विकासन्युज

होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति

काठमाडों । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक रूपमा महत्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’लाई छिट्टै संयुक्त राज्य अमेरिकाको क्षेत्र घोषणा गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान पूर्ण रूपमा पराजित हुने क्रममा रहेको दाबी गर्दै त्यसपछि उक्त जलक्षेत्रलाई अमेरिकी भूभागका रूपमा घोषणा गर्ने उल्लेख गरे ।  आफ्नो सम्बोधनका क्रममा ट्रम्पले भने, ‘हामीले इरानलाई पराजित गरिसकेपछि, जुन अहिले नराम्रोसँग पराजित भइरहेको छ । मैले छिट्टै होर्मुज जलसन्धिलाई संयुक्त राज्य अमेरिकाको क्षेत्रका रूपमा घोषणा गर्नेछु ।’ विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख जलमार्ग मानिने होर्मुज जलसन्धिमाथि नियन्त्रण कायम गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भनाइ आएको हो । यद्यपि, यस्तो घोषणाको कानूनी प्रक्रिया र अन्तर्राष्ट्रिय प्रभावबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।   

बैंकहरूको नाफा ७० अर्ब, ४ को घट्दा एक घाटामा, नबिल नम्बर वान

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष नबिलले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद नाफा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै ३०५.९५ प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो । सिटिजन्स बैंकको ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  नेपाल बैंकको नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबी बैंकको ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सानिमा बैंकको ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्राइम कमर्सियल बैंकको २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ग्लोबल आइएमई बैंकको २२.६७ प्रतिशत बढेर ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  माछापुच्छ्रे बैंकको १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एभरेष्ट बैंकको ४.७५ प्रतिशत बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  सिद्धार्थ बैंकको ४.५४ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको एनआईसी एशिया बैंक गत वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफामा फर्किएको छ । यद्यपि, सबै बैंकको अवस्था सकारात्मक देखिएको छै न। गत वर्ष चार वटा बैंकको नाफा घटेको छ भने एउटा बैंक घाटामा गएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लक्ष्मी सनराइज बैंकको २३.२६ प्रतिशत घटेर ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कृषि विकास बैंकको २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष प्रभु बैंक भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो वर्ष बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ​​​​​​​

नेपाल बैंकको नाफा साढे ४ अर्ब, लाभांश क्षमता १५.८४ प्रतिशत

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.०४ प्रतिशत घटेर १० अर्ब ३ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १३ करोड ९२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड ९० लाख १५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ८ करोड ९९ लाख ६९ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब १९ करोड १४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ८० लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९९ करोड ५३ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ४४ करोड ७९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत रहेको छ ।  १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड २१ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन २५.०२ प्रतिशत बढेर ४ खर्ब १५ अर्ब १८ करोड २९ लाख रुपैयाँ र कर्जा लगानी १०.४७ प्रतिशत बढेर २ खर्ब ४३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६२.८५ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष २०.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ३०.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २८७.७०रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ८.५४ गुणा छ ।  बैंकको खराब कर्जा ४.५६ प्रतिशतबाट घटेर ४.१८ प्रतिशतमा झरेको छ। बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.४१ प्रतिशतबाट बढेर ११.२७ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १३.६६ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.८५ अर्ब, लाभांश क्षमता १९ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ११.६२ प्रतिशत घटेर ३ अर्ब ९४ करोड ३२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ४६ करोड २२ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४८ करोड ३६ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ४० करोड ७५ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब १६ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३६ करोड २३ लाख ३४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ५७ करोड ४७ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ६८ करोड ६७ लाख ५७ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.०४ प्रतिशत रहेको छ ।  १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ७१ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १७.८२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ र कर्जा लगानी ९.४१ प्रतिशत घटेर ६६ अर्ब ३ करोड २१ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षसम्म बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ४७.२४ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष ३० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर २८.३८ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२५.८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.५ गुणा छ ।  बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.०३ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १५.७५ प्रतिशतबाट बढेर १६.६८ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १८.१३ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकको नाफा २.११ अर्ब, व्यवसाय १५.९५ प्रतिशत बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ४९ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ५७ लाख ९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ४१ करोड ४३ लाख ८९ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब १६ करोड ४७ लाख २९ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ७.५१ प्रतिशत रहेको छ ।  १५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १९.७२ प्रतिशत बढेर २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १५.९५ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४५ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षसम्म बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । अघिल्लो वर्ष १५.५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १७.४९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.१८ गुणा छ ।  बैंकको खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.२७ प्रतिशतबाट घटेर ८.६० प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १०.०४ प्रतिशत रहेको छ ।

रोल्पा पहिरोप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, पीडितलाई राहत र आर्थिक सहायता दिइने

काठमाडौं । अविरल वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा पहिरो जाँदा भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ । यहीँ साउन २७ र २८ गते राति रोल्पाको थवाङ गाउँपालिका वडा नं. ५, कोटलबारा तथा सुनछहरी गाउँपालिका वडा नं. २, फलबाङ र गिच्छेमा गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने २ जना घाइते र २ जना बेपत्ता भएका छन् ।  पहिरोबाट स्थानीयका केही निजी घर, गोठ र घुम्ती पसलहरूमा क्षति पुगेको छ । घटनालगत्तै रोल्पाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको र उक्त कार्य अझै जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।  घाइते दुवै जनालाई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ । प्रधानमन्त्री कार्यालयले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकदाप्त परिवारजनमा समवेदना प्रकट गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित परिवारहरूलाई विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ बमोजिम मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ता व्यक्तिका हकमा निर्धारित राहत तथा घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत, अस्थायी आवास र निजी आवास पुनर्निर्माणसम्बन्धी सहायता उपलब्ध गराइने भएको छ ।  साथै, मनसुनजन्य विपद्को जोखिम अझै कायमै रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई आवश्यक सजगता र सतर्कता अपनाउन तथा सम्बन्धित निकायहरूलाई पूर्वतयारी एवं प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सरकारले अनुरोध गरेको छ । 

ईभी ब्याट्री रिसाइक्लिङको दायित्व आयातकर्तालाई मात्र दिनु व्यावहारिक हुँदैनः आकाश गोल्छा

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सँगै मोबाइल र ल्यापटपजस्ता विद्युतीय उपकरणहरूको प्रयोग बढ्दै गएकाले पुराना ब्याट्री व्यवस्थापनका लागि स्पष्ट कानुनी व्यवस्था र छुट्टै रिसाइक्लिङ प्रणाली आवश्यक रहेको अटोमोबाइल व्यवसायी तथा नाइमाका संस्थापक आकाश गोल्छाले बताएका छन् ।  नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले ब्याट्री रिसाइक्लिङको काम सवारी आयातकर्ताले मात्र गर्न नसक्ने र त्यसका लागि भारतमा जस्तै छुट्टै विशेषज्ञ कम्पनीहरूलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए । अहिले पुराना लिथियम ब्याट्रीहरू नदी, ल्यान्डफिल साइट वा भारततर्फ तस्करी (ग्रे मार्केट) हुने जोखिम रहेको औैंल्याउँदै उनले लिड एसिड ब्याट्री र आधुनिक लिथियम ब्याट्रीको प्रकृतिका आधारमा फरक–फरक व्यवस्थापन नीति बनाउनुपर्ने स्पष्ट पारे ।  वर्तमान नियमअनुसार दुर्घटना वा अन्य कारणले क्षतिग्रस्त गाडीको ब्याट्री ग्राहकको अधीनमा हुने भएकाले त्यसको सम्पूर्ण दायित्व र सजाय आयातकर्तामाथि मात्र थुपार्नु कानुनी रूपमा अव्यावहारिक हुने उनको भनाइ छ ।  त्यसैले ब्याट्री व्यवस्थापनको दायित्व आयातकर्ताका साथै सरकार, उपभोक्ता र सम्पूर्ण सरोकारवालाहरूमा बाँडिने गरी स्पष्ट नीतिगत इकोसिस्टम निर्माण गर्नुपर्ने उहाँले माग गरे । नेपालमा ब्याट्री निर्यातका लागि तोकिएको निश्चित मूल्यसम्बन्धी मापदण्डका कारण असहजता भइरहेको उल्लेख गर्दै गोल्छाले नेपालमै पूर्ण रिसाइक्लिङ पूर्वाधार नहुन्जेल ‘ब्ल्याक मास’ लाई भारत निर्यात गर्ने सहज बाटो खोल्न सरकारसँग आग्रह गरे ।  भारतमा ब्याट्री रिसाइक्लिङमा सरकारले दिने छुट (रिबेट) जस्तै नेपालमा पनि प्रोत्साहनमूलक नीति ल्याउनुपर्ने र कानुनी रूपमा लाइसेन्स प्राप्त रिसाइक्लरहरूलाई मात्र ब्याट्री संकलन तथा प्रशोधनको जिम्मा दिनुपर्ने सुझाव उनले दिए ।

