विकासन्युज

यसकारण पक्राउ परे व्यवसायी शंकर अग्रवाल, अदालतमा थुनछेक बहस हुँदै

काठमाडौं । व्यवसायी शंकर अग्रवाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा बुधबार (साउन ६ गते)  पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । जेठको २८ गते शंकर अग्रवाल, सुलभ अग्रवाल र दीपक भट्टविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टील्सका सञ्चालक शंकरलाल अग्रवाल र शुलभ अग्रवाल पक्राउ परिसकेका छन् ।  उनीहरूविरुद्ध मिलोमतो गरी बैंकबाट लिएको ऋण दुरुपयोग गरेको अभियोग लगाइएको छ । अभियोगपत्र दर्ता हुँदा फरार जनाइएका शंकरलाललाई सीआईबीको टोलीले साउन ६ पक्राउ गरी उच्च अदालत, पाटनमा हाजिर गराएको थियो । यो समाचार तयार पार्दा पाटन उच्च अदालतमा दीपक भट्ट, सुलभ अग्रवाल  र शंकर अग्रवालको थुनछेक बहस भइरहेको छ । उनीहरूविरुद्ध ४२ करोड बैंकको ऋण दुरुपयोगको आरोप छ । जगदम्बा स्टील्सले बैंकबाट लिएको ऋणलाई भट्टको खातामा पठाई इन्फिनिटी होल्डिङ्सको खातामा पठाइएको सीआइबीले जनाएको छ । जगदम्बा स्टील्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक लगायत वित्तीय संस्थाबाट ‘वर्किङ क्यापिटल लोन’ चालू पुँजी कर्जा र छोटो अवधिको कर्जा लिएको थियो । औद्योगिक कच्चापदार्थ खरिद र दैनिक कार्य सञ्चालनका निम्ति लिइएको कर्जा जगदम्बा स्टील्सले दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा स्थानान्तरण गरेको दाबी अभियोगपत्रमा छ ।  उक्त रकम हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद गर्न र व्यक्तिगत लाभका निम्ति प्रयोग गरिएको गरिएकाले बैंकिङ कसुरमा सजाय माग गरिएको छ। अग्रवालले ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ सात पैसा बैंकको कर्जा दुरुपयोग गरेको आरोप छ ।    

नेपालमा म्याक्सस ई- टेरोन ९ ईभी पिकअप सार्वजनिक, सुरुवाती मूल्य ८८ लाख

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालयन मोटर्सले चिनियाँ अटोमोबाइल जायन्ट एसएआईसीको प्रिमियम ब्रान्ड म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ई-टेरोन ९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका बीच हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्तरूपमा उक्त गाडीको अनावरण गरेका हुन् ।  विगत एक वर्षदेखि नेपालमा म्याक्ससका प्रिमियम इलेक्ट्रिक गाडीहरू बिक्री गर्दै आएको हिमालयन मोटर्सले ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गर्दै तुलनात्मक रूपमा सुलभ मूल्यको कम्फर्ट मोडेल ल्याएको हो ।  यसअघि म्याक्ससका प्रिमियम पिकअपको मूल्य ९९ लाखदेखि १ करोड २८ लाख रुपैयाँसम्म रहेको थियो । नयाँ ई-टेरोन ९ कम्फर्टमा १०२.२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ५६० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।कम्पनीका अनुसार फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपमा अगाडि १२५ किलोवाट र रियरमा २०० किलोवाट गरी कुल ३२५ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ब्याट्री प्याकलाई ११५ किलोवाटको डीसी चार्जरले ४२ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिनेछ । यसले ११५ किलोवाटसम्मका डीसी चार्जर सपोर्ट गर्छ । यो पिकअपमा एक्टेरियर र इन्टेरियरमा ‘भेहिलक टु लोड’ सुविधा उपलब्ध छ । म्याक्ससको ई-टेरन ९ को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८७४ एमएम छ । ३३०० एमएम लामो ह्वीलबेस रहेको पीकअपमा २५० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ । ई-टेरेन ९ पिकअपमा अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड, भेन्टिलेटेड फ्रन्ट एण्ड रियर सिट, अटोमेटिक हेडलाइट र वाइपर जस्ता क्याबिन फिचर छन् । ई-टेरन ९ मा सुरक्षाका लागि ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ दिइएको छ ।  साथै लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, अल टेरन मोड, ७ वटा एयरब्याग, अटोहोल्डजस्ता फिचर छन् । म्याक्सस ई-टेरन ९ ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ । नेपाली भूगोलका लागि उपयुक्त नेपालको चुनौतीपूर्ण र अफ-रोड सडकलाई ध्यानमा राखेर यो गाडी डिजाइन गरिएको छ । यसमा २५५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र ४५५ एमएमको वाटर वेडिङ (पानीमा चल्न सक्ने) क्षमता रहेको छ ।  कम्पनीले यस गाडीको सुरुवाती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ । गाडी खरिद गर्ने ग्राहकले एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर र दुई वर्षको निःशुल्क सर्भिसिङको सुविधा पाउनेछन् ।  कार्यक्रममा बोल्दै हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले भने, ‘नेपालमा ईभी भन्नाले सहरमा मात्र चलाउने गाडी भन्ने बुझिन्छ, तर म्याक्सस ई-टेरोन ९ ले त्यो धारणा बदल्नेछ । यो शक्ति, विलासिता र अफ–रोड क्षमताको सन्तुलन हो । ’ कम्पनीले निकट भविष्यमै म्याक्सस ब्रान्डका इलेक्ट्रिक माइक्रोबसहरू पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल त्यहाँ पुगेका थिए ।

