विकासन्युज

दैनिक १ करोड भुक्तानी गर्दै डीडीसी, बक्यौता पनि तिरिँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड किसानलाई भुक्तानी भइरहेको छ ।  पछिल्लो चार महिनाको करिब ५८ करोड बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डिडीसीको हाल दैनिक करिब १करोडको कारोबार भइरहेको छ ।  सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम करिब ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ ।  दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताइन् । दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।  

ड्युटीकै क्रममा बेहोस भएका प्रहरी खत्रीको मृत्यु

काठमाडौं । कालीकोटमा ड्युटीकै क्रममा एक प्रहरीको मृत्यु भएको छ । सोमबार कालीकोट खल्लागार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लिला बहादुर खत्रीको मृत्यु भएको हो । ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएका र तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्त घोषणा गरेको कालीकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गणेश ज्ञवालीले जानकारी दिए ।  बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर- २ स्थायी घर भएका खत्रीको इलाका प्रहरी चौकी पचालझरनामा दरबन्दी रहेको थियो । तिलगुफा नगरपालिकाको खल्लागार्ड प्रहरी चौकीमा उनलाई खटाइएको थियो ।

सिक्री लुट्दै हिँड्ने र किन्नेसहित दुई जना पक्राउ

काठमाडौं । महिलाले लगाएको सुनको सिक्री लुट्दै हिँड्ने र खरिद गर्नेसहित दुई जना पक्राउ परेका छन् ।  सिक्री लुट्ने ४६ वर्षीय रामकुमार तामाङ र लुटेको सुन खरिद गर्ने सुन पसल सञ्चालक ६३ वर्षीय किशोर थापा पक्राउ परेका हुन् । तामाङले गत २४ गते चावहिलको आकाशे पुलमा महिलाले लगाएको सुनको सिक्री लुटेका थिए । त्यसैगरी उनले शनिवार साँझ बसुन्धाराको कल्कीनारायण मन्दिर दर्शन गर्न आएकी महिलाको सुनको सिक्री लुटेका थिए । परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नियन्त्रणमा लिएको हो । उनी ललितपुर उपमहानगरपालिका १ का बासिन्दा हुन् । लुटेको सुनसहित उनलाई प्रहरीले चावहिलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज (सोमबार) अपरान्ह ४ बजे सुरु भएको हो। बैठकले विभिन्न निर्णयहरू गर्ने बुझिएको छ ।