रोडिज सिजन ८ को तयारी तीव्र, ७ सहरबाट सुरु हुँदै यामाहाको प्रि-अडिसन

काठमाडौं । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले यस वर्षको नयाँ थिम “एटिट्युड भर्सेस अल्टिच्युड” अन्तर्गत माउन्टेन ड्यूसँगको सहकार्यमा प्रस्तुत हुन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसनको घोषणा गरेको छ ।  प्रि-अडिसन आगामी अगस्ट १५ देखि सुरु हुनेछ। यसमा सहभागीहरूले ब्लू टिकट प्राप्त गर्ने अवसर पाउनेछन्, जसले उनीहरूलाई कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर प्रदान गर्नेछ । प्रि–अडिसन नेपालका विभिन्न सहरमा रहेका यामाहा शोरुमहरूमा आयोजना हुनेछ । तालिका अनुसार यसको सुरुवात धरानमा श्रावण ३० गते शनिबार विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट हुनेछ ।  त्यसपछि श्रावण ३१ गते आइतबार बिर्तामोडस्थित सयपत्री ट्रेड लिंक, भद्रपुर बस स्ट्यान्डमा आयोजना हुनेछ। त्यस्तै, भदौ १ गते सोमबार हेटौंडाको राज मोटर्स रानीदरबार मार्ग तथा बुटवलको बाइकर्ज बुटवल कालिका नगरमा एकैसाथ प्रि-अडिसन हुनेछ । त्यसैगरी, भदौ २ गते मंगलबार बर्दिबासस्थित एमएडब्लू, भब्सी खोलानजिक, भदौ ३ गते बुधबार धनगढीस्थित एमएडब्लू चौराहा र भदौ ४ गते बिहीबार काठमाडौंको एमएडब्लू, नक्सालमा प्रि–अडिसन आयोजना हुनेछ । रोडिज लामो समयदेखि सहभागीहरूको मनोवृत्ति, सहनशक्ति र हिम्मतको परीक्षण गर्ने सबैभन्दा चुनौतीपूर्ण रियालिटी शोहरूमध्ये एकका रूपमा परिचित छ । “एटिट्युड भर्सेस अल्टिच्युड” थिमसहितको सिजन ८ ले पनि अग्लो हिमाल र आफ्नो सीमा नाघेर चुनौतीको सामना गर्ने निडर भावनासँगको सम्बन्धलाई निरन्तरता दिएको छ ।  यो यामाहाको रेसिङ लेगेसी र ब्रान्ड मेसेज “द कल अफ द ब्लू” सँग पनि नजिक रहेको छ । नेपालमा यामाहा रेसिङले युवालक्षित प्लेटफर्महरूलाई निरन्तर साथ दिँदै आएको छ । ऊर्जा, जोश र चुनौती सामना गर्ने साहसलाई सम्मान गर्ने विभिन्न कार्यक्रमहरूसँग यामाहा रेसिङ निरन्तर जोडिँदै आएको छ । रोडिजमा सहभागी हुन चाहनेहरूलाई तोकिएको मितिमा आफ्नो सहरमा अवस्थित यामाहा शोरुममा पुगेर यस यात्राको हिस्सा बन्न प्रोत्साहित गरिएको छ । छ दिनमा सात वटा सहर समेटिएको प्रि–अडिसनले हिमालय रोडिजको अहिलेसम्मकै चर्चित सिजनमध्ये एक बन्न सक्ने आठौं सिजनको रोमाञ्चक सुरुवात गर्ने अपेक्षा गरिएको छ ।