विकासन्युज

सचिव केशव शर्मा शिक्षा मन्त्रालयमा, विश्वबाबु भौतिकमा सरुवा

काठमाडौं । सरकारले दुई सचिवहरूको कार्यक्षेत्रमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । उनले अब शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।  विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा लामो अनुभवी शर्मालाई सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ उचाइ दिन यो जिम्मेवारी सुम्पिएको जनाइएको छ ।  यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रूपमा कार्यरत विश्वबाबु पुडासैनीलाई भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ । प्राविधिक र प्रशासनिक दख्खल राख्ने पुडासैनीले अब देशको भौतिक पूर्वाधार विकासको मुख्य मन्त्रालयको कमाण्ड गर्नेछन् ।

जेनजी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पायौँ : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले जेनजी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पाएको बताएका छन् । बिहीवार माईतीघरमा प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन् ।  उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गरे । उनले अहिले नयाँ भन्नेहरूले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताए । अहिले नेपालमा पात्र मात्र नभइ प्रणाली पनि गलत रहेको जिकिर गरे । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गरे ।  उनले भने, ‘पात्र मात्र गलत होइनन् यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको छ । व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् । अहिले आएका केही नयाँ पात्रहरुले के भन्नुहुन्छ भने संविधान मान्य छैन भन्नुहुन्थ्यो अलि पहिला भने अहिले निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृष्ट छ भन्नुहुन्छ ।’ उनले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताए ।   

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं वाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमण गरेका हुन् । यसमा पाँच हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई तीन हजार र नेपालीलाई एक सय रुपैयाँका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व संकलन भएको जानकारी दिए । काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाइँकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । रासस

गगन थापा भन्छन् : कांग्रेस फुटेको छैन, मै हुँ सभापति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिमा निर्वाचित भएका गगन कुमार थापाले पार्टी नफुटेको बताएका छन् । पार्टीको विवरण अध्यावधिकका लागि निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीसँग धारणा राख्दै नेपाली कांग्रेस विभाजन नभएको बताएका हुन् ।  ‘विशेष महाधिवेशन प्रारम्भ भएपछि  निवर्तमान केन्द्रिय समिति भंग भइसकेको हो, त्यो जानकारी हामीले निर्वाचन आयोगलाई यसअघि नै गराइसकेका छौं । त्यसपछि कसले के जानकारी दिए त्यो थाहा भएन, शेरबहादुर देउवा निवर्तमान सभापति भइसक्नु भयो,’ उनले भने, अबको सभापति म हुँ ।’ उनले विशेष महाधिवेशन भएर पनि नयाँ नेतृत्व आइसकेकोले सबैले एकबद्ध भएर काममा लाग्नुपर्ने धारणा राखे ।  थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताएका छन् । 

कांग्रेस एकतावद्ध राख्ने प्रयास असफल भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै यसमा को दोषी वा निर्दोषी भन्ने बहसले राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउने बताएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले पार्टीभित्र देखिएका अन्तरविरोध, षड्यन्त्र र कमजोरीका बाबजुद कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नु अपरिहार्य रहेको धारणा राखेका छन् । बिहीबार सार्वजनिक गरिएको आफ्नो भनाइमा डा. कोइरालाले कांग्रेसलाई एकतामा राख्न गरिएको 'भागिरथ प्रयास' सफल हुन नसकेको उल्लेख गर्दै यसबीच घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाबारेको मूल्यांकन इतिहासले गर्ने बताए । 'हामी सबै कहीं न कहीं चुकेका छौँ भन्ने स्वीकार गर्न मलाई कुनै संकोच छैन,' उनले भने । उनले पार्टीभित्र दृश्य र अदृश्य रूपमा देखिएका अनेक अन्तरविरोधका कारण कांग्रेसले कठिन समय व्यहोर्नुपरेको उल्लेख गर्दै राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना बुन्ने प्रयासहरू रोक्न नसकिएको स्वीकार गरेका छन् । 'कांग्रेस एक भएर निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको इमान्दार प्रयास थियो, तर त्यसो हुन सकेन,' उनले भने । डा. कोइरालाले यस कठिन घडीमा महामानव नेता बीपी कोइरालालाई स्मरण गर्नुपर्ने बताए । बीपी कोइरालाले जीवन र ज्यानको बाजी लगाएर लोकतन्त्रको संघर्ष अघि बढाउँदा पनि केही व्यक्ति र समूह पार्टीबाट अलग भएको प्रसंग स्मरण गर्दै उनले बीपीले यसलाई ‘नियतिको खेल’ भनेको उल्लेख गरेका छन् । 'बीपी नियतिमा विश्वास गर्नुहुन्थ्यो । आज कांग्रेस एकढिक्का हुन नसक्नु पनि त्यही नियतिको कठोर सत्यका रूपमा बुझ्छु,' उनले भने । वरिष्ठ नेता कोइरालाले अब कांग्रेसका सामु आसन्न निर्वाचनमा होमिएर आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने ठूलो जिम्मेवारी रहेको बताएका छन् । संगठनात्मक ऊर्जाको प्रस्फुटनबिनै इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न नसकिने उनको भनाइ छ । उनले सम्पूर्ण कांग्रेस एकताको आवश्यकता अहिले अपरिहार्य भइसकेको उल्लेख गर्दै पार्टी आम कार्यकर्ताले निर्माण गरेको साझा संस्था भएको बताए । 'हाम्रा साझा इतिहास, साझा नेता र शहीदहरू छन् । यिनैबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ,' उनले भने । नेपाली जनताले विगतमा पार्टी विभाजनका बाबजुद कांग्रेसप्रतिको भरोसा नटुटाएको स्मरण गराउँदै डा. कोइरालाले अग्रज नेताहरूको मार्गदर्शन र शहीदहरूको बलिदान सम्झेर जनताको घर–घरमा पुगेर मत माग्नुपर्ने बताए । समय छोटो भए पनि आफू यथासम्भव कांग्रेसको चुनावी अभियानमा सहभागी हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे । पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले अन्त्यमा आह्वान गरेका छन्, 'हामी सबै घर फर्कौँ, कांग्रेसमा फर्कौँ । यहाँ जित–हार कसैको छैन । सबैको विन–विन अवस्थामै हामी अगाडि बढ्न सक्छौँ ।'

