मेची भन्सारः २०.१४ अर्बको आयात हुँदा १०.७१ अर्बको निर्यात, ६.८२ अर्ब रुपैयाँ राजस्व
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ । पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन । कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट ६ अर्ब ८२ करोड २ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
३ होटललाई नगद जरिवानासहित कारबाही, ११ फर्मलाई सुधार गर्न निर्देशन
काठमाडौं । नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौंलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई ५ हजार रुपैयाँ र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको हो । यस्तै, विभागले अन्य ११ फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुगमन गरिरहेको स्पष्ट पारेको छ ।
अत्यधिक चिसो बढेपछि विद्यालय बिदा
काठमाडौं । विगत ४ दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्र भरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्र भरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास कुमार ठाकुरले जानकारी दिए । बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
बूढीगण्डकी ‘क’ र ‘ख’ निर्माणको तयारी, लागत ८८ अर्ब रुपैयाँ
काठमाडौं । गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए । उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको हो । कम्पनीले ३१ अर्ब ३२ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिए । बूढीगण्डकी ‘क’ अन्तर्गत, धार्चे-३ को लुस्याङमा बाँध बाँधेर ४ किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ । आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२.७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ । २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे-७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए । ‘यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ । भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ,’ उनले भने । यहाँ उत्पादन भएको र बूढीगण्डकीबाट प्राप्त भएको गरी ३२९.४ मेगावाट विद्युत् १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ ।
प्यानलको ह्याङ बिर्सेर पार्टी एकतामा अघि बढ्नुपर्छ : विष्ट
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले महाधिवेशनको परिणामलाई हार र जितको रूपमा हेर्न नहुने बताएका छन् । पराजित भएका साथीहरूको यात्रा लामो रहेकोले पराजित नेताहरूलाई हतास नहुन उनको आग्रह छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित उपाध्यक्ष विष्टले महाधिवेशनमा पराजित नेताहरूले क्षमताअनुसार जिम्मेवारी प्राप्त गर्ने दाबी गरे । दुइटा प्यानलबाट प्रतिष्पर्धा गरेर पार्टीको लोकतान्त्रिक आचरणलाई निरन्तरता दिएकोले मत परिणामपछि हिजोको प्यानलको ह्याङलाई बिर्सनुपर्ने उनको भनाइ छ । नेता र नेतृत्व अस्थायी रहने हुनाले नीति मात्रै प्रधान रहने हुनाले नेतृत्वले आलोचना सुन्नुपर्ने विष्टले दावी ग रे । कम्युनिस्ट पार्टिमा नेता र कर्याकर्तामा रहेको ग्याप अन्त्य गर्न आफू लागि पर्ने घोषणासमेत उनले गरे । उनका अनुसार जनता र कार्यकर्ताले प्रश्न उठाए ती प्रश्न सुन्नुपर्छ । पार्टीको प्राण भनेको जनअनुमोदन भएको उनले ठोकुवा गरे ।
३० प्रतिशत लाभांश दिने कैलाश हेलिकप्टरले आईपीओको हिस्सा दोब्बर बनाउँदै
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँको १० प्रतिशतका दरले ३ करोड १५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि २० प्रतिशतका दरले ६ करोड ३० लाख रुपैयाँ नगद गरी कुल ३० प्रतिशत अर्थात् ९ करोड ४५ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते दिउँसो साढे ३ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले लाभांशसँगै आईपीओ र हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि पारित गर्ने कम्पनी सचिव रञ्जनकुमार घिमिरे जानकारी दिए । यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, संचालक समितिले गत वर्ष गरेका निर्णय र चालु आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । २० प्रतिशत आईपीओ जारी गर्ने कैलाश हेलिकप्टरले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । आईपीओ निष्काशन सम्बन्धी कार्य अगाडि बढाउन कैलाशले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । साथै कम्पनीले जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशतका दरले ३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता ३२७ रुपैयाँमा आईपीओ जारी गर्ने तयारी अघि बढाएको थियो । तर, तेस्रो वार्षिक साधारण सभामा भने कम्पनीले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयर र सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव राखेको छ । जसअनुसार अब कम्पनीले जारी पुँजीको २० प्रतिशतका दरले १० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्नेछ । यससँगै सर्वसाधारणको सेयर स्वामित्व १० प्रतिशतबाट बढेर २० प्रतिशत पुग्नेछ । यस्तो छ कम्पनीको वित्तीय अवस्था कैलाश हेलिकप्टरले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेको देखिन्छ । आम्दानी बढेसँगै कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २० प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीका अनुसार सन् २०२५ को ९ महिनामा ५३ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । यस्तै, अघिल्लो वर्ष सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ३२ करोड १० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो । सन् २०१७ मा स्थापित कैलाश हेलिकप्टर सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको हो । साथै, जुलाई २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । यस कम्पनीमा विभिन्न ७ जना लगानीकर्ता रहेका छन् । कम्पनीको अध्यक्ष क्याप्टेन आशीष शेरचन छन् भने प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेय रहेका छन् । कम्पनीको सञ्चालकमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र ईश्वरी पौडेल रहेका छन् । कम्पनीले हाल ३ वटा एयरबस हेलिकप्टरमार्फत चार्टर्ड उडान, उद्धार कार्य, स्लिङ अपरेशन, साहसिक भ्रमण (एभरेस्ट बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प) जस्ता सेवा दिँदै आएको छ । सन् २०२७ सम्ममा थप २ वटा हेलिकप्टर खरिद गरेर ५ वटा पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
राप्रपाबाट काठमाडौं- २ मा कुन्तीदेवी पोखरेल सिफारिस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्तीदेवी पोखरेलको नाम सिफारिस गरेको छ । पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रिय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस भएको हो । पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ । उनी सामाजिक सेवा, महिला सशक्तिकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन् । पार्टीले उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रिय समितिको निर्णयपछि सार्वजनिक गर्ने जनाएको छ ।
सडक दुर्घटनामा प्याब्सनका कानुनी सल्लाहकार हरिराज भट्टराईको निधन
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिका कानुनी सल्लाहकार हरिराज भट्टराईको सडक दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा घाइते भई उपचाररत रहेका भट्टराईको सोमबार दिउँसो २ बजे उपचारकै क्रममा निधन भएको हो । लामो समयदेखि प्याब्सन संगठनमा सक्रिय रहँदै आएका भट्टराई एक निष्ठावान्, अनुभवी तथा कुशल कानुनी सल्लाहकारका रूपमा परिचित थिए । उनको असामयिक निधनले प्याब्सन परिवारलाई अपूरणीय क्षति पुगेको प्याब्सनका महासचिव आरबी कटवालले बताए । प्याब्सनले उक्त घटनामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ । दिवंगत भट्टराईको अन्त्येष्टि सोमबार अपराह्न ५ः३० बजे पशुपति आर्यघाटमा सम्पन्न हुने प्याब्सनका महासचिव कटवालले जानकारी दिएका छन् ।