प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) मध्यान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ । सोमबार (आज) दिउँसो १ः१५ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि सभामुखले अर्को बैठक भोलिका लागि तोकेका हुन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाएको छ। सचिवालयद्वारा जारी सूचनामा विशेष कारणले बैठक बस्न नसकेको उल्लेख छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले केही दिनयता संघीय संसद्का दुवै सदनमा विरोध जनाउँदै आएका छन् । यही विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहे पनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन । विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने र आवश्यक स्पष्टीकरणसहित माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट त्यसो नभएसम्म सदनको अवरोध हट्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो ।
कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त, राष्ट्र बैंकमा सपथ ग्रहण
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार पाण्डेयलाई अध्यक्ष पदमा चयन गरिएको हो । नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष कार्य गर्दै महत्वपूर्ण अनुभव हासिल गरेका छन् । आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा काम गरेको अनुभवसमेत उनीसँग रहेको बताइएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनरसमक्ष सपथ ग्रहण गराउने व्यवस्था बमोजिम पाण्डेयले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर विश्वनाथ पौडेलले उनलाई सपथ ग्रहण गराएका थिए । सपथ कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
‘सञ्चालकको बन्दीमा सेबोन, नेतृत्वविहीन हुनु दुर्भाग्यपूर्ण’
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले बोर्डको वर्तमान व्यवस्थापन अनिर्णयको बन्दी बनेको आरोप लगाउँदै संस्थालाई नेतृत्वविहीन अवस्थामा राखिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । सेबोनको ३३औं वार्षिकोत्सव तथा ३४औं वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा युनियनले बोर्डको इतिहासमै पहिलो पटक वार्षिकोत्सव कार्यक्रम स्थगित हुनु व्यवस्थापनको उदासीनता, अनुत्तरदायित्व र अपरिपक्व निर्णयको परिणाम भएको टिप्पणी गरेको छ । युनियनका अनुसार स्थापनाकालदेखि नै विभिन्न चुनौती र प्रतिकूल परिस्थितिका बीच पनि बोर्डले आफ्नो वार्षिकोत्सव निरन्तर रूपमा मनाउँदै आएको थियो । तर, यस वर्ष कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी कार्यक्रम नगर्ने निर्णय गरिएको भन्दै युनियनले त्यसको भत्र्सना गरेको छ । विज्ञप्तिमा वर्तमान उच्च व्यवस्थापन तथा सञ्चालक समितिलाई अनिर्णयको बन्दी बनेको आरोप लगाइएको छ । युनियनले यही प्रवृत्तिका कारण बोर्ड प्रशासनिक र व्यावसायिक दुवै दृष्टिले कमजोर बन्दै गएको दाबी गरेको छ । युनियनले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रम नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता तथा लगानीकर्ताबीच समीक्षा, छलफल र भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेको छ । यस्तो अवसरलाई रोक्नुले संस्थाभित्रको कर्पोरेट संस्कृति र सुशासनको अवस्थामाथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । युनियनले व्यवस्थापनलाई आफ्नो पदीय जिम्मेवारी र जवाफदेहिता पूरा गर्न आग्रह गर्दै रोकिएका नीतिगत तथा प्रक्रियागत निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ । संस्थाको साख जोगाउन र समग्र पुँजी बजारको हितका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको युनियनको भनाइ छ । विज्ञप्तिमा बोर्डको अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा पुँजी बजारको नियामकीय गतिविधि प्रभावित भएको उल्लेख गर्दै युनियनले नेपाल सरकारसँग नियुक्ति प्रक्रिया शीघ्र सम्पन्न गरी बजारलाई आवश्यक नेतृत्व प्रदान गर्न माग गरेको छ । युनियनले सेबोनको संस्थागत सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा पुँजी बजारको दिगो विकासका लागि तत्काल प्रभावकारी नेतृत्व र निर्णय क्षमतायुक्त व्यवस्थापन आवश्यक रहेको समेत जनाएको छ ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–५ को उपाधि प्राइम कमर्सियल बैंकलाई
