विकासन्युज

१ लाखसम्मका सहकारी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी

काठमाडौं । सरकारले सहकारीमा १ लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो ।  सानो रकम फसेका पीडित नागरिकलाई चक्रीय कोष बनाएर रकम फिर्ता कार्यविधि निर्माण गरी अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति प्राप्त भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सह प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।  उनका अनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने छ । अर्थ मन्त्रालयले निश्चित रकम बिउ पुँजीका रूपमा चक्रीय कोषमा जम्मा गर्नेछ । त्यसबाट समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने छ । ती सहकारी लिलाम गरी आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिने छ । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । देशभर करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती सहकारी तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ । पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगी गर्ने सञ्चालकलाई कारबाहीको माग गर्दै आएका थिए । समुदायमा सहकारीको आदर्श तथा सिद्धान्तमा आधारित भएर सहकारी सदस्यको हितमा क्रियाशील सहकारी संस्थाहरूले राम्रो प्रगति गरेका छन् भने सिद्धान्त विपरीत बचत सङ्कलन गरी कर्जा प्रवाह गर्ने अधिकांश सहकारी समस्यामा छन् ।

विजयपुर खोलामा ‘गिर्डर लन्चिङ’ सुरु, पृथ्वी​​​​​​​राजमार्ग ४ घण्टा बन्द

काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने पोखराको विजयपुर खोलामाथि निर्माणाधीन पुलमा आजदेखि ‘गिर्डर लन्चिङ’ (पुललाई अड्याउन प्रयोग गरिने निदाल) सुरु भएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्डले राजमार्ग स्तरोन्नतिको काम गर्दै आएको छ । सोही आयोजनाअन्तर्गत विजयपुर खोलामा पक्की मोटरेबल पुल निर्माण भइरहेको हो । उक्त आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरले सोमबारदेखि पुल क्षेत्र बाहिर तयार पारिएका गिर्डरलाई पुलमाथि राख्ने कार्य (गिर्डर लन्चिङ) सुरु भएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म दैनिक ४ घण्टा सडक बन्द गरेर काम भइरहेको हो । आयोजना प्रमुख कुँवरले भने, ‘पहिलो दिन एउटा गिर्डर राखिएको छ । मङ्सिर ११ गतेसम्म १५ वटा राख्ने योजना अुनसार आजदेखि काम हुनेछ । सकभर कम ट्राफिक जाम होस् भनेर दैनिक चार घण्टा सडक बाटो बन्द गरेर काम भइरहेको छ ।’ विजयपुर खोलाको पुल अबको २ महिनाभित्रमा निर्माण सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ ।  ‘गिर्डर राखेपछि पुलको स्लाब ढलान र दुवैतिरको सडक ढलान बाँकी छ । २ महिनाभित्रमा सबै काम सकिन्छ,’ कुँवरले भने ।  एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-मुग्लिङ सडक आयोजनाको पश्चिम खण्डमा पोखराको सेती नदी र विजयपुर खोलामाथि कङ्क्रिट र फलाम प्रयोग गरेर पुल निर्माणको चरणमा छ । आयोजना प्रमुख कुँवरले राजमार्गमा सवारीसाधनको चापले पुलको काममा कठिनाइ हुने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । मुग्लिन-पोखरा सडक आयोजनाले दुई पाङ्ग्रे तथा साना सवारीसाधनका लागि बूढी बजारबाट बेल चौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउस चोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । उक्त आयोजनाअन्तर्गत पश्चिम खण्डको पोखराबाट तनहुँको जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको प्रमुख कुँवरले जानकारी दिए ।

उद्योगी व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ । ४ महिनामा आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएको उनले बताए ।  ४ महिनामा ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको यो कार्यालयले ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको छ । यो लक्ष्यको २७.३ प्रतिशतले बढी र लक्ष्यको १२७.३ प्रतिशत सङ्कलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए ।  ‘गत आवको तुलनामा राजस्व सङ्कलन ५१.५ प्रतिशतले वृद्धि भएको छ । चारै महिना हामीले लक्ष्य हासिल गरेका छौँ,’ उनले भने ।  राजस्व सङ्कलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२.६ प्रतिशत रहेको उनले जानकारी दिए ।  ‘मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ । तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ,’ कर अधिकृत  पोख्रेलले भने ।  आव २०८१/८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म ३ अर्ब ५६ करोड २ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेको थियो । राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ । कार्यालय अन्तर्गतका उद्योगी-व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए । आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन् ।

सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सोलु हाइड्रोपावरले आज मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो ।  स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

दुर्गा प्रसाई समूहले फिर्ता लियो अनिश्चितकालीन आम हड्ताल, सरकारसँग सहमति

काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।  वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेतलाई ध्यानमा राखी महाअभियानले उठाएका जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै सहमति गरेको छ । सो सहमति लगत्तै महाअभियानले आजदेखि हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको छ । अर्को चरणको वार्ता महअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारीसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

