विकासन्युज

नेपालबाट असीमित भारु भारत लैजान पाइने, नोटको दर तोकियो

काठमाडौं । नेपाल सरकारले नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने व्यवस्था गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै असीमित रुपमा भारुका नोट लैजान सकिने व्यवस्था गरेको हो ।  नेपाल सरकार, मन्त्रिपरिषद्ले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ ले दिएको अधिकार प्रयोग गरी नेपाल बाहिर मुद्रा निकासी वा पैठारी गर्ने सम्बन्धमा नेपाली र भारतीय नागरिकहरूले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था गरेको छ । तर, भारतीय रुपैयाँ १०० दरभन्दा ठूला दरका नोट र नेपाली मुद्राको हकमा देहाय बमोजिम हुनेछ ।  यस्तै, कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न पाइने छैन । सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्नेछन् ।  यस्तै, नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राको हकमा भारत बाहेक अन्य मुलुकमा लैजान वा पठाउन पाइने छैन । विदेशी विनिमय सटही कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाबाट कानुन बमोजिम प्राप्त गरेको विदेशी मुद्रा नेपालबाट बाहिर लैजान वा पठाउन पाइनेछ ।  यस्तै, विदेशी नागरिकको हकमा नेपाल राष्ट्र बैङ्कले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउन परेमा निजले नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्राको हकमा त्यस्तो विदेशी मुद्राको रकम भन्सार अधिकृत समक्ष घोषणा र प्रमाणित गरेको हुनु पर्नेछ । कसैले यस सूचनाको बर्खिलाप काम कारबाही गरेमा विदेशी मुद्रा जफत हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ । 

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख ९ हजार ५३१ कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ रकम बराबरको आईपीओ जारी गर्न लागेको हो। आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ । सम्झौतापत्रमा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) यश पुरी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट सीईओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । अन्नपूर्ण माछा दाना उद्योग नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योगमध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका माछा दाना उत्पादन गर्दै आएको छ ।  कम्पनीले देशभर फैलिएको सशक्त वितरण अञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरूलाई आफ्ना उत्पादनहरू आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउदै आएको छ । 

एनआईसीसीआईको १२औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) को १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा चेम्बरका हालसम्मका गतिविधि, उपलब्धि तथा वित्तीय अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो । साथै नेपाल र इटालीबीच व्यापार, लगानी तथा व्यावसायिक सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । साधारण सभाले एनआईसीसीआईको नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा सञ्जय अग्रवाल चयन भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा रूपक राजवंशी, उपाध्यक्षद्वयमा मनोजकुमार ज्ञवाली र अरणिको राज भण्डारी चयन भएका छन् । महासचिवमा मनोज श्रेष्ठ भडेल, सचिवद्वयमा रोमनाथ घिमिरे र विनोद सग्तानी तथा कोषाध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरूमा बसुमाया तामाङ, सबिना प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैजु, वीरन्द्र शाही, किशन सुनार, सञ्जय कुमार अग्रवाल, सुमित कुमार बन्सल, सुशील कुमार जैन, युगेशभक्त बडे श्रेष्ठ, सुनिता सिंह, संघर्ष बिष्ट, गम्भीर मान श्रेष्ठ, योगेन्द्र विक्रम थापा, दम्बर पराजुली तथा कल्याण सिलवाल चयन भएका छन्। सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त साधारण सभाले नेपाल–इटाली आर्थिक तथा व्यावसायिक सहकार्य प्रवद्र्धनमा एनआईसीसीआईको भूमिकालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

