भन्सार जाँचबिनै ल्याइएका ८ कन्टेनर मुस्ताङमा पक्राउ
काठमाडौं । प्रहरीले भन्सार जाँचबिनै सिल लगाएर ल्याइएका आठ वटा कन्टेनर मुस्ताङबाट नियन्त्रणमा लिएको छ । प्रहरीले कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट शनिबार दिउँसो करिब १२ बजे खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोमस्थित पर्यटक चेकपोस्टमा सवारीसाधन जाँच गरेको थियो । जाँचका क्रममा विभिन्न कन्टेनरका कागजपत्र परीक्षण तथा चालकसँग सोधपुछ गर्दा ती सवारीसाधन भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि प्रहरीले आठ वटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो । कन्टेनरभित्र के–कस्ता वस्तु रहेका छन् भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरूमा ना.६ ख ४७४१ नम्बरका कन्टेनर चालक धादिङ धार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, को.१ ख ५६९६ नम्बरका चालक दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ र बा.प्र.०१–००६ ख २२४८ नम्बरका चालक दोलखा भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्दव बस्नेत रहेका छन् । त्यस्तै, बा.प्र.०१–००६ ख ६२७३ नम्बरका चालक पाल्पा तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली, ना.३ ख ७१६० नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, ना.६ ख २०२२ नम्बरका चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, बा.प्र.१००६ ख ६६११ नम्बरका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र बा.प्र.०१–००५ ख २२४५ नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।
वैदेशिक रोजगारीमा जानेलाई ३० लाख बढी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्ष नारायण चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदम बहादुर खड्का क्षेत्री र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिव नारायण चौधरी रहेका छन् । पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २२ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हर्षलाई काठमाडौं महानगरपालिका- १६ बाट र पदमलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा शिवलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार अधिकारी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा रहेका फरार एक जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी ४० वर्षीय तुलप्रसाद अधिकारी पक्राउ परेका हुन् । जिल्ला अदालत काठमाडौंको २०८० माघ २ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद सजाय र १४ लाख रूपैयाँ जरिवाना ठहर भएको छ । फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका- ९ काँडाघारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
लामबद्ध नागरिक भन्छन् - दिनभर कुर्दा पनि ग्यास पाएनौँ (फोटो फिचर)
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि पाँच स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो । निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ । बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ । निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन् । बिहानैदेखि ठूलो संख्यामा उपभोक्ता लाइनमा रहेको उनले जानकारी दिए । निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ । बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिन सक्ने व्यवस्था गरिएको छ । बबरमहल केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले जानकारी दिए । निगमले अहिलेको ग्यास संकटका कारण ग्यास डिपोसँगको समन्वयमा ग्यास वितरण गर्न सहजीकरण गरेको जनाएको छ । ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ । ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताए । निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । बबरमहलमा ग्यास लिन बसेका सेवाग्राहीले लामो समयसम्म लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् । लाइनमा बसेर ग्यास लिने पालो आए पनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरूको भनाइ छ । यद्यपि, ग्यास आउने आशामा आफूहरू दिनभर कुरेर बसेको उपभोक्ताले बताएका छन् । निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।
निर्जीवन बीमाको नाफा ३९.२१ प्रतिशत घट्यो, प्रभु बाहेक सबैको घट्यो
