आज बस्दै संसद्का दुवै सदनका बैठक, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । उनले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, राष्ट्रिय सभाको बैठक अपरान्ह १:१५ बजे बस्नेछ । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ५० प्रतिशतका दरले १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २६ गते बिहान ९ बजे थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा १०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
प्राधिकरणको आम्दानी १.६६ खर्ब रुपैयाँ, कुल नाफा ३१ अर्ब नाघ्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत वर्ष डेढ खर्ब रुपैयाँ बढी कुल आम्दानी गरेको छ । प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको हो । कुल आम्दानीमध्ये विद्युत बिक्रीबाट मात्र प्राप्त आय आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ भएको छ । प्राधिकरणले समग्र कार्यसम्पादनमा गरेको सुधार, विद्युत चुहावटको न्यूनीकरण, विद्युत निर्यातमा भएको वृद्धि समेतका कारण कुल नाफा गत वर्षको तुलनामा १३. १७ प्रतिशतले वृद्धि भई ३१ अर्ब २३ करोड रुपैयाँ भएको छ भने कुल सञ्चालन मुनाफा गत वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि भई २४ अर्ब ८१ करोड रुपैयाँ भएको श्रेष्ठले बताए । कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार विदेशी विनिमय दर वृद्धिका कारण संस्थाले व्यहोर्नुपर्ने दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा २७२.८६ प्रतिशतले वृद्धि भई ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको र ह्रासकट्टी तथा ब्याज खर्चमा भएको वृद्धि, इम्पेयरमेन्ट नोक्सानी (खर्च) का लागि गरिएको व्यवस्था समेतका कारण अघिल्लो वर्षको तुलनामा खुद नाफामा केही कमी भई गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको कर अघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँ हुन गएको छ । निर्माणाधीन पुँजीगत कार्यमा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ । यस अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुँजीकरण भएको छ । प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले वृद्धि भई ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा अवकाश कोषको कुल मौज्दात १० अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेकोमा सो रकम नेपाल सरकारको निर्देशन र प्रचलित कानून बमोजिम अवकाश कोष सञ्चालन गर्ने निकायमा हस्तान्तरण गरिएको छ । सरकारी अनुदान, सडकबत्ती बक्यौता र डेडिकेटेड तथा ट्रक लाइन बक्यौता बाहेक प्राधिकरणको औसत सङ्कलन अवधि ४४ दिन रहेको छ । ५ एम्पियरका करिब २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई कुल २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत प्राधिकरणले निःशुल्क उपलब्ध गराएको छ । प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९.६८ रुपैयाँ रहेको छ । प्रति ग्राहक औसत बिक्री १ हजार ९७८ युनिटबाट वृद्धि भई २ हजार ८८ युनिट पुगेको छ भने अनलाइन भुक्तानीमार्फत महसुल सङ्कलन ३४ अर्ब ३३ करोडबाट वृद्धि भई ४० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ८१ करोड घाटा हुने अनुमान
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१ गते) बसेको बैठकले सोमबार (भदौ १ गते) देखि लागू हुने गरी इन्धनको हालकै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो । मूल्य यथावत् राखिए पनि निगमलाई पाक्षिक (१५ दिन) रूपमा करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने जनाइएको छ । यसअघि निगमले साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको थियो । हाल कायम मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वर्गीकरण अनुसार फरक–फरक तोकिएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ रहेको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा विभाजन गरी मूल्य समायोजन गर्दै आएको छ ।
भदौ १ गतेदेखि डिलरबाटै ग्यास बिक्री हुने, निगमद्वारा पाँचबुँदे निर्देशन जारी
काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १ गते) सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार सम्बन्धित उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेताहरूबाटै हुने जनाएको छ । निगमले आइतबार एक सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने बिक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न अपिल गरेको हो । ग्यास वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले पाँचबुँदे निर्देशन समेत जारी गरेको छ । जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेताको विवरण, ठेगाना र सिलिण्डर संख्या बिहान ९ बजेभित्र निगमलाई बुझाउनुपर्नेछ भने बिक्रेताहरूले पनि बिक्री भएको परिमाण र उपभोक्ताको विवरण दैनिक रूपमा उद्योग र निगमलाई उपलब्ध गराउनुपर्नेछ । निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ । ढुवानी र वितरणमा सुरक्षा सहजीकरणका लागि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमको संयुक्त टोलीले बजार अनुगमन गर्नेछ । यदि नजिकैको बिक्रेताबाट ग्यास नपाएमा तत्काल अति आवश्यक परेका उपभोक्ताका लागि निगमको क्विक रेस्पोन्स टिमका मोबाइल नम्बरहरू ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
