विकासन्युज

विद्युत् उत्पादन बढाएर मात्र हुँदैन, खपत र निर्यात पनि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । मन्त्री श्रेष्ठले गार्हस्थ्य उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् उपलब्ध गराउनेतर्फ सरकार प्रयासरत रहेको बताए । यसबाट राष्ट्रिय उत्पादन वृद्धि र उत्पादन लागत घटाउन सहयोग पुग्ने उनको भनाइ थियो । वर्षायाममा बढी हुने तथा खेर जाने विद्युत्को अधिकतम उपयोगका लागि मौसमी विद्युत् दर लागू गर्ने दिशामा समेत सरकारले पहल गरिरहेको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले विद्युत् उत्पादन बढाउने विषयसँगै उत्पादित विद्युत्बाट आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने विषयलाई अबको प्राथमिकतामा राख्नुपर्ने बताए । सरकारले आन्तरिक विद्युत् खपत वृद्धि, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र बाह्य विद्युत् बजार विस्तारलाई समानान्तर रूपमा अघि बढाइरहेको उनको भनाइ थियो । उनका अनुसार नेपालमा विद्युत् पहुँच ९७ दशमलव ६ प्रतिशत जनतासम्म पुगेको छ भने करिब ५९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवासँग जोडिएका छन् । प्रतिव्यक्ति विद्युत् खपत करिब ४६५ किलोवाट घण्टा पुगेको र नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले यी तथ्यांक विद्युत् क्षेत्रका उपलब्धि मात्र नभई नेपालमा भइरहेको आर्थिक तथा सामाजिक परिवर्तनका सूचकसमेत भएको बताए । चार दशकभन्दा लामो अवधिमा नेपाल विद्युत् प्राधिकरणले ऊर्जा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले प्राधिकरण, निजी क्षेत्र, विकास साझेदार, वित्तीय क्षेत्र तथा अन्य सरोकारवालाको सामूहिक प्रयासबाट अहिलेको उपलब्धि सम्भव भएको बताए । उत्पादन बढ्दै जाँदा त्यसअनुसार प्रसारण प्रणाली विस्तार र सुदृढ गर्न नसके उत्पादित विद्युत्को पूर्ण उपयोग सम्भव नहुने उनले स्पष्ट पारे । त्यसैले रणनीतिक महत्वका प्रसारण लाइन, सबस्टेसन, ग्रिड सुदृढीकरण तथा अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकार केन्द्रित रहेको उनले बताए । अतिरिक्त विद्युत् खेर जान नदिन उत्पादन र प्रसारण पूर्वाधारलाई सँगसँगै अघि बढाउने स्पष्ट कार्ययोजना रहेको बताउँदै मन्त्री श्रेष्ठले तेस्रो मुलुकको बजारमा विद्युत् निर्यात विस्तार गरी व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले अबको अर्को प्रमुख प्राथमिकता वितरण प्रणालीको आधुनिकीकरण हुने बताए । विगतमा विद्युत् पहुँच विस्तार प्रमुख चुनौती रहेकोमा अहिले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र अविच्छिन्न विद्युत् सेवा उपलब्ध गराउनु चुनौती बनेको उनको भनाइ थियो । पुराना तथा जीर्ण संरचनाको प्रतिस्थापन, प्रणालीको क्षमता अभिवृद्धि, स्मार्ट प्रविधिको प्रयोग, विद्युत् चुहावट नियन्त्रण, माग व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रविधिको विस्तारलाई अब विकल्प नभई आवश्यकताका रूपमा अघि बढाउनुपर्ने उनले बताए । ऊर्जा पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणको वित्तीय स्वास्थ्य र लगानी क्षमता सुदृढ गर्दै निजी तथा बाह्य पुँजी परिचालनका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । परियोजनाको प्रतिफल र जोखिमको मूल्यांकन गरी सार्वजनिक स्रोतको विवेकपूर्ण उपयोग गर्नुपर्ने उनको भनाइ थियो । प्राधिकरणलाई बलियो बनाउने नाममा एकाधिकार कायम गर्ने नभई संस्थागत क्षमता, प्रतिस्पर्धात्मक दक्षता र सार्वजनिक उत्तरदायित्वमा आधारित संस्था बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए । ऊर्जा विकासमा निजी क्षेत्रले ठूलो लगानी र जोखिम वहन गरिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको लगानी संरक्षण र प्रवद्र्धन राज्यको दायित्व भएको बताए । जलविद्युत् क्षेत्रमा लामो समयदेखि देखिएको ‘लाइसेन्स राज’ अन्त्य गरी आयोजना विकासमा निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी प्रणाली स्थापित गर्ने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे । लगानीकर्ताले नीतिगत अस्थिरताको डरमा नभई स्थिर र पूर्वानुमानयोग्य नीतिमा विश्वास गरेर लगानी गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई आधुनिक, व्यावसायिक, पारदर्शी, प्रतिस्पर्धी र वित्तीय रूपमा सुदृढ संस्थाका रूपमा विकास गर्नुपर्ने बताए । संस्थागत सुशासन, वित्तीय अनुशासन, लागत नियन्त्रण, सम्पत्तिको प्रभावकारी उपयोग, लगानी छनोट र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरे । प्राधिकरणको आर्थिक तथा प्रशासनिक अधिकारलाई क्रमशः विकेन्द्रीकरण गर्दै निर्णय प्रक्रिया छिटो, जिम्मेवारी स्पष्ट र सेवा प्रवाह प्रभावकारी बनाउने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । प्राधिकरणको संरचनागत सुधार तथा पुनर्संरचनालाई कसैको अस्तित्व कमजोर बनाउने नभई समग्र ऊर्जा क्षेत्रलाई सक्षम, प्रतिस्पर्धी र लगानीमैत्री बनाउने अवसरका रूपमा लिन उनले आग्रह गरे । विद्युत् प्राधिकरणका कर्मचारीलाई संस्थाको भविष्य र सफलताको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले कर्मचारीको इमानदारिता, दक्षता, व्यावसायिकता, सिर्जनशीलता र सेवाभावबाट संस्थाको वास्तविक सफलता मापन हुने बताए । सरकार कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धि तथा सुरक्षित र सम्मानजनक कार्य वातावरण निर्माणप्रति प्रतिबद्ध रहेको उनले बताए । उनले कर्मचारीलाई नयाँ प्रविधि र सोच आत्मसात् गर्दै परिणाममुखी काम गर्न आग्रह गरे । जनताको सेवा गर्ने जिम्मेवारीमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले अधिकारसँगै जिम्मेवारी पनि आउने विषयलाई सबैले आत्मसात् गर्नुपर्ने बताए । त्यस्तै, लामो समयदेखि विवादित विद्युत् महसुल बक्यौता असुलीको विषयलाई कानुन र विधिसम्मत ढंगले समाधान गर्न सरकार स्पष्ट रहेको उनले बताए । प्राधिकरण व्यवस्थापनले समेत बक्यौता असुलीलाई आफ्नो नियमित कार्यसूचीमा राखेर काम गरिरहेको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले विद्युत् केवल बत्ती बाल्ने साधन नभई रोजगारी, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक रूपान्तरणको आधार भएको बताए । नेपालको आर्थिक रूपान्तरणमा ऊर्जा क्षेत्र अब सहायक नभई प्रमुख खम्बाका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले उक्त खम्बालाई अझ बलियो बनाउने मुख्य जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणको काँधमा रहेको बताए ।

