दशैं आयो, भाडा बढ्यो
काठमाडौं । दशैं नजिकिदै गर्दा हवाई भाडा उच्चदरले वृद्धि भएको छ । भाडा वृद्धि मात्र होइन, विगतका वर्षहरूमा झैं यस वर्ष पनि दशैंअघि राजधानी बाहिर जाने टिकट पाउन सहज नभएको व्यवसायीहरूले बताएका छन् । हवाई सेवा प्रदायक कम्पनीहरूले भनेका छन–दशैंअघि राजधानीबाट बाहिर जाने ७५ प्रतिशत टिकट बिक्री भईसकेका छन् र बाँकी टिकट पनि घटस्थापनाको दिनसम्ममा बिक्री भइसक्ने अनुमान छ । एयरलाइन्सका कर्मचारीहरूका अनुसार दशैंको घटस्थापनादेखि पछिका काठमाडौं बाहिर उड्ने सबै रुटको टिकटमध्ये ९० प्रतिशत बुक भइसकेको छ । खास गरी काठमाण्डौबाट विराटनगर, भद्रपुर, तुम्लिंगटार, सिमरा, भरतपुर लगायतका गन्तव्यको सिट बुक भइसकेको छ । उच्च मागको अवसरलाई मौकामा बदल्दै एयललाइन्सहरूले यात्रुहरुसँग अधिकतम भाडा असुल्न थालेका छन् । नागरिक उड्ययन प्राधिकरणले तोकेको अधिकतम भाडादर सीमा तोड्दै हवाई सेवा सञ्चालकहरूले महँगो दरमा टिकट बेचिरहेको अनलाइन विवरणहरू भेटिएका छन् । एयलाइन्सहरूले अनलाइनमा राखेको भाडादरअनुसार धनगढी जानलाई मात्रै एकजनाले १७ हजार रुपैयाँ खर्चिनुपर्ने भएको छ । जबकि प्राधिकरणले धनगढीको टिकट अधिकतम १४ हजार ९६७ रुपैयाँ निर्धारण गरेको छ । प्राधिकरणले विराटनगरको उडानको लागि अधिकतम भाडादर ८ हजार १३७ रुपैयाँ तोकेको छ । तर एयरलाइन्सहरूले साढे ९ हजार रुपैयाँसम्म लिन थालेका छन् । त्यस्तै, प्राधिकरणले भैरहवाको लागि अधिकतम भाडादर ९ हजार ६६७ रुपैयाँ, पोखराको लागि ५ हजार ३७७ रुपैयाँ, भद्रपुरको लागि १० हजार १७४ रुपैयाँ, जनकपुरको लागि ४ हजार ३५९ रुपैयाँ, सिमराको लागि ३ हजार ५२ रुपैयाँ, भरतपुरको लागि ३ हजार ६३३ रुपैयाँ निर्धारण गरेको छ । एयलाइन्सका कर्मचारीहरू भने प्राधिकरणले स्वीकृत गरेको भाडादर अनुसार नै एयरलाइन्सहरूले हवाई भाडाको अधिकतम सीमा र न्यूनतम सीमाअनुसार नै भाडा लिने गरेको दावी गरेका छन् । दशैं–तिहारको समयमा एयलाइन्सहरूमा एकतर्फी लोड पर्ने र आउँदा रित्तो फर्किनुपर्ने भएको हुँदा एयरलाइन्सहरूले दुवैतर्फको भाडा उठ्ने गरेर निर्धारण गरेको उनीहरुको तर्क छ । सीमामा बस्न निर्देशन नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल प्राधिकरणले तोकेको अधिकतम भाडादर भन्दा महँगोमा टिकट बेच्न नपाइने बताउँछन् । त्यस्तै, एयरलाइन्सहरूले केही टिकट अधिकतम दरमा बेच्न पाइने भएपनि सबै टिकट अधिकतम दरमा बेच्नु गलत रहेको उनी बताउँछन् । सूचना अधिकारी भुलले चाडवाडमा पैसा कमाउने उद्देश्य मात्र नराखी मानवीय पक्षको पनि ख्याल गर्न आग्रह गरे। सामान्य अवस्थामा विभिन्न हवाई रुटमा तोकिएको भाडादर भन्दा कम रकम लिएर यात्रु उडाउने एयरलाइन्सहरूले पर्वमा भने भाडादरमा कस्ने गरेका छन् । काठमाडौं-विराटनगरका लागि तोकेको प्रति यात्रु एकतर्फी भाडादर ७ हजार १ सय ४ रुपैयाँ हो । यस रुटमा एयरलाईन्सहरुले कुनै बेला ३५ सय रुपैयाँसम्ममा पनि टिकट बेच्ने गरेका छन् भने दशैंको अवधिमा भने ७ हजार १ सय ४ रुपैयाँ भन्दा बढी लिने गरेको पाइन्छ । ठूला पर्वको बेला हवाईभाडमा एयरलाइन्सहरूले अधिकतम भाडादर तोक्दा सहज सडक यातायातको व्यवस्था नभएका क्षेत्रहरूका यात्रुले बढी दुःख पाउने गरेका छन् । त्यस्ता ठाउँका यात्रुहरूले एयरलाइन्स कम्पनीहरूले नै तोकेको भन्दा पनि बढी भाडा तिर्नुपर्ने बाध्यतासमेत छ । त्यस्ता रुटमा टिकटमा कालोबजारी हुने र दशैंका लागि घर फर्किन चाहने यात्रुहरूको बाध्यतामा खेल्दै धेरै रकम असुल्ने गरिएको छ । यात्रुहरूको चाप र बाध्यतालाई बुझेका एयरलाइन्स कम्पनीहरूले दशैंलाई कमाउने मौकाको रुपमा उपयोग गर्दै फूल भाडादरमा एकपैसा पनि नघट्ने गरी एउटै भाडादर सबैले कार्यान्वयन गराउने सहमति गरेका छन् । एयरलाइन्स एशोसिएसन अफ नेपालले तय गरेको भाडादरलाई प्राधिकरणले समेत स्वीकृत दिएको छ । उनीहरूले दशैं सुरु (घटस्थापना) को दिनदेखि पछिको काठमाडौंबाट विभिन्न गन्तव्यमा हुने उडानका लागि महंगो भाडादर कायम गरी त्यसको सूची नै सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय उडानको भाडादर भने सरकारको नियमनभित्र पर्दैन । अन्तर्राष्ट्रिय भाडादरको निर्धारण माग र आपूर्तिको आधारमा बजारले नै गर्छ । तर आन्तरिक उडानका भाडादर निर्धारणमा भने प्राधिकरण पनि संलग्न हुने गरेको छ । भाडादर : स्रोत ईसेवा
क्षति मूल्यांकनको लागि सर्भेयरलाई भ्याइनभ्याई, धमाधम काममा खटिँदै
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी (युवापुस्ता) ले गरेको प्रदर्शनले मुलुकले ठूलो धनजनको क्षति बेहोनुपर्यो । प्रदर्शनको क्रममा ७२ जनाले ज्यान गुमाउनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुग्यो । सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिसँगै अहिले बीमाको चर्चा चुलिएको छ । यो स्वाभाविक हो । कुनै पनि सम्पत्तिको बीमा गरेपछि क्षतिअनुसारको मूल्यांकन गरेर बीमाले कभर गर्छ नै । अहिले सरकारी भवनदेखि सवारीसाधन र निजी सम्पत्तिमाथि पुगेको क्षतिको मूल्यांकनको लागि बीमा कम्पनीहरूले सर्भेयरलाई फिल्डमा खटाउन थालेका छन् । नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीलाई छिटोभन्दा छिटो दाबी फर्छ्यौट गर्न निर्देशन दिएसँगै कम्पनीहरूले क्षतिको मूल्यांकनको लागि सर्भेयरलाई खटाउन थालेका हुन् । कम्पनीहरूले सर्भेयरलाई फिल्डमा खटाउन थालेसँगै अहिले सर्भेयरलाई भ्याइनभ्याई छ । सर्भेयरहरू न्यूनतम् कागजातको आधारमा क्षतिको मूल्यांकन कम्पनीलाई प्रतिवेदन बुझाउने तयारीमा छन् । कुनै पनि सम्पत्तिमा क्षति पुगेपछि सबैभन्दा पहिले बीमितले बीमा कम्पनीलाई जानकारी गराउनुपर्छ । बीमितले जानकारी गराउन नसक्ने अवस्थामा बीमितका नजिकका आफन्तले जानकारी गराउन सक्छन् । बीमितले गरेको निवेदनकै आधारमा क्षतिको मूल्यांकनको लागि बीमा कम्पनीहरूले सर्भेयर खटाउन सक्छन् । सर्भेयरले निवेदनको आधारमा ढिला नगरिकनै बीमितलाई सम्पर्क गर्ने र लोकेसन पत्ता लगाएर फिल्डमा खटिने गर्छन् । बीमा सर्भेयर संघ बुटवल च्याप्टरका प्रमुख सर्भेयर गोविन्द लामिछानेले आफू शुक्रबारदेखि फिल्डमा खटिएको जानकारी दिए । क्षतिको मूल्यांकनको क्रममा उनले अधिकांश सम्पत्ति पूर्ण क्षति पुगेको पाएको सुनाए । ‘मैले जति सवारीसाधनहरूको मूल्यांकन गरिरहेको छु, यी सवारीसाधन पुनः मर्मत गर्न सक्ने अवस्थामा छैनन्,’ लामिछानेले भने । अधिकांश सवारीसाधन मर्मत गर्नै नमिल्ने भएकाले कुल नाेक्सानीमा जाने र त्यसको लागि न्यूनतम कागजात भएपनि पुग्ने उनले जानकारी दिए । त्यस्तै, उनले अहिलेको परिस्थितिमा सर्भेयरले आफ्नो नैतिकतामा बसेर न्यूनतम कागजातको आधारमा बीमा दाबी भुक्तानी दिने व्यवस्था मिलाइदिनुपर्ने बताउँछन् । सर्भेयर लामिछानेले भने, ‘अहिले कसले र कसरी आगजानी भयो भन्ने कुरा सबैलाई थाहै छ । त्यसैले न्यूनतम काजगपत्र लिएर बीमकलाई जति सक्दो चाँडो क्लेम सेटलमेन्ट होस् भनेर रिर्पोट बुझाउन लागिपरेका छौं ।’ जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको क्षतिको पुरै विवरण आउन बाँकी छ । बीमा कम्पनीहरूमा क्षतिको दाबी संकलन भइरहेको छ । कतिले बीमित आफैले निवेदन दिएका छन्, कतिको आफन्तमार्फत कम्पनीमा जानकारी गराइरहेका छन् । त्यसैको आधारमा सर्भेयरहरूले क्षतिको मूल्यांकन गर्छन् । सर्भेयर लामिछाने अहिलेको अवस्थामा कार्यालयमै आएर निवेदन र कागजात संकलन गर्नुभन्दा इमेल, ह्वाट्सएपजस्ता अनलाइन माध्यमको प्रयोग गर्ने र त्यसैलाई आधार बनाएर क्षतिको मूल्यांकनमा जोड दिएको बताए । सबैभन्दा धेरै व्यस्त सर्भेयरको रूपमा चिनिने ललित केसी पनि यतिबेला जेनजी प्रदर्शनको क्रममा भएको क्षतिको मूल्यांकनको लागि फिल्डमा खटिएका छन् । उनको विशेष क्षेत्र मोटरमा भएकोले उनी अहिले सवारीसाधनकै क्षतिको मूल्यांकनका लागि व्यस्त रहेको सुनाए । ‘अहिले म क्षति मूल्यांंकनको लागि निरीक्षण स्थलमा जाँदैछु, व्यस्त सेड्युल छ, तैपनि मैले म्यानेज गरिरहेको छु,’ उनले भने । सर्भेयर केसी अहिलेको परिस्थितिमा सबै सर्भेयरले आफ्ना ठाउँमा जिम्मेवार भएर काम गर्नुपर्ने बताउँछन् । उनले यो बेला नयाँ सर्भेयरले पनि मौका पाएको हुँदा त्यसलाई अवसरको रूपमा लिएर काम गर्नुपर्ने र अनुभवी सर्भेयरलाई विशेषगरी जटिल र ठूला केसको निरीक्षण गर्न दिनुपर्ने सुझाव दिन्छन् । अर्का सर्भेयर छविन्द्र भट्टराई पनि अहिले क्षतिको मूल्यांकनको लागि फिल्डमै छन् । अहिले उनले सरकारी सवारीसाधनको क्षतिको मूल्यांकन गरिरहेका छन् । क्षति मूल्यांकनको क्रममा सर्भेयर भट्टराईले पनि अधिकांश सवारीसाधन पूर्ण रूपमा क्षति भएको बताए । उनले भने, ‘अहिले म बुटवलमा सरकारी सवारीसाधनको क्षतिको मूल्यांकन गरिरहेको छु, निरीक्षण गर्ने क्रममा अधिकांश साधनमा पूर्ण क्षति पुगेको अवस्था छ ।’ पर्याप्त जनशक्ति, काम बाँडफाँडमा समस्या नेपालमा २ हजार २ सयभन्दा बढी सर्भेयर छन् । आईएनआईबाट तालिमप्राप्त १ हजार १ सय हाराहारीमा छन् यद्यपि उनीहरू सर्भेयर भइसकेका छैनन् । बीमा सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालले नेपालमा पर्याप्त सर्भेयर रहेको र बाहिरबाट हायर गर्नुपर्ने अवस्था नभएको बताए । उनका अनुसार नेपालमा भएका धेरैजसो सर्भेयर ‘पार्ट टाइमर’ हुन् । नेपालमा प्रशस्त सर्भेयर भएपनि काम बाँडफाँडमा भने समस्या रहेको अध्यक्ष ढकाल बताउँछन् । यद्यपि सर्भेयर संघले बीमा प्राधिकरणलाई पत्र नै गरेर सर्भेयरलाई व्यवस्थित रूपमा फिल्डमा खटाउनको लागि आग्रह गरेको उनले सुनाए । ‘विगतमा एउटै सर्भेयरलाई धेरै काम दिँदा कोही भ्याईनभ्याई हुने र कोही खाली बस्नुपर्ने र रिपोर्ट बुझाउन ढिला हुने गरेको गुनासो थियो, त्यो गुनासो अहिले नदोहोरियोस् भन्ने हाम्रो धारणा हो,’ अध्यक्ष ढकालले भने, ‘हाम्रो संघमा पनि लामो समय काम गरिसकेका अनुभवी सर्भेयरहरु छन् । उहाँहरूलाई पनि क्षति मूल्यांकनको लागि खटाउन सकिन्छ भनेर बीमा प्राधिकरण र बीमा कम्पनीलाई भनेका छौं ।’ उनी नयाँलाई जटिल र ठूलो क्षतिको मूल्यांकनको लागि खटाउन नहुने र पुरानो अनुभवीलाई छुट्याउन नहुने तर्क गर्छन् । प्राधिकरणले सर्भेयरलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा विभाजन गरेको छ । अध्यक्ष ढकालका अनुसार नेपालमा ‘क’ वर्गका ३० भन्दा बढी सर्भेयर छन् । जसले १५ वर्षभन्दा बढी यही फिल्डमा काम गरिसकेका छन् । ‘ख’ मा ५० भन्दा बढी, ‘ग’ मा दुई सय हाराहारीमा छन् र बाँकी सबै ‘घ’ वर्गमा छन् । सर्भेयर संघले छिटो दाबी फर्छ्याैटका लागि के-कस्ता उपायहरू अपनाउन सकिन्छ भन्दै पाँच बुँदे सुझाव प्राधिकरणलाई दिएको ढकालले जानकारी दिए । अनुभवी ‘क’ वर्गका सर्भेयरलाई ठूला र जटिल क्षतिको जिम्मा दिने तथा नयाँ र कम अनुभवीलाई साना क्षतिको काम दिने गरी काम बाँडफाँड गर्न कम्पनीहरूलाई आग्रह गरेको उनले बताए । यसले गर्दा रिपोर्टको गुणस्तर कायम राख्न सकिने उनको भनाइ छ । ‘हामीले प्राधिकरणले जुन वर्गीकरण छुट्याइदिएको छ, त्यही स्ल्याबअनुसार काम लगाउनु भनेर भनेका छौं, ताकि पछि विवाद नआओस् । नयाँ साथीहरूलाई एकैचोटी ठूलो जिम्मेवारी दियो भने क्षतिको राम्रो मूल्यांकन पनि नहोला,’ अध्यक्ष ढकालले भने ।
