विकासन्युज

९ जनाले पाए राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडी तथा समान एक प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सोमवार कुल ९ जना खेलकर्मी राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित भएका हुन् ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरे । सबैलाई सम्मानपत्र र नगद एक लाख पुरस्कारबाट सम्मान गरिएको हो ।   खेलाडीतर्फको पुरस्कारबाट तेक्वान्दोका तीन खेलाडी वीरबहादुर महरा, प्रेमबहादुर लिम्बू र पारा तेक्वान्दोका भरतसिंह महता, कबड्डीका मानमति बिष्ट र अनुजा कुलुङ राई र फुटबलकी दीपा शाही पुरस्कृत भए । मानमति र अनुजा चीनमा सम्पन्न १९औं एसियन गेम्समा नेपालका लागि कांस्य पदक विजेता महिला कबड्डी टोलीका सदस्य हुन् । प्रशिक्षकको पुरस्कारबाट पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पुरस्कृत भए । पेरिसमा सम्पन्न पारालिम्पकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक दिलाउँदा लामा प्रशिक्षक हुन् ।  निर्णायकतर्फ बक्सिङका धनकुमार मैनाली र चिकित्सकतर्फ डा. राजु डंगोलले पुरस्कृत भए । सोही अवसरमा खेलकुद पत्रकारिता सम्मानबाट नयाँपत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्याय सम्मानित भए । उनी नगद ५० हजार सम्मानपत्रबाट सम्मानित भएका हुन् ।  खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारतर्फ कोशी प्रदेशका मुकुन्द घिमिरे र समावेशी महिलातर्फ नमिता दाहाल पुरस्कृत भएका छन् । घिमिरेले बिजमान्डुमा र दाहालले अन्नपूर्णपोस्टमा खेलकुद विधामा कलम चलाउँदै आएका छन् ।  गण्डकी प्रदेशबाट दिननाथ बराल, मधेशबाट सरदचन्द्र भट्टराई, बागमतीबाट विक्रमकुमार बानियाँ,कर्णालीबाट दिनेशकुमार बुढा, सुदूरपश्चिमबाट दिनेशबहादुर विष्ट र समावेशी दलित तर्पmबाट रूपा गहतराजले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे ।  प्रोत्साहन पुरस्कारतर्फ उनीहरूले सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्राप्त गरे । खेलकुदमन्त्री चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राखेप सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरेका थिए । 

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छिन् । इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब ढिला गर्न नहुने बताइन् । उनले भनिन्, 'अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू राष्ट्रहरू जलवायु परिवर्तनको ठूलो जोखिममा परिरहेका छन् । यसले ती देशमा कृषि उत्पादन र जिवीकोपार्जनमा समेत नराम्रोसँग असर गरिरहेको छ । आफ्ना एजेण्डामार्फत विश्वमा सहकार्य गर्न नेपालले हालै सगरमाथा संवाद सम्पन्न गरेको छ । आगामी दिनमा सबै राष्ट्रबीच साझा एजेण्डासहित सहकार्य जरुरी छ ।' परराष्ट्रमन्त्री डा देउवाले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरूको विकास आवश्यक रहेकोमा पनि जोड दिइन् । जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपायसहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको उनले बताइन् । मन्त्री डा राणाले भनिन्, 'प्रविधि, सहकार्य र ऐक्यबद्धताले मात्र सम्भावना र उपलब्धि बीचको खाडललाई पुर्न सक्नेछ । नेपालले दक्षिण–दक्षिण र उत्तर–दक्षिण सहयोग प्रवर्द्धन, प्रविधि स्थानान्तरण, बजारमा विस्तार तथा वित्तीय स्रोतमा पहुँचका लागि सदैव आग्रह गर्दै आएको छ ।' अहिले नेपालसहितका यी देशहरूले खाद्य असुरक्षा, कुपोषण, जलवायु परिवर्तनजस्ता साझा सङ्कटको सामना गरिरहेका र यसले प्राप्त उपलब्धिलाई पनि खतरामा पारिरहेको उनले बताइन् । मन्त्री डा राणाले नेपालले जलवायुजन्य विपद्, कमजोर पूर्वाधार, जैविक विविधताको क्षय, प्रविधि तथा वित्तमा सीमित पहुँचजस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको बताइन् । उनले एफएओद्वारा अघि सारिएको ‘फोर बेटर’ अर्थात् ‘राम्रा चार’ जस्तै राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनले कृषि प्रणालीमा रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् । मन्त्री डा राणाले राम्रो उत्पादनअन्तर्गत नेपालले जलवायुमैत्री खेती प्रणाली, पहाडी क्षेत्रमा बढीमूल्यका बाली र स्थानीय नवीनता तथा कृषिमा आधुनिकीकरण गरिरहेको र राम्रो पोषण अन्तर्गत विशेष समुदाय लक्षित पोषिलो खाद्यान्न प्रवर्द्धन गरिरहेको बताइन् । त्यसैगरी राम्रो वातावरणअन्तर्गत नेपालले पुनःप्रजनन कृषि, माटो तथा जल र जैविक विविधता संरक्षणमा प्राथमिकता दिएको र राम्रो जीवनतर्फ महिला, युवालगायत साना किसान तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता, सामाजिक सुरक्षा, ग्रामीण पूर्वाधार र सेवामा पहुँच विस्तार गरेर जीविकोपार्जनमा सुधार ल्याएको मन्त्री डा राणाको भनाइ छ । मन्त्री डा राणाले कृषि क्षेत्रमा नेपालमा ६० प्रतिशतभन्दा बढी जनशक्ति संलग्न रहेको र राष्ट्रिय उत्पादनमा कृषिको २३ प्रतिशत योगदान रहेको उल्लेख गर्दै कृषि रोजगारीको माध्यम मात्र नभई पोषण र जीवनयापनको माध्यम भएको पनि बताइन् । रासस

