विकासन्युज

दुई दीपकको निर्वाचन क्षेत्र खाली, कात्तिक १७ मा रुपन्देहीमा चुनाव, मनाङमा के होला ?

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको रुपन्देही- ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन गर्ने प्रस्ताव गरेको छ ।  नेकपा एमालेसँगको सहकार्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहोराको निधनसँगै उक्त निर्वाचन क्षेत्र प्रतिनिधिविहीन रहँदै आएको थियो । यसैबीच मनाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङेको निर्वाचन क्षेत्र पनि सर्वोच्च अदालतको आदेशले रिक्त घोषित भएता पनि सो क्षेत्रका बारेमा भने हालसम्म कुनै छलफल नभएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्। उनका अनुसार सो निर्वाचन क्षेत्र रिक्त भएको जानकारी सर्वाेच्च अदालतबाट आयोगमा आधिकारिक रूपमा प्राप्त नभएकाले आयोगमा हालसम्म सो विषयमा कुनै छलफल गरिएको छैन ।

बीआईएसको ९५औं वार्षिक बैठकमा सहभागी भए गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा सम्पन्न बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् ।  जुन २७ देखि २९ सम्म सञ्चालन भएको उक्त बैठकमा बीआईएस सदस्य राष्ट्रहरूका गभर्नरहरू तथा उच्च अधिकारीहरूको व्यापक सहभागिता रहेको थियो ।  सन् १९३० मा स्थापना भएको बीआईएस विश्वका ६३ केन्द्रीय बैंकहरू आबद्ध अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले वैश्विक मौद्रिक र वित्तीय स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । बैठकको क्रममा गभर्नर डा. पौडेलले ‘सीपीएमआईस उदाउँदा बजार र विकासोन्मुख अर्थतन्त्रहरू- खाडल पुर्‍याउने पहल: वित्तीय समावेशीकरण, क्षेत्रीय एकीकरण र सीमापार भुक्तानी’ र ‘बीआईएस इनोभेसन हब सेमिनार: कृत्रिम बाैद्धिकता र सुरक्षासम्बन्धी विषयवस्तु’ शीर्षकका अन्तरक्रिया सत्रहरूमा सहभागिता जनाएका थिए । यी सत्रहरूमा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका नवीनतम उपलब्धिहरू, उत्पन्न चुनौतीहरूका साथै बैंकिङ क्षेत्रमा एआईको प्रयोगबाट उत्पन्न जोखिम र तिनको समाधानका लागि आवश्यक नीतिगत संयन्त्रहरूबारे गहिरो छलफल भएको थियो । गभर्नर डा. पौडेलले 'नियमन र प्रतिस्पर्धात्मकता' विषयक अर्को अन्तरक्रिया कार्यक्रममा पनि सहभागी जनाएका थिए । यसै सन्दर्भमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले बैठकमा संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने प्रख्यात अर्थशास्त्री प्रा. मोरिस ओब्स्टफेल्डले ‘अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीस् दोसाँधमा उभिएको यात्रा’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए । वार्षिक बैठकको अवसरमा गभर्नर डा. पौडेलले बीआईएस महाप्रबन्धक कार्सटेन्स, बैंकिङ विभाग प्रमुख लुइस बेङ्गोचासहित उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरेका थिए ।  भेटघाटहरूमा विदेशी विनिमय सञ्चिति व्यवस्थापनलाई सुरक्षित, लाभदायक र प्रभावकारी बनाउन सहकार्य विस्तार गर्ने, सुन खरिद तथा विविध लगानीका नयाँ विकल्पहरूबारे छलफल गरिएको थियो । त्यस्तै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँगको भेटमा दुई केन्द्रीय बैंकबीच भुक्तानी प्रणाली सुधार, जनशक्ति विकास तथा समग्र द्विपक्षीय सहकार्य विस्तारका विषयमा सहमति जुटाइएको थियो । यस्तै, चीनको पीपल्स बैंक अफ चाइना (पीबीसी) का गभर्नर पान गोङ्गशेङ्गसँगको भेटमा पनि बैंकिङ कारोबार तथा भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउने विषयमा निरन्तर सहकार्यको प्रतिबद्धता जनाइएको थियो । गभर्नर डा. पौडेलको साथमा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालय निर्देशक एवं सञ्चालक समितिका सचिव शरणकुमार अधिकारी पनि सहभागी थिए।

