विकासन्युज

भदौ १ गतेदेखि डिलरबाटै ग्यास बिक्री हुने, निगमद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १ गते) सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार सम्बन्धित उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेताहरूबाटै हुने जनाएको छ ।  निगमले आइतबार एक सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने बिक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न अपिल गरेको हो ।  ग्यास वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले पाँचबुँदे निर्देशन समेत जारी गरेको छ । जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेताको विवरण, ठेगाना र सिलिण्डर संख्या बिहान ९ बजेभित्र निगमलाई बुझाउनुपर्नेछ भने बिक्रेताहरूले पनि बिक्री भएको परिमाण र उपभोक्ताको विवरण दैनिक रूपमा उद्योग र निगमलाई उपलब्ध गराउनुपर्नेछ । निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ । ढुवानी र वितरणमा सुरक्षा सहजीकरणका लागि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमको संयुक्त टोलीले बजार अनुगमन गर्नेछ ।  यदि नजिकैको बिक्रेताबाट ग्यास नपाएमा तत्काल अति आवश्यक परेका उपभोक्ताका लागि निगमको क्विक रेस्पोन्स टिमका मोबाइल नम्बरहरू ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

नाइमा एक्स्पोमा २० अर्ब मूल्यका सवारीसाधन बुकिङ, बीवाईडी र टाटा अग्रस्थानमा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सकिएको छ । करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेको उक्त एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए ।  मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधनको बुकिङ उत्साहजनक रहेपछि अटोमोबाइल व्यवसायीहरूले केक काटेर र सेलिब्रेसन गर्दै खुसी व्यक्त गरेका छन् । आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ५ हजार ५०० चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे गरी कुल साढे ७ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् ।  बुकिङ भएका सम्पूर्ण गाडी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ ।  यस पटकको प्रदर्शनीमा १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका सवारीसाधन राखिएकोमा विशेष गरी ३० देखि ३५ लाख रुपैयाँ मूल्यका इन्ट्री लेभल र विद्युतीय सवारी (ईभी) हरूमा ग्राहकको अत्यधिक आकर्षण देखिएको छ । चारपांग्रेतर्फ सबैभन्दा बढी बुकिङ हुनेमा बीवाईडी (१ हजारभन्दा बढी), टाटा र चेरी (७ सयभन्दा बढी), किया (७ सयभन्दा बढी), वुलिङ (४ सय ४३), आईकार (४ सय २१), र ओमोडा जेको (३५०) लगायतका ब्रान्डहरू रहेका छन् ।  त्यस्तै दुईपांग्रेतर्फ एथर, सीएक्स मोटो, याडिया, सीएफ मोटो, ट्राइम्फ र रोयल इन्फिल्डको बुकिङ अग्रस्थानमा रहेको नाइमाले जनाएको छ ।   

युवाको वैदेशिक रोजगारीलाई बाध्यता होइन रोजाइ बनाउन शिक्षा र उद्योग जोड्न सरोकारवालाको जोड

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने: प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयमा आयोजित संवादमा उनीहरूले यस्तो बताएका हुन् । उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताइन् । नेपालमै उद्योग, सूचना प्रविधि, होटल, अटोमोबाइललगायत क्षेत्रमा पर्याप्त सम्भावना भए पनि नीतिगत जटिलता र अवसरको कमीका कारण युवा विदेशिन बाध्य भएको उनको भनाइ छ । उनले युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले मिलेर रोजगारी तथा उद्यमशीलतामैत्री वातावरण बनाउनुपर्ने बताइन् । व्यवसाय सुरु गर्न दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको सुझाव छ । नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी ५ देखि १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताए ।  त्यसका लागि एसेम्ब्ली उद्योगसँगै पार्टपुर्जा र कम्पोनेन्टको स्थानीय उत्पादन तथा आपूर्ति शृंखला विकास गर्नुपर्ने उनको भनाइ छ । उनले शिक्षा क्षेत्र र निजी क्षेत्रबीच ठूलो खाडल रहेको बताउँदै उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए ।  निजी क्षेत्रले ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै उद्यमी र लगानीप्रतिको विश्वास तथा सुरक्षाको वातावरण बनाउन सके अर्थतन्त्रले गति लिने उनले बताए । थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थीले भोलिपल्टदेखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने अवस्था नहुने बताए । विश्वविद्यालयले सैद्धान्तिक आधार बलियो बनाउने भएकाले उद्योगमा आवश्यक व्यावहारिक सीपका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रणालीलाई उद्योगसँग जोड्नुपर्ने बताए ।  विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानी बढाउनुपर्ने उनको सुझाव छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर युवालाई निराश बनाउन नहुने बताइन् ।  नेपालमै शिक्षा, सीप र रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी-व्यवसायीसँग छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउँदै अहिले बनेका उद्यमशीलता तथा स्वरोजगारसम्बन्धी नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइन् ।  निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । संवादमा सहभागी चारै जना वक्ताले शिक्षा र रोजगारीबीचको दूरी घटाउन उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।  उनीहरूले नेपालमा अवसर सिर्जना गर्न सके दक्ष युवा विदेशिने क्रम घटाउन सकिने र विदेशिएका युवालाई समेत स्वदेश फर्कने वातावरण बनाउन सकिने धारणा राखेका छन् ।  