निर्माण व्यवसायीलाई पनि चुनाव लाग्यो, अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । महासंघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा, महासचिव रोशन दाहाल र सल्लाहकार तथा पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको हाे ।  माघ १५, १६ र १७ गते हुने महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहे पनि निर्वाचनको सम्भावना प्रबल देखिएको छ । हालसम्म अध्यक्षका कुनै पनि आकांक्षीले प्यानल घोषणा गरेका छैनन् । तीनै आकांक्षीले महासंघको निर्णय कुरिरहेका छन् । महासंघका वर्तमान महासचिव रोशन दाहालले आफ्नो लामो अनुभव र योगदानका आधारमा अध्यक्ष पदमा आफ्नो दावेदारी स्वाभाविक रहेको बताए ।  २०५३ सालदेखि निर्माण व्यवसायमा सक्रिय रहेका दाहालले काठमाडौं जिल्ला र काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको सचिव हुँदै तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनी आर.डी. एण्ड निर्माण सेवाका प्रबन्ध निर्देशक हुन् ।  नेपाल निर्माण व्यवसायी महासंघमा एक कार्यकाल सह-कोषाध्यक्ष, दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल महासचिवको अनुभव उनीसँग छ । ‘जिल्ला, प्रदेश र एसोसिएट साथीहरूको निरन्तर दबाब छ, सहमतिको बाटो समाउनुपर्छ,’ दाहालले भने, ‘सहमति कायम हुन्छ भने म जुनसुकै जिम्मेवारीमा पनि बस्न तयार छु, अध्यक्षमा मेराे दाबी रहनेछ ।’ उनले वर्तमान अध्यक्ष रवि सिंहले सकारात्मक भूमिका खेलेमा सहमति हुनसक्ने विश्वास व्यक्त गरे । महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष लामा पनि अध्यक्ष पदमा आफ्नो दाबेदारी रहेको बताउँछन् । ‘सहमतिको कुरा अन्तिम क्षणसम्म पनि खुला नै रहन्छ,’ लामाले भने,  ‘चुनाव हुने निश्चित छ, तर सहमति कायम गर्न हामी निरन्तर प्रयासरत छौं ।’ वरिष्ठता र अनुभवका आधारमा यस पटक नेतृत्वको पालो आफ्नो भएको उनको जिकिर छ । लामा सिभिल इन्जिनियर हुन् भने पी.एस. कन्स्ट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक समेत हुन् । यसअघि उनी उपाध्यक्ष थिए । पूर्ववरिष्ठ उपाध्यक्षपाण्डे पनि अध्यक्षकाे दाबेदारका रूपमा चर्चामा छन् । ‘मैले अझै अन्तिम निर्णय लिएको छैन,’ पाण्डेले भने, ‘तर अवस्था हेर्दा निर्विरोध चयन हुने सम्भावना देखिन्छ, सहमति नै हुनेजस्तो लाग्छ ।’ अबको तीन दिनभित्र यसको टुंगो लाग्ने उनले जानकारी दिए ।  अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेका छोरा समेत हुन् ।  ९७२ जना प्रतिनिधिले गर्नेछन् मतदान महाधिवेशनमा कुल ३२ हजार हाराहारीमा रहेका निर्माण व्यवसायी सदस्यमध्येबाट ९७२ जना प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधि छनोटको प्रक्रिया जिल्ला संघहरूबाट हुनेछ । महासंघले गत पुष ८ गतेसम्म जिल्ला संघका सदस्यहरूको नामावली छानबिन गरी विधानतः प्रतिनिधि संख्या किटान गरेर पठाइसकेको छ ।  महासंघका अनुसार मंगलबार (आज) राति १२ बजेसम्म जिल्ला संघहरूले आफ्नो प्रतिनिधिहरूको नामावली महासंघमा पठाइसक्नु पर्नेछ । छानिएका प्रतिनिधिहरूले नै महाधिवेशनमा मतदान गर्नेछन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १५ औं महाधिवेशन तथा २६ औं साधारणसभामा महासंघका सात वटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।  महाधिवेशनको कार्यतालिका अनुसार माघ १५ गते बन्द सत्र, १६ गते उम्मेद्वारी दर्ता र १७ गते निर्वाचन हुनेछ ।  यसपटकको महाधिवेशनमा व्यावसायिक क्षेत्रमा देखिएको संकट र त्यसलाई सम्बोधन गर्न सक्ने नेतृत्व चयनमा विशेष चासोका साथ हेरिएको छ ।  यद्यपि निर्वाचन आउन अझै १६ दिन बाँकी छ । यो छोटो समयमा वर्तमान अध्यक्ष रवि सिंह र पूर्वअध्यक्षहरू एकजुट भएर सहमतिको सूत्र खोजिरहेका छन् । उनीहरूको मुख्य चिन्ता भनेकै विभाजित नेतृत्वले सरकारसँग प्रभावकारी बार्गेनिङ गर्न सक्छ या सक्दैन भन्ने हो । 

जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।  मंगलबार मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका  अध्यक्ष विक्रमराज सुवेदीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको हो   बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पूँजी वृद्धि भएको छ । जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ  थियो । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुगेको छ ।   जीवन विकास लघुवित्तले लगानीकर्तालाई प्रतिफल वितरणमा निरन्तरता दिँदै आएको छ । यसअघि पनि संस्थाले लगातार दुई वर्ष १४ प्रतिशतकै दरले बोनस सेयर वितरण गरेको थियो । साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक एवं पूर्वसांसद योगेन्द्र मण्डलले बैंक तथा वित्तीय संस्थालाई कमजोर बनाउन विभिन्न पक्षबाट योजनावद्ध प्रहार भइरहेको बताए ।   ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रलाई बलियो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । गरिब र विपन्न वर्गको उत्थानका लागि स्रोत जुटाउने उद्देश्यले जीवन विकासको स्थापना भएको स्मरण गर्दै उनले बेरोजगारी अन्त्यका लागि संस्थाले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरिरहेको बताए ।   जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रतिकूल अवस्थामा पनि जीवन विकासले सदस्यको घरदैलोमा पुगेर लघुवित्त र सामाजिक सेवा प्रवाह गरिरहेको बताए ।  सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध निर्वाचित  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको निर्वाचन प्रकृयामा दुवै पदका लागि एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो  । यसअघि पनि उनीहरूले संस्थाको सञ्चालकका रूपमा जिम्मेवारी निभाइसकेका छन् ।  

कालो धनको चलखेल बढ्दै, शङ्कास्पद कारोबार साढे ९ हजार नाघ्यो

काठमाडौं । नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा शङ्कास्पद कारोबार ३० प्रतिशतले वृद्धि भई ९ हजार ५६५ वटा पुगेका छन् । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गोएएमएल प्रणाली मार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा गोएएमएलमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या १ हजार ६३९ रहेकोमा आव २०८१/८२ मा ३ हजार ४९७ पुगेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गोएएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेखनीय रूपमा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा गोएएमएलमा आबद्ध सूचक संस्थाको सङ्ख्या १ हजार ६३९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर ३ हजार ४९७ पुगेको छ । राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियारको निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी रोकथामका लागि गरिएका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विस्तृत विवरण समेटिएको छ । प्रतिवेदनमा इकाईमा प्राप्त भएका प्रतिवेदनहरूको विश्लेषण, ती तथ्याङ्कको सम्बन्धित निकायमा सम्प्रेषण, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयको अवस्था र आगामी रणनीतिक प्राथमिकतासमेत उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष इकाईले सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्नुका साथै गोएएमएल प्रणालीको जारी तथा अद्यावधिक, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने कार्य सम्पन्न गरेको छ । साथै, वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाहरूका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको राष्ट्र बैंकले जनाएको छ । प्राप्त प्रतिवेदनहरूको विश्लेषण पनि अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको छ । विश्लेषणपश्चात् वित्तीय जानकारी इकाईले ९४५ वटा एसटीआरएस तथा एसएआरएसमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा सम्प्रेषण गरेको जनाएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको राष्ट्र बैंकको विश्वास छ । गत वर्ष इकाईले विभिन्न विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदान–प्रदान गरेको छ । यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ र विस्तार गर्न सहयोग पुगेको राष्ट्र बैंकले जनाएको छ । साथै, एशिया प्यासिफिक ग्रुप (एपीजी) ले सन् २०२३ मा गरेको पारस्परिक मूल्याङ्कनपछि नेपाल ग्रे–लिस्टमा परेपछि वित्तीय जानकारी इकाईमार्फत भएका समन्वयात्मक प्रयासहरूलाई समेत प्रतिवेदनमा समेटिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