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । गत भदौमा भएको जेनजी आन्दोलन तथा बाढीपहिरोका कारण आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ३९.२१ प्रतिशत अर्थात् १ अर्ब ८० करोड ६ लाख रुपैयाँले घटेको हो । गत आर्थिक वर्षमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष प्रभु इन्स्योरेन्सबाहेक अन्य सबै निर्जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ । प्रभु इन्स्योरेन्सको नाफा १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ३२.७४ प्रतिशतले घटेर ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३६.५२ प्रतिशतले घटेर ३३ करोड ७८ लाख ८५ हजार रुपैयाँमा झरेको छ भने नेको इन्स्योरेन्सको नाफा ५०.१९ प्रतिशतले घटेर २८ करोड ८३ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५६.७५ प्रतिशतले घटेर ३२ करोड ६८ लाख ५२ हजार रुपैयाँ नाफा गरेको छ । नेपाल इन्स्योरेन्सको नाफा ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख ५० हजार रुपैयाँमा झरेको छ भने सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ६१.३८ प्रतिशतले घटेर १३ करोड ३९ हजार रुपैयाँमा सीमित भएको छ । एनएलजी इन्स्योरेन्सको नाफा ६२.३० प्रतिशतले घटेर ५ करोड ७८ लाख १२ हजार रुपैयाँ छ भने यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख ९९ हजार रुपैयाँमा झरेको छ । शिखर इन्स्योरेन्सको नाफा ७१.२१ प्रतिशतले घटेर १३ करोड ८९ हजार रुपैयाँमा सीमित भएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा रहेको दि ओरियन्टल इन्स्योरेन्सले भने गत वर्ष ४९ करोड ४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यता, नेशनल इन्स्योरेन्स गत आर्थिक वर्षमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ नोक्सानीमा गएको छ ।
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, वैशाख यता २२९ जनाले ज्यान गुमाए
काठमाडौं । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन् जसमा ४३ जना घाइते भएका छन् । पहिरोबाट मात्रै १० जनाको मृत्यु, १२ सडक अवरुद्ध र ६ लाख ४७ हजारको अनुमानित क्षति प्राधिकरणको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार देशका ४३ जिल्लामा विपद्का ५२ वटा घटना भएका छन् । ती घटनाहरूमा परी १३ जनाको ज्यान गएको छ भने ५ जना अझै बेपत्ता छन् । विपद्मा परी ४३ जना नागरिक घाइते भएका छन् भने ५ वटा चौपायाको क्षति भएको छ । विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ । विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको र २ जनाको सकुशल उद्धार गरिएको छ । स्याङ्जाको पञ्चमुलमा सबैभन्दा बढी १५२.९ मि.मि. वर्षा, चितवनको रामपुरमा अधिकतम तापक्रम ३८ डिग्री जल तथा मौसम विज्ञान विभागकाअनुसार आज बिहान ८:४५ बजेसम्म कुल ४ सय १४ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालित ७७ र स्वचालित ३३७) मध्ये ३४५ वटा केन्द्रमा वर्षा मापन भएको छ । जसमा सबैभन्दा बढी वर्षा स्याङ्जा जिल्लाको पञ्चमुल केन्द्रमा १५२.९ मिलिमिटर रेकर्ड भएको छ । यसैगरी, २४ घण्टामा अधिकतम तापक्रम चितवनको रामपुरमा ३८.० डिग्री सेल्सियस र सबैभन्दा कम मुस्ताङको लेतेमा २०.६ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै न्यूनतम तापक्रम मोरङको विराटनगरमा २८.० डिग्री सेल्सियस र मुस्ताङको थाकमाफाप/मार्फामा ८.८ डिग्री सेल्सियस रेकर्ड भएको छ । चार महिनामा ४ हजार ६ सय ५९ विपद्का घटना: २ सय २९ को मृत्यु, ९ बेपत्ता, १ हजार ४ सय ६३ घाइते र ५ हजार ७ सय ९ परिवार प्रभावित चालु आर्थिक वर्ष २०८३ वैशाख १ गतेदेखि साउन २९ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ६ सय ५९ वटा विपद्का घटनाहरू भएका छन् । यी घटनाहरूमा परी हालसम्म २ सय २९ जनाले अकालमै ज्यान गुमाएका छन् भने ९ जना अझै बेपत्ता रहेका छन् । उक्त अवधिमा १ हजार ४ सय ६३ जना नागरिक घाइते भएका छन् भने कुल ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको देखिएको छ ।
जीवन बीमाको नाफा साढे ५ अर्ब, आइएमईको धेरै, राष्ट्रिय जीवन बीमा घाटामा
काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १०.५२ प्रतिशत अर्थात् ६४ करोड ८ लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा १४ वटा जीवन बीमा कम्पनीले ६ अर्ब ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनी आइएमई लाइफ इन्स्योरेन्स बनेको छ । कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५८ करोड ३३ लाख रुपैयाँ थियो । नाफा वृद्धिको आधारमा भने सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको खुद नाफा १०६.६२ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ । यस्तै, एलआईसी नेपालको नाफा २८.४५ प्रतिशतले बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । सूर्यज्योति लाइफले ३८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.५४ प्रतिशतले बढी हो । रिलायबल नेपाल लाइफको नाफा २.१७ प्रतिशतले बढेर ५८ करोड २६ लाख २ हजार रुपैयाँ पुगेको छ भने सानिमा रिलायन्स लाइफको नाफा १.६८ प्रतिशतले वृद्धि भएर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, प्रभु महालक्ष्मी लाइफको नाफा १.३० प्रतिशतले बढेर ३७ करोड ५५ लाख ९३ हजार रुपैयाँ पुगेको छ भने एशियन लाइफको नाफा १.१८ प्रतिशतले वृद्धि भई ४१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा पाँच वटा जीवन बीमा कम्पनीको नाफा घटेको छ भने एक कम्पनी घाटामा गएको छ । मेटलाइफ अमेरिकनको नाफा ५५.२८ प्रतिशतले घटेर ३७ करोड ९२ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । हिमालयन लाइफको नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख ७१ हजार रुपैयाँमा झरेको छ । यस्तै, सन नेपाल लाइफको नाफा २२.८३ प्रतिशतले घटेर ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ छ । नेपाल लाइफको नाफा १५ प्रतिशतले घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ भने नेसनल लाइफको नाफा १०.२२ प्रतिशतले घटेर ३७ करोड ६ लाख १६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्रिय जीवन बीमा कम्पनी भने गत आर्थिक वर्षमा २ करोड ३८ लाख १ हजार रुपैयाँ नोक्सानीमा छ ।
विद्युत् उत्पादनमा सक्षम निजी क्षेत्रलाई अब व्यापारको बाटो खोल्नुपर्छ : अध्यक्ष डाँगी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् उत्पादनसँगै विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन अपरिहार्य रहेको बताएका छन् । इप्पानको आयोजनामा भएको फ्राइडे फोरममा बोल्दै उनले नेपालमा विद्युत् उत्पादन र प्रसारण पूर्वाधार निर्माणमा निजी क्षेत्र सक्षम भइसकेकाले अब विद्युत् व्यापारमा समेत प्रवेश दिनुपर्ने बताएका हुन् । नेपालमा निजी क्षेत्रले विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणमा आफ्नो क्षमता प्रमाणित गरिसकेको अध्यक्ष डाँगीले बता ए। भारतमा निजी क्षेत्रका दर्जनौँ कम्पनी विद्युत् व्यापारमा सक्रिय रहेको उदाहरण दिँदै उनले नेपालमा पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्नेमा जोड दिए । नेपालमा उत्पादन हुने विद्युत्को बजार विस्तार सरकारले मात्रै गर्न नसक्ने उनको भनाइ छ । विद्युत् व्यापारका लागि आवेदन दिएका कम्पनीलाई यथाशीघ्र अनुमति प्रदान गर्न उनले सरकारसँग माग गरे । उनका अनुसार ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमा विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको छ । हाल करिब ६ हजार २०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको उनले जानकारी दिए । त्यस्तै, २ हजार २०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको चरणमा रहेका छन् भने करिब १६ हजार १४० मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) को प्रक्रियामा रहेका छन् । निर्माणाधीन तथा विभिन्न चरणमा रहेका आयोजनालाई समयमै अघि बढाउन सके सरकारले लिएको आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ । तर, उत्पादन बढाउन आन्तरिक विद्युत् खपत वृद्धि र निर्यात बजार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष डाँगीले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेको दाबी गरे । नेपाल विद्युत् प्राधिकरणका ठेकेदारले समयमा निर्माण गर्न नसकेको तनहुँको मार्कीचोकदेखि चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन निजी क्षेत्रको नेतृत्वमा निर्माण सम्पन्न भएको उनले बताए । उनका अनुसार हाल नेपालबाट भारततर्फ १३२/३३ केभीका विभिन्न प्रसारण लाइनमार्फत करिब ७०० मेगावाट तथा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत १ हजार २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने अवस्था छ । सन् २०२७/२८ सम्म ढल्केबर–सीतामढी, न्यू बुटवल–गोरखपुर, इनरुवा–पूर्णिया र लम्की–बरेली प्रसारण लाइन निर्माण सम्पन्न भएमा थप ८ हजार ८०० मेगावाट विद्युत् निर्यात गर्न सकिने सम्भावना रहेको उनले बताए । त्यस्तै, रातमाटे–रसुवागढी–केरुङ प्रसारण लाइनमार्फत चीनतर्फ करिब २ हजार ५०० मेगावाट विद्युत् निर्यात गर्ने सम्भावना रहेको उनको भनाइ छ । यसका लागि विद्युत् उत्पादन र प्रसारण लाइनको विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । उनले नेपालमा निजी लगानी विधिवत् रूपमा प्रवेश गरेपछि पछिल्ला २५–२६ वर्षमा निजी क्षेत्रले विद्युत् उत्पादनमा उल्लेख्य योगदान गरेको बताए । आयोजनाको विद्युत् गृहदेखि नेपाल विद्युत् प्राधिकरणका सबस्टेसनसम्म विभिन्न क्षमताका प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रले काम गरिरहेको उनले बताए । ‘यस अर्थमा विद्युत् उत्पादनमा निजी क्षेत्र सक्षम छ । नेपाल विद्युत् प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट गर्दा आयोजनाको विद्युत् गृहदेखि नेविप्राको सबस्टेसनसम्म विभिन्न क्षमताका प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ,’ उनले भने । उनले भारतमा ५० भन्दा बढी निजी कम्पनीले विद्युत् व्यापार गरिरहेको उदाहरण दिँदै नेपालमा पनि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने बताए । ‘नेपालको विद्युत् उत्पादन, निर्माणाधीन आयोजना, पीपीएको लाइनमा रहेका आयोजना, प्रसारण लाइन निर्माण, नेपालको खपत वृद्धिको अवस्था र निजी क्षेत्रको योगदानको मूल्याङ्कन गर्दा नेपालको निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन अत्यन्त जरुरी भएको छ,’ उनले भने । यसैबीच, राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र इप्पानबीच प्रसारण पूर्वाधार विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौताले निजी क्षेत्रको सहभागितामा प्रसारण लाइन निर्माणलाई गति दिने अपेक्षा गरिएको अध्यक्ष डाँगीले बताए ।