विकासन्युज

इमाडोलमा भायानेटको नयाँ सुविधासम्पन्न शाखा सञ्चालनमा

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा नयाँ तथा सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकको बढ्दो संख्या र सेवा आवश्यकतालाई ध्यानमा राख्दै भायानेटले इमाडोलस्थित रातोमकै चोकमा नयाँ शाखा विस्तार गरेको हो ।  कम्पनीका अनुसार शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । नयाँ शाखाबाट ग्राहकले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी र ग्राहक सहायता सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीयस्तरमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसअघि इमाडोल तथा आसपासका क्षेत्रमा सेवा दिँदै आएको भायानेटले ग्राहकको सेवा पहुँचलाई थप सहज र प्रभावकारी बनाउन शाखा विस्तार गरेको जनाएको छ ।  नयाँ शाखाबाटै प्राविधिक टोली परिचालन हुने भएकाले इन्टरनेटसम्बन्धी समस्या समाधान तथा फाइबर मर्मतसम्भारमा लाग्ने समयसमेत घट्ने कम्पनीको अपेक्षा छ । भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले इमाडोलवासीसँग लामो समयदेखि जोडिँदै आएको भायानेटले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर शाखा विस्तार गरेको बताए । उनका अनुसार नयाँ शाखाबाट फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारका प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले ग्राहकले पहिलेभन्दा छिटो र सहज सेवा पाउनेछन् ।  शाखा विस्तारले इमाडोल क्षेत्रका ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको उनको भनाइ छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै उच्च गतिको भरपर्दो इन्टरनेट दैनिक जीवनको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ । शिक्षा, अनलाइन अध्ययन, घरबाटै गरिने काम, व्यावसायिक गतिविधि, डिजिटल भुक्तानी तथा मनोरञ्जनलगायत क्षेत्रमा इन्टरनेटको निर्भरता बढिरहेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै ग्राहकलाई निर्बाध तथा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्यसहित शाखा विस्तार गरिएको भायानेटले जनाएको छ । कम्पनीका अनुसार नयाँ शाखाले इमाडोल तथा आसपासका क्षेत्रमा ग्राहक सेवाको पहुँच थप बलियो बनाउनुका साथै ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्नेछ।

सभापति थापा भन्छन्– पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन् । आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन् ।  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो ।  सोही सन्दर्भलाई थापाले जन्मेदेखि आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताएका हुन् । उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, त्योभन्दा धेरै निन्दा यो गएको तीन दिनमा भएको छ, मेरो ।’ उनले सञ्चारमाध्यमका हेडलाइन नै आफ्नो निन्दाले भरिएको पनि बताए ।

नयाँ टाटा पन्च इभीको विशेष अफरको आज अन्तिम दिन

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ विशेष अफरसहित सार्वजनिक गरेको छ ।  नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।  तर, नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवधिभर बुकिङ गर्ने ग्राहकहरूले विशेष अफरअन्तर्गत नयाँ पन्च इभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।  आज नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अन्तिम दिन भएकाले विशेष अफरको पनि आज नै अन्तिम दिन रहेको कम्पनीले जनाएको छ ।  आजसम्म बुकिङ गर्ने ग्राहकहरूले १ लाख रुपैयाँको विशेष मूल्य लाभ प्राप्त गर्न सक्नेछन् ।  भोलिबाट भने विशेष अफर समाप्त भई नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । साथै एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ । अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट  आवर्स र ४० किलोवाट आवर्स क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । सुरक्षाका हिसाबले नयाँ पञ्च ईभीमा बीएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १९५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता समावेश छन्। त्यसैगरी, गाडीमा १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता प्रिमियम फिचरहरू पनि उपलब्ध छन् ।