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सम्पन्न भएको छ । चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जित्दै च्याम्पियन बन्न सफल भएको हो । जेठ १७ गतेदेखि जेठ २० गतेसम्म भएको उक्त प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ । प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमको सहभागिता रहेको थियो । विजेतालाई ट्रफी हस्तान्तरण कार्यक्रम शुक्रबार (२०८३/०२/२२) सम्पन्न भएको छ। कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा विजेता प्राइम कमर्सियल बैंकलाई च्याम्पियन ट्रफी तथा माछापुच्छ्रे बैंकलाई उपविजेता ट्रफी प्रदान गरिएको हो । व्यक्तिगत विधातर्फ लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर घोषित भए भने सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर बने । नेपाल बैंक लिमिटेडका मोहनकुमार श्रेष्ठ उत्कृष्ट बलर तथा माछापुच्छ्रे बैंकका सृजन सुवेदी उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य बनेका छन् । फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले हात पारेको छ । महालक्ष्मी विकास बैंकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहभागी टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
फिलिपिन्समा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १५ पुग्यो
काठमाडौं । फिलिपिन्समा आएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयले यसको पुष्टि गरेको हो । स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार ज्यान गुमाएका १५ मध्ये १२ जना सोक्ससार्जेन क्षेत्रका रहेका छन् । यो क्षेत्र चारवटा प्रान्त र एउटा सहर (साउथ कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सेन्टोस सिटी) मा फैलिएको छ । उक्त क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएको उनले जानकारी दिए । यसैगरी, फिलिपिन्स इन्स्टिच्युट अफ भोलकानोलोजी एन्ड सिस्मोलोजीले मिन्डानाओका ६ वटा क्षेत्रमा सुनामीको लहर रेकर्ड गरिएको जनाएको छ । यी लहरहरू स्थानीय समयअनुसार बिहान ७ः४२ देखि ८ः४५ बजेको बीचमा रेकर्ड गरिएका हुन्, जसमा सबैभन्दा उच्च लहर १.४ मिटर (४.६ फिट) सम्म पुगेको थियो । इन्स्टिच्युटले दिएको जानकारी अनुसार दक्षिणी तट नजिकै आएको सोही ७.८ म्याग्निच्युडको भूकम्पपछि स्थानीय समयअनुसार बिहान ११ः०० बजेसम्म १३८ वटा पराकम्पहरू महसुस भइसकेका छन् । यी परकम्पहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म मापन गरिएको छ ।
सिटिजन्स बैंकद्वारा देशव्यापी वृक्षारोपण, १५०० बिरुवा रोपियो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २३ गते आयोजित उक्त कार्यक्रममा बुढानीलकण्ठ वडा नम्बर–१ मा करिब २५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । बैंकले देशव्यापी रूपमा पनि वृक्षारोपण अभियान सञ्चालन गर्दै कोशीमा २००, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिममा २०० गरी कुल १५०० बिरुवा रोपिएको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा नम्बर–१ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापनसहित कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएका प्रत्येक बिरुवाले भविष्यमा स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा लिएको बताए । बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग लगायतका सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकको भनाइ छ । सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४ र २०२५’ उपाधि प्राप्त गर्नुका साथै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ प्लेटफर्म तथा फ्रिलान्सर लक्षित बचत खाता समेत सुरु गरेको छ । बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
गाडी आयातमा घोटाला भएको छ : एमाले
काठमाडौं । नेकपा (एमाले) ले आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको विषयलाई लिएर सरकारको आलोचना गर्दै गाडी आयातसँग सम्बन्धित प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयक र अन्तिम रूपमा पारित गरिएको दस्तावेजबीच फरक देखिएको दाबी गरिन् । उनले विधेयकका केही पृष्ठमा संशोधन गरिएको उल्लेख गर्दै करका दर हेरफेर गरिएको विषय गम्भीर भएको बताइन् । अर्यालले चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीसँग सम्बन्धित आयात प्रक्रियामा समेत शंका उत्पन्न भएको बताउँदै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन् । उनका अनुसार भन्सार प्रक्रिया र कर निर्धारणसँग जोडिएका विषयमा सार्वजनिक रूपमा विभिन्न प्रश्न उठिरहेका छन्, जसले पारदर्शितामाथि नै प्रश्न खडा गरेको छ । सांसद अर्यालले करसम्बन्धी व्यवस्थामा अपारदर्शी ढंगले हस्तक्षेप गरिए राज्यको राजस्वमा असर पर्ने र यसलाई आर्थिक अनुशासनविपरीतको कार्यका रूपमा लिनुपर्ने बताइन्। उनले विवादित विषयमा सम्बन्धित मन्त्रालय तथा अर्थमन्त्रीले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन् ।
क्लासिक भ्यू रिसोर्टको व्यवस्थापनको जिम्मा सोल्टी होटल्सले लियो
काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन लागेको हो । होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाइँ र क्लासिक भ्यू रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरेका छन् । सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाइँका अनुसार सोल्टी होटल्स एण्ड रिसोट्र्सले काठमाडौं उपत्यकामा मात्र तीनवटा होटल सञ्चालन गर्न सफल बनेको छ । उनले भने, 'नेपालको एकमात्र स्वदेशी अन्तरराष्ट्रिय पाँचतारे ‘चेन डिलक्स होटल’ सोल्टी होटल्स एण्ड रिसोट्र्सले पछिल्लो समय नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूमा आफ्नो सेवा विस्तार गर्दै नेपाली आतिथ्यता र विश्वस्तरीय सेवाको संयोजन प्रस्तुत गर्दै लगेको छ । ‘द सोल्टी रिसोर्ट’ शिवपुरीको सञ्चालनसँगै सोल्टी होटल्स एण्ड रिसोट्र्सले लक्जरी, प्रकृति र स्वास्थ्यलाई समेट्ने अर्को महत्वपूर्ण आतिथ्य गन्तव्य थपेको छ । हामीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो ‘ब्रान्ड’ र सेवा विस्तार गर्दै विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने तथा नेपालको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौँ ।' अद्वितीय हरियाली वातावरणले भरिपूर्ण जङ्गल क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ शिवपुरीबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । यसले अतिथि पाहुनालाई उत्कृष्ट लक्जरी तथा प्राकृतिक सौन्दर्यतामा शान्त र आत्मीय विश्रामको दुर्लभ संयोजन प्रदान गर्ने ध्येय राखेको छ । सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सोल्टी होटल्स एण्ड रिसोर्टसले काठमाडौं उपत्यका परिधि शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौंमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडको स्वामित्वमा रहेको पाँचतारेस्तरको लक्जरी रिसोर्ट व्यवस्थापन सम्झौता तथा सहकार्यमा पर्वतीय पर्यटक विश्रामस्थलको विलासमय सुविधा समाहित ‘लक्जरी ब्राण्ड’ ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं’ व्यवस्थापन तथा सञ्चालन गर्ने घोषणा गर्न पाउँदा गर्व गर्दछ । ‘द सोल्टी रिसोर्ट’ काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज सन्निकट काठमाडौंको शान्त र सौम्य वातावरणमा वन्य जीवन तथा आकर्षक सुन्दर प्राकृतिक सौन्दर्यतासहित मनमोहक काठमाडौं उपत्यकाको अभूतपूर्व स्वर्णिम दृश्यावलोकन तथा रमणीय वन जङ्गल परिवेशमा अवस्थित रहेको छ ।' निर्मल र स्वच्छ प्राकृतिक दृश्य, हरियाली, हराभरा चारैतर्फ क्षितिजमा पहाडी शृङ्खलाहरूले घेरिएको स्वर्णिम स्थानमा पर्यटक अतिथि पाहुनाहरूले दिनभर शान्त प्राकृतिको परिवेशमा आनन्द लिन सक्छन् भने साँझ पर्नासाथ काठमाडौं उपत्यकाको झिलिमिली बिजुली बत्तीले सजिएको मनमोहक स्वर्गीय आनन्ददायी दृश्यले शान्त, विशिष्ट र समयातित आकर्षणको अनुभूति गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै ‘द सोल्टी रिसोर्ट’ शिवपुरीले नयाँ गन्तव्यले विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुलाई उजागर गर्ने गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । यस्ता छन् थप विशेषता प्राकृतिक सौन्दर्य र शान्त वातावरणबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ले स्वदेशी तथा अन्तरराष्ट्रिय पर्यटकका लागि विशिष्ट विश्राम अनुभव प्रदान गर्दछ । हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने ‘डिजाइन’ समावेश गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'शान्त वातावरणमा ‘द सोल्टी रिसोर्ट’ ले विविध स्वादमा उत्कृष्ट भोजन अनुभव प्रदान गर्दछ । अतिथिहरूले ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’ मा विभिन्न परिकारहरूको स्वाद लिन, ‘ऐराक बार’ मा आरामदायी समय बिताउन तथा जङ्गल फायर बिबीक्यु टेरेसमा ‘ग्रिल्ड’ परिकार, बोनफायर र मनमोहक वन दृश्यको आनन्द लिन सक्नेछन् । यस रिसोर्टको प्रमुख विशेषता यसको अनुपम प्राकृतिक वातावरण हो, जहाँ स्वच्छ पहाडी हावा र प्राकृतिक मुहानको पानीको पहुँच उपलब्ध छ । यसले सहर नजिकै भए पनि दुर्लभ रूपमा पाइने पुनःस्थापनात्मक अनुभव प्रदान गर्दछ । साथै, वरपरको क्षेत्रमा वन्यजन्तु चराचुरुङ्गी र पशुपन्छीहरुको अवलोकनको अवसर पनि प्रदान गर्दछ ।' ‘द सोल्टी रिसोर्ट’ शिवपुरीमा आधुनिक बैंक्वेट हल, दुई खुला लन र आकर्षक एम्फिथिएटर रहेका छन् । यी स्थलहरू विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा ‘रिट्रिटहरू’ आयोजना गर्न उपयुक्त छन्, जहाँ प्राकृतिक सौन्दर्य र शीतल पहाडी वातावरणले अनुभवलाई अझ विशेष बनाउने कम्पनीले विश्वास लिएको छ । ‘द सोल्टी रिसोर्ट’ ले स्वास्थ्य, तन्दुरुस्ती र प्राकृतिक अनुभवमा केन्द्रित आतिथ्य सेवा प्रदान गर्दछ । रिसोर्टमा स्विमिङ पुल, स्पा, स्टिम, साउना र फिटनेस सेन्टरका साथै हाइकिङ, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकनजस्ता गतिविधिहरूको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रासस