कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई अनुसन्धान अनुदान दिने
काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका तथा व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान कार्यका लागि अनुदान उपलब्ध गराउने जनाएको हो । बैंकिङ, अर्थतन्त्र तथा सूचना–प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि एमफिल तहका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही १ लाख रुपैयाँका दरले तथा स्नातकोत्तर तहका चार जना शोधकर्ता विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने बैंकले जनाएको छ । अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित आगामी १४ मार्च २०२६ भित्र बैंकसमक्ष शोध प्रस्तावना पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावनाका आधारमा सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले विद्यार्थी छनोट गर्ने बैंकले जनाएको छ। शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो, प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने शर्त राखिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले उक्त अनुसन्धान अनुदानले एमफिल र स्नातकोत्तर तहका शोधकर्ता विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धानका लागि अनुदान प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले यो कार्यक्रम अघि सारेको हो । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था भएको बैंकको दाबी छ । अनुसन्धान अनुदानसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ ।
अधिकांश बैंकले माघमा पनि घटाए ब्याजदर, प्राइमले बढायो
काठमाडौं । वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर औसत ४.६८ प्रतिशतमा झरेको छ । जबकि पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत थियो । यस्तै, माघमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०६ प्रतिशत घटेर ३.३८ प्रतिशतमा झरेको छ । यसअघि पुसमा संस्थागततर्फ औसत ३.३७ प्रतिशत ब्याजदर थियो । माघ महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, प्राइम बैंकले भने माघमा ब्याजदर बढाएको छ । कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । यस्तै, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । प्राइम बैंकले माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । जबकि पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो । तर, बैंकले संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ ।
यस्तो छ बुधबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
एसबीआई बैंकको सिन्धुली शाखामा ३ करोड ११ लाख लुटपाट, सुरक्षागार्डमाथि खुकुरी प्रहार
काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार (हिजो) साँझ लुटपाट भएको छ । बैंकका एक उच्च अधिकारीका अनुसार साँझ करिब साढे ६ बजेतिर एक समूहले बैंक शाखामा प्रवेश गरी लुटपाट गरेको हो । लुटपाटमा संलग्न समूहले ठूलो रकम लुटेको प्रारम्भिक जानकारी आएको बैंकका उच्च अधिकारीले बताए । उनका अनुसार प्रारम्भिक विवरणअनुसार करिब ३ करोड ११ लाख रुपैयाँ लुटिएको छ । यद्यपि लुटेराले लुटपाटकै क्रममा १ करोड ८० लाख रुपैयाँ फालेको र उक्त रकम फेला परिसकेको उनको भनाइ छ । घटनापछि मंगलबार राति नै बैंकको केन्द्रीय कार्यालयबाट बागमती प्रदेशका प्रमुख सुशील श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको र बिहान करिब ४ बजे त्यहाँ पुगिसकेको उनले बताए । घटनाको यथार्थ विवरण संकलन तथा औपचारिक रिपोर्टिङको प्रक्रिया जारी रहेको उनको भनाइ छ । लुटपाटमा प्रयोग गरिएको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बैंकका उच्च अधिकारीले बताए । लुटपाटका क्रममा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको छ । गार्ड घाइते भए पनि अवस्था गम्भीर नभएको उनले बताए । बैंकका अन्य कर्मचारीलाई भने कुनै शारीरिक क्षति नभएको उनले बताए । लुटेराले केहीबेर कर्मचारीहरूलाई नियन्त्रणमा लिएर कोठाभित्र डोरीले बाँधेर राखेको भए पनि हाल सबै कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान तथा चेकजाँच भइरहेको उनले बताए ।
व्यवसाय र उद्योगको रोग निको बनाउन उद्यम क्लिनिक
