विकासन्युज

जनताको ‘दृष्टि थकान’ : जीर्ण राजनीतिक संरचना र पुस्तान्तरणको ऐतिहासिक अपरिहार्यता

सविन धमला काठमाडौं । समकालीन नेपाली राजनीति एक गम्भीर र अभूतपूर्व मनोवैज्ञानिक सङ्कटबाट गुज्रिरहेको छ । जसलाई बुझ्नका लागि परम्परागत राजनीतिक शब्दावलीहरू अपर्याप्त सावित भइसकेका छन् । चिकित्सा विज्ञानमा ‘दृष्टि थकान’ भन्ने शब्द छ, यो नेपालको राजनैतिक परिवेशमा मिल्दो देखिन्छ । ‘दृष्टि थकान’ भन्नाले आँखाले लामो समयसम्म एउटै वस्तु, दृश्य वा स्क्रिनमा एकटकले हेरिरहँदा उत्पन्न हुने तनाव, धमिलोपन र शिथिलतालाई बुझाउँछ । तर आजको नेपाली सन्दर्भमा यो शब्दावलीले आँखाको समस्यालाई मात्र नभई नागरिक र राज्यसत्ताबीचको भत्किएको सम्बन्धलाई सङ्केत गर्छ । यो ‘पोलिटिकल भिजुअल फटिग’ हो । दशकौँदेखि उही अनुहार, उही शैली, उही भाषण र उही परिणामविहीन आश्वासनहरूको निरन्तरताले जनताको चेतनामा सिर्जना गरेको गहिरो वितृष्णा अर्थात् ‘दृष्टि थकान’ । दृष्टि थकान एक राजनीतिक निदान नेपाली जनताले विगत तीन दशकदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई नै सत्ताको वरिपरि घुमिरहेको देखेका छन् । व्यवस्था फेरियो, संविधान फेरियो, देशको संरचना एकात्मकबाट सङ्घीयतामा गयो तर शासकका अनुहार र चरित्र फेरिएनन् । बिहान उठ्नासाथ पत्रपत्रिकामा, टेलिभिजनको पर्दामा र सामाजिक सञ्जालको भित्तामा तिनै पुराना पात्रहरूको अनुहार देख्नुपर्दा नागरिकमा उत्पन्न हुने नैराश्यता अब सामान्य असन्तुष्टिमा मात्र सीमित छैनः यो ‘दृष्टि घृणा’ मा परिणत भइसकेको छ । जनताको यो मनोविज्ञानलाई हालैका निर्वाचनहरूमा देखिएको ‘नो नट अगेन’ को लहरले पुष्टि गरिसकेको छ । यो केवल एक चुनावी नारा थिएन । यो त अब त अति भयो, म यो दृश्य हेर्न सक्दिनँ भन्ने सामूहिक चित्कार थियो । विश्व राजनीतिमा पनि लामो समय सत्तामा रहने नेताहरू नभएका होइनन् । रुसका भ्लादिमिर पुटिन, चीनका सी चिनफिङ वा भारतका नरेन्द्र मोदी लामो समयदेखि नेतृत्वमा छन् । तर उनीहरू र नेपालका नेताहरूबीचको आधारभूत भिन्नता ‘थकान व्यवस्थापन’ मा छ । ती विश्व नेताहरूले जनताको दृष्टि थाक्न नदिन निरन्तर आफूलाई ‘रि–ब्रान्डिङ’ गरिरहन्छन् । उनीहरू कहिले ‘विश्वशक्ति’ बन्ने सपना बाँड्छन्, कहिले राष्ट्रिय सुरक्षाको संवेदनशीलता देखाउँछन् त कहिले तीव्र आर्थिक विकासको मोडल प्रस्तुत गरेर जनताको ध्यान आफूतिर तानिराख्छन् । उनीहरूले आफ्नो पुरानो अनुहारलाई नयाँ एजेन्डाको आवरणले छोप्छन् । तर नेपालको विडम्बना के हो भने, यहाँका नेतृत्व वर्गसँग न त देखाउनका लागि कुनै चमत्कारिक विकासको मोडल छ, न त जनतालाई विश्वस्त पार्न सक्ने कुनै नयाँ सपना नै बाँकी छ । यहाँ ‘काम’ र ‘अनुहार’ दुवै नफेरिएका कारण जनताको धैर्यको बाँध फुट्ने अवस्थामा पुगेको छ । कांग्रेसभित्रको विद्रोहः जनचाहना र संरचनाको द्वन्द्व यही सामाजिक मनोविज्ञानको बाह्य प्रकटीकरण अहिले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेसभित्र भइरहेको छ । बाहिर समाजमा व्याप्त दृष्टि थकानको राप र तापले कांग्रेसको आन्तरिक जीवनलाई नराम्ररी पोलेको छ । पार्टीको १४ औँ महाधिवेशन सम्पन्न भएको चार वर्ष पुग्न लाग्दा र १५ औँ महाधिवेशनको अनिश्चितता बढ्दै जाँदा, कांग्रेसभित्र देखिएको विशेष महाधिवेशनको माग सामान्य र प्रक्रियागत विषय मात्र होइन। यो त ‘जनचाहना’ र ‘जड राजनीतिक संरचना’ बीचको महासङ्ग्राम हो। नेपाली कांग्रेसका ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्नुले पार्टीको आधारभूत तहमा परिवर्तनको कति ठूलो हुटहुटी छ भन्ने स्पष्ट पार्छ । यी प्रतिनिधिहरू समाजको ऐना हुन्, उनीहरूले गाउँ–टोलमा जाँदा जनताबाट ‘तिमीहरूको पार्टीमा उही देउवा मात्र कति वर्षसम्म ?’ भन्ने प्रश्नको सामना गरिरहेका छन् । उनीहरूलाई राम्रोसँग हेक्का छ कि यदि अब पनि नेतृत्व र कार्यशैलीमा आमूल परिवर्तन भएन भने, आउँदो निर्वाचनमा कांग्रेसको हालत इतिहासको पानामा सीमित हुन पुग्नेछ । त्यसैले, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा उठेको यो आवाज केवल नेतृत्व परिवर्तनको खेल मात्र होइन, बरु पार्टीको अस्तित्व रक्षाका लागि गरिएको ‘अन्तिम सर्जिकल स्ट्राइक’ को प्रयास हो । तथापि, परिवर्तनको यो लहरलाई रोक्न संस्थापन पक्ष (देउवा समूह) ले अपनाएको रणनीतिले नेपालको ‘पार्टीतन्त्र’ को कुरूप तस्बिर उदाङ्गो पारेको छ । विधानको धारा १७(२) ले ४० प्रतिशत प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर, नेतृत्वले त्यसलाई ‘अवैधानिक’ र ‘असामयिक’ भन्दै बहिष्कार गर्ने र पेलेरै जाने ‘मिचाहा प्रवृत्ति’ प्रदर्शन गरेको छ । यो प्रवृत्तिले के देखाउँछ भने, नेतृत्व वर्ग लोकतान्त्रिक विधि र विधानभन्दा माथि आफूलाई ठान्दछ । उनीहरूमा ‘असुरक्षाको मनोविज्ञान’ यति गहिरो गरी गडेको छ कि उनीहरूलाई थाहा छ, यदि एकपटक विधिपूर्वक महाधिवेशन भयो वा नेतृत्वको परीक्षण भयो भने, उनीहरूको वर्चश्व तासको घरजस्तै ढल्नेछ। त्यसैले, उनीहरू ‘फलामे अनुशासन’ र ‘गुटगत संरक्षण’ को आडमा परिवर्तनको ढोका थुन्न चाहन्छन्। ग्राम्सीको ‘अन्तरिम काल’ र सङ्क्रमणकालीन विकृति नेपालको अहिलेको यो अवस्थालाई इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीको प्रख्यात सिद्धान्त ‘इन्टररेग्नम’ वा ‘अन्तरिम काल’ सँग दाँजेर हेर्दा तस्बिर अझ प्रष्ट हुन्छ । ग्राम्सीले भनेका थिए– ‘पुरानो मर्दैछ, तर नयाँ पूर्ण रूपमा जन्मिन सकेको छैन; यो बीचको सङ्क्रमणकालमा अनेकौँ विकृत लक्षणहरू देखा पर्छन् ।’ नेपालमा ठीक यही भइरहेको छ । पुराना नेताहरू (देउवा, ओली, प्रचण्ड) र उनीहरूको परम्परागत कार्यशैली ‘मरिसकेको’ छ, अर्थात् त्यसले अब समाजलाई गति दिन सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको छ । तर नयाँ नेतृत्व, नयाँ संस्कार र नयाँ पुस्ताले संस्थागत रूपमा सत्ताको बागडोर सम्हाल्न सकेको छैन, अर्थात् ‘नयाँ जन्मिन सकेको छैन’ । यो प्रसव पीडाको अवस्थामा राजनीतिमा अनेकौँ विकृत लक्षणहरू देखिएका छन् । पार्टीभित्र विधान मिचिनु, नेतृत्वले स्वेच्छाचारी निर्णय गर्नु, भ्रष्टाचार संस्थागत हुनु, र जनतामा चरम वितृष्णा छाउनु, यी सबै त्यही सङ्क्रमणकालका उपज हुन् । ‘नो नट अगेन’ को भावनाले पुरानोलाई अस्वीकार त गर्‍यो तर त्यसले ठोस विकल्पको रूपमा नयाँ शक्तिलाई स्थापित गराउन अझै सङ्घर्ष गरिरहेको छ । वैकल्पिक भनिएका नयाँ दलहरू (जस्तै रास्वपा) पनि सत्ताको पुरानै खेलमा फस्नु वा परिपक्वताको कमी देखिनुले यो ‘अन्तरिम काल’ लाई झनै लम्ब्याएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो ऐतिहासिक र ठूलो दलभित्रको पुस्तान्तरणले यो गतिरोधलाई तोड्न सक्ने सामर्थ्य राख्छ । यदि कांग्रेसले आफूभित्रको ‘मृत्युन्मुख पुरानो’ लाई विदा गरेर ‘नवोदित नयाँ’ लाई स्थापित गर्न सक्यो भने, त्यसले सिङ्गो राष्ट्रिय राजनीतिलाई नै निकास दिन सक्छ । पुस्तान्तरणको पुलः गगन– विश्वप्रकाश र ‘जेनजी’ को संवाद यस्तो पेचिलो मोडमा उभिएको नेपाली राजनीतिमा गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता नेताहरूको भूमिका केवल एउटा पार्टीको महामन्त्री वा नेता हुनुमा सीमित छैन । उनीहरू नेपाली राजनीतिको ‘पुस्तान्तरणको पुल’ हुन्। अहिलेको जनसाङ्ख्यिक संरचनालाई हेर्ने हो भने, ८० वर्ष नाघेका शीर्ष नेताहरू र १८ देखि ३० वर्षका नयाँ मतदाता जेन–जी बीच कुनै संवाद सम्भव छैन । देउवा वा ओलीले बोल्ने भाषा, उनीहरूको प्रविधिप्रतिको बुझाइ र विश्व परिवेशप्रतिको दृष्टिकोणले आजको इन्टरनेट युगका युवाहरूसँग तादात्म्य राख्न सक्दैन । त्यो संवादहीनताको खाडल पुर्नका लागि ५० को दशकमा हिँडिरहेको यो मध्यम पुस्ता अपरिहार्य छ । गगन–विश्वप्रकाशहरूले इतिहासको विरासत