प्राविधिक गडबडी देखिएपछि टेस्लाले अमेरिकाबाट २० लाख गाडी लियो फिर्ता

काठमाडौं । इलन मस्कको विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला इंकले प्राविधिक गडबडीका कारण २० लाख सवारी साधन फिर्ता लिएको छ । मस्कको कम्पनीले फिर्ता बोलाएका गाडीमा सन् २०१५ देखि अमेरिकामा अटोपाइलट सुविधा सक्रिय भएका मोडलहरू समावेश छन् । अमेरिकी अटो नियामकका अनुसार अटोपाइलट प्रणालीमा भएको गडबडी सच्याउन ती विद्युतीय सवारीसाधन फिर्ता लिइएको हो । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा यो प्रणालीले सडक र ट्राफिक अवस्थाबारे चालकलाई सचेत गराउन काम गर्छ । अटोपाइलट प्रविधिले गाडीको वरपरको ट्राफिक मूल्यांकन गर्न क्यामेरा र सेन्सरहरू प्रयोग गर्छ । यसले सवारीलाई सुरक्षित लेनमा राख्नका लागि सडकमा लेन मार्किङको अनुगमन गर्छ । यद्यपि, आलोचकहरूले सुरुदेखि नै टेस्लाको अटोपाइलट प्रणालीका धेरै कमजोरीहरूलाई औंल्याउँदै आएका थिए । अटोपाइलट प्रणाली असफलताले धेरै दुर्घटना टेस्लाको अटोपाइलट प्रणाली विवादास्पद छ र यसले धेरै दुर्घटनाहरू निम्त्याएको छ । अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) ले त्यस्ता दुर्घटनाहरूको अनुसन्धान सुरु गरेको झन्डै दुई वर्ष भइसकेको छ । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा चालकलाई सचेत गराउन अटोपाइलट प्रणालीले प्रयोग गर्ने कार्यहरू राम्ररी काम नगर्दा दुर्घटना हुने सम्भावना रहने एनएचटीएसएले अनुसन्धानको क्रममा पत्ता लगाएको हो । टेस्लाले समस्या समाधान गर्ने कम्पनीले फिर्ता लिएका विद्युतीय सवारीसाधनहरूमा थप नियन्त्रण निर्देशनहरू थप्ने छ । यसका साथै यसले सफ्टवेयर ओभर द एयर (ओटीए) लाई पनि अपडेट गर्ने छ, जसले गर्दा चालकले गाडी चलाउँदा बढी ध्यान दिन सक्नेछन् । यसका लागि कम्पनीले ग्राहकबाट कुनै शुल्क लिने छैन । कम्पनीले यो वर्ष तेस्रोपटक आफ्ना कार फिर्ता गरेको हो । यसअघि अक्टोबर २०२३ मा टेस्ला मोडेल एक्सका ५४ हजार ६ सय ७६ यूनिट फिर्ता लिइएको थियो । यो समस्या समाधान गर्न टेस्लाले सफ्टवेयर अपडेट जारी गर्‍यो, जुन निः शुल्क थियो। यसअघि अगस्टमा कम्पनीले टेस्लाको नयाँ मोडेल ३ र मोडेल वाईका २ लाख ८० हजार युनिट स्टेयरिङ कन्ट्रोल र पावर स्टेयरिङमा क्षति पुगेको कारण फिर्ता लिएको थियो । त्यो अनुसन्धानपछि टेस्लाले स्वीकार गरेको छ कि ‘प्रणालीको नियन्त्रणहरू चालकको दुरुपयोग रोक्न पर्याप्त नहुन सक्छ ।’ ‘स्वचालित प्रविधिले सुरक्षा सुधार गर्नका लागि ठूलो प्रतिज्ञा राख्छ तर जब यो जिम्मेवारीपूर्वक प्रयोग गरिन्छ,’ एनएचटीएसएका एक अधिकारीले भने, ‘यो सफ्टवेयर अद्यावधिक भएपछि निगरानी जारी राख्छ।’ टेस्लाका एक पूर्वकर्मचारीले बीबीसीलाई यो प्रविधि सुरक्षित नभएको विश्वास गरेको एक हप्तापछि घटना बाहिर आएको हो। टेस्लाका ती पूर्वकर्मचारी लुकास क्रुप्सकीले ह्विस्टलब्लोअर्सलाई मान्यता दिने ब्लुप्रिन्ट पुरस्कार जितेपछि बीबीसीलाई भने, ‘मलाई लाग्दैन कि हार्डवेयर र सफ्टवेयर तयार छ। यसले हामी सबैलाई असर गर्छ किनभने हामी अनिवार्यरूपमा सार्वजनिक सडकमा प्रयोग गरिरहेका छौं ।’ फिर्ताको समाचारमा प्रतिक्रिया दिँदै क्रुप्सकीले यो कदम सही दिशामा भए पनि यो समस्या अमेरिकामा मात्र नभएको बताए । ‘हार्डवेयर अमेरिका, चीन आदि सबै देशमा कुदिरहेका टेस्लामा समान छ,’ उनले भने । बीबीसी

