लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यसूची छ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन् । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गरेपछि उठेका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन्। त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार जोगाउन मुख्यमन्त्री आचार्यलाई कम्तीमा ४२ सदस्यको समर्थन आवश्यक छ। कांग्रेसको समर्थन फिर्तापछि उत्पन्न राजनीतिक समीकरणबीच मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाउने प्रयास तीव्र पारेका छन् । विश्वासको मत लिनुअघि आइतबार राति एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेकपाका प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ तथा पूर्वमुख्यमन्त्री एवं संसदीय दलका नेता जोखबहादुर महरासहितका नेताहरूले मुख्यमन्त्री आचार्यसँग छलफल गरेका थिए । छलफलमा साना दल तथा स्वतन्त्र सांसदहरूको समर्थन जुटाउने र विश्वासको मतपछि सरकार सञ्चालनलाई प्रभावकारी बनाउने रणनीतिबारे छलफल भएको थियो । नेताहरूले मुख्यमन्त्री आचार्यलाई आवश्यक समर्थन जुटाउन केन्द्रित भएर अघि बढ्न निर्देशन दिएका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने दाबी गर्दै आएका छन् । यद्यपि, कांग्रेसको समर्थन फिर्तापछि प्रदेशमा बनेको नयाँ राजनीतिक समीकरणका कारण आजको मतदानलाई सरकारको भविष्य निर्धारण गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । विश्वासको मतसम्बन्धी प्रस्ताव पारित भए आचार्य नेतृत्वको सरकार तत्काल कायम रहनेछ । प्रस्ताव असफल भए भने लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ
काठमाडौं । वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो । यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार आज उनको हिरासत र पक्राउको कानुनी आधारबारे अदालतमा सुनुवाइ हुने भएको हो । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनकी पत्नी सरस्वतीले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल अदालतमा उपस्थित गराई थुनामुक्त गर्न माग गरिएको छ । आजको सुनुवाइबाट श्रेष्ठको हिरासतलाई निरन्तरता दिने वा थुनामुक्त गर्नेबारे अदालतबाट आदेश आउन सक्नेछ । श्रेष्ठको पक्राउ र त्यसपछि दायर भएको बन्दी प्रत्यक्षीकरण निवेदनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कोणबाट समेत चासोका साथ हेरिएको छ ।
देशभर नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड
काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व नागपञ्चमी आज देशभर परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ । नागपोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको उल्लेख्य भीड लागेको छ । धार्मिक विश्वासअनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषिप्रधान मुलुकमा यस पर्वको विशेष महत्व रहिआएको छ । आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्निभय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ ।
एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको भन्दै पार्टीभित्रको एकता कायम राखेर उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई आह्वान गरेका छन् । झापामा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै कार्यकर्तामा निहित रहेको बताए । संकटका बेला एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले विरोधी शक्तिलाई फाइदा पुग्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिए । पार्टी नेतृत्व परिवर्तनको माग उठिरहेको विषयतर्फ संकेत गर्दै ओलीले त्यसलाई ‘व्यर्थको प्रयास’ को संज्ञा दिए । कार्यकर्ता पंक्ति वर्तमान नेतृत्वको साथमा रहेको दाबी गर्दै उनले नेतृत्व परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरे । उनले वर्तमान राजनीतिक परिस्थितिमा एमालेले मुख्यतः दुईवटा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । देशमा देखिएको प्रतिगमन सच्याउँदै लोकतन्त्र र शान्ति–सुव्यवस्था कायम गर्नु तथा विकासको अभियानलाई अघि बढाउनु पार्टीको प्राथमिकता रहेको उनको भनाइ छ । ‘नेकपा एमाले कायर पार्टी होइन । पार्टी भनेको तपाईं–हामी नै हौँ । यस्तो बेलामा पार्टी फुटेर, कोही यता फर्केर, कोही उता फर्केर एकले अर्काको खुट्टा तान्न थालेर हामी विरोधीसँग लड्न सक्छौँ र ? हामी एकताबद्ध हुनुपर्छ,’ ओलीले भने । ओलीले अहिले पार्टीभित्रको विवादमा अल्झिनुभन्दा प्रतिक्रियावादी शक्तिविरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै देशलाई विकासको बाटोमा अघि बढाउन पार्टी पंक्ति तयार रहनुपर्ने उनको भनाइ छ । राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि प्रतिक्रियावादी शक्तिविरुद्ध दृढताका साथ लड्न पार्टी पंक्तिलाई तयारी अवस्थामा रहनसमेत अध्यक्ष ओलीले निर्देशन दिए ।
विदेशमा सिकेको सीप स्वदेशमै लगानी गरौँः चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । नेपाल-कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक र सांस्कृतिकसँगै आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको बताए । हजारौं नेपाली युवाले कोरियामा काम गरी हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेको उनले औंल्याए । कोरियाले ६० वर्षअघि गरिबीबाट औद्योगिक शक्तिमा फड्को मार्दा अपनाएको अनुशासित कार्य संस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन र सरकार-निजी क्षेत्रबीचको समन्वय जस्ता पाठ नेपालमा पनि लागू हुन सक्ने उनको भनाइ छ । रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सकेमा नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्ने उनले बताए । जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि लगायत साना-मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानी सम्भावना रहेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले भारत-चीनसँगको भौगोलिक निकटता र सुध्रिँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा स्थापित हुने अवसर दिएको बताए । लगानीमैत्री नीति र एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यो अभियान थप तीव्र पारिनुपर्ने आवश्यकता उनले औंल्याए । देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उनले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि उक्त कम्पनीले लगानी साझेदार बन्ने र सानो पुँजी भएकाहरूका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सकिने बताए । रिटर्नी उद्यमी-व्यवसायीसँग रहेको प्रविधिक सीप, कार्य संस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रलाई सबैभन्दा बढी आवश्यक रहेको बताउँदै स्वदेशमा उद्यम स्थापनाका क्रममा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको नियमित संवादबाट हटाउन सकिने उनको भनाइ छ । अन्त्यमा उनले रिटर्नी उद्यमीहरूको लगानी र सीपले स्वदेशमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ अध्याय लेख्ने कामना गर्दै एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट सधैं साथ रहने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, दूतावासका कर्मचारीहरू, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्ट लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कुमारी क्यापिटलको १२.२५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १२.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १२.२५ प्रतिशतका दरले करसहित ४ करोड ९० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्नका लागि कम्पनीले भदौ २४ गते कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नागपोखरी काठमाडौंमा साँझ साढे ५ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
एकै वर्ष २३ नयाँ हाइड्रो सञ्चालनमा, राष्ट्रिय प्रणालीमा थपियो ५२९ मेगावाट
काठमाडौं । गत वर्ष २३ वटा नयाँ आयोजना सञ्चालनमा आएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा स्वतन्त्र विद्युत उत्पादकहरूले विकास गरेका २३ वटा नयाँ आयोजना सञ्चालनमा आएका हुन् । साथै ती आयोजनाबाट ५२८.९९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको प्राधिकरणले जनाएको छ । यससँगै सञ्चालनमा रहेका निजी क्षेत्रका विद्युत आयोजनाको संख्या २२७ पुगेको छ भने ती आयोजनाको कुल जडित क्षमता ३ हजार ४५९ मेगावाट पुगेको छ । प्राधिकरणका अनुसार हाल ६ हजार ४७२.२१ मेगावाट जडित क्षमता भएका २१३ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, २ हजार २०० मेगावाटभन्दा बढी क्षमता भएका १०५ वटा आयोजना विकासका विभिन्न चरणमा रहेका छन् । विद्युत प्राधिकरणले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ५४ वटा नयाँ विद्युत खरिद सम्झौता गरेको छ । तीमध्ये पाँच वटा जलविद्युत आयोजनाबाट २८.६ मेगावाट र ४९ वटा सौर्य आयोजनाबाट ६७५ मेगावाट विद्युत खरिदका लागि सम्झौता गरिएको छ । यससँगै स्वतन्त्र विद्युत उत्पादकसँग गरिएको कुल विद्युत खरिद सम्झौताको संख्या ५४५ पुगेको छ भने कुल सम्झौताबद्ध क्षमता १२ हजार १३५ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । ऊर्जा उत्पादनमा निजी क्षेत्रको बढ्दो सहभागितालाई मध्यनजर गर्दै प्राधिकरणले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई बीओओटी (बिल्ड, ओन, अपरेट एन्ड ट्रान्सफर) मोडलमार्फत सहभागी गराउने नीति अघि सारेको छ । यसअन्तर्गत सरकारले स्वीकृत गरेको शुल्कमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र (टीबीसीबी) ढाँचाअनुसार चार वटा प्रसारण लाइन आयोजना निर्माणका लागि इच्छुक सेवा प्रदायकबाट आशयपत्र प्राप्त भई मूल्याङ्कनको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्सले २४ आना घरजग्गा किन्दै
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय तथा व्यावसायिक प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र घरजग्गा तथा जग्गा खरिद गर्न लागेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणद्वारा जारी ’बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशन, २०८२’ बमोजिम घरजग्गा खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । कम्पनीका अनुसार खरिद गरिने घरजग्गा मुख्य व्यावसायिक तथा कार्यालय क्षेत्रमा अवस्थित हुनुपर्नेछ । घरसहित वा घररहित जग्गाको क्षेत्रफल कम्तीमा २४ आना हुनुपर्ने तथा कम्तीमा २० फिट फराकिलो सडक वा पहुँच मार्गसँग जोडिएको हुनुपर्ने शर्त राखिएको छ । बिक्री प्रस्ताव पेस गर्ने व्यक्ति वा संस्थाले घरजग्गाको स्पष्ट अवस्थिति खुल्ने नक्सा, जग्गाधनी प्रमाण पुर्जा, नापनक्सा, चारकिल्ला प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, सम्पत्ति कर चुक्ता रसिदलगायतका कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । घर निर्माण भइसकेको अवस्थामा निर्माण सम्पन्न प्रमाणपत्र र निर्माणाधीन अवस्थामा स्वीकृत भवन निर्माण इजाजतपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । संस्थागत जग्गाधनीका हकमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अख्तियारनामा तथा अन्य आवश्यक कागजातसमेत पेस गर्नुपर्नेछ । कम्पनीले प्रस्तावित घरजग्गामा कुनै प्रकारको कानुनी विवाद, मुद्दा वा स्वार्थको द्वन्द्व नरहेको स्वघोषणा पनि अनिवार्य गरेको छ । इच्छुक व्यक्ति तथा संस्थाले २१ दिनभित्र शिलबन्दी प्रस्ताव कम्पनीको प्रधान कार्यालयस्थित खरिद इकाईमा पेस गर्नुपर्नेछ ।