विकासन्युज

बागमती नदीमा फोहोर व्यवस्थापनका लागि ट्रास बेरियर जडान

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनोहरा दोभान, युएन पार्कर मनोहरा नदीको कर्मनाशा दोभानमा एक–एक स्थान गरी जम्मा छ ठाँउमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम भइरहेको छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरू रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनको कारण ठूलो मात्रामा फोहोर बगिरहेको पाइन्छ । यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ, जसले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुर्‍याउँछ । ट्रास बेरियरबाट संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउँछ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।    

अन्तरिम सरकार १२१ विधेयक निर्माणमा सक्रिय, संसदलाई प्राथमिकतासहित जानकारी

काठमाडौं । अन्तरिम सरकारले विधेयक निर्माण प्रक्रियालाई तीव्र बनाउँदै १२१ वटा विधेयकको मस्यौदा तयार गर्न सुरु गरेको बताएको छ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारले यसअघि नै तय गरिएको प्राथमिकताअनुसार विधेयक निर्माणमा सक्रिय रहेको जानकारी दिए । आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै मन्त्री सिन्हाले विधेयक निर्माणको समग्र खाका संसदसमक्ष पहिल्यै प्रस्तुत गरिएको बताए । मन्त्री सिन्हाले भने, ‘१२१ वटा विधेयकको मस्यौदा बनाउने भनेर त्यसको जानकारी संसदलाई यसअघि नै दिइएको छ । अहिले सोही प्राथमिकताअनुसार मन्त्रालयहरूबीच समन्वय गरेर काम अघि बढाइएको छ हो ।’ उनका अनुसार अन्तरिम सरकारको सीमित कार्यकाल भए पनि कानुनी रिक्तता हटाउने, संविधान तथा विद्यमान कानुनसँग बाझिएका प्रावधान सुधार गर्ने र राज्य सञ्चालनलाई सहज बनाउने उद्देश्यले विधेयकहरू तयारीको चरणमा छन् ।  विशेषगरी आर्थिक व्यवस्थापन, सार्वजनिक प्रशासन, सुशासन, न्यायिक सुधार र सेवा प्रवाहसँग सम्बन्धित कानुनहरूलाई उच्च प्राथमिकतामा राखिएको मन्त्री सिन्हाले बताए । संयुक्त समितिको बैठकमा सांसदहरूले भने विधेयकको संख्या ठूलो भएकाले गुणस्तर र आवश्यकतामा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । कतिपय सांसदहरूले सबै विधेयक एकैपटक अघि बढाउँदा संसदमा अत्यधिक चाप पर्न सक्ने भन्दै चरणबद्ध रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । समितिका सदस्यहरूले विधेयक निर्माण प्रक्रियामा सरोकारवाला निकाय, विज्ञ तथा नागरिक समाजको सुझाव समेट्नुपर्नेमा पनि जोड दिएका छन् । यसले कानुन कार्यान्वयनको चरणमा देखिन सक्ने विवाद र समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने उनीहरूको भनाइ रहेको छ । मन्त्री सिन्हाले समितिका सुझावलाई सकारात्मक रूपमा लिँदै आवश्यक छलफल र परामर्शसहित विधेयकहरू संसदमा पेश गरिने आश्वासन दिए ।  अन्तरिम सरकारले राजनीतिक स्थायित्व र आगामी सरकारलाई सहज वातावरण हस्तान्तरण गर्ने लक्ष्यसहित कानुनी आधार मजबुत बनाउने प्रयास गरिरहेको उनको भनाइ रहेको छ ।

