बर्डफ्लुपछि अण्डाको मूल्य फेरि उकालो, एकैपटक ५० रुपैयाँ बढ्यो
काठमाडौं । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४५० रुपैयाँबाट ५०० रुपैयाँ पुगेको छ । यस्तै, मध्यम अण्डा ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डा ४१५ रुपैयाँ पुगेको छ । सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको संघले जनाएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनको भनाइ छ । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५५० रुपैयाँमा बिक्री भएकामा झरेर ४५० रुपैयाँमा सीमित भएको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँछ । प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए । मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताए ।
माइतीघर डुबानको कारण पत्ता लगाउन सुनिता डंगोलको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा हुने डुबानको प्राविधिक कारण पहिचान गरी विस्तृत प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएकी छन् । मंगलबार डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई यथाशीघ्र प्रतिवेदन तयार गर्न निर्देशन दिएकी हुन् । अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो । स्थलगत अनुगमनका क्रममा डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख सुवोध देवकोटाले माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल रहे पनि निकास हुने स्थानमा ६० सेन्टिमिटरको मात्रै ढल रहेकाले पानीको बहावमा समस्या देखिएको प्रारम्भिक जानकारी दिएका थिए । उनका अनुसार माइतीघर मण्डला आसपास भवन तथा अन्य संरचना निर्माणका क्रममा ढल निकास प्रणालीमा अवरोध सिर्जना भएकाले त्यस्ता अवरोध हटाउन आवश्यक छ । कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार निर्माण र सेवा प्रवाहसँग सम्बन्धित निकायसँग समन्वय गरी माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा रहेका सबै अवरोध हटाई डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नियम उल्लंघन गर्ने दुई फर्मलाई जरिवाना, १० वटालाई निर्देशन
काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले किसु चमेनागृहलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, काठमाडौंको जडिबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले कुल १२ फर्ममा अनुगमन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । उद्योग, फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुगमन गर्दै आएको छ ।
आज ४ प्रदेशमा भारी वर्षा हुने, बाढीपहिरोको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान मधेस तथा कर्णाली पहाडी भू-भागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र विभागको सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ ।
उपत्यकामा १९ प्रतिशतले घट्यो ट्राफिक दुर्घटना
काठमाडौं । काठमाडौं उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए । ‘दुर्घटना हुनु आफैमा दुखद् हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ ’, उनले भने । उनका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ । ‘शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन् ’, सुवेदीले भने । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ ।
अब २४ घण्टामै कोलकाताबाट विराटनगर सामान आइपुग्ने, सुरु भयो रेल सेवा
काठमाडौं । भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्मको प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । मङ्गलबार आईसीपी परिसरमा आयोजित उद्घाटन समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसहित संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगी-व्यवसायीहरूले लामो समयदेखि देख्दै आएको सपना र संघको झन्डै एक दशक लामो निरन्तर पहलपछि यो ऐतिहासिक उपलब्धि हासिल भएको हो । विराटनगर आईसीपी यार्डसम्म रेलमार्ग जोड्न करिब तीन वर्षअघि नै पूर्वाधार निर्माण भई परीक्षणसमेत भइसकेको थियो । तर, साविकको नेपाल-भारत व्यापार तथा ट्रान्जिट सन्धिमा कोइला, क्लिंकर, मल र नुन गरी चार वटा वस्तु मात्र ल्याउन पाउने सीमितताका कारण यो सेवाले निरन्तरता पाउन सकेको थिएन । त्यसपछि संघको दोस्रो चरणको तीव्र पैरवी र दुवै देशका सरकारको कूटनीतिक प्रयासबाट नीतिगत तथा कानुनी जटिलताहरू फुकाइएपछि सबै प्रकारका औद्योगिक कच्चा पदार्थ ल्याउन पाउने गरी यो सिधा रेल सेवा सुरु भएको हो । रेलमार्फत सामान आयात गर्दा सडक मार्गको तुलनामा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत भई उत्पादन लागत घट्नेछ । साथै, पहिले ५ देखि ७ दिन लाग्ने ढुवानी समय अब २४ देखि ७२ घण्टामै सीमित हुनेछ । विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी र क्षतिको जोखिम अन्त्य हुने तथा विलम्ब शुल्क (डेमरेज) घट्ने जस्ता बहुआयामिक लाभ नेपाली उद्योगी-व्यवसायीलाई प्राप्त हुनेछ । आगामी दिनमा यस भेगका उत्पादनहरू तेस्रो मुलुक तथा भारततर्फ निर्यात गर्नसमेत सस्तो र छिटो भई नेपाली उद्योगहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सुदृढ हुने विश्वास लिइएको छ ।
ईभी 'प्रोटोन इमास फाइभ' सार्वजनिक गरेसँगै जगदम्बा मोटर्सको नेटवर्क विस्तार, अब भक्तपुरबाट पनि सेवा
काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित ईभी प्रोटोन इमास फाइभ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो शोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ । यसैक्रममा जगदम्बा मोटर्सले मंगलबारदेखि भक्तपुरको राधे-राधेमा अत्याधुनिक सुविधासम्पन्न शोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ । भक्तपुरको यो नयाँ शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ । नेपालमा ग्राहक-केन्द्रित भई अग्रणी विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित शोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार प्रोटोन ब्रान्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पुर्याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो । भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसलका थप तीन सहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ शोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो । अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन् । जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकहरूमाझ प्रोटोन ब्रान्डका नयाँ सवारी साधन आधिकारिक रूपमा बिक्री गर्दै आएको छ । मलेसियाको अग्रणी राष्ट्रिय सवारी ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारीमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन इमास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ । यस ब्रान्डले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।
बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान आठ बजेदेखि नै सुरु गर्ने भएको छ । बुधबारदेखि लागु हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सेवाग्राहीले सार्वजनिक बिदाका दिनबाहेक हरेक बिहान आठ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी प्राप्त गर्ने उनले बताए । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने ‘सफ्टवेयर अपग्रेड’ हुने क्रममा रहेकाले उक्त सेवा सुस्त हुने र कहिले अवरुद्धसमेत हुने समस्या देखिँदै आएको कार्यालयले जनाएको छ । जसका कारण समयमा सेवा प्रवाह हुन नसकी कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको हो । कार्यालयले मङ्गलबार सार्वजनिक सूचनामार्फत विगतमा तस्बिर खिचाएर बायोमेट्रिक दिएका सेवाग्राहीलाई राष्ट्रिय परिचय आएकोबारे मोबाइलमा सन्देश आएपछि मात्र कार्यालयमा आउन आग्रह गरेको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि कार्यालयले जारी गर्ने आधिकारिक सूचना हेरेर मात्र कार्यालयमा आउन सेवाग्राहीलाई अनुरोध गरिएको हो ।