विकासन्युज

हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक जहाजमाथि गोलीबारी, अवस्था झन् जटिल बन्दै

काठमाडौं । भारतले हर्मुज स्ट्रेटमा आफ्ना झण्डावाहक दुई जहाजमाथि भएको गोलीबारीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतले इरानका राजदूतलाई यस विषयमा आफ्नो आपत्ति जनाएको छ । शनिबार हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक दुई जहाजलाई आफ्नो बाटो परिवर्तन गर्न बाध्य पारिएको थियो । बीबीसी पर्शियनका अनुसार ट्यांकरहरूको आवागमनमाथि नजर राख्ने वेबसाइट ‘ट्यांकरट्र्याकर्स’ ले यस क्रममा ‘गोलीबारी’ पनि भएको बताएको छ । ट्यांकरट्र्याकर्सका अनुसार ‘च्यानल १६ को अडियो रेकर्डिङ’ का आधारमा इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) जससेनाले हर्मुज स्ट्रेटको पश्चिम भाग हुँदै यात्रा गरिरहेका दुई भारतीय जहाजलाई होर्मुज स्ट्रेटबाट पछाडि हट्न बाध्य पारेको थियो । मेरिन ट्र्याकिङ डेटाअनुसार ती जहाजहरू लारक द्वीप पार गरेपछि यू–टर्न लिएर फर्किएका थिए । सनमार हेराल्डको डेटाले ती जहाज पूर्ण रूपमा तेलले भरिएको देखाउँछ । हालको ट्र्याकिङ डाटाका आधारमा यो तेल इराकबाट आएको हुनसक्ने सम्भावना छ । भारतमा इरानका सर्वोच्च नेताका प्रतिनिधि डा. अब्दुल मजीद हकीम इलाहीले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘इरान र भारतको सम्बन्ध धेरै बलियो छ र मलाई यस घटनाबारे जानकारी छैन । हामी आशा गर्छौं कि सबै ठीक हुनेछ र यो विषय समाधान हुनेछ ।’ भारतीय विदेश मन्त्रालयले यस विषयमा वक्तव्य जारी गरेको छ । यसअनुसार शनिबार साँझ नयाँ दिल्लीमा इरानका राजदूतलाई विदेश सचिवसँग भेटका लागि बोलाइएको थियो । बैठकका क्रममा विदेश सचिवले भारतीय जहाजमाथि भएको गोलीबारीप्रति चिन्ता व्यक्त गरे । उनले भारतले व्यापारिक जहाज र नाविकहरूको सुरक्षालाई अत्यन्त महत्त्व दिने बताए । उनले यो पनि स्मरण गराए कि इरानले पहिले भारततर्फ जाने धेरै जहाजहरूको सुरक्षित आवागमनमा सहयोग गरेको थियो । विदेश सचिवले राजदूतलाई भारतको कुरा इरानी अधिकारीहरूसम्म पुर्‍याउन र छिट्टै भारततर्फ आउने जहाजहरूको सुरक्षित मार्ग पुनः सुरु गर्न आग्रह गरे । इरानी राजदूतले यी कुरा इरानी अधिकारीहरूसम्म पु‍र्याउने आश्वासन दिएका छन् । फेरि बढ्यो तनाव यसअघि यूके मेरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ) का अनुसार हर्मुज स्ट्रेटमा एक ट्यांकरमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले गोलीबारी गरेको थियो ।  यद्यपि ट्यांकर र त्यसका चालक दल सुरक्षित रहेको जनाइएको छ ।  