साइकलदेखि ल्याम्बोर्गिनीसम्म : युट्युबर अनुराग द्विवेदी ईडीको जाँचको घेरामा

काठमाडौं । भारतको उत्तर प्रदेश स्टेटका युट्युबर र आफूलाई फ्यान्टसी क्रिकेट विशेषज्ञ बताउने अनुराग द्विवेदीको तीव्र रूपमा बदलिएको जीवन अहिले प्रवर्तन निर्देशनालय (ईडी)को जाँचको दायरामा छ । १७ डिसेम्बरमा ईडीले उनको उन्नाव जिल्लाको नवाबगंजस्थित निवासमा छापा मारेको थियो । यस कारवाहीका क्रममा ईडीले करोडौं रुपैयाँ मूल्यका लग्जरी कारहरू जफत गरेको छ । ईडीले शुक्रबार साँझ एक्समा पोस्ट गर्दै युट्युबर र सोशल मिडिया इन्फ्लुएन्सर अनुराग द्विवेदीको लखनऊ, उन्नाव र दिल्लीका १० ठेगानामा गरिएको कार्यबारे जानकारी दिएको छ । ईडीका अनुसार जाँचमा पत्ता लागेको छ कि अनुराग द्विवेदीले अवैध अनलाइन बेटिङ प्लेटफर्मलाई प्रचार गर्न सक्रिय भूमिका खेलेका थिए । ईडीले बताएको छ, ‘पत्ता लागेको छ कि उनी (अनुराग द्विवेदी) विभिन्न च्यानलमार्फत नक्कली खाताबाट अवैध बेटिङ एप्सबाट कमाएको रकम प्राप्त गरेका छन् । उनी अवैध बेटिङ एप्सको प्रचारात्मक भिडियो बनाउँछन् र अन्य व्यक्तिसम्म पु‍र्याउँछन्, जसले सामान्य मानिसहरूलाई ती प्लेटफर्ममा बेटिङ गर्न प्रोत्साहित गर्छ ।’ ‘उनीसँग सम्बन्धित कम्पनीका बैंक खाताहरू र उनका परिवारका सदस्यहरूको खातामा उचित व्यवसायिक कारण बिना ठूलो रकम जम्मा भएको छ,’ ईडीले थप्यो । ईडीको छापामारीमा ल्याम्बोर्गिनी, मर्सिडीज र बीएमडब्ल्यू जस्ता महँगा कारहरू जफत गरिएको छ । ईडीले सबै जफत कारहरू लखनऊस्थित क्षेत्रीय कार्यालय परिसरमा पठाएको छ । ईडीका एक अधिकारीले नाम गोप्य राख्दै बताए कि अनुराग द्विवेदीसँग सम्बन्धित लखनऊ र उन्नावका नौ ठेगानामा एकैसाथ छापा मारेको थियो । यहीबीच अनुराग द्विवेदीले १९ डिसेम्बरमा एक्समा लेखेका थिए, ‘अरे भाई, मलाई आफ्नै बारेमा जति जानकारी छैन, त्यति त मिडियालाई दुई दिनमै भइसकेको छ ।’ अनुराग द्विवेदी को हुन् ? अनुराग द्विवेदी उन्नाव जिल्लाको नवाबगंज तहसीलका बासिन्दा हुन् । २६ वर्षीय अनुरागको जन्म १९९९ मा भएको थियो र उनले क्रमशः फ्यान्टसी क्रिकेटमा भिडियो बनाउन थाले । उनका पिता ग्राम प्रधान रहिसकेका छन् र नवाबगंजमा उनीसँग एउटा पसल पनि छ । स्थानीय बासिन्दाका अनुसार अनुराग पहिले गाउँमै बस्ने गरेका थिए । एन्टरटेनर्स क्रिकेट लिग (ईसीएल) च्यानलमा पोस्ट गरिएको एक भिडियोमा अनुरागले बताए कि उनले २०१७ देखि युट्युबमा भिडियो बनाउँदै आएका छन् । ईसीएलको एक पोडकास्टमा अनुरागले बताए कि उनी २०१९ मा फ्यान्टसी लिग प्लेटफर्मसँग जोडिए र फ्यान्टसी स्पोट्र्स प्लेटफर्मको प्रमोटरसँग सामग्री निर्माता बने । अनुरागको युट्युबमा करिब ७० लाख सब्सक्राइबर छन् भने इन्स्टाग्राममा २४ लाखभन्दा बढी फलोअर्स छन् । विवाह र जीवनशैली यस वर्ष २२ नोभेम्बरमा अनुरागले लखनऊकी एक युवतीसँग दुबईमा विवाह गरे। उनको भव्य विवाहको चर्चा निकै भयो । स्थानीय बासिन्दाका अनुसार उनले गाउँका नजिकका मानिसहरू र आफन्तसहित करिब १०० जनालाई दुबई बोलाएका थिए । पाहुनाहरूको आउजाउ र बसाइको सम्पूर्ण व्यवस्थापन अनुरागले गरेका थिए। अनुराग द्विवेदी एन्टरटेनर्स क्रिकेट लिगसँग पनि जोडिएका छन् । उनी लखनऊ लायन्स टिममा छन्। यो फ्रेन्चाइज(आधारित क्रिकेट टूर्नामेन्ट हो, जसमा आठ टिम छन् र लोकप्रिय सोशल मिडिया स्टारहरूले नेतृत्व गर्छन् । यो लिग तीव्र रफ्तार टेनिस बल टी–१० फम्र्याटमा