सेयरजस्तै लगानीको उपकरण सुन, नबिल बैंकले दिन्छ ८.९ प्रतिशत ब्याजमा ‘सुन कर्जा’

काठमाडौं । ‘नेपाली समाज जस्तै भारत, थाइल्याण्ड, भियतनामलगायत दक्षिण पूर्वी एसियाका मुलुकमा पनि सुनचाँदीको सांस्कृतिक र सामाजिक मूल्य मान्यता छ । चाडपर्वदेखि विवाह समारोहमा सुनको सांस्कृतिक र सामाजिक मान्यतालाई नकार्न सकिँदैन । हामी आफैले सुन उत्पादन गर्दैनौं, आयातित सुनलाई नै विभिन्न ढाँचामा ढालेर प्रयोग गर्ने हो । सुन आयातमा अर्बाैं विदेशी मुद्रा बाहिरिन्छ,’ नबिल बैंककी रिटेल लेण्डिङ हेड चाँदनी श्रेष्ठले भनिन्, ‘त्यसैले हामीसँगै भएको सुनलाई वित्तीय उपकरण (फाइनान्सियल टूल)मा परिणत गरौं । नबिल बैंकले हामीसँगै भएको सुनलाई वित्तीय स्रोतको रूपमा प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ ।’  हो, नेपालमा सुन उत्पादन हुँदैन । नेपाल राष्ट्र बैंकले कोटा सिस्टममा बैंकहरूलाई सुन आयात गर्न दिएको छ । विदेशबाट सुन आयात गर्दा अर्बाैं विदेशी मुद्रा बाहिरिने गरेको छ । नबिल बैंकले नेपालीहरूसँग घरमै थन्किएर रहेको सुनलाई नगदमा रूपान्तरण गर्न खोजिरहेको छ । सुनलाई धितो राखेर कुनै पनि उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिने गरी बैंकले सुन कर्जा प्रवाह गरिरहेको श्रेष्ठको भनाइ छ । ‘लकरमा बसेको आइडल गोल्ड छ, तपाईं हामीले त्यतिकै घरमा सुन राखिरहेका छौं । अब आयात हुने सुनलाई होइन, घरमा राखिएको, बैंकको लकरमा राखिएको सुनलाई आइडल सम्पत्तिको रूपमा मात्रै नलिएर वित्तीय उपकरणको रुपमा विकास गर्न सकिन्छ,’ उनले भनिन्, ‘आफूसँग भएको सुनलाई धितो राखेर कर्जा लिएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ । जस्तो कुनै व्यापार व्यवसाय, एसएमई, साना तथा घरेलु उद्यममा सुन धितो राखेर लगानी गर्न सकिन्छ । छोराछोरीको उच्च शिक्षाको लागि त्यो रकम प्रयोग गर्न सकिन्छ।’  श्रेष्ठका अनुसार सुनलाई जसरी आइडल सम्पत्तिको रूपमा लिइएको छ, त्यो सुनलाई वित्तीय उपकरणको रुपमा विकास गर्न सकियो भने त्यसले अर्थतन्त्रमा समेत योगदान पुर्याउने छ । सुन कर्जा गर्जाे टार्नका लागि लिने गरिएको छ । घरमा थन्किएर बसेको, बैंकको लकरमा रहेको सुन कहिलेकाहीँ चाडपर्व, विवाह समारोहमा लगाउने बाहेक त्यो सुनले प्रतिफल दिँदैन । त्यसैले उक्त सुनलाई धितोमा राखेर कर्जा लिई व्यापार व्यवसायमा लगानी गर्न सकियो भने त्यसबाट प्रतिफल पनि प्राप्त हुने उनको भनाइ छ । अनौपचारिक माध्यमबाट सुन कर्जा लिँदा महँगो पर्ने भएकाले बैंकले सस्तो ब्याजदरमा कर्जा दिइरहेको छ ।  ‘जस्तो सुन पसलमा ऋण लिन जाँदा उच्च ब्याज हुन्छ । कहिलेकाहीँ विश्वास पनि कम हुन्छ । तर, बैंकमा धितो राखेर कर्जा लिएपछि सुन सुरक्षित हुने भयो । लकरको पैसा पनि तिर्नु परेन । बैंकले ग्राहकको सुनलाई सुरक्षित रूपमा धितोको रूपमा राखिदिन्छ,’ उनले भनिन्, ‘अनौपचारिक च्यानलबाट कर्जा लिनुभन्दा बैंकमा कर्जा लिँदा धेरै सस्तो ब्याजमा पाइन्छ । अहिले एकल अंक ब्याजदरमा नै कर्जा उपलब्ध छ । जबकि अनौपचारिक माध्यमबाट कर्जा लिँदा २४/२५ प्रतिशतसम्म ब्याजदर तिर्नु परेको हुन्छ ।’ विगतमा सुनलाई सांस्कृतिक र सामाजिक मान्यताका रूपमा मात्रै लिइन्थ्यो । तर, पछिल्लो सुनलाई धितो राखेर कर्जा लिने र त्यो रकमलाई प्रयोग गर्ने अभ्यास बढिरहेको श्रेष्ठले बताइन् । चाडपर्व, विवाह समारोहमा प्रयोग हुने सुन अहिले वित्तीय उपकरणका रूपमा परिचालन भइरहेको छ ।  ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कसरी तलमाथि भइरहेको छ, यसको रेट अफ रिटर्न के छ ? सुनको वृद्धि कस्तो छ, प्रतिफल कति छ ? सबै एसेसमेन्ट गर्न सकिने हुँदा सुनलाई प्रयोग गर्न सकिन्छ  । जसरी सेयरलाई लगानी उपकरणको रूपमा लिइन्छ, त्यसरी सुनलाई पनि लगानी उपकरणको रुपमा लिइरहेका छन्,’ उनले भनिन्।  नबिल बैंकमा सुन कर्जा  नबिल बैंकले २२ क्यारेट र २४ क्यारेटको सुनलाई मात्रै धितोको रूपमा स्वीकार गर्छ । ग्राहकहरूले आफूसँग भएको सुन धितो राखेर बैंकबाट सहज रुपमा कर्जा लिन सकिने रिटेल लेण्डिङ हेड श्रेष्ठ बताउँछिन् । उनका अनुसार सुन धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म बैंकले कर्जा दिइरहेको छ ।  बैंकको आधार दर ५.९ प्रतिशत छ । आधार दरमा ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरी कर्जा दिइरहेको उनले बताइन् । १० लाख रुपैयाँसम्मको कर्जालाई बिल अनिवार्य छैन । तर, १० लाखभन्दा माथिको कर्जालाई बिल अनिवार्य गरिएको छ । मिसावट हुने सम्भावना रहेकाले २४ क्यारेट सुनमा १० प्रतिशत र २२ क्यारेट सुनमा २० प्रतिशत हेयर कट गरिन्छ । त्यसपछिको मूल्यमा ७० प्रतिशतसम्म कर्जा दिइन्छ । प्रतितोला २ लाख रुपैयाँ मूल्यका आधारमा एक तोला सुन धितो राख्दा ग्राहकले १ लाख २६ हजार रुपैयाँसम्म कर्जा पाउने उनले बताइन् ।  साथै बैंकसँग सुन खरिद कर्जा योजना पनि छ । ग्राहकसँग सुन छैन र आफ्नो आवश्यकता वा सन्तानका लागि सुन जोड्ने इच्छा छ भने सुन खरिद कर्जा योजनामार्फत आवश्यक पर्ने सुन खरिद गरेर भविष्यका लागि सुन जोड्न सकिने उनको भनाइ छ ।  सुन खरिद गर्नका लागि बैंकले १० लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । जसको लागि बैंकले सुनचाँदी व्यवसायीसँग सम्झौता गरेको छ । जस्तो ग्राहक र सुनचाँदी व्यवसायी बैंकमा आउनु पर्ने हुन्छ । बैंकको सुन जाँचकीले सुन जाँच गरेपछि गुणस्तर र परिमाणलाई नियमानुसार ७० प्रतिशतसम्म कर्जा दिने गरिएको छ ।  सो भ्यालूका आधारमा बैंकले १० लाख रुपैयाँ नबढ्ने गरी कर्जा दिइरहेको छ । त्यो पैसा ग्राहकले सुन व्यवसायीलाई दिनेछ । यदि १० लाख रुपैयाँको सुन खरिद गरिएको छ भने मासिक इएमआई १२ हजार हाराहारी रुपैयाँ मात्रै रहेको श्रेष्ठको भनाइ छ ।  सुन कर्जामा मुख्य जोखिम तौल र गुणस्तर (क्वालिटी)मा हुने गरेको उनले बताइन् । अनुभवी सुन जाँचकी राखेको भएपनि कथमकदाचित सुन जाँचमा तलमाथि भयो भने बैंकले ठूलो नोक्सानी बेहोर्नु पर्ने उनको भनाइ छ । जस्तो तीन तोला भनेर लिएको सुन २ तोला ८० लाल मात्रै निस्कियो भने बैंकलाई घाटा हुन सक्ने भएकाले धेरै सजग हुनुपर्ने उनले बताइन् ।  १० लाख रुपैयाँसम्मको कर्जामा कर्जा सूचना केन्द्रबाट सीआईसी लिन नपर्ने हुँदा कर्जा सरल रुपमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।   बैंकले हालसम्म १ अर्ब भन्दा बढी सुन धितो कर्जा प्रवाह गरेको छ । उक्त कर्जा १ हजार भन्दा बढी ग्राहकले लिएका छन् । काठमाडौं उपत्यकासहित देशभरका शाखा कार्यालयबाट सुन कर्जा सहज रुपमा उपलब्ध भइरहेको उनले बताइन् । 