एकै दिन १८ विपद्का घटना, देशभर आगलागीको संख्या बढ्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका २/२ वटा घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा-१ तालडाँडास्थित बेँसीसहर-चामे सडक खण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्प दंशका घटना भयो । विपद्का कारण २ जना घाइते भए भने अनुमानित क्षति ५३ लाख ७ हजार ५५० रुपैयाँ बराबर भयो । त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा २/२ वटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासी पूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो ।  त्यस दिन पाल्पाको रिब्दीकोट-३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो । प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकै दिन रुपन्देही र कास्कीमा ३/३ वटा आगलागीका घटना भए । झापामा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो । विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति १३ लाख ६५ हजार रुपैयाँ बराबर भयो । त्यस दिन जनावर आक्रमणका ५ घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए । त्यस्तै, मङ्सिर ३ गते देशव्यापी रूपमा १६ विपद्का घटना घटेका थिए । त्यसमा आगलागीका मात्रै १२ घटना थिए । लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए । विपद्का कारण २ करोड ७६ लाख ३१ हजार रूपैयाँ बराबरको क्षति भयो । प्राधिकरणको विवरण अनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए । कञ्चनपुर, सुनसरीमा मात्रै २ वटा आगलागीका घटना भए । त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासी पूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो । लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका १/१ घटना भएका थिए । त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने ३१ लाख १४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भयो । त्यसैगरी, मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए । आगलागीमा परेर २ जना घाइते भए भने १४ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानका कारण भएको छ भने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ । जनचेतनाको अभाव एवं लापरबाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुन पुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ । 

दुई वटा स्वचालित पेस्तोलसहित एक जना नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ । बरामद पेस्तोल तथा अन्य सामानसहित निजलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

ट्रम्पले युक्रेनलाई दिए अमेरिकी शान्ति योजना स्वीकार गर्न अल्टिमेटम

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र ‘गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम’ जस्ता चुनौतीपूर्ण विकल्प सामना गर्नुपर्ने बताएको केही घण्टामै ट्रम्पको यस्तो कदम सार्वजनिक भएको हो । शुक्रबार फक्स न्युज रेडियोसँग दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा सार्थक प्रगति देखिए मात्र समयसीमा केही लचिलो हुन सक्ने सम्भावना रहेको बताए । ‘मेरो धेरैजसो विषयमा समयसीमा हुन्छ र यदि कामहरू सकारात्मक रूपमा अघि बढिरहेका छन् भने विस्तार गर्न सकिन्छ । तर नोभेम्बर २७ हामीलाई उपयुक्त समयजस्तै लागेको छ,’ ट्रम्पले भनेका छन् । ट्रम्पले प्रभावकारी रूपमा राष्ट्रपति जेलेन्स्कीलाई पाँच दिनभित्र निर्णय गर्न बाध्य पारिएको संकेत पनि गरे । उनका अनुसार, युक्रेनले आफ्नो गरिमा बचाउने कि प्रमुख सहयोगीको समर्थन गुमाउने भन्ने दुवै कठोर विकल्पबीच छ । साथै, उनले चेतावनी दिँदै युक्रेनले आफ्नो केही भूभाग तत्काल गुमाउने सम्भावना अझै कायम रहेको बताए । यसैबीच, अमेरिकी उपराष्ट्रपति जे. डी. भान्ससँगको फोन वार्तापछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत किएभ अमेरिकी तथा युरोपेली पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा सहकार्य गर्दै शान्तिको मार्ग खोज्न सहमत भएको जानकारी दिएका छन् । यसअघि टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले देश ‘सङ्कटको नयाँ चरण’ मा प्रवेश गरिरहेको उल्लेख गर्दै अत्यन्त कठिन विकल्पसहितको जटिल परिस्थितिको चेतावनी दिएका थिए । ‘युक्रेन अब अत्यन्तै चुनौतीपूर्ण निर्णयको घडीमा छ—या त गरिमा गुमाउने जोखिम, वा प्रमुख साझेदार गुमाउने भय । या त २८ बुँदे कठोर प्रस्ताव स्वीकार्ने, वा अर्को कठोर जाडो सहने,’ उनले भने । ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले शान्तिको यथार्थवादी बाटो पहिचान भइसकेको दाबी गर्दै यो योजना अघि बढ्न जेलेन्स्कीको स्वीकृति अनिवार्य हुने पुन: दोहोर्‍याए । सिएनएनद्वारा उद्धृत उनका कथन अनुसार, ‘हामीसँग शान्ति हासिल गर्ने बाटो छ भन्नेमा विश्वास छ, तर युक्रेनी पक्षले यसलाई अनुमोदन गर्नुपर्छ । उनीहरू नजिकै आइरहेका छन् जस्तो लाग्छ, तर म अहिले नै भविष्यवाणी गर्न चाहन्नँ ।’ ट्रम्पद्वारा पुनरावलोकन भई समर्थन प्राप्त २८–बुँदे शान्ति प्रस्ताव वासिङ्टनले गत तीन वर्षदेखि अवरुद्ध भइरहेको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने उद्देश्यले अघि सारेको पछिल्लो पहल हो । यसअघि रुसले पूर्ण कब्जा नजमाएका क्षेत्रमा क्षेत्रीय छुट दिनुपर्ने जस्ता केही प्रस्ताव किएभले अस्वीकार गरिदिएको थियो । यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अमेरिकी योजनाबारे टिप्पणी गर्दै उक्त प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग भएको भेटमा छलफल गरेको पुरानो प्रारूपकै परिमार्जित संस्करण जस्तो देखिएको बताए । सुरक्षा परिषद्को बैठकमा उनले भने, ‘अमेरिकी पक्षले केही सम्झौतामा सहमत हुन आग्रह गरेको थियो ।’ पुटिनका अनुसार मस्कोले एन्कोरेजमा प्रस्तुत गरिएका पहलहरू स्वीकार गरेको थियो, तर किएभले प्रस्ताव अस्वीकार गरेपछि प्रक्रिया रोकिएको थियो । रुसी पक्षले अद्यावधिक २८–बुँदे प्रस्तावको पाठ प्राप्त गरेको र त्यसलाई ‘विस्तृत रूपमा’ अध्ययन गर्न बाँकी रहेको समेत पुटिनले बताए । ‘मलाई विश्वास छ, यसले अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छ’, पुटिनले भनेका छन् । रासस