आधिकारिकता खोज्न निर्वाचन आयोग पुगे गगन-विश्व, विवरण अध्यावधिक गर्ने

काठमाडौं । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका कांग्रेस सभापति गगन कुमार थापाको टिम निर्वाचन आयोग पुगेको छ । निर्वाचनपछि बिहीबार बसेको कार्यसमितिको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि गगन–विश्व पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।  केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन/जानकारी गराउन थापाको टिम निर्वाचन आयोग पुगेको हो ।  बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मासँगै पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका थिए ।  पार्टीको सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका थिए ।  शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढेको छ । सबैले आयोगको निर्णय कुरिरहेका छन् । 

हप्तामा १० घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन

काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । सहभागीहरूलाई निम्न (०–५ घण्टा प्रति हप्ता) मध्यम (५–१० घण्टा) र उच्च (१० घण्टा भन्दा) बडी खेलाडीहरूको रूपमा वर्गीकृत गरिएको थियो । शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरुमा सामान्य स्वास्थ्य अवस्था तथा र साप्ताहिक १० घण्टा भन्दा बढी भिडीयो गेम खेल खेल्नेहरूमा आहार, निन्द्रा र तौल लगायतमा नकरात्मक असर परेको जनाएका छन् । हप्तामा दश घण्टा भन्दा बढी तथा अत्यधिक भिडीयो गेम  युवाहरुको लागि आनिकारक भएको कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोले बताएका छन् ।  विद्यार्थीहरूले हप्तामा १० घण्टा सम्म खेल्दा आहार, निद्रा र शरीरको वजनको सन्दर्भमा सबै समान देखिएको जनाउदै सिर्भोले १०–घण्टाको सीमाभन्दा बढी खेल्नेहरुमा स्पष्ट भिन्नताहरू देखा परेको बताएका छन् ।   हप्तामा १० घण्टा भन्दा बढी खेल खेल्ने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेहरुमा सामान्य भएको अध्ययनले देखाएको छ ।  सबै अध्ययन समूहहरूले धेरै गेम गेल्नेहरुमा  सामान्यतया खराब निद्राको गुणस्तरको रिपोर्ट गरेका छन् भने दश घण्टा भन्दा बढी खेल्नेहरुमा निद्रामा अवरोध भएको शोधकर्ताहरूले बताएका छन् ।  अध्ययनले स्वस्थ दिनचर्या अपनाउने सुझाव दिदै राती अवेर सम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न सुझाएको छ । रासस

तथ्यांक कार्यालयले माग्यो ४ हजार ४३९ जना जनशक्ति, मासिक ३४ हजारसम्म तलब

काठमाडौं । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै करिब ४ हजार ४३९ जनालाई करारमा भर्ती गर्ने जनाएको छ । देशभर आर्थिक गणना सञ्चालन गर्न स्थलगत तथ्यांक सङ्कलन र सुपरिवेक्षणका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक आवश्यक रहेको छ । सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनु पर्नेछ भने गणक पदका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । रोजगारी अवधि करिब साढे दुई महिनाको करारका लागि हुनेछ । सेवा सुविधाअनुसार सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने जानकारी कार्यालयले दिएको छ । योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । आवेदन प्रक्रिया राष्ट्रिय तथ्यांक कार्यालयको आधिकारिक वेबसाइट वा प्रदान गरिएको क्यूआर कोडमार्फत पूरा गर्न सकिनेछ । कार्यालयले म्याद नाघेका वा पूर्ण नभएका दरखास्तमा कुनै कारबाही नहुने स्पष्ट पारेको छ ।