पनि बुझेका छन् र भविष्यको आवश्यकता पनि देखेका छन् । उनीहरूले उठाएको विशेष महाधिवेशनको मागलाई केवल पदको लडाइँ भनेर बुझ्नु गल्ती हुनेछ । यो त जनताको आँखालाई ‘नयाँ दृश्य’ दिने प्रयास हो । जब जनताले टिभी स्क्रिनमा, नीति निर्माणको तहमा र निर्णय गर्ने कुर्सीमा नयाँ, ऊर्जावान र आधुनिक सोच भएका अनुहार देख्छन्, तब मात्र उनीहरूको ‘दृष्टि थकान’ केही हदसम्म कम हुनसक्छ । यसले प्रणालीप्रतिको गुमेको विश्वासलाई पुनर्जीवित गर्न सक्छ । तर यो पुस्तासामु चुनौतीको पहाड छ । उनीहरूले लड्नुपरेको लडाइँ केवल व्यक्ति विरुद्ध होइन, ‘प्रवृत्ति’ र ‘संरचना’ विरुद्ध हो । संस्थापन पक्षले सिर्जना गरेको चक्रव्युह तोड्नका लागि उनीहरूले परम्परागत ‘विनम्रताको राजनीति’ छोडेर ‘निर्णायक हस्तक्षेप’ को बाटो रोज्नुपर्ने अवस्था आएको छ । विशेष महाधिवेशनको लागि देशभरबाट प्रतिनिधि जुटाउनु, जिल्ला सभापतिहरूको भेला गर्नु र नेतृत्वलाई विधान मान्न बाध्य पार्नु, यो सब त्यही हस्तक्षेपको शृङ्खला हो । भू–राजनीतिक आयामः छिमेक सम्बन्धमा विश्वसनीयताको खोजी नेपालको यो आन्तरिक राजनीतिक रस्साकस्सीको प्रभाव काठमाडौँ उपत्यकाभित्र मात्र सीमित छैन; यसले छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि गहिरो अर्थ राख्छ । जनतालाई मात्र होइन, नेपालका छिमेकी राष्ट्रहरू (भारत र चीन) तथा अन्तर्राष्ट्रिय शक्तिहरूलाई पनि नेपालको पुरानो नेतृत्वसँग ‘दृष्टि थकान’ र ‘कूटनीतिक थकान’ भएको छ । नेपालको भू–राजनीतिक संवेदनशीलतालाई हेर्दा, भारत र चीन दुवैका लागि नेपालको ‘पात्र’ भन्दा ‘प्रवृत्ति’ र ‘स्थिरता’ बढी महत्त्वपूर्ण बन्दै गएको छ । लामो समयदेखि नेपालका पुराना नेताहरूले सत्ता स्वार्थका लागि देखाएको अस्थिर चरित्र, कहिले ‘चीन कार्ड’ त कहिले ‘भारत कार्ड’ खेल्ने प्रवृत्ति र वाचा पूरा नगर्ने बानीले गर्दा नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता नराम्ररी खस्किएको छ। नयाँ दिल्ली र बेइजिङ दुवैले नेपालमा अब ‘परीक्षित तर अविश्वसनीय’ पुराना अनुहारहरूको साटो ‘नयाँ र भरपर्दो’ साझेदारको खोजी गरिरहेका छन् । विशेषतः भारतको सन्दर्भमा हेर्ने हो भने, गगन–विश्वप्रकाश पुस्ताको उदयलाई उसले ‘लोकतान्त्रिक स्थिरता’ को सम्भावनाका रूपमा हेर्न सक्छ । यो नयाँ पुस्ता तुलनात्मक रूपमा उदार लोकतन्त्रवादी छ, विश्वव्यापी मान्यताहरूसँग परिचित छ र पुराना नेताहरूजस्तो ‘अन्ध–राष्ट्रवाद’ वा ‘लम्पसारवाद’ को अतिवादी धारबाट मुक्त देखिन्छ । यदि नेतृत्व परिवर्तन भयो भने, नेपाल–भारत सम्बन्ध ‘नेता–नेता’ बीचको अपारदर्शी लेनदेनबाट मुक्त भएर ‘राज्य–राज्य’ बीचको संस्थागत सम्बन्धमा रूपान्तरण हुनसक्ने सम्भावना रहन्छ । उता उत्तरी छिमेकी चीनले पनि नेपालमा सधैं ‘स्थिरता’ र ‘सुरक्षा’ लाई प्राथमिकतामा राख्दै आएको छ । विगतमा कम्युनिस्ट एकतामार्फत स्थिरता खोजेको चीन, कम्युनिस्ट नेताहरूको टुटफुट र अस्थिरताबाट वाक्क भएको छ । यस्तो अवस्थामा, यदि कांग्रेसको नयाँ नेतृत्वले ‘एक चीन नीति’ र सुरक्षा संवेदनशीलतामा आश्वस्त पार्न सक्यो भने, चीनले पनि अस्थिर पुराना ‘कमरेड’ हरूभन्दा भरपर्दो नयाँ ‘डेमोक्र्याट’ हरूसँग काम गर्न रुचाउने स्थिति आउन सक्छ । यसर्थ, पुस्तान्तरणले नेपालको परराष्ट्र नीतिलाई पुनः परिभाषित गर्ने र सन्तुलित बनाउने अवसर प्रदान गर्नेछ । दक्षिण एसियाली तरङ्ग र नेपालको स्थान नेपालको यो घटनाक्रमलाई दक्षिण एसियाको वृहत्तर क्यानभासमा राखेर हेर्दा, यो एक क्षेत्रीय प्रवृत्तिको निरन्तरता जस्तो देखिन्छ । अहिले सिङ्गो दक्षिण एसिया नै ‘एन्टी–इन्कम्बेन्सी’ (सत्ता विरोधी) लहर र ‘पुस्तान्तरण’ को दबाबबाट गुज्रिरहेको छ। श्रीलङ्कामा राजपक्ष परिवारको पतन र बङ्गलादेशमा शेख हसिनाको अनपेक्षित बहिर्गमनले एउटा स्पष्ट सन्देश दिएको छः जनताको ‘दृष्टि थकान’ र आक्रोशलाई लामो समयसम्म दमन गरेर वा बेवास्ता गरेर राख्न सकिँदैन। जब परिवर्तनलाई संस्थागत बाटो (चुनाव वा महाधिवेशन) बाट निषेध गरिन्छ, तब त्यो सडकबाट विस्फोट भएर आउँछ । नेपालको विशिष्टता के हो भने, यहाँको लोकतान्त्रिक आन्दोलन र संरचना तुलनात्मक रूपमा लचिलो छ । यदि नेपाली कांग्रेसले आफ्ना पुराना नेताहरूलाई पार्टीको आन्तरिक लोकतान्त्रिक विधि (महाधिवेशन) मार्फत शान्तिपूर्ण रूपमा विस्थापित गरेर नयाँ नेतृत्व स्थापित गर्न सक्यो भने, यो दक्षिण एसियाकै लागि एक ‘उदाहरणीय मोडेल’ बन्न सक्छ । बङ्गलादेश वा श्रीलङ्कामा जस्तो हिंसात्मक विद्रोह र अस्थिरता बिना नै ‘सिस्टम’ भित्रैबाट पुस्तान्तरण सम्भव छ भन्ने सन्देश नेपालले विश्वलाई दिन सक्छ । विश्व मञ्चमा पनि, जलवायु परिवर्तन, एआईको विकास र डिजिटल अर्थतन्त्रको युगमा नेपालको प्रतिनिधित्व गर्न ८० वर्ष नाघेका, प्रविधि र आधुनिक ज्ञानबाट टाढा रहेका नेताहरू अनुपयुक्त भइसकेका छन् । नेपालको ‘ग्लोबल इमेज’ सुधार गर्नका लागि पनि स्मार्ट, शिक्षित र विश्व बुझेको नेतृत्वको आवश्यकता छ । नेपाली कांग्रेस सुधार वा विघटनको दोसाँध अन्त्यमा, नेपाली कांग्रेसभित्र अहिले चलिरहेको विशेष महाधिवेशनको रस्साकस्सी र देशव्यापी रूपमा देखिएको ‘दृष्टि थकान’ को समस्यालाई सामान्य राजनीतिक घटनाक्रमका रूपमा मात्र लिनु भूल हुनेछ । यो नेपालको लोकतान्त्रिक प्रणालीको ‘लिटमस टेस्ट’ हो । जनताको आँखा थाकिसकेको छ; उनीहरू अब टेलिभिजनको पर्दामा, पत्रिकाको हेडलाइनमा र सरकारको कुर्सीमा उही पुराना, जीर्ण र असफल अनुहारहरू हेर्न चाहँदैनन् । यो ‘दृष्टि थकान’ लाई नजरअन्दाज गर्नु भनेको ज्वालामुखीको मुखमा बसेर आगो ताप्नु जस्तै हो । नेपाली कांग्रेस र समग्र पुराना दलहरूसामु अब दुईवटा विकल्प मात्र बाँकी छन्। पहिलो विकल्प ‘विनाश’ः संस्थापन पक्षले हठ नछोड्ने, विधान मिचिरहने, नयाँ पुस्तालाई निषेध गर्ने र परिणामस्वरुप पार्टी विभाजन वा चुनावमा पत्तासाफ हुने । दोस्रो विकल्प ‘विकास’ः विशेष महाधिवेशन वा सहमतिमार्फत सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्ने, गगन–विश्वप्रकाश पुस्तालाई अघि सार्ने र जनताको ‘दृष्टि थकान’ को उपचार गर्ने । अबको निकास भनेको ‘अनुहार’ र ‘चरित्र’ दुवैमा परिवर्तन हो । यदि ‘इन्टररेग्नम’ को यो अवधि लम्बियो र नयाँ नेतृत्वको जन्म हुन सकेन भने, पुरानो व्यवस्थाको मृत्युसँगै सिङ्गो संसदीय प्रणालीकै अवसान हुने खतरा रहन्छ । इतिहास साक्षी छ, समयको पदचाप नसुन्ने र परिवर्तनको प्रवाहलाई रोक्न खोज्ने शासक वा दलहरू अन्ततः किनारा लागेका छन् । तसर्थ, कांग्रेसभित्रको यो लडाइँमा कसले जित्छ भन्ने कुराले केवल एउटा पार्टीको भविष्य मात्र होइन, नेपालको लोकतन्त्र र राजनीतिक स्थिरताको भविष्य पनि निर्धारण गर्नेछ । जनताको धमिलो हुँदै गएको दृष्टिमा नयाँ आशाको ज्योति भर्नका लागि पुस्तान्तरण अब रहर होइन, ऐतिहासिक बाध्यता हो । 

गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश

काठमाडौं । नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ। आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ। यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक रु ७२ हजार ९०८ को नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ। यसअघि विसं २०६६/६७ मा गरिबीको रेखा रु १९ हजार २६१ निर्धारण गरिएको थियो। नयाँ गरिबीको रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति कुल खर्च रु ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको वर्गमा राखिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा ३४ दशमलव १६ प्रतिशत रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा ११ दशमलव ८८ प्रतिशत छ। कोशी प्रदेशमा १७ दशमलव १९, मधेश प्रदेशमा २२ दशमलव ५३, बागमती प्रदेशमा १२ दशमलव ५९, लुम्बिनी प्रदेशमा २४ दशमलव ३४ र कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत गरिबीको दर रहेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार स्थानीय तहस्तरको विश्लेषण गर्दा ३०९ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २० दशमलव २७ प्रतिशतभन्दा कम रहेको छ भने ४४४ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी छ। स्थानीय तहमा गरिबीको दर न्यूनतम एक दशमलव १८ प्रतिशतदेखि अधिकतम ७७ दशमलव ८९ प्रतिशतसम्म रहेको छ। पालिकास्तरमा हेर्दा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ७७ दशमलव ८९ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्थात् एक दशमलव १८ प्रतिशत मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको छ। गरिबीको रेखाभन्दा तल रहेको जनसङ्ख्या सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी काठमाडौँ महानगरपालिकामा ९५९ हजार २१८० रहेको छ। काठमाडौँ महानगरपालिकामा गरिबीको दर ६ दशमलव ८७ प्रतिशत रहेको छ। जिल्ला तहको विश्लेषण गर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा ४९ दशमलव ५८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशको कास्की जिल्लामा पाँच दशमलव ६३ प्रतिशत रहेको छ। जिल्लागत रूपमा हेर्दा ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा कम र ४३ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ। रासस

भत्काइएका जोखिमपूर्ण घरमा व्यापार, स्थानीय प्रशासनद्वारा रोक्न निर्देशन

हेटाैँडा । सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार व्यवसाय सञ्चालन भइरहेको छ । यही मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभित्र पर्ने घरहरू सडक डिभिजन कार्यालय भत्काएको थियो । सर्वाेच्च अदालतको आदेशका कारण हाल सडक विस्तारको कार्य रोकिएपछि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीहरूले जोखिमपूर्ण घरमै व्यापार गरिरहेका छन् । जसका कारण कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने स्थानीय कैलाश थापाले बताए । 'सडक डिभिजन कार्यालयले भत्काएर भग्नावशेष अवस्थामा छाडेका घरबाटै व्यापारीहरूले पसल चलाइरहेका छन्', उनले भने, 'जसका कारण कुनै पनि बेला घर भत्किएर ठूलो जनधनको क्षति हुनसक्छ ।' भत्किएका घरमा पसल सञ्चालनमा तत्काल रोक लगाउनुपर्ने उनको भनाइ छ । सडक विस्तारका लागि घरलाई भग्नावशेष बनाएर छाडेपछि आफूहरू अन्योलमा बताउँदै स्थानीय व्यापारी रोशन श्रेष्ठले कुनै विकल्प नभएकाले तत्कालका लागि ‘स्टक’मा रहेको सामानहरू मात्र बिक्री गरिरहेको बताए । 'नयाँ सामानहरू बाहिरबाट मगाएको छैन', उनले भने, 'स्टकमा रहेका सामान त बिक्री गर्नै पर्‍यो, फ्याल्नुभएन ? त्यसैले ‘स्टक’को सामान जोखिम उठाएरै भए पनि बिक्री गरिरहेको छु ।' बाँकी रहेका सामान बिक्री भएपछि पसल बन्द गर्ने कि, अन्यत्र सार्ने भने सोचिरहेको उनले बताए । सर्वोच्च अदालतमा सडक विस्तारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले सडक विस्तारको काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी यादव सुवेदीले बताए । भत्किएका घरमा व्यापार पसल नगर्न व्यापारीहरूलाई आग्रह गरे पनि कतिपय व्यापारीहरूले जोखिमपूर्ण रूपमै व्यापार व्यवसायी सञ्चालन गरिरहेको उनको भनाइ छ । यसैबिच जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारका लागि भत्काइएका जोखिमपूर्ण घरहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घरटहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, 'भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।' यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनसमेत सम्बन्धित सबैमा आग्रह गरिएको छ । रासस

नौ करोड ५० लाखमा ५४ घरलाई मौलिकस्वरूपमा रूपान्तरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नरःदे (हाँडीगाउँ) को प्राचीनता फर्काउन नौ करोड ५० लाख रुपैयाँमा ५४ वटा घरको अग्रमोहडाको मौलिक स्वरूपमा रूपान्तरण गर्न थालेको छ । हाँडीगाउँको प्राचीनता नरःदे हो, यसको पुनःरुत्थानका लागि गुरुयोजनाबाटै काम गरिरहेको कामपाको भनाइ छ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रूपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन कामपा केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम भइरहेका छन् वडा पाँचका वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँबायाँका भवनहरूको अग्रमोहोडालाई मौलिकस्वरूपमा रूपान्तरणको काम सुरु हुन लागेको छ । यस क्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनःरुत्थान गरिनेछ । मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानोजस्ता भाग महत्वपूर्ण मानिन्छन् । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मौलिक घरको ‘डिजाइन’ हो । किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौंदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, दुई वटा बुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षय तृतीयाका दिन सर्वत पानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरू छन् । ‘यो क्षेत्र उपत्यकामा पूर्वलिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थान हो’, वडाध्यक्ष वीरेन्द्र प्रजापतिले भने, ‘हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो ।’ गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र डबली, न्याल्मलोंह र चौखटको चोक्ट्या नारायणको चोक कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् ।

वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्वाचित

काठमाडौं । वायुसेवा संचालक संघ (आवोन) को २५औँ वार्षिक साधारण सभाबाट प्रतापजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । पाण्डे कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडका सञ्चालक हुन् । शुक्रबार लाजिम्पाटमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । सभाबाट प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटा तथा तृतीय उपाध्यक्षमा तारा एयरका सीईओ उमेश पनेरु चयन भएका छन् । यस्तै, महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चयन भएका छन् । कार्यसमितिका सदस्यमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट तथा हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन् ।  

एमएडब्लु वृद्धिले दिपल ई०७ लाई बजारमा सार्वजनिक गर्दै

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गर्दै नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यसको अझ उन्नत संस्करण दिपल ई०७ ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष एक बटन थिच्नेबित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुन सक्ने अद्वितीय क्षमताका कारण चर्चामा आएको ई०७ ले एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्सफर्मर एक्सले सोही नवप्रवर्तनलाई थप उचाइमा पुर्‍याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्ने एमएडब्लु वृद्धिको दाबी छ । नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्समा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम समावेश गरिएको छ, जसले ‘म्याजिक कार्पेट’ जस्तो सहज यात्राको अनुभव दिने बताइएको छ । यसमा निरन्तर ड्याम्पिङ कन्ट्रोल (सीडीएस), अधिकतम २२३ एमएमसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लेरेन्स तथा राजमार्ग र कठिन भूभागका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन् । यी विशेषताले नेपालका विविध सडक अवस्थामासमेत उत्कृष्ट कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । लक्जरी अनुभवलाई थप उचाइमा पुर्‍याउन नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिटको व्यवस्था गरिएको छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४–वे पावर एड्जस्टेबल फ्रन्ट सिट तथा लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले यसलाई ‘फर्स्ट क्लास’ यात्राको अनुभूति दिने बनाएको छ । पछाडिका यात्रुका लागि पनि छुट्टै स्तरको सुविधा उपलब्ध गराइएको छ । रियर सिटबाटै ट्रंक र रियर डोम सञ्चालन, सिट हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिङ एड्जस्टमेन्टका साथै छुट्टै रियर सिट फोल्डिङ कन्ट्रोल सिस्टम दिइएको छ, जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ । यी सबै अत्याधुनिक सुविधा र प्रविधिका कारण दिपल ई०७ ट्रान्सफर्मर एक्स अहिलेसम्मकै सबैभन्दा उन्नत र ग्राउन्ड ब्रेकिङ इभीका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड ५० लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । सभाले सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदन, २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबसहितका अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ । लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार संस्थाको जारी तथा चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । प्रति सेयर आम्दानी २०.२९ रुपैयाँ, प्रति सेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, कुल पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य–आम्दानी अनुपात ४३.५९ तथा कुल पुँजी कोष अनुपात १६.६२ प्रतिशत रहेको संस्थाले जनाएको छ । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष खेम बहादुर पाठकले गरिबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानलाई केन्द्रमा राखेर लगानी गर्दै आएको संस्थालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले सबैभन्दा पहिले गरिब र किसानको जीवनस्तर सुधार गर्न सके देशको समग्र अर्थतन्त्र बलियो हुने बताए । ग्रामीण क्षेत्रमा पशुपालन, दुग्धजन्य उत्पादन, तरकारी खेती तथा साना तथा लघुउद्यम विकासमा लघुवित्तले पुर्‍याउँदै आएको सहयोग प्रभावकारी बन्दै गएको उनको भनाइ थियो । अध्यक्ष पाठकले बदलिँदो आर्थिक परिस्थितिमा संस्थालाई थप सबल बनाउन सेयर सदस्यहरू सबैले साझा सोच बनाउनुपर्नेमा जोड दिए । यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम र उद्यमशीलता विकासमा आफ्नो ध्यान केन्द्रित गरेको बताए । उनले युवा, महिला तथा गरिब किसानको आर्थिक सशक्तीकरणका कार्यक्रम सरकार तथा दातृ निकायसँगको सहकार्यमा निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए । संस्थाका अनुसार हाल देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा १ हजार ४ सय ६३ साझेदार संस्था आवद्ध छन् । आवद्ध सहकारी संस्थामार्फत ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण तथा परिचालन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा संस्थाले ९ लाख ४१ हजार ७ सय ३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुर्‍याएको जनाएको छ । लाभग्राहीमध्ये दलित १०.९२ प्रतिशत, जनजाति ४२.२१ प्रतिशत र अन्य ४६.