भदौ १८ मा पल्सर स्पोर्ट्स अवार्ड, गोल्छा ग्रुप लगातार १९औँ पटक मुख्य प्रायोजक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८३ आगामी भदौ १८ गते आयोजना गर्ने भएको छ । अवार्ड समारोह नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभिलियन’मा हुने मञ्चले बुधबार जनाएको छ । यस वर्षको अवार्डका लागि मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुप रहने भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक यस अवार्डसँग जोडिएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकुदको विकासमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक तथा खेलकुदसँग सम्बन्धित व्यक्तित्वलाई प्रोत्साहन गर्न निरन्तर सहकार्य गर्दै आएको बताए । मञ्चसँगको सहकार्यले अवार्डलाई अझ प्रभावकारी र प्रतिष्ठित बनाउने विश्वास उनले व्यक्त गरे । मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिनेछ । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति तथा विभिन्न उपसमिति पनि गठन गरिएको छ । गत वर्ष पुरुषतर्फ क्रिकेटर दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटर पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षका उत्कृष्ट घोषित भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । 

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्यअनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने, अनुदान वितरणमा पारदर्शिता कायम गर्ने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न व्यवस्थामा संशोधन गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय र लाभग्राहीको भूमिका तथा जिम्मेवारीलाई थप स्पष्ट पारिएको छ । कर्जा उपयोगमा अनियमितता वा कार्यविधिविपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्ने वा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा समावेश गरिएको छ । संशोधित कार्यविधिले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी, लक्षित वर्गमुखी तथा नतिजामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयले सम्बन्धित सबै निकायलाई कार्यविधि कार्यान्वयन गर्न आग्रह पनि गरेको छ ।   