अन्तरिक्षमा एक वर्ष बसाउने परीक्षणसहित चीनको शेनझोउ–२३ उडान

काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ । यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ ।      शेनझोउ–२३ अन्तरिक्ष यान उत्तरपश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाइएको हो । चीनले सन् २०३० भित्र पहिलोपटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्यतर्फ तयारी तीव्र बनाइरहेका बेला यो प्रक्षेपणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।      यस मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी छन् । चिनियाँ अधिकारीहरूले लाइलाई उनको नामलाई म्यान्डारिन भाषामा उच्चारणअनुसार रूपान्तरण गरेर ‘ली जियायिङ’ नामले पनि चिनाउने गरेका छन् ।      हङकङमा जन्मिएका तथा त्यहीँ हुर्किएका लाइले कम्प्युटर फरेन्सिक विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनलाई अन्तरिक्ष मिसनमा सहभागी हुने सहर पृष्ठभूमिबाट आएका पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा पनि प्रस्तुत गरिएको छ ।      सरकारी सञ्चारमाध्यमका अनुसार शेनझोउ–२३ को टोलीले अन्तरिक्षमा दर्जनौँ वैज्ञानिक तथा प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्ने तयारी गरेको छ । यो टोलीले हाल २०० दिनभन्दा बढी समयदेखि टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा कार्यरत शेनझोउ–२१ का चालक दलसँग कक्षामा भेट गर्ने तथा कार्य हस्तान्तरण प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ ।      यस मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तीन सदस्यीय टोलीमध्ये एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा लगातार एक वर्ष राख्ने योजना हो । यो बसाइ सफल भएमा त्यसलाई अन्तरिक्षमा मानवको सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ । सरकारी सञ्चारमाध्यमका अनुसार यस प्रयोगको उद्देश्य लामो अवधिको अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूलन क्षमता, सहनशीलता तथा कार्यसम्पादन सीमाबारे विस्तृत अध्ययन गर्नु हो ।      पछिल्ला वर्षहरूमा चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ । टियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई केन्द्रमा राखेर चिनियाँ अन्तरिक्ष यात्रीहरूले लगातार नयाँ मिसनहरू सञ्चालन गरिरहेका छन् । यो अन्तरिक्ष स्टेशन चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकी प्रतिबन्धका कारण प्रभावकारी रूपमा बाहिरिएपछि आफ्नै पहलमा विकास गरेको संरचना हो ।      विश्व अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई चीनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि सन् २०२८ सम्ममा पुनः चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य अघि सारेको छ । यसले अन्तरिक्ष क्षेत्रमा दुई शक्तिबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ ।      चीनको अन्तरिक्ष स्टेशन टियाङ्गोङले पहिलोपटक सन् २०२१ मा चिनियाँ चालक दललाई स्वागत गरेको थियो । त्यसयता यो चीनको मानव अन्तरिक्ष अभियानको मुख्य आधार बनेको छ । टियाङ्गोङको अर्थ ‘स्वर्गीय महल’ भन्ने हुन्छ ।      गत वर्ष शेनझोउ कार्यक्रममा आपतकालीन उद्धार मिसनसमेत सञ्चालन गरिएको थियो । ‘दिव्य पोत’ भन्ने अर्थ दिने यस कार्यक्रमअन्तर्गत क्षतिग्रस्त अन्तरिक्ष यानका कारण अन्तरिक्ष स्टेशनमा अड्किएका अन्तरिक्ष यात्रीहरूको टोलीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको थियो । शेनझोउ–२३ को प्रक्षेपणसँगै चीनले अब दीर्घकालीन अन्तरिक्ष बसाइ, वैज्ञानिक अनुसन्धान र चन्द्र अभियानतर्फ आफ्नो रणनीतिक तयारीलाई अझ अगाडि बढाएको सङ्केत दिएको छ । रासस 

इनड्राइभको ‘अरोरा भेन्चर्स’ घोषणा, महिला उद्यमीलाई लगानी र नेटवर्कसँग जोड्ने

काठमाडौं । इनड्राइभले महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार महिला संस्थापकहरूले लगानी जुटाउने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो । यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न ‘अरोरा टेक अवार्ड २०२६’को समापनसँगै गरिएको हो । यस वर्षको अवार्डमा उदीयमान बजारबाट ३ हजार ४ सय आवेदन परेका थिए, जसमध्ये उत्कृष्ट १० महिला संस्थापक छनोट भएका छन् । सन् २०२१ मा भने उक्त अवार्डमा ११६ आवेदन मात्र परेको थियो । ‘अरोरा भेन्चर्स’ प्रारम्भिक चरणका महिला नेतृत्व भएका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम हो । कम्पनीले ‘अरोरा टेक अवार्ड’बाट पछिल्लो पाँच वर्षमा संकलन गरिएको तथ्यांक तथा अनुसन्धानका आधारमा यो कार्यक्रम तयार गरिएको जनाएको छ । अध्ययनअनुसार मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका तथा उदीयमान एशियाली बजारमा महिला नेतृत्व भएका व्यवसायहरूले अझै पनि पारम्परिक भेन्चर क्यापिटलबाट पर्याप्त अवसर नपाइरहेको निष्कर्ष निकालिएको छ । १२७ देशका ९ सयभन्दा बढी महिला संस्थापक सहभागी अध्ययनले लगानी जुटाउने क्रममा महिला उद्यमीहरूले अझ धेरै प्रमाण र उपलब्धि प्रस्तुत गर्नुपर्ने अवस्था रहेको तथा उनीहरूको क्षमतामाथि शंका गर्ने प्रवृत्ति अझै कायम रहेको देखाएको छ । अरोरा भेन्चर्सले प्रि–सिड तथा सिड चरणका स्टार्टअपमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य राखेको छ । उच्च सम्भावना भएका स्टार्टअपहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी लगानी गरिने कम्पनीले जनाएको छ । अरोरा भेन्चर्सकी प्रमुख इजाबेला घास्सेमी–स्मिथले महिला संस्थापकहरूलाई भेन्चर क्यापिटल क्षेत्रमा पर्याप्त अवसर नपुगेकाले यस्तो पहल आवश्यक भएको बताइन् । इनड्राइभका चीफ ग्रोथ बिजनेसेस अफिसर एन्ड्रिज स्मिटले कम्पनीले सुरुवाती चरणमा भोगेको संघर्ष अहिले महिला उद्यमीहरूले पनि सामना गरिरहेको उल्लेख गरे । उनले ‘अरोरा भेन्चर्स’लाई परोपकार मात्र नभई आफ्नै अनुभवबाट सिकिएको विश्वासको निरन्तरता भएको बताए । कम्पनीका अनुसार सन् २०२६ को पाइलट कार्यक्रममार्फत प्रारम्भिक लगानी पोर्टफोलियो निर्माण गरिनेछ । भविष्यमा औपचारिक फण्ड संरचना विकास गर्ने तयारी पनि अघि बढाइनेछ । नेपालजस्ता उदीयमान डिजिटल बजारका लागि यस प्रकारका कार्यक्रमले महिला उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विशेषगरी प्रविधि क्षेत्रमा कार्यरत नेपाली महिला उद्यमीहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता र नेटवर्कसँग जोडिने अवसर पाउने विश्वास गरिएको छ ।  