सेयर बजारमा साढे ५ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २६४१ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै सोलु हाइड्रोको ३८ करोड, रिडि पावरको १६ करोड, खानीखोला हाइड्रोको १५ करोड र विकास हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज सर्वोत्तम पेन्टस् र माउन्ट एभरेष्टको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

करदाता पुरस्कारको दोस्रो पाक्षिक नतिजा आज, को बन्ला भाग्यमानी ?

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार (आज) घोषणा हुने भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रमको आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरिने मन्त्रालयको सचिवालयले जनाएको छ । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ । साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता भएका छन् । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो । यता क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ । विभागका अनुसार पछिल्लो १६ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । यिनैमध्येबाट आज १६ जना विजेता छनोट गरिनेछ ।  दिनको एक जना गरी १६ जनालाई एक–एक लाख र १ जनालाई बम्परमा १० लाख रुपैयाँ दिइनेछ । आजको कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका फाइनान्स डिपार्टमेन्टकी पाण्डे र बज्रचार्य डलरसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको फाइनान्स डिपार्टमेन्टका दुई महिला कर्मचारी पक्राउ परेका छन् । आइतबार काठमाडौंबाट मलेसिया जान लागेको अवस्थामा प्रहरीले ५४ वर्षीया जननी बज्राचार्य र ३५ वर्षीया ममता पाण्डेलाई पक्राउ गरेको हो । आइतबार राति ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट विदेशी मुद्रा बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद मुद्रासहित पक्राउ व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको छ । बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गेट फेला परेको थियो ।  त्यसैगरी, पाण्डेको साथबाट  ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गेट ​​​​​​​ फेला परेको सिलवालले जानकारी दिए ।

'अदालतको आदेशविपरीत टेलिकमको वीरगञ्ज कार्यालय भत्काइयो'