जेनजी आन्दोलनले पर्यटन सिजनमा ठूलो संकट, पुनरुत्थानमा चुनौती
काठमाडौं । भदौ २२ र २३ गते दुई दिन जेनजी प्रदर्शनीले गर्दा अहिले देश संकटको अवस्थाबाट गुज्रिरहेको छ । प्रदर्शनीको क्रममा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यो आन्दोलनको कारण नेपालको पर्यटन क्षेत्रमा समेत गहिरो असर पारेको छ । आन्दोलनले ल्याएको उथलपुथलका कारण नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगमा ठूलो धक्का पुगेको छ । पर्यटन सिजनको सुरुवातमै देशमा संकटको अवस्था सिर्जना हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यो समयमा अरू समयमा भन्दा बढी पर्यटन नेपाल आउने गर्छन् । विशेषगरी पर्वतारोहण, पदयात्रालगायतका लागि हजारौं विदेशी पर्यटक आउने गर्छन् । पर्यटन सिजनको सुरुवातमै निम्तिएको यो संकटले नेपालको पर्यटन क्षेत्र अत्यन्तै कठिन परिस्थितिमा रहेको व्यवसायीहरू बताउँछन् । होटल संघ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) लगायत पर्यटनसँग सम्बद्ध संस्थाहरूले हालको अवस्थाले निम्तिएको संटक र समाधानको लागि चाल्नुपर्ने प्रयासबारे विज्ञप्ति नै जारी गरेका छन् । हानका अनुसार आन्दोलको क्रममा हिल्टनसहित दुई दर्जन होटलमा ठूलो क्षति पुगेको छ । हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँको क्षतिको अनुमान गरेको छ । यसरी देशभर करिब २५ अर्बभन्दा बढी क्षतिको प्रारम्भिक आंकलन हानले गरेको छ । धेरैजसो होटलहरू मर्मतसम्भार, पुनः निर्माण नगरी सञ्चालनमा आउन सक्ने अवस्था छैन । हानका अध्यक्ष विनायक शाह २ हजारभन्दा बढी होटलमा कार्यरत कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर पर्ने देखिएको बताउँछन् । पर्यटन क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएको र आन्दोलनले धेरै ठूलो असर पारेको पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा सुनाउँछन् । ‘पर्यटन क्षेत्र एकदमै संवेदनशील विषय हो,’ अध्यक्ष शेर्पाले भने, ‘अलिकति मात्रै घटना हुँदा पनि यसको असर पर्यटन क्षेत्रमा परिहाल्छ ।’ नेपालमा जेनजी आन्दोलनको कारण सिर्जित संकटले पर्यटकहरु आत्तिएको र टिकट बुकिङ क्यान्सिल हुने क्रम बढेको अध्यक्ष शेर्पाले बताए । ‘पर्यटन सिजनमा आउनुपर्ने विदेशीहरू आउन सकेका छैनन्, यहाँ आउनेहरू पनि जानको लागि हतार छन् । पहिले बुकिङ गरिसकेकोहरूले पनि रद्द गर्न थालेका छन् । यो गम्भीर विषय हो,’ उनले भने । अहिले सिर्जित समस्याले विश्वमा नकारात्मक सन्देश गएको छ । यसले नेपालमा भित्रिने पर्यटकको संख्यामा पनि कमी आउन अध्यक्ष शेर्पाको भनाइ छ । उनले यो सिजन मात्रै गुमाउँदा त्यसको असर नेपालकै अर्थतन्त्रमा पुग्ने बताउँछन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके नेपालको पर्यटनलाई सधै केही न केही घटनाक्रमले असर गरिरहेको विचार राख्छन् । ‘कहिले राजनैतिक अस्थिरता, बाढीपहिरो, भूकम्पजस्ता घटनाले पर्यटनलाई असर गरिरहेको छ, अहिले झन् यो आन्दोलनले पर्यटनलाई थप असर पुगेको हामीले महसुस गरेका छौं,’ उनले भने । आन्दोलनकारीले निजी होटलहरूलाई पनि टार्गेट गरेर क्षति पुर्याएको जसको कारण विश्वका पर्यटकमा नेपालको बारेमा नकारात्मक सन्देश पुगेको अध्यक्ष चुके सुनाउँछन् । ‘विदेशबाट आएको चेन होटलले राम्रो गरिरहेको थियो, यसरी आज नष्ट हुँदा विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको छैन,’ उनी भन्छन् । अहिलेको अवस्थामा नेपालमै भएका पर्यटकलाई घुमाउन नसक्ने स्थिति भएको र आउन चाहने पर्यटकले पनि बुकिङ क्यान्सिल गर्ने संख्या बढेको छ । पुनरुत्थानमा चुनौती कोरोना महामारीपछि बल्लतल्ल उठ्न थालेको पर्यटन उद्योगमा यो आन्दोलनले अर्को ठूलो चुनौती थपेको छ । व्यवसायीहरूका अनुसार पर्यटन क्षेत्र उठ्न अब फेरि केही वर्ष समय लाग्ने भएको छ । अध्यक्ष चुके अहिले सिर्जित परिस्थितिको कारण नेपालको पर्यटन क्षेत्रलाई पुनः ५/७ वर्ष पछि धकेलेको बताउँछन् । उनी अहिलेको सिर्जित परिस्थितिले होटलको अकुपेन्सी झन् घट्न पुग्ने उनले बताए । ‘अहिले होटलको औसत अकुपेन्सी ३० प्रतिशत छ, आन्दोनलको कारण सिर्जित परिस्थितले अबको दिनमा अकुपेन्सी १०/१५ प्रतिशतमा आउने अवस्था हुन्छ,’ उनी भन्छन् । होटलको व्यवसायमा संकुचन आउँदा कर्मचारीलाई तलब खुवाएर राख्न नसक्ने र हटाउन पनि नमिल्ने हुँदा व्यवसायीलाई सस्टेन हुन गाह्रोउनले सुनाए । अध्यक्ष चुके जेनजीले उठाएको माग नयाँ सरकारले छिटो सम्बोधन गर्नुपर्ने र नेपालको पर्यटन प्रवद्र्धनको लागि निकासा दिनुपर्ने सुझाव दिन्छन् । अध्यक्ष चुकेले भने, ‘हामीले यो परिस्थितिलाई केही समय थेग्न सक्छौं, तर लामो समय जान सकिँदैन । यो परिस्थितिमा हाम्रो त्यस्तो माग छैन । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि निकास निकाल्नुपर्यो ।’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का वरिष्ठ उपाध्यक्ष जिश्वान तुलाधर श्रेष्ठले संसारकै सबैभन्दा ठुलो चेन होटल हिल्टनमा क्षति पुग्नु भनेको पर्यटन क्षेत्रको लागि निकै दुःखदायी रहेको औंल्याएकी छन्। कुनै पनि घटनाले सुरुमा पर्यटन क्षेत्र प्रभावित हुने उल्लेख गर्दै श्रेष्ठ भन्छिन्, ‘नेपालमा होस् या कुनै पनि ठाउँमा संकट आउँदा सबैभन्दा पहिला असर पुग्ने क्षेत्र भनेको पर्यटन हो र सबैभन्दा पछि उठ्ने भनेको पनि यही पर्यटन नै हो ।’ पर्यटन सरकारको दृष्टिमा पहिलो प्राथमिकता नपर्ने हुँदा यसको असर अझ बढी व्यवसायीहरूले भोग्नुपर्ने उनको गुनासो छ । ‘यो बेलामा पर्यटकहरू नेपाल आउन डराइरहेका छन्, फ्लाइट क्यान्सिलको कुरा धेरै आइरहेको छ, उनले भनिन्, ‘दुई दिन फ्लाइट रोक्दा धेरै पर्यटक रोकिएका छन्, उहाँहरूलाई एकैचोटि मोबिलाइज गर्न सक्दैन ।’ उनका अनुसार कोभिडपछि बल्लबल्ल उठ्न लागेको पर्यटन क्षेत्र फेरि यो आन्दोलनको कारण केही वर्ष पछि धकेलिएको छ । आन्दोलनले सिर्जित अन्योलताको वाबजुत पनि व्यवसायीहरूले पर्यटकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरेको श्रेष्ठले सुनाइन् । पर्यटकहरूको सुरक्षाका लागि समूह नै बनाएर काम गरेको उनले बताइन् । साथै कहाँ कुन होटलमा केकस्तो छ त्यसको अवस्था र तथ्यांक बुझ्ने काम भइरहेको उनको भनाइ छ । ‘हामीले हिल्टन, बर्नबास जस्ता होटेलहरूमा के कस्तो अवस्था छ भन्ने तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भनिन्, ‘यसका साथै हामीले पर्यटकहरू र हाम्रो सदस्यहरूलाई आवश्यक सहयोग प्रदान गरिरहेका छौं ।’ अहिले नियमित उडान भएको हुँदा यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउनको निम्ति वायुसेवा कम्पनीसँग समन्वय भइरहेको उनले जानकारी दिइन् । क्यान्सिलभन्दा पोस्टपोन्डमा जोड आन्दोलनको क्रममा केही बुकिङहरू रद्द भए पनि पर्यटन सम्बद्ध निकाय र व्यवसायीहरूले क्यान्सिल गर्नुको सट्टा पोस्टपोन्ड (मिति सार्न) अनुरोध गरिरहेका छन् । विदेशी पर्यटकहरूलाई नेपालमा सिर्जित परिस्थिति सामान्य हुँदै गएको र पर्यटकहरू पूर्ण रूपमा सुरक्षित रहेको विश्वास दिलाउने प्रयास गरिरहेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणि लामिछानेले बताए । निर्देशक लामिछानेका अनुसार पोखरालगायत पर्यटकीय क्षेत्रमा कुनै समस्या छैन र पर्यटकहरू सुरक्षित रहेका छन् । होटेल र रेस्टुरेन्टहरूले विशेष सतर्कता अपनाएर पर्यटकलाई सेवा दिन समन्वय गरेको उनको भनाइ छ । निर्देशक लामिछानेले भने, ‘सिजनको समयमा देशमा सिर्जित समस्याले पर्यटनमा ठुलो असर परेको छ नै । धेरैले बुकिङ क्यान्सिल गर्न खोजिरहनुभएको छ, कतिले आफ्नो यात्रा छोट्याउन खोजिरहनुभएको छ । तर हामीले क्यान्सिलभन्दा पोष्टपोन्ड गर्न सुझाव दिइरहेका छौं ।’ लामिछानेले आन्दोलनको सुरुको २/३ दिन पर्यटकलाई असहज भएपनि अहिले धेरै सामान्य हुँदै गएको जानकारी दिए । सुरक्षा र समन्वयमा जोड नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक (सीईओ) दीपक जोशीले अहिलेको अवस्थामा पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । उनले सबैभन्दा धेरै पर्यटक काठमाडौं र पोखरामा रहेको र उनीहरुलाई सुरक्षित बसोबास र निश्चित गन्तव्यसम्म पुर्याएको जानकारी दिए । ‘व्यक्तिगत रूपमा पर्यटकलाई क्षति पुगेको छैन । केही होटलहरूमा क्षति पुग्दा त्यहाँ भएका पर्यटकहरूमा त्रासपूर्ण वातावरण चाहिँ सिर्जना भएको छ,’ सीईओ जोशीले भने, ‘ हामीले पर्यटकलाई सुरक्षित साथ राखेका छाैं, आफ्नो देश फर्कन चाहनेलाई सुरक्षितसाथ एयरपोर्टसम्म पुर्याएका छाैं ।’ बोर्डले अहिलेको संकट परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर पर्यटन व्यवसायीसँग भर्चुअल छलफल गरेको जोशीले बताए । साथै तत्काल रिकभरीको लागि के कसरी अघि बढ्ने भनेर रणनीति बनाउने तयारीमा बोर्ड जुटेको जोशीले जानकारी दिए । देशमा सिर्जित अहिलेको परिस्थितिले नेपाल भित्रिने पर्यटकको संख्या घट्ने सहजै अनुमान गर्न सकिन्छ । साथै होटलमा लगानी गर्ने लगानीकर्ता पनि निराश बनेका छन् । सीईओ जोशीका अनुसार यो संकटको अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय पर्यटन सम्बद्ध निकाय, डायस्पोरालगातसँग समन्वयसमेत भइरहेको छ ।
सामाजिक सञ्जाल बन्द हुँदा नेपालको अर्थतन्त्रमा धक्का, विश्वमा गलत सन्देश
