विकासन्युज

सार्वजनिक बिदामा पनि राहदानी सेवा, विभागले खुलायो आवेदन फाराम

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने भएको छ । विभागले सार्वजनिक बिदा परेका शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्दै साउन १८ गतेसम्म आवेदन फाराम खुला रहने जनाएको छ । बिहीबार सूचना जारी गर्दै विभागले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न बिदाका दिन पनि आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाएको हो । विभागका अनुसार वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन पाउने म्याद थप गरेपछि राहदानी बनाउन चाहनेको संख्या बढेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै थप आवेदन फाराम खुला गरिएको विभागले जनाएको छ । विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले फाराममा उल्लेख गरेको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भई राहदानी सेवा लिन पनि अनुरोध गरेको छ ।

नेपाली ई–कमर्स बजारमा सिल्क ग्रुपको ‘चाइना बजार’, आईपीओ ल्याउने योजना

काठमाडौं । सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले एक विशेष कार्यक्रम आयोजना गरी ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । ‘चाइना बजार’ले प्रारम्भिक चरणमा व्यवसायदेखि ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनका अनुसार ग्वार्खोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले एक वर्षभित्र वीरगञ्ज र भैरहवामा थप दुई वटा ‘एक्सपेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी दिनमा व्यवसायदेखि व्यवसाय (बीटुबी) सेवा पनि देशभर विस्तार गर्ने बताए । ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले समेत प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ । कम्पनीले ई–कमर्स प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाइ छ । सिल्क ग्रुपले आईपीओ जारी गर्ने तयारी गरेको जानकारी दिँदै अध्यक्ष शेर्पाले छिट्टै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरे । उनले भने, ‘सिल्क ग्रुपले व्यवसाय विविधीकरण गर्दै ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ सञ्चालनमा ल्याएको छ । सुरुमा ‘चाइना बजार’ले बीटुसी अर्थात् व्यवसायबाट ग्राहकलाई सेवा दिन्छ । ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’सँगै हामीले ‘चाइना बजार’को एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएका छौँ । यो एक्सपेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव गर्ने अवसर दिन्छ । हामी यसलाई बिस्तारै देशभरका प्रमुख सहरमा विस्तार गर्दै जानेछौँ ।’ ‘चाइना बजार’मार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, उचित र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा लाग्ने अतिरिक्त शुल्कको भार अब ग्राहकले बेहोर्नु नपर्ने कम्पनीले जनाएको छ । ‘चाइना बजार’ले चीनका उत्पादनकर्ताबाट प्रत्यक्ष सामान खरिद गर्ने, आफ्नै गोदाममा भण्डारण गर्ने र ग्राहकसम्म डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ । यसबाट डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा पारदर्शिता कायम रहने कम्पनीको दाबी छ । ‘इन्जोय योर सपिङ’ भन्ने नारासहित सुरु गरिएको ‘चाइना बजार’मा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामग्री तथा स्वास्थ्य र सौन्दर्यसम्बन्धी सामग्री उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ग्राहकले ईसेवा र खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् । 

सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू

काठमाडौं । सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।  जिल्ला प्रशासन कार्यालय, सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशबाट दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन हुन थालेको हो ।

ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौं विस्थापित

काठमाडौं । ग्रिसको क्रेट टापुमा रहेको पर्यटक रिसोर्टमा आगलागीको खतरा बढ्दै जाँदा हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको स्थानीय अधिकारीले बताएका छन् ।  प्रभावित क्षेत्रका लगभग आठ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेथिम्नो क्षेत्रका उपगभर्नर मारिया लियोनीले सरकारी टिभी ईआरटीलाई जानकारी दिए। बुधबार देखि सुरु भएको आगोले हाल सम्म दुई जना अग्नि नियन्त्रकको ज्यान लिएको उल्लेख गरिएको छ भने आगलागी साँझमा दिशा परिवर्तन गर्नुअघि प्रभावित गाउँको एक किलोमिटर भित्र पुगे पछि उक्त स्थनमा खतरा बढेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्त्रण  गर्ने निर्णय गरिएको जनाइएको छ । आगलागीले घर, कृषि सुविधा र जनावरहरू समेत जलेको अनुमान गरिएको छ यद्यपी आगलागी जारी रहेकाले मृतकको सङ्ख्या अझै यकिन नभएको लियोनीले बताए ।  दुई जना अग्निशामक क्रया भ्रीसी गाउँ नजिकैको पाहाडी सडकमा फसेको अवस्था रहदा र हावाको दिशा परिवर्तन हुँदै जाँदा आगोले जलेर उनीहरुको मृत्यु भएको जनाइएको छ ।  पेलोपोनिस प्रायद्वीपको गिथियो नजिकै छुट्टै आगो निभाउने प्रयासको क्रममा अर्को एक जना अग्नि नियन्त्रकको मृत्यु भएको जनाइएको थियो ।  अग्निशामक विभागले दक्षिण–पश्चिमी क्रेटको रेथिम्नो क्षेत्रमा २०० भन्दा बढी अग्निशामक र ५३ वटा फायर इन्जिनहरु सञ्चालन गरेको जनाइएको छ ।   तटरक्षकका प्रवक्तालाई उदृत गर्दै एएफपीले एगिया ग्यालिनीमा चार वटा गस्ती डुङ्गाहरू अतिरिक्त निकासीमा मद्दत गर्न तयार रहेको जनाएको छ । तर अवस्था अत्यन्त कठिन भएको जनाइएको छ ।  ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आगलागी नियन्त्रण प्रयासमा ज्यान गुमाउने अग्निशामकको कार्यको प्रशंसा गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।   लामो खडेरी, उच्च तापक्रम र तीव्र हावाका कारण ग्रिसले हरेक वर्ष जसो गर्मीमा विनाशकारी जङ्गली आगोको सामना गर्ने गरेको जनाइएको छ । नागरिक सुरक्षा मन्त्रालयले क्रेट, ग्रेटर एथेन्स क्षेत्र, पूर्वी पेलोपोनिस र अधिकांश एजियन टापुहरू सहित बिहीबारका लागि धेरै क्षेत्रहरूलाई अधिकतम आगोको सतर्कता कायम राखेको जनाइएको छ । 