काठमाडौं । नेपाल टेलिकमले उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काइएको भन्दै आपत्ति जनाएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल नगर्न/नगराउन दिएको अल्पकालीन अन्तरिम आदेशकै बीच सडक डिभिजन कार्यालय हेटौंडाले घण्टाघरनजिक रहेको दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाई साउन २८ गते रिट निवेदन दायर गरेकी थिइन् । त्यसपछि अदालतले साउन २९ गते मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ०८३–डब्लू–००८५ नम्बरको मुद्दामा अदालतले विपक्षीलाई मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भन्ने विषयमा प्रमाणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । म्याद तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत भनिएको थियो । तर, आदेशपछि पनि सडक डिभिजन कार्यालय हेटौंडाले दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको टेलिकमको आरोप छ । टेलिकमका अनुसार नापी विभागबाट तय गरिएको नक्सांकनभन्दा फरक हुने गरी साउन ३० र ३१ गते दुईवटा स्काभेटर प्रयोग गरेर भवन भत्काइएको हो । अदालतले भदौ ४ गते अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि पेसी तोकेको थियो । साथै, आदेशको जानकारी विपक्षीलाई यथाशीघ्र गराउन निर्देशनसमेत दिएको टेलिकमले जनाएको छ । स्वीकृत मापदण्डभित्र रहेर भवनको संरचना पुनर्निर्माण गर्न आफू प्रतिबद्ध रहेको अवस्थामा एकपक्षीय रूपमा भवन भत्काइएको भन्दै नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ । कम्पनीले आगामी दिनमा सम्बन्धित निकायबाट थप समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको कार्यशैली, सरकारका निर्णय तथा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने माग गरेपछि सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन् । सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदहरूले उठाएका जिज्ञासा सम्बोधन गर्न निर्देशन दिएका छन् ।  उनले प्रतिनिधिसभाप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक तथा संसदीय व्यवस्थाअनुसार प्रधानमन्त्रीको उपस्थितिलाई महत्त्वपूर्ण रहेको स्पष्ट गरेका छन् ।

सिमेन्ट उद्योगको ३१.३६ अर्बको कारोबार, नाफा २.२६ अर्ब मात्रै

काठमाडौं । पुँजी बजारमा सूचीकृत पाँच सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब २६ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यी उद्योगहरूको नाफा १५.१० प्रतिशत अर्थात् २९ करोड ७८ लाख रुपैयाँले बढेको हो ।  शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्रिज, सोनापुर मिनरल्स एन्ड आयल, सर्वोत्तम सिमेन्ट र पाल्पा सिमेन्टले उक्त नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी उद्योगहरूले १ अर्ब ९७ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यद्यपि, गत आर्थिक वर्षमा पाँचमध्ये घोराही सिमेन्ट भने घाटामा रहेको देखिएको छ । पाँचवटै सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा ३१ अर्ब ३६ करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी उद्योगहरूको कुल कारोबार २९ अर्ब ६ करोड ६१ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा उद्योगहरूको आम्दानी ७.९० प्रतिशत अर्थात् २ अर्ब २९ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, सिमेन्ट उद्योगहरूको उत्पादन लागत (कस्ट अफ सेल्स) पनि बढेको छ । गत आर्थिक वर्षमा पाँचवटै उद्योगको कस्ट अफ सेल्स ६.१० प्रतिशतले वृद्धि भएर २३ अर्ब ९८ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो लागत २२ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको थियो । सर्वोत्तम सिमेन्टले गत वर्ष १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ ।  यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ । शिवम् सिमेन्टले गत वर्ष ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी घटेका कारण नाफा पनि घटेको देखिन्छ । अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ३२ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ६ अर्ब ३ करोड ९८ लाख ३२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ७२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रुपैयाँमा झरेको छ ।  यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १३ करोड ३२ लाख १३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २६ करोड ६० लाख ८९ हजार रुपैयाँ प्रशासनिक खर्च, ५३ करोड ११ लाख १५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८० करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २६ करोड ७१ लाख ९ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ५३ लाख ५४ हजार रुपैयाँ विक्री वितरण खर्च र ९३ करोड १६ लाख ४० हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ९६ करोड ४३ लाख ३७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ । घोराही सिमेन्ट इण्डष्ट्रिजले गत वर्ष ३० करोड ८० लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो वर्ष कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नोक्सानी घटेको हो ।  अघिल्लो वर्ष ४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब ३ करोड ५२ लाख रुपैयाँ थियो ।  अघिल्लो वर्ष ७१ करोड ४४ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब १३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ४७.७९ प्रतिशत घटेको छ भने प्रशासनिक खर्च २१.०७ प्रतिशत घटेको छ ।  ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.१३ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १६५.७२ रुपैयाँ रहेको छ । सोनापुर मिनिरल्स एण्ड आयलले गत वर्ष ३३ करोड ७१ लाख ४७ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  अघिल्लो वर्ष २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स १ अर्ब ८९ करोड रुपैयाँ थियो ।  अघिल्लो वर्ष ७० करोड १३ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।  ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.९६रुपैयाँ र प्रतिसेयर नेटवर्थ २००.८१ रुपैयाँ रहेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको खुद नाफा ५९ प्रतिशत घटेर ३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको सञ्चालन आम्दानी १५.९० प्रतिशत बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ११ करोड रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १० करोड रुपैयाँ थियो ।  अघिल्लो वर्ष १ अर्ब ८१ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर ७७ करोठ ३४ लाख रुपैयाँमा सीमित भएको छ ।  ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.१५ रुपैयाँ रहेको छ ।

किशोर श्रेष्ठलाई चार दिन म्याद थप

काठमाडौं । किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। अदालतले श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धानका लागि म्याद थपको माग गर्दै श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराएको थियो।  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले श्रेष्ठलाई गत बुधबार पक्राउ गरेको थियो।  श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा अनुसन्धान भइरहेको छ। श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा पनि आजै सुनुवाइ हुँदैछ। श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन् ।