प्रोटोनका दुई इलेक्ट्रिक एसयूभीले नाइमा एक्स्पोमा ताने ग्राहकको ध्यान

काठमाडौं । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई इलेक्ट्रिक एसयूभी इमास ५ र इमास ७ ले अवलोकनकर्ताको ध्यान खिचेका छन् । एक्स्पोको हल ‘बी’स्थित एल–६ नम्बर स्टलमा राखिएका नयाँ इमास ५ र यसअघि नै सार्वजनिक भइसकेको इमास ७ अवलोकन गर्न ग्राहकको उल्लेख्य उपस्थिति रहेको कम्पनीले जनाएको छ ।  ग्राहकहरूले गाडीका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे समेत जानकारी लिएका थिए । सहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ५ मा रियर–ह्विल–ड्राइभ प्लेटफर्म, स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन सकिने भेहिकल–टु–लोड ९भीटुएल० प्रविधि र जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता सुविधा छन्। इमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार रुपैयाँ र ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, प्रोटोन इ।मास ७ ठूलो आकारको इलेक्ट्रिक एसयूभी हो ।  फराकिलो स्पेस, प्रदर्शन र लामो दूरीको यात्रालाई ध्यानमा राखेर तयार गरिएको यो एसयूभीको प्राइम भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ ।  यसले डब्लुएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । इ।मास ७ मा एडीएएस प्रविधि र १५.४ इन्चको डिस्प्ले उपलब्ध छ । यो पनि प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । जगदम्बा मोटर्सका अनुसार नेपालमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै यी दुई मोडलले फरक आवश्यकता भएका ग्राहकलाई विकल्प दिएका छन् ।  इमास ५ सहरी तथा दैनिक प्रयोगका लागि कम्प्याक्ट विकल्प हो भने इमास ७ पारिवारिक प्रयोग तथा लामो दूरीका यात्राका लागि ठूलो इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । एक्स्पोमा प्रोटोनका गाडी अवलोकन गरेका ग्राहकलाई आगामी नाडा अटो शो २०२६ मा पनि प्रोटोनको स्टलमा पुगेर गाडीको अनुभव लिन कम्पनीले आग्रह गरेको छ ।  नाडा अटो शोको हल ४ स्थित जी–१५ नम्बर स्टलमा ग्राहकका लागि थप आकर्षक अफर सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

मन्त्री मेहताले गरिन् गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेकी छन् ।    आइतबार (आज) निरीक्षण गर्दै उनले अस्पतालको सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाहरू उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने प्रतिबद्धता जनाइन् । मन्त्री मेहताले अस्पताललाई भदौ महिनाको अन्त्यसम्म हस्तान्तरण प्रक्रिया सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशनसमेत दिएकी छन् । अस्पताल हस्तान्तरणपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालनसँगै सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने उनले बताएकी हुन्। स्थानीय नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले संघ, प्रदेश र सम्बन्धित निकायबीच समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने मन्त्री मेहताको भनाइ छ । त्यसैगरी, मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गरेकी छन् ।  अवलोकनका क्रममा उनले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको अवस्था तथा आगामी प्रक्रियाबारे जानकारी लिइन् । मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

