विकासन्युज

‘देशमा दुईटा सरकार छन्, एउटा नेपाल र अर्को वन सरकार’

काठमाडौं । २५ वर्षअघि देशको कुल ऊर्जा उत्पादन जम्मा २ सय ५२ मेगावाट थियो । आज त्यो बढेर ३ हजार ६ सय २३ मेगावाट पुगेको छ । यो छलाङको मुख्य नायक हो, निजी क्षेत्र । जसको एक्लै योगदान २ हजार ९ सय २३ मेगावाट अर्थात् ८१ प्रतिशत छ । करिब १३ खर्ब रुपैयाँ लगानी गरिसकेको र आगामी १० वर्षमा थप ३० खर्ब लगानी गर्ने योजना बनाएको निजी क्षेत्रले आक्रोश र गुनासो पाेखिरहेकाे छ । ऊर्जा उद्यमीहरूले देशको लोडसेडिङ अन्त्य गरेर भारतमा बिजुली बेच्ने अवस्थामा पुर्‍याएकोमा गर्व गर्छन् भने अर्काेतर्फ पाइला-पाइलामा सरकारी अड्चन, वन मन्त्रालयको व्यवहार र नीतिगत अलमलले निरुत्साहित छन् ।  ‘देशमा दुईटा सरकार, एउटा नेपाल सरकार र अर्को वन सरकार’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ​​​​​​काे २३ औं साधारण सभामा अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको पीडा पोखे । उनका अनुसार ६ जना सदस्यबाट सुरु भएको इप्पानमा आज ५ सय ७० सदस्य छन् । देशलाई उज्यालो मात्र नभइ गत वर्ष १७ अर्ब र यो वर्ष २३ अर्बको बिजुली निर्यात गर्ने लक्ष्य रहेकाे उनले बताए । तर, यात्रा सहज नरहेकाे उनकाे भनाइ छ । कार्कीका अनुसार एउटा आयोजना बनाउन १४ वटा मन्त्रालय र ४० भन्दा बढी विभाग धाउनुपर्ने बाध्यता छ । उनले आक्रोस हुँदै भने, ‘हामीले भन्ने गरेका छौं, नेपालमा दुईटा सरकार छन् । एउटा नेपाल सरकार र अर्को वन सरकार । किनभने वन मन्त्रालयमा कुनै पनि काम अगाडि बढ्दैन ।’ सर्वोच्च अदालतको एक आदेशले १९ हजार मेगावाटका २ सय १७ आयोजना रोकिएको भन्दै उनले वनमन्त्री ऐन बहादुर शाही ठकुरीको ध्यानाकर्षण गराए । सरकारले ल्याएको २८ हजार ५ सय मेगावाटको मार्गचित्र कार्यान्वयन गर्न ‘ऊर्जा विकासमा संकटकाल’ घोषणा गर्नुपर्ने उनले माग राखे ।  विद्युत खरिद सम्झौता (पीपीए) ७ वर्ष रोकिएर खुलेपनि अनेकन सर्त राखिएको भन्दै इप्पानले आक्रोस पोखेको छ । यस्तै, विभिन्न कारणले आयोजना ढिला हुँदा पनि सरकारले म्याद थप नगरिएको, समयमा निर्माण नहुँदा दोर्दी करिडोर लगायतका आयोजनाको बिजुली खेर गएको, विभिन्न निकायको निर्देशनले सर्वसाधारणको लगानी जुटाउन अवरोध भइरहेको इप्पानकाे गुनासाे छ । सरकारले निजी क्षेत्रलाई सिध्याउने किसिमको नीति लिएकाे आरोप इप्पानको छ ।  के भन्यो सरकारले ?  उद्यमीहरूको चर्को गुनासो सुनेपछि मन्त्रीहरूले बचाउ गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो मन्त्रालय विकासको बाधक नभई साधक बन्न चाहेको बताए ।  