काठमाडौं । यो युग सूचना तथा प्रविधिको हो । हरेक व्यक्ति कुनै न कुनै सामाजिक सञ्जालमा जोडिएका छन् । अहिले हाम्रो जीवनमा फेसबुक, इन्स्टाग्राम, एक्स लगायतका विभिन्न प्लेटफर्महरू अतिआवश्यक बनिसकेका छन् । कुराकानी तथा सूचना आदानप्रदान गर्नका लागि सबैभन्दा सहज, छिटो, सस्तो र भरपर्दो माध्यम सामाजिक सञ्जाल नै हो । विश्वका कुनाकाप्चामा छरिएर रहेकासँग सञ्चार सम्पर्कदेखि देशविदेशका समाचार पढ्ने/हेर्ने माध्यम पनि यही सामाजिक सञ्जालले नै सम्भव बनाएको छ । विशेषगरी फेसबुक, ह्वाट्सएपजस्ता प्लेटफर्मलाई एकअर्कासँग जोडिने र सूचना आदानप्रदान गर्ने माध्यमको रूपमा लिइन्छ । गत बिहीबारदेखि सरकारले फेसबुकसहित २६ वटा दर्ता नभएका प्लेटफर्मलाई बन्द गर्ने निर्णय ग¥यो । सरकारले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई दर्ता नभएका प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिइसकेको छ । सरकारको यो निर्णयलाई कतिले सकारात्मक रूपमा प्रतिक्रिया दिएका छन् भने कतिले गलत भनिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट पनि फरक– फरक विचार आइरहेका छन् । पछिल्लो समय यी प्लेटफर्मले साना अनलाइन व्यापार गर्नेदेखि ठूला व्यवसायीसम्मलाई व्यापार व्यवसाय गर्न निकै सहज भएको विषयलाई नकार्न सकिन्न । अहिले साना तथा ठूला अनलाइन व्यवसाय फेसबुक, इन्स्टाग्राम, म्यासेन्जरमा निर्भर हुँदै आएका छन् । सरोकारवालाहरूका अनुसार फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुने हो भने ग्राहकसँग सिधा सम्बन्ध टुट्ने र व्यापार व्यवसाय घट्दा यसको असर नेपालको अर्थतन्त्रमा पनि सिधै पुग्ने देखिन्छ । फ्रिलान्सर र डिजिटल क्रिएटरको आय ठप्प हुन सक्छ । धेरै नेपाली युवा विदेशी कम्पनीसँग आवद्ध छन् वा सामाजिक सञ्जालमा आफ्नो सामग्रीबाट आम्दानी गर्छन् । सञ्जाल बन्द हुँदा उनीहरूको आय स्रोत कटौती हुन्छ र रोजगारी संकट सिर्जना उत्पन्न हुने जानकारहरु बताउँछन् । विज्ञहरुका अनुसार अनुसार सामाजिक सञ्जाल बन्द हुँदाको असर असीमित छन् । यसले नेपालको पर्यटन क्षेत्रमा पनि असर पर्छ । ह्वाट्सएप वा म्यासेन्जर बन्द हुँदा होटल, ट्राभल एजेन्सी र गाइडहरू विदेशी ग्राहकसँग सीधा सम्पर्कमा जान नसक्ने हुँदा नेपालको पर्यटनका धक्का लाग्छ । के भन्छन् विज्ञ ? अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी फेसबुकलगायत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुँदा अमेरिकाजस्तो देशको लागि केही पनि नहुने तर यसको असर नेपाललाई नै हुने बताउँछन् । ‘अमेरिकाले चाह्यो भने नेपालमा जे नि गर्न सक्छ,’ उनले भने, ‘अमेरिकाले फरेन करेन्सी अर्थात युएस डलर चल्दैन भन्यो मात्रै नेपालमा भोलिबाट चुलो बल्न बन्द हुन्छ ।’ अर्थशास्त्री अधिकारीले ट्रेडको लागि टर्म एडमिनिस्ट्रेसन जहिले पनि आफ्नो फाइदामा चल्ने भएकाले सामाजिक सञ्जाल अथवा अमेरिकन मल्टीनेसनल कम्पनीहरूलाई अप्ठ्यारो बनाउनेलाई उल्टै बर्बाद बनाउन सक्ने तर्क गरे। ‘सामाजिक सञ्जाल अथवा अमेरिकन मल्टीनेसनल कम्पनीहरूलाई अप्ठ्यारो बनाउने जुनसुकै देशका पनि अफिसरदेखि लिएर राष्ट्रपति, प्रधानमन्त्री भिजा रोक्दिन्छु भन्न सक्छ, यो कुराले हामी डराउनु पर्ने हो कि ?,’ उनले भने । अर्थशास्त्री अधिकारीले फेसबुकलगायत अन्य प्लेटफर्महरु बन्द हुने हो भने नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीका बिजनेस आधा भन्दा बढीले घट्ने बताए । ‘फेसबुकलगायत अन्य प्लेटफर्महरू बन्द हुँदा सामाजिक सञ्जालबाट अनलाइन बिजनेस गरेर बसेकाहरुको बिजनेस घट्नुका साथै बेरोजगारी बढ्ने अवस्थाको सिर्जना हुन्छ । साथै टेलिकम र एनसेलको पनि बिजनेस घट्छ,’ अधिकारी भन्छन् । अर्का अर्थविद् शारदाप्रसाद त्रिताल प्रविधिलाई विकास निर्माणको क्रममा नेपालले त्यति धेरै प्रयोग गरिनसकेको हुँदा विकास निर्माणमा ठूलो असर नपर्ने विचार राख्छन् । तर सामाजिक सञ्जालले पारिवारिक, सामाजिक सम्बन्धहरू स्थापना गर्न मुख्य भूमिका खेलेको हुँदा यसमा असर पुग्ने उनको भनाइ छ । ‘संसारका सबै ठाउँमा नेपालीहरू पुगेका छन्, विश्वका जुनसुकै मुलुकमा पुगेपनि परिवारसँग सम्पर्क यही सामाजिक सञ्जालले सम्भव बनाएको छ, बन्द हुँदा तिनका परिवारसँग सम्पर्क टुट्न सक्छ । यसले आक्रोस पैदा हुन सक्छ,’ त्रिताल भन्छन् । सामाजिक सञ्जाल बन्द नै गर्नुभन्दा स्पष्ट कानुन बनाएर त्यसलाई नियन्त्रण गर्नुपर्नेमा बन्द गर्न खोज्दा त्यसको सन्देश नकारात्मक जाने अर्थविद् त्रिताल सुनाउँछन् । उनका अनुसार यसरी सामाजिक सञ्जाल बन्द हुने हो भने विश्वमै नकारात्मक सन्देश जान्छ, यसका विरुद्धमा आवाज उठ्छन्, त्यसले अप्ठ्यारो स्थिति पार्ने देखिन्छ । अर्थविद् दिलनाथ दंगाल विद्यार्थीदेखि प्राध्यापक, अनुसन्धानकर्ता सामाजिक सञ्जालको माध्यमबाट अध्ययन गर्न, सिक्न, प्लेटफर्म सामाजिक सञ्जाल बन्द हुँदा नकारात्मक असर पुग्ने विचार राख्छन् । उनी भन्छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्ने, गालीगलौज गर्नेलाई बन्द हुँदा ठीकै होला तर सञ्चारमाध्यमदेखि आयआर्जन गर्नेहरूलाई नकारात्मक असर पर्छ ।’ अर्थविद् दंगाल पनि आजको सूचना र प्रविधिको युगमा सामाजिक सञ्जाल बन्द गर्छु भनेर लाग्नुभन्दा सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिन्छन् । दंगाल अहिलेको विकल्प बन्द भन्दा पनि दर्ता गरेर सञ्चालन गर्नु नै उपयुक्त औल्याउँछन् । नेपालमा दर्ताबिना नै लाखौं एप्सहरू सञ्चालन भइरहेका एपहहरू धेरै नै छन् । ती सबैलाई दर्ता हुनुपर्छ भन्नु असम्भव औंल्याउँछन् डिजिटल आर्किटेक्ट विवेकशमशेर जबरा । उनका अनुसार नेपालकै पनि धेरै एपहरू छन् । उनले यसरी विदेशी एपलाई रोक्न थाल्ने हो भने नेपाली एप पनि उतातिर रोकिने सम्भावना धेरै रहेको औंल्याए । ‘हामी दर्ता हुन आएन भनेर विदेशी एपलाई बन्द गर्दै जाने हो भने विदेशीले पनि नेपालसँग सम्बन्ध हुने एपलाई हामी रोक्छौं भनेर भन्न सक्छन् नि,’ उनी भन्छन् । सामाजिक सञ्जाल बन्द हुँदा देशको अर्थतन्त्त र सप्लाई चेनमा समस्या आउने हुँदा कुन एप बन्द गर्ने र कुन रोक्ने, कति समयसम्म रोक्ने भन्ने कुरा सरकारले गृहकार्य नगरी एकैचोटि बन्द गर्नु सही नभएको जबराको तर्क छ । सरकारले बन्द गरेपनि विभिन्न तरिका अपनाई मानिसहरूले सामाजिक सञ्जाल तलाउन सक्ने हुँदा बन्द भन्दा नियमन र नियन्त्रणमा जोड दिनुपर्ने उनले बताए । उनी भन्छन्, ‘नियन्त्रण भन्नाले कुन–कुन कुरा चलाउन दिने, कुन कुरा चलाउन नदिने भन्ने कुरा हुन्छ । कति हदसम्म ट्रान्जक्सन गर्न सक्ने भन्ने विषय एकदमै बृहत रुपमा, कानुनी रूपमा हुने हो ।’ एप रोक्ने–नरोक्ने भन्दा पनि अर्थतन्त्र रोक्ने नरोक्ने ठूलो कुरा बताउँछन् जबरा । यी सबै कुरालाई अर्थतन्त्रसँगै हेर्नुपर्ने उनको तर्क छ । सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्वअध्यक्ष मनोहर भट्टराई पनि सामाजिक सञ्जाल बन्द हुँदा त्यसको सन्देश विश्वमा राम्रो नजाने भन्ने कुरामा सहमत छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्नुभन्दा पनि अरू उपाय सोच्न सकिने बताउँछन् । ‘सामाजिक सञ्जालबाट विकृति पनि फैलिएको हुँदा यसमा सरकारको ओभरसाइज पनि आवश्यक हो तर बन्दै हुने किसिमको निर्णयले नेपालको छवि चाहिँ राम्रोसँग बाहिर जाँदैन,’ उनले भने । सामाजिक सञ्जाल आर्थिक पाटोसँग मात्रै नभएर हरेक पाटोसँग जोडिएको हुँदा अब सरकारले कसरी नियमन गर्छ भन्ने कुरा त्यतिकै चनाखो भएर हेर्नुपर्ने उनको भनाइ छ । पूर्वअध्यक्ष भट्टराई सामाजिक सञ्जालमा सरकारको नियन्त्रणभन्दा सुपरीवेक्षण चाहिने तर्क राख्छन् । जुन कुरा सामाजिक सञ्जाल, सेल्फ रेगुलेशसनबाट वा सरकारबाट गर्न सकिने उनको विचार छ । उनी भन्छन्, ‘सामाजिक सञ्जाल सुपरिवेक्षणको संरचना भित्र आउनुपर्छ तर सञ्चारमाध्यम, नागरिक समाज भने यसमा चनाखो हुनैपर्छ । किनभने कतिपय अवस्थामा सरकारले नागरिकको बोल्न पाउने हकलाई कुण्ठित बनाउन सक्छ ।’ आजको युगमा नागरिकले बोल्नै नपाउने, आफ्नो कुरा राख्नै नपाउने भन्ने हुन नहुने उनको तर्क छ । सामाजिक सञ्जालमा बन्देज लामो समय हुँदैन केही समय अगाडि सरकारले चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगायो । करिब ६ महिनापछि पुनः सञ्चालनमा आयो । त्यस्तै, रसियन एप टेलिग्रामलाई सरकारले यसअघि बन्द गरिसकेको छ । टेलिग्राम पनि अब खुल्ने प्रक्रियामा रहेको सरकारले जानकारी दिएको छ । यी दुईटै कम्पनीको उदाहरणबाट पनि के ढुक्क हुन सकिन्छ भने नेपालमा सामाजिक सञ्जाल बन्द भएपनि लामो समय जाँदैन । विज्ञहरूले पनि सामाजिक सञ्जाल केही समयपछि पुनः सञ्चालनमा आउने बताउँछन् । विज्ञहरुका अनुसार सरकारको उद्देश्य पनि सामाजिक सञ्जाल बन्द गर्नेभन्दा दर्ता गराउने उद्देश्य रहेको हुँदा दर्ता हुनेबित्तिकै पुनः सञ्चालनमा आउनेछ ।अर्थविद् गोविन्द नेपाल पनि सामाजिक सञ्जालकै माध्यमबाट धेरै नेपालीले आफ्नो आम्दानी गरिरहेको हुँदा बन्द हुँदा आम्दानीमा असर पुग्ने बताउँछन् । तर उनी सरकारको निर्णयलाई सकारात्मक रुपमा लिन सकिने तर्क गर्छन् । ‘दर्ता भएपछि सरकारलाई रेभ्युन्यु आउँछ । बन्द हुँदा केही समय अप्ठ्यारो हुन सक्ला तर सरकारले जुन गर्न खोजेको यी सबै कुरा निर्णय उचित नै हो लाग्छ,’ उनले भने। राज्य र राज्यको नीति नियमभन्दा ठूलो कोही नभएकाले दर्ता हुनुपर्छ भनेपछि हुनैपर्ने उनको विचार छ । सामाजिक सञ्जालमा प्रतिबन्धले व्यवसायीमा छटपटी, डिजिटल मार्केटिङमा असर