सूर्य नेपालको आम्दानी एक वर्षमै साढे ३२ अर्ब, उच्च करले अवैध कारोबारको चिन्ता

काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १२.२७ प्रतिशत अर्थात् ३ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा २८ अर्ब ९९ करोड रुपैयाँ, आव २०७८/७९ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ३४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७४/७५ मा २५ अर्ब १३ करोड ७० लाख रुपैयाँ, आव २०७३/७४ मा २४ अर्ब २२ करोड ८० लाख रुपैयाँ र आव २०७२/७३ मा २१ अर्ब ७३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ६१ प्रतिशत र नेपाली संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको ३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालका निजी क्षेत्रका प्रमुख उत्पादनमूलक उद्योगमध्ये एक मानिने कम्पनी हाल चुरोट, अगरबत्ती तथा ब्रान्डेड प्याकेज्ड खाद्य सामग्रीको उत्पादन र बिक्रीमा संलग्न छ । अगरबत्ती व्यवसाय विस्तारका लागि कम्पनीले पूर्ण स्वामित्वको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड स्थापना गरेको छ । यसै वर्ष कम्पनीले ‘मरानी’ ब्रान्डअन्तर्गत प्रिमियम महको निर्यातसमेत सुरु गरेको जनाएको छ । कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पञ्च, खुकुरी स्टार, बिजुली र चौतारीलगायतका ब्रान्ड बजारमा उपलब्ध गराउँदै आएको छ । देशभर फैलिएको वितरण सञ्जालमार्फत कम्पनीले १५० भन्दा बढी ग्राहकसँग प्रत्यक्ष कारोबार गर्दै आएको जनाएको छ । कम्पनीका अध्यक्ष सञ्जीव पुरी भारतको आईटीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् । भारतीय प्राविधिक संस्थान कानपुर र व्हार्टन स्कूल अफ बिजनेसका पूर्वविद्यार्थी पुरीले उत्पादन, सञ्चालन, सूचना तथा डिजिटल प्रविधिलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीसँग करिब ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, करिब १ अर्ब २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा करिब २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ७५ करोड रुपैयाँको बैंकिङ सुविधा (क्रेडिट लाइन) लिएको जनाएको छ । कम्पनीका अनुसार यसको मुख्य नाफाको स्रोत रहेको चुरोट व्यवसाय उच्च कर प्रणाली र कडा नियामकीय व्यवस्थाको दबाबमा छ । चुरोटमा करको भार निरन्तर बढ्दै जाँदा कानुनी रूपमा सञ्चालन हुने उद्योगमाथि सञ्चालनसम्बन्धी दबाब बढेको कम्पनीको भनाइ छ । नेपालमा चुरोटको खरिद क्षमता तुलनात्मक रूपमा कम रहेको र यसको माग मूल्यप्रति संवेदनशील भएकाले कर वृद्धिसँगै उपभोक्ता खैनी, गुट्खालगायत सस्ता तथा कर छली हुने धुवाँरहित सुर्तीजन्य उत्पादनतर्फ आकर्षित हुन सक्ने कम्पनीले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन अन्तर्गत जारी निर्देशिकाअनुसार चुरोटको प्याकेटको कम्तीमा ९० प्रतिशत भागमा ग्राफिक स्वास्थ्य चेतावनी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ । यो विश्वमै सबैभन्दा ठूलो स्वास्थ्य चेतावनी क्षेत्रमध्ये एक हो । यस्तो व्यवस्थाका कारण कम्पनीले आफ्नो ट्रेडमार्क तथा ब्रान्ड प्रदर्शन गर्न पर्याप्त स्थान नपाउने अवस्था सिर्जना भएको सूर्य नेपालले जनाएको छ । यसले अनिवार्य स्वास्थ्य चेतावनी नबोकेका तस्करीमार्फत भित्रिने अन्तर्राष्ट्रिय चुरोट ब्रान्डहरूको कारोबार बढ्न सक्ने जोखिम पनि रहेको कम्पनीले दाबी गरेका छ । यस्ता अवैध चुरोटलाई केही उपभोक्ताले तुलनात्मक रूपमा आकर्षक विकल्पका रूपमा लिन सक्ने भएकाले वैधानिक रूपमा उत्पादन हुने स्वदेशी चुरोटको मागमा नकारात्मक असर पर्न सक्ने जनाएको छ । कम्पनीले आफ्नो होल्डिङ कम्पनी आईटीसी लिमिटेडबाट व्यवस्थापकीय अनुभव, प्राविधिक दक्षता तथा व्यावसायिक सहयोग प्राप्त गर्दै आएको जनाएको छ । सन् १९१० मा स्थापना भएको आईटीसी भारतको अग्रणी बहुआयामिक कम्पनीमध्ये एक हो । कम्पनीले चुरोट, ब्रान्डेड प्याकेज्ड खाद्य सामग्री, शैक्षिक तथा स्टेशनरी सामग्री, व्यक्तिगत सरसफाइका सामग्री, सेफ्टी म्याच, अगरबत्ती, कृषि व्यवसाय, पेपरबोर्ड, कागज तथा प्याकेजिङ र सूचना प्रविधिलगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईटीसीको एग्री बिजनेस डिभिजनले सूर्य नेपालको आवश्यक तम्बाकु पातको आपूर्तिमा पनि सहयोग गर्दै आएको कम्पनीले जनाएको छ । व्यवसाय विविधीकरण, गुणस्तरीय उत्पादन तथा नयाँ बजार विस्तारमार्फत सूर्य नेपालले नेपालको औद्योगिक क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कम्पनीको दाबी छ ।

