सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । उक्त लाभांशको वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ ।
ट्रम्प भन्छन् - केही बिदामा रहेका कामदारहरूले पारिश्रमीक नपाउन सक्छन्
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताएका छन् । बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो । डेमोक्र्याटहरूले धेरै मानिसहरूलाई ठूलो जोखिममा पारेको बताए । अमेरिकी राष्ट्रपतिले कुन बिदामा रहेका संघीय कर्मचारीहरूले फिर्ता तलव नपाउन सक्छन् भन्ने बारेमा थप विवरण प्रदान भने गरेनन् । ट्रम्पले बन्दको गतिरोधको लागि डेमोक्र्याटहरूलाई दोष दिइरहँदा डेमोक्र्याट नेताहरूले रिपब्लिकनहरूलाई दोष दिइरहेका छन् । ३५ दिनसम्म चलेको र जनवरी २०१९ मा समाप्त भएको अघिल्लो सरकारी बन्दपछि ट्रम्पले भविष्यमा बन्दबाट प्रभावित संघीय कर्मचारीहरूको लागि तलब फिर्ताको ग्यारेन्टी गर्ने कानूनमा हस्ताक्षर गरेका थिए । कानून पारित हुनुअघि, अमेरिकी काँग्रेसले सरकार पुनः खोल्न कोष विधेयक स्वीकृत भएपछि संघीय कामदारहरूको लागि तलब फिर्ताको ग्यारेन्टी नियमित रूपमा स्वीकृत गरेको छ । गत हप्ता कंग्रेसनल बजेट कार्यालयले गरेको विश्लेषणअनुसार यस बन्दको समयमा लगभग ७ लाख ५० हजार संघीय कामदारहरूलाई बिदामा राख्ने अनुमान गरिएको छ । आवश्यक मानिएका संघीय कामदारहरू जस्तै हवाई ट्राफिक नियन्त्रकहरू र कानून प्रवर्तन अधिकारीहरू, सरकार पुनः नखुलेसम्म तलब बिना काम गरिरहनेछन् ।
रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति
जलेश्वर । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो । बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।
बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने, कुन राजमार्गमा कति ?
काठमाडौं । गत असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवं मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरे । यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै ३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा ४ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
उत्पादन बढी र माग कम हुँदा अलैंचीको मूल्य प्रतिमन ८० हजारमा झर्याे
काठमाडौं । सङ्खुवासभामा यो वर्ष अलैंचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजार रुपैयाँ रहेकामा यसपटक भने ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक दशक अघिदेखि ओरालो लागेको अलैंचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैंचीको मूल्य प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको अलैंची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिमन १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको हो । ‘उत्पादन बढी र माग कम भएका कारणले अलैंचीको मूल्य घटेको हो । गत वर्ष ९० हजार रुपैयाँदेखि १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची ८२ हजार रुपैयाँ र ग्रेडिङ नभएको अलैंची ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैंची ९८ प्रतिशत नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ ।
सिजनमै पर्यटक आगमन खुम्चियो, सेप्टेम्बरमा ७८ हजार मात्रै भित्रिए
काठमाडौं । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् ।
रामेछाप-लुक्ला दैनिक ५० देखि ६० वटा उडान, काठमाडौं रुटमा सातामा ३ दिन हुने
काठमाडौं । मंगलबारदेखि रामेछाप-काठमाडौं रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज लगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् । केही दिनयता रामेछाप-लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप-काठमाडौं उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण वीपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो । मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ । अबदेखि प्रत्येक बुधबार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।
सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै, १८ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाइने भएको छ । बिदा स्वीकृत नगराइ गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र यो पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य भएको भन्दै गृह मन्त्रालयले सिटौलालाई विभागीय कारबाही गर्ने जनाएको हो । गृह मन्त्रालयको सचिव स्तरको निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ । यदि विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारणसहित सफाइ पेस गर्ने मौका समेत दिइएको छ । साथै, लामो समयदेखि बिदा स्वीकृत नगराइ कार्यालयको सम्पर्कमा नरहेका १८ जनालाई नेपाल प्रहरीले ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सहायक हवल्दार निजामुद्धिन पठान, देवराम तावड रहेका छन् । यस्तै, प्रहरी जवानहरुमा पारस बुढा मगर, राजन घिमिरे, कमल बि.सी. उत्तम बहादुर विष्ट, करन बहादुर चन्द, श्रीराम परियार, अनिल बि.क., अजित राई, भुपेन्द्र सिंह ठगुन्ना, अर्जुन धिताल, अनिल प्रसाद यादव, रोहुल्ला राय भाट, कौशिला बोगटी, सन्जय रुम्बा तामाङ, दिपेन्द्र चौधरी र राहुल कुमार राउत मेहतर रहेका छन् ।