संविधान संशोधनको तयारीबारे दाहालको प्रश्न - सरकारसँग मागे स्पष्टता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले अघि बढाउन खोजेको संविधान संशोधनको तयारीबारे प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दाहालले संविधान संशोधनजस्तो गम्भीर विषयमा सरकारको धारणा, उद्देश्य र प्रक्रिया स्पष्ट हुनुपर्ने बताएका हुन् । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले आफ्नो काम सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । दाहालले संविधान संशोधन मुलुकको राजनीतिक स्थायित्व, जनताको अधिकार र लोकतान्त्रिक प्रणालीसँग जोडिएको विषय भएकाले पर्याप्त छलफल र सहमतिबिना अघि बढाउन नहुने धारणा राखे । उनले संविधान संशोधनका नाममा कुनै निश्चित राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास भए त्यसले थप विवाद सिर्जना गर्न सक्ने चेतावनीसमेत दिए ।

सीआईबीमा पुगेर महतोले दिए ३ घण्टा बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी उपेन्द्र महतोलाई बोलाएर सोधपुछ गरेको छ । सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले स्मार्ट टेलिकम र एनसलेको बारेमा बुझ्न कार्यालयमा बोलाएर सोधपुछ गरिएको जानकारी दिए । ‘महतोलाई ३ घण्टा सीआईबीमा बोलाएर सोधपुछ गरिएको हो,’ चतुर्वेदीले विकासन्युजसँग भने । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पु‍र्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

कप्तानगञ्ज घटनामा छानबिन गर्न संयोजक दाहालको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै संयोजक दाहालले घटनामा गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए । 'त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु,' उनले भने । दाहालले घटनापछि उत्पन्न परिस्थितिलाई थप संवेदनशील हुन नदिन सरकारलाई गम्भीर बन्न आग्रह गरे । उनले सबै पक्षलाई संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए । 

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा नेपाल र विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गरेका छन् । कलेजले गुणस्तरीय शिक्षण, अनुभवी शिक्षकको मार्गदर्शन र अन्तर्राष्ट्रियस्तरको सिकाइ वातावरणका कारण विद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ । कलेजका अनुसार यसपटक सहारा मगियाले पीएम विषयमा नेपाल प्रथम र विश्व आठौं, नेहा खतिवडाले एसबीएल विषयमा नेपाल प्रथम र विश्व १८औं तथा आशुतोष शर्माले एसबीआर विषयमा नेपाल प्रथम र विश्व ११औं स्थान हासिल गरेका छन् । त्यसैगरी आशास्वी कुमारी श्रेष्ठले एटीएक्स विषयमा नेपाल दोस्रो र विश्व १७औं, शेलिश्मा सिवाकोटीले पीएम विषयमा नेपाल तेस्रो र विश्व १३औं तथा राकेश साहले एसबीआर विषयमा नेपाल दोस्रो र विश्व १३औं स्थान हासिल गरेका छन् । यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका हेड अफ प्रोफेसनल एजुकेसन दिपेन्द्र के. श्रेष्ठले विद्यार्थीको सफलता उनीहरूको मेहनत, समर्पण र अनुभवी शिक्षकको निरन्तर मार्गदर्शनको परिणाम भएको बताए । उनले राष्ट्रिय सीमाभन्दा बाहिर विश्वस्तरमा समेत उत्कृष्ट नतिजा हासिल हुनु कलेजको शैक्षिक उत्कृष्टताको प्रमाण भएको उल्लेख गरे । कलेजले सेप्टेम्बर २०२६ इन्टेकका लागि एसीसीए कार्यक्रमको भर्ना खुला भएको पनि जनाएको छ । इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन र समयमै भर्ना सुनिश्चित गर्न आग्रह गरिएको छ ।