स्थानीय तहमा भूमि बैंक सञ्चालनको बाटो खुल्यो, बाँझो जग्गा उपयोगमा ल्याइने

काठमाडौं । सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उपयोगमा नरहेका वा बाँझो निजी जग्गालाई सम्बन्धित स्थानीय तहमार्फत उपयोगमा ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ । मन्त्रालयका अनुसार भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) बमोजिम प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना तथा सञ्चालन गर्ने कानुनी व्यवस्था गरिएको छ । यसका लागि सरकारले ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत गरी सबै स्थानीय तहमा परिपत्रसमेत गरिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्बन्धित स्थानीय तहमार्फत भूमि बैंकको व्यवस्था कार्यान्वयन गरी उपयोगमा नरहेका निजी जग्गालाई उत्पादनमूलक प्रयोजनमा ल्याउन सकिने उल्लेख गर्दै यसबाट लाभ लिन इच्छुक सबैलाई सम्बन्धित स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरेको छ ।  

जेल र फाँसीको जोखिमबीच पनि पूर्वप्रधानमन्त्री हसिना स्वदेश फर्किने

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पुनः स्वदेश फर्किने घोषणा गरेकी छन् । आफू बंगलादेश फर्किएपछि जेलमा हालिन सक्ने र मृत्युदण्डसमेत हुन सक्ने थाहा हुँदाहुँदै पनि उनले स्वदेश फर्कने निर्णय गरेकी हुन् । साथै सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी पनि हसिनाले गरेकी छन् ।  आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै आफूलाई दोषी ठहर गर्दै सुनाइएको मृत्युदण्डलाई उनले ‘राजनीतिक प्रेरित’ फैसला भनेकी छन् । जापानी समाचार संस्था क्योडो न्युजलाई दिएको लिखित अन्तर्वार्तामा हसिनाले भनिन्, ‘म बंगलादेश फर्किनेछु। म अदालतमा उपस्थित हुनेछु ।’ यद्यपि उनले कुन अदालतमा उपस्थित हुने भन्ने स्पष्ट पारेकी छैनन् । उनले बंगलादेशी अधिकारीहरूलाई संकेत गर्दै भनिन्, ‘उनीहरूले मलाई जेल पठाउन सक्छन् । मलाई मृत्युदण्ड दिने प्रयास पनि गर्न सक्छन् । यी सबै जोखिमबारे म जानकार छु ।’ सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि देश छाड्न बाध्य भएकी हसिना त्यसयता भारतमा बस्दै आएकी छन् । हसिनाले स्वदेश फर्किने घोषणा त्यतिबेला गरेकी हुन्, जब बंगलादेशको युद्ध अपराध न्यायाधिकरणले नोभेम्बर २०२५ मा आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध अभियोगमा उनको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो । त्यसबेला बंगलादेशमा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार थियो । हसिनाले उक्त फैसलालाई झुटो र राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएकी थिइन् । बंगलादेश सरकारले हसिनालाई भारतबाट हस्तान्तरण गर्न औपचारिक अनुरोध गरिसकेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ताले नयाँ दिल्लीले उक्त अनुरोध प्राप्त गरिसकेको र कानुनी तथा न्यायिक प्रक्रियाअनुसार त्यसबारे अध्ययन भइरहेको बताएका छन् । यसै महिनाको सुरुतिर हसिना स्वदेश फर्किन सक्ने भन्ने सञ्चारमाध्यमको समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री तारिक रहमानका सूचना सल्लाहकार जाहिद उर रहमानले जुलाई १४ मा सरकार उनलाई मुद्दाको सामना गराउन स्वदेश फर्काउने प्रयासमा रहेको र आत्मरक्षाको अवसरसमेत दिइने बताएका थिए । बंगलादेशमा सन् २०२४ को जुनमा सुरु भएको विद्यार्थी आन्दोलन, सन् १९७१ को स्वतन्त्रता संग्रामका पूर्वलडाकूका सन्ततिका लागि ३० प्रतिशत आरक्षण पुनःस्थापना गर्ने अदालतको निर्णयविरुद्ध सुरु भएको थियो । आरोपअनुसार हसिना नेतृत्वको सरकारले आन्दोलन दबाउन प्रयास गरेको थियो र प्रहरीले प्रदर्शनकारीमाथि व्यापक गोली चलाएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त अशान्तिका क्रममा १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सुरक्षाकर्मीको गोलीबाट मारिएका थिए । हसिनाले भने ती हत्याको आदेश आफूले नदिएको दाबी गर्दै आन्दोलनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएकी छन् ।