‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
धर्मेन्द्र झा/सिबी अधिकारी काठमाडौं । माछाको फुल, तीते करेला र भ्यान्टाको समिश्रणबाट बनाइएको करेली माछाको तरकारी आहा ! कति आकर्षक जिब्रोमै झुन्डिने स्वाद ! वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले पस्केको थाली सेटमा माछाको विशेष तरकारी हेर्दा जति आकर्षक थियो खादा पनि उत्तिकै जिब्रोमा झुन्डिने स्वादिलो थियो । असारको पन्ध्र । अपरान्ह समय । बाहिर सिमसिमे पानी अनि सिलौटो बजेटभित्र मीठो सङ्गीतका साथमा नेपाली रैथाने खानाको परिकारको स्वादले वातावरणलाई थप रौनकता प्रदान गरेको थियो । खानाको प्रदर्शनी र तरङ्गिएको बास्नाले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । विशिष्ट व्यक्ति र आगन्तुक पाहुनासहित सेफहरूले पस्केका खानाको परिकारमा सबै झुम्मिएका थिए । बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अनामनगर स्थित सुप्रसिद्ध सिलौटो कटेजमा नेपाली खाना प्रवर्द्धन अभियान र अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक कलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण सङ्गीतमय वातावरणमा सहभागी हुँदै, मार्सी चामलको परिकारको खाना खाइयो, साह्रै मीठो, कति स्वादिलो आहा !’ राष्ट्रिय धान दिवसको अवसर पारेर यही असार १५ गते सिलौटोमा आयोजित भोजनलिपि स्वादको चौथो संस्करणमा प्रस्तुत गरिएको पाककलामा आधारित माछाको परिकारले पाहुनाको ध्यान खिचेको थियो । सबैको जिब्रोमा स्वाद गडिएको थियो । साधना कला केन्द्रका कलाकारले मादल, बासुरीको सुमधुर धुनले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । विभिन्न प्रजातिका माछाको फुल सङ्कलन गरेर सेफ केसीले माछाको आकर्षक परिकार बनाएका हुन् । साल्मन, बुझवा, सोल, जलकपुरलगायत माछाको फुलको तरकारी बनाइएको सेफ केसीले बताए । सेफ कँडेल र खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करणमा प्रदर्शित खाना स्वादिष्ट हुनुका साथै आकर्षक देखिन्थ्ये । नेपाली रैथाने खानालाई आकर्षक रूपमा सजाइएको दृष्य रोचक थियो । सोल्टी होटलमा ३१ वर्ष सेफका रूपमा काम गर्नुभएका नेपालका पहिलो सेफ केसीको नेतृत्वमा भोजनलिपि स्वाद पस्किइएको हो । स्वदेशी तथा विदेशी राष्ट्रप्रमुख, विश्वचर्चित र ख्यातिप्राप्त ‘सेलिब्रेटी’लाई खानाको परिकार पस्किएका केसीले नेपाली खानाको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानलाई साथ दिन अभिभावकीय भूमिका निर्वाह गरेको बताए । ‘भोजनलिपि स्वादको यस संस्करणअन्तर्गत पाहुनाको विशेष आग्रहबमोजिम माछाको फुलको तरकारी पस्किएको छु, यसलाई सहभागी सबैले रुचाइदिनुभयो । यो जीवनकै बेग्लै र फरक स्वाद लिएको प्रतिक्रिया दिनुभएको छ, यसले आफूलाई पनि हौसला मिलेको छ,’ उनले भने । माछाको फुलको तरकारीसहित करेला र भ्यान्टाको मिश्रणबाट बनेको परिकार प्रस्तुत गरिएको थियो । केसी आफैँले कालीमाटीबाट माछा माग गरेर पाककला प्रस्तुत गरेका हुन् । उनले भने, ‘वितरकसँग तीन दिन अगाडि माछा माग गरेका थियौँ । यो अत्यन्तै स्वास्थ्यवर्द्धक र स्वादिलो परिकार हो । युरोपियन संस्कृतिमा ‘सी फुड’ अर्थात् माछालाई ‘ब्रेन्ड फुड’ पनि भनिन्छ । माछालाई सही किसिमले सदुपयोग गरिएमा मस्तिस्क तिखो हुने विश्वास गरिन्छ ।’ सेफ केसीले भने, ‘माछाको फुललाई निकालेर केही समय फ्रिजमा राखिन्छ । थोरै नुन र बेसार हालेर उसिन्नुपर्छ । यसलाई करिब १५ देखि ३५ मिनेटसम्म पकाइन्छ । त्यसपछि चिसो पानी र आइस हालेर पुनः फ्रिजमा राखी माछाको पातलो जालो निकालेर टुक्रा पारिन्छ । सोही साइजको करेला र भ्यान्टा काटेर मिसाइन्छ । तोरीको दाना, करी पत्ता, सजिवनलगायत मसलाको प्रयोग गरिन्छ ।’ सिलौटोमा सबै मसला पिनेर स्वाद तयार गरिन्छ । नेपाली वास्तुकला झल्किने, नेपाली संस्कृतिसँग सम्बन्धित नेपाली रैथाने खानाको प्रवर्द्धन गरिएको उल्लेख गर्दै सेफ केसीले सेफ कँडेलको भोजनलिपि स्वादको सोच र अवधारणालाई सार्थक बनाउन आफूले सक्रिय साथ दिएको उल्लेख गरे । पहिलो रोजाइ डोमा लड्डु भोजनलिपिको चौथो संस्करणमा सेफहरूले माछाको तरकारीबाहेक लौका र गाँजरलाई गलाएर सखरको समिश्रणमा बनेको डोमाको लड्डुको बेग्लै आकर्षण थियो । स्वादिष्ट र स्वास्थ्यवर्द्धक लड्डु पाहुना तथा ग्राहकको पहिलो रोजाइमा परेको थियो । गाजर र लौकलाई करिब ६ घण्टाको मेहेनतमा बनाइएको डोमाको लड्डु पानको पातमा सजाइएको थियो । यस्तै मार्सी चामलको भात, ढिँडो, खस्रो च्याख्ला, खुट्टीको सुप, खसीको मासु, लोकल कुखुराको मासु, हाँसको छोयला, सिस्नोको सुप, हाँसको छोयला, फापर र आलुलाई मिसाएर बनाइएको रिकीपुरको विशेष प्रस्तुति थियो । मार्सी भात र कड्कनाथ करी, च्याँख्ला, डिँडोसँग खसीको करङ, नङ्ग्रे सपेटो, इन्द्रेणी मोमो, हाँसको छोइला, रिकीकुर, कन्चेम्वा, गोरस (मही), दही फ्रुट र चिउरा, करेसाबारी फलफूल सलादको प्रदर्शनी आकर्षक र रुचिकर थियो । भोजनलिपि स्वादका संस्थापक सेफ कँडेलले प्रदर्शनीको खाना हिमाल, पहाड र तराईका साथै जातजातिलाई समेटेर बनाइएको बताए । उनका अनुसार रिकीकुर, थकालीलगायत खानाको परिकार पस्किने प्रयास गरिएको हो । चौथो संस्करणसम्म आइपुग्दा आफूमा हौसला बढेको भन्दै यसले स्वस्थ्यवर्द्धक खानाको प्रवर्द्धनमा मद्दत पुगेको उनको भनाइ छ । लड्डु, ढिँडो, च्याख्ला रिकीकुरलगायत परिकार कार्यक्रमको आकर्षण थिए । चौथो संस्करणमा राजनीति, समाजसेवी, सञ्चारजगतलगायत क्षेत्रको प्रतिनिधित्वसँगै खानाको परिकारप्रतिको हौसलाले आगामी दिनका संस्करणलाई थप आकर्षक बनाउन ऊर्जा मिलेको सेफ कँडेलले बताए । उनले नेपालमा दक्ष सेफ जनशक्तिको अभाव रहेको बताउँदै अहिले पनि कतिपय रेष्टुरेन्ट र होटलमा तालिमप्राप्त सेफको अभाव खड्किएकाले अभियानमार्फत दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सिलौटो कटेजका सञ्चालक मिन भण्डारीले असारे झरीमा पनि धेरैभन्दा धेरै पाहुनाको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए । उनले किसानले उत्पादन गरेका सामान ल्याएर मौलिक परिकार बनाई खानाको प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै भोजनलिपि स्वाद अभियानसँग संस्थाले सहकार्य गरेर जाने प्रतिबद्धता जनाए । उनका अनुसार सिलौटोले रैथाने परिकारको स्वादको सुनिश्चितताका लागि सिलौटोमा पिँधेको अचार, लोकल खसीको मासु, आगोमा कसौँडीमा पकाएको पक्कु, मसला आफैँ पिस्ने र माछा पोखरीबाटै ल्याएर पकाउने गरिएको छ । नेपाली खाना प्रवर्द्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले चौथो संस्करणसम्म आइपुग्दा कार्यक्रम प्रभावकारी भएको तथा खानाको स्वाद र गुणस्तरमा पनि सुधार आएको बताए । भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी रहेको उनले उल्लेख गरे । नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजले आयोजना गरेको कार्यक्रममा विभिन्न जिल्लामा उत्पादित कृषि उपजबाट बनेका परिकार प्रस्तुत गरिएको थियो । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न १५ प्रकारका परिकार राखिएको थियो । अभियानको संयोजनमा यसअघि तीन वटा भोजनलिपि स्वाद संस्करण आयोजना भइसकेको छ । हालसम्म करिब ४० जिल्लाका कृषि उपजका परिकार प्रस्तुत गरिएको थियो । अभियानले विस्तारै देशका ७७ जिल्लाका कृषि उपजलाई समावेश गर्ने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय स्वादका अध्येता सेफ कँडेलले पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गरिसकेका छन् । सेफ खड्कासँगको सहलेखनमा भोजनलिपि ‘कुकबुक’ प्रकासोन्मुख रहेको कँडेलले जानकारी दिए । नेपाली पाककला क्षेत्रका ख्याति प्राप्त गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे र नयाँ पुस्ताका पूर्ण श्रेष्ठ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरूसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताइएको छ ।रासस
