तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी
तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए । उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे । प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन् ।
रास्वपाका उम्मेदवार वीना गुरुङ विजयी
लेखनाथ । गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी छन् । समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित भएकी हुन् । वीनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिए । कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४०७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी भएकी हुन् ।
मोरङ–६ मा शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
मोरङ । मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए । उनले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९० मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी रहेका छन् ।
मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको शनिबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए ।
१६० निर्वाचन क्षेत्रमा मतगणना जारी, १५ क्षेत्रमा रास्वपा उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएको छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहेका छन् । आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौं १ मा रन्जु न्यौपाने, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी भएकाे निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ । नेपाली कांग्रेसले तीन क्षेत्रमा जित निकालेको छ । मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली र दैलेख १ मा बासना थापा विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसकेका छन् । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : १०२ स्थानमा रास्वपा अगाडि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्राप्त मतपरिणाम अनुसार, आज विहान ६ बजेसम्म नेपाली कांग्रेस १०, नेकपा (एमाले) १२ र नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अगाडि छन् । त्यस्तै श्रम संस्कृति पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा एक जना स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् । आयोगकाअनुसार हालसम्म २० स्थानको नतिजा घोषणा गरिएकामा रास्वपा १५, नेपाली कांग्रेस ३, एमाले १ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले एक स्थानमा विजयी हाँसिल गरेका छन् ।
कालिकोटमा महेन्द्र शाही विजयी, नेकपाको दोस्रो जित
काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनरसार ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । नेकपाको यो दोस्रो जित हो । यसअघि नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले पूर्वी रुकुमबाट जित हासिल गरेका थिए ।
सर्लाही क्षेत्र नं ४ मा रास्वपाका सिंहको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशको सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार सिंहले ६ हजार २६४ मत ल्याएका छ भने नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले तीन हजार ६७१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ८९४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रजनीस रायले ३७७ र जनमत पार्टीका राकेशकुमार मिश्रले ३८२ मत प्राप्त गरेका हुन् ।