फेरारीको ईभीलाई ६११ करोड रुपैयाँ , लिलामीमा नयाँ कीर्तिमान
काठमाडौं । फेरारीको पहिलो पूर्ण विद्युतीय कार एक च्यारिटीका लागि आयोजित लिलामीमा ४ करोड अमेरिकी डलर अर्थात् करिब ६११ करोड रुपैयाँमा बिक्री भएको छ । यससँगै यो कार लिलामीमा बिक्री भएको नयाँ कारमध्ये अहिलेसम्मकै सबैभन्दा महँगो बनेर नयाँ कीर्तिमान कायम गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको लिलामीमा ‘फेरारी लूचे’ नामको यो कार सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढी रकममा बिक्री भएको हो । लिलामी आयोजकका अनुसार यो कार ‘पहिलो प्रोडक्सन चेसिस’ हो । यसमा विशेष फिनिसका साथै विभिन्न कस्टम पाट्र्स जडान गरिएको छ । लूचेको डिजाइन एप्पलका आईफोनका चर्चित डिजाइनर सर जोनी आइभको अवधारणाबाट विकसित भएको मानिन्छ । मे महिनामा सार्वजनिक गरिएपछि भने कारले केही आलोचना पनि खेपेको थियो । आलोचकहरूले यसको डिजाइन फेरारीको परम्परागत शैलीभन्दा फरक भएको बताएका थिए । त्यस्तै, ब्याट्रीबाट चल्ने र पाँच सिट भएको कार निर्माण गरेर फेरारीले आफ्नो परम्परागत पहिचान गुमाएको टिप्पणी पनि भएको थियो । आयोजकका अनुसार लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमका लागि दान गरिनेछ । यो विशेष कस्टम लूचे खरिद गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन । लूचेको सार्वजनिक प्रस्तुति पछिल्ला वर्षहरूमा नयाँ कारको सबैभन्दा चर्चित लन्चमध्ये एक मानिएको थियो । तर यसको सार्वजनिक प्रस्तुतिको भोलिपल्ट फेरारीको सेयर मूल्यमा गिरावट आएको थियो । कारको डिजाइनलाई लिएर भएको आलोचनालाई पनि सेयर बजारमा आएको गिरावटको एउटा कारण मानिएको थियो । कारको आलोचना गर्नेमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी तथा फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलोसमेत थिए । मोन्टेजेमोलोले लूचेले फेरारीको ‘किंवदन्ती’ नै समाप्त हुने जोखिम निम्त्याएको टिप्पणी गरेका थिए । फेरारीका प्रमुख डिजाइन अधिकृत फ्लाभियो मान्जोनीले भने आलोचना नवप्रवर्तनको प्रक्रियाकै हिस्सा भएको बताएका थिए । उनले समयसँगै मानिसहरूले लूचेलाई मन पराउने विश्वास व्यक्त गरेका थिए । फेरारीले लूचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन । यद्यपि, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार चीनमा बलियो माग रहेकाले फेरारीले यस वर्षको आफ्नो बिक्री लक्ष्य लन्च भएको पहिलो सातामै पूरा गरिसकेको छ । लिलामीकर्ताले यो कारलाई लूचेको पहिलो प्रोडक्सन कार खरिद गर्ने ‘अद्वितीय अवसर’का रूपमा प्रस्तुत गरेको थियो । कारमा विशेष डिजाइनका पाङ्ग्रा, कस्टमाइज्ड ब्रेक तथा सेतो रंगको विशेष फिनिस दिइएको छ । फेरारीका कारहरूले विश्वका विभिन्न कार लिलामीमा प्रायः उच्च मूल्य हासिल गर्दै आएका छन् । यद्यपि, लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो कारको कीर्तिमान भने १९५५ मा बनेको मर्सिडिज–बेन्ज ३०० एसएलआर उलेनहाउट कूपको नाममा छ । उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो ।
बुढीगण्डकी आयोजनाको स्थलगत अनुगमनमा गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन् । गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका कामबारे बुझेका हुन् । गृहमन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको अनुगमन गर्दै आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयलाई नजिकबाट बुझ्ने प्रयास गरेका छन् ।
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउन अध्ययन कार्यदल गठन
काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको हो । कार्यदलले वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवालयले जनाएको छ । मन्त्रालयले गठन गरेको कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी दिइएको छ । कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) श्रीकान्त यादव र सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि रहेका छन् । कार्यदलले केवल कारखाना सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा मात्र अध्ययन गर्ने छैन । वीरगञ्ज चिनी कारखानासम्बन्धी यसअघि भएका निर्णय तथा गठन भएका कार्यदलले पेश गरेका प्रतिवेदनका सुझाव र सिफारिसको अध्ययन गर्ने, कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था विश्लेषण गर्ने र कारखानामा रहेका समस्याको पहिचान गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ । त्यस्तै, कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोग गर्न सकिने अवस्था अध्ययन गरिनेछ । पुराना संरचना तथा मेसिनरीलाई प्रयोग गरेर कारखाना पुनः सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि र संरचना आवश्यक पर्ने भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्नेछ । यससँगै वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गरिने भएको छ । सम्पत्तिसँग जोडिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
काठमाडौं । नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ११० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ११० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
इन्फिनिटी लघुवित्तका १२० फिल्ड सहायकलाई क्षमता अभिवृद्धि तालिम
