विकासन्युज

१९ अंकले घट्यो नेप्से, ४ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा कायम भएको छ । आइतबार कारोबार रकमको आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ११ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज एसवाई प्यानल लिमिटेड र १०.२५ प्रतिशत सिटिजन्स बैंक डिवेञ्चरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । १३ उपसमूहमध्ये म्युचल फण्ड बढेको छ भने बाँकी रताम्मे देखिएका छन् । म्युचल फण्ड ०.१९ प्रतिशतले बढेको छ । 

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । ‘तपाईंले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन उल्लेखनीय भूमिका खेल्नुभएको छ,’ बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भने, जहाँ रहे पनि तपाईंलाई असल मित्रका रूपमा सम्झिनेछौं ।’ सन् २०२५ नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औं वर्ष भएका अवसरमा विभिन्न कार्यक्रम भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले त्यस्ता केही कार्यक्रममा आफू पनि सहभागी भएको जानकारी दिए ।   सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरे।  उनले नेपाल चीनको एक असल छमेकी मित्रराष्ट्र रहेको र सदैव दुई देशले एकअर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको बताए । राजदूत सोङले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको पनि बताए ।

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सोमबार देशव्यापी संयुक्त आन्दोलन गर्ने भएको छ ।  आइतबार पत्रकार सम्मेलन गर्दै समूहले आन्दोलनमा सडकमा रहेका सबै जेनजी अभियन्ता, घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजना रहेको जानकारी गराएको हो । ढुंगाना नेतृत्वको समूहसँगै देशका अन्य ३० भन्दा बढी जेनजी समूह पनि यस आन्दोलनमा सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।  समूहका नेताहरूले आन्दोलनको मुख्य उद्देश्य जेनजी समुदायको अधिकार र न्याय सुनिश्चित गर्नु रहेको बताएका छन् । आन्दोलनलाई शान्तिपूर्ण तर प्रभावकारी बनाउने योजना बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ ।सहभागीहरूलाई सुरक्षा व्यवस्था र समन्वयका लागि विशेष निर्देशन दिइएको छ ।

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले  सेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारे । काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।  यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक  शालिकराम अधिकारीले बताए । 

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको हो ।      प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाएको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले बताए । उनका अनुसार समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रियसभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।  

सेयर र घरजग्गा कारोबार सुध्रिँदा पुँजीगत लाभकर संकलन ४० अर्ब नाघ्यो

काठमाडौं । पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब संकलन भएकोमा चालु वर्षमा ४० अर्ब ११ करोड संकलन भएको छ । यो वृद्धि गत वर्षको तुलनामा उल्लेख्य भएकाले अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा लिइएको छ । आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आ.व. २०७७/०७८ मा यस शीर्षकमा २९ अर्ब ३१ करोड संकलन भएको थियो । आ.व. २०७८/०७९ मा यो केही बढेर  ३० अर्ब पुगेको देखिन्छ । तर आ.व. २०७९/०८० मा भने झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा सीमित भएको थियो । आन्तरीक राजस्व विभागका वार्षिक प्रतिवेदन अनुसार  त्यस अवधिमा पुँजीगत लाभकर संकलनमा ठूलो गिरावट आउनुका प्रमुख कारणमा रुस–युक्रेन युद्धको प्रभाव, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय सञ्चितिमा आएको दबाब रहेका छन् । विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले अपनाएका आयात नियन्त्रणसम्बन्धी नीतिगत उपायका कारण आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजार र घरजग्गा कारोबारमा गिरावट आएको थियो, जसले पुँजीगत लाभकर संकलनमा नकारात्मक असर पारेको विश्लेषण गरिएको छ ।  वार्षिक प्रतिवेदनमा भनिएको छ– ‘आ.व. २०७७/०७८ मा यस शीर्षकमा संकलन २९ अर्ब ३१ करोड रहेकोमा आ.व. २०७८/०७९ मा केही बढेर ३० अर्ब भएको देखिन्छ भने आ.व. २०७९/०८० मा झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा पुगेको देखिन्छ । यसरी भारी गिरावट देखिनुमा रुस युक्रेन युद्ध, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय संचितिमा देखिएको संकुचनलाई अस्थायी रुपमा सम्बोधन गर्न सरकारले अपनाएका आयात नियन्त्रणका नीतिगत औजरका कारण आर्थिक गतिविधिमा आएको शिथिलताले सेयर कारोबार र घरजग्गा कारोबारमा गिरावट प्रमुख कारणका रुपमा लिन सकिन्छ ।’ हाल भने आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै सेयर तथा घरजग्गा कारोबारमा सुधार आएको र यसको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा देखिने प्रतिवेदनमा उल्लेख छ । 

उपकुलपति नेपालमाथि अनेरास्वियू क्रान्तिकारीको दुर्व्यवहार, आर्थिक अनियमितता गरेको आरोप

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि आइतबार बिहान दुर्व्यवहार भएको छ । अनियमितता गरेको आरोप लगाउँदै नेकपा बहुमत निकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी नेताहरूले मोसो दल्दै दुर्व्यवहार गरेको विश्वविद्यालयका एक प्राध्यापकले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ८ बजेतिर ६ जनाको समूहमा पुगेका अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरूले बेलझुण्डीस्थित उपकुलपति नेपालको क्वाटरमै पुगेर मोसो दल्नुका साथै अभद्र व्यवहार गरेका थिए ।  दाङ प्रहरीका सूचना अधिकारी दीपक चक्र बहादुर शाहले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजीकार्य भइरहेको जानकारी दिए ।  घटनापछि तत्काल प्रहरी टोली परिचालन गरिएको छ । संलग्नहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको शाहले बताए । उपकुलपति नेपालमाथि दुव्र्यवहार भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुखसहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली विश्वविद्यालय परिसर पुगेको थियो । हाल बेलझुण्डी आसपासका क्षेत्रमा प्रहरी परिचालन गरी घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बेलझुण्डीस्थित विश्वविद्यालय परिसरमै प्रहरी चौकी रहे पनि दुव्र्यवहार गर्ने समूह उपकुलपतिको कार्यकक्ष होइन, निजी क्वाटरसम्म पुगेर मोसो दल्नुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको प्राध्यापकहरुले दाबी गरेका छन् ।  यस घटनापछि विश्वविद्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको शाहले जानकारी दिए । यसैबीच घटनाको जिम्मेवारी अनेरास्ववियू क्रान्तिकारीका लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत लिएका छन् । जारी विज्ञप्तिमा उपकुलपति धनेश्वर नेपालमाथि विभिन्न आरोप लगाइएको छ । विज्ञप्तिमा विश्वविद्यालयमा आर्थिक तथा प्रशासनिक अनियमितता, नियुक्ति प्रक्रियामा पक्षपात, विद्यार्थी हितविपरीत निर्णयलगायतका विषय उल्लेख गरिएको छ । आन्दोलनात्मक कार्यक्रमअन्तर्गत उक्त कदम चालिएको दाबी छ ।  तर, आरोपबारे उपकुलपति नेपाल वा विश्वविद्यालय प्रशासनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन ।

नबिल बैंक ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।  बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनलाई सहज बनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वाेत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताए । 'यो सम्मान हाम्रो निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकहरूको विश्वासको परिणाम हो । हामी हाम्रा सबै ग्राहक तथा कर्मचारीलाई लागि हार्दिक आभार व्यक्त गर्दछौँ', सीइओ ज्ञवालीले भने ।  विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ । यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ ।