एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा
भादगाउँ । भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका छन् । गङ्गाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन् । सांसद थापाले भने, ‘गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु।’ सांसद थापाले गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने बताए । रामेछापको खनियापानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेकी थिइन् । उनी एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण भएकी हुन् । गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ। त्यसका लागि उनी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा छन् । गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गरेका हुन् । सांसद थापाले गोमालाई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘गोमा जस्तो लगनशील र मेहिनती छात्रालाई सहयोग गर्न पाउनु नै ठूलो कुरा हो’, सांसद थापाले भने, ‘उनको जुन परिस्थितीमा सामुदायिक विद्यालयमा अध्ययन गरेर ४ जिपिए ल्याउनुभयो, त्यो अरु विद्यार्थीहरू विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि प्रेरणाको स्रोत हो ।’ रासस
सेयर निष्कासनको तयारीमा राइजिङ हाइड्रो, मुक्तिनाथ क्यापिटलसँग सहकार्य
काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीसँगै संस्थागत परामर्शदाताका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी दुई पक्षीय सम्झौता एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो । सम्झौतापत्रमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले कम्पनीको पूँजी संरचना पुनर्संरचना, प्रबन्धपत्रको उद्देश्यअनुसार सहजीकरण तथा सेयर निष्कासनसँग सम्बन्धित अन्य संस्थागत परामर्श सेवा प्रदान गर्नेछ । २०६२ साल फागुन २२ गते स्थापना भएको राइजिङ हाइड्रोपावर, नेपालको जलविद्युत क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको प्रयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित अग्रणी संस्था हो। कम्पनीको प्रमुख आयोजना सिन्धुपाल्चोक जिल्लास्थित ९९० किलोवाट क्षमताको सेलाङ खोला साना जलविद्युत् आयोजना हो, जसले बर्सेनि ६.७७ गीगावाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा आपूर्ति गर्दै आएको छ । यस आयोजनाको व्यावसायिक सञ्चालन मिति (सीओडी) २०८१ भदौ २ गते रहेको छ । कम्पनीले २०८१ साल चैत्र २७ गते सम्पन्न वार्षिक साधारणसभाबाट प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा रूपान्तरण हुने र नाम परिवर्तन गरी ‘टेनेक्स हाइड्रो होल्डिङ लिमिटेड’ राख्ने प्रस्ताव पारित गरेको थियो। यसअनुसार नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरिएको छ । राइजिङ हाइड्रोले आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गरी चुक्ता पूँजी ४० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । साथै कम्पनीले पाँचवटा अन्य जलविद्युत परियोजनामा पनि लगानी विस्तार गर्ने रणनीति बनाएको छ ।
साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने, नागरिकले सहजै सुविधा लिनसक्ने
काठमाडौं । साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको थियो । बोर्डकाअनुसार प्रथम सेवा विन्दुको रुपमा नराख्ने निर्णय भएकाले २०८२ श्रावण १ गतेबाट रिफरको सिस्टम हटाइएको छ । बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ– 'उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।' प्रदिप पौडेल स्वास्थ्य मन्त्री भएर आएदेखि नै स्वास्थ्य बिमा सुधारका लागि उनले पहल गर्दै आएका छन् । खासगरी उनकै अग्रसरतामा एक उच्चस्तरीय संयन्त्र बनाइएको थियो । सोही संयन्त्रले दिएको सुझावका आधारमा स्वास्थ्य बीमामा रिर्फरको सिस्टम हटाइएको छ । पौडेलले स्वास्थ्य बीमा संकटमा रहेको औल्याउँदै बुढिगण्डकीमा लिएजस्तै पेट्रोल, डिजेल, ग्यास तथा रिचार्ज कार्डमा लाग्ने करबाट थोरै लिएर बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् । उनकाअनुसार मालपोतदेखि अन्य लगाइएका करबाट थोरै प्रतिशत कोषमा जाने व्यवस्था गर्नुपर्छ ।
दुई दीपकको निर्वाचन क्षेत्र खाली, कात्तिक १७ मा रुपन्देहीमा चुनाव, मनाङमा के होला ?
काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको रुपन्देही- ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन गर्ने प्रस्ताव गरेको छ । नेकपा एमालेसँगको सहकार्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहोराको निधनसँगै उक्त निर्वाचन क्षेत्र प्रतिनिधिविहीन रहँदै आएको थियो । यसैबीच मनाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङेको निर्वाचन क्षेत्र पनि सर्वोच्च अदालतको आदेशले रिक्त घोषित भएता पनि सो क्षेत्रका बारेमा भने हालसम्म कुनै छलफल नभएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्। उनका अनुसार सो निर्वाचन क्षेत्र रिक्त भएको जानकारी सर्वाेच्च अदालतबाट आयोगमा आधिकारिक रूपमा प्राप्त नभएकाले आयोगमा हालसम्म सो विषयमा कुनै छलफल गरिएको छैन ।
बीआईएसको ९५औं वार्षिक बैठकमा सहभागी भए गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा सम्पन्न बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् । जुन २७ देखि २९ सम्म सञ्चालन भएको उक्त बैठकमा बीआईएस सदस्य राष्ट्रहरूका गभर्नरहरू तथा उच्च अधिकारीहरूको व्यापक सहभागिता रहेको थियो । सन् १९३० मा स्थापना भएको बीआईएस विश्वका ६३ केन्द्रीय बैंकहरू आबद्ध अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले वैश्विक मौद्रिक र वित्तीय स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । बैठकको क्रममा गभर्नर डा. पौडेलले ‘सीपीएमआईस उदाउँदा बजार र विकासोन्मुख अर्थतन्त्रहरू- खाडल पुर्याउने पहल: वित्तीय समावेशीकरण, क्षेत्रीय एकीकरण र सीमापार भुक्तानी’ र ‘बीआईएस इनोभेसन हब सेमिनार: कृत्रिम बाैद्धिकता र सुरक्षासम्बन्धी विषयवस्तु’ शीर्षकका अन्तरक्रिया सत्रहरूमा सहभागिता जनाएका थिए । यी सत्रहरूमा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका नवीनतम उपलब्धिहरू, उत्पन्न चुनौतीहरूका साथै बैंकिङ क्षेत्रमा एआईको प्रयोगबाट उत्पन्न जोखिम र तिनको समाधानका लागि आवश्यक नीतिगत संयन्त्रहरूबारे गहिरो छलफल भएको थियो । गभर्नर डा. पौडेलले 'नियमन र प्रतिस्पर्धात्मकता' विषयक अर्को अन्तरक्रिया कार्यक्रममा पनि सहभागी जनाएका थिए । यसै सन्दर्भमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले बैठकमा संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने प्रख्यात अर्थशास्त्री प्रा. मोरिस ओब्स्टफेल्डले ‘अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीस् दोसाँधमा उभिएको यात्रा’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए । वार्षिक बैठकको अवसरमा गभर्नर डा. पौडेलले बीआईएस महाप्रबन्धक कार्सटेन्स, बैंकिङ विभाग प्रमुख लुइस बेङ्गोचासहित उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरेका थिए । भेटघाटहरूमा विदेशी विनिमय सञ्चिति व्यवस्थापनलाई सुरक्षित, लाभदायक र प्रभावकारी बनाउन सहकार्य विस्तार गर्ने, सुन खरिद तथा विविध लगानीका नयाँ विकल्पहरूबारे छलफल गरिएको थियो । त्यस्तै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँगको भेटमा दुई केन्द्रीय बैंकबीच भुक्तानी प्रणाली सुधार, जनशक्ति विकास तथा समग्र द्विपक्षीय सहकार्य विस्तारका विषयमा सहमति जुटाइएको थियो । यस्तै, चीनको पीपल्स बैंक अफ चाइना (पीबीसी) का गभर्नर पान गोङ्गशेङ्गसँगको भेटमा पनि बैंकिङ कारोबार तथा भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउने विषयमा निरन्तर सहकार्यको प्रतिबद्धता जनाइएको थियो । गभर्नर डा. पौडेलको साथमा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालय निर्देशक एवं सञ्चालक समितिका सचिव शरणकुमार अधिकारी पनि सहभागी थिए।
६ अर्बभन्दा बढीको सेयर कारोबार, राप्ती हाइड्रोमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ । आज १४५ कम्पनिको मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ । सोमबार ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सानिमा माइ हाइड्रोको ३१ करोड, बुटवल पावर कम्पनीको ३० करोड, सप्तकोशी डेभलपमेन्टको २५ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह ०.०६, होटल तथा पर्यटन ०.०३, जलविद्युत् ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ । बैङ्किङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बिमा ०.८२, लघुवित्त ०.९२, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा ०.६१ र व्यापार समूह ०.७२ प्रतिशतले बढेको छ । आज राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
प्राकृतिक विपद् व्यवस्थापनका लागि नेपाल एसबिआई बैंकको सामग्री सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई र्‍याफ्ट बोट र उद्धार सामग्रीहरू प्रदान गरेको छ । बैंकका अध्यक्ष जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहलाई औपचारिक रूपमा ती सामग्रीहरू हस्तान्तरण गरे । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो । बैंकले प्राकृतिक विपद् न्यूनीकरण र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ ।