विकासन्युज

आजदेखि कांग्रेसको विशेष महाधिवेशन सुरु, ५० जना अतिथि अटाउने मञ्च, ६ हजार बढी कुर्सी

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आव्हानमा विशेष महाधिवेशन सुरु हुँदैछ । पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौं स्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुनेछ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च  निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए । पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए । मुलुक भरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका विभिन्न स्थानमा ३ हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप २/२ सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुने गरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए । यसैगरी महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूले १ हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन पछि बन्दशत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।

जेनजी आन्दोलनमा क्षति भएका सवारीको कर र नवीकरण दस्तुर छुट

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधनको कर र नवीकरण दस्तुर मिनाहा गरिने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको उद्घाटन गर्दै उनले आफ्नो प्रदेश अन्तर्गत पूर्ण रूपमा नष्ट भएका सवारीको चालु आर्थिक वर्ष २०८२/८३ को कर तथा नवीकरण दस्तुर छुटसहित निःशुल्क दर्ता खारेजी गरिने जानकारी दिए ।  उनले आंशिक क्षति भएका सवारीसाधन प्रयोग नहुन्जेलसम्म कर छुट दिने प्रक्रिया अघि बढाइएको बताए । सेवा लिन नसकेर जरिवानामा परेका सेवाग्राहीका लागि जरिवाना मिनाहा गर्ने प्रक्रियासमेत सुरु गरिएको बताउँदै मुख्यमन्त्री बानियाले बागमती प्रदेशका यातायात कार्यालयमा सेवा विस्तार र डिजिटाइजेसनको केही काम भइरहेकाले आफ्ना सेवा प्रवाहलाई थप डिजिटल, पारदर्शी र सहज बनाइने उल्लेख गरे ।  अनलाइन र डिजिटल प्रविधिमार्फत घरैबाट सेवा लिने वातावरण बनाइने उनले प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकले सेवा लिनका लागि लाइन बस्नुपर्ने अवस्था अन्त्य गरिने बताए । उनले यातायात व्यवसायीलाई थप व्यवस्थित बनाउन तथा सवारी दुर्घटनामा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सवारीसाधन नवीकरण गर्दा बिमाको प्रिमियमसमेत असुल गरिने व्यवस्था गर्न लागिएको जानकारी दिए । यातायात कार्यालयमा बिचौलियालाई निषेध गरी सेवा पारदर्शी बनाउने अभियान स्वरूप ‘बिचौलिया निषेध क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको जनाउँदै मुख्यमन्त्री बानियाले अनलाइन भुक्तानी प्रणालीमा सेवाग्राहीलाई जोडेर घरमै बसेर सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने बताए । मालसामान ढुवानी, ओसारपसारमा ट्रक व्यवसायीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले स्वदेशी व्यवसायीले भारतीय सवारीसाधनसँग प्रतिस्पर्धा गर्न कठिन रहेकाले संरक्षणका लागि तीन तहका सरकारसँग समन्वय गरी आवश्यक योजना निर्माण गरिने धारणा राखे । 

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

रूपनी जिएम काठमाडौं । ‘मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो,’ यो भनाइ हो- बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिए । यसरी सुरु भएको उनको यात्रा आज परेवा बिक्री गरेकै कारण आत्मनिर्भर बनेको छ । परेवाप्रतिको संवेदनाबाट जन्मिएको यो सम्बन्ध आज पृथ्वीबहादुरको जीवनको आधारशिला बनेको छ । यसले उनलाई गाउँमै एउटा आत्मनिर्भर कृषक उद्यमीका रूपमा स्थापित गरेको छ । सुरुमा परेवा पाल्ने उहाँको कुनै योजना थिएन । घर वरिपरि बस्न ठाउँ नपाएका परेवा देख्दा मानवीय समवेदनाले छोयो र आफ्नै घरछेउमा सानो बासस्थान बनाइदिएको पृथ्वीबहादुरको भनाइ छ । त्यसपछि ती परेवा आफैँ उनकै घरमा बस्न थाले र समयसँगै तिनको सङ्ख्या बढ्दै गयो । परेवाको सङ्ख्यासँगै पृथ्वीबहादुरको जिम्मेवारी, अनुभव र आत्मविश्वास पनि विस्तार हुँदै गयो । आज उनको घरमा परेवाको ठूलो बथान छ । जसले केवल घरआँगन भरेको छैन, परिवारको भविष्य पनि सुरक्षित बनाएको छ । हिन्दू धर्मशास्त्रअनुसार जहाँ परेवाले बास गर्छन्, त्यस्तो घरमा शुभ लक्षण रहने, सुख, शान्ति बस्ने र परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वास गरिन्छ । विश्वभर परेवा शान्तिको दूतका रूपमा पनि चिनिन्छन् । यही सांस्कृतिक र धार्मिक मान्यताले पृथ्वी चौधरीको परेवाप्रतिको सम्मान र समर्पणलाई अझ गहिरो बनाएको उनको भनाइ छ । परेवाले केवल रोजगारीमात्र होइन, घरभित्र शान्ति र सन्तुलन पनि ल्याइदिएको छ । परेवाले उनको जीवनमा ल्याएको परिवर्तन भावनात्मक मात्र नभई आर्थिक रूपमा अत्यन्त महत्त्वपूर्ण पनि छ । पृथ्वीबहादुरले जोडी परेवा ५ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा बिक्री गर्छन् । विशेषगरी सङ्कटकालमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारहरू परेवा किन्न आएको उनले बताए । उक्त समयमा एउटा याममै ४५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म आम्दानी भएको पनि बताए । यही आम्दानीले पृथ्वीबहादुरको घर खर्च, छोराछोरीको पढाइ, स्वास्थ्योपचार र दैनिकी सहज बनेको छ । साउन र भदौमा चारोको अभाव हुँदा पृथ्वीबहादुर परेवाका लागि विशेष आहार आफैँ तयार गर्छन् ।  ‘मसुरोको दानाजस्तै देखिने अकडाको चारो छतभरि छरेर त्यो दुई महिना परेवालाई खुवाउने गरेको छु,’ उनले भने । उक्त दानाले परेवाको स्वास्थ्य राम्रो राखिनुका साथै उत्पादन पनि बढाएको पृथ्वीबहादुरको अनुभव छ । जाडो महिनामा परेवाको मासुले शरीर तताउने विश्वासका कारण पृथ्वीबहादुर धेरैजसो परेवा किन्न आउने गरेका बताउँछन् । ‘मन्दिरमा पूजा वा भाकल गर्न, चाडपर्व मनाउन र विशेषगरी सुत्केरीका लागि परेवा किन्न आउनेको सङ्ख्या उल्लेख्य छ,’ पृथ्वीबहादुरले भने । यसै कारणले पनि आम्दानीलाई स्थायित्व दिएको उनको भनाइ छ । उनले परेवा पालेदेखि नै त्यसको मल आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको बताए ।  परेवाको मलले बाली उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । यसरी परेवा उनका लागि आम्दानीको स्रोतमात्र नभई खेतिपातीमा सहायक माध्यम पनि बनेको छ । सुरुमा बिक्री गर्ने कुनै सोच नराखेका पृथ्वीबहादुरले दुईपटक परेवा बेचेर हातमा पैसा आएपछि मात्र परेवापालनलाई व्यवस्थित रूपमा अगाडि बढाएको बताए ।  आज परेवाबाट भएको आम्दानीले पृथ्वी चौधरीको परिवार आर्थिक रूपमा सशक्त बनेको छ । उनका अनुसार छोराछोरीको पढाइ, घरको खर्च र भविष्यको योजना सबै यही परेवाले धानेको छ ।  ‘वर्षमा करिब दुई महिनामात्र घरको दाना खुवाउनुपर्छ, बाँकी समय परेवा बिहान उडेर नेपालगञ्जका ठूला उद्योग क्षेत्रमा दाना खान जान्छन् र बेलुका बथानका साथ आफ्नै घर फर्किन्छन्,’ उनले भने । उनको जीवन परेवासँग गहिरोसँग गाँसिएको छ । ‘बाँचुन्जेल परेवाकै सेवा गर्छु, मेरो परिवार नै यिनीहरू हुन् । मैले जानेकै यही भयो, जीवन नै परेवाको समर्पणमा बित्यो । बिहान उडेर गएका परेवा बेलुका सबै फर्केर आउँछन् कि आउँदैनन् भनेर दिनभरि कुरी बस्छु,’ उनले भने ।  मन्दिरमा भाकल गरेका व्यक्तिले बाँके बाहेक अन्यत्र जिल्लामा लगेर उडाएका परेवासमेत आफ्नै घर सम्झेर फर्केर आउने गरेको पृथ्वीबहादुरले बताए । कहिलेकाहीँ आफूले बेचिसकेको परेवा पनि घर फर्केर आइदिँदा मन कताकता भावुक हुने, अनौठो खुसी लाग्ने उनको भनाइ छ ।  परेवाले बच्चा निकालेको १५ देखि २१ दिनभित्र त्यसलाई खान मिल्छ । बिहान चर्न गएका परेवालाई बाज र चिलले झम्टेर खाइदिन्छ कि भन्ने पिर सधैँ रहने उनले बताए । परेवा र पृथ्वी चौधरीबीच गहिरो भावनात्मक सम्बन्ध छ । उनका छोराछोरी परेवासँगै हुर्किएका छन् ।  पृथ्वीले भने, ‘परेवाबिना यो घर सुनसान लाग्छ ।’ परेवाले उनलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाएको छ । विपन्न अवस्थाबाट सुरु भएको जीवन आज सम्मानजनक, स्थिर र आत्मनिर्भर बनेको छ । पृथ्वीबहादुर चौधरी आज परेवा पालनबाट मासिक २५ रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म नियमित आम्दानी गरिरहेको बताउँछन् । चाडपर्व, जाडो मौसम र धार्मिक सिजनमा भने आम्दानी अझ बढ्ने उनको अनुभव छ । ‘सिजनमा परेवा बेचेर ५० हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँसम्म पनि कमाएको छु,’ उनले भने, ‘यही स्थिर आम्दानीले मेरो परिवारलाई सुरक्षित बनाएको छ र परेवाले नै मेरो जीवनको आधारस्तम्भका रूपमा मलाई स्थापित गरेको छ ।’ कुनै समय खुला आकाशमा उड्दै बासको खोजीमा भौतारिएका दुई जोडी परेवाले आज पृथ्वीबहादुरको जीवनलाई आर्थिक रूपमा धेरैमाथि उठाएको छ । परिवारसँगको उनको भावना मोह र समवेदनाबाट सुरु भएको यात्राले आत्मनिर्भरको जगलाई निर्माण गरेको छ । परेवाले उनको जीवन बदलिदिएको छ र एउटा साधारण किसानलाई उद्यमीका रुपमा चिनाएको छ । रासस