खेलिन्छ । यस लिगमा एक करोड रुपैयाँको पुरस्कार रकम राखिएको छ । यद्यपि ईसीएलको पोडकास्टमा अनुरागले आफ्नो नेटवर्थ करिब १९० करोड रुपैयाँ हुन सक्ने दाबी गरेका थिए । उनले भनेका थिए कि उनी २०१६ देखि फ्यान्टसी क्रिकेटमा लगानी गर्दै आएका छन् । त्यसै पोडकास्टमा अनुरागले बताए कि उनी पहिले टाटा म्याजिकबाट स्कूल जाने गर्थे । हाल उनीसँग ल्याम्बोर्गिनी उरुस छ, जसको मूल्य करिब ८ करोड रुपैयाँ छ । अनुरागले यो कारलाई २८८ किलोमीटर प्रतिघण्टा गतिमा चलाएको दाबी पनि गरेका थिए । पडकास्टमा उनले एक समय साइकलबाट यात्रा गरेको पनि उल्लेख गरेका थिए । ईडीको जाँच र एफआईआर अनुरागविरुद्ध ईडीको वर्तमान जाँच पश्चिम बंगालको सिलिगुडीमा दर्ता गरिएको एफआईआरसँग सम्बन्धित छ । ईडीले ५ जुन २०२५ मा जारी प्रेस नोटमा अनलाइन बेटिङ र्याकेटको खुलासा भएको जानकारी दिएको थियो। यस एफआईआरमा ठगी, जालसाजी र अवैध अनलाइन बेटिङका आरोप उल्लेख छन् । एफआईआरमा भनिएको छ कि सिलिगुडीबाट अनलाइन बेटिङ प्यानल सञ्चालन भइरहेको थियो जसमा धेरै व्यक्तिहरू संलग्न थिए । प्रेस नोटअनुसार यस मामलामा विशाल भारद्वाज र सोनु कुमारलाई पक्राउ गरिएको थियो। तर, ८ अगस्तको प्रेस नोटमा भनिएको छ कि अभियुक्तहरूसँगबाट १७ क्रेडिट कार्ड र ११३० म्यूल अकाउन्ट बरामद गरिएका थिए, जसलाई फ्रीज गरिएको छ । जसमा करिब १० करोड रुपैयाँ पनि छ । ईडीका अधिकारीका अनुसार जाँचमा केही व्यक्तिहरूले अवैध अनलाइन बेटिङ प्लेटफर्मको प्रचारमा मुख्य भूमिका खेलेको पत्ता लागेको छ । यी व्यक्तिहरू युट्युब र सोशल मिडिया प्लेटफर्ममा प्रचारात्मक भिडियो बनाउँथे र सेयर गर्थे । यसको बदला उनीहरूलाई ठूलो रकम दिइन्थ्यो । ईडीका अनुसार व्यक्तिहरूसँग टेलिग्राम च्यानल र ह्वाट्सएपमार्फत सम्पर्क गरिन्थ्यो । त्यसपछि मानिसहरूले पैसा म्यूल अकाउन्टमा जम्मा गराउँथे, जसमा अकाउन्ट होल्डरको कुनै नियन्त्रण हुँदैन, तर बदला स्वरूप उनीहरूलाई पैसा दिइन्थ्यो । जाँच अघि बढ्दा अनुराग द्विवेदीको नाम बाहिर आएको थियो । ईडीका एक अधिकारीले नाम गोप्य राख्दै बताए कि अनुराग फ्यान्टसी स्पोट्र्स प्लेटफर्ममार्फत करोडौं रुपैयाँको सट्टासँग जोडिएको र त्यसबाट आर्जित धनलाई विभिन्न माध्यमबाट लगानी गरेको आरोपमा छन् । ईडीलाई शंका छ कि घोषणा गरिएको आम्दानीको तुलनामा उनका सम्पत्ति धेरै बढी छन् । ईडीका अधिकारीका अनुसार, एजेन्सी यो पत्ता लगाउने प्रयासमा छ कि यस नेटवर्कमा अरू को(को संलग्न छन् र यसको दायरा कति ठूलो छ । ईडीको जाँचको एक महत्त्वपूर्ण पक्ष अनुराग द्विवेदीको दुबई कनेक्शन पनि हो । एजेन्सीलाई शंका छ कि उनले दुबईमा धेरै अचल सम्पत्ति किनेका छन् र केही समयदेखि त्यही बसिरहेका छन् । दुबईमा गरिएको उनीहरूको भव्य विवाह पनि सोशल मिडियामा चर्चा बन्न पुगेको थियो । यस कारवाहीमा लखनऊ जोनको ईडी टिम सक्रिय रूपमा संलग्न छ । एजेन्सीका अधिकारीहरूको भनाइअनुसार दुबईमा गरिएको विवाह, सम्पत्ति र विदेशी लगानीको स्रोतको गहिरो छानबिन आवश्यक छ । ईडी हाल अनुराग द्विवेदीको आम्दानीको वास्तविक स्रोतको अनुसन्धान गर्दैछ । यद्यपि यस मामलामा उनका परिवारको पक्ष बुझ्ने प्रयास गरिएको, तर सम्पर्क गर्न सकिएको छैन । अनुरागका एक नजिकका व्यक्तिका अनुसार अनुरागको आम्दानी अचानक बढेको छ, तर उनीहरूले सबै कर समयमै तिरेका छन् । (बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित)