उनले भने, ‘हामीले प्रक्रिया सरल बनाइरहेका छौं, तर सर्वोच्च अदालतको आदेशले केही जटिलता थपेको छ । हामी कानुनसम्मत तरिकाले लगानी सुरक्षित गर्न प्रयत्नशील छौं ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न स्पष्ट रहेको बताए । उनले भने, ‘सरकारले २८ हजार ५ सय मेगावाटको मार्गचित्र ल्याएको छ र त्यसैअनुसार काम गरिरहेको छ । लामो समयदेखि रोकिएको ५ हजार मेगावाटको पीपीए खुलाइएको छ । निजी क्षेत्रलाई प्रसारण लाइनमा पनि सहभागी गराउने काम सुरु भइसकेको छ ।’ उनले आरसीओडीको म्याद थपको विषयमा पनि समितिले काम गरिरहेको र चाँडै निर्क्योल हुने आश्वासन दिए ।  यस्तै, पूर्व ऊर्जा मन्त्री जनार्दन शर्माले सरकार र अदालत दुवैले ऊर्जा क्षेत्रको ‘घाँटी अचेतेको’ भन्दै टिप्पणी गरे । उनले भने, ‘सरकारले स्वीकृति दिएको आयोजनामा अदालत किन प्रवेश गर्ने ? ऊर्जा बेचेर होइन, खपत गरेर देश धनी हुने हो। हाम्रो ध्यान खपत बढाउनेतर्फ हुनुपर्छ ।’ उनले खोलाको लाइसेन्स लिएर बेच्ने प्रवृत्तिलाई रोक्न पनि सरकारलाई आग्रह गरे ।  यसैगरी, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले निजी क्षेत्र नभएको भए नेपाल आज पनि अँध्यारोमै रहने भन्दै प्रशंसा गरे । उनले वन मन्त्रालयलाई ‘संसारकै सबैभन्दा अटेरी मन्त्रालय’ को संज्ञा दिँदै नीति खुकुलो बनाउन आग्रह गरे । उनले निजी क्षेत्रभित्र पनि इजाजतपत्र लिएर अँगालो हालेर बस्ने जस्ता समस्या रहेकोतर्फ संकेत गरे ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०४९ सालमा नेपाली कांग्रेसकै पालामा निजी क्षेत्रका लागि ढोका खुलेको स्मरण गराउँदै लगानीकर्तालाई दुःख दिन नहुने बताए । उनले वन र ऊर्जा मन्त्रालयबीच समन्वय गरेर समस्या समाधान गर्न सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए । सभापति देउवाले भने, ‘अहिले उत्पादन विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । उर्जा नेपालको लागि अत्यन्त महत्वपूर्ण नेपालको प्रकृतिले दिएको सम्पती हो । उर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ । ग्रीन इनर्जीमा ध्यान बढी दिनसक्यौँ भने हामीलाई राम्रो हुन्छ ।’ सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । इप्पानले आफूलाई प्रादेशिक संरचनासहित ‘महासंघ’ मा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेको छ । साथै, आगामी असोज १ र २ गते (सेप्टेम्बर १७-१८, २०२५) मा ‘मिशन २८ हजार ५ सय मेगावाट’ नारासहित नवौं संस्करणको पावर समिट आयोजना गर्ने घोषणा पनि गरेको छ ।   

