विकासन्युज

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा ३ लाख ९ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यले पनि सोमबार नयाँ रेकर्ड बनाएको छ । चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।   

कार्टस इन्टरप्राइजेज प्रालिलाई विभागले तिरायो ५० हजार जरिवाना

काठमाडौं । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।      अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो । विभागले काठमाडौंका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो ।       अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । लगातार बजार अनुगमन गर्दै सुधारात्मक अभियान चलाइरहेको विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको समेत साथ लिने गरेको छ ।  

गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई बिना धितो १५ लाखसम्म कर्जा दिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एसीएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एसीएएनमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो अधिकतम १५ लाख रुपैयाँसम्मको व्यक्तिगत व्यावसायिक (प्रोफेसनल) कर्जा पनि उपलब्ध गराइनेछ । त्यसैगरी, गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा आवास कर्जा तथा सवारी साधन कर्जा समेत प्रदान गर्ने जनाएको छ । हाल बैंकले 'अब आफ्नै घर' भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ । हाल गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ वटा शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकका नवनियुक्त सीईओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । २१ वर्षदेखि सानिमा बैंकमा निरन्तर रूपमा विशिष्ट योगदान पुर्‍याउँदै आएका आचार्य पदभार ग्रहणअघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए । आफ्नो लामो सेवाकालमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शैक्षिक योग्यताका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए । उनको प्रमुख कार्य क्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ । हाल उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षको रूपमा पनि कार्यरत छन् । बैंकिङ क्षेत्रबाहेक उनले इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गर्नुका साथै पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा समेत सेवा प्रदान गरेका छन् । उनको विश्लेषणात्मक क्षमता, रणनीतिक सोच र दीर्घ बैंकिङ अनुभवका आधारमा आचार्यको नेतृत्वमा सानिमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको संख्या बर्सेनि बढ्दै

बनियानी । झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।  उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२र१२ नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । चालु आर्थिक वर्षमा ५३  कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताए ।  पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय २१ , आव २०७९/८० मा एक सय ५७ , आव २०८०/८१ मा एक सय २१ र २०८०/८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ । तथ्यांकको आधारमा हेर्दा २०७७/७८ मा सङ्क्रमण दर १.०२ प्रतिशतबाट आव २०८०/८१ मा आइपुग्दा १.४७५ पुगेको देखिन्छ । विश्वमा बर्सेनि झण्डै दुई लाख नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको फोकल पर्सन दास बताउँछन् । चिह्न र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारको हुने उनले बताए ।  'कम सर्ने खालको कुष्ठरोग र सर्ने खालको कुष्ठरोग हुन्छ', उनले भने, 'बहु–औषधि उपचार पद्धतिद्वारा छ देखि १२ महिनाको अवधिसम्म तीन प्रकारका औषधिको प्रयोगबाट कुष्ठरोग निको हुन्छ र समयमै कुष्ठरोगको उपचार भएमा अपाङ्गता पनि हुँदैन ।' सामाजिक अवहेलनाको डरले गाउँघरमा अझै पनि धेरै कुष्ठरोगी लुकेर रहेकाले सूक्ष्म रूपमा खोजपतड्ला गर्नुपर्ने उनको भनाइ छ । रासस 

यस्तो छ सोमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३०  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७४ पैसा र बिक्रीदर चार रुपैयाँ ७६  पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५  पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८  पैसा , ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वीरगञ्ज नाकाबाट आयात १५.३० प्रतिशत बढ्यो, ६ महिनामा ४ खर्ब ३८ अर्बको सामान भित्रियो

काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ का वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५.३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको ६ महिनामा भने ३ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।  चालु आवको छ महिनामा ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब ३ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा ३० अर्ब १ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ पर्ने भटमासको कच्चा तेल आयात भएको छ । सोही अवधिमा २४ अर्ब ६१ करोड रुपैयाँ पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब ४ करोड रुपैयाँ पर्ने कपडाहरु आयात भएका छन् । 

प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका १३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७ लाख २७ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।  बैंकका अनुसार सुजित श्रेष्ठले २६ हजार ३५१ कित्ता, बाबुराम महर्जनले २ हजार १९ कित्ता, सुरेश प्रसाद चौधरीले २ लाख ३८ हजार ४२० कित्ता, हरि प्रसाद शर्माले ६ हजार ४६१ कित्ता, जीवन काजी माकजु श्रेष्ठले ३७ हजार ९१९ कित्ता, दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता, हरिहर प्रसाद भण्डारीले ९ हजार ९६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।  यस्तै, अञ्जना भण्डारीले ६ हजार ६४० कित्ता, राजकुमार थापाले १७ हजार २३४ कित्ता, बिनोद थकालीले २ लाख कित्ता, प्रविण कुमार श्रेष्ठले १४ हजार २१८ कित्ता, अनन्त अग्रवालले १ लाख ७ हजार २२० कित्ता र दिपक प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । खरिख गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री हुन नसकेको खण्डमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।