यसका साथै तीन स्रोतहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएका अनुसार कम्तीमा दुई व्यापारिक जहाजले होर्मुज स्ट्रेट पार गर्ने प्रयास गर्दा आफूहरूमाथि गोलीबारी भएको बताएका छन् । इरानी मिडियामा हर्मुज स्ट्रेट बन्द भएको खबर आएपछि धेरै जहाजहरूले यो समुद्री मार्ग छोडेर आफ्नो बाटो परिवर्तन गरेका छन् । इरानी सरकारी मिडियाका अनुसार देशको सेनाले हर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः सुरु गरिरहेको जनाएको छ । देशका धेरै मिडियाले आईआरजीसीको एक वक्तव्य उद्धृत गर्दै भनेका छन् कि हर्मुज स्ट्रेट ‘अघिल्लो अवस्थामै’ फर्किनेछ र सशस्त्र बलहरूले यस क्षेत्रलाई नियन्त्रण गर्नेछन् । यो समाचार इस्लामिक रिभोल्युसनरी गाड्र्स कोप्र्ससँग सम्बन्धित फार्स न्यूज एजेन्सी, इरानी स्टुडेन्ट्स न्यूज एजेन्सी र सरकारी प्रसारक आईआरआईबीले दिएका हुन् । ती संस्थाहरूले भने, ‘हामीले यसअघि केही जहाजहरूलाई यो जलमार्ग हुँदै गएको देखेका थियौं, तर यस महत्त्वपूर्ण शिपिङ मार्गबाट कति जहाज पार भए भन्ने स्पष्ट छैन ।’ आईआरजीसीको वक्तव्यमा अमेरिकामाथि ‘समुद्री डकैती’ को आरोप लगाइएको छ र भनिएको छ कि उसको ‘कथित नाकाबन्दी’  समुद्री लुटसरह हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि होर्मुजमा ‘अमेरिकी नाकाबन्दी’ जारी रहनेछ । इरानले पहिले चेतावनी दिएको थियो कि यदि अमेरिकाले उसका बन्दरगाहहरूको नाकाबन्दी जारी राख्यो भने उसले हर्मुज स्ट्रेट बन्द गर्नेछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि यदि बुधबारसम्म इरानसँग कुनै ठूलो सम्झौता भएन भने फेरि इरानमाथि बमबारी गरिनेछ । पत्रकारहरूले ट्रम्पलाई युद्धविराम बढाउनेबारे सोध्दा उनले भने, ‘सायद म यसलाई अघि बढाउने छैन । तर नाकाबन्दी जारी रहनेछ । दुःखको कुरा, हामीले फेरि बम खसाल्न सुरु गर्नुपर्नेछ ।’ यो बयान त्यस्तो समयमा आएको हो जब दुवै देशबीच सम्झौता हुने आशा गरिएको छ । ‘उनीहरूले केही समयअघि निकै राम्रो खबर पाएका छन्। मध्यपूर्वमा इरानसँगको अवस्था निकै राम्रो हुँदै गएको देखिन्छ,’ उनले थपे । पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो, तर त्यसबाट कुनै निष्कर्ष निस्किएको थिएन । ट्रम्प र इरानका विरोधाभासी बयान अमेरिका र इरानबाट आएका परस्पर विरोधी बयानका कारण यदि तपाईं अन्योलमा हुनुहुन्छ भने वास्तविकता यही हो– अवस्था वास्तवमै निकै जटिल छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै विभिन्न प्रकारका बयान दिएका थिए र वार्ताको प्रगतिप्रति सकारात्मक दृष्टिकोण अपनाएका थिए । उनले  इरानले युरेनियम सम्वर्धन नगर्ने र उसले आफ्नो उच्च स्तरमा सम्वर्धित युरेनियमको भण्डार त्याग्न सहमति जनाएको जानकारी दिए । तर उनका यी सबै दाबीलाई इरानको संसदका सभामुख बगर गालिबाफले अस्वीकार गरेका छन् । उनका अनुसार ट्रम्पले ‘एक घण्टामा सात दाबी गरे र सबै सात गलत थिए ।’ तर इरानको पक्षबाट पनि स्थिति पूर्ण रूपमा स्पष्ट छैन । विदेशमन्त्री अब्बास अराघचीले पहिले हर्मुज स्ट्रेट पूर्ण रूपमा खुला रहेको घोषणा गरेका थिए, तर पछि स्पष्ट पार्दै तेल ट्यांकर र जहाजहरूले इरानले निर्धारण र नियन्त्रण गरेको मार्गबाट मात्रै गर्नुपर्ने बताएका थिए । यसपछि इरानको सेनाले सरकारी मिडियालाई उद्धृत गर्दै हर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः स्थापित गरिरहेको जनाएको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)