ग्लोबल आइएमई बैंकको १९औं वार्षिकोत्सवका अवसरमा ५५८ जनाले गरे रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूअन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  ग्लोबल आइएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औं वर्षमा प्रवेश गरेको छ ।  यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ रक्तदाताहरूले रक्तदान गरेका छन् ।  साथै उक्त कार्यक्रमबाट संकलन भएको रगत गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी वितरण हुनेछ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसप्रकारका विभिन्न सामाजिक कार्यहरू निरन्तररूपमा गर्दै आएको छ ।  ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।  ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।   बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौ समूहका ४० जना सहभागीहरुलाई कार्यक्रमका सभापति नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्क केसीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा छैटौं समूहका २० सहभागीहरुलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । सोही अवसरमा फेलोसिपमा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी पनि गरिएको थियो ।  कार्यक्रमका अध्यक्ष पौडेलले नबिल एसएसईले युवाहरुलाई उद्यमको मार्फत् नेपाल मै केहि गर्न सकिन्छ भन्ने वातावरणका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । नबिल एसएसईका प्रशिक्षार्थीहरुले देशमा १७ हजार रोजगारी सृजना गरिसकेको बताउँदै उनले यो कार्यक्रम अझ प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका रहने बताए ।  कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले नबिल बैंकले सुरु गरेको यो कार्यक्रम समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले काम गर्न पाउँदा खुुसी लागेको बताए । उनले आगामी दिनमा पनि यस सहकार्यलाई  अझ सशक्त रुपमा अगाडि बढाउन आफूहरु तयार रहेको बताए । नबिल बैंकका सञ्चालक निर्वाण कुमार चौधरीले बैंकले पाँच वर्ष अघि सुरु गरेको यो कार्यक्रमका सहभागीहरुलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे । यो कार्यक्रम सुरु गर्दा नबिल बैंक र त्रिभुवन विश्वविद्यालय मात्रै भए पनि अहिले विभिन्न सरोकारवाला पक्ष जोडिएको उनको भनाइ थियो ।  'पाँच वर्षको निरन्तर यात्रामा हामीले करिब २०० उद्यम स्थापना गरी १७ हजार भन्दा बढीलाई रोजगारी सृजना गरेका छौँ, अहिले यो कार्यक्रम बैंक र विश्वविद्यालयको मात्रै नभइ सबैको साझा कार्यक्रम भएको छ', उनले भने । चौधरीले यो यात्रा अझ लामो रहेको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने सबै सरेकारवालाहरुलाई आभार व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयका स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा। गोविन्द तामाङले नबिल एसएसई सुरुवाती दिन देखि अहिलेसम्म कार्यक्रममा सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले नबिल बैंकसँगको यो सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भएको बताए । उनले यो कार्यक्रमअन्तर्गतको सिकाइ कक्षाकोठामा मात्रै सीमित नभइ व्यवहारिक र अनुभवमा आधारित भएको उल्लेख गरे । नबिल एसएसई अन्तर्गतको फेलोसिप कार्यक्रम सामाजिक उद्यमी बन्न चाहनेका लागि यो सशक्त माध्यम भएको बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो स्वागत मन्तव्य राख्दै नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तगर्त सामाजिक उद्यमशीलतमा जोड दिएको र उद्यमशीलताबाट देश विकासमा टेवा पु¥याउँदै आएको जानकारी दिए ।   नबिल बैंकले मुलुकभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२१ नोभेम्बर २६ गतेदेखि ‘नबिल एसएसई’ सुरु गरेको थियो । उद्यमशीलतामा नविन सोचको विकास तथा उद्यमशीलतामा आधारित समावेशी उद्यमलाई प्रशिक्षण, नेटवर्क र सहायता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।  नबिल बैंकले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ महिनासम्म सञ्चालन हुने फेलोसिप कार्यक्रममा सहभागीहरुले छ महिनासम्म प्रत्येक महिना तीन दिन आवासीय प्रशिक्षण लिनेछन् भने बाँकी दिन आफ्नै कार्यस्थलमा काम गर्नेछन् । तालिम अवधि भर सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमले सहभागी उद्यमीलाई व्यवहारमा आधारित प्रशिक्षण दिनुका साथै सञ्जाल विस्तारमा पनि सहयोग गर्छ । फेलोसिप कार्यक्रमअन्तर्गत हालसम्म ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् । उनीहरुले हालसम्म ६२ उद्यम सञ्चालन गरी १४ हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरिकेका छन् ।   त्यस्तै नबिल बैंकले मुलुकका विभिन्न १० वटा शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ । सात वटै प्रदेशबाट एक हजार ६९ जनाले लाभ लिइसकेका छन् । उनीहरुले हालसम्म विभिन्न १३१ उद्यम सञ्चालन गरी दुई हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरेका छन् ।