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँ जस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गी अड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्ण कदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका थिए । शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उनले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए ।  यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ । यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई  स्मरण गराउँछ ।  युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ । शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यत्तिकै समय सान्दर्भिक छन् ।  भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न दलका नेता र राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिएका छन् । 

आयल निगमको खुद नाफा १३ अर्ब ६४ करोड, आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४  करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । शनिबार निगमको ५६औं वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार निगमले १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगमको वित्तीय अवस्था सुदृढ बन्दै गएको जानकारी दिए । उनका अनुसार सो अवधिमा निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको थियो भने राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान पुर्‍याएको छ । निगमको यो सफलताको मुख्य श्रेय विसं २०७१ देखि लागू गरिएको स्वचालित मूल्य प्रणाली लाई दिइएको छ । डा. भट्टले यस प्रणालीलाई निगमको इतिहासकै कोशेढुङ्गा संज्ञा दिँदै यसैका कारण संस्था आर्थिक रूपमा मजबुत बनेको बताए । यस्तै, पूर्वाधार विकासमा भएको प्रगतिले पनि निगमलाई थप बलियो बनाएको छ । मोतिहारी-अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आएपछि ढुवानी खर्चमा बचत भएको छ । यसबाट उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको निगमको दाबी छ । निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ ।  निगमले अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोहरूमा फ्लो मिटरु जडान गरी तेल चोरी र चुहावट नियन्त्रणमा कडाइ गरेको छ । ईआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप कम गरी पारदर्शिता बढाएको कार्यकारी निर्देशक भट्टले बताए । निगमले अब परम्परागत इन्धनको व्यापारबाट माथि उठेर क्लिन इनर्जीतर्फ मोडिने लक्ष्य राखेको छ । यसै वर्षदेखि पेट्रोलमा इथानोल मिसाउने सरकारको नीति कार्यान्वयन गरिनेछ ।   यस्तै, काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजनको व्यावसायीकरण गरी सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जनको लक्ष्यमा सघाउने योजना रहेको जनाएको छ ।  निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि सेयर जारी गर्ने विषयमा अध्ययन भइरहेको छ । यस्तै, ४ सय ५० किलोको ठूलो ग्यास सिलिन्डर प्रचलनमा ल्याउने तयारी पनि निगमले गरेको जनाएको छ ।  करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभर दैनिक ७५ लाख लिटर पेट्रोलियम र १ हजार ५ सय टन ग्यास वितरण गर्नु चुनौतीपूर्ण रहेको डा. भट्टले उल्लेख गरे ।  दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोल पम्प खोल्ने र कर्णालीमा नयाँ डिपो निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको छ । साथै, सुरक्षा जोखिममा रहेका सिनामङ्गल, भैरहवा र धनगढीका डिपोहरूलाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने भएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सचिवहरू डा. रामप्रसाद घिमिरे र मधुसुदन बुर्लाकोटी, तथा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी लगायतको उपस्थिति थियो ।  वक्ताहरूले निगमले पछिल्लो समय प्रविधि र आर्थिक सुशासनमा हासिल गरेको उपलब्धिलाई प्रशंसा गर्दै आगामी दिनमा अझै पारदर्शी बन्न सुझाव दिएका छन् ।

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर

जनकपुरधाम । जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन् । दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान जनकपुरधाम उपभोक्ताको मागअनुसार वितरण गनृ सकिरहेको छैन । जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि संस्थानले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको जनाएको छ । कार्यालयका प्रमुख विष्णुदेव साहले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार हाल जनकपुरधाममा ४० हजार ४०९ परिवारमध्ये पाँच हजारमामा खानेपानीको धारासहित मिटर जडान गरिएको जानकारी दिए । उनका अनुसार तीमध्ये ४० प्रतिशत घरमा आशिंक रूपमा मात्र पानी आपूर्ति हुने गरेको छ । पछिल्लो समय यहाँ परिवारको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ । वडा नं १० तथा रामानन्द चोकमा निर्मित चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा छवटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण भइरहेको प्रमुख साहले जानकारी दिनुभयो । करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुट्ने, चर्कने, जीर्ण संरचनालगायत समस्याले नियमित पानी वितरणमा चुनौती थपिएको उनको भनाइ छ । सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति पु¥याउन समस्या भएको कार्यालयका प्रमुख साहले बताए । उनका अनुसार जीर्ण पाइपका कारण नियमित रूपमा ५० प्रतिशत मात्र पानी आपूर्ति भइरहेको छ । गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्य बराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीबाट वडा नं ८ स्थित होटल सियाशरणसम्मको सडकको दायाँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याएको थियो । सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण तथा धारा जडानको काम भइरहेको कार्यालय प्रमुख साहले बताए । यसैबीच, पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कार्यालयका कर्मचारीले गुनासो गरेका छन् । यहाँका अधिकांश परिवारले चापाकल तथा मोटर जडान गरेर खानेपानीसहित दैनिक प्रयोगका कार्य गरिरहेका छन् । रासस

‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन् । लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उनको भनाइ छ । ‘मेयर शाह र सभापति लामिछानेको पृष्ठभूमि, स्वभाव, विचार र राजनीतिक यात्रा फरक थियो, तर दुवै जना बैकल्पिक शक्तिका रुपमा उदाएकाले उहाँहरुको बीचको राजनीतिक सहयात्राले मुलुकलाई निर्वाचनमा धकलेको हो भन्ने लाग्छ’, शाहले भने ।  दुवै नेताबीच भएका कैयौँ भेटमा दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफूलगायतले पहल गरेको उनको भनाइ छ । उक्त सहमति  राजनीतिक गणितका आधारमा मात्र नभइ व्यक्तिगत विश्वास र सम्बन्धले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।  ‘कतिपयले उक्त सहमति अदृश्य शक्तिका कारण पनि भने, तर त्यहाँ हामी केही साथीहरू मात्रै थियौँ,’ उनले भने,’त्यो सहमतिको यात्रा सहज थिएन । सभापति लामिछानेको जेल बसाइँ, अदालती प्रक्रिया, मेयर बालेनको पारिवारिक शोक, धेरै अवरोध आए । अन्ततः दुवैबीच नयाँ राजनीतिक समीकरणको आधार तयार भयो ।’ उनले यो सहकार्य चुनावी रणनीति मात्रै नभइ दीर्घकालीन राजनीतिक परिवर्तनका लागि भएको बताउँछन् । सात-आठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासप्रतिको समान चाहनाका कारण दीर्घकालीन सहकार्यका लागि सहमति जुटेको उनको बुझाइ छ ।      वैकल्पिक शक्तिहरू छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि आफूहरूले पहल थालेको शाहले बताए। रास्वपाले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिहरू एक ठाँउमा जुटाउने क्रमलाई जारी राखेको उनको भनाइ छ ।  ‘छरिएर रहेका वैकल्पिक शक्तिहरू एउटै प्लेटफर्म, एउटै मञ्चमा उभ्याउनु जरुरी थियो, त्यसका लागि उपयुक्त मञ्च रास्वपा नै थियो’, उनले भने । रासस

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी । चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगित भएको छ । अत्याधिक चिसोका कारण खोल्सामा पानी र तुसारो जमेको, मजदुरहरूको स्वास्थ्यमा समस्या देखिने र ढलानमा प्रयोग भएको सामग्री नजम्ने अवस्था भएपछि निर्माण कार्य स्थगित भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको यो आयोजना निर्माण स्थल समुद्री सतहदेखि दुई हजार ४०० मिटरदेखि दुई हजार ८०० मिटर उचाइमा छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले चिसो र प्रतिकूल मौसमका कारण स्थगित भएको चित्रे–घोडेपानी सडक योजनाको कामलाई गर्मी बढेपछि फागुन महिनादेखि सुचारु गरिने बताए । चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर दूरीको सडकमध्ये चित्रेदेखि घोडेपानीतर्फ करिब दुई किलोमिटरलाई फराकिलो बनाउने, ग्रेड र घुम्ती सुधार तथा नाली बनाउने काम सकिएको छ । हालसम्म ३८ प्रतिशत भौतिक प्रगति भएको उक्त योजनामार्फत थप दुई किलोमिटरमा विस्तार, ग्रेड र घुम्ती सुधार गरी ग्राभेल गर्न बाँकी छ । विसं २०८१ कात्तिक १४ गते दुई करोड २३ लाख ९६ हजारमा विकेश जय दुप्चे जेभीले ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले आगामी आव २०८२र०८३ का लागि रु ७५ लाख विनियोजन गरेको छ । विसं २०७५ मा गण्डकी प्रदेश सरकारको बजेटबाट मार्ग खुलेको सडक सात वर्षपछि स्तरोन्नति थालिएको हो । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने घोडेपानीका बासिन्दासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक सङ्घीय सरकारमार्फत गत वर्ष स्तरोन्नति भएको थियो । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार प्रदेश सरकारले आव २०८०/०८१ मा रु तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाइएको हो । कास्कीको नयाँपुुल, तिखेढुुङ्गा, उल्लेरी हुुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना भएकाले यो योजनालाई प्राथमिकता दिएको भण्डारीले बताए । प्रदेश सांसद भण्डारी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पूर्वमन्त्री एवं सांसद रेशमबहादुर जुग्जाली (सुविन)ले शुक्रबार उक्त योजनाको अनुगमन गरेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् । रासस