मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरणमात्र भयो : प्रा. कृष्ण खनाल
काठमाडौं । प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस)को अवस्थाबाट गुज्रिरहेको बताएका छन् । समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणीसमेत गरे । मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाए । मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले अहिले समस्यालाई शिथिलमात्र बनाएको तर सम्बोधन नगरिएको जिकिर गर्दै समस्याको शिथिलीकरण समाधान नभएको दाबी गरे । राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनैपनि पार्टीले आफू किन हार्यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तर्घात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हावी रहेको जिकिरसमेत गरे । अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझेपनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताए । विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै खनालले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताए । हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारीसमेत दिए । प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तबमात्र त्यसले संकटको रूप लिने गर्दछ । उनले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थरमात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिनसक्ने चेतावनीसमेत दिए ।
मलेसियाको जनसंख्या ३ करोड ४४ लाख पुग्यो
काठमाडौं । मलेसियाको कुल जनसंख्या सन् २०२६ मा ३ करोड ४४ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार अघिल्लो वर्ष ३ करोड ४२ लाख रहेको जनसंख्यामा ०.५ प्रतिशतको वार्षिक वृद्धिदर देखिएको हो । तथ्याङ्क विभागकाअनुसार मलेसियाली नागरिकको संख्या सन् २०२५ को ३ करोड ८ लाखबाट बढेर ३ करोड १० लाख पुगेको छ । नागरिकहरूको जनसंख्यामा वृद्धिदर ०.६ प्रतिशत कायम रहेको छ । यसको विपरित, गैर–नागरिकको संख्यामा भने गिरावट आएको छ । सन् २०२५ मा ०.५ प्रतिशतले घटेको गैर–नागरिकको संख्या यस वर्ष थप ०.२ प्रतिशतले खुम्चिएको विभागले जनाएको छ । देशको कुल जनसंख्यामा नागरिकको हिस्सा ९०.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ९०।१ प्रतिशत रहेको थियो । जातीय बनोटका आधारमा ‘भूमिपुत्र’ समुदाय ७०.७ प्रतिशतका साथ सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ । यसमध्ये ५८.४ प्रतिशत मलाया र १२.३ प्रतिशत अन्य भूमिपुत्र रहेका छन् । चिनियाँ मूलका नागरिकको हिस्सा २२.२ प्रतिशतबाट झरेर २२ प्रतिशतमा सिमित भएको छ । त्यसैगरी, भारतीय र अन्य जातीय समूहको हिस्सा भने क्रमशः ६.५ प्रतिशत र ०.८ प्रतिशतमा यथावत रहेको तथ्याङ्कमा उल्लेख छ ।
वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले कटान गरेपछि यातायात अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्ग पनि त्रिशूली नदीले सडक कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
गणेश यादवका परिवारसँग ८ बुँदे सहमति, १० लाख राहतसहित सहिद घोषणा गर्ने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग आठ बुँदे सहमति गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री गुरुङ शुक्रबार राति सिरहाको औरही गाउँपालिका-२, तुलसीयाहीस्थित मृतक यादवको घर पुगेका थिए । त्यहाँ मृतकका बुबा-आमा तथा आफन्तसँग भएको छलफलपछि आठबुँदे सहमति गरेका हुन् । सम्झौताअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ । यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क तथा सालिक निर्माणका लागि पहल गर्ने सहमति भएको छ । सम्झौतामा मृतककी दाइ र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने, मृतकका बुबा र आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने तथा परिवारका अन्य माग पनि यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
देशभर पानी पर्ने, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भागमा सामान्यदेखि पूर्ण बदली छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी क्षेत्रका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
साम्प्रदायिक सद्भाव खलल पुर्याउने ३६ जना पक्राउ
काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट शुक्रबार (आज) ३६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट नौ, सिरहाबाट पाँच, महोत्तरीबाट दुई र पर्साबाट एक जना पक्राउ परेका छन् । यसैबीच, प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न सरकारद्वारा तीन कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
काठमाडौं । सरकारले चिकित्सकहरूसँग भएको सहमतिअनुसार ऐन संशोधन र सम्झौता कार्यान्वयनका लागि तीन वटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको अग्रसरतामा चिकित्सकका माग सम्बोधन गर्न यी कार्यदलहरू गठन गरिएका हुन् । नेपाल चिकित्सक संघसँग भएको सम्झौता कार्यान्वयनको खाका तयार पार्न प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द्र घिमिरेको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको छ । यो कार्यदलमा उपसचिव राजेन्द्रप्रसाद लम्साल, डा. राहुल झा, डा. सञ्जिव तिवारी, डा. तेजसु सिंह मल्ल र डा. पल्पसा श्रेष्ठ सदस्य छन् भने डा. नवराज जोशीलाई सदस्य सचिव तोकिएको छ । त्यस्तै, उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्वास्थ्यसम्बन्धी आवश्यक संशोधनका लागि गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा दोस्रो कार्यदल गठन गरिएको छ । यस कार्यदलमा चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल, डा. विना श्रेष्ठ, डा. योगेश भण्डारीका साथै कानुन र उद्योग मन्त्रालयका प्रतिनिधि सदस्य छन् भने जयकुमार सुवेदी सदस्य सचिव रहेका छन्। यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४ का स्वास्थ्यसँग सम्बन्धित दफाहरू संशोधनका लागि उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीको नेतृत्वमा तेस्रो कार्यदल गठन गरिएको छ । यसमा बाला राई, डा. विश्वराज दवाडी, डा. संयुक्त आचार्य, डा. राकेश शाह र कानुन मन्त्रालयका प्रतिनिधि सदस्य छन् भने सुरेश चौलागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीनै कार्यदललाई प्रतिवेदन तथा कार्यान्वयनको खाका बुझाउन १५ दिनको समयसीमा दिइएको छ । स्वास्थ्यकर्मीको सुरक्षाको माग राख्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि गत साउन १३ गते सरकार र नेपाल चिकित्सक संघबीच सम्झौता भएको थियो। सोही सम्झौतालाई व्यवहारमा उतार्न मन्त्रालयले यो कदम चालेको हो ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वारा पदबहाली
काठमाडौं । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले शुक्रबार (आज) निर्वाचन आयोगमा पदबहाली गरेका छन् । पदबहालीपछि बसेको आयोगको बैठकले हाल संघीय संसद्मा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकअनुसार एकीकृत निर्वाचन व्यवस्थापन नियमावलीको मस्यौदा तयार गर्ने निर्णय गरेको छ । साथै निर्वाचनमा नागरिकको अपेक्षाबमोजिम आधुनिक सूचना प्रविधिको प्रयोगसम्बन्धी अवधारणापत्र तयार गर्ने, मतदाता नामावलीलाई त्रुटिरहित, अद्यावधिक र विश्वसनीय बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । सो अवसरका प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोगका कर्मचारीलाई निर्देशनात्मक सम्बोधन गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र समावेशी निर्वाचन सम्पन्न गराउने दायित्वलाई प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे । उनले सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन, कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्न तथा उच्च मनोबल, व्यावसायिकता र उत्तरदायित्वका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । संसदीय सुनुवाइ समितिबाट अनुमोनपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरूको बिहीबार नियुक्ति भएको थियो ।