फेरि ३ लाख नाघ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख एक हजार रुपैयाँ पुगेको छ ।   यस्तै, आज चाँदीको मूल्य ९५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेकोमा आइतबार ५ हजार २२५ रुपैयाँ कायम भएको छ । 

आइतबारदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आइतबार र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।  उनका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।       भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।       भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि विसं २०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम विसं २०५९ देखि देशभरि नै लागू गरिएको थियो ।       यस्तै, जुका नियन्त्रण तथा रोकथामको लागि विसं २०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो ।  प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ  । रासस   

तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छ : इरानका उप-परराष्ट्रमन्त्री

काठमाडौं । इरानका उप-परराष्ट्रमन्त्री सईद खतिबजादेले तेहरानले शत्रुताको स्थायी अन्त्यका लागि आह्वान गरिरहेको बताएका छन् । अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा उनले आफूहरूको क्षेत्रमा युद्धविराम आवश्यक रहेको बताए ।  तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिवद्ध रहेको उनले बताए । आफूहरू यो शत्रुता अन्त्य गर्न धेरै प्रतिवद्ध रहेको र यस क्षेत्रमा यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न चाहेको बताए  ।      

एमाले निकट युवा नेता पौडेल पक्राउ, ज्यान मार्ने र हातहतियार मुद्दामा अनुसन्धान हुने

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो ।  उनीमाथि उजुरी परेपछि उनी पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका हुन् ।  उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आवद्ध छन् ।   

सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल सङ्कलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजतपत्र प्राप्त गरेको प्रमाणपत्र आवश्यक पर्नेछ । यस्तै, आयकर र मूल्य अभिवृद्धि कर, गत आवसम्मको कर चुक्ता प्रमाणपत्र, सेवा प्रदायक संस्थाको प्रबन्धपत्र र नियमावली पनि पेस गर्नुपर्नेछ । प्रस्तावित सेवाका लागि कानुनी रूपमा अयोग्य नभएको स्वघोषणा गर्नुपर्नेछ । प्राधिकरणबाट तोकिएबमोजिमको बैंक जमानत पेस गर्ने प्रतिबद्धतापत्र, दुगर्म क्षेत्रका ग्राहकले समेत विद्युतीय माध्यमबाट विद्युत् सङ्कलन गर्ने प्रतिबद्धतापत्र, सेवा प्रदायक संस्थाले अवलम्बन गर्ने प्रविधिबाट प्राधिकरणको आय तथ्याङ्कको गोप्यता र सुरक्षा पर्याप्त रहने प्रतिबद्धता आवश्यक पर्दछ । सङ्कलित रकम प्राधिकरणले तोकेबमोजिमको बैंक खातामा दाखिला गर्न गरेको मञ्जुरी, महसुल भुक्तानीका लागि आवश्यक एवं सञ्चालनमा रहेका विभिन्न माध्यमहरूबाट महसुल सङ्कलनका लागि बढीभन्दा बढी सुविधा दिन सक्नुपर्नेछ । सेवा प्रदायक संस्थामा कम्तीमा पनि पाँच जना विषयगत प्राविधिक दक्ष जनशक्तिको विवरण पनि पेस गर्नुपर्नेछ । प्रस्तावकले प्रस्ताव पेस गर्दा कार्यक्षेत्रको विवरण उल्लेख गर्नुपर्नेछ । सेवा प्रदायक सञ्जाल एवं एजेन्सीहरूको विवरण, सेवा प्रदायकले प्राधिकरणको आय प्रणालीमा आबद्ध गर्ने व्यवस्था, सेवा प्रदायकले प्राधिकरणलाई उपलब्ध गराउने सफ्टवेयर एवं उपकरणको विवरण दिनुपर्नेछ । सेवा प्रदायकले प्राधिकरणसँग समन्वय गरी कार्य गर्ने तौरतरिका एवं प्रक्रिया र सङ्कलित रकम प्राधिकरणमा जम्मा गर्ने समय, तरिका र सोको सुरक्षणसम्बन्धी विवरण आवश्यक पर्नेछ । प्राधिकरणको सूचनाअनुसार रु पाँच सयसम्म महसुल भुक्तानी गर्ने ग्राहकलाई निःशुल्क रूपमा सेवा प्रवाह गर्नुपर्नेछ । यस्तै, रु पाँच सय एकदेखि रु पाँच हजारसम्म महसुल तिर्ने ग्राहकलाई प्रतिकारोबार रु पाँच अधिकतममात्रै लिनुपर्ने सीमा निर्धारण गरिएको छ । प्राधिकरणको यो प्रस्तावअनुसार सेवाप्रदायकले शुल्क तोक्नुपर्नेछ । त्यस्तै, रु पाँच हजार एकदेखि रु १० हजारसम्म महसुल तिर्ने ग्राहकलाई प्रतिकारोबार रु आठमात्रै लिनुपर्नेछ । यस्तै, रु १० हजार एकदेखि माथि प्रतिकारोबार अधिकतम रु १० सेवा शुल्क लिन पाइनेछ । प्राधिकरणले तोकेको यो प्रस्तावित सेवा शुल्कमा आधारित रहेर सेवा प्रदायकले शुल्क तोक्नुपर्नेछ । सेवा प्रदायकको प्रस्ताव स्वीकृत भएको जानकारी प्राधिकरणले दिएको १५ दिनभित्र बैंक जमानत लिई सम्झौताका लागि आउनुपर्नेछ । सुरक्षणका लागि न्यूनतम रु एक करोडबराबरको (क) श्रेणीको वाणिज्य बैंकबाट कम्तीमा एक बर्षको म्याद राखी जारी भएको शर्तसहितको बैंक जमानत राख्नुपर्नेछ । बैंक जमानत राखेको भन्दा बढी रकम दैनिक सङ्कलन गर्न पाउनेछैन । सेवा प्रदायकले महसुल सङ्कलन गर्दा प्राधिकरणबाट कुनै सेवा शुल्क पाउनेछैन । सेवाप्रदायक र प्राधिकरणबीच कुनै विवाद भएको खण्डमा सञ्चालक समितिले तोकेको सञ्चालकको अध्यक्षतामा विवाद समाधान समिति गठन गरिनेछ । समितिमा प्राधिकरणका उपकार्यकारी निर्देशक, कानुन विभागका निर्देशक, सेवा प्रदायक संस्थाले नियुक्त गरेको एक जना प्रतिनिधि सदस्य रहनेछन् । यस्तै संस्थागत वित्तीय विभागका निर्देशक सदस्यसचिव रहने व्यवस्था गरिएको छ । रासस

