दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
काभ्रे । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौंलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । जिल्लामा वार्षिक एक लाख ४९ हजार २८० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । दुग्धमा आत्मनिर्भर यस जिल्लामा एक लाख ४७ हजार ८७४ गाई र एक लाख ३८ हजार ४९९ भैंसीबाट उक्त परिमाणमा दूध उत्पादन भएको जनाइएको छ। कार्यालयका अनुसार कुल गाईमध्ये हालको अवस्थामा ४३ हजार १०७ दूधालु गाई र ५९ हजार ३२० दूधालु भैंसी रहेका छन् । यस्तै जिल्लामा रहेका दूधालु गाईमध्ये २३ हजार ८३५ स्थानीय र १९ हजार २७२ उन्नत जातका छन् । जिल्लाका कुल दूधालु भैंसीमध्ये ३४ हजार ३४० स्थानीय र २४ हजार ९८० उन्नत जातको रहेको कार्यालयले जनाएकोे छ । कार्यालय प्रमुख डा सृजा वाग्लेका अनुसार पछिल्लो समय जिल्लामा दुग्धको बिक्रीबाट जिल्लामा भित्रने रकमबारे आधिकारिक तथ्यांक संकलन भइरहेको छ । जिल्लाको पनौती, बनेपा, मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी दूध उत्पादन हुँदै आएको कार्यालयको तथ्यांकले देखाएको छ । विसं २००९ देखि दूध बिक्री हुँदै आएको इतिहास रहेको काभ्रेपलाञ्चोकलाई २०७३ साल साउनमा ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषणा गरिएको थियो । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार जिल्लामा उत्पादित कुल दूधमध्ये ७० प्रतिशतको हाराहारीमा अन्य जिल्लामा आपूर्ति भइरहेको छ । ‘उत्पादित दूध तथा दुग्धजन्य पदार्थमध्ये ३० प्रतिशत जिल्लामा खपत हुने गरेको र बाँकी काठमाडौंलगायत अन्य जिल्लामा पनि दूध पठाइन्छ,’ संघका अध्यक्ष नारायणप्रसाद बडालले भने । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट ७० सहकारीले व्यवस्थित र एक सयभन्दा बढी निजी तवरबाट दूध संकलन हुँदै आएको छ । काभ्रेमा दैनिक करिब पाँच लाख लिटर दूध उत्पादन हुने गरेको बजारमा तीन लाख लिटर दूध बिक्रीका लागि पठाइने गरिएको बडालले बताए । उनका अनुसार १३ स्थानीय तहमध्ये डाडाँपारिका खानीखोला, महाभारत र कोशीपारिस्थित चौंरीदेउराली तथा भुम्लु गाउँपालिकाबाट तरल दूध बजारमा आउने गरेको छैन । तरल दूध नआउने स्थानीय तहबाट मख्खन, छुर्पी, खुवा, पनिरलगायत दुग्धजन्य पदार्थ बजारमा आउने गरेको संघले जनाएको छ । संघका अनुसार जिल्लाबाट विशेषगरी काठमाडौंमा दूध पठाइनुका साथै पाण्डर बनाउन पोखरा, चितवन, हेटौंडामासमेत दूध पठाइने गरिएको छ । यसैबीच सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा निकै कठिनाइ देखिएको छ । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध संकलन केन्द्रको पटकपटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायीले अझै प्लाष्टिककै भाँडामा दूध ढुवानी गरिरहेका छन् । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । रासस
रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य पद रिक्त भएको भनी सङ्घीय संसद् सचिवालयले गत चैत ३१ गते आयोगलाई जानकारी गराएको थियो । प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै स्थान रिक्त भएमा जुन निर्वाचन विधिबाट रिक्त भएको हो सोही प्रणालीबाट पूर्ति गरिने कानुनी प्रावधान छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको नयाँ उपनिर्वाचन मिति घोषणा गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सरोकार भएका सबैलाई आग्रह गरिएको बताए । आयोगले निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्तासम्बन्धी कार्य स्थगन हुने कानुनी प्रावधानअनुसार तत्कालका लागि नामावली सङ्कलन कार्य रोकिएको प्रवक्ता अर्यालले बताए ।
