सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँले बढ्यो
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको छ । हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० रुपैयाँ निर्धारण भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बुधबार (आज) अपरान्ह ३ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
डिजिटल जोखिमबाट सुरक्षा दिन शिखर इन्स्योरेन्सको ‘साइबर बीमा’ बजारमा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बजारमा ‘साइबर बीमा पोलिसी’ ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै कम्पनीले साइबर बीमा पोलिसी जारी गर्ने बाटो खुलेको हो । पछिल्लो समय डिजिटल प्रणालीमा बढ्दै गएको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले यो पोलिसी ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो बीमा पोलिसी विशेषगरी संस्थाहरुलाई लक्षित गरेर ल्याएको हो । सूचना प्रविधि कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यापारिक फर्म, उद्योग, अस्पताल र शैक्षिक संस्थाहरूले यो पोलिसी खरिद गर्न सक्नेछन् । हाल यो पोलिसी व्यक्तिगत रूपमा भने उपलब्ध हुनछैन । के–के जोखिम कभर हुन्छ ? यस पोलिसीले साइबर हमला वा साइबर अपराधका कारण संस्थाहरूलाई हुने विभिन्न वित्तीय क्षतिहरूलाई कभर गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साइबर आक्रमणका कारण क्षति भएका तथ्यांकहरू फेरि प्राप्त गर्न लाग्ने खर्च, साइबर अपराधकै कारण व्यवसाय वा सेवा ठप्प हुँदा वा काममा ढिलाइ हुँदा हुने नोक्सानी, सेवाग्राहीप्रतिको दायित्व र कानुनी उपचारका लागि बेहोर्नुपर्ने खर्चलगायत यो पोलिसीले कभर गर्ने छ । बीमा शुल्क भने बीमित संस्थाको आवश्यकताअनुसार र जोखिमस्तरअनुसार निर्धारण गरिने कम्पनीले जनाएको छ । हाल यो पोलिसी बजारमा उपलब्ध भइसकेको छ । कम्पनीका अनुसार यो बीमा लिन चाहने संस्थाले प्रस्ताव फारम भरी आफ्नो साइबर सुरक्षा नीति र अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्नेछ । विशेषगरी मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गर्ने संस्थाहरूको हकमा भने आफ्नो प्रविधिको अनिवार्य लेखा परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । नेपालमा साइबरसम्बन्धी यस्तो पोलिसी नयाँ हो । छिमेकी मुलुक भारतलगायत अन्तर्राष्ट्रिय मुलुकहरूमा साइबर बीमा निकै प्रचलनमा रहेको भएपनि नेपालमा भने सुरुवातकै चरणमा रहेको छ । यसअघि नेपाल इन्स्योरेन्सले नेपालमा पहिलोपटक साइबर क्राइम पोलिसी जारी गरेको थियो । तर विविध कारणले कम्पनीले बीचमै यो पोलिसी बन्द गर्यो । शिखर इन्स्योरेन्सले अहिले ल्याएको पोलिसी भने अन्तर्राष्ट्रिय बीमा साझेदारहरूको सहयोगमा नेपालको कानुन अनुसार परिमार्जन गरी तयार गरेको जनाएको छ । ग्राहकको बढ्दो माग र आवश्यकताअनुसार अध्ययन गरेर नै यो पोलिसी ल्याएको हुनाले यसका बीमितको आकर्षण बढ्नेमा कम्पनीले अपेक्षा लिएको छ । हाल यसको पुनर्बीमा ‘केस टू केस’ (आवश्यकता र प्रकृति हेरेर) आधारमा गरिने र भविष्यमा यसलाई सम्झौताकै रूपमा लैजाने योजना कम्पनीले बनाएको छ । इच्छुक संस्थाहरूले शिखर इन्स्योरेन्समा सम्पर्क राखी यो पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
सरकार र प्रतिपक्ष दुवै ‘ब्रेक’बिनै दौडिरहेका छन् : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । बुधवार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड विना कुनै विश्राम पूरा गरेपछि थापाले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोडेका हुन् । यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिए । काँग्रेस सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गरे । सभापति थापाले भने, ‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिए । मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ ।’ उनले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको सुनाए । सभापति थापाले वीपी कोईरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गरे । विकासको अवधारणाबारे चर्चा गर्दै उनले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गरे । वीपी कोइरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्दै थापाले ती दूरदर्शि विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात गर्नुपर्ने बताए । पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली काँग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताए । अग्रजहरूले देखाएको बाटो र उहाँहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिवद्ध रहेको उनको भनाइ छ ।
बागमती सरकारबाट एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा
काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्यमन्त्री डा. दिनेशचन्द्र देवकोटा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुसूदन पौडेल र युवा तथा खेलकुदमन्त्री जयराम थापा रहेका छन् । एमालेका सबै मन्त्रीले एकैपटक पदबाट राजीनामा दिएसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा परिवर्तन आएको छ । मन्त्रीहरूको राजीनामापछि सरकारको आगामी स्वरूप, नयाँ सत्ता समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाह हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै
काठमाडौं । विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन् ।
८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले बुधबार एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ । सूचनाअनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एउटै सहभागीले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ । समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ । बैंकले निक्षेप संकलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ । यसमा संकलित रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ । साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी (प्रि–म्याच्योर) सुविधा नहुने स्पष्ट गरिएको छ ।
बीपी स्मृति दिवसमा कांग्रेसको ग्रीन रन, प्रथम भए मुकेश
काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बिहीबार सम्पन्न ग्रीन रन प्रतियोगितामा धावक मुकेशबहादुर पाल प्रथम भएका छन् । पाँच किलोमिटर लामो ग्रीन रन जलवायु परिवर्तनसम्बन्धी सचेतना अभियानका लागि सञ्चालन गरिएको पार्टीले जनाएको छ । सोही अवसरमा पार्टीले विपद् तथा सङ्कटमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा पनि गरेको छ । ललितपुरस्थित युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा एक हजार चार सय जनाले नाम दर्ता गराएकोमा १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पाल प्रथम भए । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको कांग्रेसले जनाएको छ । यस्तै नरेन्द्रसिंह रावल दोस्रो हुँदै २५ हजार रुपैयाँ, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार रुपैयाँ, गणेश सिंह चौथो हुँदै १२ हजार रुपैयाँ, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार रुपैयाँ र नागेश्वर अहिर छैटौँ हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कांग्रेसले जनाएको छ । पार्टीले जारी गरेको प्रेस नोट अनुसार महिला प्रतिस्पर्धातर्फ भने धावकहरूले निर्धारित रुट पालना नगरेकाले उक्त प्रतिस्पर्धाको नतिजा रद्द गरिएको छ । प्रेस नोट अनुसार महिला विधाको दौड पुनः आयोजना गरिनेछ । प्रतियोगितामा सभापति थापा स्वयं पनि प्रतिस्पर्धीका रूपमा सहभागी भएका थिए भने सयौँले अप्रतियोगीका रूपमा दौड पूरा गरेका थिए । ग्रीन रन सम्पन्न भएपछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकताका रूपमा सम्बोधन गर्दै प्रभावकारी नीति, जनचेतना अभिवृद्धि र पूर्वतयारीलाई सुदृढ बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस जलवायु परिवर्तनबारे जनचेतना फैलाउने अभियानमा मात्र सीमित नरही यसविरुद्ध ठोस राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनले बीपी कोइरालाले दशकौँअघि नै वन, जमिन तथा प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास र समावेशी समाज निर्माणको अवधारणा अघि सारेको स्मरण गर्दै कांग्रेसले ती सिद्धान्तलाई समकालीन नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको बताए ।