जीवन बीमा कम्पनीहरूको नाफा काल्पनिक र भ्रामक, सेयर लगानीकर्ता उच्च जोखिममा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भई आएको नाफा २ अर्ब १२ करोड ८८ लाख रुपैयाँ रहेको छ । जबकि लेखापरीक्षण हुनुअघि अर्थात आव २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणमा ५१ करोड ३९ लाख रुपैयाँ नाफा देखाइएको छ । यसरी लेखापरीक्षण भई आएको नाफा लेखापरीक्षण हुनुअघिको भन्दा ३१४.२४ प्रतिशतले फरक देखिएको छ । नेपाल लाइफको मात्रै होइन, अन्य जीवन बीमा कम्पनीहरूको असार मसान्तमा प्रकाशन हुने वित्तीय विवरण र लेखापरीक्षणपछि वित्तीय विवरणबीच नाफामा ठूलो अन्तर देखिन्छ । (विस्तृत विवरण तल टेबलमा छ) बीमा कम्पनीहरूको अडिटेड (लेखापरीक्षण गरिएको) र अनअडिटेड (लेखापरीक्षण नगरिएको) नाफा तुलना गर्दा धेरैजसो कम्पनीहरूले काल्पनिक तथ्यांक प्रकाशित गर्ने गरेको प्रष्ट देखिएको छ । सबै जीवन बीमा कम्पनीहरू पब्लिक कम्पनी हुन्, नेप्सेमा सूचीकृत छन् र कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा सामान्य लगानीकर्ताले सेयर किनबेच गरिरहेको हुन्छ । यी कम्पनीहरूले प्रकाशित गर्ने काल्पनिक र भ्रामक तथ्याङ्कले लगानीकर्ताहरूलाई झुक्याउने र उच्च जोखिम फसाउने गरेको जानकारहरू बताउँछन् । तर यति गम्भीर विषयमा हामीले प्रश्नहरू गर्दा न बीमा प्राधिकरणका अधिकारीहरू खुलेर कुरा गर्न चाहे, न बीमा कम्पनीका उच्च व्यवस्थापकहरू नै । नियामक र कम्पनीका उच्च अधिकारीहरू गलत कर्ममा ‘तै चुप, मै चुप’ बसेका छन् । तर अनौपचारिक कुराकानीमा उनीहरू ‘गल्ती हुँदै आएको’ स्वीकार गर्दछन् । किन देखिन्छ भिन्नता ? बीमा कम्पनीहरूले सार्वजनिक गरेको अडिटेड र अनअडिटेड वित्तीय विवरणमा नाफामा ठूलो भिन्नता देखिनुको कारण बीमांकीय मूल्यांकन (एक्चुरियल भ्यालुएसन) हो । बीमा कम्पनीहरूका अनुसार अनअडिटेड रिपोर्टमा बीमांकीय मूल्यांकन गरिएको हुँदैन । अडिट रिपोर्ट बीमांकीय मूल्यांकनपछि सार्वजनिक हुने हुँदा लेखापरीक्षणअघिको नाफा र लेखापरीक्षण भएर आएको नाफामा ठूलो अन्तर देखिने सम्बद्ध कम्पनीहरूको भनाइ छ । बीमांकीय मूल्यांकन बीमा कम्पनीहरूको भविष्यको दायित्वहरूको मूल्याङ्कन गर्ने प्रक्रिया हो । यसले भविष्यमा बीमितहरूलाई भुक्तानी गर्नुपर्ने रकमको अनुमान गरी त्यसका लागि आवश्यक कोषको व्यवस्थापन गर्न मद्दत गर्छ । जीवन बीमा व्यवसायमा, अधिकांश नाफा यही बीमांकीय मूल्यांकनबाट आउँछ । जीवन बीमा कम्पनीले ग्राहकबाट प्रिमियम संकलन गर्दा त्यसको एक भाग भविष्यको सम्भावित दाबी भुक्तानी गर्न सञ्चित कोषमा राख्नुपर्छ । यसमा बीमांकीय मूल्यांकन गणना गरेर मात्र ठ्याक्कै कति रकम नाफा वा दायित्व हुन्छ भन्ने निर्धारण गर्न सकिने एक जीवन बीमा कम्पनीका फाइनान्स अफिसरले बताए । अडिटपछि यो गणना समावेश गर्दा नाफामा ठूलो हेरफेर हुने उनको तर्क छ । ‘बीमा कम्पनीले पोलिसीधारकलाई दिने बोनस वा भविष्यका दाबीका लागि राखिएको प्रावधान लेखापरीक्षणपछि मात्रै मिलाइन्छ, यसले नाफा घटाउन वा बढाउन सक्छ,’ उनी भन्छन् । झुक्किन्छन् लगानीकर्ता नेपाल बीमा प्राधिकरणले बीमा नियमावली, २०८१ को दफा ३६ मा बीमा कम्पनीहरूको वित्तीय विवरणसम्बन्धी व्यवस्था गरेको छ । उक्त दफाअनुसार बीमा कम्पनीहरूले त्रैमासिक तथा वार्षिक वित्तीय विवरण प्राधिकरणले निर्धारण गरेको ढाँचाअनुसार तयार गरी पेश गर्नुपर्ने हुन्छ । त्यही ढाँचाअनुसार नै कम्पनीहरूले त्रैमासिक तथा वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने गरेका छन् । कम्पनीहरुले सार्वजनिक गर्ने त्रैमासिक वित्तीय विवरणमा यस वर्षको अडिटेड र अघिल्लो वर्षको अनअडिटेड रिर्पोट राखेका हुन्छन् । सबै कम्पनीहरूले बनाउने वित्तीय विवरणको ढाँचा यस्तै नै हुन्छ । तर केही कम्पनीहरूले एकातिर अडिटेड र अर्कोतिर अनअडिटेड रिर्पोट राखेर छापेका हुन्छन् भने कुनै कम्पनीले दुवैतिर अनअडिटेड नै भनेर वित्तीय विवरण छापेका हुन्छन् । कुनै कम्पनीले भने केही पनि उल्लेख नगरी रिर्पोट छाप्ने गरेका छन् । वित्तीय विवरणमै लगानीकर्ता झुक्किने भनेको यहीँ हो । कतिपय कम्पनीहरूले त्रैमासिक रिर्पोटमा एक्चुरियल भ्यालुएसनपछि नाफामा फरक देखिन्छ भनेर खुलाएको हुन्छ । तर यो नोट सबै लगानीकर्ताले पढ्छन् र बुझ्छन् भन्ने छैन । अझ कतिपय कम्पनीले यो कुरा उल्लेखसमेत गरिएको पाइँदैन । यस्तो अभ्यासले सर्वसाधारण लगानीकर्तालाई मिसगाइडिङ हुने देखिन्छ । यसरी त्रैमासिक वित्तीय विवरणमा एक पटक वार्षिक साधारणसभाबाट पास भइसकेको अडिट रिर्पोट सार्वजनिक भइसकेपछि त्यसलाई फेरबदल गरेर वा अनअडिटेड रिर्पोटसँग मिसाएर प्रस्तुत गर्नु गलत भएको एक बीमा कम्पनीका फाइनान्स अफिसरले बताए । ‘जुन रिपोर्ट अडिट भएर आइसकेको छ । सार्वजनिक रूपमा एजीएम भइसकेको र ब्यालेन्स सिटमा छापिसकेको छ । अहिले अपरिष्कृत वित्तीय विवरणमा नाफा अनअडिटेड भनेर छाप्नु कतिको सही हो ?’ उनले प्रश्न गरे । अर्का बीमा कम्पनीका फाइनान्स अफिसर त्रैमासिक वित्तीय विवरणले लगानीकर्तामा मिसगाइडिङ हुनेमा सहमत छन् । लगानीकर्तामा यस्तो भ्रम वा अन्योलता सिर्जना नहोस् भनेर आफ्नो कम्पनीले भने त्रैमासिक रिपोर्टमा अहिले र अगाडिको वर्षको रिपोर्ट तुलना गर्न मिल्ने गरी दुवैतिर अनअडिटेट नै रिपोर्ट छाप्ने गरेको उनको तर्क छ । नियमाकीय व्यवस्था प्राधिकरणले नै त्रैमासिक वित्तीय विवरण अनिवार्य गरेको कारण बीमा कम्पनीहरूले त्रैमासिक वित्तीय विवरण पत्रिका छाप्नुपर्छ र आफ्नो वेबसाइटमा प्रकाशित गर्नुपर्छ । प्राधिकरणले यसै वर्षदेखि अडिटेड र अनअडिटेड रिपोर्टमा १० प्रतिशतभन्दा बढी फरक देखिए कारण खुलाउनुपर्ने भनेको छ । त्यसबाहेक कारबाही के हुने भनेर स्पष्ट उल्लेख गरिएको छैन । प्राधिकरणले अहिलेसम्म कम्पनीहरूको अडिटेड र अनअडिटेड रिपोर्टमा १० प्रतिशतभन्दा बढी फरक देखिँदैमा कारबाही गरेको छैन । अडिटेड रिर्पोटमा नाफाबाहेक पनि अन्य शीर्षकमा अन्तर देखिएको पाइयो भने प्राधिकरणले बीमा ऐनको दफा १३४ र ३५ मा तोकिएको कारबाही लागू हुने प्राधिकरणका एक कर्मचारीले बताए । बीमा ऐनको उक्त दफाअनुसार गलत विवरण वा तथ्यांक पेश गरिएको देखिएमा त्यस्तो बीमक वा अन्य बीमा सेवा प्रदायकलाई लिखित रुपमा सचेत गराउने, निश्चित अवधि तोकी कुनै सुधार गर्न आदेश दिनेदेखि प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गर्ने, कम्पनी खारेज गर्न सम्बन्धित उच्च अदालतमा निवेदन दिनेसम्म कारबाहीको व्यवस्था गरेको छ । बीमा कम्पनीहरू लगानीकर्ताले अनअडिटेड रिपोर्टमा खुलाएको नाफालाई मात्र आधार मानी निर्णय लिन नहुने तर्क गर्छन् । कम्पनीको वास्ताविक र पूर्ण वित्तीय अवस्थाको जानकारीको लागि अडिटेड रिर्पोट नै आधार मान्नुपर्ने हो भने त्रैमासिक रुपमा वित्तीय विवरण निकाल्नुपर्ने अनिवार्य किन ? पहिलो कुरा नेपालमा बीमांकीय मूल्यांकन गर्ने बीमांकी छैन । बीमांकीय मूल्यांकनको लागि भारतलगायत विदेशी बीमांकीसँग कम्पनीहरू भर पर्दै आएका छन् । बीमा कम्पनीहरूका अनुसार हरेक त्रैमासिक रिर्पोटको मूल्यांकनको लागि विदेशी बीमांकी लिन कम्पनीहरूले सक्दैनन् । हरेक पटक मूल्यांकन गर्दा महँगो पर्न जान्छ । यदि हरेक त्रैमासिक वित्तीय विवरण बीमांकीले मूल्यांकन गर्ने हो भने नाफामा त्यसरी अन्तर नदेखिने उनीहरुको तर्क छ । यस सम्बन्धमा बीमा प्राधिकरणका नियमन महाशाखाका प्रमुख निर्देशक शाम्भराज लामिछाने कम्पनीहरूको तत्कालीन वित्तीय अवस्था सन्तुलन छ कि छैन भनेर हेर्नको लागि पनि वित्तीय विवरण आवश्यक रहेको औंल्याउँछन् । ‘कम्पनीहरूले आन्तारिक लेखापरीक्षण गरेर त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्छन्, अन्तिम रिपोर्ट बीमाङ्कीय मूल्याङकन भएपछि मात्रै आउँछ’, लामिछानेले भने । उनी अहिलेको त्रैमासिक रिपोर्टसँग गत वर्षको अडिटेड नाफासँग तुलना गर्न नहुने बताउँछन् । यसरी तुलना गर्दा गलत सन्देश जाने र हिसाब पनि सही नहुने हुँदा यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले यदि त्रैमासिक रिपोर्टमा कम्पनीहरूले गलत तथ्यांक हालेका छन् र त्यसले लगानीकर्तामा भ्रम सिर्जना हुने अवस्था हो भने प्राधिकरणले त्रैमासिक सार्वजनिक हुने वित्तीय विवरणबारे सोच्न सकिने बताए । ‘त्रैमासिक रुपमा सार्वजनिक हुने वित्तीय विवरणमा लगानीकर्ता झुक्किने अथवा भ्रम सिर्जना भएको स्थिति हो भने त्यसमा प्राधिकरणले सोच्न सक्छ,’ उनले भने ।
कोशेढुङ्गा : खस्कँदो पुरुष पफर्मेन्सलाई प्रतिबिम्ब गर्ने फिल्म
काठमाडौं । सुरक्षाले फिल्ममा हिरोको अभिनय गरेको महसुस अधिकांश दर्शकले गर्न सक्छन् । एउटा प्रेमिकादेखि निडर र निःस्वार्थी श्रीमतीको भूमिकामा उनी अब्बल सावित छिन् । शीतल र सञ्जोगको प्रेमकथा यस चलचित्रको मेरुदण्ड हो । गत बिहीबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुङ्गा’ नेपाली चलचित्र जगतमा अर्को महत्त्वपूर्ण कोशेढुङ्गा बन्ने संघर्ष गर्दैछ । हलमा प्रत्यक्ष बसेर हेर्दा यो चलचित्र केवल मनोरञ्जन मात्र नभई सामाजिक यथार्थको दर्पणजस्तै महसुस हुन्छ । चलचित्र सकिएपछि फिल्महलको सिटबाट उठ्दै गर्दा अधिकांशका हात आँखामा जान्छन् । रसाएको आँखालाई बत्तीअघि आफूलाई कमजोर महसुस नगराउन दर्शकहरूले खुसुक्क आँसु पुछेका दृश्य फिल्म हलभर देखिन्छन् । यो अनुभवलाई लेखेर बाँड्ने कि मौन रहने ? अन्ततः जानीनजानी फिल्मको समीक्षा लेख्ने आँट गरें । आर्थिक पत्रकारका लागि फिल्मको समीक्षा लेख्नु आफैमा ठूलो चुनौती हो । तर, मैले लेख्ने जमर्को गर्दैछु । ‘कोशेढुङ्गा’ मूलतः ग्रामीण जीवन, त्यहाँको संस्कृतिको जटिलता र त्यसमा निहित प्रेम–संघर्षको कथा हो । कथामा खासै नवीनता नपाइए पनि यसको प्रस्तुति सरल, सहज र प्रभावकारी छ । फिल्मको कथा कुनै नवीन वा क्रान्तिकारी छैन र लाग्दैन पनि । तर, जति कथा छ, त्यो सशक्तरूपमा सम्प्रेषण गरिएको छ । एक गरिब युवाले काम, प्रेम र परिवारका लागि गरेको मिहिनेत फिल्मको जबरजस्त बलियो पक्ष हो । ती युवाको प्रेमिकाले खेलेको भूमिका यो चलचित्रकै प्रशंसनीय र तारिफयोग्य पाटो हो । अहिलेसम्म हामीले नेपाली चलचित्रमा प्रेमीले प्रेमिकालाई सहयोग गरेको, उद्धार गरेको तथा आफ्नो प्रेममा पारेको कथा-कहानी हेर्दै आएका छौं । तर, कोशेढुङ्गामा प्रेमीको भूमिका जबरजस्त छ । प्रेमीको भूमिकालाई फितलो देखाएर प्रेमिकाको भूमिका सशक्त बनाइएको छ । शितल (सुरक्षा पन्त) र सञ्जोग (मञ्जिलकुमार) को प्रेम कथाभित्र गाउँले समाजको कठोर यथार्थ, गरिबी, बेरोजगारी, लैङ्गिक असमानता र परदेश पस्नुको विवशतालाई जोडिएको छ । फिल्मको पहिलो भाग हाँसो र रमाइलोले सजिएको छ । ग्रामीण भेगको रहनसहन र ठट्यौली कथनहरू फिल्ममा देख्न र सुन्न सकिन्छ । दर्शकलाई बोर नलागे पनि फिल्मको पहिलो भाग औसत कमजोर छ । पहिलो भागले हललाई हाँसोले भरिदिन्छ भने दोस्रो भागमा दर्शकको आँसु नथामिने बनाइदिन्छ । यही उतार-चढावले कथालाई जीवन्त बनाएको छ । विशेषगरी महिलाको