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका पोखरलले लिए सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षकाे सपथ लिएका छन् । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले समक्ष उनले सपथ लिएका हुन् । प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सरकारले अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएको थियाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हाे । पाँच महिनाअघि प्राधिकरणको अध्यक्षमा नियुक्ति भएका ओझाले झुटो कागजात र योग्यता नपुगीकन नियुक्ति पाएकाे आरोपमा अदालतमा उजुरी परेपछि छानबिनकाे लागि समिति गठन भएकाे छ । छानबिन समिति गठन भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।   

राष्ट्रिय कृषि कम्पनीको पहिलो साधारणसभा सम्पन्न, करोड बढी प्रतिफल आर्जन गर्न सफल

काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारणसभा  सम्पन्न भएको छ । गत शुक्रबार काठमाडौंको तीनकुनेस्थित मण्डला बैंक्वेटमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।  २०८१ वैशाख २७ गते विशाल हुमागाईंसहित २६ जना संस्थापकद्वारा यो कम्पनी स्थापना गरिएको थियो । २०८१ असार ३१ गतदेखि भने कारोबार कारोबार सुरु गरिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुगेको छ भने करिब २ हजार २०० जना सेयरधनीहरू यसमा संलग्न भइसकेका छन् । कम्पनीले छोटो अवधिमै कृषिमा रुपान्तरणको दीर्घकालीन सोचअनुसार बहुआयामिक योजनाहरू अगाडि बढाउँदै आएको छ । साधारण सभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति पनि गरेको छ । साथै, कम्पनीद्वारा सार्वजनिक सूचना मार्फत प्रस्तुत गरिएका विविध विशेष प्रस्तावहरू पनि सभाले बहुमतले पारित गरेको छ । सोही अवसरमा संस्थापक समूह ‘क’ अन्तर्गत तीनजना सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन्, जसमा विशाल हुमागाईं, सुदिप सापकोटा र मैया दुलाल रहेका छन् । सभामा अध्यक्ष हुमागाईंले कम्पनीको हालसम्मका गतिविधिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै कम्पनीले छोटो समयमै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको जानकारी दिए ।  उनका अनुसार कम्पनीले लालबन्दी र निजगढमा परियोजना विस्तार गरिसकेको छ । त्यहाँ कम्पोस्ट मल र डल्लो च्याउ उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । सुपरमार्ट नेपाल डट कम नामक भर्चुअल कृषि बजार प्लेटफर्मको निर्माण अन्तिम चरणमा रहेको र श्रावणदेखि सञ्चालनमा ल्याइने जानकारी दिइएको छ । त्यस्तै कम्पनीले करिब १५ करोड रुपैयाँ अल्पकालीन ट्रेजरी व्यवस्थापनमार्फत लगानी गरेको र हालसम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल आर्जन गर्न सफल भएको विवरण पनि सभामा प्रस्तुत गरिएको थियो । यसैगरी, श्रीलंकाको प्रतिष्ठित कम्पनी सीआईसी अग्रीकल्चर प्रालीसँग सम्पन्न भएको सहकार्य सम्झौताले कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रविधि, ज्ञान र बजार पहुँचमा सशक्त बनाउने अपेक्षा गरिएको छ । कम्पनीले स्थापनाको छोटो अवधिमा जनकपुरमा प्रदेशीय कार्यालय, लालबन्दीमा परियोजना कार्यालय, वीरगञ्ज र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।   अध्यक्ष हुमागाईंले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने अभियानमा कम्पनी दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै यसलाई केवल व्यावसायिक संस्था नभई राष्ट्र, कृषक र उपभोक्ताबीचको समन्वयकारी विकास अभियानको रूपमा अगाडि बढाइने स्पष्ट धारणा व्यक्त गरे । कम्पनीको पारदर्शिता, जवाफदेहीता र दीर्घकालीन रणनीतिमा आधारित कार्यशैलीले यसलाई नेपालकै अग्रणी कृषि कम्पनीको रूपमा स्थापित गर्नेमा उनले विश्वास व्यक्त गरे ।  

नेपाल बैंकद्वारा सडक दुर्घटनामा निधन भएका शिक्षकका परिवारलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा निधन भएका मकवानपुरका एक शिक्षकका परिवारलाई बीमा दाबी रकमस्वरूप ५ लाख प्रदान गरेको छ । मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माविमा कार्यरत शिक्षक रघुनन्दन यादवको गत असार १२ गते थाहा नगरपालिका–३ मा सवारी दुर्घटनामा परि निधन भएको थियो । उनी नेपाल बैंक लिमिटेड, पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहकसमेत थिए । बैंकको कर्मचारी तलब खाता योजनाअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको निधन भएमा अधिकतम रु। ५ लाखसम्मको दुर्घटना बीमा उपलब्ध हुने सुविधा अनुरूप यादवको परिवारलाई उक्त बीमा रकम भुक्तानी गरिएको हो । बैंकले असार २२ गते आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे । उनले बीमा दाबी रकमको चेक यादवकी पत्नी अमिरा कुमारी यादवलाई हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले भने, 'नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई उच्च प्राथमिकता दिँदै आएको छ र भविष्यमा पनि उत्कृष्ट सेवा तथा सुरक्षालाई निरन्तरता दिइनेछ ।' श्रीमती अमिरा कुमारी यादवले दुःखको समयमा बैंकबाट बिना कुनै झन्झट पाएको आर्थिक सहयोगले परिवारको गुजारा गर्न सहज भएको महसुस गरेको प्रतिक्रिया दिइन् ।