स्वास्थ्य मन्त्री मेहताले गरिन् भारदह अस्पतालको निरीक्षण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गगरेकी छन् । निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन् ।  मन्त्री मेहताले अस्पतालको इमर्जेन्सी वार्ड र एक्स-रे मेसिनलाई तत्काल नयाँ भवनमा सार्न निर्देशन दिइन् ।  बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन तत्काल मिलाउन उहाँले अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् ।  निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन

काठमाडौं । नेपाल प्रेस युनियनको १०औं संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा आयोजना हुने भएको छ ।  नेपाल प्रेस युनियन केन्द्रीय समितिको २०८३ साउन ३१ गते बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको छ ।  युनियनको विधान-२०४८ (सातौं संशोधन २०८३) को धारा ४६ बमोजिम वरिष्ठ पत्रकार तेज प्रकाश पण्डितको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन समितिको सदस्यमा अधिवक्ताहरू बाबुराम अर्याल, राजकुमार उप्रेती, प्रदीप सत्याल तथा पत्रकार बिमला तुम्खेवा रहेका छन् । बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन गठित समितिलाई विधानअनुसार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ ।  महाधिवेशन तयारीका लागि शाखाहरुको अधिवेशन सुरु गर्ने निर्णय यस अघि नै गरेको छ ।

सकियो नाइमा एक्स्पो, १ लाख ८० हजार दर्शकले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सञ्चालित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आइतबार सफलताका साथ सम्पन्न भएको छ ।  गत साउन २६ गतेदेखि सुरु भएको उक्त एक्स्पोमा सवारी साधन पारखी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।  नाइमाका अनुसार यस वर्षको मोबिलिटी एक्स्पो अघिल्ला संस्करणको तुलनामा अत्यन्तै सफल र उत्साहजनक बनेको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक सो सङ्ख्या बढेर करिब १ लाख ८० हजार पुगेको जानकारी दिइन् ।  एक्स्पोमा नयाँ सवारी साधनहरूबारे जानकारी लिने, उपभोक्ताको चासो र बुकिङ गर्ने क्रमले समग्र अटोमोबाइल बजारप्रति सकारात्मक मनोविज्ञान प्रतिबिम्बित गरेको उनको भनाइ छ ।  साथै, नाइमाले नीति निर्माण तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्ष वैद्यले आगामी दिनमा अटो क्षेत्रको विकास र विस्तारमा संस्थागत योगदानलाई थप सुदृढ लैजाने प्रतिबद्धता व्यक्त गरिन् । 