संघर्ष र नेतृत्वलाई उठान गर्ने प्रयासले दर्शकलाई गहिराइमा पुर्याउँछ । अभिनेत्री सुरक्षा पन्त फिल्मकै आत्मा बनेको भन्दा फरक नपर्ला । उनको अभिनय सहज र सशक्त छ, जसले आफ्नो क्यारेक्टरलाई पूर्ण न्याय दिएकी छन् । उनले फिल्ममा हिरोको अभिनय गरेको महसुस अधिकांश दर्शकले गर्न सक्छन् । हरेक भूमिकामा उनी अब्बल देखिन्छन् । एउटा असल प्रेमिकादेखि निडर र नि: स्वार्थी श्रीमतीको भूमिकामा उनी अब्बल सावित छिन् । शीतल र सञ्जोगको प्रेमकथा यस चलचित्रको मेरुदण्ड हो । बाल्यकालको मित्रता, युवाअवस्थाको प्रेम कहानी र समाजले थोपरिदिएको अवरोध, यी सबै पाटोहरूमा फिल्म विस्तारै तर मजबुत रूपमा बग्छ । नयाँ अनुहार मञ्जिलकुमार (सञ्जोग) ले फिल्ममा शितलको प्रेमी र श्रीमानको भूमिका निर्वाह गरेका छन् । उनले फिल्ममा आफूलाई अब्बल बनाउने प्रयास त गरेका छन् तर अझै मिहिनेत आवश्यक देखिन्छ । तीन पटकसम्म लोकसेवाको परीक्षा दिएर फेल भएको र राम्रो पढेर पनि अन्तः उनले विदेश जानु परेको विषय चलचित्रको निकै मार्मिक छ । खस्कँदो पुरुष पफर्मेन्सलाई प्रतिबिम्ब गर्ने फिल्म बन्ने प्रयास गरेको छ । फिल्मको नायकका रुपमा देखिएका सञ्जोगले प्रेमदेखि काम गर्नमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्दैनन् । उनी र शीतलबीचको प्रेम शीतलको परिवारले स्वीकार नगर्दा सञ्जोग कमजोर देखिएका छन् भने शीतलले उनलाई ओभरटेक गरेर निर्णायक भूमिका खेलेकी छन् । खस्कँदो पुरुष पफर्मेन्सलाई प्रतिबिम्ब गर्ने फिल्म बन्ने प्रयास गरेको छ । फिल्मको नायकका रूपमा देखिएका सञ्जोगले प्रेमदेखि काम गर्नमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्दैनन् । उनी र शीतलबीचको प्रेम शीतलको परिवारले स्वीकार नगर्दा सञ्जोग कमजोर देखिएका छन् भने शीतलले उनलाई ओभरटेक गरेर निर्णायक भूमिका खेलेकी छन् । स्थानीय स्कुलमा शिक्षकको आवेदन माग गर्दा पनि शीतल अगाडि बढ्न खोज्दा सञ्जोगले महिलाको कमाइ खाने खलक नभएको भन्दै उनको प्रस्ताव अस्वीकार गरे । शीतलले आफू विदेश जाने प्रस्ताव गर्दा पनि उनले निर्णय दिन सकेनन्, बरु अन्ततः आफै विदेश भासिए । चलचित्रमा आर्यन सिग्देलले ऋषिरामको भूमिकामा परिपक्व अभिनय गरेर फिल्मलाई बल दिएका छन् । ऋषिराम आफू पनि विदेश गएर फर्किएर पनि आफ्नै भैंसी फार्म सञ्चालन गरेको विषय अधिकांशका लागि अनुसरणयोग्य छ । नीति शाह, ऋचा शर्मा, सरोज खनाल र हिउँवाला गौतम लगायत अन्य कलाकारहरूको भूमिका पनि फिल्ममा औसत छ । तर, नीति शाहले बीमा अभिकर्ताका रूपमा खेलेको भूमिका असान्दर्भिक छ । चलचित्रमा उनले बीमा अभिकर्ताका रूपमा गाउँमा बीमाको सचेतना फैलाउन न दरिलो रूपमा प्रस्तुत हुन सकेकी छिन् न त फिल्ममा बीमाको महत्त्वबारे स्पष्ट पारिएको छ । फिल्ममा बीमा एजेन्ट राखेर के सन्देश दिन खोजिएको हो भन्ने विषय लुकेको छ । अब्बल अभिनेत्रीको परिचय बनाएकी ऋचा शर्माको भूमिका पनि फिल्ममा प्रश्नयोग्य छ । उनी एउटा भट्टी पसलकी साहुनीको रूपमा देखिएकी छन् । अभिनेत्री शर्मालाई भट्टी पसलको साहुनी बनाएर फिल्म र उनी स्वयंले आफ्नो वजन घटाएको छ । हत्या, ग्याङफाइट तथा खलनायकबिना पनि फिल्म बनाउन सकिन्छ भन्ने नजिर कोशेढुङ्गाले स्थापित गरेको छ । फिल्ममा सरकारको नालायकीपन पनि गज्जबसँग प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीमा विदेश पुगेका सञ्जोग सँगै बस्ने साथीको हत्याको आरोपमा जेलमा पर्छन् । उनको रिहाइको लागि उनको श्रीमती शितल र दाई ऋषिराम सरकारका निकायहरुमा धाउँछन् । तर, सरकारले उनको रिहाइका लागि कुनै प्रयास गर्दैन । बरु परराष्ट्र मन्त्रालयबाट उनीहरू निकालिन्छन् । अन्ततः एक करोड रुपैयाँ भुक्तानी गरेमा जीवनमाफी हुने आदेश अदालतले गर्छ । एक करोड रुपैयाँ जुटाउनका लागि शितलले गरेको मिहिनेतलाई जति प्रशंसा गरे पनि कम हुन्छ । तर, उनले एक करोड जुटाउनकै लागि गरेको सम्झौता थप रहस्यमय बनेको छ । ‘पूर्णबहादुरको सारङ्गी’बाटै दर्शकको मन जितिसकेका निर्देशक सरोज पौडेलले यस पटक पनि आफ्नै शैलीमा नेपाली समाजको यथार्थलाई पर्दामा उतारेका छन् । उनका दृश्यहरू सरल देखिए पनि त्यसभित्र अर्थको गहिराइ छ । उनले ग्रामीण जीवनको धूलो, धर्ती र दु:खलाई यति स्वाभाविक ढंगले प्रस्तुत गरेका छन् कि दर्शक आफू हलमा नभई गाउँकै भित्ता, चौतारा र बारीबीच उभिएको महसुस गर्छन् । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीत फिल्मको मात्र होइन, यो समयको सांस्कृतिक धड्कन बनिसकेको छ । हलमा बज्दा दर्शकलाई उफ्रेर नाच्न मन लाग्छ, तर शब्दले जीवनको गहिरो सत्यता पनि सम्झाउँछ । यसबाहेक अन्य गीतहरूले पनि कथाको भावनालाई थपिएको छ । संगीत फिल्मको आत्मा बनेर कथाको प्रत्येक उतारचढावलाई बलियो पारेको छ । बेरोजगारी र अवसरको असमानता, जसले हजारौं युवालाई परदेश धपाइरहेको छ । लैङ्गिक असमानता, जसमा महिलाको कामलाई अझै समाजले सहजतापूर्वक स्वीकार गर्न सकिरहेको छैन । राजनीतिक पहुँच र शक्ति-धनवीरजस्ता पात्रमार्फत समाजमा पैसाले प्रेमलाई कसरी बन्धक बनाउँछ भन्ने सन्देश यस फिल्मका बलियो पक्ष हुन् । आत्मनिर्भरता र स्वदेश प्रेम, ऋषिराममार्फत देखाइएको भैंसीपालन र गाउँमै केही गर्न सकिन्छ भन्ने आशा पनि फिल्ममा देखाइएको छ । यी सन्देशहरूले ‘कोशेढुङ्गा’लाई केवल चलचित्र नभई सामाजिक विमर्शको शक्तिशाली माध्यम बनाएको छ । ‘कोशेढुङ्गा’ले नेपाली फिल्म उद्योगमा एउटा भावनात्मक-सामाजिक कोशेढुङ्गा बन्ने प्रयत्न गरेको छ । कथा नयाँ नभए पनि यसको प्रस्तुति, अभिनय, गीत-संगीत र निर्देशनले यसलाई असाधारण बनाएको छ । यो चलचित्रले हाँसो, आँसु, पीडा र आशा सबैलाई एकैपटक दर्शकको हृदय हलचल गरिदिन्छ । २ घण्टा २२ मिनेट लामो यो चलचित्र एक पारिवारिक, भावनात्मक र सामाजिक बन्धनको विमर्श बनेको छ । परिवारसँगै हलमा बसेर हेर्दा यसको प्रभाव अझ गहिरो अनुभव हुन्छ ।
घरबीमा गर्न कर्णालीको अग्रसरता, अरु प्रदेशमा छैन पहल
काठमाडौं । कर्णाली प्रदेश सरकारले विगत केही वर्षयता बीमा प्राधिकरण, बीमा कम्पनीहरू र स्थानीय तहहरूसँग सहकार्य गर्दै घर बीमा अभियानलाई निरन्तरता दिँदै आएको छ । कर्णालीका केही स्थानीय तहहरूले पनि अनुदानसहित घर बीमा कार्यक्रम अगाडि बढाइरहेका छन् । यस क्षेत्रमा कर्णाली अग्रणी देखिएको छ । चालु आवमा कर्णाली प्रदेश सरकारले विपद् जोखिममा रहेका नागरिकका लागि ‘घरबीमा कार्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ । प्रदेश सरकारले पहिलो चरणमा १५ स्थानीय तहका १६ हजारभन्दा बढी घरहरूको बीमा गरिसकेको छ । जसका लागि प्रदेश सरकारले करिब ९८ लाख २४ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरेको छ। प्रदेशले ‘घरबीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८१’ स्वीकृत गरी यो कार्यक्रम लागू गरेको हो । प्रदेशले चालु आव २०८२/८३ को घरबीमा कार्यक्रमलाई निरन्तरता दिँदै ३ करोड ५० लाख रुपैयाँ विनियोजनसमेत गरिएको छ । कर्णाली प्रदेशले विपद् जोखिममा आधारित रहेर घरबीमालाई प्राथामिकताका साथ अगाडि बढाइरहँदा त्यसैको सिको गर्दै केही प्रदेशले घरबीमा कार्यक्रमलाई अगाडि बढाउने तयारी गरेका छन्, छलफल अगाडि बढाएका छन् । तर घरबीमा सम्बन्धमा बागमती, लुम्बिनी, गण्डकीलगायतका प्रदेशमा भने हालसम्म ठोस पहलकदामी देखिएको छैन । मधेशमा सुरुवात मधेश प्रदेश सरकारले घरबीमा कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश सरकारले निम्न आय भएका वर्गलाई लक्षित गरी १ लाख देखि पाँच लाख रुपैयाँसम्मको घरबीमा कार्यक्रम लागू गर्ने निर्णय भएको बीमा प्राधिकरण मधेश प्रदेशका कायम मुकायम प्रमुख शिवप्रसाद खनालले बताए । उनका अनुसार घरबीमा कार्यक्रम सुरु गर्ने भनिएपनि कसरी र कति घरको गर्ने भन्ने विषयमा भने प्रदेशले बीमा कम्पनीहरूसँग छलफल गरिरहेको छ । यस्तै, घरबीमा सम्बन्धमा प्राधिकरणले स्थानीय पालिकाहरूसँग पनि समन्वय गर्दै आइरहेको खनालले जानकारी दिए । मधेश प्रदेशले चालु आवको लागि बीमाकै लागि भनेर बजेट छुट्याएको छैन । यद्यपि बीमाको बारेमा चासो भने दिन थालेको उनको भनाइ छ । सुदूरपश्चिममा छलफल र पहलको चरणमा सुदूरपश्चिम प्रदेश सरकारले विपद् व्यवस्थापन र घरबीमा कार्यक्रमलाई अगाडि बढाउन पहल थालेको छ, तर कार्यक्रमले अझै ठोस रूप लिइसकेको छैन । प्रदेशमा बसोबास गर्ने निम्न आय भएका वर्गको घर बीमा गर्ने कार्यक्रम सञ्चालन गर्नका लागि बीमा प्राधिकरणको प्रादेशिक कार्यालयले प्रदेश सरकारसँग छलफल गरेको नेपाल बीमा प्राधिकरण सुदुपश्चिम प्रदेश प्रमुख केदारनाथ भट्ट्ले जानकारी दिए । ‘प्राविधिक रूपमै प्रदेशमा घरबीमा कार्यक्रम कसरी सुरु गर्न सकिन्छ भनेर गएको वैशाखमा मूख्यमन्त्रीसँग भेटेर छलफल गरे,’ प्रमुख भट्टले भने । कर्णाली प्रदेशमा घरबीमाको जुन खालको अभ्यास छ त्यसैलाई आधार मानेर त्यस्तै खालको पोलिसी डिजाइन गरेर अवधारणापत्र तयार पारेको उनले बताए । प्रमुख भट्टका अनुसार बीमा प्राधिकरण प्रादेशिक कार्यालयले घरबीमासम्बन्धी पोलिसी ड्राप्ट गरेर प्रदेश सरकारलाई बुझाइसकेको छ । सुदूरपश्चिम प्रदेशले चालु आव २०८२/८३ को बजेटमार्फत विपद् व्यवस्थापनका लागि भनेर एक करोड रुपैयाँ बजेट छुट्याएको छ । तर घरबीमा कार्यक्रमकै लागि भनेर भने बजेट विनियोजन गरेको छैन । घरबीमा पनि विपद् जोखिम व्यवस्थापनभित्रै पर्ने हुँदा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त बजेटबाट व्यवस्थापन गर्न सक्ने अवस्था भने छ । घरबीमाको लागि प्रदेश सरकारले नै प्राथमिकता दिनुपर्ने प्रमुख भट्ट बताउँछन् । ‘घरबीमाको लागि भनेर सरकारले कार्यक्रम नै त ल्याएको छैन तर सरकार यस सम्बन्धमा सरकार सकारात्मक छ भन्ने हामीले बुझेका छौं,’ उनले भने, ‘हामीले गर्नुपर्ने पहल गरिरहेको छौं तर यसमा इनिसेसन सरकारले नै लिनुपर्छ ।’ बागमतीमा अध्ययनकै चरणमा बीमा कम्पनीहरूको सबैभन्दा धेरै व्यवसाय आर्जन हुने र सुविधाको हिसाबले पनि सम्पन्न मानिने बागमती प्रदेशमा घरबीमा सम्बन्धी कुनै कार्यक्रम सुरु गरिएको पाइँदैन । बागमती प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रविता कार्कीका अनुसार घरबीमासम्बन्धी प्रदेशले भने चासोको रूपमा लिन थालेको छ । घरबीमा सम्बन्धमा पछिल्लो समय प्रदेश सरकारले अध्ययन गरिरहेको र अहिले अध्ययनकै चरणमा रहेको उनले बताइन् । अध्ययनपछि घरबीमा गर्नुपर्ने आवश्यकता देखिएमा त्यसकै आधारमा कार्यक्रम अगाडि बढाउने योजना रहेको उनले जानकारी दिइन् । गण्डकीमा छैन कुनै तयारी गण्डकी प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रममा कर्मचारीहरूको स्वास्थ्यबीमा र दुर्घटनाबीमाको विषयलाई समेट्ने प्रयास गरेको छ । नीति तथा कार्यक्रममा लक्षित वर्गलाई स्वास्थ्यबीमा, निःशुल्क रगत, क्यान्सर रोगीलाई आर्थिक सहायता जस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने गरिएको भएपनि घर वा अन्य सम्पत्तिको बीमाबारे कुनै विशेष कार्यक्रम घोषणा गरेको देखिँदैन । हालसम्म नागरिकका घर तथा सम्पत्तिको बीमा गर्ने कुनै विशेष कार्यक्रम सञ्चालनमा आएको छैन । सम्पत्तिबीमाअर्न्तगत घर बीमाको महसुुस गरी बीमा प्राधिकरण प्रादेशिक कार्यालयले छलफल अगाडि बढाए पनि प्रदेश सरकारले यस विषयमा ठोस निर्णय लिन नसकेको बीमा प्राधिकरण प्रादेशिक प्रमुख शम्भुप्रसाद मिश्रले बताए । यसका लागि प्राधिकरणको तर्फबाट अथक प्रयास जारी रहेको उनको भनाइ छ । लुम्बिनी र कोशीमा पनि छैन कुनै पहल लुम्बिनी प्रदेशले हालसम्म घरबीमासम्बन्धी कुनै विशेष निर्णय वा कार्यक्रम ल्याएको छैन । बीमा प्राधिकरण गण्डकी प्रदेशका सहायक प्रथम बलराम गिरीका अनुसार एउटा गाउँपालिकाले भने नयाँ आर्थिक वर्षदेखि विपन्न परिवारहरूको घर बीमा गरिदिने कार्यक्रम सुरु गरेको छ । उक्त गाउँपालिकाले विपन्न वर्ग परिवार पहिचान गरी बीमा गरिदिने प्रक्रिया सुरु गरिसकेको उनले बताए । यसबाहेक प्रदेश सरकारले घर बीमा सम्बन्धमा प्राधिकरण, बीमा कम्पनीहरूसँग कुनै विशेष समन्वय वा पहल नगरेको उनको भनाइ छ । कोशी प्रदेशमा पनि प्रदेश सरकारले घरबीमा सम्बन्धी त्यस्तो कुनै कार्यक्रम ल्याएको छैन । प्रदेश सरकारले विपद् व्यवस्थापन शीर्षकमा बजेट छुट्याएको छ तर घर बीमा सम्बन्धमा भने कसरी जाने भनेर छलफलकै चरणमा रहेको कोशी प्रदेश विपद् व्यवस्थापन शाखाका फोकल पर्सन शोभानन्द भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेशले घर बीमासम्बन्धी कार्यविधि बनाइसकेको छ । ‘घरबीमासम्बन्धमा कार्यविधि बनेको छ, तर कसरी जाने भन्ने विषय छलफलकै चरणमा छ,’ उनले भने । विपद् व्यवस्थापन बजेटको चुनौती नेपालमा विपद् व्यवस्थापनका लागि बजेटको अभाव एक प्रमुख चुनौतीको रूपमा रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्वतयारी र व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध हुन सकेको छैन । प्राधिकरणले माग गरेअनुसार सरकारले बजेट उपलब्ध गराउन नसक्दा काम गर्न गार्हो भइरहेको छ । आर्थिक स्रोतको अभाव सबैभन्दा ठूलो चुनौती देखिन्छ ।
जहाँ सुवेदी त्यहाँ सुधार, 'सरकारी जागिरमा करोडौं कमाइन्छ भन्छन्, मेरो घर ऋणमा छ’
काठमाडौं । सरकारी सेवामा प्रायः ढिलासुस्ती, घुसखोरीको चर्चा हुन्छ । तर, यो चर्चा सबै सरकारी कर्मचारीमा लागू हुँदैन । यसबीचमा केही कर्मचारीहरुले आफ्नो कर्म, इमान्दारीता र निष्ठाले समाजमा अलग्गै छाप छोड्न सफल भएका छन् । तीनै मध्येका एक हुन् कम्पनी रजिष्ट्रारको कार्यालका उप-रजिस्ट्रार देवी प्रसाद सुवेदी । भनिन्छ नि ‘सरकारी सेवा घुस-घोटाला, ढिलासुस्तीको छायाँमा छ ।’ यही सरकारी सेवामा सुवेदीले पृथक पहिचान बनाएका छन् । सुवेदी पर्वत जिल्लाको तत्कालीन ठूलीपोखरी गाउँ विकास समिति (हाल कुस्मा) मा विं.स २०३३ सालमा सामान्य परिवारमा जन्मिए । परिवारमा सरकारी जागिरे कोही पनि थिएनन् । तर, आफ्नै मिहिनेत, क्षमता र इमान्दारिताको बलमा सुवेदीले सरकारी सेवामा छुट्टै छाप छोड्न सफल भए । १० कक्षासम्म गाउँमै पढेका सुवेदी आईएड पढ्न काठमाडौंमा आए । दाजुसँग बसेर उनले काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहाचलबाट आईएड सकाए । त्यसपछि पुनः उनी गाउँमै फर्किए । आफै केही गर्नुपर्छ, कमाउनुपर्छ भन्ने भएपछि उनले गाउँकै एक बोर्डिङ स्कुलमा पढाउन थाले । दुई वर्ष पढाइसकेपछि सुवेदी स्नातक पढ्नको लागि पोखरा पुगे । त्यहाँ उनले आफ्नो अध्ययनको साथसाथै ज्ञानु बाबा बोर्डिङ स्कुलमा अंग्रेजी शिक्षक भएर पढाउन थाले । आर्थिक अवस्था कमजोर भएकै कारण पढ्दै कमाउँदै गर्नुपरेको अनुभव सुनाउँछन् सुवेदी । त्यतिबेला उनले स्कुल पढाएर मासिक १५/१६ सय रुपैयाँ कमाउथे । अंग्रेजीका साथै कम्युटरमा पनि राम्रो ज्ञान भएको हुँदा कुनै आइएनजिओमा जागिर गर्न चाहन्थे सुवेदी । त्यही समयमा उनले इन्टरनेशनल नेपाल फेलोसिप नामक अन्तर्राष्ट्रिय गैर सरकारी सस्थामा जागिरको लागि आवेदन दिए । नाम पनि निस्कियो । उनले त्यहाँ सहायक तहको जागिर सुरु गरे । त्यहाँ उनको तलब मासिक ७ हजार रुपैयाँ थियो । विदेशीहरुसँग सिधै मिटिङ गर्ने, माइन्युटहरू गर्ने लगायतका काम उनले गर्नुपथ्र्यो ।आईएनएफमा सुवेदीले सन् १९९३ देखि २००१ सम्म जागिर गरे । ...त्यसपछि सरकारी सेवामा आईएनएफमा जागिर गर्दा उनको दैनिकी राम्रै चलेको थियो । सुवेदीले काम गर्ने आइएनजिओ क्रिस्चियन मिसन भएको हुँदा थप प्रमोसनको लागि कल्चरको हिसाबले सम्भावना उनले कम देखे । त्यसपछि उनले युनाइटेड नेशनतिर जानको लागि प्रयास गरे । तर सकेनन् । आफ्नो क्षमताले सक्ने भएपनि पावर लगाउनुपर्ने भएपछि आफू त्यहाँ जान नसकेको तीतो अनुभव सुनाउँछन् सुवेदी । अव भने उनले सरकारी सेवामा जाने मन बनाए । सुरुमै शाखा अधिकृतमा नाम निकाल्छु भनेर कस्सिए । त्यतिबेला इन्ट्रान्स परीक्षा दिनुपर्थ्यो । इन्ट्रान्समा पास भएपछि दुई वर्षसम्म परीक्षा दिन पाइन्थ्यो । सुवेदीले इन्ट्रान्स पास गर्न सकेनन् । सामान्य ज्ञानमा जानकारी कम हुँदा पहिलो वर्ष नाम निकाल्न नसकेको अनुभव सुनाउँदै उनले भने, ‘प्रवेश परीक्षामा सामान्य ज्ञान घोक्नुपर्ने रहेछ । मलाई सामान्य ज्ञान, प्रशासनबारे खासै जानकारी थिएन ।’ नाम ननिस्के पनि उनमा सरकारी जागिरको भूत चढिसकेको थियो । जसरी पनि सरकारी जागिर खानुपर्छ भन्ने उनलाई भइसकेको हुँदा उनले पहिलो पटक नाम ननिस्कदैमा हार मानेनन् । त्यसपछि उनले सिधै अफिसर बन्ने सपना छोडेर कम्युटर अप्रेटरमा प्रयास गरे । कम्युटरमा उनको राम्रो दख्खल थियो । त्यसैले उनलाई यसमा कुनै गाह्रो भएन । पहिलो नम्बरमै नाम निकाले । त्यसपछि सुरु भयो सुवेदीको सरकारी जागिरको यात्रा । २१ हजारको आम्दानी ४ हजारमा आइएनएफमा काम गर्दा सुवेदीले मासिक २१ हजार तलब बुझ्थे । २१ हजारको जागिर छाडेर उनले सरकारी सेवामा लाग्ने सोच बनाएका थिए । कम्युटर अप्रेटरमा नाम निकालेपछि उनको पहिलो सरकारी जागिरको यात्रा पोखराको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयमा भयो । सुरुमा उनको तलब थियो चार हजार ९ सय रुपैयाँ । त्यतिबेला परिवारमा आर्थिक व्यवस्थापन गर्न निकै नै चुनौतीपूर्ण भएको अनुभव सुवेदीसँग छ । आइएनजिओको जागिर गर्दा सुवेदीको तीन जनाको परिवार, श्रीमती छोरी र आफू फ्ल्याटमा बस्थे । फ्ल्याटको भाडा थियो पाँच हजार, उनको तलब चार हजार रुपैयाँ । सरकारी जागिर गर्न थालेपछि फ्ल्याटमा बस्न सक्ने अवस्था नभएको स्मरण गर्छन् उनी । उनले त्यतिबेलाको अवस्था स्मरण गर्दै भने, ‘अगाडि जागिर गर्दा खासै पैसा बचाएको थिइन, त्यो पैसा पनि विस्तारै सकिँदै गयो । त्यसपछि फ्ल्याटमा बस्न सक्ने अवस्था नै भएन ।’ फ्ल्याटमा बस्न सक्ने अवस्था नभएपछि सरकारी क्वाटरमा एउटा कोठा खाली गरेर बस्छु भनेर त्यता बस्न थाले । फ्ल्याटमा बसिरहेको मान्छे एकैचोटि एउटा सानो कोठामा बस्नुपर्दा मन अमिलो भएको थियो । आफ्नो लागि भन्दा पनि परिवारको लागि बढी दुःखी थिए सुवेदी । विशेषगरी छोरीको लागि । त्यसरी राख्ने चाहना नभएपनि त्यतिबेला उनको लागि बाध्यता थियो । ‘बाउको मन हो सन्तानलाई सकेसम्म राम्रो ठाउँमा नै राखौँ भन्ने नै हुने रहेछ, त्यसरी राख्दा म आफ्नो लागि भन्दा पनि परिवारको लागि बढी दुखी थिए,’ गम्भीर हुँदै सुवेदीले सुनाए । त्यतिबेला शाखा अधिकृतको तलब ७ हजार ५ सय थियो । अफिसर बन्न पाए धेरै राहत हुन्छ भन्ने भएपछि नाम निकालेर छाड्छु भनेर कस्सिए । आफू सँगसँगै श्रीमतीलाई पनि पढाउँदै थिए सुवेदी । ब्याचलर पढ्दै थिइन् श्रीमती । श्रीमतीलाई पनि सरकारी सेवामा नै ल्याउन चाहन्थे उनी । हाल उनको श्रीमती पनि सरकारी जागिरे छिन् । छोरी बाबा भनेपछि हुरुक्कै, बाबा नभई नसुत्ने । छोरीलाई सुताएर मात्रै उनको पढ्ने समय सुरु हुन्थ्यो । राती १० बजे सबैजना सुतिसकेपछि सुवेदी भने पढ्न बस्थे । तयारी गर्दै गर्दा उनमा अब नाम निकाल्छु भन्ने कन्फिडेन्स बढ्दै गयो । नभन्दै उनले इन्ट्रान्समा नाम निकाले । त्यसपछि उनी काठमाडौं आएर अफिसरको लागि ट्युसन पढ्न थाले । एक महिना ट्युसन पढेर अफिसरको जाँच दिए । एक वर्षमा उनले नासु र त्यसपछि अर्को वर्ष शाखा अधिकृतमा नाम निकाले । उनले विंस २०६३ सालमा शाखा अधिकृतमा नाम निकालेका हुन् । सरकारी जागिरे भएपछि धेरैले करोडौं कमाउने बुझ्छन् । मैले जागिरबाट जग्गा जोडें । तर, घर भने ऋण लिएर बनाएको छु, पैसाभन्दा पनि सरकारी जागिरबाट आत्मसम्मान पाएको छु । जहाँ सरुवा, त्यहाँ सुधार शाखा अधिकृत भइसकेपछि भयंकर गरे भन्ने भयो सुवेदीलाई । तर, उनी शाखा अधिकृत भइसकेपछि अर्को पीडा सुरु भएको सुनाउँछन् । शाखा अधिकृत भएपछि उनको पोस्टिङ भयो स्थानीय विकास मन्त्रालयको योजना अनुगमन तथा प्रशासकीय अधिकृतको जिमेवारीमा । परिवारसँगै बसेर जागिर खाने सोच थियो उनको । तर उनको पोस्टिङ भयो दार्चुलामा । परिवारलाई पोखरामै छाडेर सुवेदी जागिरको लागि दार्चुला पुगे । त्यतिबेला दार्चुलामा सञ्चार सम्पर्क राम्रो थिएन । परिवारसँग सम्पर्क हुनै गाह्रो । त्यसबेलाको अवस्था स्मरण गर्दै सुवेदी सुनाउँछन्, घरमा फोन हान्यो, लाग्दै लाग्दैन । बल्ल बल्ल फोन लाग्यो, उतै परिवार रिसाइसकेको हुन्थ्यो । परिवारसँग सम्पर्कमा रहिरहन, आउजाउ गर्न एकदमै समस्या थियो ।’ सुवेदीले सरकारी जागिरे भएर काम गर्ने क्रममा जुन–जुन ठाउँमा सरुवा भएर काम गर्ने अवसर पाए त्यही ठाउँमा परिवर्तन ल्याउनमा ठूलो भूमिका निभाएका छन् । सरकारी जागिरको सुरुवातमा कम्प्युटर अपरेटर भएर प्रोग्रामिङ गर्थे । त्यतिबेला उनले नै युनिसेफको प्रोजेक्ट सञ्चालनको लागि आफैले नेतृत्व गरेका थिए । उनले नै सफ्टवेयर बनाएर त्यसलाई अटोमेटाइज गरेको थिए । शाखा अधिकृत भएर जब उनी दार्चुला पुगे, त्यहाँ उनले राम्रो सुधार हुने काम गरेर देखाए । त्यतिबेला उनले स्थानीयको योजना तर्जुमा गर्न गुगल अर्थको प्रयोग गरे । त्यो भन्दा अघि त्यहाँ उक्त सफ्टवयर प्रयोगमा ल्याइएको थिएन । त्यो समयममा प्रविधिको प्रयोग गरेर कहाँ कुन योजना आवश्यक छ/छैन भनेर स्थानीयलाई एकै ठाउँमा राखेर प्रोजेक्टरमा देखाउँथे । एक किसिमले उनले दार्चुलामा नयाँ सिर्जनशील र रचनात्मक काम गरेर देखाएका थिए । त्यो काम गरेपछि धेरैले उनको तारिफ समेत गरेका थिए । दार्चुलामा उनले २ वर्षसम्म काम गरे । त्यसपछि उनको सरुवा भयो बागलुङको जिल्ला विकास समितिमा । यही सेक्टरमा २ वर्ष काम गरिसकेको अनुभव भइसकेको हुँदा त्यहाँ उनले आफूलाई निखार्ने थप अवसर पाए । बाग्लुङ दार्चुला भन्दा विकसित ठाउँ हो । सुवेदीको नजरमा भने बागलुङमा बेथितिका धेरै कुराहरु परे । त्यहाँ स्थानीय निकायको योजना तर्जुमा प्रक्रियामा वडा तहबाट आएका योजनाहरूलाई मतलबै नगरिकन जिल्लाका नेताहरूले छनोट गर्थे । तर, सुवेदीले टिम बनाएर स्थानीय निकायले जे-जे सिफारिस गरेर योजना ल्याउँछन् तिनलाई प्राथामिकतामा राख्नुपर्छ भनेर अघि बढे । उनले सकेसम्म स्थानीय योजना तर्जुमा प्रक्रियालाई सहभागितामूलक बनाउन थाले । सुवेदीका अनुसार स्थानीय सहभागितामा पार्टिसिपेटरी प्लानिङ प्रोसेसको संस्थागत विकास उनले नै गरेका हुन् । योजनाहरू अनुगमन गर्ने, स्थानीय प्रतिनिधिहरुसँग छलफलमा समन्वय गरेर प्रभावकारी रुपमै काम गरेको सुनाउँछन् सुवेदी । बागलुङमा उनले चार वर्ष बिताए । बागलुङपछि सुवेदीको पोस्टिङ भयो मुस्ताङ जिल्ला निर्वाचन कार्यालयमा । त्यहाँ उनले गरिरहेको क्षेत्रभन्दा फरक क्षेत्रमा काम गर्नुपर्ने भयो । फरक क्षेत्रमा भए पनि प्रविधिमा पोख्त भएको हुँदा त्यहाँ पनि उनले केही नयाँ गर्ने प्रयासलाई निरन्तरता दिए । उनले आफ्नै नेतृत्वमा विद्युतीय नक्साङ्कन जस्तै कहाँ–कहाँ निर्वाचन केन्द्रहरू छन्, कहाँ बढी जोखिम क्षेत्र छन्, कहाँ सुरक्षा चुनौती बढी हुन सक्छ भन्ने कुराको म्यापिङ गरे । यो खालको अभ्यास सुवेदी आफुले नै सुरु गरेको बताउँछन । त्यसको म्यापिङ गरेर उनले केन्द्रीय निर्वाचन कार्यालयमा पठाए । सशस्त्र, नेपाल प्रहरी, सेनालगायतका सुरक्षा निकायहरूले यो कार्यको लागि खुलेर प्रशांसा गरेको सुवेदी बताउँछन् । जागिर गर्दा जहाँ पुगे त्यहाँ उनले आफ्नो इमान्दारिता र क्षमता देखाएर काम गरे । यसकै परिणामस्वरुप प्रमुख निर्वाचन आयुक्तको नजर सुवेदीमाथि पर्यो । त्यतिबेला प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती थिए । उनले नै मुस्ताङबाट काठमाडौं बोलाए । त्यसपछि पुनः उनी काठमाडौंमा कोठा लिएर परिवारसहित बस्न थाले । आफ्नै क्षमताको कारण आफू केन्द्रमा तानिएको सुवेदी सुनाउँछन् । केन्द्रमा सरुवा भएपछि निर्वाचन जोखिम व्यवस्थापन इकाइमा उनको जिम्मेवारी तोकियो । त्यतिबेला इन्टरनेशनल आईडिया भन्ने प्रोजेक्टले आयोगलाई फण्डिङ गरिरहेको थियो । उक्त प्रोजेक्टमा इलेक्टोरल रिस्क म्यानेजमेन्टको काम गर्न थाले । त्यसमा इन्टरनेशनल आईडियाका प्रतिनिधिको सहकार्यमा उनले काठमाडौंका सेक्युरिटी एजेन्सीहरू राखेर निर्वाचनमा सेक्युरिटी म्यापिङ गर्ने काम गरे । उनले म्यापिङमार्फत यो ठाउँमा यस्तो छ भनेर डिसिजन मेकिङमा सपोर्ट गर्ने काम गरे । जुन कामले गर्दा इन्टरनेशनल आईडियाले प्रशंसा नै पायो । यो कामबाट प्रभावित भएर इन्टरनेशनल आईडियाले अरु ठाउँमा विशेषगरी आफुले फण्डिङ गरेको ठाउँमा तालिम दिनुपर्यो भनेर उनलाई प्रस्ताव गरे । सुवेदीको लागि यो अर्को अवसर थियो । उनले म्यानमार, थाइल्याण्ड र नर्वेको निर्वाचन आयोग गएर तालिम दिए । साथै उनले इन्टरनेशनल आईडियाको हेडक्वार्टरमा गएर आफ्नो अनुभव बाँड्ने मौका पाए । अधिकृत भएर काम गर्दै गर्दा उनले उपसचिवको लागि पनि तयारी गर्दै थिए । सँगसँगै परिवारिक जिम्मेवारी । २०७२ सालमा सुवेदीले उपसविचमा नाम निकाले । त्यसपछि उनको पोस्टिङ गृहमन्त्रालयमा भयो । गृहमन्त्रालयमा त्यतिबेला उनको लागि ड्रिम जब सिडिओ थियो । सिडिओ हुनलाई आफ्नो क्षमता मात्रै होइन पावर पनि चाहिन्छ भन्ने कुरा उनले महसुुस गरे । तत्काल सिडिओ पाउने सम्भावना नभएपछि उनको सरुवा कारागार व्यवस्थापन विभाग अनामनगरमा भयो । कारागार व्यवस्थापन विभाग प्रवेश गरेपछि उनले त्यहाँको माहोल सोचेभन्दा कयौँ गुणा फरक पाए । जेलभित्र सिंगो नेपाल पाए सुवेदीले । पहिलो दिन कारागार प्रवेश गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘देश चलाउने मान्छे जेलभित्रै हुने रहेछन् । जेलभित्रकै मान्छेले नेताहरुलाई चलाउँछन् । त्यहाँको आम्दानी वैध र अवैध दुवै हुँदो रहेछ । शक्ति र स्रोतको चलखेल हुँदो रहेछ ।’ आफूले गरिरहेको भन्दा फरक सेक्टरमा काम सुरु गर्न लागेको हुँदा उनलाई आधारभूत ज्ञान थाहा पाउनुपर्छ भन्ने लाग्यो । तर त्यहाँको अवस्था सुवेदीले भद्रगोल नै देखे । उनले कति छन् कैदी, को कहिले आयो, कहिले छुट्दैछ भन्ने रेकर्ड खोज्न थाले । हरेक जेलमा बुझ्दा ढड्डामा छ भन्ने तर त्यो एकिन गर्न नै नसकिने अवस्था रहेको सुनाउँछन् सुवेदी । नेपालमा विशेष अवसरमा कैदीलाई छुट दिने चलन छ तर त्यो डाटा पनि विश्वासिलो थिएन । सेन्ट्रलाइज्ड डाटाबेस नभएको अवस्था सुवेदीले त्यहीँ गएर पत्ता लगाए । यसरी हुँदैन, त्यहाँ पनि केही नयाँ गर्ने जोस चढ्यो सुवेदीलाई । त्यसपछि डाटाबेस बनाउनुपर्छ भनेर लागे उनी । उनले यस विषयमा महानिर्देशक, गृहमन्त्रालयको सचिवसँग कुरा राखे । डाटाबेस म्यानेजमेन्ट सिस्टम सेन्ट्रलाइज्ड बनाउनुपर्छ भनेर उनले प्रस्ताव लगे । त्यसमा सकारात्मक प्रतिक्रिया पनि पाए । विभागसँग अनुगमनको लागि भनेर ५ लाख रुपैयाँ मात्रै बजेट थियो । अनुगमन गर्न जाँदा त्यसै घुम्न मात्रै नभएर त्यसलाई यो काममा पनि व्यवस्थापन गरौँ भन्ने हिसाबले उनी लागि परे । सुवेदीले कन्ट्रयाक्टमा तीन जना डाटा इन्ट्री गर्ने मान्छे राखे । डेढ लाखमा सफ्टवेयर डिजाइन गर्ने मान्छे पनि उनले तयार गरे । डाटा इन्ट्री गर्न एकै ठाउँबाट सम्भव थिएन । त्यसका लागि सुवेदीले क्षेत्र क्षेत्रमा जाने र त्यहाँका जेलरहरु डाटा लिने काम थाले । उनले त्यही ढड्डासहित आउन भने । त्यही ल्याएर सुवेदीको टोलीले सँगसँगै स्क्यान गर्दै राख्न थाले । जुन काम गर्न सुवेदीको टिमलाई तीन महिना लाग्यो । सुवेदीकै नेतृत्वमा अव्यवस्थित डाटालाई व्यवस्थित डाटाबेसमा परिवर्तन गरीयो । जुन डाटाबेस आज पनि सञ्चालन हुन्छ । अहिले कुन कारागारमा कति कैदी छन्, कति थपिए, कति छुट्दै छन् सबै एकिन तथ्यांक हेर्न सकिन्छ । यसमा उनको ठूलो योगदान छ । कारागार व्यवस्थापन विभागमा काम गर्ने क्रममा स्थानीय तह पुनर्संरचना आयोग गठन भयो । त्यही बेला सुवेदीलाई काजमा बोलाइयो । उनी स्थानीय तह पुनर्संरचना आयोगमा पुगे । आयोग गठन भए पनि त्यहाँ कुनै काम भएको थिएन, नाम मात्रैको आयोग उनले पाए । त्यसरी बसेर हुँदैन भनेर आयोगले गर्ने काम के हो, कस्ता–कस्ता गाउँपालिका, नगरपालिका गठन गर्ने हो, कानुनले के भन्छ भनेर गएको दोस्रो दिनमै सुवेदीले प्रस्तुती दिए । त्यहाँ उनले काम गर्न खोज्ने तर अगाडि जान नसकेको स्थिति पनि पत्ता लगाए । त्यहाँ पनि उनले नेतृत्व लिएर काम सुरु गरे । बिचौलियाले आफ्नो व्यवसाय चौपट पारेको भन्दै ममाथि खनिएका थिए । बाटोमा भेट्दा मार्ने सम्मको धम्की दिएका थिए । उनको काममा त्यतिबेला केपी ओली प्रधानमन्त्री, स्थानीय विकास मन्त्री कमल थापा थिए । सुवेदीले प्रस्तुती तयार गरेका थिए । त्यतिबेला स्थानीय सरकारबारे नै सांसदहरु स्पष्ट नभएको अवस्था रहेको सुवेदीले पाए । ‘त्यतिबेला सरकार नै कति वटा भनेर स्पष्ट पार्नुपर्ने अवस्था थियो । उहाँहरुको बुझाइमा स्थानीय तह त सरकार नै होइन भन्ने बुझाइ रहेछ । संविधानमा चार ठाउँमा त स्थानीय सरकारै लेखेको छ तर सांसद्लाई यो कुरा थाहा नै थिएन,’ सुवेदीले सुनाए । स्थानीय तह पुनर्संरचना आयोगको सुरुवातीका दिनमा सुवेदीले सांसदहलाई स्पष्ट पार्ने काम गरे । सांसदहरलाई त्यो स्पष्ट गराएपछि स्थानीय विकास अधिकारीहरू र नेताहरूलाई पनि तालिम दिएपछि बल्ल ड्राफ्टिङको काम सुरु भएको सुवेदी सुनाउँछन् । त्यसपछि स्थानीय तह कुन जिल्लामा कतिवटा बनाउने विषयमा छलफल भयो । ठाउँ–ठाउँमा गएर टिम बनाएर तालिम दिन थालियो । तालिमको लागि उपसचिव, आयोगका सदस्यहरु खटिएका थिए । उनीहरुले ड्राफ्ट गरेर आइसकेछि सुवेदीको टिमले जीआईएस म्यापिङ गर्ने काम गर्थ्यो । म्यापिङ गरेर समन्वय गर्ने कामको नेतृत्व सुवेदीले नै गरे । त्यसरी त्यतिबेला सुरुमा ७४१ वटा स्थानीय तह ड्राफ्ट भयो । स्थानीय तह धेरै हुनु हुँदैन भन्ने पक्षमा थिए सुवेदी । सुवेदीको टिमले तीन सय भन्दा बढी स्थानीय तह हुनुहुँदैन भनेर सुझाव समेत दिएका थिए । तर, राजनीतिक दबाबको कारण पाँच सय वटा बनाएर पेस गरेको उनले सुनाए । पाँच सय वटा पेस गरेकोमा ७४१ पास भएर गयो । त्यसपछि पनि अन्तिममा ७५३ भएर आयो । यसरी प्रशासनिक हिसाबले यो काममा सुवेदीले सक्रिय भूमिका निभाए । त्यसपछि उनी गृह मन्त्रालय फर्किए । गृहमा फर्केपछि उनको सम्पर्क सचिव मधु रेग्मीसँग भयो । रेग्मीले नै सुवेदीलाई लोकसेवामा बोलाए । लोकसेवा सुवदीको लागि ड्रिम जब नै थियो । रेग्मीले सुवेदीलाई लोकसेवा लग्नको लागि त्यतिबेलाका अध्यक्ष उमेश मैनालीसँग पनि कुराकानी गरे । सुवेदीलाई लोकसेवा ल्याउने कुरामा मैनाली पनि सकारात्मक भए । त्यसपछि उनले सामान्य प्रशासन मन्त्रालयमा फोन हाने । यसरी तीन दिनमै सुवेदीको सरुवा लोकसेवा आयोगमा भयो । लोकसेवामा पुगेपछि सुरुमै उनलाई निर्वाचन अधिकृतको रुपमा काजमा बाग्लुङ खटाइयो । चुनाव अवधिभरको लागि । निर्वाचनको अनुभव पहिले पनि भएको हुँदा कहाँ समस्या बढी हुन्छ भन्ने कुरा उनलाई थाहा थियो । त्यसैले उनले मत गणनामै समस्या हुन्छ भनेर त्यसमा केही गर्नैपर्छ भनेर सोच बनाए । उनले फोटो खिच्ने क्यामेरा मगाए । प्रोजेक्टरको व्यवस्थापन गरे । मत गणनाको बेलामा कुनै पनि विवाद नहोस् भनेर प्रोजेक्टरमा देखाउने उद्देश्यले नै उनले यो कामको सुरु गरेको थिए । यसरी कसले कति मत ल्याए भनेर मान्छेले प्रोजेक्टरबाट सहजै हेर्न पाए । त्यतिबेला यो कामको पनि उनले प्रशंसा पाएको अनुभव सुनाउँछन् । चुनाव निष्पक्ष ढंगले सम्पन्न भएपछि उनी पुनः केन्द्रमा फर्किए । जहाँ उनले चार वर्ष बिताए । लोकसेवामा उनले विज्ञापन शाखामा रहेर काम गरे । आयोगमा पनि उनले केही नयाँ गर्ने प्रयासलाई जारी नै राखे । केही नयाँ गर्ने क्रममा उनले आयोगबाट प्रकाशन हुने वार्षिक प्रतिवेदन चित्तबुझ्दो नभएको महसुस गरे । यसलाई केही नयाँपन दिनको लागि सुवेदीले अध्यक्ष मैनालीसँग कुरा राखे । ‘वार्षिक प्रतिवेदन नेपालको निजामती सेवाको पोलिसीको लागि फिडब्याक हो । तर मैले हेर्दा त्यति मज्जाको पोलिसी फिडब्याक दिने खालको लागेन । यसलाई केही नयाँ गरौं भनेर उमेश मैनाली सरलाई भनें । यसलाई यस्तो–यस्तो खण्डमा विभाजन गर्छु र म बनाउँछु । अंग्रेजी र नेपाली दुइटैमा बनाउँछु भनेर राखेँ ।’ त्यहीअनुसार सुवेदीले विज्ञापनको पार्ट छुट्टै, परीक्षाको पार्ट छुट्टै, सिफारिसको पार्ट छुट्टै गरेर क्षेत्रगत एनालाइसिस पनि गर्ने गरी राखे । हरेक वर्ष समावेशी कोटाबाट कति आए, समावेशीकै मान्छे खुलाबाट कति आए, समावेशीकै मान्छे खुला विज्ञापनबाट कति आए लगायतलाई विस्तृत रुपमा विश्लेषण गरेर प्रतिवेदन निकाले । जुन प्रतिवेदनले अहिले पनि निरन्तरता पाएको सुवेदी सुनाउँछन् । त्यसपछि सुवेदीको पोस्टिङ भयो इलामको लोकसेवा कार्यालयमा । इलाममा केन्द्रको जस्तो कामको चाप उनलाई थिएन । खासै धेरै विज्ञापन नहुने, परीक्षा पनि धेरै लिनु नपर्ने । त्यहाँको कार्यालयको अवस्था भने अस्तव्यस्त थियो । कार्यालयको संरचना गोप्य कोठा, प्रश्नपत्र छाप्ने कोठाहरू, डिजाइन गर्ने कोठाहरू राम्रा थिएनन । सुवेदीले आफ्नै पहलमा त्यहाँको कार्यालयको संरचना नै परिवर्तन गरे । थोरै स्रोतमा कर्मचारीहरुकै सहयोग लिएर कम्युटर ल्याब बनाउनेदेखि कार्यालय परिसरलाई रङ्ग रोगन गरेर चिटिक्क पारे । नचाहेर पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा सरकारी जागिरकै क्रममा सुवेदी सिंगो नेपाल घुम्न भ्याइसकेका थिए । अब भने उनलाई सहज र कुनै स्वार्थ नभएको ठाउँमा जागिर गरेर बस्ने मन थियो । तर उनको सरुवा भयो उद्योग मन्त्रालयमा । उद्योग मन्त्रालयमा सुवेदीले हाजिर गर्न नपाउँदै तुरुन्तै सरुवा भयो कम्पनी रजिस्टर कार्यालयमा । यो विषयमा उनले सचिव कृष्ण राउतसँग गएर असन्तुष्टि समेत जनाए । भ्रष्टाचारको इपिसेन्टर भनेर चिनिएको ठाउँमा आफू गएर लड्न नचाहेकै कारण त्यहाँ जान नचाहेको उनले खुलाए । यहाँको बेथिति देखेर नै सचिवले विश्वास गरेर उनलाई यहाँ पठाएको सुवेदी बताउँछन् । त्यस्तै नयाँ सिस्टम सिएमआइएस (कर्पोरेट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम) लागू गर्नको लागि आफू यहाँ नियुक्त भएको जानकारी दिए । कम्पनी रजिस्ट्रार कार्यालयमा आएपछि सुवेदीले थाहा पाए कि यो कार्यालय न कर्मचारीको हो, नत कम्पनीको । यो कम्पनी पुरै बिचौलियाले चलाइरहेको उनले महसुस गरे । सुवेदी उपरजिस्ट्रार भएर कार्यालयमा आउँदा प्रदीप अधिकारी रजिस्ट्रार थिए । उनी यहाँ आइपुगेको १० महिना मात्रै भयो । उनले यो बीचमा २५ दिन निमित्त रजिष्ट्रारको जिम्मेवारी पनि सम्हाले । यो बीचमा उनले कम्पनीमा छाएको बेथिति र अस्वाभाविक गतिविधिलाई निकै नै नियन्त्रण गर्ने प्रयास गरेका छन् । धेरै हदसम्म उनी सफल पनि भएका छन् । सुरुमा कम्पनी छिर्दा उनले देखेको पहिलो बेथिति नयाँ सिस्टम सिएमआइएस छ । तर, काम भइरहेको छ पुरानो सिस्टमबाटै । नयाँ सिस्टम लागू नगरेर किन पुरानै बन्द गरौं र नयाँलाई लाइभ गरौं भनेर कस्सिए । सु्वेदीको लागि यो काम सल्टाउन बोलेजस्तो सहज थिएन । त्यहाँका परामर्श व्यवसायी, वकिल र बिचौलियाहरु यसको पक्षमा थिएनन् । किनभने यो प्रयोगमा आउँदा उनीहरुको व्यवसाय चौपट हुनेवाला थियो । त्यतिबेला सुवेदीलाई यो प्रणाली अहिले सुरु गर्ने कुरा नगरौँ भनेर व्यवसायी र वकिलहरू आफूकहाँ आइपुगेको सुनाउँछन् सुवेदी । कुनै पनि हालतमा यो प्रणाली सुरु गर्ने अडानमा उभिए उनी । यो कुरामा सचिवको पनि साथ भएको हुँदा उनलाई केही राहत मिलेको थियो । तर, बीचमा बाधा अवरोध सिर्जना गर्ने विरोधीहरु त थिए नै । विरोधकै बीच उनले नयाँ सिस्टम लागू गर्ने निर्णय गरे र लागू पनि भयो । नयाँ प्रणाली लागू गरेपछि समस्या कहाँ के–के छन् भन्ने कुरा पत्ता लाग्यो । सिस्टम लाइभ भएको एक महिनामा सीएमआईएसमा देखिएका समस्या पनि पत्ता लागेको र त्यसलाई समाधान गर्दै गएको सुवेदी बताउँछन् । ‘सिस्टम लाइभ नगरी समस्या कहाँ के छ थाहा हुँदैन । समस्या देखिँदै जान्छन्, समाधान गर्दै जाने हो, बीचमा समस्या देखियो, त्यसले गर्दा पनि सर्वसाधारणले काम ढिला भयो भनेर गुनासो गर्नुभयो', सुवेदीले भने । सुवेदीले एकपछि अर्को चरण गर्दै पुरानो सिस्टम बन्द गर्दै, नयाँ चलाउँदै एक महिनामा पूर्ण रुपमा नयाँ नै लागू गरेको सुनाए । ‘नयाँ सिस्टम पारदर्शी छ, यहाँ बीचका मान्छेले खेल्न पाउँदैनन् । यो सिस्टममा कुन कर्मचारी कहाँ–कहाँ गयो, कसले के गरिरहेको छ सबै थाहा हुन्छ, यसले गर्दा कम्पनीमा सुशासन कायम हुने र सेवा प्रवाह सहज हुन्छ । यो सिस्टममा सबै अटोमेटिक हुन्छ । ग्राहक कोठा–कोठा धाउनुपर्दैन, सबै अनलाइनबाटै हुन्छ,’ उनले भने । यो प्रणाली अझै प्रभावकारी ढंगबाट सञ्चालन हुन बाँकी छ । यो सञ्चालन गर्ने वित्तीकै आधाभन्दा बढी एप्लिकेशन कम हुन्छ, परिणास्वरुप चलखेल पनि कम हुने सुवेदी सुनाउँछन् । जुन काम सुवेदीले गर्न चाहे तर उनलाई कार्यालय भित्र र बाहिर दुवैतर्फबाट अवरोध सिर्जना भयो । चाहेर पनि उनले गर्न सकेनन् । बीचमा यहाँबाट घुस लिएको भन्दै भ्रष्टाचारको केस आएपछि रजिष्ट्रारसहित धेरै कर्मचारी सरुवा भए । भएका पुराना कर्मचारीको सरुवा भएपछि रजिष्ट्रार कार्यालयमा भद्रगोल सिर्जना भयो । कर्मचारी नभएपछि धेरै एप्लिकेशनहरु पेन्डिङमा बसे । नयाँ कर्मचारी ल्याएर पनि तुुरुन्तै समाधान हुने कुरा भएन । त्यही समयमा सुवेदीले निमित्त रजिस्टरको जिम्मेवारी पाए । निमित्त रजिस्ट्रारको जिमेवारी उनको अवसरसँगै चुनौती पनि उत्तिकै थियो । तैपनि उनले निडर भएर जिम्मेवारी निभाए । कर्मचारी नहुँदा थुप्रै एप्लिकेशनहरु पेन्डिङमा थिए, जसको कारण सर्वसाधारणको आक्रोस सुवेदीमाथि नै थियो । यही बेला बिचौलियाले पनि आफ्नो व्यवसाय चौपट पारेको भन्दै उनीमाथि नै खनिएका थिए । बिचौलियाहरुले आफूलाई बाटोमा भेट्दा मार्ने सम्मको धम्की दिएको सुनाउँछन् उनी । ‘जे होला त्यही टर्ला’ भनेर जोखिम मोलेर काम थालेको उनले सुनाए । सुवेदीले नयाँ कर्मचारीको माग गरे । साथसाथै उनले कर्पोरेट एक्सन रुम बनाए । नयाँ आउने कर्मचारीहरुलाई त्यही जम्मा गरेर तालिम दिन थाले । तालिमसँगै काममा लगाए । कर्मचारुलाई तालिमसँगै काममा लगाएको १४ दिनभित्रै काममा धेरै सुधार भइसकेको सुवेदीले बताए । सुवेदीका अनुसार १४ दिनमा ३ हजार एप्लिकेसनलाई सम्पन्न गरिसकेका छन् । यसले अहिले बाहिर सर्वसाधारणको भीड पनि कम हुँदै गएको अनुभव सुनाए । अहिले बाहिरबाट पनि राम्रो प्रतिक्रिया सुवेदीले पाइरहेको छन् । विगतमा सर्वसाधारणले वार्षिक विवरण हालेर यहाँ आठ/नौ दिन कोठा–कोठामा घुमेर पनि काम हुँदैन थियो । अहिले अनलाइनमार्फत आवेदन दिनेवित्तिकै चिठ्ठी पाउँछन् कम्प्युटरबाटै । वार्षिक रिपोर्ट अटो भइसकेको छ । दर्ता पछिका काम, सेयर, डिबेन्चर लगायतका कामलाई कम समयमै बनाउन सक्ने गरी काम भइरहेको सुवेदीले बताए । ‘अब कुनै कामको लागि ग्राहकले बिचौलियाको साहरा लिनु पर्दैन, सुवेदी भन्छन्, ‘एप्लिकेसन संख्या घटिसकेपछि थोरै एप्लिकेसनको लागि कर्मचारीले नगरी बस्ने कुरा हुँदैन ।’ सिएमआइएससँग सम्बन्धित ७० प्रतिशत कम सकाइसकेका छन् सुवेदीले । अब बाँकी ३० प्रतिशत काम ढिलो नगरीकनै सकाउने तयारीमा छन् उनी । बाँकी काम पनि सफल बनाएर मात्रै यहाँबाट हिड्ने योजना उनको छ । अब कम्पनी रजिस्ट्रारको कार्यालयमा धेरै नबस्ने उनको योजना छ । सरकारी जागिरबाट सन्तुष्ट सरकारी सेवाको दुई दशक यात्रामा जहाँ गए त्यहाँ उनले कहाँनिर समस्या छ त्यसलाई पहिचान गरेर सुधार गर्ने काममा अनवरत लागिरहे । आफ्नो क्षमता प्रयोग गरेर सर्भिस डेलिभरी गर्ने गरी काम गरे । बेथिति जहाँ छ, त्यो बेथितिमा कहाँ हान्न सकिन्छ ? त्यसलाई कसरी ट्रयाकमा ल्याउन सकिन्छ भन्नेमा उनको ध्यान थियो । जसको कारण आज धेरैले असल कर्मचारीको रुपमा उनलाई लिन्छन् । त्यहीअनुसार उनले सम्मान पाएका छन् । सरकारी जागिरे भएपछि धेरैले करोडौं कमाउने बुझेका हुन्छन् । तर सुवेदीले आर्थिक रुपमा नाफा नभएको सुनाए । ‘जागिरबाट जग्गा जोडेँ, तर घर भने ऋण लिएर बनाएको छु, सञ्चय कोषले दिएको ८० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ,’ सुवेदीले भने । पैसाभन्दा पनि आफूले सरकारी जागिरबाट आत्मसम्मान पाएको सुनाए । २० वर्षको जागिरे अनुभवमा सरकारी सेवामा अथाह सम्भावना देख्छन् सुवेदी । तर त्यो अथाह सम्भावनालाई कसैले प्रयोग नगरेको उनको अनुभव छ । सरकारी क्षेत्रमा भ्रष्टाचार मौलाउँदै जानुमा तल्लो तहदेखि नेतृत्व तहसम्मका कर्मचारीले सेवा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको रुपमा लिएको कारण औल्याउँछन् उनी । सरकारी जागिर पाउनको लागि मान्छेले सुरुमा जुन खालको संघर्ष र मिहिनेत गर्छन्, पाइसकेपछि भने आफूले गर्नुपर्ने कर्तव्य भुल्ने गर्छन् । सुवेदीका अनुसार १० प्रतिशत कर्मचारीले पनि जागिर पाएपछि आफूले गर्नुपर्ने काम के हो त्यो नगरेको तर्क राख्छन् । ‘अहिले मान्छेले जे पाउनको लागि दुःख गरिराछन्, यहाँ आइसकेपछि मैले दिनको लागि आएको हो भन्दैनन् । सरकारी जागिर सेवा हो भन्ने बुझेनन्, सुवेदी भन्छन् । उनका अनुसार सरकारी सेवामा आउने मान्छेले आफ्नो व्यक्तिगत फाइदाबाहेक अरु कुरालाई दिमागमा राखेनन् । केही व्यक्तिहरूले निजामती सेवालाई बिगारिरहेकोमा उनी दुःखी छन् । निजामती क्षेत्र निःस्वार्थ सेवा भएको हुँदा यसमा निःस्वार्थ लाग्नुपर्ने र मलाई के दियो भन्दा पनि मैले के दिएँ भनेर सोच्नुपर्ने उनको विचार छ । तर, कर्मचारीको त्यसतर्फ ध्यान नभएको उनको गुनासो छ । तस्बिर : नरेश बोहोरा