निर्जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा गरे साढे ५ अर्ब खर्च

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीहरूको तलब तथा भत्तामा कुल ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।  कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो रकमको कर्मचारी तलबभत्तामा खर्च गरेका हुन् । अघिल्लो आव २०८१/८१ तुलनामा यो खर्च १.१९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरूले यस शीर्षकमा ५ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ खर्च गरेका थिए । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूमध्ये कर्मचारीको तलबभत्तामा सबैभन्दा बढी रकम खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।  समीक्षा वर्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कर्मचारीको तलबभत्तामा ६८ करोड ६४ लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले उक्त शीर्षकमा ६३ करोड ८८ लाख रुपैयाँ खर्च गरेको थियो । दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले एक वर्षमा कर्मचारीको तलबभत्ताामा मात्रै ६२ करोड ३१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ ।  अघिल्लो वर्षको तुलनामा शिखरको यस्तो खर्च १.३३ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्ष कम्पनीले कर्मचारीको तलबभतमा ६१ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो ।  तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी (सलिको) ले ५५ करोड ३३ लाख ३० हजार रुपैयाँ खर्च गरे पनि अघिल्लो वर्षको तुलनामा कम्पनीको खर्च १.९ प्रतिशतले घटेको छ ।  अघिल्लो आवमा कम्पनीले उक्त शीर्षकमा ५६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो । त्यसैगरी, प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी खर्च बढाउनेमा ओरियन्टल इन्स्योरेन्स रहेको छ ।ओरियन्टलको कर्मचारी खर्च ७१.५८ प्रतिशतले बढेर २६ करोड ६६ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले १५ करोड ५३ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको थियो। त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आवमा कर्मचारीको तलबभत्तामा ५२ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीले सो शीर्षकमा ४३ करोड ५७ लाख रुपैयाँ खर्च गरेको थियो ।  अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी तलबभत्तामाम खर्च २०.८५ प्रतिशतले वृद्धि भएको छ । नेको इन्स्योरेन्सले एक वर्षमा कर्मचारीको तलबभत्तामा ४९ करोड ८० लाख रुपैयाँ, आईजिआई प्रुडेन्सियलले ४७ करोड ७९ लाख रुपैयाँ, युनाइडेट अजोड इन्स्योरेन्सले ४१ करोड ३९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ९४ लाख रुपैयाँ रुपैयाँ खर्च गरेको छ ।  अघिल्लो आवको तुलनामा आइजिआई र युनाइडेडको तलबभत्तामा जाने खर्च घटेको छ भने ३.३२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा आइजिआईको ५.९२ प्रतिशत र युनाइटेड अजोडको १०.६१ प्रतिशतले घटेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले भने कर्मचारी खर्चमा उल्लेखनीय कटौती गरेको छ । कम्पनीको खर्च १५.८३ प्रतिशतले घटेर २० करोड ८२ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ ।  अघिल्लो आवमा कम्पनीले यस शीर्षकमा २४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको थियो । 