८७ प्रतिशत रहेका छन् भने महिला सहभागिता ८२ प्रतिशत रहेको छ । साधारण सभाका अवसरमा जारी विज्ञप्तिअनुसार नेपाल सरकारको ऋण सहयोगमा १५ वर्षदेखि सञ्चालन हुँदै आएको सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रममार्फत १ लाख ६९ हजार ५ सय किसान व्यवसायमा जोडिएका छन् । यसअन्तर्गत २ लाख ८५ हजार ३ सय ७२ किसानलाई ४३ अर्ब ८० करोड ९२ लाख रुपैयाँ पशुपालन कर्जा र १८ हजार १ सय २ साना किसानलाई ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ तरकारी खेती कर्जा प्रवाह गरिएको छ । उक्त कार्यक्रमबाट किसानहरूले बाख्रा, बंगुर, पाडापाडी, भैंसी र गाईसहित १७ लाख ७९ हजार ७० पशुवस्तु पालन तथा १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । यसबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ बराबरको तथा हालसम्म ७३ अर्ब रुपैयाँभन्दा बढीको मासु, दुग्धजन्य पदार्थ र तरकारी उत्पादन भएको अनुमान गरिएको छ । यसैगरी, एसियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नत साना किसानलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा संलग्न गराउने ग्रामीण उद्यम परियोजना पनि सञ्चालनमा रहेको संस्थाले जनाएको छ ।

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा छ । आयोजनाको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, वटम प्रेसर साफ्ट, टप पेनस्टक र पेनस्कट पाइपलाइन जडान सकिएको जनाइएको छ । कूल छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, एक किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, ३२९ मिटर वटम प्रेसर साफ्ट, ५०९ मिटर टप पेनस्टक जडान भएको छ । विसं २०८१ साउन १५ गते ‘ब्रेकथ्रु’ भएको आयोजनाको मुख्य सुरुङको पलास्टर र ढलान सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । 'बाँधस्थल नजिकको अडिट १, अधेरीखोलाको अडिट २, पिप्लेको अडिट ३ र तिल्केनीचौरको अडिट ४ को जक्सनमा मात्र ग्राउटिङ र लाइनिङ बाँकी छ,' उनले भने 'बटरफ्लाई भल्ब च्याम्बर र म्यानुअल च्यामबरको संरचना पनि तयार भइसकेको छ ।' हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत् गृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फको कामलाई क्रमशः पूर्णता दिने चरणमा रहेको प्रबन्ध सञ्चालक केसीले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण भएको छ । ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । तिल्केनी चौरमा विद्युत् गृह निर्माण ९८ प्रतिशत सम्पन्न भएको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर २० मेगावाट क्षमताको एउटा युनिटमा टर्वाइन, जेनेरेटरका पाट्स जडान सकेर दोस्रो युनिटको उपकरण जडान अन्तिम चरणमा रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए । 'विसं २०७६ कात्तिकमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युत्गृहको उपकरण आयात सकेर जडानलाई तीव्रता दिएको छ,' उनले भने, 'विद्युत् गृह नजिकै स्वीचयार्डका लागि फाउण्डेशन निर्माण सम्पन्न भई स्विचयार्डको उपकरण जडानकार्य भइरहेको छ ।' कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार (आइभिआरसिएल) सँगको ठेक्का रद्द गरी ३२ मेगावाट क्षमताबाट आयोजनाको क्षमता अभिवृद्धि गरी नयाँ प्रारूपमा अघि बढाइएको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणामा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स लिमिटेडले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले दैनिक चार घण्टा पिकिङ्गसहित वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा बेलीब्रिज निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । राहुघाट जलविद्युत् आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुविधा पुगेको छ । राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्गमा पर्ने घुमाउनेतालदेखि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट खण्डको सडकलाई स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । बाँधस्थलभन्दा माथि दग्नाम गाउँको फेदीबाट झर्ने पहिरो रोकथामका लागि चेक ड्याम तथा क्याच डेन निर्माण कार्य भई रहेको छ साथै थप अध्ययन भइरहेको छ । पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीका लागि आवास तथा कार्यालय सञ्चालनका लागि १५ वटा भवन निर्माण भइसकेको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । रासस