देश दौडाहामा पूर्वाधारमन्त्री, उनकै मन्त्रालयको ओ एण्ड एम अधुरै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल देशभरका सडक तथा पूर्वाधार आयोजनाको अनुगमनमा व्यस्त भइरहँदा उनकै नेतृत्वमा रहेको मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) प्रक्रिया भने अझै टुंगिन सकेको छैन । सरकारले संघीय निजामती प्रशासनको संगठन संरचना पुनरावलोकन गर्दै विभिन्न मन्त्रालय तथा मातहतका निकायको ओ एण्ड एम प्रक्रिया अघि बढाइरहेको छ ।  यसक्रममा १३ वटा मन्त्रालयसहित ३३२ निकायको ओ एण्ड एम सम्पन्न भई निजामती किताबखानामा दर्तासमेत भइसकेको अवस्था छ ।  तर पूर्वाधार तथा मन्त्रालय सहित पाँच मन्त्रालयको भने अझै सम्पन्न हुन बाँकी रहेको बताइएको किताबखानाले जनाएको छ । ओ एण्ड एम मार्फत मन्त्रालय तथा मातहतका निकायको संगठन संरचना, कार्यक्षेत्र, जिम्मेवारी र आवश्यक जनशक्तिको दरबन्दी निर्धारण गरिन्छ । त्यसैले यो प्रक्रिया केवल प्रशासनिक औपचारिकता नभई मन्त्रालयको आगामी कार्यसम्पादन र जनशक्ति व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको विषय हो । यही अवस्थामा मन्त्री लम्साल भने विभिन्न जिल्लामा पुगेर सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको स्थलगत निरीक्षण गरिरहेका हुन् ।  विकास आयोजनाको प्रगति, निर्माणको अवस्था तथा स्थानीय समस्या बुझ्न मन्त्रीको स्थलगत अनुगमन आवश्यक मानिन्छ ।  तर मन्त्रालयकै संगठन संरचना र जनशक्ति व्यवस्थापनको आधारभूत प्रक्रिया अझै अधुरो रहँदा मन्त्रीको प्राथमिकतामाथि प्रश्न उठ्न थालेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । पूर्वाधार मन्त्रालयअन्तर्गत देशभर ठूलो संख्यामा आयोजना तथा कार्यालय सञ्चालनमा छन् । ती निकायमा कति कर्मचारी आवश्यक छन्, कुन कार्यालयको भूमिका के हुने, कुन संरचना कायम राख्ने तथा कहाँ जनशक्ति थपघट गर्ने भन्ने विषय ओ एण्ड एमबाटै टुंगो लाग्ने गर्छ । त्यसैले मन्त्रालयको ओ एण्ड एम समयमै सम्पन्न नहुँदा संगठन संरचना र दरबन्दी व्यवस्थापनमा अन्यौल भएको ती अधिकारीले जानकारी दिए ।  नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा मन्त्रालयको कामकारबाहीमा समेत असर पर्न सक्ने उनको दाबी छ । मन्त्रालयको नेतृत्व गरेका मन्त्रीले आफ्नो मन्त्रालयको संगठन संरचना तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने प्रश्न भन्ने उठेको छ । विशेषगरी अन्य मन्त्रालयले आ एण्ड एम सम्पन्न गरी किताबखानामा दर्तासमेत गराइसकेको अवस्थामा भौतिक पूर्वाधार मन्त्रालयको प्रक्रिया किन पछि पर्‍यो भन्ने विषय चासोको विषय बनेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

नेपाली अटो बजारमा उत्साहको नयाँ सञ्चार, ग्राहकको रोजाइमा ईभी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाइमा मोबिलिटी एक्स्पो- २०२६ केवल सवारी साधनको प्रदर्शनी मात्र नरही यसले सुस्ताएको नेपाली अटोमोबाइल बजारमा प्राण भर्न महत्त्वपूर्ण भूमिका खेलेकाे छ । साथै प्रदर्शनी भविष्यको विद्युतीय मार्गचित्र कोर्नसमेत सफल भयो । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारीसाधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । मेलाको उद्देश्य अनुरूप नै पर्याप्त प्रचार-प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा एक्स्पो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताइन् । मेलाको अन्तिम दिन आइतबार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन् । अध्यक्ष वैद्यले गत वर्षको तुलनामा यस वर्षको प्रदर्शनी थप व्यवस्थित, प्रभावकारी र सफल भएको बताइन् । उनले गत वर्षको एक्स्पोका क्रममा देखिएका कमजोरी तथा चुनौतीलाई सुधार गर्दै यस वर्ष प्रदर्शनीलाई थप आकर्षक र व्यवस्थित बनाइएको जानकारी दिइन् । अपेक्षा र अनुमानभन्दा उत्साहजनक रूपमा अवलोकनकर्ताको उपस्थिति रहेको भन्दै उनले प्रदर्शनीमा राखिएका सवारीसाधन तथा बुकिङप्रति समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइन् । अध्यक्ष वैद्यले नेपालको अटो बजारमा विद्युतीय सवारीसाधनको प्रभाव र माग निरन्तर बढिरहेको उल्लेख गर्दै यसले समग्र अटो बजारको भविष्य थप उज्ज्वल रहेको संकेत गरेको बताइन् । विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा नेपाली अटो बजार विस्तारको क्रममा रहेको उनको भनाइ छ । प्रदर्शनीमा सवारीसाधनप्रति उपभोक्ताको चासो, नयाँ सवारीसाधनबारे जानकारी लिने उत्सुकता तथा बुकिङ गर्ने क्रमले बजारप्रतिको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनले बताइन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापा पनि यसपटकको एक्स्पो विगतको तुलनामा धेरै व्यवस्थित रहेकाे बताउँछन् । ‘विगतमा केवल हेर्नका लागि मात्र मान्छे आउँथे, तर यसपालि ‘क्वालिटी भिजिटर्स’ आएका छन्,’ उनी भन्छन् । पछिल्लो केही महिनादेखि सुस्ताएको अटो व्यवसायमा यस मेलाले एक प्रकारको नयाँ भाइब्रेसन सिर्जना गरेको छ । उनले आगामी नाडा अटो सोका लागि पनि यसले बलियो जग बसालेको विश्वास व्यक्त गरे ।  एक्स्पोको केन्द्रविन्दुमा विद्युतीय सवारीसाधन (ईभी) नै रहे। बीवाइडीका सीईओ साहिल श्रेष्ठका अनुसार नेपालमा विद्युतीय सवारीको युग पूर्णतः सुरु भइसकेको छ । बीवाइडीको स्टलमा देखिएको अत्यधिक भीडले पनि नेपाली ग्राहकहरू अब इन्धनबाट ब्याट्रीतर्फ मोडिएको प्रस्ट पार्छ ।  यस्तै बुझाइ जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाको पनि छ । एमजी कोमेट र विन्ड्सर जस्ता ईभी मोडेलहरूमा ग्राहकको सोधपुछ र बुकिङ उत्साहजनक रह्यो ।  लिपमोटरका लागि पनि यो मेला कोसेढुङ्गा सावित भयो । सांगिला मोटर्सका जीएम किरण श्रेष्ठका अनुसार ६ दिनको अवधिमा लिपमोटरले २०० भन्दा बढी बुकिङ प्राप्त गर्‍यो । सेलिब्रिटीहरूमा पनि ईभीको क्रेज उत्तिकै देखियो ।  नायिका करुणा पाण्डेले टाटा पन्च ईभी बुक गर्दै भनिन्, ‘नेपालको बाटो र वातावरणका लागि ईभी नै उत्तम छ ।’  यस्तै, नाइमाका सदस्य निराकार श्रेष्ठले नाइमा मोबिलिटी एक्स्पो-२०२६ मा अवलोकनकर्ताको सहभागिता र सवारीसाधनको बुकिङ सकारात्मक रहेको बताए । श्रेष्ठले अवलोकनकर्ताहरूको उपस्थिति र विभिन्न ब्रान्डका सवारीसाधनमा भएको बुकिङले एक्स्पोप्रति ग्राहकको आकर्षण बढेको देखाएको बताए । उनले विभिन्न ब्रान्डका प्रतिनिधिहरूसँगको कुराकानीमा पनि बुकिङ तथा अवलोकनकर्ताको अवस्था उत्साहजनक रहेको जानकारी पाएको बताए । हुण्डाईका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले मेलामा गाडी मात्र होइन, भिजन पनि प्रस्तुत गरिएको बताए ।  उनका अनुसार हुण्डाईले नेपालमै एसेम्ब्ली प्लान्ट सञ्चालन गरेर आत्मनिर्भरताको मेसेज दिन खोजेको छ । ‘हाम्रो स्टलमा कुनै बाहिरी मोडेल थिएनन् । यो गाडी बेच्ने मात्र होइन, बुझाउने मेला पनि हो,’ थपलियाको भनाइ थियो । हुण्डाईसँग अहिले ५० हजारभन्दा बढी सन्तुष्ट नेपाली ग्राहक रहेकाे उनकाे भनाइ छ । मेलामा दुईपाङ्ग्रे सवारी साधनको पनि उत्तिकै आकर्षण थियो । टिभिएसको आधिकारिक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले नसोचेको भीड र बुकिङ भएको बताए । अपाचे १६० ४भी युएसडी प्रोजेक्टर जस्ता नयाँ प्रविधि र तत्कालै फाइनान्स तथा एक्सचेन्ज सुविधाले ग्राहकलाई आकर्षित गर्‍यो । यस्तै, महिन्द्राका क्याविनेट श्रेष्ठले पनि ग्राहकको प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताए । मेला सफल भए पनि पूर्वाधारको समस्या भने टड्कारो देखियो । पार्किङको समस्या र भृकुटीमण्डपको अस्थायी संरचनामा सुधार हुनुपर्ने आवाज व्यवसायीहरूले उठाएका छन ।  नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल भन्छन्, ‘सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित प्रदर्शनी स्थल बनाइदिनुपर्छ ।’ उनका अनुसार नाइमाको उद्देश्य केवल गाडी बेच्नु मात्र थिएन। मेलाको दौरानमा भएका मोबिलिटी संवाद र लर्निङ सेसन मार्फत लगानी, उद्यमशीलता र प्रविधिको बारेमा युवा र विद्यार्थीहरूलाई शिक्षित गराउने प्रयास गरिएको थियो ।