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो ।  इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ । बैंकले बैंकिङ सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ । डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ, नविनतम साइबर सुरक्षा मापदण्डको अवलम्बन जस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरुप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।  बैंकले विगत २५ वर्षदेखि देशभर वित्तीय पहुँच विस्तार गर्दै सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।  

चीनले जापानी सिफुडमाथि लगाएको प्रतिबन्ध आंशिक रूपमा हटायो, किन लगाएको थियो ?

काठमाडौं । चीनले जापानका अधिकांश क्षेत्रहरूबाट सीफुड (समुद्री खाद्यपदार्थ) आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध दुई वर्षअघि फुकुशिमा परमाणु संयन्त्रबाट उपचार गरिएको दूषित पानी समुद्रमा फालिँदा हुन सक्ने असरको चिन्ताका कारण लगाइएको थियो । बेइजिङले अब जापानबाट आयात ‘शर्तसहित फेरि सुरु गर्ने बताएको छ, तर यो निर्णय जापानका ४७ मध्ये १० प्रान्तमा लागू नहुनेछ- जसमा टोकियो र फुकुशिमा पनि समावेश छन् । चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सले जुन २९ मा फुकुशिमाको दूषित पानीमाथि लामो समयसम्म गरिएको निगरानीमा संकलित नमूनाहरूमा कुनै गडबडी नभेटिएको जनाएको छ । सन् २०११ मा जापानको उत्तरपूर्वी क्षेत्रमा आएको सुनामीले फुकुशिमा परमाणु संयन्त्रका तीन रिएक्टरहरू डुबाइदिएको थियो । यो दुर्घटनालाई चेर्नोबेलपछिको विश्वकै सबैभन्दा ठूलो परमाणु दुर्घटना मानिन्छ । फुकुशिमा संयन्त्रका छमध्ये तीन परमाणु रिएक्टर सन् २०११ को सुनामीका क्रममा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए । त्यसयता त्यहाँ एक मिलियन टनभन्दा बढी उपचार गरिएको दूषित पानी जम्मा भएको थियो ।  

ग्लोबल आइएमई बैंकका १० वटा एटिएम मेसिन बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुराना एटिएम मेसिन बिक्री गर्ने भएको छ । बैंकले विभिन्न ठाउँमा रहेका पुराना १० वटा एटिएम मेसिन बिक्रीमा राखेको जनाएको छ ।  बैंकको कमलादी स्थित कार्यालय परिसरमा रहेका ७ थान, अनामनगर स्थित गोदाममा रहेका २ थान र अनामनगर शाखा कार्यालयमा रहेको १ थान गरी कुल १० थान पुराना एटिएम मेसिन बिक्रीमा राखेको हो ।  एटिएम मेसिनहरू जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । सो मेसिनहरू खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहने जनाएको छ । 

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

कैलाली । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए ।  उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।  सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।   

नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त

काडमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोककुमार आचार्य नियुक्त भएका छन् । असार १४ गते बसेको कार्यकारी समितिको बैठकले पाल्पाका अशोक कुमार आर्चायलाई संस्थाको सीईओमा नियुक्ति गरेको हो । आचार्यलाई साउन १९ गतेदेखि लागु हुनेगरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।