काठमाडौं । उद्यमका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ पोखरामा मंगलबारदेखि उद्यम क्लिनिक सुरु गरिएको छ । पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा क्लिनिक सुरु गरिएको औपचारिक घोषणा गरेको हो । व्यवसायमा आउने समस्याको समाधानका लागि क्लिनिक सञ्चालन गरिने व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । ‘मानिसलाई रोग लागे उपचारको लागि अस्पताल लगिन्छ । व्यवसाय र उद्योगलाई रोग लागे के गर्ने भन्ने सन्दर्भमा उद्यम क्लिनिक स्थापना गरिएको हो । यसले उद्यमका क्षेत्रमा देखिएका अवरोध वा रोग हटाई त्यसलाई स्वस्थ बनाउने काम गर्दछ,’ उनले भने । अधिकारीका अनुसार उद्यममा देखिएका समस्याको सङ्कलन पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घमार्फत गरिन्छ भने त्यसको पहिचान र निराकरण विज्ञ समूहमार्फत गरिने छ । विज्ञ समूह ल्याउनका लागि पोखरा रिसर्च सेन्टरसँग सम्झौता गरिएको बताउँदै उद्यमका जुन विषयमा समस्या आएको छ त्यससँग सम्बन्धित विज्ञ सेन्टरले ल्याउने उनले जानकारी दिए । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान र व्यावसायिक वातावरणमा सघाउने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा रिसर्च सेन्टरका सुजन रेग्मी, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम लगायतले उद्यम क्षेत्रका समस्याको समाधानका लागि क्लिनिक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
विएस धवलागिरिलाई १० हजार र सिन्धु मेटेरियल्सलाई १५ हजार जरिवाना
काठमाडौं । नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारवाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले कूल १४ वटा फर्ममा अनुमगन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्महरूमा अनुमगन गर्दै आएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुमगन गरिरहेको र कैफियत देखिएकालाई कानुन बमोजिम कारवाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ ।
काठमाडौंका यी क्षेत्रमा आज बिजुली कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११:३० बजेदेखि अपरान्ह १:३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ । त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११:३० बजेदेखि अपरान्ह १ बजेसम्म बिजुली कटौती हुनेछ । यसैगरी शिवपुरी फिडरको बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोल लगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ ।
८ वर्षसम्म निर्माण हुन नसकेका ४ वटा पुल हर्जाना तिराएर सम्पन्न
काठमाडौं । तोकिएको समयमा निर्माण सम्पन्न नभएका कञ्चनपुरका ४ वटा पुल ८ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि ८ वर्षसम्म निर्माण हुन नसकेका ४ वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेश कुमार यादवले जानकारी दिए । उनका अनुसार ३ पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्ने गरी थेगिम गाल्भा जेभीसँग ५ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ‘उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसायीले काम नगरेपछि हामीले १० प्रतिशत हर्जाना तिराएर यस पटक काम सम्पन्न गराएका छौँ,’ प्रमुख यादवले भने, ‘यसरी वर्षौदेखि अलपत्र परेका कञ्चनपुरका ४ वटा पुल निर्माण हामीले सम्पन्न गरेका छौँ ।’ सम्झौताको ९ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०७५ पुसभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको ९ वर्षपछि काम सकिएको प्रमुख यादवले बताए । ‘पुल निर्माण सकिएर परीक्षणको कार्य भइरहेको छ । २-३ दिनभित्रै उक्त काम सम्पन्न हुन्छ । पुलको फाउण्डेशनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो,’ उनले भने । त्यसैगरी ५ पटक म्याद थप भएर निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालामाथिको पुल हालै सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त पुल १८ महिनाभित्र सम्पन्न गर्ने गरी विसं २०७४ वैशाख १४ गते शङ्कर-माली एकेला जेभीसँग ४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यस्तै बेदकोट नगरपालिका-७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिने पुलको पनि पाँच पटक म्याद थप भएको छ । विसं २०७४ जेठमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी राजेन्द्र-लुम्बिनी जेभीसँग १३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख यादवले भने, ‘समयमा काम नगर्ने निर्माण व्यवसायीलाई हर्जाना तिराएर समेत निर्माण सम्पन्न गरेका छौँ ।’