वीरगञ्ज भन्सारबाट ११ महिनामा साढे ४ खर्बको आयत, निर्यात ८७ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा ४ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात-निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ । चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुलुकबाट भित्रिएका सामानको हिस्सा भने ८.२७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा २८ अर्ब ८६ करोड रुपैयाँको वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चीनबाट आयात हुनेको हिस्सा भने १.२२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा ५ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएका छन् । त्यसैगरी, वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा ८६ अर्ब ९७ करोड रुपैयाँका वस्तु तथा सामान भारत निर्यात भएको छ । भारत निर्यातको हिस्सा भने ९५.०५ प्रतिशत छ । यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ कुल निर्यातको २.३८ प्रतिशत अर्थात् २ अर्ब १८ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ । त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा ६८ करोड रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ ।
सन नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८० रुपैयाँसम्म दिने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि जीवन बीमा कोषको बिमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट असार १५ स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम गरिएको हो । यससँगै कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनस दर तोकेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, ३० वर्षभन्दा माथि अवधिको प्रतिहजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । भाग्योदय जीवन बीमालेख र बाल समृद्ध जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकिएको छ । सावधिक सुनौलो जीवन बीमा र सुनौलो बाल समृद्धि जीवन बीमामा ० देखि १९ वर्ष अवधिका प्रतिहजार ३० रुपैयाँ र २० वर्षदेखि माथि अवधिको ५२ रुपैयाँ बोनसदर कायम गरेको छ । नवीन आजीवन जीवन बीमा योजना ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ६२ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको प्रतिहजार ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा सबै बीमा अवधिमा प्रतिहजार ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिको प्रतिहजार २५ रुपैयाँ, धनलक्ष्मी बीमा योजनामा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, धनञ्जय जीवन बीमा योजना र नव धनलक्ष्मी जीवन बीमालेखमा ० देखि १४ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, २० वर्षदेखि माथि अवधिको प्रतिहजार २५ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
अन्नपूर्ण हेलिकप्टरले माग्यो ७ जना पाइलट
काठमाडौं । अन्नपूर्ण हेलिकप्टर प्रालिले ७ जना पाइलट मागेको छ । अन्नपूर्ण हेलिकप्टरले एएस३५० सिरिज नामको हेलिकोप्टर उडानका लागि ७ जना पाइलट मागेको हो । उक्त हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ । कम्पनीका अनुसार इन्स्ट्रक्टर पाइलट २ जना, पाइलट (क्याप्टन) ३ जना र ट्रेनी (प्रशिक्षार्थी) पाइलट २ जना गरी ७ जना पाइलटका लागि आवेदन खुलाएको हो। इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र २ हजार घण्टाभन्दा बढी समयको उडान अनुभव भएको हुनुपर्नेछ । क्याप्टन पाइलटका लागि एएस३५० सिरिज हेलिकप्टर उडानका लागि लाइसेन्स, १ हजार २ सय घण्टा उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थी पाइलटका लागि पनि लाइसेन्स अनिवार्य गरिएको छ ।
सिटिजन्स सदाबहार योजनामा आवेदन दिने समय लम्बियो
काठमाडौं । सिटिजन्स क्यापिटलको सिटिजन्स सदाबहार खुलामुखि योजनामा आवेदन दिने समय लम्बिएको छ । असार १३ गतेदेखि बिक्री खुला गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सदाबहार योजनामा अब असार २७ गतेसम्म आवेदन दिने सकिनेछ । कम्पनीले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका ५ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई कोष प्रवर्धक सिटिजन्स बैंक र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।
हिम स्टार उर्जाले असार २४ गतेदेखि आईपीओ बिक्री गर्ने, १० हजार कित्ता आवेदन दिन पाइने
काठमाडौं । हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता, सामूहिक लगानी कोषहरुलाई ४६ हजार ६२५ कित्ता र बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त समयमा सेयर बिक्री नभएमा आवेदन दिने समय साउन ६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेका महाशाखाले जनाएको छ ।