योजना तर्जुमा गर्न रास्वपाले विज्ञको सहयोग लिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्ने भएको छ । आइतबार (आज) बस्ने सचिवालय बैठकले यसको प्रारूप र कार्यविधि तय गर्ने बताएको छ ।  रास्वपाले आइतबार दिउँसो साढे तीन बजेका लागि सचिवालय बैठक बोलाउँदै विज्ञ र योजना आह्वान गर्ने बताएको हो ।  रास्वपाको योजनाअनुसार कुनै पनि व्यक्ति, संस्थाले पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता, उत्पादन लगायत क्षेत्रमा योजना प्रस्तुत गर्न सक्नेछन् ।  राजनीतिक दलले गरेको यो पहिलो अभ्यास हो । विगतमा यस्तो अभ्यास थिएन । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउने छ । त्यसभन्दा पूर्व सरकारले नीति, कार्यक्रम ल्याउने छ । सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन सम्बन्धमा, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघिय नेतृत्व मञ्च र विभागहरूको मनोनयन र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन लगायत विषय कार्यसूचिमा राखेको छ ।  सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक र संसदीय दलको लागि प्राविधिक सहायता एवं लेवी सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।   

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन ९ जनाले गरे आरोहण

सन्तोष गौतम म्याग्दी । धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका-४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालुु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन्। चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ। शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुुगेको आरोहण टोली सकुशल रुपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुर ग्याल्जेन शेर्पाले बताए। शेर्पाहरुको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरुको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन्। पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुरुषले अनुमति लिएका छन्। अनुमति लिएकाबाट एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताइन्। गत शरद्याममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए। रासस