोछेउ शाखा (कास्की) ले रुपा गाउँपालिका–६ स्थित घिमिरे गाउँमा सडक दुर्घटना सचेतना बोर्ड जिल्ला प्रहरी कार्यालयको समन्वयमा हस्तान्तरण गर्‍यो । ईमिलिया (कपिलवस्तु), चोरमारा (नवलपुर), घैरुङ (गोरखा) शाखाले ११० सदस्यलाई विभिन्न फलफूलका बिरुवा वितरण गरे । दुर्गौली (कैलाली) शाखाले स्वास्थ्य सामाग्री, समनपुर र नयाँमिल शाखाहरूले अनाथालयमा खाद्यान्न, मदनचोक (बाँके) ले विद्यालयमा झोला तथा शैक्षिक सामग्री, भैरहवा (रुपन्देही) ले एसईईमा उत्कृष्ट अंक ल्याएका सदस्यका छोराछोरीलाई सम्मान–पुरस्कार, र सेमजोङ (धादिङ) शाखाले प्रहरी कार्यालयमा पानी फिल्टर सामाग्री वितरण गरेका छन् । साथै, सम्पदाका १५५ वटै शाखा कार्यालयहरूले समाजसेवी, राजनीतिक प्रतिनिधि लगायतको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी शुभकामना आदान–प्रदान गरेका छन् । संस्थाका अनुसार, नवौं वर्षको प्रारम्भसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूलाई अझ सुदृढ रूपमा अघि बढाउने योजना समेत बनाइएको छ ।

माछापुच्छ्रे क्यापिटलले गर्‍यो श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले काठमाडौं महानगरपालिका–७, कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सहयोगस्वरूप हस्तान्तरण गरेको छ । मंगलबार एक समारोहमा माछापुच्छ्रे क्यापिटलका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक नेपालले सहयोगप्रति आभार प्रकट गर्दै कम्प्युटर सहयोगले विद्यालयको डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, सामुदायिक शिक्षाको प्रवर्द्धनमा यस्ता पहल निरन्तर हुनुपर्ने अपेक्षासमेत व्यक्त गरे ।

होटल संघको आयोजनामा एचआर सम्मेलन, दक्ष जनशक्ति उत्पादनमा जोड

काठमाडौं । होटल संघ नेपालले नेपाल सरकार र इन्स्योर परियोजनाको सहकार्यमा मानव संशाधन सम्मेलन-२०२५ (एचआर मिट) मंगलबार काठमाडौंमा सम्पन्न गरेको छ। कार्यक्रममा मुलुकमा तीव्र रूपमा वृद्धि भएको तारे होटलहरूको संख्या, भारतीय तथा चिनियाँ पर्यटकको बढ्दो आगमन र वैदेशिक रोजगारीतर्फ आकर्षणले उत्पन्न गरेको जनशक्ति संकटबारे गम्भीर छलफल भएको थियो । अतिथ्य क्षेत्रमा स्तरीय सेवा प्रवाहका लागि दक्ष जनशक्ति र उत्पादकत्व वृद्धिमा राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ । संघका अध्यक्ष विनायक शाहले होटलहरू अझै पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा पनि जनशक्ति अभाव हुनु विडम्बना भएको उल्लेख गरे । उनले यही विषय उजागर गर्न सम्मेलन आयोजना गरिएको बताए । सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले समय सापेक्ष तथा मागअनुसारको पाठ्यक्रम विकासमा निजी क्षेत्रको सहकार्य अपेक्षित रहेको बताए । कार्यक्रममा होटल संघका कानुनी सल्लाहकार गान्धी पण्डितले आतिथ्य उद्योगसँग सम्बन्धित नीति, कानुन र औद्योगिक प्रक्रियाबारे प्रस्तुति दिए । इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले औद्योगिक प्रशिक्षार्थी सम्बन्धी दृष्टिकोण राखे । प्यानल छलफलको सञ्चालन संघका कोषाध्यक्ष युवराज श्रेष्ठले गरेका थिए । छलफलमा शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सीटीईभीटी, निजी क्षेत्र तथा नाथम प्रतिनिधिहरूले सहभागिता जनाए । उनीहरूले दक्ष जनशक्ति अभाव, वैदेशिक इन्टर्नसिप र पाठ्यक्रम अद्यावधिक सम्बन्धी विविध पक्षमा आ-आफ्नो धारणा प्रस्तुत गरे । सम्मेलनको निष्कर्षस्वरूप आतिथ्य उद्योगमा संलग्न एचआर व्यवस्थापकहरूको ‘एचआर क्लब’ गठन गर्ने निर्णय गरिएको छ, जसले मानव संसाधनको विकास र विस्तारमा एकीकृत ढंगले काम गर्ने अपेक्षा गरिएको छ ।

औपचारिक व्यवसायले उत्पादकत्व र वित्तीय पहुँच बढाउँछः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिकीकरणले व्यवसायलाई कानूनी सुरक्षा, वित्तीय पहुँच, श्रम अधिकार प्रदान गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अनौपचारिक क्षेत्रहरु औपचारिक नबन्दासम्म उत्पादकत्व वृद्धि, राजस्व संकलन, लगानीमैत्री वातावरण बन्न कठिन हुने बताएका हुन् ।  उनकाअनुसार अहिले पनि मुलुकमा अनौपचारिक क्षेत्र ठूलो छ । ती क्षेत्र औपचारिकीकरण हुनुपर्छ र नभएसम्म अर्थतन्त्र विस्तार हुन सक्दैन । अध्यक्ष ढकालले अहिले पनि व्यवसाय दर्ता जटिल रहेको बताए । करका बारेमा समेत अन्योलता रहेको र औपचारिक क्षेत्रलाई सरकारले नियमनको नाममा केही दुःख दिँदा अनौपचारिक क्षेत्र औपचारिक हुन डराइरहेको उल्लेख गरे । यसमा राज्यले गम्भीतापूर्वक सोच्न जरुरी रहेको जानकारी दिए ।  महासंघका अध्यक्ष ढकालले भने– ‘अनौपचारिक क्षेत्रलाई औपचारिकमा लैजानका लागि राज्यले हरेक हिसाबले सहुलियत दिनुपर्छ । प्रोत्साहन गरियो भने मात्रै सबै क्षेत्रहरु औपचारिक हुनसक्छन् । सबै क्षेत्र सिस्टममा गएपछि बल्ल प्रतिस्पर्धी वातावरण बन्छ । मोटरसाइकल र गाडीहरु बाहेक अरु सबै चिज सबै नेपालमा आयो, तर त्यसले फर्मल किसिमको व्यवसायी वातावरणलाई निरुत्साहित बनायो । त्यसैले हरेक क्षेत्रलाई सिस्टममा ल्याउनुपर्छ ।’ अध्यक्ष ढकालकाअनुसार व्यवसायको औपचारिकीकरण अब विकल्प होइन, यो एकदमै आवश्यकता हो । निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्रै कुरा उठाउछन् भन्ने भाष्य कतिपय बेला बनाइने गरिएको छ तर अहिले पूर्णरुपमा परिवर्तन भएको छ । अहिले राज्य संचालन गर्नेहरुले पनि निजी क्षेत्रले भन्दै आएका कुराहरुलाई बुझ्दै जानु सकारात्मक रहेको ढकालको भनाइ छ । अध्यक्ष ढकालले पछिल्लो समय सरकारले निजी क्षेत्रका कुरा सुनेर पोलिसीहरु बनाउन थालेको बताए । यो एकदमै सकारात्मक रहेको र जसकारण मुलुकमा लगानीको वातावरण बन्दै गएको जानकारी दिए ।  लगानीमैत्री वातावरणका लागि नीजि क्षेत्रमैत्री नीतिहरु अपरिहार्य रहेको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले सरकारले आहिले गरेको नीतिगत सुधारले मुलुकमा लगानीको वातावरण बन्दै गएको छ । यसले मुलुकभित्र लगानी वृद्धि गर्न सघाउ पुग्नेछ । उद्योग वाणिज्य महासंघ स्वयमः व्यवसायमैत्री वातावरण सिर्जना गर्ने कार्यमा लागिरहेको ढकालले जानकारी दिए ।