नाइमा एक्स्पोमा २० अर्ब मूल्यका सवारीसाधन बुकिङ, बीवाईडी र टाटा अग्रस्थानमा
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सकिएको छ । करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेको उक्त एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए । मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधनको बुकिङ उत्साहजनक रहेपछि अटोमोबाइल व्यवसायीहरूले केक काटेर र सेलिब्रेसन गर्दै खुसी व्यक्त गरेका छन् । आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ५ हजार ५०० चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे गरी कुल साढे ७ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् । बुकिङ भएका सम्पूर्ण गाडी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । यस पटकको प्रदर्शनीमा १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका सवारीसाधन राखिएकोमा विशेष गरी ३० देखि ३५ लाख रुपैयाँ मूल्यका इन्ट्री लेभल र विद्युतीय सवारी (ईभी) हरूमा ग्राहकको अत्यधिक आकर्षण देखिएको छ । चारपांग्रेतर्फ सबैभन्दा बढी बुकिङ हुनेमा बीवाईडी (१ हजारभन्दा बढी), टाटा र चेरी (७ सयभन्दा बढी), किया (७ सयभन्दा बढी), वुलिङ (४ सय ४३), आईकार (४ सय २१), र ओमोडा जेको (३५०) लगायतका ब्रान्डहरू रहेका छन् । त्यस्तै दुईपांग्रेतर्फ एथर, सीएक्स मोटो, याडिया, सीएफ मोटो, ट्राइम्फ र रोयल इन्फिल्डको बुकिङ अग्रस्थानमा रहेको नाइमाले जनाएको छ ।
युवाको वैदेशिक रोजगारीलाई बाध्यता होइन रोजाइ बनाउन शिक्षा र उद्योग जोड्न सरोकारवालाको जोड
काठमाडौं । नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने: प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयमा आयोजित संवादमा उनीहरूले यस्तो बताएका हुन् । उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताइन् । नेपालमै उद्योग, सूचना प्रविधि, होटल, अटोमोबाइललगायत क्षेत्रमा पर्याप्त सम्भावना भए पनि नीतिगत जटिलता र अवसरको कमीका कारण युवा विदेशिन बाध्य भएको उनको भनाइ छ । उनले युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले मिलेर रोजगारी तथा उद्यमशीलतामैत्री वातावरण बनाउनुपर्ने बताइन् । व्यवसाय सुरु गर्न दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको सुझाव छ । नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी ५ देखि १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताए । त्यसका लागि एसेम्ब्ली उद्योगसँगै पार्टपुर्जा र कम्पोनेन्टको स्थानीय उत्पादन तथा आपूर्ति शृंखला विकास गर्नुपर्ने उनको भनाइ छ । उनले शिक्षा क्षेत्र र निजी क्षेत्रबीच ठूलो खाडल रहेको बताउँदै उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रले ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै उद्यमी र लगानीप्रतिको विश्वास तथा सुरक्षाको वातावरण बनाउन सके अर्थतन्त्रले गति लिने उनले बताए । थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थीले भोलिपल्टदेखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने अवस्था नहुने बताए । विश्वविद्यालयले सैद्धान्तिक आधार बलियो बनाउने भएकाले उद्योगमा आवश्यक व्यावहारिक सीपका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रणालीलाई उद्योगसँग जोड्नुपर्ने बताए । विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानी बढाउनुपर्ने उनको सुझाव छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर युवालाई निराश बनाउन नहुने बताइन् । नेपालमै शिक्षा, सीप र रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी-व्यवसायीसँग छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउँदै अहिले बनेका उद्यमशीलता तथा स्वरोजगारसम्बन्धी नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइन् । निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । संवादमा सहभागी चारै जना वक्ताले शिक्षा र रोजगारीबीचको दूरी घटाउन उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपालमा अवसर सिर्जना गर्न सके दक्ष युवा विदेशिने क्रम घटाउन सकिने र विदेशिएका युवालाई समेत स्वदेश फर्कने वातावरण बनाउन सकिने धारणा राखेका छन् ।
स्वास्थ्य मन्त्री मेहताले गरिन् भारदह अस्पतालको निरीक्षण
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गगरेकी छन् । निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन् । मन्त्री मेहताले अस्पतालको इमर्जेन्सी वार्ड र एक्स-रे मेसिनलाई तत्काल नयाँ भवनमा सार्न निर्देशन दिइन् । बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन तत्काल मिलाउन उहाँले अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् । निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।