२३५ कम्पनीको सेयर मूल्य बढ्यो, ६ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ बिन्दुले बढेर २७८६.३५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । आँखु खोलाको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड र न्यादी गुप्रको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारमा थ्री स्टार हाइड्रो, सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडिज लाइनका सेयर लगानीकर्ताले कमाएका छन् । आज १३ उपसमूहको सूचक मध्ये १२ वटाको सूचकमा हरियाली छाएको छ । म्युचल फन्डको सूचक घटेकाे छ ।  

सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, आजै नियुक्त हुनसक्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिका लागि तीनजना उम्मेदवारको नाम सिफारिस भएको छ । अध्यक्ष छनोट सिफारिस समितिले तीनजनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेर मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेकाे छ ।  स्रोतका अनुसार धितोपत्र बोर्डकै बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम सिफारिस भएको छ ।  संक्षिप्त सूचीमा परेका आवेदकहरूसँग जेठ ८ गते अर्थ मन्त्रालयमा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएपछि समितिले अन्तिम तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो । यसअघि प्रारम्भिक छनोटको पहिलो नम्बरमा रहेका बोर्डका पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी भने अन्तिम सिफारिसमा नपरेकाे बुझिएको छ । उनी पनि चारजनाभित्र सर्टलिष्टमा परेका थिए ।  नयाँ अध्यक्ष चयनका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ३ बमोजिम गठित समितिले गत वैशाख १५ गते आवेदन माग गरेको थियो । तोकिएको समयावधिभित्र आवेदन दिने ४७ जना प्रतिस्पर्धीमध्येबाट समितिले संक्षिप्त सूची तयार पारी यो चरणसम्म आइपुगेको हो ।  सिफारिस गरिएका नामहरूमध्येबाट एक जनालाई नयाँ अध्यक्ष नियुक्त गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्नेछन् ।  प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार दिउँसो साढे ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सम्भवतः आजै धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउने सम्भावना रहेको छ ।  को हुन् तीन जना ? बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्यले शंकरदेव क्याम्पसबाट एमबीए गरेका छन् । उनी बोर्डबाट छिट्टै अवकास हुँदैछन् । उनले धितोपत्र बोर्डमा लामो समय व्यवस्थापन विभागमा रहेर काम गरेका छन् भने नियमन र सुपरिवेक्षणमा पनि दख्खल राख्छन् । मुकुन्द क्षेत्री नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट २०८१ चैतमा अवकाश भएका थिए । उनले राष्ट्र बैंकका तर्फबाट नेपाल स्टक एक्सचेन्जको सञ्चालक भएर पनि काम गरेका थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र बीकम गरेका उनले बेलायतको ब्राडफोर्ड युनिभर्सिटीबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा मास्टर्स गरेका छन् । डा. गोपाल भट्ट पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनले ‘स्टक मार्केट इफिसिएन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी सेयरविज्ञका रूपमा पनि परिचित छन् ।