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक कर्मचारीको क्षमता अभिवृद्धि गर्दै भविष्यका नेतृत्वकर्ता तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सौराहस्थित पार्क सफारी रिसोर्टमा साउन ३० गते आयोजित कार्यक्रममा संस्थाका १०२ वटै शाखामा कार्यरत १२० जना फिल्ड सहायक सहभागी थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सेयरधनी दिनेश अधिकारी प्रमुख अतिथि तथा नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सञ्चालन नायव प्रबन्धक कृष्ण खनालले गरेका थिए । कार्यक्रममा फिल्ड सहायकको ज्ञान, सीप, नेतृत्व क्षमता, निर्णय क्षमता तथा व्यावसायिक सोच विकासमा जोड दिइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश अधिकारीले फिल्ड सहायक संस्था र सदस्यबीच प्रत्यक्ष सम्पर्कमा रहने महत्वपूर्ण जनशक्ति भएकाले आफूलाई समयानुकूल सक्षम बनाउँदै लैजान आग्रह गरे । प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीमार्फत संस्थालाई थप सशक्त बनाउन कर्मचारीलाई प्रेरित गरे । उनले क्षमतावान कर्मचारीलाई संस्थाभित्रै विकास गरी नेतृत्वको अवसर प्रदान गर्ने नीति रहेको बताए । नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले भावी नेतृत्वकर्ता बन्न फिल्ड सहायकले निरन्तर सिकाइ, सकारात्मक सोच, प्रभावकारी सञ्चार, समस्या समाधान तथा नेतृत्वदायी व्यवहारमा आफूलाई विकास गर्नुपर्ने बताए । तालिममा जोखिम तथा असुली विभाग प्रमुख कृष्ण खनाल, कर्जा विभाग प्रमुख अमरनाथ सेढाई, अनुगमन विभाग प्रमुख कुशल खनाल, वित्त तथा सञ्चालन विभाग प्रमुख रितु बानियाँ, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख दीपक न्यौपाने, जनशक्ति विभाग प्रमुख प्रकाश श्रेष्ठ तथा आईटी विभागबाट रक्षा गौतमले विषयगत प्रशिक्षण दिएका थिए । ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासको आदान–प्रदानले सहभागीको व्यावसायिक क्षमता र नेतृत्वदायी सोच विकासमा सहयोग पुगेको संस्थाले जनाएको छ । फिल्ड सहायकको क्षमता विकासलाई चरणबद्ध रूपमा अघि बढाउने योजनाअनुसार यो पहिलो चरणको कार्यक्रम रहेको संस्थाले जनाएको छ । आगामी चरणमा बाँकी फिल्ड सहायकलाई समेत समेटेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
ललितपुरमा आजदेखि चिकित्सकसहितको एम्बुलेन्स सेवा
काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्याउँदा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउने उद्देश्यले महानगरले सेवा सुरु गरेको हो । सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गरिन् । मन्त्री मेहताले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय कामको सुरुवात गरेको बताइन् । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै उनले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सके गम्भीर क्षति रोक्न सकिने बताइन् । ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्न सक्ने भन्दै उनले महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाइन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताए । यस्तो सेवा विश्वका सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गर्दै उनले यसबाट अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन सहज हुने बताए । उनका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जनाले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उनले जानकारी दिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा सञ्चालन गर्ने अवधारणा अघि बढाइएको बताए । महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक बजेट व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा विशेषगरी आपत्कालीन अवस्थाका बिरामीमा केन्द्रित हुनेछ । चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पतालमा पुर्याउने व्यवस्था गरिएको छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको महानगरपालिकाले जनाएको छ । महानगर प्रमुख महर्जनले सेवा सञ्चालनका क्रममा देखिने समस्या र कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने बताए । उनले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन आफैँमा चुनौतीपूर्ण भए पनि काम गर्दै सिक्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । एम्बुलेन्स सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ । सम्झौताअनुसार एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्नेछ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको नगरप्रमुख महर्जनले बताए ।
वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । संघले वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयमा राख्दै आएको १५ बुँदे मागलाई लिएर सञ्चालन गरेको दबावमूलक कार्यक्रम अन्त्य भएका हुन् । संघले साउन २२ गतेदेखि विभिन्न १५ बुँदे माग राखी ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री र सचिवको सहभागितामा संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीसँग छलफल भएको थियो । छलफलमा संघले राखेका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ । त्यस्तै, व्यवसायीका अन्य माग तथा समस्याका सम्बन्धमा कानुनबमोजिम थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने मन्त्रालयले उल्लेख गरेको छ । विभागबाट समाधान हुन नसकेका विषयमा प्रचलित कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको पनि छलफलमा स्पष्ट पारिएको छ । छलफलपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजै देखि आफ्ना सम्पूर्ण दबाव मूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा पनि तत्काल कार्यान्वयन नगर्ने भएको छ ।
नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् । दुवैजना आइतबार साँझ काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले धेरै विदेशी मुद्रा ल्याएकाले पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार जम्मा ५ हजार डलरसम्म मात्र ल्याउन पाइन्छ । ५ हजारभन्दा धेरै रकम देखिएकाले उनीहरू पक्राउ परेका हुन् । उनले केहीबेरमा यसबारे जानकारी दिए पनि बताए । प्रहरीले दुवै कर्मचारीको विवरण भने खुलाएको छैन ।