विद्युतीय सवारीमा भाडा निर्धारण गर्न ढिलाइ

काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् । विद्युतीय सवारीको सञ्चालन खर्च नै कम हुने गरेको यो क्षेत्रका विज्ञको भनाइ छ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको भाडादर र विद्युतीय साधनको एउटै भाडा दर अवैज्ञानिक भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रमुख सल्लाहकार तथा यातायातविज्ञ योगेन्द्रनाथ कर्माचार्यले उल्लेख गरे । त्यसको मारमा आमउपभोक्ता परेको भन्दै उहाँले विद्युतीय सवारीसाधनको वैज्ञानिक भाडादर निर्धारण गर्न ढिला गर्न नहुने बताए । विद्युतीय सवारीको आयात खुला भएपछि भाडा निर्धारण गर्नुपर्नेमा सरकारले ढिला गर्दा आमउपभोक्ता सस्तोमा सेवा पाउने अधिकारबाट वञ्चित बनिरहेको बताए । उनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीको प्रयोग गर्दा खर्च एक हजार रुपियाँसमेत नहुने अवस्थामा अहिले पेट्रोल र डिजेलकै मूल्यमा यात्रुले भाडा तिरिरहेकाले सरकार सोबारे गम्भीर बन्न आवश्यक रहेको स्पष्ट पारे । यो समाचार आजको गोरखापत्रमा छ ।

चांगनको नयाँ ईभी थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो

काठमाडौं । थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी बुकिङ प्राप्त गरी चम्किएको चांगन डीपल एस ०७ ईभी एसयुभी नेपाल भित्रिने भएको छ । चांगनका लागि नेपालको अधिकारिक वितरक एमएडब्लु वृद्धिले सो गाडी भित्र्याउन लागेको हो । सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने एमएडब्लु वृद्धिले जनाएको छ । चीनको प्रिमियम इलेक्ट्रिक भेइकल ब्रान्ड चांगन डीपल २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्सपोमा अत्यन्त चर्चित बनेको छ । ब्रान्डको फ्ल्यागशिप मोडल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा एक अग्रणी खेलाडीको रूपमा आफ्नो स्थानलाई बलियो बनाएको हो । थाइल्याण्डमा चांगन डीपलको आधिकारिक प्रवेश यसको विश्वव्यापी विस्तार रणनीतिमा एउटा महत्वपूर्ण कदम हो । ब्रान्डले २०२३ को नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेसनल मोटर एक्सपोमा आफ्ना नवीन र प्राविधिक रूपमा उन्नत गाडीहरू प्रदर्शन गरेको थियो जहाँ उसलाई थाई उपभोक्ताहरूबाट व्यापक ध्यान र चासो प्राप्त भएको थियो। एस ०७ ईभी एसयुभीलाई प्राप्त अत्याधिक प्रतिक्रिया र ३२०० भन्दा बढी बुकिङ नै चांगन डीपलको उच्च गुणस्तरिय पर्यावरणमैत्री सवारी साधनहरू प्रदान गर्दै आधुनिक चालकहरूका विकसित आवश्यकता पूरा गर्ने प्रतिबद्धताको बलियो प्रमाण रहेको बताइएको छ । थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा हेरिरहेको बताइएको छ। नेपाली उपभोक्ताहरूले चांगन डीपलको शक्तिशाली पर्फर्मेन्स, उन्नत प्रविधि र पुरस्कृत डिजाइनको साथ यसले प्रदान गर्ने भिन्नताको अनुभव गर्न यसको प्रतीक्षा गर्न सक्नेछन्। यसमा भएको शक्तिशाली इलेक्ट्रिक मोटरले उत्साहजनक पर्फर्मेन्स दिन्छ र सहज ड्राइभिङ गतिशीलता प्रदान गर्दछ । लामो दूरीसम्म टिक्ने ब्याट्रीले न्यूनतम चार्जिङ आवश्यकताहरूसँग सुविधाजनक र प्रभावकारी यात्रा प्रदान गर्दछ । स्टाइलिश र एरोडायनामिक बाहिरी लुक्स रहेको यस गाडीमा परिष्कृत इन्फोटेनमेन्ट प्रणाली, चालक–सहायता सुविधाहरू, व्यापक सुरक्षा प्रणाली जडान गरिएका छन् । एस ०७ ईभी एसयुभीले नेपाली चालकहरूको मन मुटु जित्नेमा चांगन डीपल विश्वस्त भएको कम्पनीको भनाइ छ । गुणस्तर, नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धताका साथ यो ब्रान्ड नेपालको द्रुत गतिमा बढ्दो विद्युतीय सवारीको बजारमा प्रमुख खेलाडी बन्ने कम्पनीले जनाएको छ ।