६ अर्बभन्दा बढीको सेयर कारोबार, राप्ती हाइड्रोमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ । आज १४५ कम्पनिको मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ ।  सोमबार ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सानिमा माइ हाइड्रोको ३१ करोड, बुटवल पावर कम्पनीको ३० करोड, सप्तकोशी डेभलपमेन्टको २५ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह ०.०६, होटल तथा पर्यटन ०.०३, जलविद्युत् ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ । बैङ्किङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बिमा ०.८२, लघुवित्त ०.९२, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा ०.६१ र व्यापार समूह ०.७२ प्रतिशतले बढेको छ । आज राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्राकृतिक विपद् व्यवस्थापनका लागि नेपाल एसबिआई बैंकको सामग्री सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई र्‍याफ्ट बोट र उद्धार सामग्रीहरू प्रदान गरेको छ । बैंकका अध्यक्ष जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहलाई औपचारिक रूपमा ती सामग्रीहरू हस्तान्तरण गरे । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो । बैंकले प्राकृतिक विपद् न्यूनीकरण र व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ ।

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं । डिशहोमको रमाइलो टिभीले धार्मिक टेलिभिजन श्रृंखला रामायण नेपाली भाषामा प्रसारण गर्ने भएको छ । असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे उक्त श्रृंखला प्रशारण हुने कम्पनीले जनाएको छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७–१९८८ मा भारतको डीडी नेसनल च्यानलबाट प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यो श्रृंखलामा संगीत रविन्द्र जैनले संयोजन गरेका थिए । प्रसारणको समयमा रामायण ले भारतमा ८२ प्रतिशत दर्शक संख्यासहित ऐतिहासिक कीर्तिमान बनाएको थियो । बीबीसीका अनुसार, यो श्रृंखला ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको थियो र विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूले पुनः प्रसारण गरेका थिए । कोरोना लकडाउनको समयमा सन् २०२० मा पुनः प्रसारण हुँदा एकै दिन ७ करोड ७० लाख दर्शकसहित विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम बन्न सफल भएको थियो । डिशहोमले आफ्ना ग्राहकका लागि रमाइलो टिभीमार्फत यो ऐतिहासिक कथा नेपाली भाषामा प्रसारण गर्ने व्यवस्था गरेको हो । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध रहेको र ग्राहकहरूले यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद र अन्य मनोरञ्जन कार्यक्रम पनि रमाइलो टिभीबाट हेर्न सक्ने डिशहोमले जनाएको छ ।

सभापति देउवालाइ कुर्दै कांग्रेसका नेता

  काठमाडौं । मध्यान्ह १ बजेबाट बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । सभापति सेर बहादुर देउवा पार्टी केन्द्रीय कार्यालयको बैठकस्थलमा पुग्न अबेर भएकाले बैठक सुरु हुन नसकेको बैठकस्थलमा रहेका एक केन्द्रीय सदस्यले जानकारी दिए । पछिल्लो बैठक बसेको ९ महिनापछि बस्दै गरेको केन्द्रीय समिति बैठकलाइ नेताहरूले महत्वकासाथ हेरेका छन् ।

दुई वर्षदेखि धुलो लागेको भीआईपी कक्षमा उपचार गराउँदै स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल बिरामी भई अस्पताल भर्ना भएका छन् । विदेशबाट फर्किएलगत्तै बिरामी परेका मन्त्री पौडेल वीर अस्पतालको दुई वर्षदेखि प्रयोगमा नरहेको धुलो लागेको भीआईपी उपचार कक्षमा उपचार गराउन पुगेका हुन् । वीर अस्पतालमा भीआईपीका लागि विशेष सोफा, कलात्मक पेन्टिङ गरिएको सुविधा सम्पन्न क्याबिनहरू रहेका छन् । अत्यन्तै सुविधा सम्पन्न भए पनि देशका भीआईपीहरूले वीर अस्पतालको भीआइपी सेवा कमै मात्र प्रयोग गर्ने गरेका छन् । ठूला घरानाका महँगा बैठक कोठाजस्तै आकर्षक झुलरसहितका क्याबिनहरू र विशेषज्ञ चिकित्सकहरूको सेवा भए पनि वीर अस्पतालको भीआइपी कक्षले देशका विशिष्ट व्यक्तिहरूलाई सेवा दिन पाएको अवसर निकै सीमित देखिन्छ । वीर अस्पतालले पछिल्लो पटक सार्वजनिक गरेको भीआईपी सेवाग्राहीहरूको सूची अनुसार तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङले २०७९ साउन ७ गते भीआईपी सेवा लिएका थिए ।