एमालेले ‘दुई पुस्ते अभियान’ सुरु गर्ने, अब सदस्य बन्न परीक्षा दिनुपर्ने

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले ‘दुई पुस्ता सँगसँगै’ नामक नयाँ अभियान सुरु गर्ने भएको छ । पार्टी संगठन विभागको हालै सम्पन्न बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभागका सचिव माधव ढुंगेलले पार्टीले सुरु गर्न लागेको अभियानबारे जानकारी दिएका हुन् । विभागको बैठकले पार्टीले निरन्तर सञ्चालन गरिरहेको ‘जरा अभियान’लाई पनि निरन्तरतासहित अगाडि बढाउने निर्णय गरेको छ । सचिव ढुंगेलका अनुसार पछिल्ला विभिन्न अधिवेशनबाट कमिटीमा नपुगेका नेताहरूलाई नयाँ ढंगले समेट्ने र उनीहरूको व्यवस्थापन गरिनेगरी अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । अब कुल जनसंख्याको ६ प्रतिशतलाई पार्टी सदस्य बनाउने र प्रत्येक पटकको सदस्यता नविकरणमा परीक्षा अनिवार्य गर्ने विधि समेत तय गरिने ढुंगेलले जानकारी दिए । साथै साना–साना प्रशिक्षण कार्यक्रम र समुदायस्तरमा जनसंगठन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि विभागले गरेको छ । सचिव ढुंगेलले पार्टीविरुद्ध फैलाइएका अफवाहहरूको कडा प्रतिवाद गर्ने उद्देश्यसहित पनि अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

३४ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २७ सय ६० बिन्दुमा पुगेको छ । मौद्रिक नीति पछि सेयर बजारमा लगानी गर्न लगानीकर्ताहरू उत्साहीत देखिएका छन् । आज २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको सेयर मूल्य घटेको छ ।  मंगलबार ३१७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, निफ्रा ग्रीन इनर्जीको ५० करोड, राधी जलविद्युत कम्पनीको ४३ करोड, एनआइसी एशिया बैंकको ३० करोड र एनआरएन इन्फ्रइस्ट्रक्चरको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ ।  उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले हस्ताक्षर गरेका हुन् ।  कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् ।  सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आवद्ध भएको हो । लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको  छ ।  

मंगलम इन्डष्ट्रिजमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले ३८ करोड लगानी गर्ने

काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले निजी इक्विटी फण्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबाट झन्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ । मंगलबार जारी प्रेस विज्ञप्तिमा कम्पनीले नेपालको उच्च वृद्धिसम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध सो फण्डबाट प्राप्त लगानीलाई भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वास र कम्पनीको विकास यात्राप्रति ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरिएको छ । कम्पनीका अनुसार यो लगानीले कार्यसंचालन प्रक्रियाको सुदृढीकरण, उत्पादनमा नवप्रवर्तन ल्याउने तथा नेपाल र अन्तर्राष्ट्रिय बजारमा उपस्थितिको विस्तार गर्ने दिशामा मद्दत गर्नेछ । मंगलम इन्डष्ट्रिजले उक्त लगानी मुख्यतः वित्तीय अवस्था मजबुत पार्न, दिगोपन र उत्कृष्टता हासिल गर्न प्रयोग गरिने जनाएको छ । साथै, अवसर इक्विटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यले कम्पनीलाई नयाँ व्यवसायिक अवसरको खोज, गुणस्तरीय उत्पादन, र नवप्रवर्तनका नयाँ मापदण्ड तय गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।