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएको कम्पनी सचिव कमल खड्काले जानकारी दिए ।  कम्पनी सचिव खड्का अनुसार अग्रवालले सञ्चालक समेत नरहने गरी राजीनामा दिएका हुन् । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।  व्यापार, उद्योग, बैंकिङ, बीमा क्षेत्रमा ५ दशकभन्दा बढिको अनुभव रहेका अग्रवालको बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

एकै दिन ६० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । निर्वाचन गराउने एकमात्र कार्यादेशसहित बनेको सरकारले एकैपटक यति धेरै सहसचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एकजना सचिवका अनुसार राजपत्रांकित प्रथम श्रेणिका कर्मचारीको एकैपटक गरिएको यो ठूलो सरुवा हो । पुर्व सचिव शारदा प्रसाद त्रिताल पनि यो सरुवाप्रति त्यति सकमारात्मक देखिदैनन् । त्रितालले सवै सरकारको काम कर्मचारी सरुवा गर्नुजस्तै गरी अन्तरीम सरकारले पुरानै कामलाइ निरन्तरता दिएको सामाजिक सञ्जालमा लेखेका छन्  ।  निर्वाचन नजिकिँदै गरेको समयमा भएको ठूलो संख्यामा सरुवालाई धेरैले चासोका साथ हेरेका छन् । अन्तरिम सरकारको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यति ठूलो संख्यामा उच्च तहका कर्मचारीको सरुवा गरेको हो ।

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौं ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई  लाख ६० हजार ४०० सय रुपैयाँ पुगेको थियो भने आइतबार त्यति नै परिमाणको सुन दुई लाख ५८ हजार ३०० रुपैयाँमा झरेको छ । गत मङ्गलबार दुई लाख ५९ हजार रुपैयाँ, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो ।  यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ । चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो । आइतबार एक तोला चाँदीको मूल्य रु चार हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।  निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ चैत १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।  

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।  यस पुनर्जागरण अभियान पौष ६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पश्चात ६ महिना भित्रमा बीमालेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने छ । साथै बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्ष भन्दा कम अवधि बाकी रहेको बीमालेखमा ब्याज छुट नपाइने व्यहोरा कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।   संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई  व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा  लिन कम्पनीले अनुरोध गरेको छ ।  हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक  पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६ ८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।