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपरान्ह १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरू मध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ । त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक-२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको जनाए । त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिनेछ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा सदनलाई जानकारी संसद् सचिवालयले जनाएको छ ।
नेपाल एयरलाइन्स ६७ वर्षमा : बजारमा खस्कँदो उपस्थिति, ५० अर्ब रुपैयाँ पुग्यो ऋण
काठमाडौं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०-२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्स दुबई र साउँदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ । निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा पछिल्ला वर्षमा सामान्य कार्यक्रम मात्र गर्दै आएको छ । स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन । निगमको ऋण दायित्व करिब ५० अर्ब रुपैयाँ पुगेको जनाइएको छ । वाइड बडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तराष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको छ । निगमको विद्यमान अवस्थाको सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन । निगमको व्यवस्थापकीय सुधारका लागि तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । निगमका प्रवक्ता सुवास डाँगीले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा भएका चारवटै वाइड बडी विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको दाबी गरे। आन्तरिक बजारमा विमानको सङ्ख्या कम भएकाले सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको उनले बताए । अन्तर्राष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान सेवा विस्तारका लागि पहल भइरहेको प्रवक्ता डाँगीले जानकारी दिए ।
पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले सोमबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट नै मूल्य बढेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ रुपैयाँ ८८ पैसा मूल्य बढेर आएको भएको छ । यद्यपी, सर्वसाधारणको हितलाई ध्यान दिएर निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ़ाएको छ भने मट्टितेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढ़ाएको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।
६ महिनामा बुद्ध एयरको आम्दानी साढे ७ अर्ब रुपैयाँ, यस्तो छ एक दशकको व्यवसाय
काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयर प्रालिले ६ महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ । बुद्ध एयर प्रालिले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (सन् २०२५) मा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबर कारोबार गरेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी बढेको छ । सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जबकि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको देखिन्छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०१७ मा ५ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१६ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ३० करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलरमा दीर्घकालिन ऋण लिएको छ। यस्तै, अल्पकालीन ऋणतर्फ कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन, ८२ करोड ९९ लाख रुपैयाँ ओभरड्राफ्ट र ८ करोड रुपैयाँ बैंक ग्यारेन्टी लिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि इक्रा एनपी एटूप्लस र दीर्घकालिन ऋणका लागि एक्राएनपी एलए माइनस रेटिङ प्रदान गरेको छ । नेपालको आन्तरिक हवाई उडानमा ६० प्रतिशत बजार हिस्सा बुद्ध एयरले ओगटेको कम्पनीले जनाएको छ । १९९६ मा स्थापित बुद्ध एयरले १८ सिटे जहाजबाट उडान सुरु गरेको थियो । नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा बुद्ध एयर अग्रणी हो । ललितपुरस्थित मुख्य कार्यालयबाट सञ्चालन हुँदै आएको बुद्ध एयरको प्रमुख आधार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । बुद्ध एयरले काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आएको छ । यसका साथै कम्पनीले हिमाल दर्शन उडान तथा पोखराबाट अन्नपूर्ण क्षेत्रका विशेष उडान पनि सञ्चालन गर्दै आएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।
शिक्षा विधेयकमा सरोकारवालाहरूले चलखेल गरिरहेको सांसद भट्टराईको आरोप
काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरूले चलखेल गरिरहेको आरोप लगाएकी छन् । सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै यस्तो आरोप लगाएकी हुन् । उनले सरकार समेत इन्ट्रेस्ट ग्रुपको दबाबमा काम गरिरहेको आरोप बताइन् । विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार इन्ट्रेस्ट गु्रपसँग छलफल गरिरहेको सांसद भट्टराईको आरोप छ । यसरी संसदको गरिमा र मर्यादा बाँकी नरहने उनको भनाइ छ । सांसद भट्टराईले भनिन्, ‘सरकार कि मस्यौदामा उभिनुपर्यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्यो । सरकार हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराहरूको पछि लाग्ने हो भने संसदको गरिमामय मर्यादा बाँकी रहन्न मस्यौदामा त ५० आन्तरिक र ५० प्रतिशत खुला पतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने कुरा भनेका थियौं । त्यहाँबाट सहमतिका लागि ६० ६० आन्तरिकबाट र ४० खुला प्रतिस्पर्धाबाट भन्ने कुरामा पुगेको हो ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरोकारवालाहरूको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति जनाएका छन् ।
९ जनाले पाए राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडी तथा समान एक प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सोमवार कुल ९ जना खेलकर्मी राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित भएका हुन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरे । सबैलाई सम्मानपत्र र नगद एक लाख पुरस्कारबाट सम्मान गरिएको हो । खेलाडीतर्फको पुरस्कारबाट तेक्वान्दोका तीन खेलाडी वीरबहादुर महरा, प्रेमबहादुर लिम्बू र पारा तेक्वान्दोका भरतसिंह महता, कबड्डीका मानमति बिष्ट र अनुजा कुलुङ राई र फुटबलकी दीपा शाही पुरस्कृत भए । मानमति र अनुजा चीनमा सम्पन्न १९औं एसियन गेम्समा नेपालका लागि कांस्य पदक विजेता महिला कबड्डी टोलीका सदस्य हुन् । प्रशिक्षकको पुरस्कारबाट पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पुरस्कृत भए । पेरिसमा सम्पन्न पारालिम्पकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक दिलाउँदा लामा प्रशिक्षक हुन् । निर्णायकतर्फ बक्सिङका धनकुमार मैनाली र चिकित्सकतर्फ डा. राजु डंगोलले पुरस्कृत भए । सोही अवसरमा खेलकुद पत्रकारिता सम्मानबाट नयाँपत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्याय सम्मानित भए । उनी नगद ५० हजार सम्मानपत्रबाट सम्मानित भएका हुन् । खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारतर्फ कोशी प्रदेशका मुकुन्द घिमिरे र समावेशी महिलातर्फ नमिता दाहाल पुरस्कृत भएका छन् । घिमिरेले बिजमान्डुमा र दाहालले अन्नपूर्णपोस्टमा खेलकुद विधामा कलम चलाउँदै आएका छन् । गण्डकी प्रदेशबाट दिननाथ बराल, मधेशबाट सरदचन्द्र भट्टराई, बागमतीबाट विक्रमकुमार बानियाँ,कर्णालीबाट दिनेशकुमार बुढा, सुदूरपश्चिमबाट दिनेशबहादुर विष्ट र समावेशी दलित तर्पmबाट रूपा गहतराजले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रोत्साहन पुरस्कारतर्फ उनीहरूले सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्राप्त गरे । खेलकुदमन्त्री चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राखेप सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरेका थिए ।
विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छिन् । इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब ढिला गर्न नहुने बताइन् । उनले भनिन्, 'अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू राष्ट्रहरू जलवायु परिवर्तनको ठूलो जोखिममा परिरहेका छन् । यसले ती देशमा कृषि उत्पादन र जिवीकोपार्जनमा समेत नराम्रोसँग असर गरिरहेको छ । आफ्ना एजेण्डामार्फत विश्वमा सहकार्य गर्न नेपालले हालै सगरमाथा संवाद सम्पन्न गरेको छ । आगामी दिनमा सबै राष्ट्रबीच साझा एजेण्डासहित सहकार्य जरुरी छ ।' परराष्ट्रमन्त्री डा देउवाले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरूको विकास आवश्यक रहेकोमा पनि जोड दिइन् । जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपायसहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको उनले बताइन् । मन्त्री डा राणाले भनिन्, 'प्रविधि, सहकार्य र ऐक्यबद्धताले मात्र सम्भावना र उपलब्धि बीचको खाडललाई पुर्न सक्नेछ । नेपालले दक्षिण–दक्षिण र उत्तर–दक्षिण सहयोग प्रवर्द्धन, प्रविधि स्थानान्तरण, बजारमा विस्तार तथा वित्तीय स्रोतमा पहुँचका लागि सदैव आग्रह गर्दै आएको छ ।' अहिले नेपालसहितका यी देशहरूले खाद्य असुरक्षा, कुपोषण, जलवायु परिवर्तनजस्ता साझा सङ्कटको सामना गरिरहेका र यसले प्राप्त उपलब्धिलाई पनि खतरामा पारिरहेको उनले बताइन् । मन्त्री डा राणाले नेपालले जलवायुजन्य विपद्, कमजोर पूर्वाधार, जैविक विविधताको क्षय, प्रविधि तथा वित्तमा सीमित पहुँचजस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको बताइन् । उनले एफएओद्वारा अघि सारिएको ‘फोर बेटर’ अर्थात् ‘राम्रा चार’ जस्तै राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनले कृषि प्रणालीमा रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् । मन्त्री डा राणाले राम्रो उत्पादनअन्तर्गत नेपालले जलवायुमैत्री खेती प्रणाली, पहाडी क्षेत्रमा बढीमूल्यका बाली र स्थानीय नवीनता तथा कृषिमा आधुनिकीकरण गरिरहेको र राम्रो पोषण अन्तर्गत विशेष समुदाय लक्षित पोषिलो खाद्यान्न प्रवर्द्धन गरिरहेको बताइन् । त्यसैगरी राम्रो वातावरणअन्तर्गत नेपालले पुनःप्रजनन कृषि, माटो तथा जल र जैविक विविधता संरक्षणमा प्राथमिकता दिएको र राम्रो जीवनतर्फ महिला, युवालगायत साना किसान तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता, सामाजिक सुरक्षा, ग्रामीण पूर्वाधार र सेवामा पहुँच विस्तार गरेर जीविकोपार्जनमा सुधार ल्याएको मन्त्री डा राणाको भनाइ छ । मन्त्री डा राणाले कृषि क्षेत्रमा नेपालमा ६० प्रतिशतभन्दा बढी जनशक्ति संलग्न रहेको र राष्ट्रिय उत्पादनमा कृषिको २३ प्रतिशत योगदान रहेको उल्लेख गर्दै कृषि रोजगारीको माध्यम मात्र नभई पोषण र जीवनयापनको माध्यम भएको पनि बताइन् । रासस