प्रधानमन्त्री बालेन र भारतका सेना प्रमुखबीच भेटवार्ता हुने

काठमाडौं । भारतीय सेना प्रमुख  धिरज सेठ आइतबार साँझ नेपाल आउँदैछन् । उनको यो पहिलो विदेश भ्रमण हो ।  आइतबार काठमाडौं आइपुग्ने सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष सेठ र प्रधानमन्त्री बालेन्द्र शाहबीच पनि भेटवार्ता हुने तयारी भइरहेको बुझिएको छ । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयसमेत सम्हालिरहेका कारण दुई देशका सुरक्षा तथा सैन्य सम्बन्धसँग जोडिएका विषयमा भेटवार्ता केन्द्रित हुन सक्ने बताइएको छ ।  नेपाली सेनाले पनि भेटवार्ताको लागि तयारी गरिसकेको बुझिएको छ । परराष्ट्र मन्त्रालय र नेपाली सेनाले प्रधानमन्त्रीसँग हुने भेटबारे औपचारिक कार्यक्रम सार्वजनिक नगरे पनि सम्बन्धित अधिकारीहरूले भेटवार्ताको तयारी भइरहेको बताएका छन् ।  भारतीय सेनाध्यक्ष सेठको नेपाल भ्रमणलाई दुई देशबीचको नियमित सैन्य सम्बन्धको निरन्तरताका रूपमा मात्र नभई पछिल्लो क्षेत्रीय तथा भूराजनीतिक परिवेशमा भारतको नेपालप्रतिको चासोका रूपमा पनि हेरिएको छ । राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार भारतीय सेनाध्यक्ष सेठले सोमबार राष्ट्रपति पौडेलबाट मानार्थ महारथीको सम्मान प्राप्त गर्नेछन् ।  नेपाल र भारतका स्थल सेनाध्यक्षलाई एकअर्काको देशको मानार्थ जनरलको दर्जा प्रदान गर्ने पुरानो परम्परा छ । सोही परम्पराअनुसार सेठलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिन लागिएको हो ।  सम्मान ग्रहण गरेपछि सेठले नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् । दुई सेनाबीचको सम्बन्ध, सैनिक सहकार्य, तालिम, अभ्यास तथा अन्य सैन्य आदानप्रदानका विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता बस्नेतले भ्रमणलाई नियमित प्रकृतिको भन्दै नेपाल–भारत सैन्य सम्बन्धका विविध पक्षमा छलफल हुने बताए । पहिलो विदेश भ्रमण नै नेपालबाट सेठले भारतीय स्थल सेनाको नेतृत्व सम्हालेपछि गर्न लागेको यो पहिलो विदेश भ्रमण हो । उनले गत जुन ३० मा भारतीय सेनाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । भारतीय सेनामा आर्मर्ड कोरबाट प्रवेश गरेका सेठले विभिन्न महत्वपूर्ण सैन्य जिम्मेवारी सम्हालिसकेका छन् । भारतीय सेनाका कमान्ड तहमा काम गर्नुका साथै रणनीतिक क्षमता विकास तथा अपरेसनल प्लानिङसँग सम्बन्धित जिम्मेवारीमा समेत उनको अनुभव रहेको बताइएको छ । त्यसैले नयाँ सेनाध्यक्षका रूपमा पहिलो विदेश गन्तव्य नेपाल रोजिनुलाई सैन्य कूटनीतिसँगै क्षेत्रीय रणनीतिक दृष्टिले समेत अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि छिमेकी भारतबाट नेपाल आउने उच्च तहका अधिकारीमध्ये सेठ सबैभन्दा वरिष्ठमध्येका हुन् ।  सरकार प्रमुखमा नियुक्त भएलगत्तै प्रधानमन्त्री शाहलाई भारतले औपचारिक भ्रमणको निम्तो दिएको थियो । यद्यपि शाहले परम्परागत शैलीभन्दा फरक ढंगले विदेशी कूटनीतिज्ञसँगका भेटघाटलाई सीमित राख्दै आएका छन् ।  केही समयअघि मात्रै उनले पहिलोपटक नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । यसअघि भारतीय विदेश सचिवको काठमाडौं भ्रमणसमेत प्रधानमन्त्रीसँगको भेटको समय तय हुन नसक्दा प्रभावित भएको विवरण सार्वजनिक भएका थिए र  नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम छ । संयुक्त तालिम, सैनिक अभ्यास, उच्च तहका भ्रमण तथा सैन्य आदानप्रदान दुई देशबीचको सम्बन्धका नियमित आयाम हुन् । तर, नेपालमा पछिल्लो समय विकसित राजनीतिक परिस्थिति, भारत–चीन सम्बन्धको बदलिँदो रणनीतिक परिवेश र काठमाडौंमा देखिएको नयाँ राजनीतिक समीकरणका कारण भारतीय सेनाध्यक्षको भ्रमणले सैन्य क्षेत्रभन्दा बाहिर पनि अर्थ राख्ने विश्लेषण भइरहेको छ ।

भुसालको टिप्पणी: मुलुक पहिला नालायकहरूबाट शासित, निर्वाचनपछि लफङ्गाहरूबाट

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।  आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  उक्त निर्वाचनमा कम्युनिष्ट दलहरूले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय बेहोरेको नेता भुसालको भनाइ छ । उनले मुलुक पहिलेदेखि नै नालायकहरूबाट शासित भएको भएपनि निर्वाचनपछि लफङ्गाहरूबाट शासित हुन पुगेको टिप्पणी पनि गरे । उनले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भएपनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको समेत बताए ।  मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डलाग्दा राजनीतिक दुर्घटनाहरु बढ्ने जोखिम बढेको उनको भनाइ छ । उनले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ ? भन्दै प्रश्नसमेत गरे ।  नेता भुसालले मुलुकको कम्युनिष्ट आन्दोलनको समीक्षा गरी थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता समेत औंल्याए । –न्युज एजेन्सी नेपाल